शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६३४६ - भ्रष्टाचार

भाग: ३९ साल: २०५४ महिना: असार अंक:

नि.नं. ६३४६             २०५४, ने.का.प.       अङ्क ३

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री पृथ्वी वहादुर सिंह

माननीय न्यायाधीश श्री केदारनाथ आचार्य

सम्वत २०५२ सालको फौ.पु.नं. .....१००४,१२८५

फैसला मितिः- २०५३।५।२६।४

 

मुद्दाः- भ्रष्टाचार ।

 

पुनरावेदक/वादीः- श्री ५ को सरकार, विशेष प्रहरी विभाग ।

विरुद्ध

विपक्षी/प्रतिवादीः- सुनसरी जिल्ला धरान न.पा. वडा नं. २ रत्ननगर वस्ने बिलोल पोखरेल समेत २ जना ।

 

पुनरावेदक/प्रतिवादीः- ऐ.ऐ.वस्ने ऐ.बिलोल पोखरेल ।

विरुद्ध

विपक्षी/वादीः- श्री ५ को सरकार, विशेष प्रहरी विभाग ।

 

§  नेविल वैकंको पत्रबाट प्रस्तुत मुद्दाको शुरुवात भै अनुसन्धान हुँदा प्रतिवादी विलोल पोखरेल विशेष प्रहरी समक्ष आरोपित कसुरमा सावित रहेको पाइन्छ । निजको साविति हेर्दा आफू नेपाल अरव वैंकमा कार्यरत रहंदा प्रमोद शर्मा, शोभनादेवी, शिव प्रसाद सिग्देलका काल्पनिक नाउँमा आफूले विभिन्न खाताहरु खोली सहिछाप समेत गरी कारोवार गरी विभिन्न मितिमा विभिन्न रकम निकालेको भन्ने देखिन्छ । त्यसरी नै शोभा देवीले समेत मेरो नाम शोभा भएकोले नाम फरक पारी खाता खोल्न नहुने हो तर मेरो श्रीमान विलोल पोखरेलले भने अनुसार शोभना देवीको दस्तखत गरी आएकी हुँ । उक्त खाताबाट कहां के कति रकम आउथ्यो र झिकिन्थ्यो मलाई थाहा छैन । मैले चेकमा सहि गरे पनि विवरणहरु मेरो पतिले नै भर्ने गर्नु हुन्थ्यो भनि विशेष प्रहरी समक्ष गरेको वयानबाट विलोल पोखरेलको साविती समर्थित हुन आएको पाइन्छ । विलोल पोखरेलले विशेष प्रहरी विभागमा गरिदिएको प्रमोद शर्मा, शिव प्रसाद सिग्देल लगायतका विभिन्न व्यक्तिको नामको नमुना दस्तखतसँग नेविल वैंकमा भूक्तानी दिएको चेकमा भएको दस्तखत भिड्न गएको विशेषज्ञको रायलाई निजले अदालतमा उपस्थित भई गरेको वकपत्रले समेत पुष्टयाई गरेकै देखिन्छ । निज प्रतिवादी विलोल पोखरेलले अदालतमा वयान गर्दा आरोपित कसुर गरेको छैन भन्ने लेखाए तापनि आफ्नो इन्कारीको समर्थनहुने अन्य आधार प्रमाण पुर्‍याउन सकेको पाईदैन । शोभाका नाउँको चेकमा विवरण मैले भरी सही मात्र शोभाले गरेको हुँदा रकम समेतको बारेमा शोभालाई  थाहा नभएको ठिक हो भनि लेखाई दिएको देखिंदा शोभा देवीको वयानलाई समर्थन पुग्न गएको तथा आरोपित कार्य विलोल पोखरेलबाटै भएको भन्ने सिद्ध हुन आउँछ । अतः उल्लेखित आधार प्रमाणबाट प्रतिवादी विलोल पोखरेलले आरोपित कसुर गरेको होइन एवं भ्रष्टाचार निवारण ऐन, अन्तर्गत कारवाही हुन सक्ने होइन भन्ने विद्वान अधिवक्ताको भनाइसँग सहमत हुन  नसकिने ।                   

(प्र.नं.२५)

§  प्रतिवादी शोभा पोखरेलको हकमा विचार गर्दा निजको नाउँको खाता नं. १४३८ को खाता संचालन भई कारोवार भएको कुरामा सहमत भएता पनि उक्त खातामा रकम कहांबाट जम्मा हुन्थ्यो कति जम्मा हुन्थ्यो र  कति झिकिन्थ्यो भन्ने कुरा शोभालाई थाहा नभएको र उक्त खातामा रकम राख्ने झिक्ने तथा चेकमा विवरण भर्ने काम निजको श्रीमान विलोल पोखरेलले गर्ने गरेको भनि दुवै प्रतिवादीहरुको  वयान कागजबाट समर्थित हुन आएको अवस्था रहेछ । माथि गरिएको विवेचना तथा लोग्नेको प्रभाव एवं दवाबमा परी जानकारी विना नै खाता संचालन भएको देखिएको आधारमा शोभा देवीको सक्रियता एवं संलग्नता रहेछ भनी मान्न सकिने ठोस एवं तथ्ययुक्त सवुद प्रमाणको अभाव रहेबाट निजले आरोपित कसुर गरेको भन्ने वादी दावी पुग्न नसक्ने । 

(प्र.नं.२६)

 

पुनरावेदक तर्फबाटः x

विपक्षी तर्फबाटः x

अवलम्वित नजिरः x

 

फैसला

            न्या.केदारनाथ आचार्यः- न्याय प्रशासन  ऐन, २०४८ को दफा ९(१) (ग) बमोजिम पु.वे.अ. पाटनको फैसला उपर यस अदालतमा दोहोरो पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण तथा ठहर यस प्रकार छः-

            २. नेपाल अरव वैंक लि.वाणिज्य वैंक सम्वन्धी कारोवार गर्नको लागि साविक दुवाई स्थित युनियन वैंक आफ मिडिल इष्ट हाल इमिरेट वैंक लिमिटेडको संयुक्त लगानीमा संचालित वैंक हो । हाल यस वैंकमा कर्मचारी सहायक अधिकृत बिलोल पोखरेलले नेपाल वैंक लि.का कर्मचारी रामेश्वर प्रसाद वास्कोटा तथा माधव प्रसाद आचार्य र अन्य दुई जना व्यक्तिहरु शोभा देवी तथा प्रमोद शर्मा समेतको मिलेमतोवाट भ्रष्टाचारपूर्ण कार्य गरेको भनने समेत नेविल वैंकको पत्र ।

            ३. नेपाल अरव वैंक लि. को व.हि.नं. ६८०२१००१४३८ दरवार मार्ग शाखाको दस्तखत नमुना कार्ड देखाई सोधनी भएको शोभना देवीको दस्तखत नमुना कार्ड हेरें, निज शोभना देवीलाई नेपाल अरव वैंकमा मैले परिचय गराएको हुँदा सनाखत गर्दछु । शोभना देवी भन्ने वास्तविक मान्छे र्छैन । मैले निज शोभना देवी कृत्रिम नाम राखी आफै.ले खाता खोलेको हुँ । दस्तखत नमुना कार्डमा भएको अग्रेजीको शोभना देवी भन्ने अक्षर सहिछाप मैले मेरो श्रीमती शोभा पोखरेललाई गराएको हुँ प्रमोद शर्मा भन्ने व्यक्ति काल्पनिक हुन । मैले विभिन्न गैर कानूनी काम गरी आर्जन गरेको सम्पत्ति आफै वा आफ्ना परिवारका नाउँमा वैंकमा राख्दा खतरा भै रहने हुँदा प्रमोद शर्मा भनने काल्पनिक व्यक्तिका नाउँमा मैले नै दस्तखत नमुना समेत गरी खाता खोली रकम राख्ने र झिक्ने समेतका कार्य गरी आएको छु । प्रमोद शर्माको कान्तिपथ स्थित नेविल वैंकको वचत खाता नं. ९३४ को चेक नं. ७१ र ६२ हेरें । उक्त चेक भर्ने र शोभा प्रमोद शर्माको दस्तखत समेत मैले मेरै स्वहस्ताक्षरले गरेको हुँदा सानाखत गर्दछु । मिसेज एस. पोखरेलका नामको ७१ नं. चेक पछाडी शोभा पोखरेल भनी लेख्ने काम मैले गरेको हो । उक्त चेकको रकम कृ.वि.वैंक वानेश्वरमा मेरो श्रीमतीको खातामा रकमान्तर गरिएको र सो रकम पटक पटक गरी मैले झिकी लिएको छु । नं. ६२ को प्रमोद शर्माले काल्पनिक नामावली खातावाट मैले नै दस्तखत गरी रु. एकलाख नगदै वुझी लिएको हुँ । सो चेकको पछाडि भएको प्रमोद शर्मा भन्ने दस्तखत समेत मेरो हुँदा हेरी सनाखत गरी दिएं । नेविल वैंकको दरवार मार्गमा रहेको शोभाना देवीको वचत खाता नं. ०१४३८ को विभिन्न मितिको १५ थान चेकको दस्तखत मेरो श्रीमती शोभा पोखरेलले गरेकी हुन र उक्त रकम पटक पटक गरी मैले वुझी लिएको हुँ । मैले म र मेरो श्रीमती समेतको खातावाट पटक पटक गरी नेविल वैंकवाट रु.८,३४,०००। वुझी लिएकोमा सोही रकमवाट टोयोटा कोरोला मोटर रु.३,२०,०००। धरान न.पं. मा ४,÷२ कठ्ठा जग्गा रु.१,२०,०००। मा श्रीमती र मेरो गर गहना सुनको रु.१,५००,००। जतिको, घरमा सोफा दराज आदि रु.२०,०००। को र काठमाण्डौं वानेश्वरमा जग्गा खरिद गर्दा नपुग रकम थप रु.२,२४,०००। समेतको काममा उक्त पटक पटक गरी खर्च गरी आएको छु । ने.वै.लि. काठमाण्डौं अफिसको नं. ५१।५४७३ र नं. २(५२ ।०८ को ती दुवै क्रेडिट एडभाइसहरु ने.वै.लि.काठमाण्डौं अफिसवाट जारी भएका होइनन् । मैले काठमाण्डौं अफिस गएको वेला उक्त छापिएका फारामहरु ल्याएको थिंए । विवरणहरु मैले नै लेखेको हो । ने.वै.लि. काठमाण्डौं अफिसको तर्फवाट कर्मचारी संख्या १५०० र ३२६३ का रामेश्वर प्रसाद वासकोटा र माधव प्रसाद आचार्यको दस्तखत समेत मैले नै गरेको हुँ । निजहरुको दस्तखत यस्तै क्रेडिट एडभाइसहरुमा अरव वैंकमा पहिले प्राप्त भै रहेको हुँदा सो हेरी दस्तखतको नक्कल गर्न मलाई गारो परेको  थिएन । त्यसपछि उक्त वैंकमा कर्मचारीहरुको दस्तखत जांची हेरी प्रमाण्ँित गर्ने काम नेविल वैंक प्रधान कार्यालयको कर्मचारी शारदा ढुंगेलले गरेको हो । उक्त क्रेडिट एडभाईसमा भएको शारदा ढुंगेलको दस्तखत वाहेकका लेखाइ र विवरणहरु कीर्ते हुन र सो लेख्ने भर्ने काम मैले गरी नेविल वैकको रिसिभस्टाम्प समेत सम्वन्धित कर्मचारीवाट मैले लगाउन लगाएको हुँ । उक्त कागजातहरु सनाखत गरी दिएं । उक्त क्रेडिट एडभाइसमा चेक राईटरले रकम लेख्ने काम मैले नेपाल अरव वैं लिमिटेडमा रहेको प्रोटेक्टोग्राफ मेसिनले गरेको हुँ । ने.वै.लि. काठमाण्डौं अफिसको क्रेडिट एडभाईस थान ८ तयार गरी ने.वै.लि.वैंक कान्तिपथमा पुर्‍याउने काम मैले गरेको हो सो एडभाइसहरु सनाखत गरी दिएं । मैले माथि प्रमोद शर्मा भन्ने व्यक्ति झै शिव प्रसाद सिग्देल भन्ने व्यक्ति पनि काल्पनिक हुन । यस किसिमले कृतिम परिपंच मिलाई वैंकवाट झिकेको रकम राख्नको लागि मैले नै आफै शिव प्रसाद सिग्देलको नाममा दस्तखत गरी नेविल वैंक नयां सडक शाखामा खाता नं. ६४६ खोली संचालन समेत गरी आएको छु । ५०।१४१५ को क्रेडिट एडभाइसको दस्तखत जांच्ने काम मैले गरेको हुँ । शोभा एस.पि.भन्ने अग्रेजी अक्षर लेखी गरेको दस्तखत मेरो हो । नं. ५०।९९१, ५०।२१५०, २८७५,५ १र३६०, ५०।२२७१, ०५०।२५१४ का क्रेडिट एडभाइसहरुमा निलो डटपेनले अंग्रेजीमा विभिन्न तथ्यहरु लेख्ने काम मैले गरी आएको  हुँ । ने.वै.लि.को तर्फवाट गरिएको माधव आचार्य र रामेश्वर प्रसाद वास्कोटाको साथै क्रेडिट एडभाइस नं. ५०।२१५०।२८७५ मा भएको शक्तिदेवी पाण्डे र सुरेश कुमार न्यौपानेले गरेको दस्तखत नमुना समेतको दस्तखत मैले गरेको हुँदा सनाखत गर्दछु । मैले नेपाल अरव वैंक लि. कान्तिपथ शाखाको फोटोकपीको मेसिन राखेको ठाउँमा शिव प्रसाद सिग्देलको नागरीकताको प्रमाण पत्रको फोटोकपी पाएको थिए, शिव प्रसाद सिग्देल नाम गरेको व्यक्ति अस्तित्वमा र नागरिकतामा भएको घर ठेगानामा हुनु पर्दछ । तर मैले निजलाई चिन्दिन र कुनै कारोवार समेत छैन । नयांसडक अफिसमा एउटा खाता खोल्नू पर्ने भएको र कसैको नागरीकताको प्रमाणपत्र भएमा प्रमाणित समेत गर्नु पर्ने हुँदा निज शिव प्रसादको  नागरीकता प्रयोग गरी नेविल वैंक नयां सडकमा खाता खोलेको हुँ । मैले संचालन गरी आएको शिव प्रसाद सिग्देलका नाउँको चल्ती खाता नं. ६४६ नयां सडक शाखाको चेक थान १० हेरें उक्त चेकहरु मध्ये विना नम्वरको १०।१।८८ को रु. ७९०।८८ को एकथान चेक वाहेक अन्य चेकहरुमा विवरण लगायतका अन्य आवश्यक कुराहरु मैले मेरो स्वहस्ताले गरी प्रमोद शर्मा र शोभनादेवी लगायतका अन्य व्यक्तिहरुको सहिछाप समेत आफैले गरी भूक्तानी लिने र खातामा रकम जम्मा गर्न पठाउने लगायतको काम म आफैले गरेको हुँदा उक्त चेकहरुमा सनाखत गरी वास्तविकता खुलाई दिएको छु । नेविल वैंक कान्तिपथ शाखाको वचत खाता नं. ९३४ को मैले संचालन गरी आएको प्रमोद शर्माका नामको खाताको संचालन विवरण अनुसारको चेक थान ४२ हेरें उक्त चेकमा मिति लगायतको विवरण भर्ने काम र प्रमोद शर्माको नामवाट दस्तखत गर्ने काम समेत मैले विभिन्न मितिमा गरी जम्मा रु.७,१७,५००। नगद झिकेको ठीक सांचो हो । उक्त चेकहरु हेरि सनाखत गरी दिएं । देखाइएको मेरो   श्रीमती शोभा पोखरेलद्वारा संचालित शोभना देवीको वचत खाता नं. १४३८ को विभिन्न मितिको संलग्न विवरण अनुसारको चेक थान २२ हेरें, उक्त चेकहरुमा चेक नं. मिति रकम लगायतको विवरण भर्ने काम मेरा स्वहस्ताले गरेको हुँदा हेरी सनाखत गर्दछु । देखाइएको मैले संचालन गरी आएको प्रमोद शर्मा व.खा.नं. ९३४ को पाना ८ र ५ को स्टेटमेन्ट हेरें, उक्त स्टेटमेण्ट अनुसारको कारोवार मैले गरेको हुँदा सनाखत गर्दछु र मेरो श्रीमती शोभा पोखरेल समेतवाट संचालित खाताहरुवाट जम्मा रु. २८,२६,८२७।६४ नेपाल अरव वैंकवाट झिकी लिएको ठीक सांचो हो, सो मध्ये हाल खातामा वांकी रहेको रकम कट्टा गरिनु पर्ने देख्दछु । मैले शारदा ढुंगेल लगायतका नेविल वैंकका कर्मचारीलाई उक्त कार्य गरीदेउ भनी भनेको वा रकम कलम दिए दिलाएको केहि छैन, यसमा कानूनले जो ठहर्छ भन्ने समेत व्यहोराको विशेष प्रहरीमा प्रतिवादी बिलोल पोखरेलको  वयान ।

            ४. नेपाल अरव बैंक लिमिटेडमा मेरोआफ्नो नामको खाता छैन । मेरो श्रीमान् विलोल पोखरेल ले भन्नु भए अनुसार मैले नेविल वैंक दरवारमार्ग शाखामा शोभनादेवीका नाममा वचत खाता खोलेको हुँ सो खाताको नम्वर हाल याद भएन । शोभना देवी नामको कार्डमा भएको दस्तखत नमुना मेरो भएको हुँदा सनाखत गर्दछु । मेरो नाम शोभा भएकोले नाम फरक पारी वैंक खाता खोल्न नहुने हो तर मेरो श्रीमान विलोल पोखरेलले   भने अनुसार शोभना देवीको दस्तखत गरी आएको छु । शोभना देवी भन्ने मानिस अस्तित्वमा छैनन । यो काल्पनिक नाम  हो । उक्त वैंक खाता मेरो श्रीमानको भनाईमा मैले खोलेको हुँ, के कुन श्रोतवाट सो खातामा रकम प्राप्त हुन्थ्यो मलाई थाहा छैन । पटक पटक श्रीमानले भने अनुसार चेक वुकमा दस्तखत मैले शोभना देवीको नामवाट गर्ने गरी आएको थिएं । चेकमा रकम लगायतका अन्य विवरण मेरो पति ले नै भर्ने गर्नुहुन्थ्यो । १५ थान चेक हेरें, उक्त चेकहरुमा शोभना देवी भनी गरेको अग्रेजी अक्षरको दस्तखत मेरो भएको हुँदा सनाखत गर्दछु । उक्त चेकहरुवाट कूल रकम रु.८४,०००। विभिन्न मितिमा मेरो पतिले झिक्नु भएको ठीक सांचो हो । दस्तखत वाहेकका चेकको अन्य अक्षरहरु मेरो पति विलोल पोखरेलको हो, सो रकमवाट मलाई थाहा भएसम्म सुनका गर गहना मोटर गाडी, काठमाण्डौंमा र धरानमा घडेरी र घर सजावटका केहि सामानहरु यस्तै पैसावाट खरिद भएका छन् । देखाइएका २२ थान चेक हेरें उक्त चेक मैले संचालन गरी आएको शोभना देवीका नामको वचत खाता नं. १४३८ को हो । उक्त चेकहरुमा मिति रकम लगायतको विवरण्ँ भर्ने काम मेरो श्रीमान विलोल पोखरेलले गर्नु भएको हो र शोभना देवी भनी विभिन्न ठाउँमा गरिएको दस्तखत मैले गरेको हुँदा सनाखत गर्दछु । उक्त २२ थान चेकहरुमा मैले दस्तखत गरी शोभना देवीको नामवाट मेरो श्रीमान्लाई दिई पठाएकी हुँ । सोवाट झिकेको रकम रु.६,२८,,७५। को हकमा श्रीमान्लाई नै थाहा होला । रवि खडका्ले विवाहको लागि म वाट लगेको गहना नै निजले निवेदन साथ दाखिल गरेका गहना हुन्, निजको निवेदन सनाखत गरी खुलाई दिए । रवि खड्काले दाखिल गरेको गहनाहरु भन्दा वढी गहनाहरु म र मेरो श्रीमानले लगाएको गहना हो भन्ने समेत व्यहोराको प्रहरीमा प्रतिवादी शोभा पोखरेलको वयान ।

            ५. यसमा नेपाल अरव वैंक लिमिटेडका सहायक अधिकृत सुपर भाइजर पदमा कार्यरत रहेका राष्ट्रसेवक विलोल पोखरेल र निजकी श्रीमती शोभा पोखरेलले आपसमा मिलेमतो गरी गैर कानूनी रुपमा प्रमोद शर्मा, शोभना देवी र शिव प्रसाद सिग्देल भन्ने काल्पनिक नाउँ राखी सो वैंकको कान्तिपथ शाखामा व.हि.नं. ९३४ दरवार मार्ग शाखामा व.हि.नं. १४३८ तथा न्युरोड शाखामा च.हि.नं. ९६४६ को खाता खोली उक्त खाताहरुमा नेपाल वैंक लिमिटेड काठमाण्डौं अफिसका नं.२(५२।०८, ५१,५४७३, ५०।१४१५, ५०।९९१, ५०।१४३१, ५०।९९७, ५०।२१५०, २८७५, ५१३६०।, ५०।२२७१, ५०।२५१४, ५१।१२१९, ५०।३७८ र १३ मार्च १९८७ को अमेरिकी डलर ३४९.५९ को क्रेडिट एडभाइस जम्मा कृत्रिम १३ थान क्रेडिट एडभाइसहरु वनाई नेविल वैंक कान्तिपथ, दरवार मार्ग र न्युरोड शाखामा पेश गरी सो क्रेडिट एडभाइसहरुको हस्ताक्षर जाँच गर्ने अधिकृत कर्मचारीहरु समेतलाई झुक्यानमा पारी उल्लेखित व.हि.नं. १४३८, ९३४ र च.हि.नं. ६४६ का खाताहरुमा रकम क्रेडिट गर्न सफल भई उक्त कृत्रिम व्यक्तिका नाउँवाट खोलिएका खाताका चेकहरुमा आफूहरुले कृत्रिम व्यक्तिहरुको नामवाट सही छाप गरी आफू र आफ्ना मान्छेहरुद्वारा रकम झिकी झिक्न लगाई एक खाताको रकम अर्कामा डेविट क्रेडिट समेत गरी गराई सो गैर कानूनी रुपमा झिकेको रकमवाट जग्गा जमिन, कार, सुनका गहनाहरु, टेलिभिजन, सोफासेट, दराज टि टेवुल समेतका सामानहरु खरिद गरी आफ्नो आम्दानी र खर्च भन्दा वढी सम्पत्ति गैरकानूनी रुपमा आर्जन गरी उच्च जीवनस्तर कायम राखी नेपाल कानून जानी जानी पालना नगरी आफ्नो जिम्मा नियन्त्रणमा समेत रहेको सम्पत्ति मासेर आफूहरुलाई गैर कानूनी फाइदा र नेपाल अरव वैंक लिमिटेडलाई रु.२८,२६,८२७।६१ गैरकानूनी हानी नोक्सानी पुर्‍याई भ्रष्टाचार पूर्ण कसुर गरी आएको सवुद प्रमाणको आधारमा विलोल पोखरेल उपर भ्र.नि.ऐन, २०१७ को दफा ७(२) र १३ अन्तर्गत र प्रतिवादी शोभा पोखरेल उपर सोही ऐनको दफा ८ र १६ (क) को प्रतिवन्धात्मक वाक्यांश अन्तर्गत कारवाही भै हदैसम्म सजाय हुन सोही ऐनको दफा १६ (ग) बमोजिम प्रतिवादी विलोल पोखरेल र निजको श्रीमती शोभा पोखरेलले भ्रष्टाचार गरी आर्जन गरेको मिति ०४६।१।२९, ०४६।२।१७ को खानतलासी वरामदी मुचुल्का र मिति २०४६।१।३० मा प्र.शोभा पोखरेलले निवेदन साथ दाखिल गरी जोखतौल समेत भएको निम्न वमोजिमको चल अचल सम्पत्ति प्रतिवादीहरुवाट जफत गरी श्री ५ को सरकारको सर्व संचित कोषमा दाखिल गरी पाउँ ।

 

अचल सम्पत्तिहरुः-

१.     जनकलालको नातिनी रोहीणी नाथकी छोरी विलोल पोखरेलको श्रीमती धरान न.पं. वडा नं. २ वस्ने शोभा पोखरेलका  नाउँको का.जि.भिमसेनगोला गा.पं. वडा नं. ३ कि.नं. ६५८ मा दर्ता भएको क्षोत्रफल १-३-२ को सीम जग्गा कित्ता एक ।

२.    ऐ.को नाउँमा सुनसरी जिल्ला धरान न.पा.वडा नं. ११।९० कि.नं. १६ मा दर्ता भएको क्षेत्रफल ०-४-१२ मिटर जग्गा कित्ता एक ।

 

 

चल सम्पत्तिहरुः-

१.     टोयटा कम्पनीको वा.अ.च. ९६३४ मा दर्ता भएको मोल रु. ३२०,०००। पर्ने कार एक ।

२.    मोडेल नं. एन.भि.जि. २० इ.एन.सि.नं. डि ७ एम वि ११७५६ को नेशनल कम्पनीको डेक थान एक ।

३.    मोडेल नं. केभि.नं. १८८२ एम इ.३ सि.नं. २०५७५४० को सोनी कम्पनीको १८ इन्चको टेलिभिजन थान एक ।

४.    मोडेल आर एक्स सी. ४ एफ नं. ६ जि.ए.एन. ६३३१० को नेशनल कम्पनीको स्टेरियो थान एक ।

५.    क्याल्मिनेटर कम्पनीको भोल्टेज स्टेप्लाइजर थान एक ।

६.    पोदरेज कम्पनीको टेलिभिजन राख्ने स्टिलको दराज एक ।

७.    सोफा सेट दुई सेटको  थान ६ (छ) ।

८.    टि.टेवल अं. २४ इन्चको थान एक ।

९.    सि.जि. १२५ होण्डा कम्पनी बा.अ.म.२२७१ नं. को मोटरसाइकल थान एक ।

१०.    गहनाहरुः-

१.     सुनको वाला थान ३ (तिन) तौल ३४ ग्रा. २०० मि.ग्रा. ।

२.    सुनको चुरी थान ४ चार तौल ६९ ग्रा. ८०० मि.ग्रा. ।

३.    नवरत्नको सेट एक थान ४ तौल २२ ग्राम ९५० मि.ग्रा. टप थान दुई औठी थान १ र लकेट थान १ जम्मा पथरथान ३६ जडान भएको समेत तौल ।

४.    सुनको औठी थान ३ तौल १६ ग्रा. २०० मि.ग्रा गोमेट जडान १, जार्कून जडान १ र मुगा जडान एक सेट ।

५.    पथ्थर जडान नेक्लेस १ सेट, ४ तौल ३७ ग्रा. ७०० मि.गा्र झूम्का २, औठी १, नेकलेस १, पथ्थर र थान ७२ समेत ।

६.    तामाको ढूंग्री सहितको ठुलो तिलहरी थान १  (एक) ग्रा. ४५० मि.ग्रा. थान तामो ढूंग्री समेतको तौल ।

७.    कालो पोते सहितको पत्थर जोडेको मंगलसुत्र थान एक, पोते र पत्थर समेतको तौल २४ ग्रा. ५० मि.ग्रा. ।

८.    ब्रसलेट थान १ (एक) ५ ग्रा. ९५० मि.ग्रा. ।

९.    सुनको सिक्रि थान ५ (पांच) तौल ६० ग्रा. ।

१०.    वेरुवा औठी १ एक र नामङकीत औठी १ एक थान २ तौल ११ ग्रा. ५०० मि.ग्रा. ।

            ६. साथै उक्त ऐनको दफा २९ अनुसार प्र.विलोल पोखरेलले कृत्रिम एडभाइसवाट शोभना नाउँ समेतका खातामा जम्मा गरी हिनामिना गरेको रकम रु.२८,२६,८२७।६१ नेपाल अरव वैंक लि. कान्तिपथ शाखामा रहेको प्रमोद शर्मा नामका नं. ९३४ को वचत खातामा व्यालेन्स रहन गएको रु.३,५७,११०।०१ र सोही वैंकको दरवारमार्ग शाखामा शोभना देवीका नाउँमा रहेको नं. १४३८ को वचत खातामा व्यालेन्स रहेको रु.२,३२०।४६ समेत जम्मा रु.३,५९,४३०।४७ तिन लाख उनान्साठृी हजार, चार सय तीस रुपैया र पैसा सतचालिस उक्त वैंक खाताहरुवाट र वांकी रु.२४,६७,३९७।१४ को चौविस लाख सतसठृी हजार तीन सय सन्तानव्वे रुपैया पैसा चौध प्रतिवादी विलोल पोखरेलवाट असुल उपर गरी नेपाल अरव वैंकलाई दिलाई भराई पाउन र सोही ऐनको दफा १६(क) को प्रतिवन्धात्मक वांक्यांश अनुसार प्र.शोभा पोखरेलले शोभना देवी भन्ने कृतिम नाउँवाट नं. १४३८ को वचत खाता खोली खोल्न लगाई रकम भूक्तानी लिने चेकहरुमा सही गरी आफ्नो र श्रीमान समेतको नाउँवाट झिकेको रकमको विगो रु. ७,१२,०००। सात लाख वार हजार वरावर निज प्र.शोभा पोखरेललाई कसुर गर्ने व्यक्ति सरह सजाय गरी पाउन अनुरोध गरीन्छ भन्ने समेत विशेष प्रहरी विभागको आरोप पत्र ।

            ७. आरोप सरासर गलत छ । यो सम्पूर्ण कुराको वारेमा मेरी श्रीमतीलाई केहि पनि थाहा थिएन । मैले आफ्नो जिम्मा रहेको भनिए वमोजिमको कुनै पनि चल अचल सम्पत्ति वा कागजातहरु मिलाई मैले नेपाल अरव वैंकको संपत्ति हिनामिना नोक्सानी गरेको छैन । यस कसुरमा अन्य व्यक्तिहरु संलग्न रहेको र निजहरु म भन्दा माथिका ओहदाका जिम्मेदार कर्मचारीहरु छन् जसले मात्र आफ्नो अधिकारको समेत दुरुपयोग गरी यस किसिमका कागजातहरु समेत मिलाई भने बमोजिमको कसुर गर्न अग्रणी भूमिका निभाएका छन् । सो को समेत अनुसन्धान हुनु पर्ने, अनुसन्धान अधुरो भएको देखिन्छ । विशेष प्रहरी विभागमा मैले गरेको वयानको सम्वन्धमा यस मुद्दामा संलग्नता भएको प्रमाणित गर्ने नक्कली क्रेडिट एडभाइसहरु वनाउने खाता संचालन गर्ने रकम झिक्ने झिकाउने तथा जम्मा गर्ने सम्वन्धमा सवाल जवाफहरुमा मैले आफ्नो भएको व्यहोरा खोली दिएको छु । तर संपत्ति खरिद तथा आर्जनका सम्वन्धमा केही सवाल जवाफहरु मैले दवावमा आएर भएको सांचो व्यहोरा भन्दा वेग्लै लेख्न लेखाउन लगाइएको छ । रेखा तथा हस्ताक्षर विशेषज्ञ मोहन केशर थापाको प्रतिवेदन विषयमा मेरो भन्नु केही छैन भन्ने समेत बा.वि.अ.मा प्रतिवादी विलोल पोखरेलको वयान ।

            ८. आरोप पत्र अनुसारको कसुर मैले गरेको छैन । आरोप अनुसार मलाई सजाय हुनु पर्ने होइन । चल अचल सम्पत्ति भ्रष्टाचार गरी आर्जन गरेको होइन सो चल अचल सम्पत्ति जफत हुनु पर्ने होइन फिर्ता पाउनु पर्छ । मेरो गहनाहरु मेरो विवाहमा मेरो माइतवाट र मेरो घरवाट प्राप्त भएका थिए । मेरो दाजु जर्मनीमा भएको हुनाले वाहां आउँदा मलाई गहना दिने गर्नु हुन्थ्यो मेरो वुडाससुरा, ससुरा समेत सम्पन्न परिवार हुनुहुन्छ । धरानको जग्गा वाहेक काठमाण्डौंको जग्गा र डेक टेलिभिजन समेतका सरसामान वांकी सामानहरु मेरो ससुराले दिएको संपत्तिवाट लिएको हो । मेरो नाम शोभना देवी घरायसी नाम हो, सर्टिफिकेटमा शोभा लेखिएको छ । खाता खोल्दा मेरो घरायसी नाम शोभना देवीवाट खोलेकी हुँ मेरो आफनो पेवा रुपैया जम्मा गरी म आफैले खाता खोलेकी हुँ । त्यसपछिको कारोवार मेरो श्रीमानले नै गर्नु हुन्थ्यो । म वाहिर गएको वेलामा चेकमा साईन गरेर जाने गरेकी थिए । चेक भर्ने काम वाहां ले नै गर्ने गर्नु हन्थ्यो ।  खातामा रुपैया कहांवाट आउथ्यो कति झिकिन्थ्यो कति राखिन्थ्यो मलाई केहि थाहा छैन । विशेष प्रहरी विभागमा मलाई वयान गर्दा मेरो नाम सोभना देवी भनी भनेकी थिएं वयानमा छुटेको रहेछ । विशेष प्रहरी विभागमा मलाई वयान गराउदा लेख भने अनुसारको लेखि दिएको हुँ त्यसकारण सो वयान व्यहोरा मेरो राजीखुसीको होइन भन्ने समेत वा.वि.अ.मा प्रतिवादी शोभा पोखरेलको वयान।

            ९. अफिस भित्रको कुरा हुँदा मुद्दा सम्वन्धमा मलाई थाहा छैन । सोभालाई घरमा वोलाउँदा सोभना पनि भनिन्थ्यो । आर्थिक स्थिति वनाउन भ्रष्टाचार गर्नु पर्ने अवस्था म देख्दिन । विलोल पोखरेलको हजुरवुवाले ५।७ लाखको प्रोपर्टि दिए भन्ने सुनेको हुँ । शोभाको दाजु किशोर ढुंगेल जो जर्मनीमा साङग्रीला ट्राभल्समा काम गर्दछन् केहि गहना वनाई दिएका छन् भन्ने सुनेको हुँ भन्ने समेत विलोल पोखरेलको साक्षी कृष्ण प्रसाद न्यौपानेको वकपत्र ।

            १०. यस मुद्दा सम्वन्धमा मलाई केही थाहा छैन शोभा पोखरेल मेरो वहिनी हुँदा पहिले देखि नै चिनेको  हुँ । वावुको घरमा हामी दिदी वहिनी वस्दा खेरी शोभालाई शोभना भनि वोलाइन्थ्यो । स्कूलमा पढ्न जांदा के भएर हो शोभनालाई सोभा भएछ र त्यतिवेला देखि शोभा पनि भन्न थालेका हौं । शोभा पोखरेलको घरको स्थिति आर्थिक स्थिति राम्रो छ । रुपैया शोभाको वुढा ससुराले दिइरहन्थे । शोभाको दाजु किशोर ढुंगेल जर्मनीमा काम गरी वसेका छन् र निजले वहिनीलाई माया गर्दछन् । शोभाले भने अनुसारको कुराहरु सवै पुर्‍याई दिन्थ्यो गहनाहरु पनि दाजुले वहिनीलाई किनिदिएका धेरै छन् भन्ने समेत शोभा पोखरेलको साक्षी सुसमा न्यौपानेको वकपत्र ।

            ११. २०४६।३।२९।५ को प्रतिवेदन आफूले जाँच गरेको हस्ताक्षर तथा दस्तखतको सम्वन्धमा देखिएका आधारहरु समेत प्रतिवेदनमा प्रष्ट खुलाई दिएको छु भन्ने समेत रेखा तथा हस्ताक्षर विशेषज्ञ मोहन केशर थापाको वकपत्र ।

            १२. मिति २०४६।१।२८ को नेपाल अरव वैंकको पत्रमा उल्लेख गरेको व्यहोरा मलाई थाहा भई लेखेको  हुँ । विस महिना अघिको कुरा भएको हुनाले विस्तृत म भन्न सक्तिन जाहेरीमा लेखि सकेको छु भन्ने समेत असादुल असराफको वकपत्र ।

            १३. कम्पनी ऐन, २०२१ को दफा ७ वमोजिम स्थापित भएको कम्पनी अविछिन्न उत्तराधिकारवाला एक सँगठित संस्था हुने व्यवस्था भए मुताविक नेविल वैंक सँगठित संस्था देखिएको, सँगठित संस्थामा कार्यरत कर्मचारी राष्ट्रसेवक हुने नै देखिएको, प्र.विलोल पोखरेल अधिकार प्राप्त विशेष प्रहरी समक्ष आरोपित कसुरमा सावित भै अदालत समक्षको वयानमा समेत रु.४,५०,०००। हिनामिना गरेकोमा सावित भएको, काल्पनिक नाममा खोलिएका खाता नं. ६४६, १४३८ र ९३४ का खाताहरु प्र.विलोल पोखरेलले नै खोलेको भन्ने पुष्टी भएको विशेषज्ञको रायवाट सो कुरा समर्थित भएको समेतवाट प्र.विलोल पोखरेलले भ्र.नि.ऐन, २०१७ को दफा ७(२) को सम्म कसुर गरेको ठहर्छ प्र. शोभाका हकमा प्रमाण पुग्न नसकेकोले वादी दावी पुग्न सक्दैन भन्ने समेत तत्कालिन वा.वि.अ.को मिति २०४८।५।२१ को फैसला ।

            १४. श्री ५ को सरकारलाई आंशिक रुपमा हराई गरेको वा.वि.अ.को फैसलामा चित्त वुझेन । सफाइ पाउने शोभा पोखरेललाई दावी वमोजिम सजाय गरी  प्र.विलोल पोखरेललाई समेत दावी वमोजिम हदै सम्म सजाय गरी चल अचल सम्पत्ति जफत गरी पाउँ भन्ने समेत श्री ५ को सरकारको पुनरावेदन जिकिर ।

            १५. बा.बि.अ.को ०४८।५।२१ को फैसला भ्र.नि.ऐन २०१७ को दफा ७ (२) कम्पनी ऐन, २०२१ अ.वं. १८४ (क) १८५ तथा प्र.ऐन, २०३१ को दफा ३,५४ को विपरित भएकोले सो फैसला वदर गरी आरोपित कसुरवाट सफाई पाउँ भन्ने समेत प्र.विलोल पोखरेलको पुनरावेदन अदालत पाटन समक्ष परेको पुनरावेदन जिकिर ।

            १६. यस्मा एकै कसुरमा प्रतिवादी विलोल पोखरेललाई कसुरदार ठहर्‍याई अर्का प्रतवादी शोभा पोखरेललाई सफाइ दिने गरेको शुरुको फैसला विचारणीय देखिंदा छलफलको लागि अ.वं. २०२ नं. वमोजिम विपक्षी झिकाई आएपछि नियमानुसार पेश गर्नु भन्ने मिति ०५१।१।४ को आदेश ।

            १७. जहाँ सम्म वारदातको अवस्था परिस्थिति र प्रतिवादीहरुको संलग्नताको प्रश्न छ त्यसतर्फ विचार गर्दा प्रतिवादी विलोल पोखरेलले शोभना देवी तथा प्रमोद शर्मा समेतको मिलेमतोवाट भ्रष्टाचारपूर्ण कार्य गरेको भन्ने नेविल वैंकको पत्रवाट प्रस्तुत मुद्दाको शुरुवात भै अनुसन्धान हुँदा प्रतिवादी विलोल पोखरेल विशेष प्रहरी समक्ष आरोपित कसुर गरेमा सावित रहेको पाइन्छ । निजको उक्त साविती वयान हेर्दा निजले नेपाल अरव वैंकमा काम गर्दा प्रमोद शर्मा, शोभना देवी र शिव प्रसाद सिग्देल भन्ने काल्पनिक नाउँ राखी उल्लेखित वैंकको कान्तिपथ शाखामा व.हि.नं. ९३४, दरवारमार्ग शाखामा व.हि.नं. १४३८ तथा न्युरोड शाखामा च.हि.नं. ६४६ को खाता खोली उक्त खाताहरुमा नेपाल वैंक लिमिटेड काठमाण्डौं अफिसका विभिन्न नं. को क्रेडिट एडभाइसहरु वनाई प्रमोद शर्मा, शोभनादेवी लगायतका अन्य व्यक्तिहरुको सहीछाप समेत आफैले गरी भूक्तानी लिने र खातामा रकम जम्मा गर्न पठाउने काम आफैले गरेको हुँ । प्रमोद शर्मा नामवाट रु.७,१७,५००। शोभना देवी र शिव प्रसाद सिग्देलको खाता नं. १४३८ र ६४६ को कारोवार मैले गरी उल्लेखित खाताहरुवाट रु.२८,२६,८२७।६१ नेपाल अरव वैंकवाट झिकी लिएको ठिक सांचो हो भन्ने समेत व्यहोरा उल्लेख गरी सावित भएको देखिन्छ । मेरो नाम शोभा भएकोले नाम फरक पारी वैंक खाता खोल्न नहुने हो तर मेरो श्रीमान विलोल पोखरेलले भने अनुसार शोभना देवीको दस्तखत गरी आएको हुँ । उक्त वैंक खाता श्रीमानको भनाईमा मैले खोलेकी हुँ, के कुन श्रोतवाट उक्त खातामा रकम प्राप्त हुन्थ्यो मलाई थाहा छैन । चेकमा रकम लगायतको अन्य विवरण मेरो पतिले नै भर्ने गर्नु हुन्थ्यो भन्ने समेत प्र.शोभना देवीको विशेष प्रहरी समक्षको वयान देखिन्छ । प्र.विलोल पोखरेलले  विशेष प्रहरी विभागमा गरीदिएको उल्लेखित खाताका व्यक्तिहरुको नामको नमुना दस्तखत नमुना सँग ने.वै.लि. वैंकमा भूक्तानी दिएको चेकमा भएको दस्तखत भिडन जाने समेत व्यहोराको हस्ताक्षर विशेषज्ञ मोहन केशर थापाको राय भै सो राय ठिक छ भन्ने अदालत समक्ष वकपत्र समेत गरेको  देखिन्छ । प्रतिवादी विलोल पोखरेल अदालतमा वयान गर्दा आरोपित कसुरमा इन्कार रहेतापनि सोहीवयानमा रु.४,५००००। मात्र म वाट हिनामिना गरिएको हो, यस्तो कार्य गर्ने अन्य व्यक्तिहरु उपर आरोप लगाइएन, भन्ने समेत लेखाई विशेष प्रहरी समक्षको वयानलाई पूर्ण इन्कार गर्न सकेको पाइएन । उक्त वयानका केही सवाल जवाफहरु दवावमा परी गरेको भन्ने वाहेक अन्यथा भन्न सकेको पाइएन, शोभाका नाउँको चेकमा विवरण मैले भरि सही मात्र शोभाले गरेकी हुँदा रकम समेतका वारेमा शोभालाई थाहा नभएको ठिक हो, रेखा तथा हस्ताक्षर विशेषज्ञको प्रतिवेदन सम्वन्धमा भन्नु केही छैन भन्ने समेत अदालत समक्षको वयानमा उल्लेख गरेको समेत देखिंदा प्र.विलोल पोखरेलको विशेष प्रहरी समक्षको वयानलाई विशेषज्ञको राय समेतले पुष्टी गरी जाहेरवालाको अदालत समक्षको वकपत्र वाट पनि समर्थित देखिंदा विलोल पोखरेलले आरोपित कसुर गरेको प्रष्ट देखिन आउँछ ।

            १८. अर्का प्रतिवादी शोभा पोखरेलको हकमा निज शोभना देवीको नाउँको खाता नं. १४३८ को खाता संचालन भएको कुरामा सहमत देखिएतापनि त्यसवाट झिकीएको रकमको वारेमा श्रीमानलाई नै थाहा होला भन्ने विशेष प्रहरी समक्षको वयान देखिन्छ भने निजको अदालत समक्षको वयान हेर्दा पनि वैंक खातामा सम्म मेरो नाउँमा खोलेको तर खातामा रुपैया कहांवाट आउँथ्यो कति झिकीन्थ्यो, कति राखिन्थ्यो मलाई केही थाहा छैन भनि लेखाएको देखिंदा आरोपित कसुरमा निजको संलग्नता रहेको भन्ने ठोस सवुद प्रमाण वादी पक्ष वाट पेश भएको नदेखिंदा सवुद प्रमाणको अभावमा निजले आरोपित कसुर गरेको भन्न नमिल्ने हुँदा निजलाई समेत सजाय गरी पाउँ भन्ने विद्वान सरकारी अधिवक्ताको वहस सँग सहमत हुन सकिएन ।

            १९. अतः उल्लेखित सवुद प्रमाणको आधारमा तत्कालिन वा.वि.अ.वाट प्र.विलोल पोखरेृललाई कसुर गरेको ठहराई प्र.शोभा पोखरेललाई सफाइ दिने गरेको इन्साफ मिलेकै देखिंदा सदर  हुने ठहर्छ । तर आरोप पत्रमा दावी लिएको जि.सुनसरी धरान न.पं. वार्ड नं. ११।९० कि.नं. १६ को ०(४(१२ जग्गा जफत गर्ने गरेको शुरु वा.वि.अ.को फैसला सो हदसम्म गल्ती ठहर्छ भन्ने समेत पुनरावेदन अदालत पाटनको २०५१।३।७ को फैसला ।

            २०. प’.वे.अ. को फैसलामा चित्त वुझेन । विपक्षीले आफ्नो नाममा नं. १४३८ को खाता खोलेको कुरामा र त्यसमा रकम जम्मा गर्ने र झिक्ने समेतको कार्य गरेको कुरामा विपक्षी सावित भएकोले भ्र.नि.ऐनको दफा ८ र १६ (क) ले निजको उक्त कार्य कसुर जन्य कार्य गरी परिभाषित गरेको हुँदा निज विपक्षी माथि सोही दफाद्वारा व्यवस्थित सजायको माग दावी लिइएको छ । प्रचलित कानूनले कसुरजन्य ठहर्‍याएको कार्य कानूनको अनभिज्ञतामा क्षम्य हुन सक्दैन । आफ्नो नाममा खाता भएको र त्यसवाट रकम झिक्ने समेतको कार्य स्वीकार गरेको अवस्थामा निजलाई कुनै कुरा थाहा नहुने र श्रीमान्लाई मात्र थाहा हुने भनि अनुमान गर्न पनि सकिदैन किनकी निजको हस्ताक्षर नभइकन निजको नाउँको खातावाट रकम अन्य व्यक्तिले झिक्न पाउने अवस्था समेत रहंदैन । त्यसरी नै शोभा देवीको नाउँको धरान न.पा.वार्ड नं. ११।९० कि.नं. १६ को ०(४(१२ को जग्गा जफत गर्ने गरी भएको शुरु फैसला गलत भएको भन्ने सम्वन्धमा कुनै कारण दिइएको छैन । फैसला कुन कानून र आधारमा आधारित छ उल्लेख हुनु पर्छ तव मात्र न्याय परेको देखिन्छ । अतः मुलुकी ऐन अ.वं. १८५ नं. समेतको त्रुटि र उल्लेखित तथ्य्को आधारमा पु.वे.अ. पाटनको फैसला वदर गरी प्रतिवादीहरुलाई शुरु अभियोगपत्र माग दावी बमोजिम सजाय गरी पाउन तथा जफत गरी पाउन यो पुनरावेदन गरिएको छ भन्ने समेत वादी श्री ५ को सरकारको तर्फवाट महान्यायाधिवक्ताको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।

            २१. पुनरावेदन अदालतको फैसलामा प्रस्तुत मुद्दामा वादीले दावी गर्ने हक पाए नपाएको र पाएको भए कुन ऐन अन्तर्गत पाएको भनि निक्र्यौल नगरी जुन ऐन वमोजिम संस्थापित संस्था हो त्यसको हक अधिकार अन्यथा व्यवस्था भएको वाहेक सोही ऐन वमोजिम कायम हुन्छ । (ने.का.प. २०४४ को पृष्ठ ८९५) भन्ने सिद्धान्त प्रतिपादन भएको छ । प्रस्तुत मुद्दामा नेपाल अरव वैंकलाई भ्रष्टाचार निवारण ऐन अन्तर्गतको उपचारको दावी गर्न विशेष प्रहरी विभागमा जाहेर गर्ने हक छ, छैन ? पु.वे.अ.वाट एक पक्षिय व्याख्या भएको छ वाणिज्य वैंक ऐन, २०३१ ले ने वैंकलाई हुने हानी सम्वन्धी अपराध र सजायको व्यवस्था दफा ४१ र ४३ मा गरेको छ । त्यसै हानी र मनशायको वारेमा पनि एउटा कम्पनी वा संस्थाको साधारण पत्रको आधारमा मात्र हानी भएको प्रमाणमा लिनु कानूनी औचित्य भित्र पर्दैन । औपचारिक शिक्षाविना नै अनुभवको आधारमा मात्र हस्ताक्षर विशेषज्ञको रायलाई प्रमाणको रुपमा लिइएको पु.वे.अ.को फैसला त्रुटीपूर्ण छ । अतः उल्लेखित कानून र तथ्यका आधारमा पु.वे.अ.पाटनको फैसला भ्र.नि.ऐन, २०१७ को दफा ७(२) वाणिज्य वैंक ऐन २०३१ को दफा ४१ (२) प्रमाण ऐन, २०३१ को दफा ३ र ५४ तथा अ.वं. ३५ नं. विपरित भएकोले वदर गरी पाउँ भनी तात्विक भिन्नताको व्याख्या भन्न सकेको हुनाले  दोहर्‍याई पाउँ भनी निवेदन दर्ता गराई सकेको छ भन्ने समेत प्रतिवादी विलोल पोखरेलको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।

            २२. यसमा दोहर्‍याउने निवेदन पनि पेशी चढाई साथै राखी पेश गर्नु भन्ने यस अदालतको संयुक्त इजलासको मिति २०५२।६।४ को आदेश ।

            २३. यसमा वादी श्री ५ को सरकार प्रतिवादी दील वहादुर लामा समेत भएको भ्रष्टाचार मुद्दा यसै अदालतको पूर्ण इजलासको विचाराधिन हुँदा सो को निर्णय भएपछि फैसलाको प्रतिलिपि साथै राखी नियमानुसार पेश गर्नु भन्ने यस अदालत संयुक्त इजलासको मिति २०५२।७।२२ को आदेश ।

            २४.   नियम वमोजिम दैनिक पेशी सूचीमा चढी आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा दुवै पक्षका पुनरावेदन सहितका मिसिल अध्ययन गरी पुनरावेदक प्रतिवादी विलोल पोखरेलको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री वालकृष्ण न्यौपानेले पेश गर्नु भएको वहस नोटमा वैंकलाई हानी भएको छैन । हानी भएको भनी अवलम्वन भएको मार्ग पनि उपयुक्त छैन यस्तो मुद्दा भ्रष्टाचार निवारण अन्तर्गत चल्न सक्ने नहुँदा पु.वे.अ. पाटन तथा वा.वि.अ. को फैसला वदर गरी मेरो पक्षलाई मुद्दाबाट सफाई दिई फुर्सद गराई पाउँ भनी उल्लेख भएको पाइन्छ । अतः पु.वे.अ. पाटनको फैसला मिले नमिलेको के रहेछ ? त्यसतर्फ निर्णय दिनु पर्ने हुन आएको छ ।

            २५. निर्णय तर्फ विचार गर्दा नेविल वैकंको पत्रबाट प्रस्तुत मुद्दाको शुरुवात भै अनुसन्धान हुँदा प्रतिवादी विलोल पोखरेल विशेष प्रहरी समक्ष आरोपित कसुरमा सावित रहेको पाइन्छ । निजको साविति हेर्दा आफू नेपाल अरव वैंकमा कार्यरत रहंदा प्रमोद शर्मा, शोभना  देवी, शिव प्रसाद सिग्देलका काल्पनिक नाउँमा आफूले विभिन्न खाताहरु खोली सहिछाप समेत गरी कारोवार गरी विभिन्न मितिमा विभिन्न रकम निकालेको भन्ने देखिन्छ । त्यसरी नै शोभा देवीले समेत मेरो नाम शोभा भएकोले नाम फरक पारी खाता खोल्न नहुने हो तर मेरो श्रीमान् विलोल पोखरेलले भने अनुसार शोभना देवीको दस्तखत गरी आएको हुँ । उक्त खाताबाट कहां के कति रकम आउथ्यो र झिकिन्थ्यो मलाई थाहा छैन । मैले चेकमा सहि गरे पनि विवरणहरु मेरो पतिले नै भर्ने गर्नु हुन्थ्यो भनि विशेष प्रहरी समक्ष गरेको वयानबाट विलोल पोखरेलको साविती समर्थित हुन आएको पाइन्छ । विलोल पोखरेलले विशेष प्रहरी विभागमा गरी दिएको प्रमोद शर्मा, शिव प्रसाद सिग्देल लगायतका विभिन्न व्यक्तिको नामको नमुना दस्तखतसँग नेविल वैंकमा भूक्तानी दिएको चेकमा भएको दस्तखत भिड्न गएको विशेषज्ञको रायलाई निजले अदालतमा उपस्थित भई गरेको वकपत्रले समेत पुष्टयाई गरेकै देखिन्छ । निज प्रतिवादी विलोल पोखरेलले अदालतमा वयान गर्दा आरोपित कसुर गरेको छैन भन्ने लेखाए तापनि आफ्नो इन्कारीको समर्थन हुने अन्य आधार प्रमाण पुर्‍याउन सकेको पाईदैन । शोभाका नाउँको चेकमा विवरण मैले भरी सही मात्र शोभाले गरेको हुँदा रकम समेतको बारेमा शोभालाई थाहा नभएको ठिक हो भनि लेखाई दिएको देखिंदा शोभा देवीको वयानलाई समर्थन पुग्न गएको तथा आरोपित कार्य विलोल पोखरेलबाटै भएको भन्ने सिद्ध हुन आउँछ । अतः उल्लेखित आधार प्रमाणबाट प्रतिवादी विलोल पोखरेलले आरोपित कसुर गरेको होइन एवं भ्रष्टाचार निवारण ऐन, अन्तर्गत कारवाही हुन सक्ने होइन भन्ने विद्वान अधिवक्ताको भनाईसँग सहमत हुन सकिएन ।

            २६.   अव अर्का प्रतिवादी शोभा पोखरेलको हकमा विचार गर्दा निजको नाउँको खाता नं. १४३८ को खाता संचालन भई कारोवार भएको कुरामा सहमत भएता पनि उक्त खातामा रकम कहांबाट जम्मा हुन्थ्यो कति जम्मा हुन्थ्यो र कति झिकिन्थ्यो भन्ने कुरा शोभालाई थाहा नभएको र उक्त खातामा रकम राख्ने झिक्ने तथा चेकमा विवरण भर्ने काम निजको श्रीमान विलोल पोखरेलले   गर्ने गरेको भनि दुवै प्रतिवादीहरुको वयान कागजबाट समर्थित हुन आएको अवस्था रहेछ । माथि गरिएको विवेचना तथा लोग्नेको प्रभाव एवं दवाबमा परी जानकारी विना नै खाता संचालन भएको देखिएको आधारमा शोभा देवीको सक्रियता एवं संलग्नता रहेछ भनी मान्न सकिने ठोस एवं तथ्ययुक्त सवुद प्रमाणको अभाव रहेबाट निजले आरोपित कसुर गरेको भन्ने वादी दावी पुग्न सकेको देखिएन । तसर्थ उल्लेखित तथ्य एवं प्रमाणबाट तत्कालिन वागमती विशेष अदालतले प्रतिवादी मध्येका विलोल पोखरेल सम्मले आरोपित कसुर गरेको ठहराई अर्का प्रतिवादी शाभा देवीले आरोपित कसुर गरेको नदेखिएकोले सफाइ दिने ठहर्‍याएको इन्साफ सदर गरी सफाई पाएकी शोभा देवी पोखरेलको नाममा रहेको धरान न.पा.वार्ड नं. ११।९० कि.नं. १६ को ०(४(१२ जग्गा जफत गर्ने गरेको शुरु वा.वि.अ. को फैसला सो हदसम्म गल्ती हुने ठहर्यएको समेतको पु.वे.अ. पाटनको फैसला मिलेकै भई सदर हुने ठहर्छ । वादी श्री ५ को सरकार र प्रतिवादी विलोल पाखरेल दुवैको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी वुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. पृथ्वी बहादुर सिंह

इति सम्वत २०५३ साल भदौ २६ गते रोज ४ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु