शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६३६८ - वक्सपत्र लिखत बदर

भाग: ३९ साल: २०५४ महिना: भाद्र अंक:

निर्णय नं. ६३६८          ने.का.प. ०५४        अङ्क ५

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ

माननीय न्यायाधीश श्री उदयराज उपाध्याय

सम्वत् २०५२ सालको दे.पु.नं. .. २७११

फैसला मितिः २०५४।२।२८।३

 

मुद्दाः वक्सपत्र लिखत बदर ।

 

पुनरावेदक/प्रतिवादीः काठमाडौं जि.का.न.पा.वार्ड नं. १० को हाल वडा नं. ३४ वस्ने लोकनाथ उपाध्याय समेत जम्मा २ ।

विरुद्ध

विपक्षी/वादीः ऐ.ऐ. वस्ने सिताराम ढकाल ।

 

पुनरावेदक/वादीः काठमाण्डौ जि.का.न.पा.वडा नं. १० वस्ने सिताराम ढकाल

विरुद्ध

विपक्षी/प्रतिवादीः ऐ.ऐ. वस्ने लोकनाथ उपाध्याय समेत जना २

 

§  घर व्यवहार चलाउन वापत वक्सपत्र गरि दिएको भए सो व्यहोरा उल्लेख हुनु पर्ने । 

(प्र.नं.१८)

§  घर व्यवहार चलाउन वक्सपत्र गरी दिएको भन्ने जिकिर लिदैमा पुग्दैन, प्रमाणद्वारा सो कुराको पुष्टि पनि हुनु पर्ने ।               

(प्र.नं. १८)

 

पुनरावेदक प्रतिवादीका तर्फवाटः विद्वान अधिवक्ता श्री वालकृष्ण न्यौपाने

पुनरावेदक वादीका तर्फबाटः विद्वान अधिवक्ता श्री शिव प्रसाद सिग्देल

अवलम्बित नजीरः

 

फैसला

            न्या.ओमभक्त श्रेष्ठः पुनरावेदन अदालत पाटन ललितपुरको इन्साफमा चित्त नवुझी यस अदालतमा पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा र ठहर यसप्रकार छः

            २. मलार्ई साक्षी पनि नराखी मन्जूरी पनि नलिई मेरो समेत हक लाग्ने कि.नं. २८६ को ०-११-२ पुर्ख्यौली जग्गा लोकनाथले राधा नेपाललार्ई हालै देखिको वक्सपत्र मिति २०४३।६।२० मा लेखी दिनु भएको रहेछ । मिति २०४५।५।२८ मा वक्सपत्रको नक्कल सारी ज.मि.को १८ नं. र जग्गा पजनीको १७ नं. र दानवक्सको ५ नं. समेतको म्यादै भित्र फिराद गर्न आएको छु । म समेतको हक लाग्ने पुर्खौली सम्पत्ति म उमेर पुगेको छोराको मन्जूरी बेगर वक्सपत्र गरि दिएकाले सो वक्सपत्र लिखत वदर गरी पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र ।

            ३. २०२० सालमा चेतनादेवीवाट राजिनामा पास गरी मेरा नाउँमा नामसारी भै हक कायम भएको हुँदा उक्त सम्पत्ति पैतृक नभई निजी आर्जनको सम्पत्ति हो । मैले मेरी छोरी राधा नेपाललार्ई गरी दिएको हालै देखीको वक्सपत्रमा कसैको मन्जूरी लिई रहनु पर्ने होइन । हदम्याद भित्र फिराद गर्न नसकेको र अंशवण्डाको १९ नं. समेतको आधारमा फिराद दावा खारेज गरी इन्साफ पाउँ भन्ने समेत व्यहोराको प्र.लोकनाथको प्रतिउत्तर पत्र ।

            ४. मलार्ई उक्त जग्गा काम काजमा सगाए वापत हालै देखिको वक्सपत्र गरी दिनु भएको हो । अंशवण्डाको १९ नं. अनुसार पैतृक सम्पत्तिको हकमा आधा आफूखुसी वेचविखन वा कुनै किसिमले हक छाडी दिने प्रावधान भएको समेत स्पष्ट छ । पिताले २०२० सालमा किन्नु भएको जग्गा मध्येवाट उक्त जग्गा मलार्ई दिनु भएको र आधा भन्दा बढी जग्गा हाल वुवाको नाउँमा  रहेको हुँदा हदम्याद नाघी परेको झुट्टा दावी खारेज गरी पाउँ भन्ने समेत व्यहोराको प्र.राधा नेपालको प्रतिउत्तरपत्र ।

            ५. वादी र प्रतिवादीका साक्षीले गरेको वकपत्र मिसिल सामेल रहेको ।

            ६. मिति २०४३।६।२० को वक्सपत्र मन्जूरी नलिई गरेकोले त्यस्तो वक्सपत्र वदर गरी पाउँ भनी मिति २०४५।६।१३ मा मात्र फिराद परेको देखिंदा प्रस्तुत फिरादलार्ई हदम्याद भित्रको भनी मान्न नमिल्ने हुँदा मुद्दाको औचित्य माथि प्रवेश गरि रहन परेन, हदम्यादकै कारणवाट प्रस्तुत फिराद खारेज हुने ठहर्छ भन्ने काठमाडौं जिल्ला अदालतको फैसला ।

            ७. खारेज गरेको काठमाडौं जिल्ला अदालतको फैसला वदर गरी पाउँ भनी सिताराम ढकालले तत्कालिन वा.अं.अ. मा परेको पुनरावेदन ।

            ८. हदम्यादको प्रश्नमा औचित्य भित्र प्रवेश  नगरी खारेज गर्ने गरेको शुरु का.जि.अ.को मिति २०४६।४।३१ को फैसला कानूनसँगत देखिन आएन, सो फैसला वदर हुने ठहर्छ । अव मुद्दाको औचित्य भित्र प्रवेश गरी जो बुझ्नू पर्छ वुझी कानून वमोजिम फैसला गर्नु भनी हाजिर रहेका दुवै पक्षलार्ई शुरु का.जि.अ.मा तारेख तोकी पठाई दिनु भन्ने समेत व्यहोराको पुनरावेदन अदालत, पाटनको फैसला ।

            ९. कि.नं. २८६ को जग्गा वादी समेतको हक लाग्ने जग्गा देखिएको हुँदा त्यस्तो जग्गा हालै देखिको वक्सपत्र गरी दिंदा वादीलार्ई साक्षी राख्नु पर्ने वा निजको मन्जूरी लिनु पर्नेमा सो केहि गरेको नदेखिंदा निजको हक जति दुई खण्डको १ खण्ड लिखत वदर हुने ठहर्छ भन्ने काठमाडौं जिल्ला अदालतको फैसला ।

            १०. २ भागको एक भाग लिखत वदर हुने ठहर्‍याएको फैसला प्रत्यक्ष कानूनी त्रुटीपूर्ण हुँदा सो फैसलालार्ई वदर गरी पाउँ भनी पुनरावेदक प्रतिवादी लोकनाथ उपाध्याय समेतको पुनरावेदन पत्र ।

            ११. सम्पूर्ण लिखत वदर गर्नु पर्नेमा का.जि.अ. वाट २ खण्डको १ खण्ड मात्र लिखत वदर गरेको त्रुटिपूर्ण हुँदा उक्त फैसला वदर गरी पाउँ भन्ने समेत व्यहोराको पुनरावेदक वादी सिताराम ढकालको पुनरावेदन पत्र ।

            १२. अंश मुद्दाको अन्तिम निर्णयवाट वादीले ३ भागको १ भाग अंश पाउने ठहर भै रहेकोमा दावीको लिखत ३ भागको १ भाग सम्म वदर गर्नु पर्नेमा वादीको हक जति भन्दै आधि लिखत वदर हुने ठहर्‍याएको शुरु फैसलाको वोलीसम्म केही मिलेको देखिएन, दावीको लिखत ३ खण्डको १ खण्ड सम्म वदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत, पाटन ललितपुरको फैसला ।

            १३. घर व्यवहार चलाउनलार्ई घरको मुलीले राजीनामा, दानवक्स सम्झौता जस्ता कुराहरु गर्नु पर्ने भै सोहि अनुरुप वक्सपत्र दिएकोमा वक्सपत्र भन्ने शव्द घर व्यवहार चलाउने शव्द भित्र पर्दैन भनी गलत अर्थ गरी भएको पुनरावेदन अदालत, पाटन ललितपुरको फैसला त्रुटिपूर्ण छ भन्ने प्रतिवादी लोकनाथ उपाध्याय समेतको पुनरावेदन पत्र ।

            १४. अंशियारको हक लाग्ने सम्पत्ति साक्षी नराखी वा मन्जूरी नलिई दानवक्स दिनु हुदैन भनी दानवक्सको १ नं. मा पूर्ण रुपमा वन्देज लगाएको अवस्थामा दावीको लिखत पुरै वदर गर्नु पर्नेमा ३ खण्डको १ खण्ड लिखत वदर गर्ने गरी भएको फैसला त्रुटिपूर्ण छ भन्ने वादी सिताराम ढकालको पुनरावेदन ।

            १५. नियम वमोजिम दैनिक पेशी सुचिमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन सहितको मिसिल अध्ययन गरी पुनरावेदक प्रतिवादीका तर्फवाट उपस्थित विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपानेले घर व्यवहार चलाउनको लागि घरको मुलीले आधासम्म जग्गा जमिन वेच विखन समेत गर्न पाउने गरी कानूनले छुट दिएको छ । वक्सपत्रलार्ई घर व्यवहार चलाउने शव्द भित्र नपर्ने भनी घर व्यवहार चलाउने भन्ने शव्दलार्ई संकुचित अर्थ गरी ३ खण्डको १ खण्ड लिखत वदर हुने ठहर्‍याएको फैसला मिलेको छैन, त्रुटिपूर्ण छ भनी प्रस्तुत गर्नु भएको वहस र पुनरावेदक वादिका तर्फवाट उपस्थित विद्वान अधिवक्ता श्री शिव प्रसाद सिग्देलले दानवक्सको महलको १ नं. मा अंशियारको मंजुर नलिई वा साक्षी नराखी गरी दिएको दानवक्सको लिखत कायम रहन नसक्ने भन्ने कानूनी व्यवस्था छ, दावीको वकसपत्रको लिखत गरी दिंदा मेरो पक्षलार्ई साक्षी पनि राखेको छैन र निजको मन्जूरी पनि लिइएको छैन, यस्तो अवस्थामा पुरै लिखत वदर गर्नु पर्नेमा ३ खण्डको १ खण्ड लिखत मात्र वदर हुने ठहर्‍याएको पुनरावेदन अदालत पाटनको इन्साफ त्रुटिपूर्ण छ भन्ने समेत वहस प्रस्तुत गर्नु भयो ।

            १६. मेरो समेत अंश लाग्ने पुर्ख्यौली जग्गा मलार्ई साक्षी पनि नराखी मन्जूरी पनि नलिई विपक्षी राधा नेपाललार्ई वक्सपत्रको लिखत गरि दिएकाले वदर गरी पाउँ भन्ने वादी दावी भई वक्सपत्र गरिदिएको जग्गा पैतृक सम्पत्ति नभएर निजी आर्जनको सम्पत्ति हो, सो संपत्ति वक्सपत्र गरी छोरीलार्ई दिंदा मन्जूरी लिनु पर्ने पनि होइन लिखत वदर हुनु पर्ने समेत होइन भन्ने प्रतिउत्तर जिकिर रहेछ ।

            १७. निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा वादी दावी वमोजिम दावीका लिखत ३ खण्डको १ खण्ड वदर हुने ठहर्‍याई गरेको पुनरावेदन अदालत, पाटनको फैसला मिलेको छ छैन सो कुराको निर्णय दिनु परेको  छ ।

            १८. यसमा वादी चेतनादेवी ढकाल प्रतिवादी प्रस्तुत मुद्दाका वादी सिताराम ढकाल समेत भएको अंश मुद्दामा यि वादी सिताराम ढकालले ३ भागको १ भाग अंश पाउने ठहराएको शुरु फैसला सदर भै पुनरावेदन अदालतवाट मिति २०४८।११।१ मा फैसला भै अन्तिम रुपमा रहेको कुरा प्रमाणको दे.पु.नं. १४४६ को अंश मुद्दाको मिसिलवाट देखिन आएको छ । अंश मुद्दा समेतवाट वादीले ३ भागको १ भाग अंश पाउने ठहर भैरहेको अवस्थामा दावीको लिखत सवै वदर हुन सक्ने स्थिति नै देखिन नआएकोले वादीको पुनरावेदन जिकीर पुग्न सक्तैन । अब पुनरावेदक प्रतिवादी लोकनाथ उपाध्याय समेतको पुनरावेदन तर्फ हेर्दा लोकनाथ उपाध्यायले राधा नेपाललार्ई गरिदिएको दावीको  मिति २०४३।६।२० को वक्सपत्र लिखत अध्ययन गरी हुेर्दा भैपरी आएको काममा रिझाए वापत वक्सपत्र  गरि दिएको भन्ने व्यहोरा कैफियतमा उल्लेख गरेको पाइन्छ ।

घर व्यवहार चलाउन वापत वक्सपत्र गरि दिएको भए सो व्यहोरा उल्लेख हुनुपर्ने सो कुरा उल्लेख हुन सकेको  देखिएन । घर व्यवहार चलाउन वक्सपत्र गरि दिएको भन्ने जिकिर लिदैमा पुग्दैन, प्रमाणद्वारा सो कुराको पुष्टि पनि हुनु पर्दछ । प्रमाणको अभावमा निजको सो जिकिर मनासिव मान्न पनि मिलेन ।

            १९. अतः वादीको हक जति भन्दै आधि लिखत वदर हुने ठहराएको शुरु फैसलाको वोली सम्म केही नमिलेको भन्दै फिराद दावीको लिखत ३ खण्डको १ खण्ड सम्म वदर हुने ठहराएको पुनरावेदन अदालत, पाटनको फैसला मिलेकै देखिंदा वादी प्रतिवादी दुवैको पुनरावेदन जिकिर पुग्न सक्तैन । मिसिल नियम वमोजिम गरी वुझाई दिनु ।

 

उक्त रायमा म सहम छु ।

 

न्या.उदयराज उपाध्याय

 

इति सम्वत् २०५४ साल जेष्ठ २८ गते रोज ३ शुभम

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु