निर्णय नं. ६३४९ - मोही नामसारी

निर्णय नं.- ६३४९ ने.का.प, ०५४ अङ्क ४
संयुक्त इजलास
सम्माननीय प्रधान न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह
माननीय न्यायाधीश श्री उदयराज उपाध्याय
सम्वत् २०५२ सालको दे.पु.नं. .... ३०५०
फैसला मितिः- २०५३।१।१८।३
मुद्दा :- मोही नामसारी ।
पुनरावेदक/वादी : जिल्ला सुनसरी छिटाहा गा.वि.स. वडा नं. ६ मा वस्ने विन्देश्वर राय अमात ।
विरुद्ध
प्रत्यर्थि/प्रतिवादीः जिल्ला मोरङ विराटनगर नगरपालिका वडा नं. ३ मा वस्ने केदार वहादुर वरुवाल समेत जना २ ।
§ पुनरावेदक वादीका वावु मौजेलालका नाममा भूमि सम्वन्धी ऐन, २०२१ वमोजिम विधिवत मोही हक प्राप्त गरेको देखिंदैन । यसरी वावुका नाममा नै दर्तावाला मोही हक प्राप्त भै नसकेको अवस्थामा यी वादीका नाममा मोही नाउसारी हुन नसक्ने ।
(प्र.नं. १२)
§ फिल्डवुकमा वादीका दाजको नामसम्म उल्लेख भएको कुरालाई वादीले आधार लिन खोजेकोमा, दाजुको नाउँको मोहीयानी हक भाईमा सर्न सक्ने कानूनी व्यवस्थाको अभाव रहेको पाइने ।
(प्र.नं. १२)
§ फिल्डवुकमा दाजुको नाउँ उल्लेख भएको र वादीले नै दावीको जग्गा जोत कमोद गरी रहेको भन्ने सर्जमीन लेखाई कै आधारमा पुनरावेदक वादीको नाममा मोही हक नामसारी हुन नसक्ने ।
(प्र.नं. १२)
वादीका तर्फवाटः विद्वान अधिवक्ता श्री पुण्य प्रसाद अर्याल
प्रतिवादीका तर्फवाटः
अवलम्बित नजीरः x
फैसला
प्र.न्या.सुरेन्द्र प्रसाद सिंह: न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(क) बमोजिम पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :-
२. गोविन्द वहादुर वरुवालका नाउँमा दर्ता रहेको जिल्ला सुनसरी छिटाहा गा.पं. अन्तर्गत वार्ड नं. ६ मा पर्ने ६-०-० पुर्व फौदार थान पश्चिम मुना प्रसाद उत्तर चुल्हाई अमात दक्षीण युगल कायस्थ चौहदी भएको जग्गाको मेरो पिता मोजीलाल रायले मोहीको हैसियतले जोती मोहीको १,२ नं. ४ नं. अनुसूची समेत भरेको थिएं । पिता २०२३ सालमा स्वर्गीय हुँदा नापीका वखत म वादी नावलक नै हुँदा स्व. दाजु भरत रायको नाम फिल्डवुकको कैफियतमा उल्लेख भएको थियो । दाजु पनि २०२९ सालमा स्वर्गीय भएपछि २०३२ सालमा दाजुको परिवारसँग छुट्टि भिन्न भए । उक्त जग्गा मध्ये २-१०-० जग्गा दाजु भरत रायको परिवार र वांकी जग्गा मैले जोती आएको छु । उक्त कि.नं. ४४ को कित्ताफोर भै मिता वरुवालको नाममा दर्ता कि.नं. १६९ को ज.वि. ३-२-१३.१/२ मध्ये दक्षीण तर्फबाट ज.वि. १-१७-१३.१/२ केदार वहादुर वरुवालको नाममा दर्ता रहेको कि.नं. ४३ को २-२-२.१/२ समेत जग्गा मोहीको हैसियतले जोती जग्गाधनीलाई वाली वाँडफाँड गर्दै आएकोमा यी जग्गाधनीहरुले कहिले पनि विवाद गरेको छैन र जग्गाधनीले नै मलाई पत्याई आएकोले भू.सु.ऐन, ०२१ को दफा २६(१) बमोजिम मोही नामसारी गरी प्रमाण पत्र पाउँ भन्ने वादी।
३. उक्त वादीको फिराद झूठा वनावटी मात्र हो यी वादीले जग्गा जोत कमोत गरी धनीलाई वाली बुझाएको भए भरपाई लिनुपर्ने सो नभएकोले विना भरपाई जग्गा जोतेको छु भन्न मिलेन । अर्को कुरा यी वादीका पिता मौजेलालले १ नं. लगत भरेपछि २ नं. अनुसूची प्रकाशन गर्नु पर्ने त्यसपछि मोहीलाई ४ नं. जोताहा अस्थायी निस्सा कार्यालयबाट दिनुपर्ने सो केही नगरी यी वादीको पिताको नाममा मोही कायम नभै छोराको नाममा नामसारी हुने प्रश्नै आउँदैन, यस मुद्दामा वादीले २ नं. ४ नं. निस्सा हरायो भरपाई लिएको छैन भनी लेखेको मिलेन गा.वि.स. छिटाहामा एकतर्फी सर्जमीन सिफारीस मात्रको आधारले मोही नामसारी हुने होईन वादीको दावी झूठा मात्र हो उक्त जग्गा म आफै जोती कमाएको हुँदा वादी दावीबाट अलग गराई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीको प्रतिउत्तर पत्र रहेछ ।
४. शुरु भूमि सुधार कार्यालय, सुनसरीबाट कार्यवाहीको सिलसिलामा सर्जमीन बुझदा छिटाहा गा.वि.स. वार्ड नं. ६ (क) को कि.नं. १६९ को ३-२-१३.१/२ मध्ये दक्षीण तर्फबाट ज.वि. १-१७-१३.१/२ र कि.नं. ४३ को २-२-२.१/२ समेत जग्गा विन्देश्वर रायले ०२२ साल देखि जोती अघि वाली जग्गाधनीलाई वाँडफाँड गर्दै आएका छन् भन्ने व्यहोराको अधिकांश व्यक्तिहरुले लेखाईको सर्जमीन मुचुल्का मिसिल संलग्न रहेछ ।
५. उपरोक्त जग्गाहरु वादीका पिता मौजेलालको मोही भै निजको मृत्यु पछि निवेदकको दावी वमोजिम जि. सुनसरी छिटाहा गा.वि.स. वार्ड नं. ६ (क) को कि.नं. १६९ को जग्गा मध्ये दक्षिण तर्फबाट १-१७-१३.१/२ र कि.नं. ४३ को २-२-२.१/२ जग्गा समेत वादीका नाउँमा मोही हक नामसारी गरी प्रमाण पत्र दिनुपर्ने ठहर्छ भन्ने समेत व्यहोराको मिति ०४८।५।२१ गतेको शुरु भूमि सुधार कार्यालय, सुनसरीको फैसला रहेछ ।
६. उक्त फैसलामा हाम्रो चित्त बुझेन विपक्षीको दावीमा कानूनी र तथ्यगत कुरा तर्फ विचारै नगरी शुरुले फैसला गर्नु भएको हुँदा शुरुको फैसला उल्टाई आफ्नो भोगहक कायम गरी पाउँ भन्ने समेत व्यहोराको पुनरावेदक प्रतिवादी केदार वहादुर वरुवाल र मिता वरुवालको संयुक्त पुनरावेदन पत्र रहेछ ।
७. प्रत्यर्थी वादीले उक्त जग्गा मोहीमा कमाई कुत बुझाएको भरपाइ समेत पेश गरेको छैन । यस्तो अवस्थामा मात्र सर्जमीनको आधार लिई मोही कायम गरी नामसारी समेत गरेको निर्णय फरक पर्ने देखिएकोले अ.वं. २०२ नं. वमोजिम प्रत्यर्थी झिकाई पेश गर्नु भन्ने समेत व्यहोराको पु.वे.अ. विराटनगर संयुक्त इजलासबाट मिति ०४९।६।४ गतेको विपक्षी झिकाउने आदेश।
८. दाजुको नाउँको मोहियानीहक भाईमा सर्न सक्ने कानूनी व्यवस्थाको अभाव रहेको फिल्डवुकमा दाजुको नाउँ उल्लेख भएको र वादीले नै दावीको जग्गा जोत कमोद गरीरहेको भन्ने सर्जमीन लेखाइ सम्मको भरमा प्रत्यर्थी वादीको नाउँमा मोहीयानी हक नामसारी हुन सक्ने अवस्था देखिएन । सो नदेखिनाले समेत वादी दावी नपुग्ने ठहर्याउनु पर्नेमा दावी वमोजिम वादीका नाउँमा मोही हक नामसारी गरी प्रमाण पत्र दिने ठहराएको शुरु भूमि सुधार कार्यालय सुनसरीको मिति २०४८।५।२१ को निर्णय त्रुटीपूर्ण हुँदा उल्टी भै वादी दावी नपुग्ने ठहर्छ भन्ने पुनरावेदन अदालत विराटनगरको फैसला ।
९. म पुनरावेदक लुटपिट मुद्दामा मोही हुँ भनी प्रतिवाद गरेपछि प्रतिवादीको जिकिर यथावत राखी दावी छाडी मिलापत्र गरेको प्रमाण समेतले म पुनरावेदक पक्का कानूनी हक प्राप्त मोही भएको र सो सम्पूर्ण प्रमाणहरुको न्यायिक रोहमा अध्ययन मनन् र चिन्तन भै ठोस र बलिया प्रमाण देखि ०४८।५।२१ गते भू.सु.का. सुनसरीबाट मृतक मोही मौजिलाल मरी निजपछि म पुनरावेदकलाई मोही नामसारी गरी मोहीयानी हकको प्रमाणपत्र दिने भन्ने कानून र तर्क सँगत निर्णयलाई वदर गरी गरेको पुनरावेदन अदालत विराटनगरको फैसला त्रुटीपूर्ण हुँदा उक्त फैसला वदर गरी भू.सु.का. सुनसरीको निर्णय कायम गरी पाउँ भन्ने पुनरावेदक वादीको पुनरावेदन पत्र ।
१०. नियम वमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मोही नामसारी मुद्दामा पुनरावेदक वादीका तर्फबाट उपस्थित अधिवक्ता श्री पुण्य प्रसाद अर्यालले मेरा पक्षको वावुको नाममा मोही कायम भएकोमा वावु मरी मेरो पक्षको नाममा मोही नामसारी हुनुपर्ने स्पष्ट र ठोस आधार भएकै कारण भू.सु.का. सुनसरीबाट मेरो पक्षको नाममा मोही नामसारी गर्ने निर्णय गरेको हो । यसरी स्पष्ट आधार प्रमाणबाट पुनरावेदक वादीको नाममा मोही नामसारी गर्ने गरेको निर्णयलाई विना आधार प्रमाण वदर गर्ने गरेको पुनरावेदन अदालत विराटनगरको फैसला त्रुटीपूर्ण देखिंदा वदर गरी मेरा पक्षका नाउँमा मोही नामसारी हुने ठहर्याएको भू.सु.का. सुनसरीको निर्णय कायम गरी पाउँ भनी वहस प्रस्तुत गर्नु भयो ।
११. उपरोक्त विद्वान अधिवक्ताको वहस जिकिर समेतलाई दृष्टिगत गरी निर्णयतर्फ विचार गर्दा पुनरावेदक वादीका नाउँमा मोही नामसारी हुने ठहराएको शुरु भू.सु.का. सुनसरीको निर्णयलाई बदर गर्ने गरेको पुनरावेदन अदालत विराटनगरको फैसला मिलेको छ वा छैन ? निर्णय दिनु पर्ने देखिन आयो ।
१२. यस्मा पुनरावेदक वादीका वावु मौजेलालका नाममा भूमि सम्वन्धी ऐन, २०२१ वमोजिम विधिवत मोही हक प्राप्त गरेको देखिंदैन । यसरी वावुका नाममा नै दर्तावाला मोही हक प्राप्त भै नसकेको अवस्थामा यी वादीका नाममा मोही नाउसारी हुन सक्ने अवस्था नै दैखिदैन । फिल्डवुकमा वादीका दाजु भरतको नामसम्म उल्लेख भएको कुरालाई वादीले आधार लिन खोजेकोमा, दाजुको नाउँको मोहीयानी हक भाईमा सर्न सक्ने कानूनी व्यवस्थाको अभाव रहेको पाइन्छ । यस प्रकार फिल्डवुकमा दाजुको नाउँ उल्लेख भएको र वादीले नै दावीको जग्गा जोत कमोद गरी रहेको भन्ने सर्जमीन लेखाई कै आधारमा पुनरावेदक वादीको नाममा मोही हक नामसारी हुन सक्ने अवस्था नदेखिंदा वादीका नाउँमा मोही हक नामसारी गरी प्रमाण पत्र दिने ठहर्याएको शुरु भूमि सुधार कार्यालय, सुनसरीको निर्णय उल्टी गरी दावी नपुग्ने ठहराएको पुनरावेदन अदालत विराटनगरको फैसला मुनासिव देखिंदा सदर हुने ठर्हछ, पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा मेरो सहमती छ ।
न्या. उदयराज उपाध्याय
इति सम्वत् २०५३ साल वैशाख १८ गते रोज ३ शुभम् ........... ।