निर्णय नं. ६३६३ - डांका

निर्णय नं.- ६३६३ ने.का.प, ०५४ अङ्क ४
संयुक्त इजलास
माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य
माननीय न्यायाधीश श्री नरेन्द्र वहादुर न्यौपाने
सम्वत् २०५१ सालको फौं.पु. नं. .... १०५४
फैसला मितिः २०५३।९।१०।४
मुद्दा : डांका ।
पुनरावेदक/वादी : चिनकान यादव समेतको जाहेरीले श्री ५ को सरकार
विरुद्ध
विपक्षी/प्रतिवादी : रुपन्देही जिल्ला धमौली गा.वि.स. वडा नं. ६ वस्ने सुभान अलि भन्ने वादे वन्जारा समेत जम्मा ११
§ अधिकार प्राप्त अधिकारी समक्ष सावित हुनेहरुले अदालतमा वयान गर्दा इन्कार भएका छन र निजहरुले वयानमा जिकिर लिए मुताविक धाउ जाँच फारामबाट निजहरुका शरीरमा धाउ चोट परेको देखिने भएबाट निजहरुको सो साविती स्वेच्छाले भएको रहेछ भनी मान्न नमिल्ने ।
(प्र.नं.३०)
§ दशि बरामद भएका १ जना प्रतिवादीको सम्वन्धमा कसुरदार ठहर भएको भएबाट डांका वारदात कायम भएको स्थिति देखिन्छ, तथापी वारदातमा को को र कतिजना थिए भन्ने सम्वन्धमा प्रत्येक प्रतिवादीका सम्वन्धमा निश्चित सबुद प्रमाण हुन आवश्यक देखिन्छ । केबल प्रहरी प्रतिवेदनमा प्रतिवादी बनाइएकै आधारबाट मात्र यी सवै वारदातमा थिए भन्न मिल्ने स्थिति नदेखिंने ।
(प्र.नं.३० )
§ प्रत्येक प्रतिवादीका सम्वन्धमा तथ्ययुक्त र निश्चित प्रमाण वेगर निजहरुलाई कसुरदार ठहर्याउन नमिल्ने ।
( प्र.नं.३० )
वादी तर्फवाटः विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री देवशरण प्रसाद
विपक्षी तर्फवाटः
अवलम्बित नजीरः x
फैसला
न्या. अरविन्दनाथ आचार्य: पुनरावेदन अदालत, वुटवलको मिति २०५१।३।२९।४ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :-
२. ०४१।१०।३ गते राती १,२ वजेको समयमा पश्चिम तर्फबाट अं. २० जनाहरु बन्दुक, लाठी, भाला, टर्च समेत ली म चिनकानको घरमा आई मेरो विगो रु.२७,४७५।- को धनमाल र म गुरुचरनको विगो रु.३०,९९५।- म राम समुझ गुप्ताको विगो रु. ८,२१०।- म विजयनाथ यादवको विगो रु. २६,४०५।- को धनमालहरु डांका वारदात गरी पश्चिम तर्फ भागी गए । डांकाहरु मध्ये म रमापतिया देवले तपानाथ पाण्डे, अव्दुल कादिर मुसलमान, अति उल्लाह मुसलमान, नरपट केवटलाई मौकामा नै चिनेको र गुरुचरन थारुले गप्पी भन्ने हरिराम थारुलाई चिनेको र म रामसमुझ गुप्ताले पसन्द चमार, नरपत केवटलाई मौकैमा चिनेको र म सन्तराम यादवले श्याम नार।यण भन्ने कमल त्रिपाठी, तपानाथ पाण्डेलाई मौकैमा चिनेको हुँदा निजहरुलाई पक्राउ गरी डांका गरी लगेको धनमाल समेत दिलाई भराई पाउँ र संजाय समेत गरी पाउँ भन्ने समेत व्यहोराको चिनकान यादव समेत जना ४ को जाहेरी दरखास्त ।
३. हाम्रो सामुन्नेमा शुभान अली बन्जारालाई प्रहरीहरुले पक्राउ गरी निजले लि राखेको पोका खोली हेर्दा विजयनाथ यादवको घरमा डांका वारदात भए मध्येको चश्मा, व्याट्री, २ लाग्ने चाईनिज टर्च १, टेलिकटनको सेतो सर्ट १, हरियो चारखाने सेतो सर्ट थान १ समेत बरामद भएको ठीक सांचो हो भन्ने समेत व्यहोराको सीताराम कहार समेत जना ११ को बरामदी मुचुल्का ।
४. ०४१।१०।३ गते राती ८ वजेको समयमा गप्पी थारुले मलाई वोलाई पथरहीया वस्ने चिनकान यादव समेतको घरमा आज डांका वारदात गर्नु छ तिमी पनी हिंड भनेकाले गप्पीथारु, पसन्द चमार, नरपट केवट, चिनक दर्जी, तप्पानाथ पाण्डे समेतका साथ लागि पथरहीया गाउँ देखि पश्चिम डियहार वावाको थानको आंपरुख मुनि गएका हौं । त्यहाँ वसेको केही वेरपछि मुनिव दर्जि, कल्लु निरानी, परगाई अहिर र निजको साथमा ११ जना अपरिचित व्यक्ति समेतका सवैजना भै जाहेरवाला चिनकान यादव समेतका घरमा डांका वारदात गरेका हौं, सो डांका गरी ल्याएको धनमालहरु मध्ये यो मबाट वरामद भएको धनमालहरु मैले हिस्सा पाएको हुँ भन्ने समेत व्यहोराको प्रतिवादी सुभान अली भन्ने वाठे वन्जाराको मिति ०४१।१०।१३ को प्रहरीमा गरेको वयान ।
५. ०४१।१०।३ गते को को भै डांका वारदात गर्न जाने भन्ने कुरा हुँदा तप्पानाथले अव्दुल कादिर मुसलमान नरपट केवट, पसन्द चमार, स्यामनारायण, गप्पी थारु समेत जाने हो भनी बताएका थिए । सवैजना तपानाथको घरमा खानपिन गरी उठी पथरहिया गाउँदेखि पश्चिम भएको डिउसर वावाको थानमा बस्यौं, केहीवेरपछि मनिव दर्जी, परवाई अहिर समेत र निजका साथमा ११ जना भारतीय समेत भै जाहेरवाला चिनकान यादव समेतको घरमा डांका वारदात गरेको हो सो डांका वारदात गरेको मैले रु. २००। हिस्सा समेत खाए पाएको छु भन्ने समेत कल्लु निरासी भन्ने जोखनमिरले प्रहरीमा गरेको साविती वयान ।
६. ०४१।१०।३ गते राती तपानाथ, गप्पी थारु, कल्लुनिरासी, सुभान अली, पसन्द चमार, मुनिव दर्जि, नरपट केवट, परगाई अहिर निजको साथमा आएका ११ जना भारतीय मानिस श्याम नारायण म समेत भै जाहेरवाला चिनकान यादव समेतको घरमा डांका वारदात गरेका हौं भन्ने समेत व्यहोराको प्रहरीमा गरेको श्याम नारायण भन्ने कमल त्रिपाठीको साविति वयान ।
७. मैले चिनकान यादव समेतको घरमा डांका वारदात गरे गराएको समेत छैन भन्ने समेत प्रीतवादी अतिउल्लाह मुसलमानको प्रहरी र अदालतमा समेत गरेको ईन्कारी वयान ।
८. ०४१।१०।३ गते राती जोहरवाला चिनकान यादव समेतको घरमा डांका वारदात भएको हो सो डांका वारदात हुँदा मैले कसैलाई मौकैमा नदेखि चिनेको भएतापनि जाहेरवालाले डांकाहरु भागी गएपछि तपानाथ पाण्डे, पसन्द चमार, नरपट केवट, गप्पी थारु, सुभान अली भन्ने वाठे वन्जारा, श्याम नारायण भन्ने कमल त्रिपाठी समेतलाई मौकैमा चिनेको छु भनी बताएको र दशी सहित पक्राउ भएका गुमान अली श्याम नारायण, मुन्सीदार, जोखन मिर मुसलमान समेत जाहेरवालाहरुको घरमा डांका वारदात गरेकोमा पूर्ण विश्वास लाग्छु भन्ने समेत व्यहोराको सर्जमीन मुचुल्का ।
९. जाहेरवाला चिनकान यादव समेतको घरमा जाहेरी दरखास्तमा लेखिए अनुसारको धनमाल डांका वारदात गरी मुलुकी ऐन, चोरी महलको ६ नं को कसुर गरेको निर्विवाद सिद्ध हुन आएको हुँदा निजहरुलाई सोही ऐनको १४ नं. को देहाय ४ नं. अनुसार पहिलापटक सजाय हुन वाठे वन्जाराबाट वरामद भएको सामान जाहेरवाला विजयनाथ यादवलाई समेत दिलाई भराई दिन र फेला नपरेको धनमालको हकमा सोही ऐनको १० नं. को देहाय ३ अनुसार निज प्रतिवादीहरुवाट जाहेरवालाहरुलाई दिलाई भराई पाउँ भन्ने प्रहरी मागदावी गरी दशी सहितका प्रतिवादी सुभान अली भन्ने वाठे वन्जारा, कल्लु निरासी, भन्ने जोखन मिर, चिनक दर्जि भन्ने मुन्सीदार दर्जी, श्याम नारायण अति उल्लाह मुसलमान र परगाहे भन्ने अयोध्या हरिलाई यसैसाथ र पक्राउ नपरेका प्रतिवादी नरपट केवट, पसन्द चमार, गप्पी भन्ने हरिराम थारु, अव्दुल कादिर, तपानाथ पाण्डे, मुनिव दर्जि समेतका हकमा अदालतबाट कानून वमोजिम हुन र नाउँ थर वतन खुल्न नआएका ११ जनाको हकमा पछि नाउँ थर खुली दशी पक्राउ भै आएका वखत कारवाहीको लागि छुट्टै प्रस्तुत गरिने भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन माग दावी रहेछ ।
१०. जाहेरवालाहरुको घरमा मैले डकैती गरेको छैन, कसले डकैती गर्यो मलाई थाहा छैन, भन्ने समेत व्यहोराको सुभान अली भन्ने वाठे वन्जाराको अदालतमा भएको वयान ।
११. ०४१।१०।३ गतेका दिन म मेरो घरमा बसेको र राती गाउँमा डांकाको सुरक्षाको लागि गाउँकै सर्जु गोसाई, सर्जु धोवी म समेत भै रात भरी पालो पहरा गरी बसेको हुँ, सो दिन र सो दिन राती प्रतिवादी मध्येको कसैसँग भेटघाट भएको छैन, जाहेरवालाको घरमा म डकैती गर्न गएको छैन भन्ने समेत प्र.चिनक दर्जि भन्ने मुन्सीदार दर्जिले अदालतमा गरेको वयान ।
१२. जाहेरवालाको घरमा को को आई डकैतीगरे मलाई थाहा छैन सो दिन म ४ कोष टाढा नै पर्सौनी गाउँमा हुँदा मैले डांका गरेको छैन भन्ने समेत प्र. अयोध्या अहिरले अदालतमा गरेको वयान ।
१३. मैले जाहेरवालाको घरमा डकैती गरेको होईन भन्ने समेतको व्यहोराको प्रतिवादी कल्लु निरासी भन्ने जोखन निरासी मुसलमानले अदालतमा गरेको वयान ।
१४. जाहेरवालाको घरमा डांका गर्न गएको छैन भन्ने प्र.श्याम नारायण भन्ने कमल त्रिपाठीले अदालतमा गरेको वयान ।
१५. जाहेरवाला विजयनाथले मलाई झूठा पोल गरेका हुन । जाहेरवालाको घरमा डांका गर्न गएको छैन । झूठा कुराको दावी लिएको हुँदा आरोपबाट सफाई दिलाई पाउँ भन्ने समेत अति उल्लाह मुसलमानले अदालतमा गरेको वयान ।
१६. म डांका गर्न गएको छैन, अरुलाई मैले नचिनेको हुँदा निजहरुले किन कसरी पोल गरे मलाई थाहा छैन भन्ने प्र. मुनिव भन्ने विसमिल्लाह दर्जि मुसलमानले अदालतमा गरेको वयान ।
१७. जाहेरवालाको धरमा डकैती गर्न गएको होईन । निजहरुका घरमा डांका परेको कुरा मेरो नाउँमा म्याद गएपछि मात्र थाहा पाएको हुँ भन्ने प्र. तप्पानाथ पाण्डेले अदालतमा गरेको वयान ।
१८. म जाहेरवालाहरुका घरमा डकैती गर्न गएको र गरेको समेत होइन भन्ने गप्पी भन्ने हरिराम थारुले अदालतमा गरेको वयान ।
१९. जाहेरवालाको घरमा डकैती परेको हो, कसले कति धनमाल डकैती गरे थाहा छैन । मैले डकैती गरेको छैन भन्ने प्र. नरपट केवटले अदालतमा गरेको वयान ।
२०. म मेरै गाउँमा पाला पहरा बसेको हुँदा डांका गर्न गएको होइन डांका गर्न गएको भनी झूठ्ठा व्यहोरा लेखाएका हुन भन्ने समेत प्र. पसन्द चमारले अदालतमा गरेको वयान ।
२१. शुरु अदालतबाट जाहेरवाला, सरजमीनका मानिस र प्रतिवादीका साक्षीहरु समेत बुझिएको रहेछ, साथै प्रतिवादी मध्ये अव्दुल कादिर मुसलमान म्यादमा हाजिर नभई फरार रहेको।
२२. प्रतिवादी मध्ये सुभान अलि भन्ने वाडे वन्जारा, कल्लु निरासी भन्ने जोखनमिर मुसलमान, श्याम नारायण भन्ने कमल त्रिपाठी चिनक भन्ने मुन्सिदार दर्जि र परगाहे भन्ने अयोध्या अहिरले जाहेरवालाको घरमा डांका गरी निजहरुको वयानमा लेखिए बमोजिम र वरामद भएको धनमाल लिए खाएको ठहर्छ र प्रतिवादी अति उल्लाह मुसलमान तप्पानाथ पाण्डे, मुनिव भन्ने विसमिल्ला मुसलमान, पसन्द चमार, हरिराम र नरपट केवटले प्रहरी प्रतिवेदन माग दावीबाट सफाई पाउने ठहर्छ र म्यादै गुजारी फरार रहेको प्र. अव्दुल कादिल मुसलमानका हकमा अ.वं. १९० नं. वमोजिम मुलतवी रहने ठहर्छ भन्ने समेत शुरु रुपन्देही जिल्ला अदालतबाट भएको फैसला ।
२३. शुरु फैसला त्रुटीपूर्ण हुँदा वदर गरी न्याय पाउँ भन्ने समेत व्यहोराको प्र. श्याम नारायण भन्ने कमल त्रिपाठी, प्र. चिनक भन्ने मुन्सीदार दर्जि, प्र. जोखन निरासी मुसलमान प्र. सुभान अलि भन्ने वाठे वन्जारा, प्र. परगाहि भन्ने अयोध्या अहिर समेतको तत्कालिन लुम्विनी अन्चल अदालतमा परेको छुट्टा छुट्टै पुनरावेदन पत्र ।
२४. शुरुबाट सफाई पाएका तप्पानाथ पाण्डे समेतले अदालतमा इन्कार रहेपनि प्रहरीमा वयान गर्दा अन्य प्रतिवादीहरुले निजहरुलाई पोल गरेको सर्जमिनले विश्वास गरेका समेत आधार प्रमाणबाट निजहरुलाई समेत डांका गरेको ठहर हुनु पर्नेमा ठोस सबुद प्रमाण नपुगेको भनी सफाई दिएको हदसम्म शुरु फैसला नमिलेकोले सो हदसम्म वदर गरी दावी बमोजिम गरी पाउँ भन्ने समेत वादी श्री ५ को सरकारको तत्कालिन लु.अं.अ. मा परेको पुनरावेदन पत्र ।
२५. प्र. सुभान अलिबाट सामान बरामद भएको सो सामान जाहेरवालाले डांकाको हो भनी सनाखत गरेको समेत हुँदा प्र. ले प्रहरीमा गरेको साविती वयान समर्थित हुन आएको र प्र. नरपट र तप्पानाथलाई डांका गर्दा चिनेको भनी सरजमीनले किटानीसाथ लेखाएकोबाट प्र. सुभान अलि प्र. नरपट तथा प्र. तप्पानाथले डांकाको अपराध गरेको सिद्ध हुन आयो । निजहरु र मुलतवीमा राखिएका बाहेक अन्य प्रतिवादीहरुलाई पोल गरेको भएपनि अदालत समक्ष दाखिल भएका जाहेरवाला सरजमीनको भनाईबाट समर्थन हुन नसकेको र सामान बरामद पनि नभएको हुँदा निजहरुलाई संजाय गर्न मिल्ने नदेखिएकोले प्र. सुभान अली, प्र. तप्पानाथ, प्र. नरपट केवटलाई चोरीका १५(४) नं. बमोजिम संजाय हुने र अन्य मुलतवी रहने वाहेकका अन्य प्रतिवादीहरुले सफाई पाउने देखिन आएकोले शुरुको फैसला केही उल्टी हुने ठहर्छ भन्ने समेत तत्कालिन लुम्विनी अन्चल अदालतको फैसला ।
२६. लु.अं.अ. बाट विगो रु. ७८५।- कायम भएमा र ८ जना प्रतिवादीलाई सफाई दिए उपर वादी श्री ५ को सरकारको र डांका गरेको ठहर गरे तर्फ प्र. तप्पानाथ पाण्डेले तत्कालिन प.क्षे.अ.मा दिएको पुनरावेदन पत्र ।
२७. शुरु जि.अ.को ईन्साफ फरक पर्ने उल्टिने देखिन आएमा अ.वं. २०२ नं. वमोजिम बिपक्षीलाई प्रतिरक्षार्थ छलफलको म्याद दिनु पर्नेमा शुरुले सफाई दिएका प्र. तप्पानाथ र नरपट केवटलाई झिकाउदैं नझिकाई प्रतिरक्ष्ाँ गर्न कानूनी अधिकारबाट बंचित गरी दोषी ठहराएको लुम्बिनी अञ्चल अदालतको फैसला कानूनी कार्यविधि सम्वन्धी त्रुटी हुँदा सो फैसला बदर गरी दिएको छ । अव कानूनको प्रकृया पूरा गरी कानूनले जे जो बुझ्नु पर्छ बुझि यसै मिसिलबाट अन्चल अदालतले पुनः फैसला गरी दिनु भनी मिसिल पठाई दिने भन्ने तत्कालिन प.क्षे.अ.को ०४७।५।११ को फैसला ।
२८. प्रतिवादीहरुबाट सामान बरामद हुन सकेको छैन । डांका गरेको हुन भन्ने तथ्ययुक्त निर्विवाद कुनै प्रमाण वादी पक्षबाट प्रस्तुत हुन सकेको नदेखिंदा यस्तो सवुद प्रमाणको अभावमा प्रतिवादीहरुले डांका गरेको ठहर गर्न न्यायोचित देखिएन । तसर्थः प्रतिवादीहरु चिनक दर्जि भन्ने मुन्सीराम दर्जि, कल्लु निरासी भन्ने जोखन मिर मुसलमान, श्याम नारायण भन्ने कमल त्रिपाठी र परगाहे भन्ने अयोध्या अहिर समेतलाई आरोपित कसुरबाट सफाई दिनु पर्नेमा निजहरुलाई कसुरदार ठहर्याएको हदसम्म शुरु रुपन्देही जिल्ला अदालतको फैसला मिलेको नदेखिंदा सो हदसम्म बदर भै केही उल्टी हुन्छ । निज प्रतिवादीहरु समेतले दावीको अभियोगबाट सफाई पाउने ठहर्छ । प्रतिवादी सुभान अलि भन्ने वाठे वन्जरा र वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्तैन भन्ने समेत व्यहोराको पुनरावेदन अदालत, बुटवलको २०५१।३।२९।४ को फैसला ।
२९. बिगो रु.७८५।- मात्र ठहर गरेको र १० जनालाई सफाई दिने गरेको पुनरावेदन अदालत, बुटवलको फैसला मिलेको छैन । तसर्थ उक्त फैसला सो हदसम्म बदर गरी शुरु अभियोग दावी अनुसार संजाय गरी पाउँ भन्ने समेत वादी श्री ५ को सरकारको तर्फबाट यस अदालतमा परेको पुनरावेदन ।
३०. नियम वमोजिम दैनिक पेशि सुचिमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी श्री ५ को सरकारको तर्फबाट उपस्थित हुनु भएका विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री देव शरण प्रसादले गर्नु भएको वहस समेत सुनी रेकर्ड मिसिल सहितको पुनरावेदन पत्र अध्ययन गरी निर्णय तर्फ बिचार गरी हेर्दा यसमा प्रस्तुत मुद्दाको प्रतिवादीहरु मध्ये सुभान अलि भन्ने वाठे वन्जराले अरोपित कसुर गरेको ठहर भएकोमा निजलाई लागेको कैद जरिवाना भूक्तान गरी कारागारबाट छुटि सकेको भन्ने समेत हुँदा निजका हकमा हाल यस अदालतबाट केही बिचार गरी रहनु पर्ने अवस्था देखिएन । अव वादी श्री ५ को सरकारको प्रस्तुत पुनरावेदन जिकिरका सम्वन्धमा हेर्दा पुनरावेदन अदालतबाट सफाई दिएका श्याम नारायण भन्ने कमल त्रिपाठी, कल्लु निरासी भन्ने जोखन निरासी, परगाही भन्ने अयोध्या अहिर, चिनक दर्जि भन्ने मुन्सिदार दर्जि समेतका प्रतिवादीहरुका हकमा समेत के कसो हो भनी हेर्दा अधिकार प्राप्त अधिकारी समक्ष सावित हुनेहरुले अदालतमा वयान गर्दा इन्कार भएका छन र निजहरुले वयानमा जिकिर लिए मुताविक घाउ जाँच फारमबाट निजहरुका शरीरमा धाउ चोट परेको देखिने भएबाट निजहरुको सो साविती स्वेच्छाले भएको रहेछ भनी मान्न मिल्ने देखिन आएन । अदालतमा उपस्थित भई वयान गर्ने मुनिव भन्ने विस मिल्लाह, तप्पानाथ गप्पी भन्ने हरिराम थारु, नरपट केवट र पसन्द चमारले इन्कार गरेका छन र अति उल्लाह मुसलमान प्रहरीमा समेत पूर्ण इन्कार रहेको देखिन्छ । मुलतः मिति २०४१।१०।३ को राती अं. १२ बजेको समयमा भएका डांका वारदातमा चश्मदित साक्षी कोही देखिंदैनन । सर्जमीनका मानिसहरु २५ जनामध्ये ३ जना जाहेरवालाका छोराहरु नै हुन भन्ने देखिने र बांकी २२ जनाले पनि डांकाको वारदातमा आफूहरुले नदेखेको र जाहेरवालाले भनेको र प्रहरीमा प्रतिवादीहरु सावित भएकाले सम्म शंका देखिएका भन्ने देखिन आउँछ । मुख्यतः कसुरदार ठहर भएका १ जना बाहेक यी प्रतिवादीहरु कसैबाट पनि दशीका मालसामान बरामद भएको देखिंदैन । डांका जस्तो वारदातमा ११ जना प्रतिवादीहरु मध्ये १ जनालाई मात्र कसुरदार ठहराई वांकी प्रतिवादीहरुले सफाई पाउने ठहर गरेको इन्साफ मिलेन भन्ने नै वहसमा विद्वान वरिष्ठ सरकारी अधिवक्ताको जिकिर लिनु भएको सम्वन्धमा पनि दशी बरामद भएका १ जना प्रतिवादीको सम्वन्धमा कसुरदार ठहर भएको भएबाट डांका वारदात कायम भएको स्थिति देखिन्छ, तथापी वारदातमा को को र कतिजना थिए भन्ने सम्वन्धमा प्रत्येक प्रतिवादीका सम्वन्धमा निश्चित सबुद प्रमाण हुन आवश्यक देखिन्छ । केबल प्रहरी प्रतिवेदनमा प्रतिवादी बनाइएकै आधारबाट मात्र यी सवै वारदातमा थिए भन्न मिल्ने स्थिति देखिन आउदैन । यसर्थ विद्वान वरिष्ठ सरकारी अधिवक्ताको उक्त वहस जिकिरसँग सहमत हुन सकिएन । प्रत्येक प्रतिवादीका सम्वन्धमा तथ्ययुक्त र निश्चित प्रमाण वेगर निजहरुलाई कसुरदार ठहर्याउन मिल्ने देखिएन । अतः पुनरावेदन अदालत वुटवलको फैसलामा उल्लेख भएका अन्य बूंदा आधार समेतबाट शुरु रुपन्देही जिल्ला अदालतको इन्साफ केही उल्टी गरी सो अदालतबाट भएको फैसला मनासिव ठहर्छ । पुनरावेदक वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्तैन । मिसिल नियम वमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. नरेन्द्र वहादुर न्यौपाने
इति सम्वत् २०५३ साल पौष १० गते रोज ४ शुभम