निर्णय नं. ६३४२ - कव्जा खिचोला मेटाई चलनचलाई पाउँ

निर्णय नं. ६३४२ २०५४, ने.का.प. अङ्क ३
संयुक्त इजलास
माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ
माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा
२०५१ सालको दे.पु. नं. ....... २०८४
फैसला मितिः २०५३।५।४।३
मुद्दाः कव्जा खिचोला मेटाई चलनचलाई पाउँ ।
पुनरावेदक/वादीःजयमलको छोरा सुर्खेत उत्तर गंगा गा.वि.स. वडा नं.२ बस्ने वर्ष ५६ को रन बहादुर वुढा
विरुद्ध
प्रत्यर्थी/प्रतिवादीः सुर्खेत विरेन्द्रनगर नगरपालिका वडा नं. ६ बस्ने मागी बुढा ।
§ अदालतवाट भएको नक्सामा जग्गाको स्थिति ठयाक्कै पुर्व पश्चिम उत्तर दक्षिण मिल्दैन अपितु केही तेर्सो गरी अवस्थित देखिंदा त्यस्तोमा नक्सा आदि गर्ने वेला दिशा किटान गर्दा कहिलेकांहि भ्रम पर्नु अस्वाभाविक हुँदैन र एउटा दिशा उल्लेख गर्दा अर्को पर्न जान्छ । त्यस्तोमा विवादको निपटारा भोग र वास्तविकतालाई मध्येनजर राखी गर्नु पर्ने ।
(प्र.नं. १५)
पुनरावेदक वादी तर्फबाटः विद्वान अधिवक्ता श्री शिवराज अधिकारी
प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री खगेन्द्र प्रसाद अधिकारी
अवलम्वित नजिरः
फैसला
न्या.गोविन्द बहादुर श्रेष्ठः पुनरावेदन अदालत विरेन्द्रनगरको मिति २०५०।१०।२८ गतेको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम यस अदालतमा पर्न आएको प्रस्तुत पुनरावेदन सहितको मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ ।
२. मेरा हक भोग दर्ताको सुर्खेत कटुकुवा गा.वि.स. वार्ड नं. ३ को हाल वीरेन्द्रनगर न.पा. वार्ड नं. ६ मा पर्ने साविक कि.नं. ५०५ को ज.वि.०-०-८ र सो मा बनेको २ तले ४ कोठे घर मध्ये मैले विपक्षीलाई ०४२।१।५ गते उत्तर तर्फको ज.वि.०-०-४ जग्गा र २ कोठा र २ तले घर रु ८०००। मा विक्री गरी मेरा नाउमा कि.नं. १२१३ र विपक्षी मा.कि.नं. १२१२ कायम भै आ आफ्नो हकको घर जग्गा चलन भोगगरी आई रहेकोमा कि.नं. १२१३ को ज.वि.०-०- जग्गा बाटोमा पर्न आई कित्ताकाट भै कि.नं. १३९२ ज.वि. ०-०-३
जग्गा अध्यावधी भोग गरी आएको र उक्त कि.नं. १२१३ को कित्ताकाट हुँदा १३९१ वाटोमा पर्न आएको कि.नं. १३९२ को जग्गा भएको २ कोठे २ तले घर भोग गरी आई रहेको अवस्थामा विपक्षीले मिति ०४९।६।१२ गतेको अ. १० बजेको समयमा कि.नं. १३९२ जग्गामा भएको घरको पुर्वतर्फको तल १ कोठा माथि १ कोठामा आफ्ना समान ल्याई राख्न लाग्दा यी कोठा र घर मेरा हुन तपाईको घर पछाडी पर्दछ भनी मलाई सामान राख्न नदिई कि.नं. १३९२ मा बनेको २ कोठा २ तले मूल्य रु.८०००। पर्ने घर समेत हडप कब्जा खिचोला गरेकाले खिचोला मेटाई चलन चलाई पाउँ भन्ने समेत फिराद पत्र ।
३. वादी दावी मध्ये सुर्खेत कटुकुवा गा.पं.वानं. ३ हाल विरेन्द्रनगर न.पा.वार्ड नं. ६ स्थीत साविक कि.नं. ५०५ ज.वि.०-०-८ जग्गामा पुर्व सडक मोहडा तर्फ २ कोठा र पछाडी ३ कोठा त्यसैको मथिल्लो तलामा ४ कोठा भै पुर्व सडक को मोहडा पारी उत्तर तर्फ भूई तलामा सडक तर्फ एक कोठा पछाडी १ कोठा माथिल्लो तलामा २ कोठाको घर समेतको जग्गा ०४२।१।५ मा वादीबाट राजीनामा गराई लिई मेरो कि.नं. १२१२ र वादीको कि.नं. १२१३ कायम भएको हो हामी दुवैको सल्लाह र संयुक्त पुंजीबाट खरिद भएको उक्त कि.नं. ५०५ को जग्गामा हामी दुवैको संयुक्त रकमबाट उक्त जग्गामा पुर्व सडक मोहडा पारी २ कोठा पछाडी सोही आकार माथिल्लो तलामा पनि अगाडी २ कोठा पछाडी २ कोठाको घर समेत निर्माण गरी म.प्र.का. पति सुगुनेको नामबाट ग्राहक नं. ३१२ को विद्युत जडान गरी धारा ४०१ नं. जडान भएको छ । उपरोक्त साविक कि.नं. ५०५ बाट कि.का. भै कायम कि.नं १२१३ को जग्गा उत्तर तर्फ कायम कि.नं. १२१२ को ज.वि. ०-०-४ र त्यसमा वनेको सडक मोहोडा तर्फ १ कोठा त्यस पछाडी १ कोठा गरी २ तले ४ कोठाको घर वादीले ०४२।१।५ मा पारित गरी दिए पछि म प्र.ले अद्यावधिक भोग चलन तिरो भरी आएको मेरा हकभोगको जग्गा उपरोक्त ४ किल्लाको २ तले घर भांडामा लिने दिने सल्लाह भै मासिक रु.१३००। मा दिनेश श्रेष्ठले विजय होटल खोली ०४८ साल देखि वसी आएका छन वादीले मलाई पारित गरी दिएको घर जग्गामा वादीको हक नपुग्ने साथै मैले वादीबाट अंशियारबाट ०४२ सालमा विक्री वदर मुद्दा परेकोमा मेरै हक कायमको ठहरी ०४२।९।२३ गते मिलापत्र समेत सु.जि.अ. बाट भएको छ । वादीले आफ्नो हक कायम गराउन सकिएला भन्ने झूठ्ठा दावी गरेको हुन् । यसमा उल्लेख भएको २ कोठा भएको घर उत्तर वादीले विक्री गरेको स्विकार गरेको र राजिनामा पनि उत्तर तर्फ ज.वि. ०-०-४ र त्यसमा बनेको घर भन्ने उल्लेख छ । विवादित घरको आकार प्रकारले पनि उत्तर तर्फ अगाडी पछाडी गरी भूई तलामा २ कोठा र माथिल्ला तलामा २ कोठा रहे भएकोले वादीको हकको जग्गा दक्षिण तर्फ, उत्तर तर्फ मेरो घर जग्गा भै पुर्व तर्फ मुल सडक भएको आधारबाट पनि वादीले मेरो घर जग्गामा आफ्नो भन्ने दावी अ.व. ८२ नं. ले नहुँदा, यसका अतिरिक्त राजिनामा उत्तर तर्फ मैले घर जग्गा खरिद गरेको देखिने र वादीले उक्त घरको पुर्व सडक भनी किल्ला स्वीकार गरेपछि मैलै वादीबाट खरिद गरेको घर जग्गा वादीको घर पछाडी पर्न सक्दैन । राजिनामामा चारकिल्ला उल्लेख नभई उत्तरतर्फ भन्ने उल्लेख भए पनि पुर्वमा विरेन्द्रनगर बजारमा जाने सडक पश्चिम मेरै पतिको मोहोडा तर्फ १ कोठा पछाडी एक कोठा र माथिल्ला तलामा पनि सोही अनुसार २ कोठाको घर कि.नं. १२१२ को ज.वि.०-०-४ को घर जग्गा रहेको छ । यसरी उल्लेख भए बमोजिम सुर्खेत वी.नं.न.पा.वडा नं. ६ स्थित साविक कि.नं. ५०५ कि.का. गरी मेरो कायम कि.नं. १२१२ को ज.वि. ०-०-४ र त्यसमा वनेको घर पुर्व सडक मोहोडा पारी दक्षिण तर्फ वादीको उत्तर तर्फ मेरो हक हिस्साको सडक तर्फ भूई तल्ला अगाडी पछाडि १-१ कोठाको घर जग्गा वादीबाट राजिनामा गरी लिई मेरो अद्यवधिक भोग चलनमा रही घर भाडामा समेत दिएको घर जग्गालाई वादीले सडक तर्फको पुरै भाग आफूले हत्याउन सकिएला भनी मेरो उपरमा मुद्दा दावी गरेकोले घर समेत नाप नक्सा गरी वादीको झूठा दावीबाट फुर्सद गराई मेरा कायम कि.नं. १२१२ को ज.वि.०-०-४ जग्गामा वनेको पुर्व सडक तर्फ १ कोठा र त्यस पछाडी १ कोठा तला त्यसैको आकारमा माथिल्ला तलामा पनि अगाडी पछाडी १-१ कोठाको घर जग्गा कायमै राखी पाउँ भन्ने प्रतिउत्तर पत्र ।
४. मिति ०५०।१।२७ को नक्सा मुचुल्का ।
५. नक्सा नं. ४ र ७ को जग्गा घर वादीको देखिएतापनि पेश भएको नक्सा प्रकृति घरमा जडान भएको विजुली धारा र उत्तर दक्षिण लम्वाई गरी घरको दुईभाग लगाएको सिमाना परखाल समेतबाट वादीले नक्सा नं. ३ र ४ प्रतिवादीले नक्सा नं. ६र७ भोग चलन गरेको भन्ने स्पष्ट भएकोले मेरो भनि प्रतिवादीले खिचोला सम्म गरेको ठहर्छ । चलन तर्फ साविक देखि भोग भएकोले घरबाट उठाउन पाउँ भन्ने नालेश नपरेको हुँदा दावी नपुग्ने ठहर्छ भन्ने समेत ०५०।३।२७ को सुर्खेत जिल्ला अदालतको फैसला ।
६. शुरु सुर्खेत जिल्ला अदालतले विवादित न नं. को घर जग्गामा प्रतिवादीले खिचोला गरेको ठहर गरी घरवाट उठाउन दावी नपुग्ने भन्ने समेत गरी गरेको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला सोहद सम्म उल्टी गरी दावी बमोजिम घरबाट उठाई पाउँ भन्ने समेत व्यहोराको वादी रन बहादुर बुढाको पुनरावेदन अदालत विरेन्द्रनगरमा परेको पुनरावेदन ।
७. खिचोला गरेको ठहर्याएको हद सम्मको शुरु फैसला त्रूीटपूर्ण हुँदा सो हद सम्म उल्टिगरी फिराद दावी वाट फुर्सद दिलाइ पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी भागी वुढाको पुनरावेदन अदालत, विरेन्द्रनगरमा परेको पुनरावेदन ।
८. प्रस्तुत मुद्दामा विवादित न.नं. ७ को घर धारा विजुली जडान र राजीनामा लिखतको कैफियत महलको लम्वाई हात २१ बाट प्रतिवादीको भोगाधिकारको पुष्टी हुँदा हुदै सो घर जग्गामा प्रतिवादीले खिचोला गरको ठहर्दैन । प्रतिवादीले खिचोला गरेको ठहर गरी ठहर खण्डमा घरबाट उठाई पाउँ भन्ने दावी नपुग्ने भनी ठहर गर्दै तपसिल खण्डमा चलन चलाई दिनु भनी गरेको इन्साफ मिलेको नदेखिदा उल्टी हुने ठहर्छ । पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । भन्ने समेत व्यहोराको पुनरावेदन अदालत विरेन्द्रनगरको मिति ०५०।१०।२८।५ को फैसला ।
९. पुनरावेदन अदालत विरेनद्रनगरवाट शुरु फैसला उल्टी गरी गरेको उक्त फैसलामा मेरो चित्त नवुझेकोले पुनरावेदन गरेको छु । एकाको हक भोग दर्ताको जग्गा कसैले भोग गरेवाट दर्ता वालाको हक समान हुने र भोग गर्नेको हक कायम हुने भन्ने कानूनी व्यवस्था भएको नहुँदा समेत पुनरावेदन अदालतको फैसला त्रुटि पूर्ण हुँदा सो उल्टी गरी मेरो दावी माग वमोजिम गरी पांउ भन्ने समेत व्यहोराको वादी रन वहादुर बुढाको यस अदालतमा पर्न आएको पुनरावेदन । ।
१०. यसमा साविक कि.नं. ५०५ वाट कित्ता काट भै कि.नं. १२१२ र कि.नं. १२१३ कायम भएको र पर्खाल समेत लगाई भोग गरेको कुरा अदालतबाट भै आएको नक्साबाट देखिएको हुँदा कित्ता काट र भोगमा फरक पर्न आएको अवस्थामा श्रेस्तालाई नै मान्यता दिनु पर्ने नं. नं. ५ को जग्गाका गणना नगरी घर रहको जग्गाको मात्र हिसाव गरी पुनरावेदन अदालत विरेन्द्रनगरबाट भएको इन्साफ मिलेको नदेखिंदा अ.वं. २०२ नं. बमोजिम विपक्षी झिकाई नियमानुसार पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति ०५२।३।२१।४ को आदेश ।
११. नियमानुसार पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदन सहितको मिसिल अध्ययन गरीयो । पुनरावेदक वादी रन बहादुर तर्फबाट रहनु भएको विद्वान अधिवक्ता श्री शिवराज अधिकारीले अचल सम्पतीको प्रमाणिक आधार लिखत हो लिखत हुँदा हुँदै भोग चलनको आधारमा जग्गामा हक कायम हुन सक्दैन । लिखत श्रेस्ताको आधारमा हक कायम हुन पर्दछ, राजिनामा लिखत कित्ताकाट समेतको श्रेस्ताको मूल्याङ्कन नगरी गरेको फैसला त्रुटीपूर्ण हुँदा पुनरावेदन अदालत सुर्खेतको फैसला उल्टी गरी वादी दावी बमोजिम हुनु पर्दछ भन्ने समेत व्यहोराको बहस प्रस्तुत गर्नु भयो । प्रत्यर्थी प्रतिवादी तर्फबाट रहनु भएको विद्वान अधिवक्ता श्री खगेन्द्र प्रसाद अधिकारीले विवादित न.नं. ७ को र विवाद नभएको न.नं. ६ को घर कोठा प्रतिवादीले भोग चलन गरी विजय होटललाई भाडामा दिएको र न.नं ३ र ४ को घर कोठा पुनरावेदक वादीको भोगचलन भै पाल्पाली होटललाई भांडामा दिई आएकोमा विवाद छैन, प्रतिवादीले भोगी आएको घर कोठाको जग्गाको परिमाण राजीनामाको कैफियत महलमा उल्लेखित परिमाण भिडाउदां वारावर देखिन आउँछ घर दुवैले वनाएको भन्नेमा विवाद छैन यस्तोमा कव्जा खिचोला गर्यो भन्न मिल्दैन दुवै पक्षका वीचमा दुवैलाई सजिलो पर्ने गरी कोठा विभाजन गरी आफ्नो नामबाट विद्युत पानीको धारा समेत जडान भएबाट भोगमा विवाद छैन वादीको भनाई बमोजिम हुने हो भने प्रतिवादीलाई आफ्नो घर कोठामा आवत जावत गर्ने बाटो समेत नरहने हुन जान्छ, यसै बस्तु स्थितिलाई विवेचना गरी पुनरावेदन अदालत सुर्खेतले फैसला गरेको हुँदा उक्त फैसला सदर हुन पर्दछ भन्ने समेत व्यहोराको वहस जिकिर प्रस्तुत गर्नु भयो ।
१२. दुवै पक्षका कानून व्यवसायीले प्रस्तुत गर्नु भएको वहस जिकिर समेत सुनि हेर्दा प्रस्तुत मुद्दामा वादी दावी बमोजिम खिचोला गरेको सम्म ठहर गरी गरेको शुरु सुर्खेत जिल्ला अदालतको फैसला उल्टी गरी वादी दावी नपुग्ने ठहर्याएको पुनरावेदन अदालत सुर्खेतको फैसला मिलेको छ ? छैन ? भन्ने विषयमा हेरी निर्णय दिनु पर्ने देखिन आयो ।
१३. निर्णयतर्फ विचार गर्दा प्रस्तुत विवादमा एउटै कित्ता जग्गालाई राजिनामा गर्दा कित्ताकाट हुँदा राजिनामा लिनेलाई उत्तर तर्फ भन्ने लिखतमा परेको तर भोगबाट पुर्व पश्चिम तर्फ भन्ने देखिंदा सोही कुरामा विवाद उत्पन्न भएको देखिन्छ । पुनरावेदन अदालत सुर्खेतले भोगलाई मान्यता दिई पुनरावेदक वादीको हक पश्च्मि तर्फ र प्रत्यर्थी प्रतिवादीको हकपुर्व तर्फ कायम गरी निर्णय गरेको देखिन्छ ।
१४. त्यसो त दर्तालाई नै जग्गाको हकको सर्वोपरी प्रमाण मानिन्छ । दर्तालाई नै मात्र प्रमाणमा लिने हो भने प्रत्यर्थी प्रतिवादी मागी वुढाको हक उत्तर तर्फ न.नं. ३ र ६ मा पुनरावेदक वादी रण बहादुरको दक्षिण तर्फ न.नं. ४र७ को कित्तामा पुग्ने जस्तो देखिन्छ । तर कित्ताकाट उत्तर दक्षिण भए पनि भोग भने पुर्व पश्चिम नै भएको तथ्य निर्विवाद छ, त्यसलाई पुनरावेदक वादी रण वहादुरले पनि खण्डन गर्न सकेको छैन । स्मरणीय छ कि वादी प्रतिवादी क्रमसः भतिजा काकी हुन । साविक एउटै कित्तामा दुवैको हकाधिकार र भोगाधिकार छ केवल कतातिरबाट भन्ने झगडाको निप्टारा गरिदिनु पर्ने स्थिति छ ।
१५. अदालतवाट भएको नक्सामा जग्गाको स्थिति ठयाक्कै पुर्व पश्चिम उत्तर दक्षिण मिल्दैन अपितु केही तेर्सो गरी अवस्थित देखिंदा त्यस्तोमा नक्सा आदि गर्ने वेला दिशा किटान गर्दा कहिलेकांहि भ्रम पर्नु अस्वाभाविक हुँदैन र एउटा दिशा उल्लेख गर्दा अर्को पर्न जान्छ । त्यस्तोमा विवादको निपटारा भोग र वास्तविकतालाई मध्येनजर राखी गर्नु पर्ने हुन्छ । पुनरावेदक वादीले प्रत्यर्थी प्रतिवादीलाई राजिनामा दिंदा २ कोठा सहितको २ तले घर लम्वाई २१ हात र चौडाई ८ हात भन्ने प्रष्ट रुपमा उल्लेख नगरी प्रदान गरेको छ । पुनरावेदक वादीको भनाई बमोजिम न.नं. ३ र ६ उत्तर तर्फ प्रत्यर्थी प्रतिवादीलाई दिएको मान्ने हो भने सो जग्गाको लम्वाई २७ फिट र चौडाई २६ फिट हुन जान्छ । राजीनामामा उल्लेखित १२ फिटको चौडाको जग्गा २६ फिट कसरी हुन गयो ? यो पुनरावेदक वादीले तर्क पूर्ण रुपमा स्थापित गर्नु पर्छ । सो गर्न सकेको देखिंदैन । अर्को तर्फ पुर्व तर्फ न.नं. ६ र ७ लाई राजीनामाको जग्गा हो भन्ने प्रतिवादीको जिकिर तर्फ विचार गर्दा उक्त जग्गाको र राजीनामामा उल्लेखित लम्वाई चौडाई ठ्याक्कै मिल्न आउँछ । यस्तो स्थितिमा विवादको न.नं. ७ को घर जग्गा समेत वादीले प्रतिवादीलाई मिति ०४२।१।५ मा राजीनामा गरी दिएको भनी मान्नु पर्ने र न्याय सँगत देखिन्छ । अतः एव शुरु सुर्खेत जिल्ला अदालतको फैसला उल्टी गरी वादी दावी नपुग्ने ठहर्याएको पुनरावेदन अदालत सुर्खेतको फैसला मानासिव ठहर्छ । पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी वुझाई दिनु ।
उपरोक्त रायमा सहमत छु ।
न्या.कृष्ण कुमार वर्मा
इति सम्वत २०५३ साल भाद्र ४ गते रोज ३ शुभम्....।