शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६३७० - वाली मोही

भाग: ३९ साल: २०५४ महिना: भाद्र अंक:

निर्णय नं. ६३७०           ने.का.प.२०५४       अङ्क ५

संयुक्त इजलास

माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा

माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य

सम्वत् २०५१ सालको दे.पु. नं. ..२८४५

फैसला मितिः २०५३।४।२९।३

 

मुद्दा : वाली मोही ।

पुनरावेदक/वादीः जिल्ला पर्सा हरिहरपुर गाउँ विकास समिति वडा नं. २ वस्ने कन्चन देवी व्राम्हणी

विरुद्ध

प्रत्यर्थी/प्रतिवादीः जिल्ला पर्सा सुमौली गाउँ विकास समिति वडा नं. १ भवानीपुर वस्ने परमेश्वर महतो थारु

 

§  अड्डाको सामान्य भूलका कारणले मात्र फिरादीको कानूनन् हक अधिकारमा कुनै असर पर्न जाने अवस्था हुन नआउने ।           

(प्र.नं. १३)

§  फिरादमा पर्सां जिल्ला अदालतको नाम उल्लेख भएकै कारणवाट भूमि सुधार कार्यालय, पर्साले अधिकार विहिन निर्णय गर्यो भन्ने पुनरावेदन अदालत, हेटौडाको निर्णयाधारलार्ई मनासिव मान्न नमिल्ने । 

   (प्र.नं.१३)

पुनरावेदिकाको तर्फवाटः विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्ण प्रसाद भण्डारी, विद्वान अधिवक्ता श्री मो.शेख अव्वास

विपक्षी तर्फवाटः

अवलम्बित नजीरः

 

फैसला

            न्या. मोहन प्रसाद शर्माः पुनरावेदन अदालत हेटौडाको फैसला उपर पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार छः

            २. मेरो नाम दर्ताको जिल्ला पर्सा सुमौली गा.वि.स. वडा नं. २ कि नं. १०१ को ज.वि. १--१५ दोयम जग्गाको विपक्षी मोहीले ०४५।४६ सालको कुत वाली नदिएवाट पर्सा जिल्ला अदालतमा नालेश दिएकोमा उक्त अदालतवाट क्रमसः २०४६।७।३ र २०४७।५।५।३ मा कुत वाली भराइ दिने ठहर फैसला समेत भएको र यस २०४७ सालको वाली समेत विपक्षीले मलार्ई नवुझाएको र सम्वन्धित ठाउमा धरौट समेत नराखेकोले मैले पाउनु पर्ने २०४७ सालको उपरोक्त लेखिएको जग्गाको हुने कुत वाली धान मन १३ मन ३ किलोको प्रचलित वजार भाउ प्रतिमन १७२ ले हुने रु.२२४७।७० पैसा विपक्षीवाट दिलार्ई मोही निस्कासन गरी पाउँ भन्ने समेत व्यहोराको फिराद पत्र ।

            ३. दावीको कुत वाली २०४७।१०।२० गते साक्षीहरु समेतको रोहवरमा वादीलार्ई वुझाइ सकेको छु वदनियत चिताई झूट्टा नालेश दिएका हुन गरिवको निर्वाह गर्ने उक्त दावीको जग्गा मात्र भएकोले मोही हक सुरक्षा गरी फरेवी दावीवाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तर पत्र ।

            ४. पटक पटक वाली नवुझाएकोले दावीको जग्गावाट प्रतिवादीको मोही हक भूमि सम्वन्धि ऐन, २०२१ को दफा २९(१) वमोजिम निष्काशन हुने र भूमि सम्वन्धी ऐन, २०२१ को दफा २९(३) वमोजिम दावीको सालको कुतवाली समेत वादीले भरी पाउने ठहर्छ भन्ने समेत व्यहोराको मिति २०४८।८।१० को शुरु भूमिसुधार कार्यालय पर्साको फैसला ।

            ५. अ.वं. १८४ (क) ले मुख नमिलेको विषयमा साक्षी प्रमाण समेत वुझी ठहर गर्नु पर्नेमा सो प्रमाण नवुझी गरेको फैसला त्रुटिपूर्ण हुँदा वदर गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीको पुनरावेदन अदालत, हेटौडामा परेको पुनरावेदन पत्र ।

            ६. मुलुकी ऐन अ.वं. २९ नं. को क्षेत्राधिकार ग्रहण गरी पर्सा जिल्ला अदालतमा चढाएको व्यहोराको फिराद लिई गरेको शुरु भूमि सुधार कार्यालय, पर्साको निर्णय विचारणीय हुँदा छलफलको निमित्त अ.वं. २०२ नं. वमोजिम विपक्षी झिकाई आएपछि पेश गर्नु भन्ने समेत व्यहोराको मिति २०५०।८।१० को पुनरावेदन अदालत, हेटौडाको आदेश ।

            ७. वाली वुझाई सकेको छु भन्ने प्रतिउत्तर जिकिर भएपछि आवश्यक साक्षी प्रमाण वुझ्ने काम भूमि सुधार कार्यालय, पर्सावाट भएको पाइएन । पर्सा जिल्ला अदालतलार्ई सम्वोधन गरेको फिराद आफ्नो कार्यालयमा दर्ता गराई कानून विपरित अधिकार क्षेत्र ग्रहण गरी त्रुटिपूर्ण फिरादवाट मोही निष्कासन र वाली समेत भराउने गरेको भूमि सुधार कार्यालय पर्साको निर्णय कानून विपरित देखिंदा सो निर्णय उल्टी हुने ठहर्छ भन्ने समेतको पुनरावेदन अदालत, हेटौडाको मिति २०५१।२।१९ को  फैसला ।

            ८. फिरादमा पर्सा जिल्ला अदालतलार्ई संवोधन गरिएको भएता पनि सो फिराद कानून वमोजिम दर्ता हुने भूमि सुधार कार्यालय, पर्सामा दर्ता भइ सोही कार्यालयवाट निर्णय भएको अवस्थामा अधिकार क्षेत्रको त्रुटी भन्न  मिल्दैन । कार्यालयको समेत गल्तीले पक्षको हित नजाने भएकोले सोही आधार समेतमा शुरुको निर्णय उल्टी गरेको पुनरावेदन अदालत, हेटौडाको फैसला वदर गरी शुरु भूमि सुधार कार्यालय, पर्साको निर्णय सदर कायम होस् भनी वादीको यस अदालतमा परेको पुनरावेदन पत्र ।

            ९. यसमा वाली वुझाएको नवुझाएको लिखत कागज प्रमाणको आधारमा निर्णय हुने प्रकृतिको मुद्दामा वाली समेत नभराउने र वर्षेनी कुत वाली नवुझाउने मोहीलार्ई निष्काशन समेत नगर्ने गरेको पुनरावेदन अदालत, हेटौडाको फैसला नमिली इन्साफमा फरक  पर्ने हुँदा अ.वं. २०२ नं. वमोजिम विपक्षी झिकाई आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने समेतको यस अदालत संयुक्त इजलासको मिति २०५२।६।३० को आदेश ।

            १०. नियम वमोजिम आजको दैनिक पेशी सूचीमा चढी निर्णयार्थ यस इजलास समक्ष पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदिकाको तर्फवाट रहनु भएका विद्वान वरिष्ट अधिवक्ता श्री कृष्ण प्रसाद भण्डारी तथा विद्वान अधिवक्ता श्री मो. शेख अव्वासले फिरादमा अदालतको नाम लेख्दैमा दर्ता तथा कारवाही भूमि सम्वन्धी ऐन, २०२१ को दफा २९(१) वमोजिम अधिकार प्राप्त  निकाय भूमि सुधार कार्यालयमा भएकोले त्यतिकै आधारमा निर्णय उल्टी गरेको मिलेको छैन । फिराद जांची वुझी लिने दायित्व कारवाही गर्ने कार्यालयको पनि हो । त्यसमा पनि निर्णय हुनु अगावै संशोधन निवेदन समेत दिएको र मोहीले कानून वमोजिमको आफ्नो दायित्व समेत निर्वाह नगरेकोले निष्काशन गरेको भूमि सुधार कार्यालय, पर्साको निर्णय मिलेकोले सदर हुनुपर्छ भनी वहस गर्नु भयो ।

            ११. विद्वान कानून व्यवसायीहरुले गर्नु भएको उल्लेखित वहस जिकिरलार्ई दृष्टिगत गरी पुनरावेदन सहितको मिसिल अध्ययन गरी शुरु निर्णय उल्टी गरेको पुनरावेदन अदालत, हेटौडाको फैसला मिलेको छ, छैन वादीको पुनरावेदन जिकिर पुग्ने नपुग्ने के हो ? सो कुराको निर्णय दिनु पर्ने हुन आयो ।

            १२. निर्णय तर्फ हेर्दा प्रतिवादी मोही भएको पर्सा सुमौली गा.वि.स. वडा नं. २ कि.नं. १०१ को क्षेत्रफल १--१५ जग्गाको २०४७ सालको वाली नदिएकोले वाली दिलार्ई मोही निष्काशन गरी पाउँ भन्ने जग्गा धनी वादीको दावी वमोजिम प्रतिवादी मोहीलार्ई उल्लेखित जग्गाको मोहीवाट निष्काशन गरेको भूमि सुधार कार्यालय, पर्साको निर्णय उल्टी गरेको पुनरावेदन अदालत, हेटौडाको फैसला उपर वादीको यो पुनरावेदन पर्न आएको देखियो ।

            १३. पुनरावेदन अदालत, हेटौडाले शुरु भूमि सुधार कार्यालय, पर्साको निर्णय उल्टी गर्दा पर्सा जिल्ला अदालतलार्ई संवोधन गरेको फिराद लिई कानून विपरित अधिकार क्षेत्र ग्रहण गरी निर्णय गरेको भन्ने आधार लिएको देखिन्छ । सो सम्वन्धमा हेर्दा फिरादी कंचनदेवीले मेनेजर मिश्रलार्ई वारेश मुकरर गरेको र मिति २०४७।१२।१९ को सो वारेसनामा हेरिंंदा भूमि सुधार कार्यालय, पर्साको नाममा भएको, फिराद पनि सोही कार्यालयमा दर्ता रही सोही कार्यालयमा सनाखत समेत भएको देखिन्छ । भूमि सम्वन्धी ऐन, २०२१ को दफा २९ (१) को फिराद पनि भूमि सुधार कार्यालय मै कानून वमोजिम लाग्ने भन्ने पनि देखिन आउछ । यस अवस्थामा फिरादपत्रको फिराद प्रस्तुतकर्ताको महलमा सिर्फ पर्सा जिल्ला अदालत उल्लेख गर्दैमा कुनै असर नगर्नेमा पनि फैसला हुनु पुर्व कै अवस्थामा मिति २०४८।५।२७ मा उल्लेखित पर्सा जिल्ला अदालतको ठाउँमा भूमि सुधार कार्यालय, पर्सा गरी संशोधन गरी पाउन निवेदन समेत दिएको देखिन आएवाट अड्डाको सामान्य भूलका कारणले मात्र फिरादीको कानूनन् हक अधिकारमा कुनै असर पर्न जाने अवस्था हुन नआउने भएवाट फिरादमा पर्सा जिल्ला अदालतको नाम उल्लेख भएकै कारणवाट भूमि सुधार कार्यालय, पर्साले अधिकार विहिन निर्णय गर्यो भन्ने पुनरावेदन अदालत, हेटौडाको निर्णयाधारलार्ई मनासिव मान्न मिलेन ।

            १४. प्रतिवादीले उल्लेखित कित्ता जग्गाको ०४५।०४६ सालको वाली पनि नवुझाई आएको र यो २०४७ सालको वाली पनि वुझाएको वा कानून वमोजिम सम्वन्धित निकायमा धरौटी समेत राखेको नदेखिएवाट कानून वमोजिम आफ्नो दायित्व निर्वाह नगर्ने मोहीलार्ई निष्काशन गरी वाली समेत भराई दिने गरी भएको भूमि सुधार कार्यालय, पर्साको फैसला उल्टी गरेको पुनरावेदन अदालत हेटौंडाको मिति २०५१।२।१९ को फैसला नमिलेको उल्टी हुने ठहर्छ । दावी वमोजिम वाली भराई मोही समेत निष्कासन गर्ने गरेको शुरु भूमि सुधार कार्यालय, पर्साको मिति २०४८।८।१० को निर्णय मनासिव ठहर्छ । मिसिल नियम वमोजिम गरी वुझाई दिनु ।

 

उक्त रायमा मेरो सहमत छ ।

 

न्या.अरविन्दनाथ आचार्य

 

इति सम्वत् २०५३ साल साउन २९ गते रोज ३ शुभम

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु