निर्णय नं. ६३६९ - घरमा आगो लगाई ज्यान मार्ने उद्योग

निर्णय नं. ६३६९ ने.का.प. २०५४ अङ्क ५
संयुक्त इजलास
माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ
माननीय न्यायाधीश श्री केदारनाथ आचार्य
सम्वत् २०४९ सालको फौ.पु. नं. ..४८४
फैसला मितिः २०५३।१०।१।३
मुद्दाः घरमा आगो लगाई ज्यान मार्ने उद्योग ।
पुनरावेदक/वादीः सुरजराम चौधरीको जाहेरीले श्री ५ को सरकार
विरुद्ध
विपक्षी/प्रतिवादीः जिल्ला कैलाली मनुवा गा.वि.स. वार्ड नं. ९ वस्ने दुतिराम चौधरी ।
§ मुलुकी ऐन आगो लगाउनेको महलको ५ नं. मा ूअर्काको घरमा आगो लगाएमाू (यस महलको २ नं. वा ३ नं. ले सजाय हुने अवस्थाकोमा वाहेक) अरुमा आगो लगाउने र सो काममा मुख्य भै वचन दिने जतिलार्ई एकाघरको चार वर्ष र त्यसदेखि वढी घर एकको एक वर्षका दरले वढाई कैद गर्नु पर्छू भन्ने व्यवस्था गरेको पाइन्छ । प्रतिवादी दुतिराम चौधरीले अर्काको घरमा आगो नलगाई आफू समेत वस्ने एकासंगोलको घरमा आगो लगाएको र उक्त ५ नं. ले अर्काको घरमा आगो लगाएको भएमा मात्र सजाय हुने व्यवस्था गरेको देखिंदा प्रतिवादीले कसुर गरेको नठहर्याई अभियोगवाट सफाइ दिने ठहर्याएको पुनरावेदन अदालत दिपायल, मुकाम महेन्द्रनगरको फैसला मिलेकै देखिंदा वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न नसक्ने ।
(प्र.नं. १९)
पुनरावेदक वादी तर्फवाटः विद्वान उप सरकारी अधिवक्ता भोला चौलागाई
विपक्षीतर्फवाटः x
अवलम्बित नजीरः x
फैसला
न्या.ओमभक्त श्रेष्ठः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) वमोजिम यस अदालत समक्ष पर्न आएको प्रस्तुत पुनरावेदनको संक्षिप्त व्यहोरा एंव तथ्य यस प्रकार छः
२. मिति २०४६।१०।१५ गतेको राती २१.०० वजेको समयमा नमालुम कहांवाट जांड रक्सी खाई घरमा आई मेरो विवाह अहिले सम्म किन नगरेका भनी कराउदै राखेको र हामीहरुले पनि जांडको नसामा वोलेको भनी वास्ता नगरेकोले निज दुतिराम वाहिर गै केही छिन पछि आफ्नो खल्तीवाट सलार्ई निकाली घरमा आगो लगाई दिएको र उक्त आगलागीवाट नगदी तथा जिन्सी २५,०००। नोक्सान भएकोले वोका जीउ १ तथा वा जीउ १ समेतको नोक्सान भएको भन्ने समेत व्यहोराको सुरजराज चौधरीको जाहेरी दरखास्त ।
३. जि. कैलाली मनुगा गा.वि.स. वार्ड नं. ९ स्थिति टिकापुर वाट मनुवा जाने मुलवाटो उत्तरपुर्व, जाहेरवालाकै खेत पश्चिम, लाल वहादुरको घर दक्षिण जाहेरवालाकै गाई गोरु वाध्ने गरेको घर गोठ यति ४ किल्ला भित्र २८ हात लम्वाइ, १२ हात चौडाई भएको आगलागी भै खामा खुट्टा मात्र भएको फुसको घर उक्त घर आगलागी भै जली नष्ट भएको भन्ने समेत व्यहोराको घटनास्थल प्रकृति मुचुल्का ।
४. मिति २०४६।१०।१५ गतेका राती वरगडा भन्ने ठाउँवाट खर काटी आउँदा वाटोमा जांड रक्सी खाई घरमा आएपछि मेरो विवाह समेत घर परिवारले नगरी दिएको हुँदा रक्सीको नसाको सुरमा सोही कुरा मनमा खेली घर परिवारलाई विवाह गर्नका लागि भनी सोही सुरमा खल्तीमा राखेको सलार्ई निकाली उक्त फुसको घरमा आगो लगाएको हुँ भन्ने समेत व्यहोराको दुतिराम चौधरीले प्रहरीमा गरेको वयान ।
५. मिति २०४६।१०।१५ गतेका राती जाहेरवाला सुरजरामको घरमा आगो लागेको देखी तत्काल घटनास्थलमा आई उक्त आगो निभाएको हो सो आगो लगाउने व्यक्ति दुतिराम चौधरी नै हो भन्ने समेत व्यहोराको सर्जमिनका मानिस जितेन्द्र चौधरी समेतको सर्जमीन मुचुल्का ।
६. मिति २०४६।१०।१५ गतेका राती हामी घरका परिवार सुती निदाएका अवस्था वरगदाह भन्ने ठाउँवाट खर काटी आउँदा भतिजा दुतिराम जांडको नसामा मस्त भई घरमा आई मेरो विवाह गर्ने भए गर नभए घरमा आगो लगाई दिन्छु भनी कराएको र जांडको नसाले हो भनी हामीले वास्ता गरेनौ । केहीछिन पछि घरमा आगो लागेको थाहा पाई खरको दिवाल भत्काई हामी सवै जना वाहिर निस्केका हौं भन्ने प्र. दुतिरामको काका नाता पर्ने जगराम चौधरीले प्रहरीमा गरेको कागज ।
७. प्र.ले जांड रक्सी खाई विवाह नगरी दिएको रीसले जाहेरवालाको घरमा ढोका थुनी आगो लगाई मानिस समेत मार्ने सम्मको काम गरी मुलुकी ऐन आगो लगाउनेको १ नं. ज्यान सम्वन्धी महलको १ नं. को अपराध गरेको देखिन आउँछ । आगो लगाउनेको महलको ५ नं. वमोजिम र ज्यान सम्वन्धीको १५ नं. वमोजिम प्र. दुतिराम चौधरीलार्ई सजाय हुन र नोक्सान भएको विगो प्र. वाट कानून वमोजिम जाहेरवालालार्ई भराई पाउने माग दावी लिएको छ भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन ।
८. यही माघ महिनाको ८ गते वावियो काट्न भनी गाउँका मानिस सीत वर्दिया एरियामा गई सोही १५ गते घर फर्की आउँदा वाटोमा जांड रक्सी खायो । मलार्ई साह्रै नसा लागेको थियो । सांझ ६,७ वजे तिर घरमा पुगी सकेपछि जेठा वुवाको छोरा म भन्दा कान्छो संगोलको परिवारको विवाह हुने कुरा गरी सामान समेत जम्मा गरी सकेकोले म जेठोको विवाह नगरी कान्छोको विवाह गर्ने, मेरो विवाह हुनुपर्छ भनी भन्दा घरका सवै परिवार रिसाई गाली गरेकाले नसामा हुँदा रिसको झोकमा खल्तीवाट सलार्ई झिकी आगो लगाई सकेपछि घरका मानिसहरुले समाती राखेको हो । मानिस मर्न सक्ने अवस्था थिएन भन्ने समेत व्यहोराको प्रतिवादी दुतिराम चौधरीले अदालतमा गरेको बयान ।
९. मैले प्र. को विवाह नगरी दिएकोले सो रिसइवीले आगो लगाएको हो । आगो लगाउँदा मेरो धनमाल २।३ हजार जति नोक्सान भएको थियो भन्ने समेत व्यहोराको जाहेरवाला सुरजराम चौधरीले गरेको वकपत्र ।
१०. प्र.ले आफ्नो विवाह नगरी दिएको झोकमा रक्सी खाएर घरमा आगो लगाएको हो । धनमाल कति नोक्सान भयो थाहा छैन भन्ने सर्जमिनका मानिस जितेन्द्र चौधरीले र आगो लगाएको थाहा छैन भन्ने सर्जमिनका मानिस राम प्रसाद चौधरी र प्र.ले जाहेरवालाको घरमा आगो लगाएको हो । उक्त आगलागीमा २।३ हजार जतिको धनमाल नोक्सान भएको थियो भन्ने सर्जमिनकै मानिस विर वहादुर चौधरीले गरेको वकपत्र ।
११. वुझिए सम्मको मिसिल प्रमाणवाट प्रतिवादीले नसा सेवन गरी मदहोसी भै आगो लगाउने कार्यको प्रकृति र परिणाम थाहा नपाउने गरी नसाको झोकमा पागलपनले ग्रसित भै आफ्नो घरमा आगो लगाएको देखिन ठहर्न आएकोले उल्लेखित अवस्थामा गरेको अपराधलार्ई मुलुकी ऐन दण्ड सजायको महलको १ नं.अनुरुप खतवात नलाग्ने अवस्थाको अपराध देखिनाले कुनै सजाय नहुने ठहर्छ भन्ने समेत मिति २०४७।३।१७ को कैलाली जिल्ला अदालतको फैसला ।
१२. रक्सीको नसामा भएको अवस्थामा घरमा आगो लगाएको हो भन्ने कुरा अदालतको समेत स्वीकार गरेको छ । तर कसुर गरेको कुरा स्वीकार गर्दै सजाय नहुने भनी गरिएको फैसला त्रुटिपूर्ण छ । दण्ड सजायको १ नं. मा व्यवस्थित कानूनी प्रावधान रक्सीको नसामा कसुर गरेको भए सजाय नहुने भन्ने नभएर पागल वा मगज विग्रेको व्यक्तिले गरेको कसुरमा मात्र लागु हुने हो । अतः उल्लेखित वुँदाको आधारमा शुरु फैसला वदर वातिल गरी दावी वमोजिम सजाय गरी पाउँ भन्ने वादी श्री ५ को सरकारको पुनरावेदन अदालत दिपायल मुकाम महेन्द्र नगरमा परेको पुनरावेदन पत्र ।
१३. जाहेरवालाले शुरु जाहेरी दरखास्तमा जांड रक्सी खाई मतवाट भएको अवस्थामा घरमा आई अहिले सम्म मेरो विवाह किन नगरी दिएको भनी म सँग झगडा गर्दै उचालिने पछारिने गरी खल्तीवाट सलार्ई झिकी अहिले नै घर जलार्ई दिन्छु भनी भन्दै घरवाट वाहिर निस्की गएको पछि पुनः गाउँवाट फर्की सलार्ई कोरी दिन्छु भनेको सुनी सवै परिवार सतर्क हुन खोज्दा खोज्दै घर जलेकोले भित्ता फोडी वाहिर निस्कियौं भन्ने कुरा उल्लेख गरेको र अदालतमा आई वकपत्र गर्दा जाहेरवालाले ज्यान मार्ने इवी र मनसाय भै सो नियत राखी आगो लगाएको हो भनी भन्न नसकी विवाह नगरी दिएको कारणले आगो लगाएको हो भनी आगो लगाए तर्फ मात्र वकपत्र गरेको एवं अदालतमा वकपत्र गर्ने सर्जमीनका मानिस वीर वहादुर चौधरी राम प्रसाद चौधरी र जितेन्द्र चौधरी समेतका तीन जना व्यक्तिहरुले पनि ज्यान मार्ने उद्योग गरे तर्फ कुनै ठोस कुरा उल्लेख गर्न सकेको नदेखिंदा शुरु प्रहरी प्रतिवेदन माग दावीमा लिएको मुलुकी ऐन ज्यान सम्वन्धीको महलको १५ नं. वमोजिमको माग दावी पुग्न सक्तैन ।
१४. जाहेरवाला र प्रतिवादी एकै परिवारका भै प्रतिवादीको विवाह गरी दिने दायित्व पनि जाहेरवाला कै रहे भएको मिसिल संलग्न कागजातवाट देखिने र पुष्टि हुन आएको जाहेरवालाको जाहेरी कथनवाट पनि एकै परिवारका देखिंदा निज प्रतिवादी दुतिरामले आफ्नै घरमा आगो लगाएको देखिन आयो । मुलुकी ऐन आगो लगाउनेको महलको ५ नं. मा भएको व्यवस्थाले आफ्नो नभै अरुको घरमा आगो लगाएको ठहर भएमा सजाय गर्नु पर्ने देखिन्छ । उक्त ५ नं.को व्यवस्थाले मात्र हैन मुलुकी ऐन आगो लगाउनेको महलमा आफ्नो घरमा आगो लगाउनेलार्ई सजायको व्यवस्था देखिदैन अतः ऐनमा अपराध ठहर भै सजाय गर्ने व्यवस्था नै नभएको प्रस्तुत मुद्दामा प्रतिवादीले आगो लगाउनेको महल अन्तर्गतको कसुर गरेको ठहर गरी गरेको फैसला मिलेको नदेखिंदा उल्टी हुने ठहर्छ भन्ने पुनरावेदन अदालत दिपायल मुकाम महेन्द्रनगरको मिति २०४९।३।२२ को फैसला ।
१५. घरमा आगो लगाएको कुरा स्वयं अदालतले समेत स्वीकार गरी सकेपछि आगो लगाउनेको महलमा अर्काको घरमा आगो लगाएको अवस्थामा मात्र सजायको व्यवस्था भएको र आफ्नो घरमा आगो लगाएको देखिएकोले कसुर नदेखिने भनी सफाइ दिए तर्फ मुलुकी ऐन आगो लगाउनेको महलमा आफ्नो घर वा सम्पत्तिमा आगो लगाउन पाउने छुट नदिएकाले घर भित्र मानिस रहेको जानी जानी आगो लगाएमा मानिस समेत मार्नाको नियतले आगो लगाएको ठहर्ने भन्ने फौ नं. ६३८, श्री ५ को सरकार बिरुद्ध भीम वहादुर भएको आगलागी चोरी मुद्दामा सर्वोच्च अदालतवाट प्रतिपादित सिद्धान्तको विपरित भएकाले प्रतिवादी दुतिराम चौधरीलार्ई सफाइ दिने गरी गरेको पुनरावेदन अदालत दिपायल मुकाम महेन्द्रनगरको फैसला त्रुटिपूर्ण भएकाले वदर गरी शुरु प्रहरी प्रतिवेदन माग दावी वमोजिम सजाय गरी पाउँ भन्ने वादी श्री ५ को सरकारको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।
१६. यसमा प्रतिवादी दुतिराम चौधरीको मात्र घर नभई जाहेरवाला समेतको संयुक्त हकको घर हुँदा त्यस्तो संयुक्त हकको घरमा आगो लगाएको क्रियालार्ई अपराधजन्य नै मान्नु पर्नेमा आफ्नो घरमा आगो लगाएकोले कसुर नठहर्याएको पुनरावेदन अदालत दिपायल मुकाम महेन्द्रनगरको इन्साफ फरक पर्ने देखिंदा अ.वं. २०२ नं. वमोजिम प्रत्यर्थी झिकाई आएपछि नियमानुसार पेश गर्नु भन्ने यस अदालत संयुक्त इजलासको मिति २०५३।१।१२ को आदेश ।
१७. नियम वमोजिम दैनिक मुद्दा पेशी सुचिमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी श्री ५ को सरकारको तर्फवाट उपस्थित हुनु भएका विद्वान उपसरकारी अधिवक्ता भोला चौलागाईले प्रतिवादीले रक्सी खाई लठ्ठ भई नसाको सुरमा घर भित्र मानिस भएको थाहा पाउँदा पाउदै ढोका थुनी आफूसँग भएको सलार्ईकोरी मानिस समेत मार्ने उद्देश्यले आगो लगाएको कुरा प्र.को वयान जाहेरी दरखास्त सर्जमिन मुचुल्का समेतवाट पुष्टि भै राखेको अवस्थामा प्रतिवादीलार्ई सफाइ दिने गरी भएको पुनरावेदन अदालत दिपायल मुकाम महेन्द्रनगरको फैसला वदर भै शुरु प्रहरी प्रतिवेदन माग दावी वमोजिम सजाय हुनुपर्छ भनी वहस गर्नु भयो ।
१८. उपरोक्त वहस जिकीर समेत सुनी मिसिल अध्ययन गरी विचार गर्दा प्र.ले जांड रक्सी खाई विवाह नगरी दिएको झोंकमा जाहेरवालाको घरमा ढोका थुनी आगो लगाई मानिस समेत मर्ने सम्मको काम गरी मु. ऐन आगो लगाउनेको १ नं. र ज्यान सम्वन्धीको महलको १ नं. को अपराध गरेको देखिन आएकोले आगो लगाउनेको महलको ५ नं. तथा ज्यान सम्वन्धीको १५ नं. वमोजिम सजाय गरी पाउँ भन्ने प्रहरी प्रतिवेदन माग दावी भएकोमा शुरु कैलाली जिल्ला अदालतले कसुर गरेको ठहर्याई दण्ड सजायको १ नं. वमोजिम सजाय नहुने ठहर्याई भएको फैसला केही उल्टी गरी प्रतिवादीलार्ई सफाइ दिने गरी भएको पुनरावेदन अदालत दिपायल मुकाम महेन्द्रनगरको फैसला मिलेको छ छैन ? सोही कुराको निर्णय दिनु पर्ने हुन आयो ।
१९. यसमा निणय तर्फ विचार गर्दा मुलुकी ऐन आगो लगाउनेको महलको ५ नं. मा "अर्काको घरमा आगो लगाएमा (यस महलको २ नं. वा ३ नं. ले सजाय हुने अवस्थाकोमा वाहेक) अरुमा आगो लगाउने र सो काममा मुख्य भै वचन दिने जतिलार्ई एकाघरको चार वर्ष र त्यसदेखि वढी घर एकको एक वर्षका दरले वढाई कैद गर्नु पर्छ" भन्ने व्यवस्था गरेको पाइन्छ । प्रतिवादी दुतिराम चौधरीले अर्काको घरमा आगो नलगाई आफू समेत वस्ने एका संगोलको घरमा आगो लगाएको र उक्त ५ नं. ले अर्काको घरमा आगो लगाएको भएमा मात्र सजाय हुने व्यवस्था गरेको देखिंदा प्रतिवादीले कसुर गरेको नठहर्याई अभियोगवाट सफाइ दिने ठहर्याएको पुनरावेदन अदालत दिपायल, मुकाम महेन्द्रनगरको फैसला मिलेकै देखिंदा वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी वुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.केदारनाथ आचार्य
इति सम्वत् २०५३ साल माघ १ गते रोज ३ शुभम्