शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६३८३ - अंश ।

भाग: ३९ साल: २०५४ महिना: भाद्र अंक:

निर्णय नं.६३८३            ने.का.प.२०५४       अङ्क ५

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य

माननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा

सम्वत् २०५२ सालको दे.पु. नं.  ..२६५९

फैसला मितिः २०५३।९।२४।४

 

मुद्दाः अंश ।

पुनरावेदक/प्रतिवादीः वांके जिल्ला नेपालगन्ज नगरपालिका वडा नं. १४ वस्ने आयसाजस गढनीकोको मु.स.गर्ने निजको एकाघर संगोलको छोरा ऐ.ऐ. वस्ने वर्ष २६ को मकवुल अहमद जसगढ ।

                                     विरुद्ध                     

प्रत्यर्थी/वादीः ऐ. वस्ने नुर अहमद जसगढ समेत जना ३ ।

 

·         मिति २०३९।२।२५ को लिखतको कैफियत व्यहोरामा केही उल्लेख भएको नदेखिएको तर उक्त लिखतमा साक्षी वसेका मिठू जसगढको नाम थर, वतन लेखि पछाडि यो रकम दाइजोको हो भनी जनिएको भएवाट दाइजोकै रहेछ कित भन्नलाई मुलतः घर जग्गा खरिद गर्ने मुख्य व्यक्ति आयसा जसगढनी स्वयंले सो कुराको स्पष्ट जिकीर समेत लिन नसकेको अवस्थामा साक्षीको नाम थर वतन पछाडि लेखिएको त्यस्तो व्यहोरा साक्षीलार्ई आधार मान्न मिल्ने स्थिति देखिन नआउने ।     

(प्र.नं. १५ )

§  लिखतमा दाइजोको रकमवाट खरिद भएको भन्ने स्पष्ट उल्लेख भएकै अवस्थामा पनि सो साक्षीको उक्त व्यहोराकै आधारमा मात्र दाइजोकै सम्पत्ति रहेछ भनी मान्न मिल्ने देखिन नआउने ।                

(प्र.नं.१५)

§  वस्तुतः दाइजोको सम्पत्ति हो भनी जिकिर लिने व्यक्तिलेनै कसवाट कहिले के कति सम्पति वा रकम दाइजो पाएको हो र सोही सम्पत्ति तथा रकमवाटै उल्लिखित घर जग्गा खरिद भएको हो भनी तथ्ययुक्त प्रमाण समेत दिन सक्नु पर्ने ।     

      (प्र.नं. १५)

 

 

पुनरावेदक तर्फवाटः विद्वान अधिवक्त राधेश्याम अधिकारी

विपक्षी तर्फवाटः

अवलम्बित नजीरः

 

फैसला

            न्या. अरविन्दनाथ आचार्यः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ को उपदफा (१) को खण्ड (ग) वमोजिम पुनरावेदन अदालत नेपागंजको फैसला उपर पर्न आएको प्रस्तुत पुनरावेदन सहितको संक्षिप्त तथ्य निम्नानुसार छ ।

            २. प्रतिवादी मिठू जसगढका ४ छोरा प्र. मकवुल अहमद हामी वादी नुर अहमद, हवीव अहमद, रसिद अहमद समेत भएको प्र. फुन्नन जसगढनी प्र.मिठू जसगढको पत्नी हुन । प्र. आयसा जसगढ, प्र. मकवुल अहमदको पत्नी हुन हामीहरु र प्र. हरु एकासगोलका अंशियार हो । प्रतिवादीहरुले हामीलार्ई राम्रो सँग खान लाउन पनि दिदैनन् । काम गर्दैनौ भनी प्र. हरुले हामी माथि झुट्टा आरोप लगाई ०४५।११।५ गते घरवाट निकाला गरी दिए । हामीहरुको अंश हक छुट्याई दिनु भनी पटक पटक भन्दा अंश दिन इन्कार गरेकाले फिराद गरेका छौं । प्र.हरुवाट अंश फाँटवारी लिई ६ खण्डको ३ खण्ड अंश हामीहरुलार्ई प्र.हरुवाट दिलार्ई पाउँ भन्ने समेत वादी दावी ।

            ३. प्र. मध्ये म मकवुल अहमद जसगढको व्यहोरा के हो त भने घरको मुख्य मेरा वावु मिठठू जसगढ र आमा फुन्नन जसगढ उपर अंश मुद्दाको फिराद दायर २०३९ साल पौषमा गरेको थिएं । सो मुद्दा २०४० साल आषाढ ३० मा खारेजी फैसला भएको कुरा २०४६।२।२१ मा नक्कल लिंदा मलार्ई जानकारी हुन आयो सो फैसला उपर श्री भेरी अञ्चल अदालतमा पुनरावेदन गर्ने २०३८ साल चैत्र महिनादेखि म अलग वसी  आएको छु, प्र. मध्ये म आयशा जसगढको व्यहोरा यो छ कि मेरो पति मकवुल जसगढ र मलार्ई ससुरा सासुले खान लाउन नदिई ०३८ चैत्रमा घरवाट निकाला गरेपछि अलग वसेकी छु । वादीहरुले हामीवाट अंश पाउनु पर्ने होइन, हामीहरु उपरको अंश दिलार्ई पाउँ भन्ने वादीको मुद्दा खारेज गरी पाउँ भन्ने समेत प्र.मकवुल अहमद समेतको संयुक्त प्रतिउत्तर पत्र ।

            ४. फिरादीले प्रकरण नं. १ मा उल्लेख गरेको पुस्ता एकदम सत्य हो । वादीले दावी लिएको आधारमानै हामी प्र.हरु एकासगोलका अंशियार रही आएका छौं । प्र. मकवुल अहमद वादी नुर अहमद जसगढका नाउँमा कर कार्यालय नेपालगंजमा द.नं. ३८०।११६५ फायल नं. ४६, ५७।२३।४ मिति २०३९।९।२० वाट आल्मूनियम र तयारी भांडा कांस पितल समेत खुद्रा विक्री गर्ने भनी व्यापारको कारोवार समेत संगोलमानै भई आएको प्र. मकवुलले २०३९ साल पौष महिनामा वांके जिल्ला अदालतमा अंश पाउने फिराद गरेको थिए हामी प्रतिवादीहरुले अंश मुद्दामा प्रतिवाद गरेका थियौ र अंश मुद्दामा वादी प्रतिवादी सवैले तारिख गुजारी वसेकोवाट पनि प्रमाणित भएको प्रष्ट छ । रमजान अली जसगढ दुवरी भन्ने मोहम्मद अली जसगढले मिठू र  मकवुल जसगढलार्ई प्रतिवादी वनाई ०४४।४।१० गते वांके जि.अ.मा दायर गरेको अंश मुद्दामा ०२३।९।१५ गते देखिनै रमजान अली जसगढ समेत सँग छुट्टी भिन्न भै वसी आएका छौं । म मिठठू र मकवुल अहमदले संयुक्त प्रतिउत्तरपत्र दाखिला गरेका थियौं । वादीहरुले प्रतिवादीसँग अंश माग गरेको छैनन् । झूट्टा मुद्दावाट हामीलार्ई फुर्सद दिलार्ई हक इन्साफ गरी पाउँ भन्ने समेत प्र. मिठठू जसगढ समेतको संयुक्त प्रतिउत्तर पत्र ।

            ५. वांके जि.अ.वाट मिति २०४६।५।२७।३ मा भएको मुलतवी आदेश र मिति २०४७।३।६ गतेको मुलतवीवाट जगाएको आदेश ।

            ६. वादी तथा प्रतिवादीहरु एकासंगोलको अंशियार भएकोमा कुनै विवाद नदेखिएको यसै लगाउको वादी मकवुल अहमद प्र.मिठठू जसगढ समेत भएको दे.नं. ११९१ को अंश मुद्दामा प्र. आयशाको नाममा रहेको घर जग्गा निजको दाइजो सम्पत्तिवाट खरिद गरेको देखिन आएको अन्यथा प्रमाणित नभएसम्म स्त्री अंश धन महलको ५ नं. अनुसार निजको निजी आर्जन भएको र सो वाहेक वादी तथा प्रतिवादीले दाखिला गरेको तायदाती फाँटवारीको सम्पूर्ण सम्पति सगोलको देखिएको भन्ने यसै वेन्चवाट निर्णय भएको र सोही सम्पति यस मुद्दामा पनि प्र.हरुवाट फाँटवारीको रुपमा पेश भएको र वादीहरुले सोहीवाट अंश पाउने देखिंदा प्र. आयसाको नाममा रहेको र जग्गा निजको निजी आर्जनको देखिंदा, सो वाहेक प्र.हरुले दाखिला गरेको तायदाती फाँटवारीमा उल्लेख गरेको सम्पत्तिको ६ खण्डको ३ खण्ड वादीहरुले प्रतिवादीहरुवाट अंश दिलार्ई भराई पाउने ठहर्छ भन्ने समेतको वांके जि.अ.को मिति ०४९।५।९।३ को फैसला ।

            ७. प्र. आयसाको नाममा रहेको घर जग्गा निजको दाइजो सम्पतिवाट खरिद भएको कुरा गलत हो सो घर जग्गा संगोलको धनवाट खरिद गरिएकोले उक्त घर जग्गा वण्डा लाग्ने गरी हक इन्साफ गरी पाउँ भन्ने समेत व्यहोराको हवीव अहमद जसगढ समेतको पुनरावेदन माग जिकीर।

            ८. ०३९ सालमा वाजे अकवरवाट प्राप्त गरेको शेषपछिको वक्सपत्रद्वारा  प्राप्त गरेको घर जग्गालार्ई संगोलको सम्पत्ति कायम गरी वण्डा लाग्ने गरी गरिएको सम्मको उक्त फैसला मिलेको छैन मानो छुट्टिएको मिति पछि स्वामित्व प्राप्त हुन आएको सो घर जग्गामा मेरो एकलौटी हक हुने भै वण्डा लाग्नै नसक्ने हुँदा शुरु फैसला वदर गरी मेरो एकलौटी कायम गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी मकवुल अहमद जसगढको पुनरावेदन जिकीर ।

            ९. मैले आफ्नो निजी पेवाको रुपैयावाट खरिद गरेको जग्गामा दाइजो पेवाको सम्पतिवाट घर वनाएकीले वण्डा गर्नु पर्ने होइन । सो सम्पत्तिमा समेत वण्डा लाग्ने गरी भएको फैसला वमोजिम वण्डा लाग्नु पर्ने होइन भन्ने प्रतिवादी फुन्नन जसगढनी र मिति २०३९।२।२५ मा आयसा जसगढको रजिष्ट्रेशन पारित गरेको सो घर आयसा जसगढको दाइजोको सम्पत्ति होइन मलार्ई झूक्याई मकवुल अहमदले विकाता राजिनामामा सहीछाप गराएका हुन, प्र. आयसा जसगढको नाममा दर्ता रहेको सम्पत्तिमा वण्डा लाग्नु पर्ने हो । मेरो नीजि खरिद सम्पत्तिमा वण्डा लाग्नु पर्ने  होइन । वांके जि.अ.को फैसला वदर वातिल गरी आयसाको नामको सम्पति वण्डा लाग्ने र मेरो नामको सम्पत्ति वण्डा नलाग्ने गरी हक इन्साफ पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी मिठठू जसगढको पुनरावेदन जिकीर ।

            १०. यसमा प्रत्यर्थी प्रतिवादी आयसा जसगढनीको नाउँ दर्ताको मिति २०३९।२।२५ को पारित राजिनामा अनुसार खरिद गरी लिएको भनेको घर जग्गा दाइजोको रकमवाट खरिद गरेको भन्ने कुरा पुष्टि हुने अधिकारिक सवुद प्रमाणको अभावमा निजको नीजि आर्जनको ठहर्‍याई सो सम्पत्तिमा वादी पक्षको अंश हक नलाग्ने भनी ठहर गरेको शुरु वांके जिल्ला अदालतको इन्साफ फरक पर्न सक्ने देखिएकोले अ.व. २०२ नं तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७, ४८ वमोजिम छलफलको लागि विपक्षी आयसा जसगढनीलार्ई झिकाई उपस्थित भएमा वा म्याद गुजारेपछि यसै लगाउको दे.पु.नं. ३२१।८००, ३२३।८०२ को अंश मुद्दाहरु फौ.पुू.नं. २५।८३ र १२६।३६३ को जालसाजी मुद्दाहरु तथा दे.पु.नं. ३२४।८०३ को वहाल दिलार्ई घर खाली गराई पाउँ भन्ने मुद्दा र दे.पु.नं. ३२६।८०६ को हर हिसाव गरी पाउँ भन्ने मुद्दाहरु समेत साथै राखी नियमानुसार पेश गर्नु भन्ने मिति ०५१।१।११।१ मा भएको आदेश ।

            ११. प्रतिवादी मकवुल अहमदको शेषपछिको वक्सपत्रको सम्पत्ति तथा प्रतिवादी फुनन्नको नाउँको सम्पत्ति लगायत फाटवारीको अन्य सम्पतिमा वादीहरुलार्ई अंश दिलाएको सम्म वांके जिल्ला अदालतको इन्साफ मनासिव भै प्रतिवादी आयसाको नाउँमा रहेको ०३९।२।२५ को लिखतको घर जग्गा तथ्यपूर्ण प्रमाणको अभावमा दाइजोवाट खरिद गरेको निजको निजी हकको भनी वादीहरुको अंश नलाग्ने ठहर्‍याएको उक्त फैसला त्रुटिपूर्ण हुँदा सो हदसम्म केही उल्टी हुने र सो सम्पति संगोलको आर्जनको हुँदा अन्य अंशियार वादीहरुले समेत दावी वमोजिम ६ खण्डको ३ खण्ड अंश पाउने ठहर्छ भन्ने समेत पुनरावेदन अदालत नेपालगन्जको फैसला ।

            १२. पुनरावेदन अदालत नेपालगन्जको फैसलामा कानूनी त्रुटिपूर्ण भएकोले वदर गरी शुरु का.जि.अ.को फैसला सदर गरी पाउँ भन्ने समेतको प्रतिवादी मकवुल अहमद जसगढको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।

            १३. नियम वमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढी निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको पुनरावेदन सहितको मिसिल अध्ययन गरी पुनरावेदक तर्फका विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारीले यसै मुद्दाको लगाउको मकवुल अहमद जसगढ वादी भएको घर वहाल मुद्दाका प्रतिवादी मिठुूले पारित लिखतमा साक्षी वसी यो जग्गा आयसाको दाइजोवाट खरिद गरेको भन्ने कुरा कुरा सो लिखतमा उल्लेखित छ । अकवर भिन्न भै सकेपछि मकवुललार्ई शेषपछिको वक्सपत्र गरी दिएकोवाट अंश नलाग्नेमा लाग्ने गरेको पुनरावेदन अदालत नेपालगन्जको   फैसला त्रुटिपूर्ण हुँदा विपक्षीलार्ई झिकाउनु पर्दछ भनी गर्नु भएको वहस समेत सुनीयो ।

            १४. आज निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत मुद्दामा पुनरावेदन अदालत नेपालगंजको फैसला मिलेको छ छैन ? सो को निर्णय दिनु परेको छ ।

            १५. निर्णयतर्फ विचार गरी हेर्दा यसमा प्र. आयसा जसगढनीको नामदर्ताको मिति २०३९।२।२५ को पारित राजिनामा वमोजिमको घर जग्गा समेत वण्डा लाग्ने हो होइन भन्ने नै मुख्य प्रश्न उपस्थित रहेको देखियो ।

उल्लेखित मिति २०३९।२।२५ को लिखतको कैफियत व्यहोरामा केही उल्लेख भएको नेखिएको तर उक्त लिखतमा साक्षी वसेका मिठू जसगढको नाम थर, वतन लेखि पछाडी यो रकम दाइजोको हो भनी जनिएको भएवाट दाइजोकै रहेछ कित भन्न लाई मुलतः घर जग्गा खरिद गर्ने मुख्य व्यक्ति आयसा जसगढनी स्वयंले सो कुराको स्पष्ट जिकीर समेत लिन नसकेको अवस्थामा साक्षीको नाम थर वतन पछाडी लेखिएको त्यस्तो व्यहोरा साक्षीलार्ई आधार मान्न मिल्ने स्थिति देखिन आउदैन । त्यस्मा पनि उक्त साक्षीको नाम पछाडि जनिएको सो व्यहोरा झूक्याई जालसाजवाट भएको भन्ने उक्त साक्षीको जिकीर भई जालसाजी मुद्दानै परेको अवस्था समेत देखिन्छ । अतः मुख्यरुपले उक्त लिखतमा दाइजोको रकमवाट खरिद भएको भन्ने स्पष्ट उल्लेख भएकै अवस्थामा पनि सो साक्षीको उक्त व्यहोराकै आधारमा मात्र दाइजोकै सम्पत्ति रहेछ भनी मान्न मिल्ने देखिन आउदैन । वस्तुतः दाइजोको सम्पत्ति हो भनी जिकिर लिने व्यक्तिलेनै कसवाट कहिले के कति सम्पति वा रकम दाइजो पाएको हो र सोही सम्पत्ति तथा रकमवाटै उल्लिखित घर जग्गा खरिद भएको हो भनी तथ्ययुक्त प्रमाण समेत दिन सक्नु पर्छ । प्रस्तुत मुद्दामा प्र. आयसा जसगढनीको दाइजोको रकमवाटै खरिद भएको भन्ने तत्सम्वन्धी तथ्ययुक्त कुनै प्रमाण पेश हुन आएको नदेखिएको अवस्थामा उल्लिखित राजिनामा वमोजिमको घर जग्गा प्र. आयसा जसगढनीको दाइजोकै रहेछ भनी मान्न मिल्ने देखिन आएन । अतः उल्लिखित लिखतमा प्र. मिठू जसगढले साक्षी वसी यो रकम दाइजोको हो भन्ने व्यहोरा जनाएको समेतवाट सो लिखत वमोजिमको घर जग्गा प्र. आयसा जसगढनीले दाइजोको रकमवाट खरिद गरेको हुँदा निजको नीजि आर्जनको मान्न पर्ने भन्ने विद्वान अधिवक्ताको वहस जिकीरसँग यो इजलास सहमत हुन सकेन । पुनरावेदन अदालत नेपालगंजको फैसलामा उल्लेख भएका अन्य वुँदा आधार समेतवाट प्र. आयसा जसगढनीले मिति २०३९।२।२५ को पारित राजिनामा खरिद गरिएको घर जग्गा समेत सगोलको भई वण्डा लाग्नेवाट सो घरजग्गा वण्डा नलाग्ने गरेको शुरु जि.अ.वाट भएको फैसला केही उल्टी गरि सो लिखत वमोजिमको घर जग्गा समेत ६ खण्डको ३  खण्ड वण्डा लाग्ने ठहराएको इन्साफ मनासिव ठहर्छ । पुनरावेदन जिकीर पुग्न सक्दैन । प्रतिवादी मकवुल अहमद जसगढले पुनरावेदन गर्दा पु.वे.अ. नेपालगंजले वादीले भरी पाउने ठहर्‍याएको कोर्ट फि. रु.१९०। पुनरावेदन अदालत नेपालगंजमा धरौट राखेको देखिंदा कानूनका म्याद भित्र दरखास्त परे कानून वमोजिम वादीलार्ई भराई दिनु भनी शुरु जिल्ला अदालतमा लगत दिई मिसिल नियमानुसार वुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. हरि प्रसाद शर्मा

 

इति सम्वत् २०५३ साल पौष १४ गते रोज ४ शुभम

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु