निर्णय नं. ६३७३ - ज्यान मार्ने उद्योग

निर्णय नं.६३७३ ने.का.प.२०५४ अङ्क ५
संयुक्त इजलास
माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय
माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे
सम्वत् २०५१ सालको फौ.पु.नं. .... ९८५
फैसला मितिः २०५३।१२।१३।४
मुद्दा : ज्यान मार्ने उद्योग ।
पुनरावेदक/वादीः कटक वहादुर कार्कीको जाहेरीले श्री ५ को सरकार
विरुद्ध
विपक्षी/प्रतिवादीः जिल्ला उदयपुर गाउँ विकास समिति रामपुर ठोक्सिला वडा नं. ७ वस्ने भीम वहादुर खड्का समेत जम्मा ९
§ जाहेरवाला कटक वहादुरको घा जाँचको सम्वन्धमा स्वास्थ्य चौकी रामपुरको केश फाराममा ३५ दिनमा निको नहुने नीलडाम र लाठा ढुंगाको घाउ चोट परेको उल्लेख छ । त्यस्तै उदयपुर अस्पताल केश फराममा टाउकोमा १ह१र२, १र२ह१र४ काटेको घाउ दाहिने कानमा घाउ पिठमा नील डाम ३ वटा दाहिना हातमा चोट लागेको दुर्वै तिघ्रामा नीलडाम र घाटीमा चोट लागेको भन्ने व्यहोरा उल्लेख भई धार नभएको हतियार प्रयोग भई सामान्य प्रकारका घाइतेको स्थिति रहेको देखिन्छ यसरी दुवै घा जाँच फरामवाट घातक र धारीलो हतियारको प्रयोग भएको प्रमाणित भएको मान्न मिल्ने अवस्था नदेखिने ।
§ १८ जनाको जमातले मार्ने नियत भइ घाउ चोट छोडेका भए निज जाहेरवाला कटक वहादुरको ज्यान वच्न सक्ने अवस्था रहने स्थिति छैन । मारौं भन्ने नियत लिई मर्नसम्मको काम गर्दा अवरोध हुन गएकोले ज्यान मर्न नपाएको भन्ने कुरा प्रमाणित देखिन आउदैन । यस्तो स्थितिको वारदातलार्ई ज्यान मार्ने उद्योगको वारदात कायम गर्न मिल्ने नदेखिंने ।
(प्र.नं. २९)
पुनरावेदक तर्फवाटः उपर सरकारी अधिवक्ता श्री धनसिंह महरा
विपक्षी तर्फवाटः
अवलम्बित नजीरः
फैसला
केशव प्रसाद उपाध्यायः पुनरावेदन अदालत, राजविराजवाट मिति २०५१।३।२० मा भएको फैसला उपर पर्न आएको पुनरावेदन संक्षिप्त प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छः
२. मिति २०४५।८।४ गते वेलुका म रामपुर शनिवारे वजारवाट आफ्नो घरतर्फ गाउँ घुम्दै जाउँ भनी वडा नं. ३ वाट हुदै वडा नं. ६ र ७ को वीचमा पर्ने गरी खोलाको वगरमा वेलुकी ८ वजेको समयमा पुगेको थिएं । सो ठाउमा चित्र वहादुर खड्का, भीम वहादुर खड्का अशोक कुमार खड्का, वच्चे भन्ने खड्का, थामे दमाई, रत्न प्रसाद आचार्य, शशिधर आचार्य, डिक राज कटेल समेत जना ८ चिनेका र नचिनेका १० जना समेत १८ जनाको हुल भई हात हातमा लाठी, खुकुरी समेत लिई मलार्ई मार्नु पर्छ भन्ने षडयन्त्र गरी उक्त वाटो गरी आउने भन्ने कुरा पत्ता लगाई वाटो ढुकी वसेका रहेछन् । उक्त ठाउमा म पुग्नासाथ अभियुक्त भीम वहादुर खड्काले आयो तयार हौ मार भन्दा प्रतिवादीहरुले चारै तिरवाट घेरा हाली भाग्न उम्कन नसक्ने स्थिति वनाई अभियुक्त अशोक कुमार खड्काले मलार्ई कुटपीट गरेकाले प्रहरी गस्ती आइ विपक्षीहरुको पन्जावाट मलाई छुटाई मेरो ज्यान वच्न गएकोले निजहरुलार्ई पक्राउ गरी सजाय गरी पाउँ भन्ने समेत व्यहोराको जाहेरी दर्खास्त ।
३. मिति २०४५।८।४ गते वेलुका रामपुर शनिवारे वजारवाट जाहेरवालाको साथमा वारदात स्थलमा पुगेपछि भीम वहादुर खड्का समेत १० जना चिनेका र अन्य नचिनेका ८ जना समेत वाटो ढुकी वसी रहेका रहेछन् । निजहरु हुल भई हातमा लाठी, खुकुरी समेत लिई जाहेरवाला र मलाई घेरा हाली भाग्न उम्कन नदिई अशोक कुमार खड्काले जाहेरवाला मार्नु पर्छ भन्दै भीम वहादुर, चित्र वहादुर अशोक कुमारले खुकुरी प्रहार गरेर अन्य व्यक्तिहरुले लाठी ढुंगा प्रहार गरेका हुन् भन्ने परशुराम अधिकारीले गरेको कागज ।
४. मिति २०४५।८।४ गते वेलुका रामपुर ठोकसिला गा.पं वडा नं. ६ मा धान काट्न गएको थिएं । सो अवस्थामा जाहेरवालाले रत्न प्रसाद आचार्य र मलाइं दिएको धान लुटपीट मुद्दामा म्याद तामेल गर्ने कर्मचारी र कटक वहादुर मेरो घरमा आईमाईलाई घरमा नभेटेकाले वाटोमा गिनेरी खोलामा भीम वहादुर खड्का समेतले जाहेरवालालार्ई कुटपिट गरेको सुनेको हुँ, मैले कुटपिट गरेको होइन भन्ने कलाजित सार्कीले प्रहरीमा गरेको वयान ।
५. मिति २०४५।८।४ गते वेलुका डिक प्रसाद कटेलको घरमा शिक्षा अध्ययन गरी निज कै घरमा सुतेको थिएं । भोलिपल्ट गुरुङ चोकी गा.वि.स. परीक्षा दिन जांदा स्कूलमा विद्यार्थी साथीहरुले कुरा गर्दा जाहेरवालालार्ई गिनेरी खोलामा शिसुवालीले कुटपीट गरे भन्ने सुनेको हुँ को कसले कुटपिट गरे मलाई थाहा छैन भन्ने समेत मधु कृष्ण रिजालले प्रहरीमा गरेको वयान कागज ।
६.मिति २०४५।८।४ गते वेलुका म मेरै घरमा थिए । भोलिपल्ट गुरुङ चौकी गा.वि.स. स्कूलमा परिक्षा दिन जांदा विद्यार्थीले जाहेरवालालार्ई कुटपिट गरे भन्ने कुरा थाहा पाएको हुँ मैले कुटपिट गरेको होइन भन्ने प्रतिवादी डिक प्रसाद कटेलले प्रहरीमा गरेको वयान कागज ।
७. ठोकसिला गाउँ पंचायत वडा नं. ६ मा भएको जग्गाको धानवाली हेर्न जांदा कटक वहादुर कार्की समेतले सार्वजनिक अपराध गरेकाले कारवाही गरी पाउँ भन्ने वेसनाखती चित्र वहादुरले दिएको निवेदन पत्र ।
८. मिति २०४५।८।४ गते वेलुका राजपुर शनिवारे वजारवाट जाहेरवाला फर्की आउँदाका अवस्थामा प्रतिवादी चित्र वहादुर समेतले कुटेका चोट देखेको हो भन्ने अधिकांश सर्जमिनका व्यक्तिहरुको सर्जमिन मुचुल्का ।
९. यसमा प्रतिवादीहरुले जाहेरवाला कटक वहादुर कार्कीलाई ज्यान मार्ने उद्योग गरेकाले निजहरुलार्ई ज्यान सम्वन्धी महलको १५ नं. वमोजिम सजाय गरी पाउँ भन्ने समेत प्रहरी प्रतिवेदन माग दावी ।
१०. मिति २०४५।८।४ गते म घटनास्थलमा थिइन र मैले जाहेरवालालार्ई ज्यान मार्ने उद्देश्यले कुटपिट पनि गरेको छैन । भीम वहादुर समेतले कुटपीट गरेअरे भन्ने भोलिपल्ट गाउँ घरमा सुनेको हुँ भन्ने प्रतिवादी मान वहादुर सार्कीले अदालतमा गरेको वयान ।
११. मिति २०४५।८।४ मा मैले जाहेरवालालार्ई कुटपिट गरी ज्यान मार्ने उद्योग गरेको होइन भन्ने प्रतिवादी मधु कृष्ण रिजालको अदालतमा वयान ।
१२. मिति २०४५।८।४ गते मेरो परीक्षा हुँदा घरमा थिएं मैले जाहेरवालालार्ई कुटपीट गरी ज्यान मार्ने उद्योग गरेको होइन, छैन झुट्टा अभियोगवाट सफाइ पाउँ भन्ने प्रतिवादी डिक प्रसादको अदालतमा भएको वयान ।
१३. मिति २०४५।८।४ गतेका दिन म घटनस्थलमा पुग्दा जाहेरवाला रगताम्वे भई व्यहोस अवस्थामा थिए सो ठाउमा धमे दमाई, मीन वहादुर थिएं म १० हात फरकमा हुँदा के कुन हतियार थियो भन्ने सक्दिन भन्ने प्र.स.नि. तुल्सी प्रसाद आचार्यको वकपत्र ।
१४. प्रहरी ज.ह. वीरेन्द्र प्रसाद श्रेष्ठ र प्र. ज. मन कुमार राईको अदालतको वकपत्र ।
१५. मिति २०४५।८।४ गते म घटनास्थलमा नभई ऐ. ३ गते देखि ९ गते सम्म गाइघाट वजारमा वसिरहेछु । जाहेरवाला र मेरो दाजु भीम वहादुर क्षेत्रीय सदस्यमा उम्मेदवार भएका थिए । मैले दाजुको पक्षमा सहयोग गरेको कारणले राजनीति प्रतिसोधको कारणले झूट्टा जाहेरी दिएको र पशुराम अधिकारी गाउँ विकास समितिका उम्मेदवार थिए, मैले निजलार्ई सहयोग नगरी अर्को रुद्र खतिवडालार्ई सहयोग गरेको रिसको फसाउन झुट्टा कागज गरी दिएका हुन् भन्ने समेत व्यहोराको चित्र वहादुरको वयान ।
१६. मिति २०४५।७।२८ गते आफ्नो घरवाट भूटानतर्फ गई मिति २०४५।८।४ गते म फिलयिलिङ्मा छु । जाहेरवालालार्ई मैले कुटपीट गरी ज्यान मार्ने उद्योग गरेको होइन भन्ने समेत व्यहोराको प्रतिवादी शशिधर अचार्यको वयान ।
१७. म वारदात मितिमा भूटान गएको हुँदा जाहेरवालालार्ई ज्यान मार्ने उद्योग गरेको छुइन भन्ने समेत व्यहोराको प्रतिवादी रत्न प्रसाद आचार्यको अदालतमा वयान ।
१८. वारदात मितिमा म विराटनगर हुँदा जाहेरवालालार्ई कुटपिट गरी ज्यान मार्ने उद्योग गरेको होइन भन्ने समेत व्यहोराको प्रतिवादी अशोक कुमार खड्काको वयान ।
१९. मिति २०४५।८।४ गते विहान देखि वेलुका सम्म फत्तेपुर वजारमा हुँदा जाहेरवालालाई कुटपिट गरी ज्यान मार्ने उद्योग गरेको छैन भन्ने समेत व्यहोराको प्रतिवादी मीन वहादुर खड्काको वयान ।
२०. मिति २०४५।७।२८ गते घरबाट हिडि जिल्ला भोजपुर धारापानीमा वारदात मितिमा थिएं । म गाउँमा नहुँदा जाहेरवालालाई कुटपिट गरी ज्यान मार्ने उद्योग गरेको छैन भन्ने समेत व्यहोराको प्रतिवादी वच्चु खड्का भन्ने वच्चु खड्काको वयान ।
२१. सर्जमिनका मानिस यज्ञ प्रसाद चौलागाई, परशुराम अधिकारी, दुर्गा वहादुर र जाहेरवाला कटक वहादुर र प्रतिवादीका साक्षीहरुको वकपत्र ।
२२. प्रतिवादी भीम वहादुर खड्का, अशोक कुमार खड्का, वच्चु खड्का भन्ने वच्चु कैलाश खड्का, वालाजित भन्ने मान वहादुर सार्की र थामे दमाइले प्रहरी प्रतिवेदन दावी अनुसार ज्यान मार्ने उद्योग गरेको ठहर्छ र अन्य प्रतिवादीहरुले सफाइ पाउने ठहर्छ भन्ने समेत व्यहोराको उदयपुर जिल्ला अदालतको मिति २०४७।५।१ गतेको फैसला ।
२३. जाहेरवालाले आंग जिउमा परेको घा खत ज्यान मार्ने सम्मको छैन साधारण घा खत लार्ई ज्यान मार्ने सम्मको घा खत भन्न मिल्दैन तसर्थ शुरु जिल्ला अदालतको फैसला कानूनी त्रुटिपूर्ण भएको छ भन्ने समेत व्यहोराको प्रतिवादी भीम खड्का र प्रतिवादी थामे दमाईको पुनरावेदन पत्र ।
२४. जाहेरवालाको वकपत्र र जाहेरी दर्खास्त समेत सफाइ पाएको प्रतिवादीहरु उपर किटानी पोल गरेकोले शुरुको फैसला वदर गरी प्रहरी प्रतिवेदन माग दावी अनुसार सजाय गरी पाउँ भन्ने समेत व्यहोराको श्री ५ को सरकार तर्फको पुनरावेदन पत्र ।
२५. यसमा ज्यान मार्ने उद्योगको वारदात भयो भनेकोमा वारदातमा प्रयोग भएको साधन र वारदातको प्रकृति समेतवाट प्रतिवादीहरुको मनसाय जाहेरवाला कटक वहादुरलार्ई ज्यान मार्ने थियो भन्ने कुरा घा जाँच केश फारामवाट प्रमाणित हुन नसकेको अवस्थामा प्रतिवादीहरुले ज्यान मार्ने उद्योग गरे भनी ज्यान सम्वन्धी महलको १५ नं. वमोजिम ज्यान मार्ने उद्योगको वारदात कायम हुन सक्ने अवस्था नहुँदा प्रतिवादीहरुलाई ज्यान सम्वन्धीको १५ नं. वमोजिम ५ वर्ष कैद गर्ने सजाय गरेको उदयपुर जिल्ला अदालतको फैसला नमिलेको हुँदा उल्टी हुन्छ र प्रतिवादीहरुले आरोपित कसुरवाट सफाइ पाउने ठहर्छ । मिति २०४५।८।४ गतेको वारदात कुटपिटको वारदात ठहरिन आएको हुँदा कुटपीटको महल वमोजिम कारवाही किनारा गर्न जाहेरवालाले चाहेमा सकार गराई कारवाही गर्न सक्ने हुँदा मिसिल शुरु उदयपुर जिल्ला अदालतमा पठाई दिनु भन्ने व्यहोराको पुनरावेदन अदालत, राजविराजको मिति २०५१।३।२० गतेको फैसला ।
२६. पुनरावेदन अदालत राजविराजको फैसला कानूनी त्रुटिपूर्ण छ प्रतिवादीहरुले पीडित जाहेरवालालार्ई खुकुरी समेत प्रहार गरी कुटपीट गरी ज्यान मार्ने सम्मको काम गरेको भन्ने कुरा जाहेरवालाको किटानी जाहेरी र अदालतमा गरेको वकपत्र सर्जमिनका अधिकांश मानिसहरुको सर्जमिन र अदालतमा गरेको वकपत्र समेतवाट पुष्टि भइरहेको अवस्थामा प्रस्तुत वारदात कुटपीटको भनी प्रतिवादीहरुलार्ई सफाइ दिने ठहर्याएको उक्त फैसला नमिलेको हुँदा वदर गरी शुरु प्रहरी प्रतिवेदन माग दावी वमोजिम सजाय गरी पाउँ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारको पुनरावेदन पत्र ।
२७. नियम वमोजिम दैनिक पेशी सुचिमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक श्री ५ को सरकारको तर्फवाट महान्यायाधिवक्ताको कार्यालयवाट खटी आउनु भएका उप सरकारी अधिवक्ता श्री धनसिंह महराले मिति २०४५।८।४ गते प्रतिवादीहरुले ज्यान मार्ने उद्देश्यले जाहेरवाला कटक वहादुरलार्ई खुकुरी समेतले टाउकोमा हानी सख्त घाइते वनाएको अवस्थामा प्रहरीको गस्ती टोली मौकैमा आइपुगेकोले ज्यानै मार्न नसकेको तथ्य जाहेरवालाको किटानी वकपत्र प्र.स. तुल्सी प्रसाद समेतको किटानी वकपत्र घाउ जाँच केश फाराम समेतवाट पुष्टी भइरहेको अवस्थामा प्रतिवादीहरुलार्ई आरोपित कसुरवाट सफाइ दिई कुटपीटको वारदात ठहर्याएको पुनरावेदन अदालत, राजविराजको फैसला नमिलेकोले प्रहरी प्रतिवेदन माग दावी अनुसार प्रतिवादीहरुलार्ई सजाय होस् भन्ने समेतको जिकिर गर्नु भयो ।
२८. उप सरकारी अधिवक्ताले गर्नु भएको वहस जिकीर सुनी प्रस्तुत मुद्दाको मिसिल समेत अध्ययन गरी निर्णयतर्फ विचार गर्दा, यस्मा पुनरावेदन अदालत, राजविराजले गरेको फैसला मिले नमिलेको के रहेछ निर्णय दिनु पर्ने हुन आयो ।
२९. यसमा मिति २०४५।८।४ गते म रामपुर शनिवारे वजारवाट घर आउँदा गिनेरी खोलाको वगरमा वेलुकी ८ वजे आईपुग्दा सो स्थानमा चित्र वहादुर खड्का समेत ८ जना चिनेका र नचिनेका १० जना समेत १८ जनाको हुल भई हात हातमा लाठी खुकुरी समेत लिई मलार्ई मार्नु पर्छ भन्ने षडयन्त्र गरी वाटो ढुकी वसेका रहेछन् । उक्त ठाउँमा म पुग्नासाथ प्रतिवादीहरुले चारैतिरवाट घेरा हाली भाग्न उम्कन नसक्ने स्थिति वनाइ अभियुक्त अशोक कुमार खड्काले मलाई मार्ने नियतले खुकुरीले प्रहार गर्दा मेरो टाउको पछाडि गर्दन भन्दा माथि लाग्न गयो सो प्रहारवाट म गुहार भन्दै भूइमा लडें सवै अन्यायीहरुले मार्नु पर्छ भन्दै लाठी ढुंगा समेतले मेरो अंग प्रत्यङगमा निर्मम तरिकावाट कुटपीट गरे, म व्यहोस अवस्थामा पुगें । म सँग गएको परशुरामलार्ई समेत अन्यायीहरुले कव्जामा लिए, गुहारको आवाज सुनी प्रहरी गस्ती गर्दै आई विपक्षीहरुको पन्जावाट मलाई छुटाई मेरो ज्यान वच्न गएकोले निजहरुलार्ई पक्राउ गरी सजाय गरी पाउँ भन्ने समेत व्यहोराको कटक वहादुर कार्कीको जाहेरी दरखास्त पर्न आई प्रस्तुत मुद्दाको कारवाही प्रारम्भ भएको देखिन्छ । मिति २०४५।८।४ गतेको वारदात कुटपीटको वारदात ठहर्याई प्रतिवादीहरुलार्ई आरोपित कसुरवाट सफाइ दिने गरेको पुनरावेदन अदालत, राजविराजको फैसला उपर चित्त नवुझी प्रहरी प्रतिवेदन माग दावी अनुसार सजाय होस् भनी वादी श्री ५ को सरकारको पुनरावेदन पर्न आएको देखियो । जाहेरवाला कटक वहादुरको घा जाँचको सम्वन्धमा स्वास्थ्य चौकी रामपुरको केश फाराममा ३५ दिनमा निको नहुने नीलडाम र लाठा ढुंगाको घाउ चोट परेको उल्लेख छ । त्यस्तै उदयपुर अस्पताल केश फाराममा टाउकोमा १x १/२", १/२x१/४" काटेको घाउ दाहिने कानमा घाउ पिठमा नील डाम ३ वटा दाहिना हातमा चोट लागेको दुवै तिघ्रामा नीलडाम र घाटीमा चोट लागेको भन्ने व्यहोरा उल्लेख भइ धार नभएको हतियार प्रयोग भई सामान्य प्रकारका घाइतेको स्थिति रहेको देखिन्छ यसरी दुवै घा जाँच फरामवाट घातक र धारीलो हतियारको प्रयोग भएको प्रमणित भएको मान्न मिल्ने अवस्था देखिएन । जाहेरवालाको लेखाइवाट जाहेरवाला एक्लै नभई साथमा परशुराम समेत रहेको प्रतिवादीहरु चिनेको ८ जना नचिनेका १० जना समेत गरी १८ जनाको जमात रहेको गुहारको आवाज सुनी प्रहरी गस्ती टोली आएवाट प्रतिवादीहरु भागी गएकोले ज्यान मार्न नपाएको भन्ने भनाइ छ । १८ जनाको जमातले मार्ने नियत भई घाउ चोट छोडेका भए निज जाहेरवाला कटक वहादुरको ज्यान वच्न सक्ने अवस्था रहने स्थिति छैन । मारौं भन्ने नियत लिई मर्नसम्मको काम गर्दा अवरोध हुन गएकोले ज्यान मर्न नपाएको भन्ने कुरा प्रमाणित देखिन आउदैन । यस्तो स्थितिको वारदातलार्ई ज्यान मार्ने उद्योगको वारदात कायम गर्न मिल्ने देखिएन । अतः वारदातको प्रकृति र जाहेरवालालाई लागेको घा खतको प्रकृतिको अधारमा पुनरावेदन अदालत, राजविराजले कुटपीटको वारदात कायम गरी निज प्रतिवादीहरुलार्ई आरोपित कसुरवाट सफाई दिने गरेको फैसला मिलेकै देखिंदा सदर हुन्छ । वादी श्री ५ को सरकारको पुनरावेदन जिकीर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी वुझाई दिनु ।
उक्त रायमा मेरो सहमती छ ।
न्यायाधीश इन्द्रराज पाण्डे
इति सम्वत् २०५३ साल चैत्र १३ गते रोज ४ शुभम