शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८८०४ - जीउमास्ने बेच्ने

भाग: ५४ साल: २०६९ महिना: श्रावण अंक:

ने.का.प. २०६९,            अङ्क ४

निर्णय नं. ८८०४

 

 

सर्वोच्च अदालत, संयुक्त इजलास

सम्माननीय प्रधान न्यायाधीश श्री खिलराज रेग्मी

माननीय न्यायाधीश श्री तर्कराज भट्ट

फौ.पु.नं. २०६७–CR–०१९१

फैसला मितिः २०६८।९।२७।४

 

मुद्दाःजीउमास्ने बेच्ने 

पुनरावेदक प्रतिवादीः जि. मकवानपुर, सरिखेत गा.वि.स. वडा नं. ६ घर भै हाल कारागार            कार्यालय भीमफेदीमा कैदमा रहेको हरि मगर भन्ने तेजबहादुर रानामगर

विरुद्ध

प्रत्यर्थी वादीः नेपाल सरकार

 

शुरु फैसला गर्नेः

मा.न्या.श्री बालचन्द्र शर्मा

पुनरावेदन फैसला गर्नेः

मा.न्या.श्री राजेन्द्रप्रसाद राजभण्डारी

मा.न्या.श्री तेजबहादुर कार्की

 

§  पीडितको मौकाको प्रमाणित बयानलाई अन्य प्रमाणहरूले सिलसिलाबद्ध रुपमा समर्थन गरेको अवस्थामा जीउमास्ने बेच्ने मुद्दाकी पीडितले अदालतमा उपस्थित भई बकपत्र नगरेको कारणले मात्रै सो घटना नभएको र त्यसमा संलग्न प्रतिवादीले कसूरबाट उन्मुक्ति पाउन नसक्ने 

§  जीउमास्ने बेच्ने जस्तो गम्भीर प्रकृतिको मुद्दामा पीडित व्यक्तिले मौकामा गरेको बयान प्रमाणित गराउनु पर्ने कानूनी व्यवस्थाको खास प्रयोजन र महत्व हुन्छ । सो कुरालाई नजरअन्दाज गरी केवल पीडितको बकपत्रलाई मात्र कसूर स्थापित गर्ने प्रमाणको रुपमा हेरिनुपर्छ भन्ने सूत्रवत् मान्यता राख्नु न्यायोचित् र विवेकसम्मत् हुन नसक्ने 

(प्रकरण नं.७)

 

पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ताहरू बालकृष्ण नेउपाने, सन्तोष बस्नेत र तेजबहादुर कटुवाल

प्रत्यर्थी वादी तर्फबाटः

अवलम्बित नजीरः

सम्बद्ध कानूनः

§  जीउमास्ने बेच्ने (कार्य नियन्त्रण) ऐन, २०४३ को दफा ३, ४(क) र ८(१)

§  मानव बेचविखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ को दफा ३(१) र ४(१)(क), १५

(१)(क) 

 

फैसला

            प्र.न्या.खिलराज रेग्मीः पुनरावेदन अदालत, हेटौंडाको मिति २०६६।१२।२४ को फैसलाउपर प्रतिवादीको तर्फबाट न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम यस अदालतमा पुनरावेदन दर्ता भएको प्रस्तुत मुद्दाको तथ्य एवं निर्णय यसप्रकार छः

            २०६२ साल चैत ६ गते स्कूल पढ्न गएकी मेरी कान्छी बैनी बी. १४०लाई हरि मगरले भगाई लगेका र ज्वाई बैनी समेत बेपत्ता भए भन्ने समेत व्यहोराको सी १५०को निवेदन 

            मेरो छोरी वर्ष १७ की बी. १४०लाई प्रतिवादीमध्येका तेजबहादुर राना मगरले विवाह गरी लगेका र निजै प्रतिवादी तेजबहादुर राना, राम लामा र राकेश लामा समेतले भारत आसामको वेश्यालयमा लगी बिक्री गरेका हुँदा प्रतिवादी तेजबहादुर राना मगरलाई पक्राउ गरी पेश गरेका छौं भन्ने समेत व्यहोराको ए. १३०को जाहेरी दरखास्त 

            प्रतिवादी तेजबहादुर राना मगरको डेरा कोठामा खानतलासी गर्दा ५ थान रेलको टिकट बरामद भएको भन्ने समेत व्यहोराको मुचुल्का 

            मैले २०६२ साल चैत्र ६ गते जाहेरवालाकी छोरी बी. १४०सँग लभ मेरिज गरी हेटौंडामा डेरा कोठा लिई बसेको अवस्थामा राम लामा, राजु लामासँग चिनजान भएको र निजहरूले केटी बेचेर पैसा कमाउनु पर्छ भनेको हुँदा मेरो श्रीमती बी. १४०लाई घुम्ने बहानामा साथमा लगी राकेश लामाको जिम्मामा भारत आसामको वेश्यालयमा पठाई म र राम लामा कांकडभिट्टामा आई बसेको अवस्थामा राम लामाको मृत्यु भएको भन्ने समेत व्यहोराको प्रतिवादी तेजबहादुर राना मगरको मौकामा भएको बयान 

            मेरो घरमा डेरा गरी बसेका तेजबहादुर रानाले श्रीमती बी. १४०बिरामी छन् मलाई रु.५,०००।पैसा दिनुहोस् भनी फोन गरेका थिए । निजले भारतको वेश्यालयमा लगी बिक्री गरेपछि विमारी छ भनी खबर गरी पैसा मागेका रहेछन् भन्ने समेत व्यहोराको विमला परियारको कागज 

            जाहेरवालाको छोरी बी. १४०७ महिना अगाडि संस्थामा आई सिलाई बुनाई तालिम गरी जेष्ठ महिनामा गएकी थिइन् । एक्कासी २०६४।३।२३ गते भारत आसामको सिल्जर बजारमा रहेको वेश्यालय कोठी नं. १४ मा छन् भनी सहयोगी मानिसले खबर गरेको हुँदा बुझ्दा निजका पति तेजबहादुर राना समेतले बिक्री गरेका भनी थाहा पाएकाले उद्धार गरी ल्याएका हौं भन्ने समेत व्यहोराको माइती नेपालकी माया लामाको कागज 

            हरि मगर भन्ने तेजबहादुर राना मगर मेरो सालो हो । निजको श्रीमती बी. १४०साथ हेटौंडामा बस्ने गरेका थिए । एक्कासी २०६४ असार १४ गते पञ्जाव जाँदैछु भनेर फोन गरेपछि ऐ. २७ गते राति साथी राम लामाको काँकडभिट्टामा मृत्यु भयो भनी खवर गरेकाले मैले पैसा पठाई बोलाएको थिएँ । पछि सालाले आफ्नै श्रीमती बेचेको केशमा पक्राउ परेका छन् भनी थाहा पाएको हुँ भन्ने समेत व्यहोराको केशव थापा मगरको कागज 

            मलाई प्रतिवादीमध्येका तेजबहादुर राना मगरले लव म्यारिज गरी ल्याएका र कपडा किन्न र घुम्न जाउँ भनी काँकडभिट्टा पुर्‍याई फर्काएर पुनः हेटौंडामा ल्याई राम लामा, राकेश लामा समेत भई रक्सौलको बाटो हुँदै भारत आसामको सिल्जर बजारमा लगी राजु लामा, निमा लामा, सिल्पा लामा समेतलाई रु.१,५०,०००।भा.रु. मा बिक्री गरेको हुँदा मैले मकहाँ आउने ग्राहकको मोवाइलबाट माया लामालाई फोन गरी खबर गरेको हुँ भन्ने समेत व्यहोराको पीडित बी. १४०को मौकाको प्रमाणित बयान 

            राम लामाले बालबच्चा समेत राखी मेरो घरमा डेरा लिई बसेका थिए र उनको कोठामा ठेक्कापट्टाको काम गर्छु भन्ने राकेश लामा नाम गरेका व्यक्ति पनि आउने जाने गर्थे । असारमा गएपछि फर्की आएनन् । बुझ्दा राम लामा, राकेश लामा र तेजबहादुर राना मगर समेतले बी. १४०लाई विक्री गरेका भनी थाहा पाएको हुँ भन्ने समेत व्यहोराको बलराम शर्माको कागज 

            मेरो घरमा २०६३ सालको अन्तिमतिर तेजबहादुर राना र बी. १४०ले लव मेरिज गरी आई डेरा लिई बसेका अवस्थामा फाल्टु किन बस्छौ भनी हाम्रो घरमा आउने गरेका राम लामासँग सम्पर्क गराई काम लगाई दिएको हो भन्ने समेत व्यहोराको तारामाया वाइवा लामाको कागज 

            हामीसँग सिलाई बुनाई काम गरेकी बी. १४०लाई उनैका पति तेजबहादुर रानामगर समेतका मानिसले भारतको वेश्यालयमा लगी बिक्री गरेपछि निजै बी. १४०ले टेलिफोन गरी जानकारी गराएकी हुन् भन्ने समेत व्यहोराको बुझिएका मानिस माया लामा समेत जना ३ को एकै मिलानको कागज 

            प्रतिवादीहरू हरि मगर भन्ने तेजबहादुर राना मगर, राकेश लामा, सिल्पा लामा, राजु लामा र निमा लामा समेतले पीडित बी. १४०लाई खरीद विक्री गरी तत्कालीन जीउमास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ३ र ४(क) को कसूर अपराध तथा हाल प्रचलित मानव वेचविखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ को दफा ३(१) को र ४(१) क बमोजिमको नैतिक पतन देखिने कसूर प्रतिवादीहरूबाट भए गरेको हुँदा तत्कालीन जीउमास्ने बेच्ने कार्य नियन्त्रण ऐन, २०४३ को दफा ८(१) बमोजिम सजाय गरी ऐ. ऐनको दफा ८(५) बमोजिम थप सजाय तथा हाल प्रचलित मानव बेचविखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ ले कसूरको गाम्भीर्यता तथा संवेदनशीलताका आधारमा व्यवस्थित दफा १५(१) क बमोजिम सजाय गरी प्रतिवादीहरू राजु लामा, निमा लामा र सिल्पा लामाले पीडितलाई वेश्यावृत्तिमा लगाई प्रचलित मानव वेचविखन तथा ओसार पसार नियन्त्रण ऐन, २०६४ को दफा ४(१) (ख) बमोजिमको कसूर गरेकोमा निज प्रतिवादीहरूलाई ऐ. ऐनको दफा १५(१)(ख) बमोजिम हुने सजायमा ऐ. ऐनको १५(२)(क) बमोजिम छुट्टाछुट्टै थप सजाय गरी पीडितलाई क्षतिपूर्ति समेत दिलाई भराइपाऊँ भन्ने समेत व्यहोराको अभियोग पत्र 

            मैले मिति २०६३ साल वैशाख महिनामा छिमेकी बी. १४०सँग प्रेम विवाह गरी त्यसपछि हेटौंडा बजारमा आई डेरा गरी बसेको अवस्थामा राम लामा तथा राकेश लामा भन्ने मानिससँग समेत चिनजान भयो । चिनजानकै क्रममा २०६४ असार १४ गतेका दिन म, मेरो श्रीमती बी. १४०”, राम लामा, रामको छोरी र राकेश लामा कपडाको व्यापार गर्न भनी रक्सौल हुँदै सिलगढी गयौं । सिलगढी पुगी नास्ता खाएपछि म बहोस भएछु । म होसमा आउँदा म र राम मात्र २ जना काँकडभिट्टामा रहेछौं । मैले रामलाई श्रीमती खोई भनी सोद्धा सिलाङ्ग कपडा लिन गएका छन् । १२ दिनमा आउँछ भनें । राम र राकेशको बीचबीचमा कुराकानी समेत हुने रहेछ । श्रीमती हराएको बारेमा कहीँ कतै कसैलाई खबर गरिन । बिक्री गर्ने मानिस राम लामा र राकेश लामा हुन् । मैले सुका पैसा पनि पाएको छैन । निजहरूलाई सजाय गर्नुपर्दछ मलाई सजाय गर्नुपर्ने नपर्ने के हो ? मलाई थाहा छैन भन्ने समेत व्यहोराको प्रतिवादी हरि मगर भन्ने तेजबहादुर राना मगरले शुरु अदालतमा गरेको वयान 

            प्रतिवादीहरू राकेश लामा, सिल्पा लामा, राजु लामा र निमा लामाले शुरु अदालतबाट जारी भएको म्यादमा हाजीर नभई शुरु म्याद नै गुजारी बसेको देखियो 

            मौकामा कागज गर्ने बिमला परियार, माया लामा, प्र.ज. केशव थापा मगर तथा प्रतिवादीका साक्षी लोकबहादुर राना मगरले शुरु अदालतमा गरेको पृथकपृथक बकपत्र 

            मिसिल सामेल रहेका प्रमाणहरू मध्ये पीडित आफैँमा प्रमाण भएकी, प्रत्यक्ष रुपमा आफूमाथि के, कसो भएको, को कसले के कसरी वेश्यालयमा पुर्‍याए के कस्तो अवस्थामा बसेकी के कस्तो पीडा भोगेकी सबै खुलस्त रुपमा मौकाको कागजमा खुलाई दिएकी, निजले आफनो मौकाको कागज आफ्नै लोग्ने प्रतिवादी तेजबहादुर राना मगरको अपराधिक कार्य स्पष्ट हुने गरी दिएको बकपत्र समेतका प्रमाणबाट यी प्रतिवादीले आरोपित कसूर गरेको देखिन आएकोले निज प्रतिवादी तेजबहादुर राना मगरलाई अभियोग दावीबमोजिम जीउमास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ८(१) बमोजिम कैद वर्ष १९ र महिना ११ समेत हुने ठहर्छ । ऐनको दफा ८(५) बमोजिमको थप सजाय तर्फको दावी हेर्दा के कतिमा बिक्री गरेको भनी के कस्तो थप सजायको माग दावी लिएको हो अभियोग पत्रमा केही उल्लेख पनि नभई विगो खुली आएको अवस्था पनि नदेखिँदा थप सजायतर्फ केही बोलिरहनु परेन भन्ने शुरु मकवानपुर जिल्ला अदालतको मिति २०६६।३।२१ को फैसला 

            शुरु फैसलामा मेरो चित्त बुझेन । २०६३ साल वैशाख महिनामा प्रेम विवाह भई पति पत्नी भई बसेको अवस्थामा आफ्नो श्रीमतीलाई विदेश भारत लगी बिक्री गरी आउने कुरा पत्यारलायक छैन । पीडित बी. १४०लाई भारतबाट उद्धार गरी ल्याएको भनिएकोमा उक्त कुराको कुनै आधिकारिक प्रमाण वादी पक्षले पेश गर्न सकेको अवस्था छैन । जाहेरीमा उल्लेख भएका रेलका टिकटहरू पीडित बी. १४०लाई बिक्री गर्न जाँदाकै टिकट हो भन्ने कुनै कुराबाट प्रमाणित हुँदैन । म मौकामा र अदालतमा वयान गर्दा बी. १४०लाई बिक्री गरेको कुरामा सावित छैन । मैले आफ्नो श्रीमती हराएको भनी भनेको छु । मैले श्रीमतीलाई विदेशमा लगी बिक्री गरेको नहुँदा मलाई अभियोग दावीबमोजिम सजाय गर्ने गरेको शुरु मकवानपुर जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी न्याय पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी हरिमगर भन्ने तेजबहादुर राना मगरको पुनरावेदन पत्र 

            प्रतिवादी तेजबहादुर रानाले मौकामा अधिकारप्राप्त अधिकारी समक्षको साविती वयान प्रहरीले कुटपीट गरी गराएको भनी अदालतमा वयान गरे तापनि त्यसरी निजलाई कुटपीट गरेको पुष्टि गर्ने आधार प्रमाण निजले देखाउन खुलाउन नसक्नुको साथै पीडित निजको श्रीमती बी. १४०समेतले प्रतिवादी तेजबहादुर राना समेतको मिलेमतो र संलग्नतामा आफूलाई भारतको आसाममा पुर्‍याई वेश्यालयमा बिक्री गरेको भनी घटनाको सम्पूर्ण व्यहोरा सिलसिलेबार तवरले खुलाई मौकामा अधिकारप्राप्त अधिकारी समक्ष गरेको साविती वयानलाई अन्यथा भन्न मिल्ने देखिएन । तसर्थ प्रतिवादी तेजबहादुर राना मगर समेतले अन्य प्रतिवादीहरू समेतसँग मिलेमतो गरी पीडित बी. १४०लाई भारतको आसाममा पुर्‍याई वेश्यालयमा लगी बिक्री गर्ने कार्य गरी जीउ मास्नेबेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ३ र ४(क) को कसूर अपराध गरेको पुष्टि हुन आएकोले शुरु मकवानपुर जिल्ला अदालतबाट प्रतिवादी तेजबहादुर राना मगरलाई जीउमास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ८(१) बमोजिम कैद वर्ष १९ र महिना ११ समेत हुने ठहराई भएको फैसला मिलेकै हुँदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत, हेटौंडाको मिति २०६६।१२।२४ को फैसला 

            पुनरावेदन अदालतको फैसलामा चित्त बुझेन । पीडित बी. १४०मेरो पत्नी भएको र निजलाई मैले भारतमा लगी बिक्री गर्नुपर्ने कुनै कारण छैन । निजलाई भारतबाट उद्धार गरी ल्याइएको भन्ने कुनै प्रमाण छैन । मेरो साथबाट बरामद गरिएका रेलका टिकटहरू पीडितलाई नै बिक्री गर्न जाँदा प्रयोग गरिएका भन्ने आधार वादी पक्षबाट पेश हुन सकेको छैन । पीडितको मौकामा गरेको बयानमा आफूलाई राकेश लामाले फकाई निजको साथमा लागी काँकडभिट्टासम्म गएको भन्ने उल्लेख छ । मैले अनुसन्धानमा गरेको बयानमा कसूरमा सावित भएको होइन, छैन । मेरो श्रीमती हराएको बारेमा मैले मौकैमा काँकडभिट्टा प्रहरी चौकीमा हिरासतमा रहँदाकै अवस्थामा जानकारी गराएको छु । जाहेरवाला एवं मौकामा कागज गर्ने व्यक्तिहरू समेतले मैले नै पीडितलाई विक्री गरेको भन्न सकेका छैनन् । मेरो मौकाको बयान एवं अदालतमा भएको बयान समेतका आधारमा मलाई अधिकतम् सजाय हुने अवस्था छैन । पीडितको उद्धार भइसकेपछि पनि मलाई चर्को सजाय गर्ने गरी भएको फैसला कानूनको मनसायअनुकूल छैन । तसर्थ मलाई हदैसम्म सजाय गर्ने गरी शुरुबाट भएको फैसला नै सदर गरेको पुनरावेदन अदालतको फैसला बदर गरी न्याय पाऊँ भन्ने समेत प्रतिवादीको पुनरावेदन पत्र 

            नियमबमोजिम पेशी सूचीमा चढी निर्णयार्थ पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीको तर्फबाट विद्वान अधिवक्ताहरू श्री बालकृष्ण नेउपाने, श्री सन्तोष बस्नेत र श्री तेजबहादुर कटुवालले पीडितको मौकाको बयानलाई निरपेक्ष प्रमाण मानी फैसला गरिएको छ । प्रमाण ऐन, २०३१ को दफा १८ बमोजिम पीडितको बकपत्र नभएसम्म निजको मौकाको बयान प्रमाण ग्राह्य हुँदैन । पीडित प्रतिवादीको श्रीमती हुन् । आफ्नो पत्नीलाई भारत घुम्न लैजान कानूनले बर्जित गरेको छैन । पीडितको मौकाको बयानमा पनि प्रतिवादीले नै कोठीसम्म लगी बिक्री गरेको भन्न सकेको छैन । वास्तविक कसूरदारको रुपमा रहेका राकेश लामा समेतका व्यक्तिहरू उपर अनुसन्धान भएकै छैन । यी प्रतिवादीले काँकडभिट्टा प्रहरी चौकीमा थुनामा रहँदा नै श्रीमती हराएको भनी जानकारी गराएको र राकेश लामा समेतका व्यक्तिले खाजा खुवाएपछि निज बेहोस अवस्थामा पीडितलाई सिलगुडीबाट राकेश लामा समेतले लिई गएको भन्ने देखिँदा प्रतिवादीलाई हदैसम्मको सजाय गरेको पुनरावेदन अदालतको इन्साफ त्रुटिपूर्ण छ भन्ने समेत बहस गर्नुभयो 

            विद्वान कानून व्यवसायीनस्हरूले गर्नुभएको बहस जिकीर सुनी मिसिल अध्ययन गरी पुनरावेदन अदालतबाट भएको फैसला मिले नमिलेको के रहेछ भन्ने सम्बन्धमा निर्णय गर्नुपर्ने देखियो 

            २. निर्णयतर्फ विचार गर्दा प्रतिवादीउपर तत्कालीन जीउमास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ३ र ४(क) एवं हाल प्रचलित मानव बेचविखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ को दफा ३(१) र ४(१)(क) को कसूरमा साविक जीउमास्ने (कार्य नियन्त्रण) ऐन, २०४३ को दफा ८(१) तथा हाल प्रचलित ऐनको दफा १५(१)(क) बमोजिमको सजाय मागदावी लिई अभियोग पत्र पेश भएको देखिन्छ । प्रतिवादीले अनुसन्धान अधिकारी समक्ष गरेको बयानमा आरोपित कसूर गरेकोमा सावित भई अन्य प्रतिवादीहरू राम लामा, राज लामा समेत भई पीडित बी. १४०लाई भारत रक्सौल हुँदै रेलको टिकट काटी रेल चढाई सिलिगुढीसम्म पुर्‍याएको र त्यहाँबाट राकेश लामाले पीडित समेतलाई आसामको वेश्यालयमा लिई गएको भनी सबै घटना विवरण सिलसिलेवार रुपमा खुलाएको देखिन्छ । अदालतको बयानमा समेत अन्य सबै घटनाक्रमलाई समर्थन गरी निजले बयान गरेको र सिलगुढीमा नास्ता खाएपछि आफू बेहोस भएको अवस्थामा प्रतिवादी राकेश लामा समेत भई आफ्नो पत्नीलाई बेपत्ता बनाएछन भनी पीडितलाई आफूले बेचेको भन्नेसम्मको तथ्यमा इन्कार रहेको देखिन्छ 

            ३. प्रतिवादीको साथबाट भारतको बरौनीदेखि न्यू जलपाईगुढीसम्म यात्रा गरेका ५ थान रेलका टिकटहरू समेत बरामद भएको देखिन्छ । सो टिकटहरू पीडित समेतलाई लिई जाँदाका हुन् भनी प्रतिवादीले मौकाको बयानमा स्वीकार गरेको अवस्था देखिन्छ 

            ४. पीडित बी. १४०ले आफू बेचिएको वेश्यालयबाट उद्धार भई नेपाल आई मौकामा अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा समेत यी प्रतिवादी समेतले ललाई फकाई रक्सौल हुँदै सिलगुढी पुर्‍याई त्यहाँबाट झुक्याई राकेश लामाको साथमा आसामको वेश्यालयमा पुर्‍याएको भनी प्रतिवादीउपर किटानी पोल गरेको र सो मौकाको बयान अदालतबाट प्रमाणित भई मिसिल संलग्न रहेको देखिन्छ । उक्त बयानमा कोठीमा आउने ग्राहकमध्येका एकजनाको सहयोगले माइती नेपालको हेटौंडा कार्यालयमा काम गर्ने माया लामालाई फोन गरी आफू वेश्यालयमा बेचिएको खबर गरेको भनी उल्लेख गरेको देखिन्छ । माइती नेपाल हेटौंडामा कार्यरत् निज माया लामाले जाहेरवाला अर्थात् पीडितको बाबु ए. १३०लाई खबर गरेपछि जाहेरवाला समेत उक्त वेश्यालयमा गई पीडितको उद्धार गरिएको देखिन्छ 

            ५. पीडित बी. १४०प्रतिवादी हरि मगर भन्ने तेजबहादुर मगरकी श्रीमती रहेकी र निजले आफ्नै श्रीमतीलाई घुम्न जाने र किनमेल समेत गर्ने भनी बहाना बनाई विश्वासमा पारी हेटौंडादेखि भारतको रक्सौल हुँदै सिलगुढी पुर्‍याएको मिसिल कागजातहरूबाट देखिन्छ । तत्पश्चात भारतको सिलगुढीदेखि अर्का प्रतिवादी राकेश लामाको साथमा निजले पीडितलाई आसामको वेश्यालयमा निसंकोच रुपमा पठाएको देखिन्छ । आफैँले विवाह गरी श्रीमतीको रुपमा रही रहेकी पीडित महिलालाई अन्य प्रतिवादीहरूसँग पूर्व सल्लाह र योजना बनाई भारतको सिलगुढीसम्म पुर्‍याउनु पर्ने र त्यहाँबाट प्रतिवादी राकेश लामाको साथ लगाई आसामतर्फ पठाउनु पर्ने कुनै प्रयोजन यी प्रतिवादीले देखाउन खुलाउन सकेका छैनन् । यस्तो अवस्थामा निजले अदालतको बयानमा नास्ता खाएपछि आफू बेहोस भएको र सोही अवस्थामा पीडितलाई अन्य प्रतिवादीले आसामतर्फ लगेकभनी लिएको जिकीर सर्वथा पत्यारलायक देखिदैंन । यसका अतिरिक्त पीडितलाई वेश्यालयबाट उद्धार गर्ने कार्यमा संलग्न पीडितको बाबु स्वयम्ले यी प्रतिवादीलाई किटान गरी जाहेरी दिएको देखिनुका साथै उद्धार कार्यमा संलग्न माया लामाले समेत अदालतमा उपस्थित भई प्रतिवादीउपर किटानी बकपत्र समेत गरेको देखिन्छ 

            ६. जहाँसम्म पीडितको मौकाको प्रमाणित बयान निज अदालतमा उपस्थित भई बकपत्र गरी पुष्टी नगरेसम्म प्रमाण ग्राह्य छैन भन्ने पुनरावेदक प्रतिवादीका कानून व्यवसायीहरूको जिकीर छ, सो सम्बन्धमा विचार गर्दा पीडितलाई उद्धार गरी ल्याउनेमध्येकी माया लामाले गरेको बकपत्रबाट निज पीडित बी. १४०पाठेघरको संक्रमणबाट गम्भीर विरामी भई अदालतमा उपस्थित हुन नसकेको भनी उल्लेख गरेको देखिएको छ । यस्तो स्थितिमा निज पीडितले वकपत्र नगरेकै कारणले मात्र निजले मौकामा गरेको प्रमाणित बयानको महत्व शून्यमा आउने पनि होइन 

            ७. मूलतः पीडितको मौकाको प्रमाणित बयानलाई मिसिल संलग्न अन्य प्रमाणहरूले सिलसिलाबद्ध रुपमा समर्थित गरेको अवस्थामा जीउमास्ने बेच्ने मुद्दाकी पीडितले अदालतमा उपस्थित भई बकपत्र नगरेको कारणले मात्रै सो घटना नभएको र त्यसमा संलग्न प्रतिवादीले कसूरबाट उन्मुक्ति पाउने भन्ने हुँदैन । जीउमास्ने बेच्ने जस्तो गम्भीर प्रकृतिको मुद्दामा पीडित व्यक्तिले मौकामा गरेको बयान प्रमाणित गराउनु पर्ने कानूनी व्यवस्थाको खास प्रयोजन र महत्व हुन्छ । सो कुरालाई नजरअन्दाज गरी केवल पीडितको बकपत्रलाई मात्र कसूर स्थापित गर्ने प्रमाणको रुपमा हेरिनुपर्छ भन्ने सूत्रवत् मान्यता राख्नु न्यायोचित् र विवेकसम्मत् हुन सक्तैन । किनभने जीउमास्ने बेच्ने जस्तो गम्भीर प्रकृतिको कसूर जसमा सामान्यतः महिला नै पीडितको रुपमा रहेका हुन्छन्, त्यस्तो कसूर कुनै एउटा व्यक्तिले मात्र चाहेर वा एउटा व्यक्तिको मात्र संलग्नताले पूरा हुने होइन । यस्तो कसूरमा एकभन्दा बढी व्यक्ति संलग्न रहने हुँदा यो एउटा संगठित अपराध अन्तर्गत पर्ने कसूर हो । यस्तो कसूरबाट पीडित महिला जहिलेसुकै पनि सो कसूरमा संलग्न प्रतिवादीहरूको सामूहिक सञ्जालमा संलग्न कुनै पनि व्यक्तिको वा कसूरदारहरूको सामूहिक निसाना वा डर, त्रास, धम्की र वा प्रलोभनमा पर्ने सम्भावना रहिरहन्छ । फलस्वरुप यस्ता प्रकृतिका कसूरमा संलग्न कसूरदारहरूले पीडित महिला वा निजका घर परिवारका सदस्य समेतलाई अनावश्यक प्रलोभन दबाब वा डर धाक, धम्की दिई पीडितलाई अदालतमा वकपत्र गर्न जान नसक्ने अवस्था सिर्जना गर्ने वा प्रतिकूल साक्षी (Hostile witness) को रुपमा बकपत्र गर्न बाध्य पार्ने सम्भावना हुन्छ । यही यथार्थलाई मनन गरीकन नै प्रचलित मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ६(२) मा पीडितको मौकाको बयान मुद्दा हेर्ने अदालतबाट प्रमाणित गराई राख्ने गरी छुट्टै विशेष व्यवस्था गरिएको देखिन्छ । तदनुरुप अदालतबाट एकपटक कानूनबमोजिम प्रमाणित भई रहेको पीडितको बयान अन्य प्रमाणहरूबाट खण्डन नभएसम्म सो कसूर स्थापित गर्ने एउटा आधारभूत एवं अकाट्य प्रमाणको रुपमा ग्राहय हुन आउँछ । त्यसकारण प्रस्तुत विवादमा पीडितको बकपत्र नभएको भन्ने जिकीरबाट मात्रै निजको अदालतबाट प्रमाणित बयानलाई प्रमाणमा लिन नमिल्ने भनी यी प्रतिवादीको निर्दोषिता पुष्टि हुन सक्तैन 

            ८. अब जहाँसम्म शुरुले हदैसम्म सजाय गरेकोलाई सदर गरेको पुनरावेदन अदालतको फैसला न्यायोचित छैन भन्ने पुनरावेदन जिकीर छ, सो सम्बन्धमा हेर्दा पीडित व्यक्ति यी प्रतिवादीको आफ्नै पत्नी देखिएकी छन् । यी प्रतिवादीले पीडितलाई पहिले आफैँले अनेक बहाना बनाई प्रेम विवाह गरी श्रीमतीको रुपमा राखी अन्ततोगत्वा अन्य प्रतिवादीनास्हरूसँग मिलेमतो गरी, योजना बनाई पैसा कमाउने उद्देश्य लिई पारिवारिक नाता सम्बन्ध एवं पति पत्नीबीचको मानवीय, पारिवारिक एवं सामाजिक सम्बन्ध समेतलाई तिरस्कृत गरी आफ्नै पतिद्वारा पत्नी वेश्यालयमा बेचिनु पर्नेसम्मको चरम अमानवीय कार्य यी प्रतिवादी समेतबाट हुन गएको स्पष्ट छ । एउटी विवाहित महिलाको लागि निजका पति नै सबैभन्दा नजिकको र अन्तिम अभिभावक एवं संरक्षक रहने कुरामा विवाद छैन । यसरी पीडित बी. १४०को पति अर्थात् संरक्षक, सहारा र अभिभावकको रुपमा रहेका यी प्रतिवादीबाट भएको यस आपराधिक कार्यमा निजलाई तत्काल प्रचलित जीउमास्ने बेच्ने (कार्य नियन्त्रण) ऐन, २०४३ को दफा ८(१) बमोजिम हदैसम्मको सजाय गर्नु न्यायको रोहमा बाञ्छनीय एवं विवेकसम्मत् नै हुने देखिन्छ 

            ९. अतः उल्लिखित आधार प्रमाणहरूबाट पुनरावेदक प्रतिवादी हरिमगर भन्ने तेजबहादुर रानामगरलाई अभियोगपत्र माग दावीबमोजिम तत्कालीन जीउमास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ८(१) बमोजिम कैद १९ वर्ष ११ महिना हुने ठहर्‍याएको शुरु मकवानपुर जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत, हेटौंडाको मिति २०६६।१२।२४ को फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकीर पुग्न सक्तैन । दायरीको लगत कट्टा गरी मिसिल बुझाई दिनू 

उपर्युक्त रायमा सहमत छु 

न्या.तर्कराज भटृ

इति संवत् २०६८ साल पुस २७ गते रोज ४ शुभम् 

इजलास अधिकृत : विदुर कोइराला

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु