शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६३९५ - जिउमास्ने वेच्ने ।

भाग: ३९ साल: २०५४ महिना: असोज अंक:

निर्णय नं. ६३९५        २०५४, ने.का.प.                अङ्क ६

 

संयुक्त इजलास

माननीय  न्यायाधीश श्री लक्ष्मण  प्रसाद अर्याल

माननीय न्यायाधीश श्री केदारनाथ आचार्य

सम्वत् २०५१ सालको फौ.पु.नं. ......... १०४२

फैसला मितिः ०५३।१२।१२।३

 

मुद्दाः  जिउमास्ने वेच्ने ।

 

पुनरावेदक/प्रतिवादीः जि.मोरङ राजघाट गा.वि.स. वार्ड नं. ९ घर भई हाल कारागार शाखा विराटनगरमा थुनामा रहेको दुर्गा धिमाल  ।

विरुद्ध

विपक्षी/वादीः तारा देवी दाहालको जाहेरीले श्री ५ को सरकार।

 

§  पुनरावेदकको प्रहरीमा भएको सावितिलाई पिडित जाहेरवालीको भनाइवाट समर्थित भइरहेको पाइन्छ । पुनरावेदकले प्रहरीमा कुटपिट गरी स्वेच्छा विरुद्द नसुनाई सहीछाप गराएको भनी जिकिर लिएको भएतापनि घा जाँच फाराममा सम्पूर्ण शरिरमा दुख्छ भन्ने वाहेक कुनै वाह्य घा जोट नदेखाइएको अवस्थामा कुटपिट गरी साविति गराएको भनी भन्न मिलेन । जीउमास्ने वेच्ने जस्तो मुद्दामा प्रतिवादीले अन्यथा प्रमाणित गर्न सकेमा वाहेक पिडित जाहेरवालीको भनाइलाई विश्वासप्रद नै मान्नु पर्ने हुन्छ । प्रतिवादीले उक्त कुरालाई अन्यथा हो भनी मिसिल संलग्न प्रमाणवाट कंही कतै पुष्टि गर्न सकेको पाइदैन । यस्तो अवस्थामा निज कसुरदार होइन भन्न नमिल्ने ।            

(प्र.नं.२८)

 

पुनरावेदक तर्फवाटः विद्वान अधिवक्ता श्री उर्मिला पन्थी

विपक्षी तर्फवाटः x   

अवलम्वित नजीरः x

 

फैसला

     न्या.लक्ष्मण प्रसाद अर्यालः पुनरावेदन अदालत विराटनगरको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) (ख) को आधारमा यस अदालत समक्ष पर्न आएको प्रस्तुत पुनरावेदनको संक्षिप्त व्यहोरा एवं तथ्य यस प्रकार छ :-

      २. २०४५।६।७ गते मलाई उर्लावारी वजारवाट वावुराम चौधरी, दुर्गा धिमाल समेत दुई जनाले ललाई फकाई प्रतिवादीहरु मध्ये वावुराम चौधरीले जीवन साथी श्रीमती वनाउँछु भनी विश्वासमा पारी वसमा चडाई काकडभिट्टा सिलगडी हंदै भारत हाजिपुर पुगी होटलमा वसी रातभर वावुरामले मलाई श्रीमान् श्रीमती विचमा हुने व्यवहार गरी इज्जत लुटी ०४५।६।९ गते गाडीमा चडी भारत पटना र त्यहाँवाट कमारी पुरमा पुर्‍याई माला भन्ने लामा महिला सँग रु.१६,०००। मा विक्रि गरी हिडेका र भारतीय प्रहरीले मलाई विरगंज सम्म ल्याई दिएकाले ०४६।४।२६ गते आफ्ना घरमा आई पुगेकी हुनाले यसरी श्रीमती वनाउँछु भनी ललाई फकाई प्रलोभनमा पारी निज वावुराम चौधरी र दुर्गा धिमाल समेत भई भारतको कमारीपुरमा लगी माला लामा भन्ने मानिसलाई १६ हजारमा विक्रि गरी जिउ मास्ने वेच्ने कार्यमा दुरुत्साहन गरेकाले निजहरु र निजहरुका मतियार उपर जिउ मास्ने वेच्ने कार्य गराए उपर कानून वमोजिम कारवाही र साजंय गरी पाउँ भन्ने समेत तारा दाहालको ०४६।५।१३ को जाहेरी दरखास्त ।

      ३. अनुसन्धान तहकिकात गर्न दिएको मोरङ जिल्ला अदालतको ०४६।५।१३ को आदेश रहेछ ।

      ४. वावुराम चौधरी, दुर्गा धिमाल समेत हाम्रो गाउँमा पटक पटक आउने जाने भएकोले चिन जान भएको थियो । यस्तैमा उर्लावारी वजारमा निजहरु सँग भेटघाट भएपछि वावुराम चौधरीले मलाई जीवन साथी श्रीमती वनाउँछु  पटनामा जाउँ भनेकोले र दुर्गा धिमालले समेत फकाएकाले ०४६।६।७ गते उर्लावारीवाट वस चडी काकडभिट्टा भारतको पानी टंकी, सिलगडी हुँदै हाजिपुरमा पुगी दिनभर वजारडुली वेलुका वावुराम सँग एउटै कोठामा लजमा वसी रातमा वावुरामले मलाई इज्जत लुटी पति पत्नीको विचमा हुने व्यवहार गरे र विहान ९ वजे पटना पुगी त्यहाँवाट पनी रेलमा चडी वावुराम, दुर्गा धिमालले लिएर गएर ०४५।६।१० गते वम्वईमा पुर्‍याई कमारीपुर भन्ने ठाउँमा पुर्‍याई एउटा घरमा छाडी वावुराम र दुर्गा धिमाल गए र सो घरकी मानिसलाई सोद्धा तिमिलाई रु. १६,०००। भा.रु.मा विक्रि गरी गए भन्दा थाहा पाई रुन कराउन लाग्दा र पुलीस चेक गर्न आउँदा सवै कुरा वताएपछि २०४६।४।२६ गते भारतीय रक्सौल भन्सारमा वुझाई जाहेर गर्न आएको छु, वावुरामको करणीवाट गर्भ रहेको छैन, यसरी विक्रि गर्ने प्रतिवादीहरु उपर कारवाही गरी पाउँ भन्ने जाहेरवाला तारा देवी दाहालको मिति ०४६।५।१३ गतेको प्रहरी समक्ष भएको कागज ।

      ५. मिति ०४६।५।१३ गते मोरङ जिल्ला अदालतवाट वयान प्रमाणित गरी दिएको रहेछ ।

      ६. प्रतिवादी दुर्गा धिमाललाई पक्राउ गरेको प्रहरी प्रतिवेदन रहेछ ।

      ७. मेरो घर नजिकको उर्लावारी वजारमा घुम फिर गरी रहेको अवस्थामा मैले चिनेकी जाहेरवाली   तारा देवीसँग भेटघाट भई मेरो साथी वावुरामसँग चिनजान गराउँदा निज तारासँग वावुरामको विवाह गर्ने सल्लाह भई अर्को हप्ताको हाटमा भेट्ने सल्लाह भै घर तर्फ आयौ । वम्वई लगी विक्रि गर्ने सल्लाह भएको थिएन, र अर्को हाटमा तारादेवीलाई समेत वावुराम सँग पटना जाने भनी सहमत भई काकडभित्तावाट हाजिपुर हुँदै राती सोही ठाउँमा वसी ०४५।६।९ गते वावुरामले एकजना अपरिचत सँग रु.१०००। मागे र हामी रेल चढी पटनावाट ०४५।६।१० गते वम्वईमा पुगी कमारीपुरमा माला लामाको घरमा पुग्यौ र घर धनी माला लामालाई भेटी वावुरामले कुरा चलाउँदा रु.१६,०००। मा विक्रि गरी वावुरामले उक्त पैसा लिए । हामी घर तर्फ आयौं शिलगडीमा आइ पुग्दा रु.१००। भा.रु. मलाई दिए अरु पैसा मैले पाएको छैन । मैले अरु केटी विक्रि गरेको छैन, वावुरामले विक्रि गरे नगरेको मलाई थाहा छैन, भन्ने समेत प्र.दुर्गा धिमालको प्रहरीमा भएको ०४६।५।२० को वयान कागज ।

      ८. ध्रुव भट्टराईले जाहेरवाली सँग चिनजान गराई दिएको हो, पहिले चिनजान थिएन निजले एउटी केटी छ, लाने खालकी मैले कुरा मिलाई सकेकी छु, भनेकाले जाहेरीमा लेखिएको मिति समयमा उर्लावारी वजार गाडीमा चढी गएं । माथि लेखिएका सवै सँग भेट भयो र धर्मध्वज समेत सँग तारा पनि वजार आई पुगिन र निजलाई श्रीमती वनाउँछु के विचार छ भनी मैले भन्दा उनले हुन्छ भनेकोले म ध्रुव भट्टराई, दुर्गा धिमाल, धर्मध्वज, माने समेत ५ जना गयौं प्रहरीमाि सोधपुछ भएन, त्यसपछि शिलगडी पुगी रेलमा चढी भोली विहान पटना पुग्यौं र म जाहेरवाली सँग सुती करणी लिनु दिनु समेत भयो । अरु अर्कै कोठामा  सुते विहान उठी  हामी वम्वै पुगी २ दिन पछि रेलवाट उत्रियौं र माला भन्ने तामांनीको घरमा गयौं र माला लामा सँग कुरा गरी रु.१००००। मा कुरा मिलाई वाटामा भएको दुर्गा समेतको वाटा खर्च हिसाव गरी वरावर वांडी लियौं । तारालाई मैले श्रीमती  वनाउँछु भनी लगेको हो, रुपैंयाले प्रलोभन देखाएको थिएन, दुर्गा राउतको उजुरी परेको जिउ मास्ने वेच्ने मुद्दामा हाल पुर्पक्षको लागि कारागारमा छु भन्ने समेत प्रतिवादी वावुराम चौधरीले प्रहरीमा गरेको वयान कागज ।

      ९. जाहेरीमा लेखिएको मिति र समयमा जाहेरवाली तारा दाहाललाई वावुराम, दुर्गा, तथा धर्मध्वज, ध्रुव समेतले विक्रि गरेको गर्न लगेको देखे सुनेको हैन, निजहरुले केटी विक्रि गर्लान जस्तो लाग्दैन भन्ने समेत व्यहोराको एकै मिलानको सर्जमिन मुचुल्का ।

      १०. जाहरेवाली तारा दाहाललाई प्रतिवादीहरु दुर्गा धिमाल, वावुराम चौधरी, ध्रुव भट्टराई समेतले ललाई फकाई विदेश लगी विक्रि गरेको कुरा सिद्ध हुन आएकोले निजहरुलाई जिउमास्ने वेच्ने कार्य (नियन्त्रण) गर्न ऐन, २०४३ को दफा ४ को खण्ड (क) अनुसारको कार्य गरेकोमा ऐ, ऐनको दफा ८(१) अनुसार सजाय गरी पाउँ भन्ने समेत माग दावी भएको प्रहरी प्रतिवदेन रहेछ ।

      ११. जाहेरवाली तारा दाहाललाई मैले फकाई भारतमा लगी विक्रि गरेको हैन, भाग वण्डा पनि खाएको छैन, चिनजान छ, वावुरामलाई चिन्दिन जिल्ला प्रहरी कार्यालयमा भएको कागज मेरो इच्छा विपरित कुटपिट सास्ती साशना गरी मेरो सहिछाप गरिएको हो तारा देवीलाई विक्रि गर्न लगेको छैन म निर्दोष छु, किन मलाई पोल गरे भन्न सक्तिन, निर्दोष हुँदा सफाई पाउँ र प्रहरीमा भएको कुटपिट घा, जाँच गरी पाउँ भन्ने समेत प्र.दुर्गा धिमालले मोरङ जिल्ला अदालतमा गरेको वयान ।

      १२. मैले जाहेरवाली तारा देवी प्र.वावुराम, दुर्गा धिमाल समेतलाई देखे, चिनेको छैन र भारत वम्वई लगी विक्रि गरेको पनी छैन, भाग हिस्सा खाएको पनि छैन, वावुरामले किन पोले मलाई थाहा छैन म निर्दोष छु, भन्ने समेत प्र.ध्रुव भट्टराईको अदालतमा भएको वयान ।

      १३. यसमा प्र.दुर्गा धिमालको घा, जाँच केश फाराम मिसिल सामेल रहेको ।

      १४. जाहेरवाली तारा दाहाल सँग मेरो चिनजान छैन, २०४५।६।७ गतेका दिन राम म आफनो खेत झूम्कामा थिएं सो दिन मेरो तारा दाहालसँग भेटघाट पनि भएन र श्रीमती वनाई राख्छू भनी भारत लगेको पनि  छैन । को कसले कहां लगी विक्रि गरे भन्न सक्तिन, प्रहरीमा भएको  वयान मेरो इच्छा विपरित गरेको वयान हो, वम वहादुर कार्कीकी भान्जीलाई मैले स्वास्नी वनाई राखेको कारणवाट म उपरमा किटानी जाहेरी दरखास्त दिई मलाई फसाउन पोल गरेको हो र झापा गौराह दह वस्ता राजकाज मुद्दा लागी प्रहरी सँग झगडा भएको भएकोले प्रहरीले अभियोग लगाएका भन्ने समेत प्रतिवादी वावुराम चौधरीको अदालतमा भएको वयान ।

      १५. मोरङ जिल्ला अदालतका आदेशानुसार प्रतिवादी दुर्गा धिमाल, वावुराम चौधरी, पुर्पक्षको लागि थुनामा रही प्र.ध्रुव भट्टराई पुर्पक्षका लागि तारीखमा रहेका रहेछन ।

      १६. जाहेरवाली तारा दाहाल, ध्रुव भट्टराईका साक्षी मिन वहादुर, गजेन्द्र भूपाल थापा, दुर्गा धिमालका साक्षी वोधमान, जाक्र धिमाल, काशिराम धिमाल समेतले गरेको वकपत्र मिसिल सामेल रहेछ ।

      १७. वेरितको आदेश वदर गरी तारेखमा राखी पाउँ भनी प्र.दुर्गा धिमालले दिएको निवेदनमा कोशी अञ्चल अदालत धरानवाट कानून वमोजिम गर्नु भन्ने समेत आदेश भई मिसिल सामेल रहेको ।

      १८. प्रतिवादी वावुरामको साक्षीहरुले गरेको वकपत्र वन्द सवाल मिसिल सामेल रहेको ।

      १९. चिठृी मैले लेखेको छैन, किर्ते हुनाले विशेषज्ञवाट जाँच गराई पाउँ भन्ने समेत प्र.वावुरामले अदालतमा गरेको वयान ।

      २०. प्रतिवादी दुर्गा धिमाल, वावुराम चौधरीले जाहेरवाली तारा देवी दाहाललाई विक्रि गरेको ठहर्छ, जिउमास्ने वेच्ने कार्य नियन्त्रण ऐन, २०४३ को दफा   ४ (क) को अपराध हुँदा सोही ऐनको दफा ८(१) बमोजिम दुर्गा धिमाल र वावुराम चौधरीलाई १०।१० वर्षका दरले कैद हुने ठहर्छ भन्ने समेत मोरङ जिल्ला अदालतको ०५०।१।१३ को फैसला ।

      २१. शुरुको फैसलामा चित्त वुझेन सो फैसला प्रत्यक्ष त्रुटीपूर्ण भएकाले वदर गरी अभियोगवाट सफाई पाउँ भन्ने समेत प्र.दुर्गा धिमालको पुनरावेदन पत्र ।

      २२. शुरुको उक्त फैसला त्रुटीपूर्ण हुँदा सो फैसला वदर गरी मलाई आरोपित कसुरवाट सफाई गरी पाउँ भन्ने समेत वावुराम चौधरीको पुनरावेदन पत्र ।

      २३. प्रहरी समक्षको प्रतिवादीहरुको वयान स्वेच्छाले नभएको भन्ने प्रमाण पनि प्रतिवादहिरुवाट पेश भएको देखिदैन । प्र.दुर्गा धिमालको भएको घा खत फाराम जो मिसिल संलग्न छ । त्यसवाट समेत निजलाई परेको घा खत प्रहरी हिरासतमा नै भएको भन्ने प्रमाणित नहुनाले निजले प्रहरी समक्ष गरेको वयान स्वेच्छाले गरेको होइन भन्न मिलेन । यसको अतिरिक्त जाहेरवालीले मोरङ जिल्ला अदालत समक्ष गरेको वकपत्र समेतवाट निजले दिएको जाहेरी व्यहोरा निजले भने लेखे अनुसार भएको भनी भनेकीले प्रतिवादीहरु निर्दोष भएको भन्ने अवस्था देखिदैन । तसर्थ शुरु मोरङ जिल्ला अदालतले पुनरावेदक प्रतिवादी दुर्गा धिमाल र वावुराम चौधरीलाई कसरदार ठहर्‍याई १०।१० वर्ष कैद हुने ठहर्‍याई गरेको निर्णय मुनासिव हुँदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत विराटनगरको मिति २०५०।११।१६ को फैसला ।

      २४. भ्रमपूर्ण जाहेरीको आधारमा मलाई सफाइ दिनुको अलावा १० वर्ष कैद सजाय गरेको शुरु मोरङ जिल्ला अदालतको फैसला सदर गरी भएको पुनरावेदन अदालत विराटनगरको फैसला कानूनी त्रुटीपूर्ण हुँदा उक्त फैसला वदर गरी अभियोगवाट सफाई पाउँ भन्ने पुनरावेदक प्रतिवादी दुर्गा धिमालको यस अदालत समक्ष पर्न आएको पुनरावेदन ।

      २५. नियम वमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकका तर्फवाट उपस्थित विद्वान अधिवक्ता उर्मिला पन्थीले प्रहरीमा भएको वयान स्वेच्छा विरुद्दको भएको प्रमाण ऐन २०३१ को दफा ९(२) ले प्रमाणमा लिन मिल्दैन । जोहरवालीले अदालतमा आई वकपत्र गर्दाको सवालको जवाफमा दुर्गालाई चिन्दिन र दुर्गा र ध्रुवले कसुर गरेको छैन भनी लेखिएकी छन् । दुर्गा साथैमा गएको भन्ने लेखाई छैन । तसर्थ पुनरावेदन अदालत विराटनगरको फैसला त्रुटिपूर्ण हुँदा वदर भई सफाइ पाउनु पर्छ भनी वहस प्रस्तुत गर्नु भयो ।

      २६. उपरोक्त वहस जिकिर समेत सुनी मिसिल अध्ययन गरी विचार गर्दा प्रतिवादीहरु दुर्गा धिमाल,वावुराम चौधरी, ध्रुव भट्टराईले जाहेरवालीलाई ललाई फकाई विक्रि गरेको सिद्ध हुन अएकोले निजहरुलाई जिउमास्ने वेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ४ को खण्ड (क) को कार्य गरेकोमा ऐ, ऐनको दफा ८(१) अनुसार सजाय गरी पाउँ भन्ने प्रहरी प्रतिवेदन माग दावी भएकोमा शुरु मोरङ जिल्ला अदालतले दुर्गा धिमाल र वावुराम चौधरीलाई १०।१० वर्षका दरले कैद सजाय हुने ठहर्‍याएको इन्साफ सदर गरेको पुनरावेदन अदालत विराटनगरको फैसला मिलेको छ छैन ? सोही कुराको निर्णय दिनु पर्ने हुन आयो ।

      २७. यसमा निर्णय तर्फ विचार गर्दा प्रतिवादी वावुराम चौधरीको यस अदालतमा पुनरावेदन परेको नदेखिंदा निजको हकमा केही वोली रहनु परेन । अव पुनरावेदन दुर्गा धिमालको हकमा विचार गर्दा जाहेरवालीले आफ्नो जाहेरी दरखास्तमा प्रतिवादी दुर्गा धिमालले शुरुमा फकाउने कार्य गरेको र वम्वैमा पुगेपछि निजलाई केही दिन खरिद कर्ता माला लामा वसेको ठाउँमा वावुराम चौधरी नआए सम्म वस्नु भनी संझाउने कार्य गरेको भनी लेखाई दिएकी छन् । प्रहरीमा भएको कागजमा पनि सोही कुरा लेखाई दिनुको साथै अदालतमा आई वकपत्र गर्दा समेत जाहेरी दरखास्त मैले भने वमोजिम लेखिएको सहीछाप मेरै हो भनी प्रमाणित गरी दिएको पाइन्छ । यसवाट उर्लावारी देखि वम्वैको माला लामाको घरमा अर्थात विक्रि गरेको ठाउँमा वस्न झूठ्ठा कुरा वनाई भनी फकाई फूलाई गरेको कार्यमा निजको संलग्नता थिएन भन्न मिल्ने  अवस्था देखिएन । प्रतिवादी वावुरामसँग जाहेरवालीले लजमा वस्दा राती संगै कोठामा सुती करणी लिनु दिनु गरेको र करणी गर्ने सम्वन्धमा प्रतिवादी दुर्गा धिमालको कुनै संलग्नता थिएन भनी लेखाई दिएवाट पनी जाहेरवालीको निज प्रति कुनै दुर्भावना भएको देखिदैन । जाहेरवालीले अदालतमा आई वकपत्र गर्दा जीरहको सवालमा ९ मा मलाई चिन्दिन भनी लेखाएको भनी पुनरावेदकले जिकिर लिएको भएता पनी सवाल जवाफ ३ मा प्रतिवादी ध्रुवराम लाई चिन्दिन अरुलाई चिन्दछु भनी लेखाई दिएकीवाट पुनरावेदकको जिकिर खण्डन भइरहेको पाइन्छ । त्यस्तै स.ज.६ मा समेत दुर्गा धिमाललाई उर्लावारीमा भेटी पक्री प्रहरी चौकीमा वुझाएको भनी लेखाई दिएवाट र मिसिल संलग्न प्रमाणवाट सो कुरा प्रमाणित भइ रहेको अवस्थामा प्रतिवादी दुर्गा धिमाललाई चिन्दिन जिउमास्ने वेच्ने अपराधमा सजाय हुनु पर्ने होइन भनेको भनी अर्थ गर्न मिल्ने देखिएन ।

      २८. पुनरावेदकको प्रहरीमा भएको सावितिलाई पिडित जाहेरवालीको भनाइवाट समर्थित भइरहेको पाइन्छ । पुनरावेदकले प्रहरीमा कुटपिट गरी स्वेच्छा विरुद्द नसुनाई सहीछाप गराएको भनी जिकिर लिएको भएतापनि घा जाँच फाराममा सम्पूर्ण शरिरमा दुख्छ भन्ने वाहेक कुनै वाह्य घा जोट नदेखाइएको अवस्थामा कुटपिट गरी साविति गराएको भनी भन्न मिलेन । जीउमास्ने वेच्ने जस्तो मुद्दामा प्रतिवादीले अन्यथा प्रमाणित गर्न सकेमा वाहेक पिडित जाहेरवालीको भनाइलाई विश्वासप्रद नै मान्नु पर्ने हुन्छ । प्रतिवादीले उक्त कुरालाई अन्यथा हो भनी मिसिल संलग्न प्रमाण्वाट कंही कतै पुष्टि गर्न सकेको पाइदैन । यस्तो अवस्थामा निज कसुरदार होइन भन्न मिलेन  ।

      २९. अतः पुनरावेदकलाई १० वर्ष कैद सजाय गर्ने गरेको शुरु मोरङ जिल्ला अदालतको इन्साफ मनासिव ठहर्‍याई भएको पुनरावेदन अदालत विराटनगरको फैसला मिलेकै देखिदा सदर हुने ठहर्छ । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी वुझाई  दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.केदारनाथ आचार्य

 

इति सम्वत २०५३ साल चैत्र १२ गते रोज ३ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु