निर्णय नं. ६३९२ - अंश

निर्णय नं. ६३९२ २०५४, ने.का.प. अङ्क ६
संयुक्त इजलास
माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल
माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा
सम्वत् २०५३ सालको दे.पु.नं. ......... १९४१
फैसला मितिः ०५४।३।२३।२
मुद्दाः अंश ।
पुनरावेदक/प्रतिवादीः जिल्ला महोत्तरी, हलखोरी गा.वि.स. वडा नं. ३ वस्ने राम एकवाल ठाकुर वडही समेत २ जना ।
विरुद्ध
विपक्षी/वादीः ऐ.ऐ.वस्ने राजेश्वर ठाकुर वडही समेत २ जना ।
§ वादीहरुले वाबु वृजलालको नामको जग्गा नामसारी दर्ता गराई लिई अलग अलग भोग चलन गरेको नदेखिएको प्रतिवादी नन्द ठाकुर र निजका छोराले यो यस्तो ज्ञान सिपवाट निजी आर्जन गरी जग्गा खरिद गरेको भन्ने कुराको कुनै ठोस सवुद प्रमाण पेश ह’न आएको नदेखिंदा संगोलका अंशियार निजका छोराको नाममा दर्ता रहेको जग्गा समेत वण्डा गर्ने गरेको पुनरावेदन अदालत जनकपुरको, इन्साफलाई अन्यथा मान्न नसकिने ।
(प्र.नं.११)
पुनरावेदक तर्फवाटः विद्वान अधिवक्ता श्री शिवानन्द दास सरस ।
विपक्षी तर्फवाटः x
अवलम्वित नजीरः x
फैसला
न्या.लक्ष्मण प्रसाद अर्यालः पुनरावेदन अदालत जनकपुरको मिति २०५०।३।३० को फैसला उपर प्रतिवादीको तर्फवाट दायर हुन आएको प्रस्तुत पुनरावेदनको संक्षिप्त व्यहोरा एवं निर्णय यस प्रकार छ :
२. प्र.वृजलाल हाम्रो वुवा र नन्द ठाकुर दाजु, राम एकवाल भतिजो हुन । वावुको ३ छोरामा जेठा नन्द ठाकुर, माइला म फिरादी धनेश्वर कान्छा फिरादी राजेश्वर हो । हामी संगोलमै छौं । परिवार वढन गै मेल नभएकोले ०४६।१।२६ गते अंश माग्दा अंश छैन भनी खान लाउन समेत नदिएकोले आमा परलोक भै सक्नु भएकोले विपक्षीहरुवाट फाँटवारी लिई ४ खण्डको २ खण्ड अंश छुट्टयाई पाउँ भन्ने समेत व्यहोराको फिराद पत्र ।
३. प्र. म. नन्द ठाकुर, छोरा रामएकवाल र फिरादीहरु संगोलमा छैनौं । वुवा वृजलाल म नन्द ठाकुरलाई ०२३ सालमै १ कठ्ठा जग्गा दिई छुट्टयाई अलग गरी दिनु भएकोले सोही जग्गामा घर वनाई भोग गरी आएको छु । वादीको दावी अ.वं. ८२ र अंश वण्डाको महलको ३० नं. प्रतिकूल हो । भिन्न भएपछि छोराहरुहरुले भारत गोहाटी आसाममा गै फर्निचरको काम गरी कठोर परिश्रमवाट राम एकवालले आर्जन गरेको कि.नं. २५७, को ०-२-१४ कि.नं. २१ को ०-२-० कि.नं. २२६ को ०-८-४, कि.नं. ६४ को ०-३-११ १/२, कि.नं. ५५२ को ०-१-५ जग्गा वण्डा हुने होइन । अंश दिनु पर्ने पनि होइन भन्ने समेत प्र.नन्द ठाकुर, राम एकवालको प्रतिउत्तर पत्र ।
४. मैले अंश दिन इन्कार गरेको छैन । खान लाउन दिई राखेकै छु । जेठो छोरा, नन्द ठाकुरले मात्र वेइमान गर्न खोजेको हो । निजको छोराको नाउँको जग्गा संगोलको सम्पत्ति हो । सो सम्पत्तिमा अंश दिन चाही रहेको छैन भन्ने समेत वृजलालको प्रतिउत्तर पत्र ।
५. घरसारमा अंश छुट्टयाई आ(आफ्ना नाउँमा दा.खा. दर्ता समेत गराई भोग विक्रि व्यवहार समेतवाट छुट्टि अंश व्यवहार समेतवाट छुट्टी अंश भै सकेको देखिंदा अंश पाउ भन्ने वादी दावी पुग्न सक्दैन भन्ने समेत शुरु म.जि.अ.वाट ०४८।८।१६।२ मा भएको फैसला ।
६. दाजु नन्द ठाकुरको छोरा राम एकवालको नाउँमा जग्गा राजिनामा हुदैमा वावु वृजलालले अंश हुन वांकी नै भएको कुरा स्वीकार गर्दा गर्दै अंश नपाउने गरी भएको फैसला वदर गरी दावी अनुसार अंश दिलाई पाउँ भन्ने समेत वादीको पुनरावेदन पत्र ।
७. अंश वण्डा भै सकेको भन्ने कुराको भरपर्दो प्रमाण गुज्रन नआएको जग्गा छुट्टै दर्ता भएको आधारले मात्र वण्डा भै सकेको भन्न सकिने अवस्था नभएवाट छलफल निमित्त अ.वं. २०२ नं. वमोजिम विपक्षी झिकाई पेश गर्नु भन्ने पुनरावेदन अदालतवाट ०४९।३।८।२ मा भएको आदेश ।
८. मुल अंशियार वादीका वावुको ०४६।१।२० मा मात्र अंश वण्डा भएको भन्ने देखिएवाट निजवाट ०३३ सालमे अंश लिएको भन्ने प्रतिवादी नन्द ठाकुरको भनाई सत्यतामा आधारित देखिएन । ०-१-० कठ्ठा जग्गा वावु प्रतिवादी वृजलाल सँग ०२३ सालमा अंश लिएको भनी लिएको जिकिर कुनै सवुद प्रमाणवाट पुष्टि हुन सकेको पाइदैन । अंश दिने मुल व्यक्ति प्रतिवादीले छोराहरुलाई कानून वमोजिम अंश दिएको छैन भनी प्रतिवाद गरेको अवस्थामा अंश लिई पाई सकेको ठहर्याउन मिल्ने देखिएन । तसर्थ फाँटवारीमा उल्लेखित सम्पत्तिवाट ४ खण्डको २ खण्ड अंश पाउने ठहर्छ भन्ने पुनरावेदन अदालत जनकपुरको फैसला ।
९. मिति २०२८।१।२ को भू.सु.का. महोत्तरीको निर्णयवाट म नन्द ठाकुर वडहीको नाउँमा कि.नं. २९० को ज.वि. ०-३-१.१/२ जग्गा मेरो रहेको आधारवाट नामसारी समेत भएको र २०२३ सालमा ०-१-० कठ्ठा जग्गा म नन्द ठाकुरलाई वावु वृजलालवाट अंश वापत दिएको र अंश वण्डा भै सकेको अवस्थामा अंश दिनु नपर्नेमा पु.वे.अ. ले वादी दावी वमोजिम अंश पाउने ठहर्याएको इन्साफ नमिलेको हुँदा वदर गरी पाउँ भन्ने प्रतिवादीको पुनरावेदन पत्र ।
१०. नियम वमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन सहितको मिसिल अध्ययन गरीयो । पुनरावेदक प्रतिवादीहरु तर्फवाट उपस्थित विद्वान अधिवक्ता श्री शिवानन्द दास सरसले २०४६।१।२० मा वावु (वृजलाल र गुहर ठाकुर) विच वण्डा भएको भनी भन्ने हो भने वृजलालले भाग वण्डा लगाउँदा नन्दलाल ठाकुरका नाउँको जग्गा पनि त भाइहरुलाई अंश दिनु पर्ने हो । तिनीहरुको नाउँको जग्गा त वण्डा भएको देखिंदैन नन्द ठाकुरको छोरा राम एकवालले आसाममा गएर मजदुरी गरेर धन कमाएर ल्याई किनेको जग्गा वण्डा हुनु हुदैन । निजी आर्जनको सम्पत्ति वण्डा लगाएको मिलेको छैन । पुनरावेदन अदालत जनकपुरको फैसला उल्टी हुनु पर्दछ भन्ने समेतको प्रस्तुत गर्नु भएको वहस समेत सुनीयो ।
११. उक्त वहस समेत सुनी पुनरावेदन अदालत जनकपुरले वादी दावी वमोजिम प्रतिवादीवाट वादीहरुले अंश पाउने ठहर्याएको इन्साफ मिलेको छ वा छैन भनी निर्णय दिनु पर्ने हुन आएको प्रस्तुत मुद्दामा निर्णय तर्फ विचार गर्दा वादीहरुले वाबु वृजलालको नामको जग्गा नामसारी दर्ता गराई लिई अलग अलग भोग चलन गरेको नदेखिएको प्रतिवादी नन्द ठाकुर र निजका छोराले यो यस्तो ज्ञान सिपवाट निजी आर्जन गरी जग्गा खरिद गरेको भन्ने कुराको कुनै ठोस सवुद प्रमाण पेश हुन आएको नदेखिंदा संगोलका अंशियार निजका छोराको नाममा दर्ता रहेको जग्गा समेत वण्डा गर्ने गरेको पुनरावेदन अदालत जनकपुरको, इन्साफलाई अन्यथा मान्न सकिएन । तसर्थ पु.वे.अ.जनकपुरको मिति २०५०।३।३० को इन्साफ मिलेकै देखिंदा सदर हुने ठहर्छ । मिसिल नियमानुसार गरी वुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.कृष्ण कुमार वर्मा
इति सम्वत ०५४ साल आषाढ २३ गते रोज २ शुभम् ।