निर्णय नं. ६३७१ - मोही निष्कासन कुत वाली

निर्णय नं. ६३७१ ने.का.प.२०५४ अङ्क ५
संयुक्त इजलास
माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा
माननीय न्यायाधीश श्री हरिश्चन्द्र प्रसाद उपाध्याय
सम्वत् २०५२ सालको दे.पु. नं. ..३२३१
फैसला मितिः २०५३।९।२३।३
मुद्दा : मोही निष्कासन कुत वाली ।
पुनरावेदक/वादीः जिल्ला उदयपुर जोगीदह गाउँ विकास समिति,वडा नं. ५ वस्ने ४२ को सुखेर चौधरी
विरुद्ध
विपक्षी/प्रतिवादीः जिल्ला सप्तरी, राजविराज नगरपालिका वडा नं. ४ वस्ने भवरलाल तातेड
§ प्रतिवादीको जिकिर अनुरुप यदि जग्गावाला वादीले वाली वुझ्न आलटाल गरे वा इन्कार गरे वा जग्गावाला नभेटिएको अवस्थामा कानून वमोजिम धरौट राख्न सकिने अवस्था छंदा छदै सो वमोजिम नगरी केवल वाली वुझाउन तयार छु भनी प्रतिवादीले भन्दैमा प्रतिवादी मोहीतर्फवाट कानून वमोजिम पूरा गरिनु पर्ने दायित्व पूरा भएको भनी भन्न नमिल्ने ।
(प्र.नं. १०)
§ वाली नवुझाएको कुरालार्ई पुनरावेदक स्वयंले स्वीकार गरेको स्थितिमा यस्तो म्यादभित्र जग्गाधनीलार्ई वाली नवुझाउने मोहीलाई यथावत राख्न न्यायोचित नहुने ।
(प्र.नं. १०)
निवेदक तर्फवाटः
विपक्षीतर्फवाटः
अवलम्बित नजीरः
फैसला
न्या.मोहन प्रसाद शर्माः पुनरावेदन अदालत, राजविराजको मिति २०५२।२।४ गतेको फैसला उपर प्रतिवादीको पुनरावेदन परी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छः
२. मेरो नाम दर्ताको जिल्ला उदयपुर गा.वि.स. जोगीदह वडा नं. ४ (क) कि.नं. ८३ को ०-१२-० अव्वल जग्गा प्रतिवादी मोही भई कमाई आएकोमा २०५० सालको कुत वाली मलार्ई नवुझाई कानून वमोजिम धरौटी समेत नराखेको हुँदा विपक्षीवाट उक्त जग्गाको कुत धान मन ९-०-० को हुने विगो रु. २४६०। विपक्षीवाट दिलाई भराई मोही निष्काशन समेत गरी पाउँ भन्ने समेत व्यहोराको वादी दावी ।
३. वादीलार्ई कुत वुझाउन नचाहेको छैन, वाली वुझी लिनु होस् भन्दा आउन फुर्सत छैन, म जहिले भएपनि वुझी दिन्छु भनी आलटाल गरी समय विताई वदनियतपुर्वक मेरा नाममा उजुर गरेका मात्र हुन् । म वाली वुझाउन तयारै छु भन्ने समेत व्यहोराको प्रतिउत्तर ।
४. प्रतिवादीले वुझाउनु पर्ने कुत नवुझाई धरौटी समेत राखेको नदेखिंदा कानून वमोजिम हुने कुत प्रतिवादीले वादीलार्ई वुझाउनु पर्ने ठहर्छ, मोही निष्काशन यो एक पटकलार्ई गरी रहनु परेन भन्ने समेत व्यहोराको भूमि सुधार कार्यालय, उदयपुरको मिति २०५१।६।१० को निर्णय ।
५. आफ्नो कर्तव्य पूरा नगर्ने मोहीलार्ई मोहियानी हकवाट निष्काशन समेत गर्नु पर्नेमा सो नगरी वाली मात्र भराउने गरेको शुरु भूमि सुधार कार्यालय, उदयपुरको त्रुटिपूर्ण फैसला सो हदसम्म वदर गरी मोही निष्काशन समेत गरी पाउँ भन्ने समेतको वादीको पुनरावेदन पत्र ।
६. शुरुको निर्णय भूमि सम्वन्धी ऐन, २०२१ को दफा २९(१) को सन्दर्भवाट फरक पर्ने देखिंदा प्रत्यर्थी झिकाई पेश गर्नु भन्ने पुनरावेदन अदालत, राजविराजको आदेश ।
७. भूमि सम्वन्धी ऐन, २०२१ वमोजिम मोहीले वुझाउनु पर्ने कुत प्रत्येक सालको तोकिएको समयमा वुझाई सक्नु पर्ने वा सम्वन्धित निकायमा धरौट राख्नु पर्नेमा सो वमोजिमको दायित्ववाट विमुख हुने मोहीलाई निष्काशन गरी कुत समेत भराउनु पर्ने, मोही हक यथावत राख्ने गरेको भूमि सुधार कार्यालय, उदयपुरको सो हदसम्म फैसला मिलेको नहुँदा आंशिक उल्टी हुने ठहर्छ भन्ने समेतको पुनरावेदन अदालत, राजविराजको मिति २०५२।२।४ गतेको फैसला ।
८. निष्काशन गर्नु पर्ने वाध्यात्मक व्यवस्था नभई भूमि सम्वन्धी ऐन, २०२१ को दफा २९ स्वविवेकीय अधिकार भएकोले अपराधको मात्रात्मकताको विवेचना नगरी निष्काशन हुने ठहर गरेको पुनरावेदन अदालत,राजविराजको उक्त फैसला त्रुटिपूर्ण हुँदा वदर गरी शुरु भूमि सुधार कार्यालयको निर्णय सदर कायम राखी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी सुखेर चौधरीको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।
९. नियम वमोजिम दैनिक पेशी सुचिमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन सहितको मिसिल फाइल अध्ययन गरी पुनरावेदकलार्ई मोहियानी हक समेतवाट निष्कासन गर्ने गरेको पुनरावेदन अदालत, राजविराजको फैसला मिलेको छ, छैन सोही विषयमा निर्णय दिनु पर्ने हुन आयो ।
१०. निर्णयतर्फ विचार गरी हेर्दा यसमा मेरो नाम दर्ताको कि.नं. ८३ को २०५० सालको वाली म्याद भित्र नवुझाएको धरौट पनि नराखेकोले प्रतिवादी मोहीलार्ई मोही निष्काशन गरी कुत वापतको रकम समेत भराईपाउँ भन्ने नै भूल फिराद दावी भएकोमा वादीलार्ई वाली नवुझाउने नियत गरेको होइन, वाली वुझाउन जांदा आलटाल गरी नवुझेकोले म वाली वुझाउन सदा तयार छु, मोही निष्काशन हुनुपर्ने होइन भन्ने प्रत्युत्तर जिकिर लिएको देखिन आएको छ । प्रतिवादीको जिकिर अनुरुप यदि जग्गावाला वादीले वाली वुझ्ने आलटाल गरे वा इन्कार गरे वा जग्गावाला नभेटिएको अवस्थामा कानून वमोजिम धरौट राख्न सकिने अवस्था छंदा छदै सो वमोजिम नगरी केवल वाली वुझाउन तयार छु भनी प्रतिवादीले भन्दैमा प्रतिवादी मोहीतर्फवाट कानूनवमोजिम पूरा गरिनु पर्ने दायित्व पूरा भएको भनी भन्न मिल्ने देखिएन । वाली नवुझाएको कुरालार्ई पुनरावेदक स्वयंले स्वीकार गरेको स्थितिमा यस्तो म्यादभित्र जग्गाधनीलार्ई वाली नवुझाउने मोहीलार्ई यथावत राख्न न्यायोचित नहुने हुँदा पुनरावेदक प्रतिवादीलार्ई मोहियानी हकवाट निष्काशन समेत गर्ने गरी शुरुको केही उल्टी गरी गरेको पुनरावेदन अदालत राजविराजको फैसला मिलेको देखिंदा मनासिव ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकीर पुग्न सक्दैन । दस्तूर रही पुनरावेदन दायर भएको देखिंदा केही गरी रहन परेन । मिसिल नियम वमोजिम गरी वुझाई दिनु ।
उक्त रायमा म सहमत छ ।
न्या.हरिश्चन्द्र प्रसाद उपाध्याय
इति सम्वत् २०५३ साल पौष २३ गते रोज ३ शुभम