निर्णय नं. ६३४८ - निषेधाज्ञा

निर्णय नं. ६३४८ २०५४, ने.का.प. अङ्क ३
एक न्यायाधीशको इजलास
माननीय न्यायाधीश श्री नरेन्द्र बहादुर न्यौपाने
संम्वत २०५३ सालको प्रतिवेदन नंम्वर ..५३
आदेश मितिः २०५३।१०।११।६
मुद्दा : निषेधाज्ञा ।
निवेदकः सिंघा व्रुअरी नेपाल प्रा.लि. ।
विरुद्ध
विपक्षीः वि.वि.ग्रुप जर्मनी समेत ।
§ विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०४९ को दफा ७ मा विवाद समाधान शिर्षक अन्तर्गत उपदफा (१) मा विदेशी लगानीकर्ता स्वदेशी लगानी कर्ता वा सम्वन्धीत उद्योगको विचमा कुनै विवाद उठेमा त्यस्ता विवादको समाधान सम्वन्धित पक्षहरुले विभागको रोहवरमा आपसी छलफलद्वारा गर्नु पर्ने ।
(प्र.नं.२)
§ उद्योगले उद्योग स्थापना गरी उत्पादनको संम्पुर्ण पुर्वाधार तयार पारी उत्पादनको अवस्थामा रहेको समेत देखिदा पुनरावेदन अदालतमा परिरहेको निवेदनको टुंगो नलागेसम्म निवेदकको हक हितमा असर पर्ने कुनै पनि कार्य नगर्नु उद्योग व्यवसाय तथा प्रतिष्ठामा असर पर्ने कुनै प्रचार प्रसार विज्ञापन लगायत संझौताका शर्त वन्देज आदिमा असर पर्ने वा विपरित प्रभाव पर्ने र निवेदकको उत्पादन तथा विक्री वितरणमा कुनै प्रभाव पर्ने काम नगर्नु नगराउनु भनी विपक्षीहरुको नाउँमा अन्तरिम आदेश जारी हुने ।
(प्र.नं.२)
निवेदक तर्फबाटः वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया, अधिवक्ता द्वय श्री अनिल कुमार सिम्हा, र श्री निरञ्जन अर्याल ।
विपक्षी तर्फबाटः
अवलम्वित नजिरः
आदेश
न्या.नरेन्द्र बहादुर न्यौपानेः प्राप्त प्रतिवेदन सहितको कागजात अध्ययन गरी हेरी निवेदन तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया तथा अधिवक्ता द्वय श्री अनिल कुमार सिन्हा र श्री निरन्जन अर्याल र विपक्षी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री इन्द्र प्रसाद लोहनीको वहस जीकिर समेत सुनियो ।
२. यस्मा विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०४९ को दफा ७ मा विवाद समाधान शिर्षक अन्तर्गत उपदफा (१) मा विदेशी लगानीकर्ता स्वदेशी लगानी कर्ता वा त्यस सम्वन्धित उद्योगको वीचमा कुनै विवाद उठेमा त्यस्ता विवादको समाधान सम्वन्धित पक्षहरुले विभागको रोहवरमा आपसी छलफलद्वारा गर्नुपर्छ भन्ने भई उपदफा (२) मा उपदफा (१) वमोजिम विवादको समाधान हुन नसकेमा अन्तर्राष्ट्र्यि व्यापार कानून सम्वन्धी संयुक्त राष्ट्र् संघीय आयोग (अनसिट्राल) को प्रचलित मध्यस्थता नियम वमोजिम मध्यस्थताद्वारा समाधान गरिनेछ भन्ने व्यवस्था भएको पाइन्छ । उद्योग विभागको सिन्घा व्रुअरी (नेपाल प्रा.लि लाई लेखेको मिति २०५३।८।२६ को पत्रबाट विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०४९ को दफा ७(१) अन्तर्गत छलफलको प्रकृया सम्म शुरु भएको देखियो । दफा ७(१) को अवस्था असफल भएको अवस्थामा मात्र उक्त ऐनको दफा ७(२) को मध्यस्थताको प्रकृया शुरु हुने देखिन्छ । पुनरावेदन अदालतको आदेशमा मध्यस्थता सम्वन्धी कारवाही चलिरहेको भन्ने उल्लेख भए पनि सो मध्यस्थता सम्वन्धी कारवाही चलेको नभई ऐनको दफा ७(१) अन्तर्गत उद्योग विभागमा छलफल सम्म चलिरहेको देखिएको निवेदक उद्योगले उद्योग स्थापना गरी उत्पादनको संम्पुर्ण पुर्वाधार तयार पारी उत्पादनको अवस्थामा रहेको समेत देखिदा पुनरावेदन अदालतमा परिरहेको निवेदनको टुंगो नलागेसम्म निवेदकको हक हितमा असर पर्ने कुनै पनि कार्य नगर्नु उद्योग व्यवसाय तथा प्रतिष्ठामा असर पर्ने कुनै प्रचार प्रसार विज्ञापन लगायत संझौताका शर्त वन्देज आदिमा असर पर्ने वा विपरित प्रभाव पर्ने र निवेदकको उत्पादन तथा विक्री वितरणमा कुनै प्रभाव पर्ने काम नगर्नु नगराउनु भनी विपक्षीहरुको नाउँमा अन्तरिम आदेश जारी हुन्छ । पुनरावेदन अदालत पाटनको मिति २०५३।९।४।५ को आदेश त्रुटीपूर्ण देखिदा यसै आदेशद्वारा बदरगरी दिएको छ । आदेश सहितको प्रतिवेदन फाईल पुनरावेदन अदालत पाटन ललितपुरमा पठाई दिनु ।
इति संम्वत् २०५३ साल माघ ११ गते रोज ६ शुभम् ..