शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८८०३ - अंश चलन ।

भाग: ५४ साल: २०६९ महिना: श्रावण अंक:

ने.का.प. २०६९,            अङ्क ४

निर्णय नं. ८८०३

 

सर्वोच्च अदालत, संयुक्त इजलास

सम्माननीय प्रधान न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ

माननीय न्यायाधीश श्री कृष्णप्रसाद उपाध्याय

दे.पु.नं. ०६३-CI-०७३२

फैसला मितिः २०६७।८।२२।४

मुद्दा : अंश चलन 

पुनरावेदक वादीः ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं. ४ बस्ने बालकृष्ण श्रेष्ठ

विरुद्ध

प्रत्यर्थी प्रतिवादीः ऐ. ऐ. बस्ने श्रीकृष्ण श्रेष्ठको मृत्यु भई मुद्दा सकार गर्ने निजको श्रीमती रामेश्वरी         श्रेष्ठ समेत

 

शुरु निर्णयः

मा.न्या.श्री प्रभा वस्नेत

पुनरावेदन फैसलाः

मा.न्या.श्री केशवप्रसाद मैनाली

मा.न्या.श्री जनार्दनबहादुर खड्का

 

§  शेषपछिको बकसपत्र गरिदिनेको मृत्यु भएको र सो लिखत बदर नभएको अवस्थामा त्यस्तो बकसपत्र स्वतः क्रियाशील भै बकसपत्र दिनेको अंश हक बकसपत्र पाउनेमा सर्ने 

(प्रकरण नं.१०)

§  शेषपछिको बकसपत्र लिखत बदर नभएको स्थितिमा दाताको मृत्युपछि सो लिखत स्वतः क्रियाशील हुने हुँदा सो लिखतबमोजिम निजको हक भएको सम्पत्ति निजले दश रुपैयाँ दस्तूर तिरी रजिष्ट्रेशनको ३२क नं. बमोजिम जहिलेसुकै नामसारी दाखेल खारेज गराउन सक्ने 

(प्रकरण नं.१३)

§  शेषपछिको बकसपत्रबाट प्राप्त गरेको सम्पत्ति अन्य अंशियारका नाममा दा.खा. हुँदैमा सो सम्पत्तिको सगोलीय चरित्र र प्रकृतिमा कुनै भिन्नता नआउने 

(प्रकरण नं.१४)

 

पुनरावेदक वादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्तात्रय वसन्तराम भण्डारी, हरिहर दाहाल र शम्भु थापा

प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ताद्वय कृष्णप्रसाद भण्डारी र विश्वकान्त मैनाली एवं विद्वान अधिवक्ताहरू गुरुप्रसाद वराल, सविता बराल र बालमुकुन्द श्रेष्ठ

अवलम्बित नजीरः

§  नेकाप २०३२, नि.नं. ९२४, पृष्ठ २१८

§  नेकाप २०५६, नि.नं. ६७२९, पृष्ठ ३९२

सम्बद्ध कानूनः

§  मुलुकी ऐन, दानबकसको ५ नं.

§  अंशबण्डाको १९ र १९(४)नं.

§  रजिष्ट्रेशनको ३२क नं.

§  अ.वं. १३९

§  प्रमाण ऐन, २०३१ को दफा ६(क)

 

फैसला

प्र.न्या.रामप्रसाद श्रेष्ठः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत पुनरावेदन अदालत, पाटनको फैसलाउपर वादी बालकृष्ण श्रेष्ठको यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर देहायबमोजिम रहेको छ :

पिता तुल्सीनारायण श्रेष्ठको मिति २०४२।११।१ मा, सौतेनी आमा चिनीमाया श्रेष्ठको पहिलेनै र आमा चन्द्रकुमारी श्रेष्ठको मिति २०२९।८।२२ मा आफ्नै कालगतिले स्वर्गारोहण भइसकेको छ । दाजु तुल्सीकृष्ण श्रेष्ठले मालपोत कार्यालय, ललितपुरबाट मिति २०३५।२।१०, र.नं. ६९० को पारित छोडपत्रको लिखतबाट आफ्नो भाग हिस्सा लिई छुट्टी भिन्न भइसक्नु भएको छ । दाजु जयकृष्ण श्रेष्ठ पिता तुल्सीनारायण श्रेष्ठसँग चलेको अंश मुद्दामा तत्कालीन मध्यमाञ्चल क्षेत्रीय अदालतबाट मिति २०३९।१०।१२ मा भएको मिलापत्रबमोजिम विभिन्न घर जग्गाहरू अंशबापत लिई छुट्टी भिन्न भइसक्नु भएको छ । विपक्षी दाजु र म फिरादी समेतको विवाह दान भइसकेको छ । हामी वादी प्रतिवादी दाजुभाई बाहेक अंशबण्डा गर्नुपर्ने तथा विवाह खर्च पर सानुपर्ने कोही कुनै अंशियारहरू तथा परिवारहरू समेत रहेका छैनन् । अबण्डा सम्पत्ति हामी वादी प्रतिवादी दुवै जना दाजुभाइको नाममा संयुक्त दर्ता रहेको भए तापनि सम्पूर्ण सम्पत्ति विपक्षीले मात्र एकलौटी रुपमा लिई खाई आउनु भएको छ । सगोल गोश्वारा सम्पत्तिको आयस्ता भोगचलन गर्नबाट फिरादी बञ्चित भएर रहेको छु । अतः फिराद परेको दिनलाई मानो छुट्टिएको मिति कायम गरी बण्डा गर्नुपर्ने सम्पूर्ण चल अचल श्री सम्पत्तिको अंशबण्डाको २०, २१, २२ नं. बमोजिम तायदाती फाँटवारी विवरण लिई दुई भागको १ भाग अंश फिरादीलाई दिलाई, फिरादीको नाममा दर्ता गरी अदालतबाटै चलन समेत चलाई पाऊँ भन्ने समेत व्यहोराको फिरादपत्र 

हामी वादी प्रतिवादी दुई जनामात्र अंशियार नभई बाबु तुल्सीनारायणबाट शेषपछिको बकसपत्र पाउने शशीकिरण समेत ३ अंशियार भएकोले ३ भाग लगाई तुल्सी नारायणको हक जति शशीकिरणले पाउने र बाँकी वादी र म समेत २ जनाको आधाआधा अर्थात ३ भागको १ भाग बण्डा लाग्ने हो । फिरादमा उल्लेख भएबमोजिम मानो छुट्टिएको मिति कायम नभई जेठी आमा पट्टीका दाजु तुल्सीकृष्ण श्रेष्ठको अंश छोडपत्र पारित भएको मिति २०३५।२।१० अथवा बाबु तुल्सीनारायणले नै प्रतिवादीलाई घर बनाउन मञ्जूरीनामा दिनु भएको मिति २०३५।१०।५ अथवा हाम्री आमातर्फका जयकृष्ण श्रेष्ठको अंश दिलाई पाऊँ भन्ने मुद्दाको फिराद परेको मिति अथवा सो मुद्दामा तत्कालीन मध्यमाञ्चल क्षेत्रीय अदालतबाट मिलापत्र भएको २०३८।१०।१२ मध्ये मिलापत्र भएको मितिलाई नै पक्का मान्नुपर्छ । साथै मिति २०३५।१०।५ लाई मानो छुट्टिएको मिति कायम गरी मैले राष्ट्रिय वाणिज्य बैंकसँग कर्मचारीले पाउने घर कर्जा र नोकरीबाट आयआर्जन गरेको समेतका रकमबाट निर्माण गरेको घर भएकोले कि.नं. ६९ कित्ताकाट भई हाल कि.नं. १४३ को ०३ जग्गामा बनेको घर मेरो मात्र एकलौटी ठहर्‍याई सो बाहेक बाँकी रहेका जग्गा र दर्ता भइसकेको वादी र मेरो नाममा संयुक्त दर्ता भएका जग्गाहरू ३ भाग लाग्ने हुँदा सो बमोजिम ३ भाग लगाई न्याय निरोपण होस् । चल अचल सम्पत्ति आआफनो भागमा पर्ने धनमाल बाबुकै जीवनकालमा हातहातै बण्डा गरी बुझी लिई सकेको हुँदा अंशबण्डाको महलको २०, २१, २२ नं. बमोजिम तायदाती फाँटवारी दाखिल गर्नुपर्ने होइन । नालेस परेको मितिलाई मानो छुट्टिएको मिति कायम गरी तायदाती लिई दुई भागको एक भाग अंश दिलाई पाऊँ भन्ने विपक्षीको फिराद दावी आधारहीन र झूठा हो । झूठा नालिस दिने वादीलाई सजाय गरिपाऊँ भन्ने समेत प्रतिवादी श्रीकृष्ण श्रेष्ठको प्रतिउत्तरपत्र 

बाजे तुल्सीनारायण श्रेष्ठले निजको अंशहकको सम्पत्ति निजको शेषपछि मैले खान पाउने गरी मिति २०३७।१२।२८ मा मलाई अष्टलोह गरी शेषपछिको बकसपत्र गरिदिएको र निजको सेवा टहल गरिरहेकै अवस्था मिति २०४२।११।११ मा निज तुल्सीनारायणको मृत्यु भएकोले प्रस्तुत मुद्दामा वादी बालकृष्ण श्रेष्ठ, प्रतिवादी तथा बाजे तुल्सीनारायणको हकखाने म शशीकिरण समेत ३ जना अंशियार भएकोमा विवाद छैन । वादी बालकृष्ण श्रेष्ठले बाजे तुल्सीनारायण श्रेष्ठबाटै घर बनाउनको निमित्त कि.नं. ६९ को जग्गामध्येबाट क्षे.फ. ०१०२ जग्गामा घर बनाउने नक्सा पासको प्रयोजनको लागि मञ्जूरनामा प्राप्त गरेको सम्पत्तिको स्रोत वाजे तुल्सीनारायण नै हुनु भएको र उहाँले खडा गरेको सम्पत्ति खान पाउने शेषपछिको उत्तराधिकारी मलाई समेत भाग लाग्ने हुँदा वादी दावीबमोजिम २ भाग मात्र बण्डा लाग्ने नभई ३ भाग अंशबण्डा गरी ३ भागको १ भाग मात्र वादी बालकृष्ण श्रेष्ठले अंश पाउने हो भन्ने समेत व्यहोराको मुलुकी ऐन, अ.वं. १३९ नं बमोजिम बुझिएका शशीकिरण श्रेष्ठको अधिकृत वारेश रोशनी श्रेष्ठले गरेको वयान 

म जयकृष्णको श्रीमती हुँ । मेरो पति जयकृष्ण जेठा, प्रतिवादी श्रीकृष्ण माहिला र वादी बालकृष्ण कान्छा हुन् । यी तीन अंशियारहरू बीच नियमबमोजिम नरमकरम मिलाई अंशबण्डा भएको छैन । अतः नरमकरम मिलाई तीन अंश गरी ३ भागको एक भाग मैले पाउनु पर्छ भन्ने समेत व्यहोराको मुलुकी ऐन, अ.वं. १३९ नं बमोजिम बुझिएका सानु श्रेष्ठले गरेको वयान 

वादी, प्रतिवादी र अ.वं. १३९ बमोजिम बुझिएका मानिसहरूका साक्षीहरूले गरेको वकपत्र मिसिल संलग्न रहेको 

तायदाती फाँटवारी पेश भई मिसिल सामेल रहेको 

कानूनबमोजिम अंशबण्डा भई वादीले आफ्नो भाग अंश पाइसकेको भन्ने पुष्टि गर्ने लिखित प्रमाण प्रतिवादीले पेश गर्न सकेको देखिन नआई वादी प्रतिवादीको नाममा संयुक्त जग्गा दर्ता रहेको देखिएकोले वादीले आफ्नो अंश भाग पाउने नै देखियो । पिता तुल्सीनारायण श्रेष्ठको २०४२ सालमा परलोक भएपछि शेषपछिको लिखत क्रियाशील गराई तुल्सीनारायणका नाउँको जग्गा वादी प्रतिवादीको नाममा २०४६ सालमा संयुक्त नामसारी गर्दाको अवस्थामानै प्रतिवादीका छोरा शशीकिरण श्रेष्ठले दावी बिरोध गर्न सकेको नदेखिँदा हाल तुल्सीनारायणको अंश भनी शशीकिरण श्रेष्ठलाई बण्डा लगाउन मिल्ने देखिएन । हालसम्म पनि कि.नं. १४३ को जग्गा वादी बालकृष्ण र प्रतिवादी श्रीकृष्ण श्रेष्ठको संयुक्त नाममा दर्ता रही सगोलमा रहँदा घर निर्माण गरेको भन्ने देखिँदा बण्डा लाग्ने देखिँदा वादी दावीबमोजिम सम्पूर्ण घर जग्गा श्रीसम्पत्तिबाट दुई भागको एक भाग अंश वादीले पाउने र चलन समेत चलाई पाउने ठहर्छ भन्ने समेत व्यहोराको ललितपुर जिल्ला अदालतको मिति २०६२।१०।६ को फैसला 

शेषपछिको बकसपत्र दाताको मृत्युपश्चात् क्रियाशील भै बकसपत्र पाउनेको हक हुने कुराको उल्टो अर्थ लगाई मनोगत धारणा बनाई भएको सो फैसलामा कानूनको गम्भीर त्रुटि भएको छ । २०४६ सालमा नै मैले कुनै उजूर विरोध गर्नुपर्ने औचित्य छैन । हचुवा बुँदाबाट मेरो बकसपत्र बमोजिमको हक अपहरित हुन सक्दैन । तुल्सीनारायणको हक खाने पुनरावेदकलाई सम्पूर्ण सम्पत्ति एवं नैसर्गिक हकबाट बञ्चित हुने गरी भएको फैसला उल्टी गरी ३ अंशियार कायम गरी शेषपछिको बकसपत्र बमोजिम तुल्सीनारायण श्रेष्ठको हक मेरो हुने र वाँकी २ भागमा कानूनबमोजिम हुने गरी न्यायपाऊँ भन्ने शशीकिरण श्रेष्ठको पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदन पत्र 

बाबु तुल्सीनारायण श्रेष्ठले म पुनरावेदकले घर बनाएनको लागि मिति २०३५।१०।५ मा मञ्जूरनामा दिई वादी बालकृष्ण श्रेष्ठले २०३५।१०।७ मा नक्सा पासको स्वीकृति निवेदनमा सही गरिदिनु भएकोले रा.वा.बैंकबाट मेरो नोकरीबाट आयआर्जन भएको रकम समेत तलवबाट कट्टा हुने गरी ऋण लिई आर्जेको रकमबाट २०४०।१।१४ गते निर्माण गरेको घर बण्डा लाग्ने होइन भन्ने प्रमाण पेश गर्दागर्दै सम्पूर्ण घर जग्गाबाट २ भागको १ भाग पाउने भनी भएको फैसला उल्टी गरी बाबु तुल्सीनारायण श्रेष्ठको सम्पूर्ण पैतृक सम्पत्तिलाई ३ भाग लागाई ३ भागको १ तुल्सीनारायणको शेषपछिको बकसपत्र पाउने शशीकिरण श्रेष्ठलाई छुट्याई म पुनरावेदकले घर कर्जा लिई निर्माण गरेको कि.नं. १४३ को क्षे.फ. ०० जग्गामा बनेको घर मेरो एकलौटी र विपक्षी वादीको कि.नं. ७१ मा वनेको घर विपक्षिलाई नै एकलौटी रुपमा छुट्टयाई बाँकी रहेको अचल सम्पत्तिमा दुई भाग लगाई विपक्षीलाई १ भाग र म पुनरावेदकलाई एक भाग अंश दिलाउने गरी इन्साफ पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी श्रीकृष्ण श्रेष्ठको पुनरावेदन अदालत, पाटनमा परेको पुनरावेदन पत्र 

यसमा निवदनको प्रकरण ३ को देहायमा लेखिएको कित्ता जग्गाहरूमा दावी जिकीर पुग्न सक्ने एक तिहाई हदसम्मको जग्गाहरू पुनरावेदनको किनारा नलागेसम्म दान दातव्य बेचविखन इत्यादि नगर्नु भनी अ.वं. १७१(क) नं. अनुसार रोक्का राखी दिएको छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालतको आदेश 

यसमा फिरादी बालकृष्ण श्रेष्ठ र प्रतिवादी श्रीकृष्ण श्रेष्ठको बाबु स्व. तुल्सीनारायण श्रेष्ठले मिति २०३७।१२।२८ मा आफ्नो अंश दर्ताको सम्पत्ति शेषपछिको बकसपत्र गरी प्रतिवादी श्रीकृष्णको छोरा प्र.शशीकिरणलाई दिएको र २०४२ सालमा तुल्सीनारायणको मृत्यु समेत भएको अवस्थामा तुल्सीनारायणबाट शेषपछिको बकसपत्र पाउने शशीकिरणको शेषपछिको बकसपत्र बमोजिमको सम्पत्तिमा अंश हककायम नगरी फिरादी बालकृष्ण र प्रतिवादी श्रीकृष्ण श्रेष्ठको मात्रै अंश हक कामय गरी र कि.नं. १४३ को जग्गामा घर निर्माण गर्दा प्रतिवादी श्रीकृष्णले स्व. बाबु तुल्सीनारायणबाट स्वीकृत लिई बैंकबाट ऋण लिई घर बनाएको र नक्सा पासमा फिरादी बालकृष्ण समेत साक्षी वसेको अवस्था देखिँदा सो घर समेतबाट फिरादीले २ भागको एक भाग अंश पाउने गरी भएको शुरु फैसला फरक पर्न सक्ने देखिँदा प्रत्यर्थी झिकाई नियमानुसार पेश गर्नु भन्ने समेत व्यहोराको पुनरावेदन अदालत, पाटनको आदेश 

यसमा वादी प्रतिवादी अंशियार हुन् भन्ने कुरामा विवाद देखिएन । तुल्सीनारायणले आफ्नो जीवनकालमै आफ्नो अंश हकको सम्पत्ति नाति शशीकिरण श्रेष्ठलाई मिति २०३७।१२।२८ मा शेषपछिको बकसपत्र पारित गरिदिएको र २०४२ सालमा निज परलोक भएको हुँदा २०४२ सालमा उक्त बकसपत्र सक्रिय भएको देखिँदा श्रीकृष्ण, बालकृष्ण र शशीकिरण (तुल्सी नारायणको गरी) तीन अंशबण्डा लाग्ने नै भयो । बाबु र दाजुबाट स्वीकृति लिई व्यक्तिगत तवरमा ऋण लिई घर बनाएको देखिँदा विवादित कि.नं १४३ मध्येको ज.रो. ०० जग्गा र घर श्रीकृष्णको निजी हुने र बालकृष्ण श्रेष्ठले पनि निजी तवरले बनाएको घर र घरले चर्चेको ०० जग्गा निजहरूको आआफ्नो निजी देखिँदा सो घर बण्डा गर्नुपर्ने देखिएन । अरु श्रीसम्पत्तिमा वादीले तीन खण्डको एक खण्ड अंश पाउने देखियो । तसर्थ शुरु ललितपुर जिल्ला अदालतको फैसला केही उल्टी भै शेषपछिको बकसपत्र पाउने शशीकिरणको समेत अंश भाग लाग्ने र कि.नं १४३ को जग्गा रोपनी १० मध्ये ज.रो. ०० मा बनेको भनेको घर र घरले चर्चेको जग्गा बाहेकको घर जग्गासम्म तथा कि.नं. ७१ को ०० मा बनेको भनेको घर र घरले चर्चेको जग्गा बाहेकको घर जग्गा सम्म उपरोक्त २ घरहरू वादी प्रतिवादीले आफूले निजी तवरबाट बनाएको देखिँदा सो घरहरू बण्डा नलाग्ने र अरु श्री सम्पत्तिबाट वादीले तीन भागको एक भाग अंश पाउने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पाटनको मिति २०६३।५।२७ को फैसला 

पुनरावेदन अदालत पाटनको उक्त फैसलामा चित्त बुझेन । शेषपछिको बकसपत्र दिने तुल्सीनारायण श्रेष्ठको मिति २०४२।११।१ मा मृत्यु भएको मितिले दानबकसको ५ नं. बमोजिम २ वर्ष हदम्यादभित्र विपक्षी शशीकिरण श्रेष्ठले बकसपत्र क्रियाशील गराउन नसकेकोले निष्क्रिय भैसकेको शेषपछिको बकसपत्रबमोजिम सम्पत्तिमा हक हुने ठहर गरेको फैसला उक्त कानूनी व्यवस्था विपरीत बदरभागी छ । शेषपछिको बकसपत्रको आधारमा प्राप्त भएको हक मुलुकी ऐन, ज.प.को २क. नं. बमोजिम जहिलेसुकै नामसारी गर्न मिल्दैन । २०४६ सालमा नै सो जग्गाहरू म बालकृष्ण श्रेष्ठ र प्रतिवादी श्रीकृष्ण श्रेष्ठका नाउँमा संयुक्त नामसारी गरिएकोमा सोउपर चुनौती गरी दा.खा. नामसारी बदर र हक कायम गराउन नसकेको हुँदा हाल दावी नै नभएको कुरामा निरुपण गरेको फैसला अ.वं. ८२, १८४क, ज.प.को २क र १७ तथा ज. मि. को १८ नं. को विपरीत बदरभागी छ । विपक्षी शशीकिरण म समेतका अंशियार नभई भतिजा नाताका व्यक्ति हुन् । निजलाई अंशबण्डाको १ नं. बमोजिम अंशियार कायम गर्न नमिल्नेमा हक नै समाप्त भैसकेको शेषपछिको बकसपत्र को आधारमा अंशियार कायम गरेको फैसला अंशबण्डाको १ र १९(४) नं. विपरीत छ । कि.नं. १४३ को क्षे.फ. १० मध्ये ०० जग्गामा बनेको घर विपक्षी श्रीकृष्ण श्रेष्ठको निजी ठहर्‍याएको पुनरावेदन अदालतको फैसला पनि त्रुटिपूर्ण छ । उक्त घर सगोलमा रहँदा बनाएको हो । नक्सा पासलगायतका कार्य गर्ने प्रयोजनका लागि मात्र विपक्षीलाई मञ्जूरनामा दिइएको हो । जग्गा निजलाई मात्र हक छाडि दिएको भए पिताको मृत्युपश्चात् २०४६ सालमा संयुक्त नामसारी हुने थिएन । नक्सा पासको लागि दिएको मञ्जूरनामाबाट हक समाप्त भएको भन्ने अर्थ गरी सगोलमा छँदा बनाएको घर विपक्षीको निजी ठहर्‍याएको फैसला मिलेको छैन । बैकबाट लिएको रु.३०,०००।ऋणबाट करौंडौं मूल्य पर्ने उक्त घर निर्माण हुनसक्ने अवस्था पनि छैन । अतः ३ अंशियार कायम गरिएको र घर निजी आर्जनको ठहर्‍याई बण्डा नलगाएको हदसम्म पुनरावेदन अदालत पाटनको फैसला बदर गरी शुरु ललितपुर जिल्ला अदालतको फैसला सदर गरिपाऊँ भन्ने समेत व्यहोराको वादी बालकृष्ण श्रेष्ठको यस अदालतसमक्ष पर्न आएको पुनरावेदन पत्र 

यसमा प्रतिवादी शशीकिरण श्रेष्ठले मिति २०३७।१२।२८ को शेषपछिको बकसपत्र अनुसार प्राप्त गरेको भनेको सम्पत्ति शेषपछिको बकसपत्रको लिखत गरिदिने तुल्सीनारायण श्रेष्ठको मिति २०४२।११।१ मा मृत्यु भएपछि मुलुकी ऐन दानबकसको महलको ५ नं. को हदम्याद २ वर्षभित्र क्रियाशील गराउनु पर्नेमा सो गराएको नदेखिएको अवस्थामा निज शशीकिरण श्रेष्ठलाई पनि वादी सरहको अंशियार कायम गरी वादीले ३ भागको १ भाग मात्र अंश पाउने ठहर गरेको पुनरावेदन अदालत पाटनको फैसला उक्त दानबकसको महलको ५ नं. को हदम्याद समेतको परिप्रेक्ष्यमा फरक पर्नसक्ने देखिँदा छलफलको निमित्त प्रत्यर्थी झिकाई आएपछि वा अवधि नाघेपछि नियमानुसार पेश गर्नु भन्ने समेत यस व्यहोराको यस अदालतबाट मिति २०६५।१२।२६ मा भएको आदेश 

नियमबमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी बालकृष्ण श्रेष्ठका तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्तात्रय श्री वसन्तराम भण्डारी, श्री हरिहर दाहाल र श्री शम्भु थापाले २०३७ सालको शेषपछिको बकसपत्र नदेखाइएको हुनाले वादीलाई सो तथ्य थाहा हुने कुरा भएन । २०४२ सालमा पिता तुल्सीनारायणको मृत्यु भएको र २०४६ सालमा पिताको नाउँ दर्ताको जग्गा बालकृष्ण र श्रीकृष्ण श्रेष्ठका नाउंमा सँयुक्त नामसारी भैसकेको छ । उक्त बकसपत्रको अस्तित्व नदेखाएको कारणले नै त्यसरी नामसारी भएको हो । दान बकसको ५ नं. बमोजिम पाउनेको हक पुगेको दुई वर्षभित्र हक कायम नगराएकोले बकसपत्र स्वतः निष्क्रिय भैसकेको छ । विषय विषयमा बनेको कानूनको हदम्याद व्यतीत गरी सकेको अवस्थामा मुलुकी ऐन रजिष्ट्रेशनको ३२ र ३२क तथा ज.प.को २क नं. आकर्षित हुन सक्दैन । त्यसमा पनि निज शशीकिरण वादी बनी नामसारी बदर गरी हक कायम गराउन नालेस लिई आएको अवस्था छैन । अंश मुद्दामा अ.वं.१३९ नं. बमोजिम बुझिएको व्यक्तिलाई वादी सरह मानी हक कायम गरिदिन मिल्ने होइन । हदम्याद नाघी सकेको कुरामा इन्साफ गर्न मिल्दैन भन्ने सम्बन्धमा तमाम नजीर प्रतिपादन भएको हुँदा पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण छ । त्यसै गरी कि.नं. १४३ को जग्गामा वनेको घर र घरले चर्चेको ०० जग्गा प्रत्यर्थी श्रीकृष्णको निजी ठहर्‍याएको पुनरावेदन अदालतको फैसला समेत मिलेको छैन । उक्त जग्गामा घर बनाउँदा नक्सा पास गर्ने प्रयोजनका लागिसम्म मञ्जूरनामा दिएको हो । सो घरजग्गा प्रत्यर्थीको निजी भए पिताको मृत्यु पछि २०४६ सालमा वादी समेतको नाउँमा संयुक्त नामसारी हुने थिएन । बैंकमा जागिर खाएको र तीस हजार ऋण लिएको भन्ने आधारमा मात्र करौंडौ पर्ने घर निजी तवरमा बनाएको भनी अनुमान गर्न मिल्दैन । अतः शशीकिरणलाई अंशियार कायम गरिएको र उक्त घरजग्गा निजी आर्जन ठहर गरेको हदसम्मको पुनरावेदन अदालतको फैसला बदर भई शुरु ललितपुर जिल्ला अदालतको फैसला सदर गरिनुपर्छ भन्ने समेतको बहस गर्नुभयो । विद्वान वरिष्ठ अधिवक्ताहरूले आफ्नो बहस जिकीरको समर्थनमा लिखित बहसनोट समेत पेश गर्नु भएको रहेछ 

प्रत्यर्थी प्रतिवादीहरूको तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ताद्वय श्री कृष्णप्रसाद भण्डारी र श्री विश्वकान्त मैनाली एवं विद्वान अधिवक्ताहरू श्री गुरुप्रसाद वराल, श्री सविता बराल र श्री बालमुकुन्द श्रेष्ठले बाजे तुल्सीनारायणले निजको अंश हकको सम्पूर्ण श्री सम्पत्ति अष्टलोह गरी २०३७ सालमानै नाति शशीकिरणलाई शेषपछिको बकसपत्र पारित गरिदिएको भन्ने तथ्यमा विवाद छैन । २०४२ सालमा दाता तुल्सीनारायणको मृत्यु भैसकेको हुँदा तुल्सी नारायणको अंश हकमा स्वतः शशीकिरणको हक कायम भएको छ । उक्त शेषपछिको बकसपत्र लिखत हालसम्म बदर नभएकोले अन्यथा भन्न मिल्ने अवस्था छैन । २०४६ सालमा एकासगोलका अंशियारहरूले सम्पत्ति नामसारी गराएको भए तापनि अंशियारभन्दा बाहिर नगएकोले नामसारी बदरमा नालेस गर्नुपर्ने प्रयोजन नै छैन । दानबकसको ५ नं.को हदम्याद सम्पत्ति अन्यत्र हक हस्तान्तरण भएको स्थितिमा आकर्षित हुने हो । एकासगोलको बाबु र काकाले नामसारी गराउँदैमा क्रियाशील भैसकेको शेषपछिको बकसपत्र बमोजिम प्राप्त हक समाप्त हुँदैन । २०६१ सालमा शेषपछिको बकसपत्र बमोजिमका जग्गा नामसारी दा.खा.को लागि शशीकिरणको निवेदन परेको छ । शशीकिरणलाई अ.वं.१३९ नं. बमोजिम बुझी प्रतिवादी कायम गरिएको काम कारवाही उपर वादीको उजूरी छैन । मुलुकी ऐन रजिष्ट्रेशनको ३२ र ३२क तथा ज.प.को २क नं. बमोजिम नामसारी गराउन जहिले सुकै आउन पाउने व्यवस्था भएको हुँदा हदम्याद गएको भन्न मिल्ने स्थिति छैन । शेषपछिको बकसपत्र दिनेको मृत्यु भएपछि बकसपत्र स्वतः क्रियाशील भई पाउनेको हक हुने भनी नेकाप २०५६, पृष्ठ ३९२ को मथुरा चिपालुको मुद्दामा सिद्धान्त कायम भएको हुँदा तुल्सीनारायणको अंश हक शशीकिरणले पाउने गरी भएको पुनरावेदन अदालतको फैसला मनासिव छ । त्यसै गरी कि.नं १४३ को ०० जग्गामा प्रत्यर्थी श्रीकृष्ण श्रेष्ठले घर बनाउँदा तुल्सीनारायण र स्वयम् वादी समेतले २०३५ सालमा मञ्जूरीनामा दिएको अवस्था छ । राष्ट्रिय वाणिज्य बैंकबाट तीस हजार रुपैया ऋण लिई बैंकमा नोकरी गरी गरेको आर्जन समेतबाट श्रीकृष्ण श्रेष्ठले बनाएको उक्त घर निजको निजी आर्जन हुँदा बण्डा लाग्ने अवस्था छैन । स्वयम् वादीले समेत सोही व्यहोराले मञ्जूरीनामा लिई कि.नं ७१ को ०० जग्गामा घर बनाएको अवस्था छ । दुवै छोराहरूलाई छुट्टाछुट्टै घर बनाउन पिताकै पालामा भएको सो व्यवहार न्यायोचित् समेत भएकोले हाल उक्त दुवै घर आआफनो निजी ठहर्‍याएको फैसलामा समेत कुनै त्रुटि छैन । जग्गा पिताकै नाउँमा भएकोले २०४६ सालमा संयुक्त नामसारी गरिएको कारणले मात्र निजी व्यवहारलाई सगोल मान्न मिल्दैन । तसर्थ पुनरावेदन अदालतको फैसला सदर गरिनु पर्दछ भन्ने समेत बहस गर्नुभयो । विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी र श्री विश्वकान्त मैनाली तथा विद्वान अधिवक्ताहरू श्री गुरुप्रसाद वराल र श्री बालमुकुन्द श्रेष्ठले आआफ्नो बहस जिकीरको समर्थनमा लिखित बहसनोट समेत पेश गर्नु भएको रहेछ 

आज निर्णय सुनाउन तारिख तोकिएको प्रस्तुत मुद्दामा पक्ष विपक्षका विद्वान कानून व्यवसायीहरूले गर्नु भएको उपरोक्त बहस जिकीर मनन् गरी पेश भएको लिखित बहसनोटसहितको मिसिल कागजात अध्ययन गरी हेर्दा मूलतः देहायका प्रश्नहरूमा केन्द्रित रही निर्णय दिनुपर्ने हुन आएको छ :

 

.     शेषपछिको बकसपत्र गरी दिने दाताको मृत्युपश्चात् बकसपत्र पाउनेको हक सिर्जना हुने र समाप्त हुने कानूनी आधार र आवस्थाहरू के कस्ता रहेका छन् ? यस विषयमा यस अदालतबाट केकस्ता सिद्धान्तहरू कायम भएका छन् र प्रत्यर्थी शशीकिरण श्रेष्ठले पाएको शेषपछिको बकसपत्र को हैसियत समाप्त भएको छ वा छैन ?

.    कि.नं १४३ को जग्गामध्ये ०० जग्गा र सो जग्गामा बनेको घर सगोलको हो वा प्रत्यर्थी श्रीकृष्ण श्रेष्ठको निजी आर्जनको के हो ?

.    पुनरावेदन अदालत, पाटनको फैसला मिलेको छ, छैन ? र पुनरावेदक वादीको पुनरावेदन जिकीर पुग्न सक्ने हो वा होइन ?

 

२. निर्णय निरोपणका लागि निर्धारण गरिएका उपरोक्त प्रश्नहरूमा प्रवेश गर्नु अघि प्रस्तुत मुद्दाको तथ्यको विषयमा केही स्पष्ट हुनुपर्ने देखिन्छ । सो सम्बन्धमा मिसिल हेर्दा पिता तुल्सीनारायण श्रेष्ठका आमा चिनीमाया श्रेष्ठ र सौतेनी आमा चन्द्रकुमारी श्रेष्ठ समेतका दुई पत्नी तथा तुल्सीकृष्ण, जयकृष्ण, वादी बालकृष्ण र प्रत्यर्थी श्रीकृष्ण समेत चार भाइ छोराहरू भएकोमा पिताको २०४२ सालमा तथा आमाहरूको सो अगावै मृत्यु भैसकेको, दाजु तुल्सीकृष्ण मिति २०३५।२।१० को छोडपत्र र दाजु जयकृष्ण मिति २०३९।१०।१२ को मिलापत्रबाट छुट्टिभिन्न भैसकेको हुँदा हाल विपक्षी श्रीकृष्ण र फिरादी समेतका दुई अंशियार रहेकोले फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी सम्पूर्ण चल अचल श्री सम्पत्ति दुई भाग लगाई दुई भागको एक भाग अंश दिलाई पाऊँ भन्ने समेत वादीको फिराद दावी रहेको देखिन्छ । प्रतिवादीको प्रतिउत्तर हेर्दा बाबु तुल्सीनारायणले निजको अंश हकको सम्पूर्ण श्री सम्पत्ति निजको नाति तथा मेरो छोरा शशीकिरणलाई शेषपछिको बकसपत्र पारित गरी दिएकोले वादीले दुई भागको एक भाग नभई तीन भागको एक भाग अंश पाउने हो । कि.नं. १४३ को जग्गामा बाबु समेतको मञ्जूरी लिई बैंक ऋण समेतबाट घर बनाएको हुँदा सो बण्डा लाग्ने होइन । सो घर र विपक्षी वादीले कि.नं. ७१ बनाएको घर आआफ्नो निजी ठहर्‍याई सो बाहेकको सम्पत्तिबाट वादीले तीन भागको एक भाग अंश पाउने हो भन्ने समेत जिकीर लिएको देखिन आउँछ 

            ३. शुरु ललितपुर जिल्ला अदालतले तायदातीमा उल्लिखित सम्पूर्ण श्री सम्पत्तिबाट वादीले दुई भागको एक भाग अंश पाउने ठहर्‍याएको फैसला केही उल्टी गरी पुनरावेदन अदालत, पाटनबाट तुल्सीनारायणको अंश भागको सम्पत्ति निजबाट शेषपछिको बकसपत्र पाउने शशीकिरणले लिन पाउने हुँदा वादीले तीन भागको एक भाग अंश पाउने र कि.नं. ७१ र १४३ मा बनेका घरहरू वादी प्रतिवादीको निजी ठहरी बण्डा नलाग्ने भन्ने समेत फैसला भएको देखियो । शेषपछिको बकसपत्र दिने तुल्सीनारायणको २०४२ सालमा मृत्यु भई २०४६ सालमा निजका नाउंमा दर्ता भएका जग्गाहरू वादी प्रतिवादीहरूको नाउँमा संयुक्त नामसारी भैसकेको, सो बखत उक्त बकसपत्रको अस्तित्व नदेखाइएकोले दानबकसको ५ नं. को हदम्याद नाघिसकेको अवस्थामा दावी नै नभएको कुरामा अ.वं. १३९ नं.बमोजिम बुझिएको व्यक्तिलाई अंशियार कायम गर्न नमिल्ने तथा सगोलमा रहँदा बनाएको घर निजी आर्जन ठहर्‍याएको हदसम्मको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण भएकोले बदर गरी शुरु ललितपुर जिल्ला अदालतको फैसला नै सदर कायम गरिपाऊँ भन्ने समेत वादीको यस अदालतसमक्षको पुनरावेदन जिकीर मुलुकी ऐन, दानबकसको ५ नं. को कानूनी व्यवस्थाको परिपेक्ष्यमा पुनरावेदन अदालतको फैसला फरक पर्नसक्ने देखिएको भन्ने समेत आधारमा यस अदालतबाट प्रत्यर्थी झिकाउने आदेश भएको देखियो 

४. उल्लिखित तथ्यगत अवस्था र आधार तथा पुनरावेदन जिकीरको सन्दर्भमा प्रथमतः निर्णय दिनुपर्ने हुन आएको पहिलो प्रश्नका सम्बन्धमा विचार गर्नुपर्ने हुन आएको छ । यस परिप्रेक्ष्यमा शेषपछिको बकसपत्र दिने, लिने तथा बदर गराउने र त्यस्तो बकसपत्रबाट प्राप्त सम्पत्तिमा हक कायम हुने एवम् समाप्त हुने कानूनी व्यवस्थाको सिंहावलोकन गर्नु सान्दर्भिक नै हुने देखिन्छ । मुलुकी ऐन, अंशबण्डाको १९ नं. को विभिन्न दफाहरूमा सगोलको सम्पत्ति कसरी व्यवहार गर्ने भन्ने कुराको आधार र अवस्था उल्लेखन भै देहाय ४ दफामा माथि दफा दफामा लेखिएबमोजिम आपूmखुशी गर्न नपाउने अवस्थामा पनि आफ्नो अंश हकको जति आपूmखुशी गर्न पाउँँछ भन्ने उल्लेख भएको देखिन्छ । सो कानूनी व्यवस्थाबाट आफ्नो अंश हकको सम्पत्ति उपभोग गर्ने सम्बन्धमा सम्बन्धित अंशियारलाई कुनै पूर्व शर्त वा बन्देज नरही जुनसुकै व्यहोराले आफूखुश गर्न पाउने अधिकार हुने देखियो 

५. मुलुकी ऐन, दानबकसको १ नं. मा आफ्नो हक पुग्ने सम्पत्ति दान वा बकस गरी दिन हुन्छ भन्ने समेत उल्लेख भएको देखिँदा अंशबण्डाको १९(४) बमोजिमको सम्पत्ति दान वा बकस जुनसुकै व्यहोराले हक हस्तान्तरण गर्न नमिल्ने देखिँदैन । दानबकसकै २ नं. मा शेषपछिको बकसपत्र बदर गराउने अधिकार र कार्यविधिको व्यवस्था भएको छ । जसअनुसार शे.व गरिदिनेलाई चित्त नबुझे जहिलेसुकै त्यस्तो लिखित बदर गर्न सक्ने देखिन्छ । यदि दाताको जीवनकालमा निजले शे.व.लिखत बदर नगराएमा निजको मृत्युपछि स्वतः पाउनेको हक क्रियाशील हुने अवस्था आउँछ । तर दानबकस पाएको कुरामा आफ्नो हक पुगेको वा दिन नहुने दानबकस दिएकोमा पाउनेको हक पुगी भोगचलन गरेको मितिले दुई वर्ष भित्र नालेस गर्नुपर्ने भन्ने दानबकसको ५ नं. को कानूनी व्यवस्था देखिन्छ । उक्त कानूनी व्यवस्थाले दानबकस पाएको सम्पत्ति अन्यथा भई हक जाने अवस्था भएमा पाउनेले हक कायम गराउने तथा दिनै नहुने सम्पत्ति दानबकस दिएमा सो बदर गराउने दुई वटा अवस्थालाई सम्बोधन गरेको छ 

६. यसका साथै मुलुकी ऐन रजिष्ट्रेशनको ३२ नं. बमोजिम शेषपछिको बकस पत्र गरी दिने मानिस मरी पाउनेको हक पुग्न आएमा दाताको मृत्यु भएको ३५ दिनभित्र दाखिल खारेज गराउनु पर्ने देखिन्छ । तर सोही ३२क नं. ले ३२ नं. बमोजिमको म्यादभित्र दाखेल खारेज नगराई म्याद गुजारी जतिसुकै अवधि व्यतीत गरी दरखास्त दिएको भए तापनि दश रुपैयाँ दस्तूर लिई नाउँसारी दाखिल खारेज गरिदिनु पर्ने वाध्यात्मक कानूनी व्यवस्था गरेको पाइन्छ । त्यसैगरी आफ्ना हक हुन आई दाखिल खारेज गर्नुपर्ने भएको सम्पत्ति नाउँसारी दाखेल खारेज गर्ने सम्बन्धमा रजिष्ट्रेशनको ३२क नं. को जस्तै व्यवस्था मुलुकी ऐन ज.प.को. २क. नं. मा समेत भएको देखिन्छ 

७. उपरोक्त कानूनी व्यवस्थाहरूको विश्लेषणबाट आफ्नो अंश हकको सम्पत्ति अरुलाई दान वा बकस दिने लगायत जुनसुकै व्यहोराले आफूखुश गर्न पाउने, शेषपछिको बकसपत्र गरिदिएको कुरामा दातालाई चित्त नबुझेमा उसको जीवनकालभरी जुनसुकै समयमा बदर गराउन पाउने, दाताको मृत्यु भएपछि शेषपछिको बकसपत्र स्वतः क्रियाशील भई पाउनेको हक सिर्जना हुने, शेषपछिको बकसपत्र पाई हक पुगेको कुरा अन्यथा भए २ वर्षभित्र नालेस दिनुपर्ने, दिन नहुने बकस दिएकोमा पाउनेको हक पुगी भोगचलन गरेको दुई वर्ष भित्र नालेस दिनुपर्ने, शेषपछिको बकसपत्र गरी दिने मानिस मरेको ३५ दिनभित्र नाउँसारी दाखेल खारेजको लागि दरखास्त दिनुपर्ने तर ३५ दिन नघाई जतिसुकै अवधि व्यतीत गरी नाउँसारी दाखेल खारेज गर्न आएतापनि दश रुपैयाँ दस्तूर लिई नाउँसारी दाखेल खारेज गरी दिनुपर्ने भन्ने देखिन आएको छ 

८. शेषपछिको बकसपत्र कुन अवस्थामा क्रियाशील हुने हो भन्ने कानूनी ब्यवस्थाकै सन्दर्भमा यस अदालतको पूर्ण इजलासबाट विभिन्न मुद्दाहरूमा सिद्धान्त प्रतिपादन भएको पाइन्छ । खास गरी निवेदिका पदमावती उपाध्यायको मु.स.गर्ने तारादेवी उपाध्याय विरुद्ध इन्द्रप्रसाद उपाध्याय पौडेल समेत विपक्षी भएको संवत् २०३१ सालको दे.पू.नं.८७ को अंश मुद्दामा यस अदालतको पूर्ण इजलासबाट बकसपत्र दिनेको मृत्यु भएपछि निजले गरी दिएको शेषपछिको बकसपत्र को बकसपत्रको नाताले निजको हक बकस पाउनेमा सर्ने र निज बकस दिनेको अंश भागमा बकस पाउनेको अंश हक स्थापित हुनेभन्ने सिद्धान्त (नेकाप २०३२, नि.नं.९२४, पृष्ठ २१८) कायम भएको अवस्था छ । त्यसै गरी पुनरावेदक मथुरा चिपालु विरुद्ध मनोज चिपालु प्रत्यर्थी भएको संवत् २०५४ सालको दे.पु.इ.नं.१२६ को हक कायम समेत मुद्दामा यस अदालतको बृहद पूर्ण इजलासबाट मिति २०५५।११।२६ मा निर्णय भै तत्काल प्रचलित कानूनबमोजिम आफ्नो अंश हकको सम्पत्ति शेषपछिको बकसपत्र को लिखत गरी दिएको अवस्थामा सो लिखतलाई अन्यथा प्रमाणित नगरेसम्म लिखतको कानूनी अस्तित्व यथावत् रहेको मान्नुपर्ने भै त्यस्तो कानूनी मान्यता प्राप्त शेषपछिको बकसपत्र को लिखत बकसपत्र दाताको मृत्यु पछि स्वतः क्रियाशील हुने हुँदा बकसपत्र दाताको हकको सम्पत्ति बकस पाउनेमा सर्नेभन्ने समेत सिद्धान्त (नेकाप २०५६, नि.नं.६७२९, पृष्ठ ३९२) प्रतिपादन भएको पाइन्छ । पुनरावेदक/वादी पुण्यराम सुवाल विरुद्ध हर्षलक्ष्मी ब्याञ्जू विपक्षी/प्रतिवादी भएको संवत् २०५८ सालको दे.पु.इ.नं.७४ को बकसपत्र बदर मुद्दामा यस अदालतको पूर्ण इजलासबाट आमा लक्ष्मीमायाँ सुवालले गरी दिएको शेषपछिको बकसपत्रको लिखतबाट निजको अंश हकमा बकसपत्र पाउने प्रतिवादी हर्षलक्ष्मीको हक स्थापित हुने देखिँदा सो बकसपत्र बदर गरिपाऊँ भन्ने वादी दावी पुग्न नसक्ने ठहर्‍याएको शुरुको इन्साफ सदर गरेको पुनरावेदन अदालत, पाटनको फैसला सदर हुनेभन्ने सिद्धान्त कायम भएको देखिन्छ 

९. उपरोक्त नजीर सिद्धान्तहरूको आधार ग्रहण गर्दै यस अदालतको पूर्ण इजलासबाट निवेदक पार्वतीदेवी वनेनीको मु.स.गर्ने सावित्रीदेवी वनिया विरुद्ध रामगोपाल वैश्य समेत प्रतिवादी भएको पु.नि.नं. ०६५-NF-००४ को अंश दर्ता मुद्दामा मिति २०६७।३।१० मा निर्णय भई शेषपछिको बकसपत्र दिनेको अंश हक निजको मृत्युपछि स्वतः पाउनेमा सर्ने भन्ने कुरा स्थापित गरी एक निश्चित् न्यायिक मान्यता कायम भएको देखिँदा वादी पार्वतीदेवीले गरिदिएको र हालसम्म बदर नभई कायम रहेको शेषपछिको बकसपत्र लिखतबमोजिम निजको अंश हक निजको मु.स.गर्ने निवेदिका सावित्रीदेबीमा सर्ने र निजको हक स्थापित हुने देखिएकोले उपरोक्त नजीर सिद्धान्तविपरीत पार्वतीदेवीको अंश हक लोप गरी चार अंश भाग मात्र लगाई भएको संयुक्त इजलासको फैसला मिलेको नदेखिँदा सो हदसम्म पुनरावलोकन हुनेभन्ने समेत सिद्धान्त कायम भएको देखिन्छ 

१०. यस अदालतबाट प्रतिपादित उपरोक्त सिद्धान्तहरूबाट शेषपछिको बकसपत्र गरिदिनेको मृत्यु भएको र शेषपछिको बकसपत्र लिखत बदर नभएको अबस्थामा त्यस्तो बकसपत्र स्वतः क्रियाशील भै बकसपत्र दिनेको अंश हक बकसपत्र पाउनेमा सर्ने भन्ने नजीर कायम भई एक निश्चित् न्यायिक मान्यता स्थापित भएको देखिन आउँछ 

            ११. अव, उल्लिखित कानूनी व्यवस्था र यस अदालतबाट प्रतिपादन भएका नजीर सिद्धान्तको सापेक्षतामा प्रस्तुत मुद्दाको तथ्यगत अवस्था दृष्टिगत गर्दा पुनरावेदक वादी तथा प्रतिवादीमध्येको श्रीकृष्ण श्रेष्ठका पिता तुल्सीनारायणले निजको अंश हकको सम्पूर्ण श्री सम्पत्ति निजको शेषपछि निजका नाति (प्रतिवादी श्रीकृष्णका छोरा) शशीकिरण श्रेष्ठले खान पाउने गरी मिति २०३७।१२।२८ मा अष्टलोह गरी शेषपछिको बकसपत्र गरी दिएको तथ्यमा कुनै विवाद छैन । मिति २०४२।११।१ मा निज तुल्सीनारायणको मृत्यु भएको भन्ने तथ्यलाई पनि वादीको फिरादपत्रमा नै स्वीकार गरिएको छ । शेषपछिको बकसपत्र गरी दिने तुल्सीनारायणको जीवनकालमा निजले तथा तत्पश्चात् पुनरावेदक वादीलगायत अन्य कसैले उक्त शेषपछिको बकसपत्र लिखत बदरमा नालेस गरेको वा बदर गराएको भन्ने पनि देखिएको छैन । यसबाट सो शेषपछिको बकसपत्र अद्यापिसम्म कायमै रहेको र उक्त शेषपछिको बकसपत्रबमोजिमको सम्पत्ति नाउँसारी दाखेल खारेजको लागि शशीकिरणको तर्फबाट मिति २०६१।१।११ मा मालपोत कार्यालयमा दरखास्त परेको भन्ने पनि निजले अ.वं. १३९ बमोजिम गरेको बयानबाट देखिएको छ 

            १२. तुल्सीनारायण २०४२ सालमा परलोक भएपछि २०४६ सालमा निज नाउको सम्पत्ति वादी बालकृष्ण र प्रतिवादी श्रीकृष्णले संयुक्त नामसारी गराई सकेको र उक्त समयमा शेषपछिको बकसपत्र गरिदिएको छ भन्ने कुरा उल्लेख नगरिएको हुँदा उक्त नामसारी निर्णय बदर नभै शशीकिरणको हक कायम हुन नसक्ने, दानबकसको ५ नं. बमोजिम दुई वर्षभित्र हक कायम नगराएकोले अ.वं. १३९ नं. बमोजिम बुझएको व्यक्तिलाई प्रस्तुत अंश मुद्दाबाट हक कायम गरिदिन नमिल्ने भन्ने नै पुनरावेदक वादीको मुख्य पुनरावेदन जिकीर भै यस अदालतबाट प्रत्यर्थी झिकाउँदा समेत सोही आधार ग्रहण गरिएको देखिन्छ 

            १३. वस्तुतः प्रत्यर्थी शशीकिरणले प्राप्त गरेको शेषपछिको बकसपत्र लिखत बदर नभएको स्थितिमा दाता तुल्सीनारायणको मृत्युपछि सो लिखत स्वतः क्रियाशील भैसकेको देखिन्छ । त्यसरी बदर नभएको शेषपछिको बकसपत्र लिखत बमोजिम निजको हक भएको सम्पत्ति निजले दश रुपैयाँ दस्तूर तिरी रजिष्ट्रेशनको ३२क नं. बमोजिम जहिलेसुकै नामसारी दाखेल खारेज गराउन सक्ने नै हुन्छ । उक्त कानूनी व्यवस्था बमोजिम दा.खा.नामसारीको लागि दरखास्त परेकोमा प्रस्तुत अंश मुद्दा विचाराधीन रहेकै कारण सो कारवाही मुलतबीमा रहेको भन्ने देखिन आएको छ । प्रस्तुत अंश मुद्दामा वादीले दुई भागको १ भाग अंश माग गरेकोमा वादी प्रतिवादी सरहकै एक अंशियारले निजको अंश हक शेषपछिको बकसपत्र गरी दिएको छ भन्ने प्रतिउत्तरपत्रबाट खुल्न आई त्यसरी शेषपछिको बकसपत्र पाउने व्यक्ति शशीकिरणलाई अ.वं १३९ नं. बमोजिम बुझी प्रतिवादी सरह तारिखमा राखिएकोले वादीले कति भाग अंश पाउने हो भन्ने कुरा निरोपण गर्नुपर्ने प्रयोजनका लागि अदालतको जानकारीमा आएको उक्त शेषपछिको बकसपत्र लिखतको बारेमा बोल्न नमिल्ने अवस्था हुँदैन 

            १४. पुनरावेदकको जिकीर उक्त शेषपछिको बकसपत्र भएको होइन वा दिन नपाउने बकसपत्र दिएको हो वा सो बदर भैसकेको भन्ने रहेको छैन । केवल २०४६ सालमा तुल्सीनारायणको सम्पत्ति वादी र प्रतिवादीहरूले संयुक्त रुपमा नामसारी गरी सकेको करण त्यसको क्रियाशीलता समाप्त भैसकेको भन्ने रहेको छ । तर अंशियार बाहेक उनाउ व्यक्तिका नाउँमा उक्त सम्पत्ति गएको नभै २०४६ सालमा सगोलका अंशियारहरूकै नाममा नामसारी भएको देखिन्छ । तुल्सीनारायणका छोराहरू वादी बालकृष्ण तथा प्रतिवादी श्रीकृष्ण एकासगोलमा रहेको कारण अंशबण्डा गरिपाऊँ भन्ने प्रस्तुत अंश मुद्दा परेबाट पनि सो तथ्य स्थापित भएको छ । सगोलका अंशियार श्रीकृष्णका छोरा अर्थात पुनरावेदक वादीका भतिजा प्रत्यर्थीमध्येका शशीकिरण सगोलका होइनन् भनी मान्न मिल्ने अवस्था पनि छैन । सगोलको सम्पत्ति निज शशीकिरणको नाममा दर्ता रहेको अवस्था भए त्यसबाट समेत पुनरावेदक वादीले प्रस्तुत अंश मुद्दाबाटै अंश प्राप्त गर्ने अवस्था विद्यमान रहेको स्थितिमा निज शशीकिरणले बाजे तुल्सी नारायणबाट शेषपछिको बकसपत्र बाट प्राप्त गरेको सम्पत्ति वादी तथा प्रतिवादी श्रीकृष्णका नाउँमा दा.खा. हुँदैमा सो सम्पत्तिको सगोलीय चरित्र र प्रकृतिमा कुनै भिन्नता आएको देखिदैन । अर्थात् अंशियार बाहेक उनाउ व्यक्तिका नाउँमा प्रत्यर्थी शशीकिरणले शेषपछिको बकसपत्र पाएको सम्पत्ति गएको अवस्था छैन । प्रमाण ऐन, २०३१ को दफा ६(क) मा अन्यथा प्रमाणित नभएसम्म एकाघरसगँका अंशियारहरू मध्ये जुनसुकै अंशियारका नाउँमा रहेको सम्पत्ति सगोलको सम्पत्ति हो भनी अदालतले अनुमान गर्नुपर्ने देखिन आउँछ । यसबाट हजुरबुवाको नाउँदर्ताको सम्पत्ति एकाघर सगोलका बाबु र काकाका नाउँमा नामसारी हुँदैमा प्रत्यर्थी शशीकिरणले बाजे तुल्सी नारायणबाट शेषपछिको बकसपत्र लिखतअनुसार पाएको हक समाप्त भएको अर्थ गर्न मिल्दैन । एकासगोलका अंशियारका नाउँमा दर्ता भएको सम्पत्ति बदर गराई रहनु पर्ने अवस्था नहुँदा मुलुकी ऐन दानबकसको ५ नं. को हदम्याद आकृष्ट हुने स्थिति देखिएन । सो ५ नं. को व्यवस्था अंशियार बाहेकका उनाउ व्यक्तिको नाउँमा सम्पत्ति गएको स्थितिमा आकर्षित हुने हुँदा तुल्सीनारायणको भागको सम्पत्ति प्रत्यर्थी शशीकिरणले नपाउने कुनै कारण नदेखिएकाले यस अदालतबाट प्रत्यर्थी झिकाउँदा लिइएको आधारसँग सहमत हुन सकिएन 

            १५. अव कि.नं. १४३ को ज.रो. १० मध्ये ज.रो. ०० जग्गामा रहेको भनिएको घर प्रतिवादी श्रीकृष्ण श्रेष्ठको निजी ठहर्‍याई बण्डा नलगाएको पुनरावेदन अदालतको फैसला मिलेको छ छैन भन्ने निर्णय दिनुपर्ने हुन आएको दोस्रो प्रश्नतर्फ विचार गर्दा सो जग्गामा घर बनाउनको लागि प्रत्यर्थी श्रीकृष्ण श्रेष्ठलाई तुल्सीनारायणले मिति २०३५।१०।५ मा मञ्जूरीनामा दिई नक्सा पासको स्वीकृति निवेदनमा स्वयं वादी बालकृष्ण श्रेष्ठले मिति २०३५।१०।७ मा सही गरी मञ्जूरी दिएको समेत देखिएको छ । प्रत्यर्थी श्रीकृष्ण श्रेष्ठ राष्ट्रिय वाणिज्य वैंकका कर्मचारी रहेको र निजले कर्मचारीले पाउने घर कर्जाबापत कर्जा सापटी समेत लिई उक्त घर बनाएको भन्ने जिकीर गरी सोको प्रमाण समेत पेश गरेको देखिएको छ । उक्त घर कर्जा रकम र नोकरीबाट गरेको आयआर्जन समेतबाट निजी तवरले सो घर बनाएकोले बण्डा लाग्ने होइन भन्ने निजको जिकीर रहेको पाइन्छ । यसका साथै वादी बालकृष्ण श्रेष्ठलाई समेत बाबु तुल्सीनारायणले मञ्जूरीनामा दिई कि.नं. ७१ को जग्गामा घर वनाई अलगअलग बसोवास गरी आएको हुँदा उक्त दुवै घर बण्डा लगाउनु पर्ने होइन भन्ने प्रत्यर्थी प्रतिवादी पक्षको भनाई रहेको छ । प्रतिवादीको सो जिकीर खण्डन हुने ठोस र वस्तुनिष्ट आधार पुनरावेदक वादी पक्षबाट दिन वा गुजार्न सकेको पाइदैन । वादी र प्रतिवादीले आफूले बनाएका भनिएका घरहरू करीव समान क्षेत्रफलमा अवस्थित रहेको भन्ने देखिएको उक्त जग्गाहरूमा परस्पर मञ्जूरी र सहमतिबाट बाबुकै पालामा वादी र प्रतिवादीले अलगअलग घर वनाई वसोवास गरी आएको भन्ने देखिँदा हाल प्रतिवादीको घर सडकतर्फ परेको कारण घरको मूल्याङ्कन फरक भएको भन्नेसम्मको आधारबाट अन्यथा ठहर्‍याउन मिल्ने देखिएन 

            १६. पुनरावेदन अदालतको फैसला मिलेको छ छैन भन्ने निर्णय दिनुपर्ने अन्तिम प्रश्नका सम्बन्धमा विचार गर्दा माथि प्रकरण प्रकरणमा विश्लेषण गरिएको तथ्य प्रमाण एवं कानूनी व्यवस्था र प्रतिपादित सिद्धान्त समेतका आधार कारणबाट तायदातीमा उल्लेख भएको सम्पूर्ण श्री सम्पत्तिबाट वादीले दुई भागको एक भाग अंश पाउने ठहर्‍याएको शुरु ललितपुर जिल्ला अदालतको फैसला केही उल्टी गरी तुल्सीनारायण श्रेष्ठले गरिदिएको शेषपछिको बकसपत्रबमोजिम निजको अंश भाग प्रत्यर्थीमध्येको शशीकिरण श्रेष्ठले पाउने हुँदा पुनरावेदक वादीले ३ भागको १ भाग अंश पाउने र कि.नं. ७१ को ०० र कि.नं. १४३ मध्येको ०० जग्गामा बनेको भनिएको घर र घरले चर्चेको जग्गा बण्डा नलाग्ने ठहर्‍याएको समेत पुनरावेदन अदालत, पाटनको मिति २०६३।५।२७ को फैसला मनासिव देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादीको पुनरावेदन जिकीर पुग्न सक्दैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनू 

 

उक्त रायमा सहमत छु 

 

न्या.कृष्णप्रसाद उपाध्याय

इति संवत् २०६७ साल मंसिर २२ गते रोज ४ शुभम

इजलास अधिकृतःनारायणप्रसाद सुवेदी

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु