निर्णय नं. ६३६७ - दोहोरो दर्ता श्रेस्ता

निर्णय नं. ६३६७ ने.का.प. ०५४ अङ्क ५
संयुक्त इजलास
माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा
माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे
सम्वत् २०५२ सालको दे.पु.नं. ..२७९३
फैसला मितिः २०५३।६।२।४
मुद्दाः दोहोरो दर्ता श्रेस्ता ।
पुनरावेदक/वादीः ललितपुर जि.ल.पु.न.पा.वडा नं. २२ वस्ने तुल्सी माया तण्डुकार समेत २ ।
विरुद्ध
प्रत्यर्थी/प्रतिवादीः ऐ.ऐ वडा नं. १८ वस्ने पूर्णलक्ष्मी श्रेष्ठ समेत जना २ ।
§ एउटै कित्ता जग्गाको सम्वन्धमा परेको एउटा पक्षको निवेदनमा कारवाही निर्णय गर्ने र अर्को पक्षको परेको निवेदन कारवाहीमा मौन रहन मिल्ने कुरा होइन ।
(प्र.नं. १२)
निवेदक तर्फवाटः
विपक्षी तर्फवाटः
अवलम्बित नजीरः
फैसला
न्या.त्रिलोक प्रताप राणाः पुनरावेदन अदालत, पाटन ललितपुरको इन्साफमा चित्त नवुझी यस अदालतमा पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा र ठहर यस प्रकार छः
२. हाम्रा वावु तथा ससुरा अष्टमान तण्डुकार मोही भई कमाई आएको ल.पु.जि. ल.पु.न.पा वडा नं. १५(ख) कि नं. २३ क्षेत्रफल ०-११-० जग्गा नापी हुनुभन्दा अघि देखि कमाई आएको भू.सु. सर्भे हुँदा मोही कायम गरी ज.ध. बद्रिलाल श्रेष्ठ कायम भै नापी भएको जग्गा र द.नं. ६५१ मिति २०२३।२।३ मा राजिनामा पास गरी लिई सोही आधारमा २०२८ सालमा दा.खा.भई ज.ध.प्र.पु. लिएको र अष्टमान तण्डुकारको कालगतिले परलोक हुनु भै हाम्रा नाममा उक्त जग्गा नामसारी भै ज.ध.प्र.पु.प्राप्त गरेको जग्गाको तिरो तिर्न मा.पो.का. मा जांदा उक्त जग्गा सानीकान्छी श्रेष्ठ समेत जवान ३ का नाममा २०४९ सालमा भएको र हालका ज.ध. सानीकान्छी श्रेष्ठका पति वद्रीलाल श्रेष्ठले २०२३ सालमा नै विक्री गरी सकेको हुँदा पछि प्राप्त गरेको ज.ध. सानी कान्छी श्रेष्ठ समेत जवान ३ र मोही हामीहरुका वावु तथा ससुरा अष्टमान तण्डुकार कायम गरी प्राप्त गरेकोज.ध.प्र. कट्टा गरी पाउँ भन्ने समेत व्यहोराको तुल्सीमाया तण्डुकार र न्हुछेमान तण्डुकारको २०५०।७।२२ मा मा.पो.का.ललितपुरमा परेको निवेदन ।
३. यसै कार्यालयवाट जारी भएको २०५०।८।४ को म्याद यसै कार्यालयको रोहवरमा वुझी लिई मेरो वडा नं १५(ख) कि नं. २३ को क्षेत्रफल ०(११(० जग्गा मेरो पति वद्रिलाल श्रेष्ठले २०२३।२।३ मा अष्टमान तण्डुकारलार्ई राजिनामा गरी दिई सकेको सो जग्गा सानुकान्छी पूर्णलक्ष्मी र सुवर्णलाल श्रेष्ठको नाउँमा प्रमाणित भै मोही अष्टमान तण्डुकार भएको श्रेस्तामा नकाटिई दोहरो पर्न गएको र सो जग्गा मोही अष्टमान तण्डुकारलार्ई नै विक्री वितरण गरेको, निजको मिति २०४७।८।९ मा र निजको श्रीमती मोहन माया तण्डुकार पनि २०३३।१२।१५ मा नै परलोक भै सकेकोले उक्त जग्गाका हकदार छोराहरु नहुँदा छोरी तुल्सीमाया र ज्वाई न्हूच्छेमान तण्डुकारका नाममा नामसारी समेत भै सकेकोले उक्त जग्गा हामीहरुको नाउँ कट्टा गरी निजहरुका नाउँमा दर्ता कायम भएमा कुनै फरक पर्दैन भन्ने समेत व्यहोराको सानुकान्छी श्रेष्ठ, पूर्णलक्ष्मी श्रेष्ठ र सुवर्णलाल श्रेष्ठले २०५०।८।१३ मा मा.पो.का. ललितपुरमा संयुक्त निवेदन दिई सनाखत समेत गरेको मिसिल संलग्न रहेको ।
४. ल.पु.न.पा वडा नं. १५ को हाल २२ वस्ने तुलसीमाया तण्डुकार समेतले ल.पु.न.पा.वडा नं. १५(ख) कि.नं. २३ को जग्गा दोहोरो श्रेस्ता परी कट्टा गरी पाउन दिएको निवेदनमा उल्लेखित व्यहोरा झुट्टा हो । उक्त जग्गा कि नं. १३६।२०४९।५।२१ बाट हामीहरुले दर्ता गरि पुर्जा लिएको हो भन्ने समेत व्यहोराको पूर्णलक्ष्मी श्रेष्ठ र हिरामाया श्रेष्ठ मा.पो.का. ल.पु.मा झिकाउँदा उपस्थित भै दिएको निवेदन ।
५. उक्त जग्गा वद्रिलाल श्रेष्ठले मिति २०२३।२।३ मा अष्टमान तण्डुकारलार्ई राजिनामा पास गरी दिएको र सोही आधारमा अष्टमानका नाउँमा दर्ता समेत भै रहेकोमा निजको मृत्युपछि निजको छोरी ज्वाईका नाउँमा मिति २०४७।९।११ मा ना.सा. समेत भई सकेको जग्गामा सो दर्ता अभिलेख भिड्न छुटी भूलवाट मिति २०४९।५।१९ को निर्णयवाट वद्रिलालकी श्रीमती सानीकान्छी श्रेष्ठ, सुवर्णलाल श्रेष्ठ र पूर्ण लक्ष्मी श्रेष्ठ समेतका नाउँमा दोहोरो दर्ता हुन गएको । २०२३।२।३ मा नै विक्री भई सकेको जग्गा विक्री गर्ने व्यक्तिकै श्रीमती तथा हकदारका नाउँमा २०४९।५।१९ को निर्णयवाट भएको दर्ता वेरीतको देखिएकोले मा.पो. ऐनको दफा ७(३) ले वदर गरी अष्टमान तण्डुकारका नाउँको दर्ता सदर गर्ने ठहर्छ भन्ने समेत व्यहोराको मिति २०५०।९।२९ को मालपोत कार्यालय ललितपुरको निर्णय ।
६. शुरु मा.पो.का. ललितपुरको मिति २०५०।९।२९ को क्षेत्राधिकार विहिन गैरकानूनी एवं हचुवा निर्णय वदर गरी मिति २०४९।५।१९ मा कानूनको रीत पर्ूयाई वैधानिक तवरवाट हामी पुनरावेदक समेत जना ३ का नाउँमा दर्ता भएको ल.पु.न.पा.वडा नं. ५ (ख) कि.नं. २३ को क्षेत्रफल ०-११-१ जग्गा कित्ता १ को दर्ता श्रेस्ता कायम गर्ने गरी गरेको मा.पो.का ललितपुरको निर्णय हामी पुनरावेदकहरुको हकको हदसम्म सदरगरी श्रेस्ता कायम गरी पाउ¬ भन्ने समेत व्यहोराको पु.वे.अ. पाटनमा परेको संयुक्त पुनरावेदन पत्र ।
७. यसमा अ.वं. २०२ नं. वमोजिम छलफलको निमित्त विपक्षी झिकाउने भन्ने पु.वे.अ. पाटनको मिति २०५१।१२।१३ को आदेश ।
८.यिनै पुनरावेदकहरुवाट परेको २०५०।८।१३ र २०५०।९।२८ का निवेदनहरु समेतका सम्वन्धमा पुनरावेदकहरुसँग खुलार्ई वयान गराई आवश्यक जाँचवुझ गरी निर्णय गर्नु पर्नेमा सो नगरी गरेको मालपोत कार्यालय, ललितपुरको मिति २०५०।९।२९ को निर्णय मिलेको नदेखिंदा बदर गरी दिएको छ । मालपोत ऐनले निर्दिष्ट गरे अनुसार दुवै पक्षको प्रमाण वुझी जाँचवुझ गरी निर्णय गर्नु भनी तारेखमा रहेका पक्षहरुलार्ई तारेख तोकी मिसिल मालपोत कार्यालयमा पठाई दिनु भन्ने पुनरावेदन अदालत, पाटन ललितपुरको फैसला ।
९. विपक्षीहरुको आमा सासुले वद्रिलाल श्रेष्ठलार्ई विक्री गरेको कुरा निवेदनवाटै स्वीकार गरिएको छ, हामीहरुले मालपोत कार्यालयमा निवेदन गरेपछि विपक्षीवाट दावी छोडी दिएको निवेदन मिसिल सामेल छ । सो निवेदन समेतको आधारमा मालपोत कार्यालयवाट भएको निर्णय सदर गर्नु पर्नेमा उल्टी गरी पुनः निर्णयको लागि पठाउने गरेको पुनरावेदन अदालत, पाटनको इन्साफ त्रुटिपूर्ण छ भन्ने पुनरावेदन ।
१०. नियम वमोजिम दैनिक पेशी सुचिमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन सहितको मिसिल अध्ययन गरी दुवै पक्षको प्रमाण बुझी निर्णय गर्नु भनी मालपोत कार्यालयमा पठाउने गरी भएको पुनरावेदन अदालत, पाटनको इन्साफ मिलेको छ छैन ? सो कुराको निर्णय दिनु परेको छ ।
११. यसै विवादित कित्ता नं. २३ को जग्गाको दोहरो दर्ता कट्टा गरी हामीहरुको नाममा कायम राखी पाउँ भनी हामी पुनरावेदकहरुले दिएको निवेदन उपर कार्वाही हुँदा प्रत्यर्थीहरुले मालपोत कार्यालयमा २०५०।८।१३ मा हक दावी छाड्ने गरी निवेदन पेश गरेका छन्, सो निवेदन समेतको आधारमा हामीहरुको नाउँको दर्ता कायम राख्ने गरी भएको निर्णय सदर गर्नु पर्नेमा पुनः निर्णयका लागि मालपोत कार्यालयमा पठाउने गरेको निर्णय मिलेको छैन भन्ने पुनरावेदकहरुको मुख्य जिकिर रहेछ ।
१२. यसमा मिति २०५०।८।१३ र मिति २०५०।९।२८ मा पूर्णलक्ष्मी श्रेष्ठ समेतले यसै विवादित कित्ता जग्गा आफ्नो नाउँमा कायम गरी पाउन निवेदन दिएको सो तर्फ कारवाई चलेको मिसिलवाट देखिन्छ । तर मालपोत कार्यालयले उपरोक्त मिति २०५०।९।२८ समेतमा परेको निवेदन तर्फ कुनै विवेचना गरेको पाइन्न । एउटै कित्ता जग्गाको सम्वन्धमा परेको एउटा पक्षको निवेदनमा कारवाही निर्णय गर्ने र अर्को पक्षको परेको निवेदन कारवाहीमा मौन रहन मिल्ने कुरा होइन ।
१३. अतः दुवै पक्षको प्रमाण वुझी आवश्यक जाँचवुझ गरी कानून वमोजिम निर्णय गर्न पर्ने हुँदा मालपोत कार्यालय, ललितपुरमा निर्णयको लागि पठाएको पुनरावेदन अदालत, पाटन ललितपुरको इन्साफ मुनासिव ठहर्छ । पुनरावेदन जिकीर पुग्न सक्तैन । मिसिल नियमानुसार गरी वुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. इन्द्रराज पाण्डे
इति सम्वत् २०५३ साल आश्विन २ गते रोज ४ शुभम