शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८४०१ - नागरिकताको प्रमाणपत्र रद्ध ।

भाग: ५२ साल: २०६७ महिना: असोज अंक:

निर्णय नं: ८४०१     ने.का.प. २०६७      अङ्क ६

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री मोहनप्रकाश सिटौला

माननीय न्यायाधीश गिरीश चन्द्र लाल

संम्वत् २०६४ सालको फौ.पु.नं .............३७५

सम्वत् २०६६ सालको फौ.पु.नं. ............००४१

फैसला मितिः २०६७।३।२२।३

मुद्दा : नागरिकताको प्रमाणपत्र रद्ध 

पुनरावेदक प्रतिवादीः काठमाडौ जिल्ला काठमाडौं, महानगरपालिका वडा नं. ११ थापाथली बस्ने पृथ्वीविक्रम सिंह

विरुद्ध

विपक्षी वादीः नेपाल सरकार, गृह मन्त्रालय, सिंहदरबार, काठमाडौं

 

पुनरावेदक प्रतिवादीः काठमाडौं जिल्ला काठमाडौं, महानगरपालिका वडा न. ११ थापाथली बस्ने आदित्यविक्रम सिँह

वेरुद्ध

विपक्षी वादीः नेपाल सरकार, गृह मन्त्रालय, सिंहदरबार, काठमाडौं समेत

 

§  आमाको जन्म नेपालमा भई निजका सन्तानको जन्म समेत नेपालमा भएको भए पनि नेपाल नागरिकता ऐन, २००९ को प्रारम्भमा नै उल्लिखित भएको अनिवार्य व्यवस्था अर्थात् नेपालको नागरिक हुनको लागि नेपाल राज्यको आदिवासी (Domicile) हुनुपर्ने 

(प्रकरण नं.६)

§  कुनै देशको आदिवासी कोही व्यक्ति हो, होइन भन्न त्यो व्यक्ति उक्त देशको स्थायी वासिन्दा हो, होइन वा त्यस व्यक्तिले सो देशलाई आफ्नो स्थायी बसोवास भएको देश मानेको छ छैन एवं कुनै व्यक्ति अर्को देशमा पेशा व्यवसाय वा अध्ययन अध्यापनको उद्देश्यले गएपनि उसको भित्री विचारमा उसले यदि म फलानो देशमा बसोवास गर्ने व्यक्ति हुँ भनी मानेको र त्यस देश मै बसोवास गर्ने मनसाय राखेको अवस्था छ छैन सो विचार गर्नुपर्ने 

(प्रकरण नं.७)

§  वंशजको नाताले नागरिकता प्राप्त गरेका र नेपाली नागरिकताको प्रमाणपत्र नेपाल नागरिकता ऐन, २०२० अनुसार प्राप्त गरेकोमा सो ऐनको दफा ३ मा वंशजको नाताले नेपालको नागरिकता प्राप्तिको लागि सोही दफाको उपदफा (१) मा सो ऐन प्रारम्भ भएपछि जन्मेको कुनै व्यक्तिको बाबु निजको जन्म हुँदा नेपालको नागरिक रहेछ त्यस्तो व्यक्ति वंशजको नाताले नेपालको नागरिक हुनेछ भनी व्यवस्था गरिएकोले पिता भारतीय नागरिक भएको भन्ने कुरा स्वयं स्पष्ट गरेकाले सोही ऐनअनुसार वंशजको नाताले नेपालको नागरिक हुन नसक्ने 

(प्रकरण नं.१०)

शुरु निर्णय गर्नेः

माननीय गृहमन्त्री श्री रामचन्द्र पौडेल

 

पुनरावेदन फैसला गर्ने :

मा.न्या. श्री ज्ञानेन्द्रबहादुर कार्की

मा.न्या.श्री केशरमान पती

 

पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ताहरू श्री शम्भु थापा, सुशील पन्त, प्रकाश राउत, राजन निरौला तथा रामचन्द्र सुवेदी

विपक्षी वादी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता श्री सरोज गौतम

अवलम्वित नजीरःसर्वोच्च अदालत बुलेटिन, वर्ष १३, अङ्क ६, पूर्णाङ्क २८८, साल २०६१

सम्बद्ध कानूनः

§  नेपालको संविधान, २०१९ को धारा ७

§  नागरिकता ऐन, २०२०

§  नागरिकता ऐन, २००९ को दफा (२)

 

आदेश

            न्या.गिरीशचन्द्र लालः पुनरावेदन अदालत पाटनको मिति २०६२।५।१९ को फैसलाउपर प्रतिवादीहरूको दोहोर्‍याई हेरी पाऊँ भनी निवेदन परी यस अदालतबाट निस्सा प्रदान भई न्याय प्रशासन ऐन २०४८ को दफा १२ को उपदफा १ को खण्ड (क) बमोजिम यस अदालतको क्षेत्राधिकार भित्रको प्रस्तुत पुनरावेदन पत्र सहितको मुद्दाको संक्षिप्त तथ्य सहित ठहर यस प्रकार रहेको छ :

            आदित्यविक्रम सिँह र पृथ्वीविक्रम सिंहले जिल्ला प्रशासन कार्यालय ललितपुरबाट २०३६ सालमा तत्कालीन प्र.जि.अ. नन्दकुमार कार्कीसँग मिलेमतो र घूस लिनुदिनु गरी वंशजको नाताले नेपालको नागरिकता लिए दिएको भन्ने उजूरी परेकोले आदित्यविक्रम सिंहले २०३६।१।१२ मा प्राप्त गरेको ना.प्र. १५१३ र पृथ्वीविक्रम सिंहले त्यस कार्यालयबाट नागरिकता प्राप्त गरे नगरेको के हो ? र निजहरूले कस्ता प्रमाणका आधारमा नागरिकता प्राप्त गरेका हुन ? सोको यकीन विवरणका साथ निज वंशजका नाताले नेपालको नागरिकता पाउन सक्ने व्यक्ति हुन् होइनन् ? निजहरूलाई नागरिकता उपलब्ध गराउँदा भ्रष्टाचार भए नभएको सम्बन्धमा आवश्यक छानबीन गरी यकीन राय पठाउनु हुनुका साथै प्रतिवादीहरूको बयानसाथ पठाउन निर्णयानुसार अनुरोध छ भन्ने जिल्ला प्रशासन कार्यालय ललितपुरलाई गृह मन्त्रालयबाट मिति २०५१।५।२७ मा लेखिएको पत्र 

            आवश्यक छानबीन गर्न आदित्यविक्रम सिंहलाई यस कार्यालयमा उपस्थित गराई बयान लिंदा निज आदित्यविक्रम सिंहले दिएको बयानअनुसार निजका दुई भाई क्रमशः पृथ्वीविक्रम सिँह र कान्छो भाई सुरजविक्रम सिँह समेतले यस कार्यालयबाट वंशजको नाताले नागरिकता प्रमाणपत्र लिई सकेको र निजहरूका पिता भारतीय नागरिक हुन भन्ने समेत खुल्न आएको देखिदा जेठो आदित्यविक्रम सिंह, माहिलो पृथ्वीविक्रम सिँह र कान्छो सुरजविक्रम सिंहका नागरिकता प्रमाणपत्रहरू वंशजको नाताले नेपाली नागरिकताको प्रमाणपत्र जारी गर्न नमिल्ने देखिएको हुँदा उक्त ना.प्र. प्रमाण खिची रद्द गर्न गृह मन्त्रालयमा पठाउनु पर्ने र नागरिकता प्रमाणपत्र उपलब्ध गराउँदा भ्रष्टाचार भए नभएको सम्बन्धमा निज आदित्यविक्रम सिँहको बयानबाट निजको तत्कालीन प्र.जि.अ. नन्दकुमार कार्कीसंग व्यक्तिगत चिनजान नभएको र मेरो आमाको बाबु अर्जुन शम्सेरले फाराम मगाएर भराई हामीहरूलाई सही छाप गराई नागरिकता दिलाएको भन्ने समेत खुल्न आएको देखिएको हुँदा उचित निर्णयार्थ पेश गरेको छु भन्ने समेतको जिल्ला प्रशासन कार्यालय ललितपुरको मिति २०५१।१२।१३ को टिप्पणी 

            आदित्यविक्रम सिँह स्वयंले बाबु भारतीय नागरिक हुन भनी बयान गरेको र नागरिकता प्रमाणपत्र लिँदा वंशजको नाताले पाउने ठोस प्रमाण पेश नगरी सिफारिश र आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपिको आधारमा मात्र लिएको देखिन्छ । अतः वंशजको नाताले नागरिकता पाउने व्यक्ति नभई वंशजको नाताले नागरिकता प्रमाणपत्र लिएको देखिँदा नेपाल नागरिकता ऐन, २०२० को दफा १०(३)(क) बमोजिम सक्कलै नागरिकता खिची रद्द गर्ने निर्णयार्थ गृह मन्त्रालयमा पठाउनु पर्ने देखिन्छ  निजको भाई पृथ्वीविक्रम सिँह र सुरजविक्रम सिंहले प्राप्त गरेको नागरिकता समेत खिची रद्द गर्न गृह मन्त्रालयमा पठाउनु पर्ने देखिन्छ  साथै सिफारिशकर्ता व्यक्तिलाई पनि नेपाल नागरिकता ऐन, २०२० बमोजिम कारवाही गर्नु पर्ने देखिन्छ  लामो समय व्यतित भइसकेको हुँदा तत्काल भ्रष्टाचार भएको थियो थिएन भन्ने कुरा यकीन गर्न नसकिने हुँदा सो सम्बन्धमा छुट्टै छानबीन हुनुपर्ने टिप्पणी पेश भई आवश्यक छानबीन एवं कारवाही गृह मन्त्रालयबाट हुनु पर्ने हुँदा मन्त्रालयलाई अनुरोध गर्ने भन्ने समेत व्यहोराको जिल्ला प्रशासन कार्यालय ललितपुरको मिति २०५१।१२।१४ को टिप्पणी तथा आदेश 

            जिल्ला प्रशासन कार्यालय ललितपुरको पत्रसाथ आदित्यविक्रमसिंह समेतको नागरिकता बदरको लागि यस मन्त्रालयमा प्राप्त हुन आएकोमा उक्त फायल अध्ययन गरी हेर्दा भारतीय नागरिक सूर्यभानु विक्रम सिंहको नेपाली नागरिक अर्जुन शम्शेरकी छोरी गीता राज्यलक्ष्मी सिँहसित विवाह भएको रहेछ  निजहरूबाट आदित्यविक्रम सिंह, पृथ्वीविक्रम सिंह, सुरजविक्रम सिँह  र पुष्पाञ्जली नामका छोरा छोरीहरू भएकोमा निजहरू मध्ये आदित्यविक्रम सिंहले २०३६।१।१२ मा नं. १५१३ र पृथ्वीविक्रम सिंहले सोही मितिमा नं. १५१४ को प्रमाणपत्र वंशजको नाताले जिल्ला प्रशासन कार्यालय ललितपुरबाट प्राप्त गरेको देखिन आउँछ  साथै सुरजविक्रम सिंहले मिति २०५०।४।७ मा नं. ६२३२५ र पुष्पाञ्जली सिंहले मिति २०५०।९।१९ मा नं. ६४३० को प्रमाणपत्र वंशजको नाताले प्राप्त गरेको देखिन आउँछ  आदित्यविक्रम सिंहले आफू भारतीय नागरिकको छोरा भएको र आफू तथा भाईहरूले वंशजको नाताले नागरिकता प्रमाणपत्र लिएको भनी बयान गरेको देखिन्छ  साथै नागरिकता प्रमाणपत्र लिदा तत्कालीन प्र.जि.अ. नन्दकुमार कार्कीसंग मिलोमतो र घूस लिनुदिनु गरी भारतीय नागरिकलाई वंशजको नाताले नागरिकता प्रमाणपत्र दिएको भन्ने सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजूरी परी भ्रष्टाचार सम्बन्धमा कुनै निर्णय गरी रहन नपर्ने गरी आयोगबाट मिति २०५०।३।३० मा निर्णय भएको देखिन्छ  यसरी झूठा विवरणद्वारा नेपालको वंशजको नाताले नागरिकता लिने माथि लेखिएको व्यक्तिको नागरिकता नेपाल नागरिकता ऐन, २०२० को दफा १०(३)(क) बमोजिम रद्द गर्ने, निजहरू र निजहरूलाई नागरिकता प्रमाणपत्र दिलाउन सिफारिश गर्ने समेत उपर उक्त ऐनको दफा १५ बमोजिम सजाय दिन कारवाही चलाउन तथा नागरिकताको प्रमाणपत्र खिच्न नसकिएका पृथ्वीविक्रम सिंह, सुरजविक्रम सिँह र पुष्पाञ्जली सिंहको नागरिकता बदर भएको जानकारी परराष्ट्र मन्त्रालय राहदानी शाखा, मालपोत विभागलाई जिल्ला प्रशासन कार्यालयबाट दिने गरी निर्णय हुनुपर्ने देखी पेश गरेको छु भन्ने समेत गृह मन्त्रालयको मिति २०५२।७।३० को टिप्पणीलाई मिति २०५२।१०।२२ मा सदर गर्ने गरेको गृह मन्त्रालयको टिप्पणी आदेश 

            गृह मन्त्रालयको मिति २०५२।१०।२२ को टिप्पणी आदेशमा चित्त नबुझी आदित्यविक्रम सिँह र पृथ्वी सिंहले पुनरावेदन अदालत पाटनमा पुनरावेदन गरेकोमा सो अदालतबाट झूठा विवरणद्वारा वंशजको नाताले नेपालको नागरिकता लिएको भनी पृथ्वीविक्रम, आदित्यविक्रम, सुरजविक्रम र पुष्पाञ्जली समेतको नागरिकता रद्द गर्ने भनी मिति २०५२।१०।२२ मा तल्लो तहका कर्मचारीबाट उठाएको टिप्पणीको रोहबाट सदर भएको निर्णयमा न्यायिक मन प्रयोग भएको भन्न नमिल्नुका साथै प्रतिवादीहरूलाई प्रतिवाद गर्ने मौका समेत नदिई भएको निर्णय प्राकृतिक न्यायको सिद्धान्तविपरीत भएको देखिन आएकोले उल्लिखित मिति २०५२।१०।२२ को गृह मन्त्रालयको निर्णय बदर गरी दिएको छ  अब बुझ्नु पर्ने प्रमाणहरू र प्रतिवादीहरू समेतलाई कानूनबमोजिम बुझी विधिपूर्वक निर्णय गर्नु भनी उपस्थित पक्षलाई तारेख तोकी मिसिल सम्बन्धित मन्त्रालयमा पठाई दिने ठहर्छ भनी मिति २०५४।८।१९ मा पुनरावेदन अदालत पाटनबाट भएको फैसला 

            मेरो बुवा भारतीय नागरिक हुन् मैले नागरिकता प्रमाणपत्र लिँदाको समयमा लेखन्दासले नागरिकताको फाराम भरी मलाई सही गर्न मात्र लगाएको थियो, कस्तोलाई वंशजको नागरिकता र कस्तालाई अंगीकृत नागरिकता भनिन्छ मलाई केही थाहा थिएन, पछि उजूरी परेपछि मात्र वंशजको नागरिकता र अंगीकृत नागरिकताको बारेमा थाहा भएको हो, आमाको नागरिकता प्रमाणपत्र राखेर नागरिकता लिएको हो भन्ने समेत व्यहोराको पृथ्वीविक्रम सिंहले २०५७।७।२ मा जिल्ला प्रशासन कार्यालय ललितपुरका प्र.जि.अ. समक्ष गरेको बयान कागज 

            निज आदित्यविक्रम सिँह र पृथ्वीविक्रम सिंहले झूठो विवरण र बयान दिई वंशजको नाताले नेपाली नागरिक हो भनी नेपाली नागरिकता लिएको सिद्ध हुन आएको हुँदा आदित्यविक्रम सिंहको ना.प्र.नं. १५१३।०३५।३६ भएको मिति २०३६।१।१२ को नेपाली नागरिकताको प्रमाणपत्र र पृथ्वीविक्रम सिंहको ना.प्र.नं. १५१४ भएको ऐ मितिको नेपाली नागरिकताको प्रमाणपत्र रद्द हुने ठहर्छ  निजहरूलाई नेपाली नागरिकताबाट हटाउने ठहर्छ  सो ठहर्नाले निजहरूको नाउँमा सम्पत्ति रहेको भए कानून बमोजिम गर्ने र सिफारिश गर्ने सनाखत गर्ने र अन्य सम्बद्ध व्यक्तिहरूलाई नेपाल नागरिकता ऐन, २०२० को दफा १५ बमोजिम मुद्दा चलाउने कारवाही गर्ने भन्ने श्री ५ को सरकार गृह मन्त्रालयको मिति २०५७।८।१६ को निर्णय 

            यसमा म पुनरावेदक २०१८ सालमा नेपालमा जन्मेको हो किन भने विन्दुदेवी राणाले काभ्रे जिल्ला बालुवा गाउँ विकास समिति वडा नं. २ स्थित ९१४० जग्गा कि.नं. ५८३ बाट म पुनरावेदक पृथ्वी सिंहलाई मिति २०४८।५।३१ मा राजीनामा पारित गरी दिनु भएको र सो राजीनामा लिखतमा त्यतिखेर नै मेरो उमेर ३० वर्ष देखिएको छ  २०४८ सालमा ३० वर्ष भएको व्यक्ति २०१८ सालमा जन्मेको भन्ने प्रष्ट छ  त्यसैगरी मेरो पासपोर्टमा १९६१ सालमा जन्मेको उल्लेख छ  त्यसै गरी मेरो यस भन्दा अघि सम्मानित अदालतमा विपक्षी मन्त्रालयको निर्णय उपर २०५२ सालमा पुनरावेदन गर्दा मेरो वर्ष ३४ उल्लेख गरेको छु  र यसै विषयमा मलाई पक्राउ गर्दा २०५२ साल चैत्र २७ गते बाबा सरकार श्रेष्ठको जिम्मामा मलाई छोड्ने कागज गराउँदा पनि जिल्ला प्रहरी कार्यालय ललितपुरले पनि मेरो उमेर ३४ उल्लेख गरेको छ र मैले २०३६ सालमा नागरिकता लिँदा मेरो उमेर १८ वर्ष उल्लेख छ  उल्लिखित कागजहरूले म २०१९ सालभन्दा अगाडि जन्मेको प्रमाणित गरेको छ  यसका साथै २०५२ साल चैत्र २७ गते जिल्ला सरकारी अधिवक्ता ललितपुर तथा जिल्ला प्रहरी कार्यालय समक्ष यही नागरिकता प्राप्त गरेको विषयमा बयान हुँदा ३४ वर्ष भन्ने उल्लेख हुनुको साथै मेरो आमा गीता राज्यलक्ष्मी सिंहले २०५३।११।९ मा अ.वं. १३९ नं. बमोजिम यस अदालतमा बयान गर्दा मेरो जन्म २०१८ सालमा भएको उल्लेख गरेको हुँदा हुँदै उक्त कुराहरू बुझ्दै नबुझी मलाई नागरिकताबाट हटाउने गरी भएको निर्णय त्रुटिपूर्ण हुँदा बदर गरिपाऊँ भन्ने पुनरावेदक पृथ्वीविक्रम सिंहको पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदन पत्र 

            म पुनरावेदकको जन्म २०१५ सालमा भएको हो  मेरो आमा गीता राज्य लक्ष्मी सिँह वंशजको नाताले नेपालको नागरिक हुनुहुन्छ र निज आमाले नागरिकता प्राप्त गरी सक्नु भएको छ  म पुनरावेदकको आमा नेपालको नागरिक हो भन्नेमा विवाद छैन  नेपालको संविधान २०१९ को धारा ७ मा नेपालमा स्थायी वासस्थान भएको देहायको व्यक्ति सो संविधान प्रारम्भ हुँदाका बखत नेपालको नागरिक ठहर्ने छ “(क) जो नेपालमा जन्मेको हो (ख) जसको आमा बुवामा एक जना नेपालमा जन्मेको होभन्ने प्रावधान रहेको पाइन्छ  उल्लिखित नेपालको संविधान, २०१९ के धारा ७(क)(ख)को शर्त पूरा गरेको हुँदा म पुनरावेदक नेपालको नागरिक छु  यसरी म पुनरावेदक नेपालको नागरिक हो भन्नेमा कुनै विवाद नभएको र नेपालको नागरिकका हैसियतमा म पुनरावेदकले प्राप्त गरेको नागरिकता रद्द गरी नेपाली नागरिकताबाट हटाउने विपक्षीको काम कारवाही निर्णय नेपालको अन्तरिम संविधान, २०१९ को धारा ७(क)(ख) र नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८(क) तथा तत्कालीन नागरिकता ऐन, २००९ को दफा २ को कानूनी संरचना विपरीत हुँदा विपक्षीको सम्पूर्ण काम कारवाही तथा निर्णय बदर गरी नागरिक हुन पाउने नैसर्गिक हकको रक्षा गरी पाउँ भन्ने समेतको आदित्यविक्रम सिंहको पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदन पत्र 

            यसमा पुनरावेदन अदालत पाटनको मिति २०५४।८।१९ को फैसला बमोजिम प्रतिवादी आदित्यविक्रमलाई प्रतिवाद गर्ने मौका दिइएको मिसिल संलग्न कागजबाट नदेखिएकोले प्रतिवादी आदित्यविक्रमलाई बुझ्दै नबुझी गरेको इन्साफ प्राकृतिक न्यायको सिद्धान्तअनुसार फरक पर्न सक्ने भएबाट विपक्षी झिकाई नियमानुसार पेश गर्नु भन्ने २०५८।२।८ को पुनरावेदन अदालत पाटनबाट भएको आदेश 

            यसमा लगाउको फौ.पु.नं. १७३० को नागरिकता रद्द मुद्दामा झगडिया झिकाउने आदेश भएको हुँदा यसमा पनि विपक्षी भिकाई लगाउको मुद्दा साथै राखी पेश गर्नु भन्ने पुनरावेदन अदालत पाटनको मिति २०५८।३।२५ को आदेश 

            मिति २०५७।८।१६ को श्री ५ को सरकारको निर्णय कार्यान्वयन नगर्नु भनी पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४५ बमोजिम अन्तर्कालीन आदेश गरिदिएको छ भन्ने मिति २०५७।१०।९ र मिति २०५७।११।१ को मु.नं. क्रमशः ४७२ र ५१४ मा भएको पुनरावेदन अदालत पाटनबाट भएको छुट्टाछुट्टै आदेश 

            यसमा नेपालको संविधान, २०१९ को धारा ७ तथा नेपाल नागरिकता ऐन, २००९ को दफा २ बमोजिम नागरिकता प्रमाणपत्र प्राप्त गर्नुभन्दा अघि पुनरावेदकहरूको नेपालमा स्थायी बसोवास भएको अथवा आदिवासी भएको पुष्टि हुन नसकेको अवस्थामा श्री ५ को सरकारको मिति २०५७।८।१६ को निर्णय मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत पाटनबाट मिति २०६२।५।१९ मा भएको फैसला 

            निवेदकले नागरिकता पाउन निवेदन फाराममा स्थायी वासस्थान कुपण्डोल भनी लेखिएको कुरालाई स्वीकार नगरी जन्मदर्ता, बीमा, स्कूल, व्यापार आदि नभएको कुरा खोजी अत्तो लगाउने फैसलाले ग्रहण गरेको आधार मिलेको छैन । प्रस्तुत मुद्दा चल्नु अघि हजुरआमा विन्दुदेवी राणाबाट कि.नं. ५८३ को जग्गा राजीनामा गरी दिँदा मेरो स्थायी बसोवास काठमाडौं जिल्ला काठमाडौं, महानगरपालिका वडा नं ११ थापाथली भन्ने स्पष्ट छ  म पृथ्वीविक्रम २०१८ सालमा नेपालमा जन्मेकोमा विवाद छैन  विवरणबाट नागरिकता लिएकोमा मुद्दा चल्ने नै हो भने पनि सरकारी वकीलमार्फत सक्षम अदालतमा दायर गर्नुपर्ने हो । म निवेदकको आमा नेपाली नागरिक भएकोमा विवाद छैन । मेरो जन्म हुँदा नेपाल नागरिकता ऐन, २००९ बहाल थियो  विपक्षीको काम कारवाही नेपालको संविधान, २०१९ को धारा ७(क) (ख) र नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८(क) तथा नागरिकता ऐन, २००९ को दफा २ को कानूनी संरचना विपरीत छ  मैले नागरिकता लिँदा बहाल रहेको नागरिकता नियमावली, २०२५ को आधारमा तोकिएको ढाँचामा नागरिकता लिएको हो । तसर्थ पुनरावेदन फैसला उल्टी गरी पाउन दोहोर्‍याई हेर्ने निस्सा पाउँ भन्ने पृथ्वीविक्रम सिंहको निवेदन मागदावी 

            निवेदन फाराममा स्थायी बासस्थान कुपण्डोल भनी लेखिएकै भएपछि लेखिएको कुरा स्वीकार नगर्ने र जन्मदर्ता, बीमा लगायतका कुरा दाखिल नगरेको भनेर अत्तो लगाउने फैसला आधार मिलेको छैन  हजुरआमा विन्दुदेवी राणाले म निवेदकलाई कि.नं. ५८४ को जग्गाको राजीनामा कागजमा काठमाडौं जिल्ला काठमाडौं, महानगरपालिका वडा नं ११ थापाथली भनी उल्लेख भएको छ  म निवेदक २०१५ सालमा नेपालमा जन्मेकोमा विवाद छैन । झूठा विवरणबाट नागरिकता लिएको भन्ने विषयमा मुद्दा चलाउन सरकारी वकिल मार्फत सक्षम अदालतमा दायर गरिनुपर्ने हुन्छ  मेरो जन्म हुँदा नेपाल नागरिकता ऐन, २००९ बहाल थियो  विपक्षीको काम करवाही नागरिकता ऐन, २००९ नेपालको संविधान २०१९ को धारा ७(क)(ख) समेतको विपरीत भएको छ  साथै आवेदनको ढाँचा नागरिकता नियमावली, २०२५ मा तोकिएबमोजिम नै भरी पेश गरिएकोले पुनरावेदन अदालतको फैसला उल्टी गरी बदर गर्ने प्रयोजनको लागि दोहोर्‍याई हेर्ने निस्सा पाऊँ भन्ने समेत निवेदक आदित्यविक्रम सिँहको यस अदालतमा परेको निवेदन पत्र 

            निवेदक प्रतिवादी पृथ्वीविक्रम सिंहले आफू कुपण्डोलमा २०१८ सालमा जन्मेको भनी दर्खास्त फाराम व्यहोरा उल्लेख गरी नागरिकता प्राप्त गरेको र निज जन्मेको अवस्थामा नेपाल नागरिकता ऐन, २००९ बहाल रहेको अवस्था छ । नेपाल नागरिकता ऐन, २००९ को दफा २ को खण्ड (क) मा जो नेपालमा जन्मेको हो र (ख) मा जसको बाबु वा आमामध्ये एक जना नेपालमा जन्मेको हो भन्ने कानूनी व्यवस्था रहेको पाइन्छ  प्रतिवादी पृथ्वीविक्रम सिंहले नागरिकता लिँदा फाराममा आफू ललितपुर जिल्लाको कुपण्डोलमा जन्मेको तथा आमा गीताराज्य लक्ष्मी राणा भनी उल्लेख गरी निज आमाको नागरिकता समेत पेश गरेको देखिन आएको अवस्था निजको हकमा सोही नेपाल नागरिकता ऐन, २००९ को उक्त कानूनी व्यवस्था लागू हुनेमा निजले नागरिकता लिएको अवस्था २०३६ सालमा बहालमा रहेको नेपाल नागरिकता ऐन, २०२० को व्यवस्थाविपरीत नागरिकता लिएको भनी निजको नागरिकता रद्द गर्ने गरेको गृहमन्त्रीको निर्णय तथा सोलाई सदर गरेको पुनरावेदन अदालत पाटनको निर्णयमा उक्त कानूनको व्याख्या सम्बन्धी त्रुटि रहेको देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) बमोजिम दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरिएको छ भन्ने यस अदालतको संयुक्त इजलासको मिति २०६४।८।५ को आदेश 

            यसमा निवेदक प्रतिवादी आदित्यविक्रम सिंहले आफू कुपण्डोलमा जन्मेको भनी दर्खास्त फाराममा व्यहोरा उल्लेख गरी मिति २०३६।१।१२ मा नम्बर १५१३ को नागरिकता प्राप्त गरेको र निज जन्मेको स्समयमा तत्काल नेपाल नागरिकता ऐन, २००९ बहाल रहेको अवस्था छ  नेपाल नागरिकता ऐन, २००९ को दफा २ को खण्ड (क) मा जो नेपालमा जन्मेको हो र (ख) मा जसको बाबु वा आमा मध्ये एक जना नेपालमा जन्मेको हो भन्ने कानूनी व्यवस्था रहेको पाइन्छ  यी प्रतिवादी आदित्यविक्रम सिंहले नागरिकता लिँदा दर्खास्त फाराममा आफू ललितपुर जिल्लाको कुपण्डोलमा जन्मेको तथा आमा गीता राज्यलक्ष्मी राणा भनी उल्लेख गरी आमाको नागरिकता समेत पेश गरेको देखिन आएको अवस्थामा निजको हकमा नेपाल नागरिकता ऐन, २००९ को उपरोक्त कानूनी व्यवस्था लागु हुनेमा निजले नागरिकता लिएको अवस्था अर्थात् २०३६ सालमा बहाल रहेको नेपाल नागरिकता ऐन, २०२० को व्यवस्था विपरीत नागरिकता लिएको भनी निजको नागरिकता रद्द गर्ने गरेको गृह मन्त्रीको निर्णय तथा सोलाई सदर गरेको पुनरावेदन अदालत पाटनबाट भएको मिति, २०६२।५।१९ को फैसलामा उक्त कानूनको व्याख्या सम्बन्धी त्रुटि रहेको देखिनुको साथै निवेदक आदित्यविक्रम सिंहका भाई पृथ्वीविक्रम सिँह विरुद्ध नेपाल सरकार गृह मन्त्रालय समेत भएको लगाउको फौ.पु.नं. ०३७५ को मुद्दामा यस अदालतबाट मिति २०६४।८।५ गते मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भएकोले प्रस्तुत निवेदन र उक्त मुद्दाको विवाद एवं निर्णय समेत एउटै भई अन्तरप्रभावी देखिँदा सो मुद्दामा लिएका आधार कारण समेतबाट प्रस्तुत निवेदनमा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) बमोजिम दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरिएको छ  प्रत्यर्थी झिकाई आएपछि लगाउको फौ.पु.नं. ०३७५ को मुद्दा समेत साथै राखी नियमानुसार पेश गर्नु भन्ने यस अदालतको मिति २०६६।४।२० को आदेश 

            नियमबमोजिम दैनिक मुद्दामा पेसी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन पत्र सहितको मिसिल कागजात अध्ययन गरी पुनरावेदकका तर्फबाट रहनु  भएका विद्वान अधिवक्ताहरू श्री शम्भु थापा, सुशील पन्त, प्रकाश राउत, राजन निरौला तथा रामचन्द्र सुवेदीले पुनरावेदकहरू २०१५ र २०१८ सालमा नेपालमा जन्मिएका व्यक्तिहरू हुन सो समयमा नागरिकता ऐन, २००९ बहाल थियो । नागरिकता ऐन, २००९ को दफा २ मा नेपालमा जन्मेको तथा आमा बाबु मध्ये एक जना नेपालमा जन्मेको हो भने नागरिकता पाउने कानूनी व्यवस्था थियो  मेरा पक्षको आमा गीताराज्य लक्ष्मी नेपाली नागरिक भएकोमा विवाद छैन । २०१९ सालमा भएको नेपालको संविधानले पनि मेरो पक्षलाई नागरिकता पाउन सक्ने आधार तोकेको छ  बाबुको नागरिकता राखेर नागरिकता पाऊँ भनेको होइन ।  आमाको नेपाली नागरिकता राखेर नागरिकता पाऊँ भनी जिल्ला प्रशासन कार्यालयमा निवेदन गरेकोले व्यहोरा ढाटेको भनी अर्थ गर्न मिल्दैन  नागरिकता पाउन भरिने फारामको ढाँचाले अधिकार सिर्जना हुने र अपहरण गर्ने भन्ने हुँदैन  अधिकार त संविधान तथा कानूनले सिर्जना गर्ने हो । नेपालमा जन्मको तथा आमाको नागरिकता नेपाली भएको आधारमा नागरिकता पाउने मेरो अधिकार हुँदा पुरनावेदन अदालतको फैसला उल्टी गरिपाऊँ भनी बहस जिकीर प्रस्तुत गर्नु भयो  त्यसैगरी विपक्षी नेपाल सरकारका तर्फबाट रहनु भएका विद्वान सन्यायाधिवक्ता श्री सरोज गौतमले पुनरावेदकहरूकी आमा गीता राज्यलक्ष्मी विवाह गरेर भारत गएको देखिन्छ  सपरिवार नेपालमा बसेको अवस्थामा मात्र नेपालको आदिवासी भन्न सकिन्छ  पुनरावेदकहरूले वंशजको आधारमा नागरिकता लिन सक्ने अवस्था छैन । पितृत्वको आधारमा मात्र नागरिकता दिनुपर्ने भनी नजीर सिद्धान्त समेत प्रतिपादन भएको अवस्थामा वंशजको आधारले नागरिकता लिनको लागि बाबुले नागरिकता प्राप्त गरेकै हुनुपर्दछ । आमा नेपाली नागरिक हुँदैमा पुनरावेदकहरूले नागरिकता पाउन सक्ने अवस्था नभएकोले पुनरावेदन अदालतको फैसला सदर गपिाऊँ भन्ने समेत बहस जिकीर प्रस्तुत गर्नु  भयो  

            उपर्युक्त अनुसारको दुवै पक्षहरूबाट उपस्थित विद्वान अधिवक्ताहरू एवं विद्वान सहन्यायाधिवक्ताको बहस जिकीरहरू समेत सुनी पुनरावेदन अदालत पाटनको मिति २०६२।५।१९ को फैसला मिलेको छ, छैन  पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकीर पुग्न सक्ने हो, होइन ? भनी भन्ने सम्बन्धमा नै ठहर निर्णय दिनुपर्ने देखिन आयो 

            २. निर्णयतर्फ विचार गर्दा, भारतीय नागरिक आदित्यविक्रम सिँह र पृथ्वीविक्रम सिंहले जिल्ला प्रशासन कार्यालय ललितपुरबाट २०३६ सालमा तत्कालीन प्रमुख जिल्ला अधिकारीसँग मिलेमतो गरी नेपालको नागरिकता लिए दिएको भनी गृह मन्त्रालयको पत्रबाट छानबीन शुरु भएको प्रस्तुत मुद्दामा आदित्यविक्रम सिँह र पृथ्वीविक्रम सिंहले झूठो विवरण र बयान दिई वंशजको आधारमा नागरिकता लिएको भनी निजहरूको नागरिकताको प्रमाणपत्र रद्द गर्ने गरी गृहमन्त्रीबाट मिति २०५७।८।१६ मा भएको निर्णय सदर गर्ने गरी पुनरावेदन अदालत पाटनबाट मिति २०६२।५।१९ मा फैसला भएको रहेछ  सो फैसलाउपर प्रतिवादी पृथ्वीविक्रम र आदित्यविक्रम सिंहले आफूहरू नेपालमा नै जन्मेको र काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ११ थापाथलीमा बसोबास भएको, आमा नेपाली नागरिक भएको हुँदा नागरिकता ऐन, २००९ समेतको आधारमा नागरिकता पाउनु पर्नेमा नागरिकता रद्द गर्ने गरेको पुनरावेदन अदालत पाटनको फैसला कानूनप्रतिकूल रहेकोले बदर होस भनी दोहोर्‍याई हेर्ने निस्सा पाउँन निवेदन गरेकोमा प्रस्तुत मुद्दामा यस अदालतबाट दोहोर्‍याई हेर्ने निस्सा प्रदान भई निर्णयार्थ पेश हुन आएको छ 

            ३. पुनरावेदक प्रतिवादी आदित्यविक्रमसिंहले जिल्ला प्रशासन कार्यालय ललितपुर समक्ष बयान गर्दा मेरो बाबु सूर्यभानु विक्रम सिँह भारतीय नागरिक हुनुहुन्छ  मैले र पृथ्वीविक्रम सिंहले २०३६ सालमा नेपाली नागरिकता लिएको हो । हामी तत्काल २०३६ सालमा कुपण्डोलमा बस्ने हुँदा सोही ठेगाना देखाई नागरिकता लिएको हो । मलाई नागरिकता दिलाउने कार्यमा मुमाको बुवा अर्जुन शमशेरले फारम मँगाई भराई सहीछाप मैले र भाइले गरेका हौं भन्ने समेत उल्लेख गरेको पाइन्छ  । अर्का पुनरावेदक प्रतिवादी पृथ्वीविक्रम सिंहले जिल्ला प्रशासन कार्यालय ललितपुरमा गरेको बयानमा मेरो जन्म ललितपुर जिल्लाको कुपण्डोलमा २०१९ सालमा भएको हो, आमाको विवाह भारतको उडीसा राज्यमा भएको हो । मैले आमाको नागरिकता प्रमाण पत्र राखेर नागरिकता लिएको हो  सवै जना आमा दिदी बहिनी दाजु भाइ इण्डियामा नै बस्छन्  म मात्र नेपालमा बसिरहेको छु भन्ने समेत उल्लेख गरेको पाइन्छ  मिसिल संलग्न पृथ्वीविक्रम सिंहको नागरिकतामा वर्ष १८ नेपाल नागरिकता ऐन, २०२० बमोजिम वंशजको नाताले नेपाली नागरिकताको प्रमाणपत्र दिइएको भनी २०३६।१।१२ मा ललितपुर जिल्ला कार्यालयबाट नागरिकता प्रदान गरेको पाइन्छ  साथै आदित्यविक्रम सिँहको मिसिल संलग्न नागरिकताको प्रतिलिपिमा सोही व्यहोरा उल्लेख गरी उमेर वर्ष २० भन्ने समेत उल्लेख गरेको देखिँदा सो नगारिकताको आधारमा हेर्दा निजहरूको जन्म क्रमशः २०१८ सालमा र २०१६ सालमा भएको भन्ने देखिन आउँछ 

४. पुनरावेदकहरूले पुनरावेदन गर्दा आफूहरू नागरिकता ऐन, २०२० आउनु पूर्व जन्मिएकोले नेपाल नागरिकता ऐन, २००९ बमोजिम जन्मको आधारमा नागरिकता प्राप्त गर्नु पर्ने भनी जिकीर लिएको देखिए पनि निजहरूले प्राप्त गरेको नागरिकताबाट निजहरूले नागरिकता ऐन, २०२० अनुसार वंशजको आधारमा नागरिकता लिएको देखिन्छ 

५. पुनरावेदकहरूले नागरिकता ऐन, २०२० अनुसार विक्रम सम्वत् २०३६ सालमा वंशजको नाताले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेको देखिन्छ  तर निजहरूको जन्म उक्त नागरिकता ऐन लागु हुनु भन्दा अघि नै भई सकेको भनी निजहरूको जिकीर रहेकोले निजहरू नेपाल नागरिकता ऐन, २०२० वा नेपाल नागरिकता ऐन, २००९ वा नेपालको संविधान, २०१९ को धारा ७ ले व्यवस्था गरेअनुसार नेपाल नागरिक भए नभएको सम्बन्धमा समेत प्रस्तुत मुद्दाको सन्दर्भमा विचार हुनुपर्ने आवश्यक देखिन्छ । 

            ६. त्यसमध्ये सर्वप्रथम नेपाल नागरिकता ऐन, २००९ मा भएको व्यवस्थातिर विचार गर्दा सो ऐनको दफा (२) मा प्रत्येक व्यक्ति जो, नेपाल राज्यको आदिवासी भई निम्नलिखित शर्तहरूमा कम से कम एक शर्त पूरा गर्छ । नेपालको नागरिक ठहर्छ भनी उल्लिखित भै उक्त दफाको खण्ड (क) मा जो नेपाल राज्यमा जन्मेको हो एवं खण्ड (ख) मा जसको आमा बाबुमा एक जना नेपाल राज्यमा जन्मेको हो भनी व्यवस्था गरिएको देखिन्छ  उक्त ऐनको व्यवस्थाले नागरिकता सम्बन्धमा प्रचलित दुई सिद्धान्तहरू Jus soli (The rule of citizenship to be determined by the place of birth) एवं Jus sanguinis (the rule of citizenship to be determined by the parrents citizenship) लाई समेटेको र नागरिकता लिनुपर्ने व्यक्ति आदिवासी समेत हुनुपर्ने देखिन आउँछ । पुनरावेदकहरूको आमाको जन्म नेपालमा भएको र निजको जिकीरअनुसार निजहरूको जन्म समेत नेपालमा भएको भए पनि उक्त दफाको प्रारम्भमा नै उल्लिखित भएको अनिवार्य व्यवस्था अर्थात् नेपालको नागरिक हुनको लागि नेपाल राज्यको आदिवासी (Domicile) हुनुपर्ने जरुरी रहेको देखिन्छ  । सो सन्दर्भमा श्री ५ को सरकार विरुद्ध चन्द्र नारायण चौधरी समेत भएको झुक्याई नागरिकता लिएको भन्ने मुद्दामा नेपाल नागरिकता ऐन, २००९ को दफा २ सम्बन्धमा व्याख्या हुँदा सो व्यवस्था जन्मको नाताले मात्र नागरिक हुने व्यवस्था नभै नेपाल राज्यको आदिवासी समेत हुनुपर्ने गरी स्पष्ट गरिएकोबाट (सर्वोच्च अदालत बुलेटिन, वर्ष १३, अङ्क ६, पूर्णाङ्क २८८, साल २०६१) समेत उक्त कुरा अझ स्पष्ट हुन आउँछ 

७. कुनै देशको आदिवासी कोही व्यक्ति हो, होइन भन्ने सन्दर्भमा विचार गर्दा त्यो व्यक्ति उक्त देशको स्थायी वासिन्दा हो, होइन वा त्यस व्यक्तिले सो देशलाई आफ्नो स्थायी बसोवास भएको देश मानेको छ छैन भन्ने सन्दर्भमा विचार गर्नु पर्ने हुन्छ  यसको अतिरिक्त कुनै  व्यक्ति अर्को देशमा पेशा व्यवसाय वा अध्ययन अध्यापनको उद्देश्यले गएपनि उसको भित्री विचारमा उसले यदि म फलानो देशमा बसोवास गर्ने व्यक्ति हुँ भनी मानेको र त्यस देश मै बसोवास गर्ने मनसाय राखेको अवस्था छ छैन विचार गर्नुपर्ने हुन्छ । यी पुनरावेदकहरूको सन्दर्भमा हेर्दा यी पुनरावेदकहरूको आमा नेपालमा जन्मेकी भन्ने कुरामा कुनै विवाद नभएपनि निजको विवाह भारत उडिसा राज्यमा बस्ने सूर्यभानुविक्रम सिँह सित भएको र निज आफ्नो पति एवं परिवारसँग बसी सोही ठाउँको स्थायी वासिन्दा भएको कुरामा यी पुनरावेदकहरूले समेत अन्यथा भन्न सकेका छैनन् 

            ८. उपरोक्त कुराहरूको अतिरिक्त यी पुनरावेदकहरूको अध्ययन अध्यापन वा कुनै प्रकारको पेशा व्यवसाय वा स्थायी बसोबास नेपालभित्र रहेको कुरा समेत मिसिल साथ संलग्न प्रमाणहरूबाट नदेखिनुको साथै निजहरू यहाँ स्थायी बसोवास गर्ने प्रयोजनको लागि मनसा कर्मणा प्रतिबद्ध रहेको भन्ने विश्वास गर्न सक्ने प्रमाण पनि निजहरूबाट प्रस्तुत हुन सकेको देखिदैन 

            आदिवासी भन्नाले अंग्रेजी भाषाको Domocile भन्ने शब्दलाई जनाउने हुनाले सो Domicile भन्ने शब्दको अर्थ (Meaning ­) अंग्रेजी भाषाको शब्दकोषहरू (dictioanry) मा हेर्दा :

१.     The country in which a person lives permanently

२.    Person's home

३.    Living in a particular country place भनी भनिएको छ 

            कानूनसंग सम्बन्धित प्रसिद्ध शब्दकोष अर्थात् Black's Law Dictionary समेत हेर्दा :

 

१.     The place at which a person has been physically present and that a person regards as home

२.    Person's true, fixed, principle and permanent home to which that person intends to return and remain though currently residing elsewhere.

३.    The residence of a person or corporation for legal purposes

 

            इत्यादि प्रकारले अर्थ गरिएको र सोहीअनुसार सम्बन्धित मुद्दाहरूमा निर्णय गरिएको पाइन्छ  पुनरावेदकहरूको सन्दर्भमा उपर्युक्त कुराहरूलाई मध्यनजर राखी विचार गर्दा निजहरूलाई नेपालको आदिवासी (Domicile) भन्न सक्ने आधार मिसिल संलग्न प्रमाणहरूबाट देखिदैन 

            ९. प्रस्तुत पुनरावेदन पत्रको सन्दर्भका नेपालको संविधान, २०१९ को धारा १ को व्यवस्था समेतलाई हेर्दा सो को धारा १ मा नेपालमा स्थायी बासस्थान भएको देहायका प्रत्येक व्यक्ति यो संविधान प्रारम्भ हुँदाका बखत नेपालको नागरिक ठहर्ने छ भनी व्यवस्था गरिएको र सोको सम्बन्धित देहायको खण्ड (क) मा जो नेपालमा जन्मेको हो र खण्ड (ख) मा जसका आमा बुबामा एक जना नेपालमा जन्मेको हो भनी व्यवस्था गरिएकोले सोअनुसार समेत नेपाली नागरिक हुनको लागि नेपालमा स्थायी बासस्थान हुनुपर्ने अनिवार्य देखिन आउँछ 

            १०. यसको अतिरिक्त यी पुनरावेदकहरूले वि.सं. २०३६ सालमा वंशजको नाताले नागरिकता प्राप्त गरेका र नेपाली नागरिकताको प्रमाणपत्र नेपाल नागरिकता ऐन, २०२० अनुसार प्राप्त गरेको देखिएकोले सो ऐनको सम्बन्धित दफा ३ को व्यवस्था हेर्दा उक्त दफा ३ मा वंशजको नाताले नेपालको नागरिकता प्राप्तिको लागि सोही दफाको उपदफा (१) मा सो ऐन प्रारम्भ भएपछि जन्मेको कुनै व्यक्तिको बाबु निजको जन्म हुँदा नेपालको नागरिक रहेछ त्यस्तो व्यक्ति वंशजको नाताले नेपालको नागरिक हुनेछ भनी व्यवस्था गरिएकोले पुनरावेदहरूको पिता भारतीय नागरिक भएको भन्ने कुरा यी पुनरावेदकहरूले स्वयं स्पष्ट गरेको हुनाले यी पुनरावेदकहरू सो ऐनअनुसार वंशजको नाताले नेपालको नागरिक हुन नसक्ने स्पष्ट छ  त्यसकारण यस अदालतबाट मुद्दा दोहोर्‍याउने निस्सा प्रदान गर्दा उल्लिखित आधारहरू एवं पुनरावेदन जिकीरहरूसँग सहमत हुने अवस्था देखिएन 

            ११. तसर्थ यी पुनरावेदकहरूकी आमा नेपालमा जन्मेकी र पुनरावेदकहरू नेपालमा जन्मेको भनी निजहरूले जिकीर लिएको भए पनि यी पुनरावेदकहरूकी आमाको भारतीय नागरिकसँग विवाह भएको र भारतमा नै परिवारसहित बसोवास भएको देखिनाले र यी पुनरावेदकहरू नेपालको स्थायी वासिन्दा वा आधिवासी रहेको भन्ने कुरा मिसिल संलग्न प्रमाणहरूको आधारबाट भन्न सकिने अवस्था नहुँदा निजहरू नेपालको संविधान, २०१९ वा नेपाल नागरिकता ऐन, २००९ वा नेपाल नागरिकता ऐन, २०२० अनुसार नेपालको नागरिक रहेको नदेखिनाले निजहरूले वि.सं. २०३६ सालमा नेपाल नागरिकता ऐन, २०२० अनुसार वंशजको नाताले प्राप्त गरेको नेपालको नागरिकताको प्रमाणपत्र रद्द हुने ठहराएको गृह मन्त्रालयको मिति २०५७।८।१६ को निर्णयलाई सदर हुने ठहराएको पुनरावेदन अदालत पाटनको मिति २०६२।५।१९ मा भएको फैसला मिलेकै देखिनाले सदर हुने ठहर्छ  प्रतिवादीहरूको पुनरावेदन जिकीर पुग्न सक्दैन  प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू 

 

उक्त रायमा सहमत छु 

 

न्या.मोहनप्रकाश सिटौला

इजलास अधिकृत : चुरामन खड्का

 

 

इति संवत् २०६७ साल असार २३ गते रोज ३ शुभम

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु