निर्णय नं. ६३४३ - वाली लुटपिट ।

नि.नं. ६३४३ २०५४, ने.का.प अङ्क ३
संयुक्त इजलास
माननीय न्यायाधीश श्री गोविन्द वहादुर श्रेष्ठ
माननीय न्यायाधीश श्री नरेन्द्र वहादुर न्यौपाने
सम्वत २०५१ सालको फौ.पु.नं.........१०५९
फैसला मितिः- २०५३।११।२८।३
मुद्दाः- वाली लुटपिट ।
पुनरावेदक/वादीः जिल्ला झाग झोली गा.वि.स. वडा नं. ९ वस्ने राधा देवी न्यौपानेको मु.स.गर्ने डिल्ली प्रसाद न्यौपाने ।
विरुद्ध
विपक्षीः ऐ.ऐ.वस्ने भवानी शंकर आचार्य समेत ४ जना ।
§ फौजदारी मुद्दामा शंकारहित तवरवाट दावी प्रमाणित गर्ने दायित्व वादी पक्षमा रहने ।
§ फिराद लेखको आधारवाट मात्र लुटपिट गरेको ठहर्याउन न्यायोचित नहुने ।
(प्र.नं. १०)
पुनरावेदक तर्फबाटः
विपक्षी तर्फबाटः
अवलम्वित नजिरः
फैसला
न्या.गोविन्द बहादुर श्रेष्ठः- न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अन्तर्गत पुनरावेदन अदालत जनकपुरको २०५१।४।२६ को फैसला उपर दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ ।
२. मेरा दर्ताको कि.नं. २८,३७ को जग्गामा २०४७ सालमा धानवालि लगाएको म घरमा नभएको मौका पारी ९/१० जनाको हुलवल साथ विपक्षीहरु आइ २०४७ साल कार्तिक १९ गते विहान ८ वजेको समयमा जग्गामा प्रवेश गरी धान काटी, लुटी लगेकोले धान, पराल मासको हुने रु.९,१७५। प्रतिवादीहरुबाट दिलाई भराई सजाय गरी पाउँ भन्ने समेतको फिराद पत्र ।
३. दावीको जग्गाको ५ भागको २ भाग दर्ता बदर हुने ठहरी हाम्रा नाउँमा दर्ता भएको जग्गाको ०४१ साल देखिको वालि नदिएकोमा मुद्दा दिन पर्ने हो वा वाली दिनु हुन्छ भन्दा मैले जानेको छु भन्दै रहनु भएको जालसाजी दर्ता बदर मुद्दा हारी सकेको, हामीले लुड्दै नलुटेको वाली लुटे भनी कल्पित मुद्दा दिएको हुदां वादीलाई नै सजाय गरी पाउँ भन्ने प्रतिवादीहरुको प्रतिउत्तर पत्र ।
४. कि.नं. ३७ को जग्गाको कि.काट भै ५६ को जग्गा प्रतिवादीका नाम ०४७।९।१३ पत्रानुसार मा.पो.का. सिन्धुलीबाट दर्ता भएको दर्ता बदर मुद्दाको मिसिलबाट देखिन्छ । सो मिति भन्दा पुर्व कि.नं. ३७ को जग्गा राधा देवीकै स्वामित्वमा रहेको देखिंदा र वादीको साक्षीको बकपत्रबाट समेत समर्थन भएको देखिंदा दावी बमोजिम प्रतिवादीहरुले लुटपिट गरेको ठहर्छ भन्ने सि.जि.अ.को ०५०।२।२६ को फैसला ।
५. हामीले ०४१ साल देखि ०४७ साल सम्मको वाली खाएकीमा मुद्दा दिएका छौं सो कुरा उक्त विगो मुद्दामा विपक्षीकै साक्षीले वकपत्र गरेका छन् हाम्रो हक जग्गाको वाली खाएकोमा सवै सालको वालि तिर्न बुझाउन पुग्ने गरी मन लागी विगो र लुटपिट नगरेकोलाई लुटपिट गरे भनि मुद्दा दिएकोमा शुरु जिल्ला अदालतले लुटपिट ठहराएको इन्साफ नमिलेको त्रुटिपूर्ण हुँदा उल्टाई जरिवाना फिर्ता गराई पाउँ भन्ने पुनरावेदन अदालत जनकपुरमा परेको पुनरावेदन ।
६. यस्मा प्रमाणको अंश मुद्दाबाट अंश पाउने ठहरिएको पुनरावेदक प्रतिवादीहरुले आफूले अंश भाग पाउने ठहरेको मध्येको जग्गाको वाली लुटपीट गरेको ठहराएको शुरु फैसला फरक पर्ने देखिंदा अ.वं. २०२ बमोजिम विपक्षी झिकाउने भन्ने ०५०।११।२४ को पुनरावेदन अदालत, जनकपुरको आदेश ।
७. वादीले आफ्नो फिरादमा लुटपिट भएको समय भनी विहान ८ बजे देखि ३ बजेको वारदात समय देखाएकोमा वादीका साक्षी प्रेमलालले विहान ८ बजे देखि ४ बजे सम्म लुटपिट भएको भन्ने र अर्को साक्षी हरि प्रसादले लुटपिट भएको समय विहान ८ वजे देखि ४ बजे सम्म भनी भनेवाट वादीको भनाइ र वादीका साक्षीको भनाई फरक परेको देखिन आएवाट र लुटपिट भएको भन्ने कुरा भरपर्दो अन्य प्रमाणबाट समेत प्रमाणित नभएबाट लुटपिट गरेको ठहर्दैन । लुटपिट गरेको ठहर्याएको शुरु इन्साफ उल्टि हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत, जनकपुरको मिति २०५१।४।२६ को फैसला ।
८. म पुनरावेदक वादीले आफ्नो फिरादमा लुटपिट गरेको समय ८ वजे देखि ३ बजे सम्म उल्लेख गरेकोमा म पुनरावेदक वादीका साक्षीहरुले पनि उक्त कुरालाई समर्थन गरी लुटपिटको वारदात ८ बजेदेखि शुरु भएको भनी बकपत्र गरी दिएका छन् । यसरी साक्षीहरुले लुटपिट शुरु भएको समयका सम्वन्धमा फिराद दावीलाई पुष्टि हुने गरी बकपत्र गरेका छन् । लुटपिट ३ बजे सम्म भयो कि ४ बजे सम्म ? भन्ने कुरामा विवाद रहेकै आधारमा लुटपिट नठहर्याउने गरी गरेको पुनरावेदन अदालतको फैसला अन्यायपूर्ण भई बदरभागी छ । प्रमाण ऐन, २०३१ को दफा २७,५४ तथा मु.ऐ लुटपिटको १ नं. तथा सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तहरु समेतको प्रतिकूल हुँदा सो फैसला बदर गरी शुरु सिन्धुली जिल्ला अदालतले प्रतिवादीहरुले लुटपिट गरेको ठहर्याएको फैसला सदरगरी न्याय पाउँ भन्ने समेत व्यहोराको यस अदालतमा पर्न आएको पुनरावेदन ।
९. नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी हेर्दा पुनरावेदन अदालत, जनकपुरले गरेको इन्साफ मिले नमिलेको के रहेछ ? भन्ने विषयमा निर्णय दिनु पर्ने हुन आएको छ ।
१०. निर्णय तर्फ विचार गर्दा यसमा विपक्षी प्रतिवादीहरुले मेरो कि.नं. २८ र ३७ को जग्गामा लगाएको धान काटी, लुटी लगेकाले धान, पराल मासको हुने रु ९,१७५। प्रतिवादीहरुबाट दिलाई भराई सजाय गरी पाउँ भन्ने वादी र हामीले लुट्तै नलुटेको वाली लुटे भनी कल्पित मुद्दा दिएको हुँदा वादीलाई नै सजाय गरीनु पर्दछ भन्ने व्यहोराको प्रतिवादीहरुको जिकिर रहेको पाइन्छ । वादीले आफ्नो फिरादमा लुटपिट भएको समय विहान ८ बजे देखि ३ वजेको वारदात समय देखाएको वादीका साक्षीहरुले विहान ८ वजे देखि ४ बजे सम्म भनी भनेबाट वादीको भनाई र वादीका साक्षीहरुको भनाइ फरक परेको देखिन आउँछ । फौजदारी मुद्दामा शंकारहित तवरवाट दावी प्रमाणित गर्ने दायित्व वादी पक्षमा रहन्छ । प्रस्तुत मुद्दामा यी पुनरावेदक वादीले लुटपिट भएको भन्ने कुराको शंका रहित ठोस प्रमाण पुर्याउन सकेको मिसिल संलग्न कागजातबाट देखिंन आउँदैन । फिराद लेखको आधारवाट मात्र लुटपिट गरेको ठहर्याउन न्यायोचित नहुने हुँदा लुटपिट गरेको ठहर्याएको शुरु सिन्धुली जिल्ला अदालतको फैसला उल्टी गरी वादी दावी नपुग्ने, ठहर्याएको पुनरावेदन अदालत जनकपुरको इन्साफ मिलेकै देखिंदा मनासिव ठहर्छ । पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.नरेन्द्र बहादुर न्यौपाने
इति सम्वत २०५३ साल फाल्गूण २८ गते रोज ३ शुभम्..।