निर्णय नं. ६३९७ - परमादेश

निर्णय नं. ६३९७ २०५४, ने.का.प. अङ्क ६
संयुक्त इजलास
माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी
माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य
सम्वत् २०५१ सालको रि.नं. ... २६४७
आदेश मितिः २०५४।१।६।६
विषयः परमादेश ।
रिट निवेदकः जिल्ला सुर्खेत जकुटा गा.वि.स.वडा नं. ३ वस्ने टेक वहादुर पौडेल समेत जना ४
विरुद्ध
विपक्षीः नेपाल विद्युत प्राधिकरण, वितरण तथा ग्राहकसेवा निर्देशनालय, काठमाण्डौं समेत जम्मा ५
§ रिट निवेदकहरुलाई मिति २०५०।८।९ को निर्णय अनुसार प्राविधिक कुल्ली पद तह १ मा एक वर्षको परीक्षणकालमा रहने गरी स्थायी नियुक्ति गरिएको हो भन्ने नेपाल विद्युत प्राधिकरण प्रशासन विभागको मिति २०५०।८।९ को स्थायी नियुक्ति विषयको मिसिल संलग्न पत्रको फोटो प्रतिलिपिबाट देखिएको र उक्त निर्णयलाई लिखित जवाफमा खण्डन भएको पनि देखिएन । लिखित जवाफमा सिमित प्रतियोगिताको नतिजा प्रकाशित हुँदाको सूचनामा तोकिएको शर्त पूरा नभएको भन्ने कुराको सम्वन्धमा सो सूचना मिति २०५०।५।१७ मा मात्र प्रकाशित भएको फोटो प्रतिलिपिबाट देखिदा मिति २०५०।८।९ मा निवेदकहरुलाई नियुक्ति दिने निर्णय भएपछि सो भन्दा अगाडिको सूचनाको शर्त वमोजिम निवेदकहरुले नियुक्ति नपाउने भन्न सकिने अवस्था नदेखिने ।
(प्र.नं. ६)
निवेदक तर्फबाटः विद्वान अधिवक्ता श्री खगेन्द्र प्रसाद अधिकारी
विपक्षी तर्फबाटः विद्वान अधिवक्ता श्री प्रकाश रावत
अवलम्वित नजिरः
आदेश
न्या. कृष्णजंग रायमाझीः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८(२) अन्तर्गत यस अदालतमा पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा निम्न अनुसार छः
२. हामी रिट निवेदकहरु मध्ये टेक वहादुर पौडेल कुल्ली पदमा र मोतिलाल पुन लाल वहादुर पुन मगर र मोतिप्रसाद आचार्य लाइन मेन पदमा नेपाल विद्युत प्राधिकरण सुर्खेत शाखामा दैनिक ज्यालादारीमा कार्यरत रहेकोमा हामि रिट निवेदकहरु नेपाल विद्युत प्राधिकरणबाट नेपाल विद्युत प्राधिकरणको प्राविधिक सेवा तह १ इलेट्रिकल समुहको स्थायी कुल्ली पद पूर्तिका लागि प्रकाशित विज्ञापन अनुसार २०४९।५।१७ का दिन नेपालगंज परिक्षा केन्द्रबाट लिइएको अन्तरवार्तामा सम्मिलित भएका थियौं । यसरी अन्तरवार्तामा सम्मिलित हामी रिट निवेदकहरुलाई ज्यालादारी शिर्षकमा वजेट कम भएको भनी दैनिक ज्यालादारीमा २०४९।८।२५ पश्चात काममा लगाइएन । सम्मिलित भएको अन्तरवार्ताबाट हामीहरु उत्तिर्ण भएको थाहा पाई नियुक्ति पाउन निरन्तर प्रयास गर्दा पनि विपक्षीहरुबाट हामीलाई नियुक्तिपत्र दिइएन । जवकि हामी सरह समान प्रतियोगी खगेन्द्र प्रसाद पोखरेल र दिक वहादुरलाई नियुक्ति पत्र दिई उनीहरु कार्यरत समेत रहेका छन । हामीहरुले अधिकार प्राप्त पदपूर्ति समितिको सिफारिश तथा मिति २०५०।८।९ को निर्णय अनुसार पाउनु पर्ने नियुक्तिपत्र पाउन निवेदन दिएकोलाई पूर्ण वेवास्ता गरिएको छ भने अर्काे तर्फ हामीलाई नियुक्ति गर्ने निर्णयलाई अन्यथा भन्न र गर्न विपक्षीलाई कुनै प्रचलित कानूनले अधिकार प्रदान गरेको छैन । यसरी हामी निवेदकहरुले कानून वमोजिम पाउनु पर्ने नियुक्ति पत्र नदिएकोबाट नेपाल विद्युत प्राधिकरण सेवा नियमावली, २०५० को नियम २ को खण्ड (ङ) तथा नियम २६ को उपनियम (१) को प्रतिकूल रहनका साथै हामी निवेदकहरुको नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११(१), १२(२)(ङ) १६ तथा १७(१) द्वारा प्रदत्त हकहरु आघातित भएका र नियुक्तिपत्र नदिने काम कारवाही कानून प्रतिकूल समेत रहेको हुँदा हामी निवेदकहरुलाई नियुक्ति पत्र दिई हाजिर गराई काममा लगाउनु भनी प्रत्यर्थीहरुका नाउँमा नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(२) अन्तर्गत परमादेशको आदेश लगायत अन्य जो चाहिने आज्ञा, आदेश वा पूर्जी जारी गरी पाउँ भन्ने समेत व्यहोराको यस अदालतमा परमादेशको रिट निवेदन पत्र ।
३. यसमा के कसो भएको हो? निवेदकको माग वमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? लिखित जवाफ आएपछि वा अवधि नाघेपछि नियम वमोजिम पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालतको एक न्यायाधीशको इजलासबाट भएको आदेश ।
४. निर्णय भएको १२ महिनाको लामो अन्तराल पछि यो रिट निवेदन परेकोले विलम्बका सिद्धान्तका आधारमा रिट निवेदन खारेजभागी छ । नतीजा प्रकाशित हुँदाको सूचनाको शर्तहरु विपक्षीहरुबाट पूरा नभएको कारण नियुक्ति नदिएको हो । हामी प्रत्यर्थीको काम कारवाही कानून सम्मत नै भएकोले प्रस्तुत रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत व्यहोराको नेपाल विद्युत प्राकिरण संचालक समिति, ऐ ऐ वितरण तथा ग्राहक सेवा निर्देशनालय र ऐ ऐ प्रशासन विभागका तर्फबाट संयुक्त रुपमा र सोही व्यहोराको नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय, क्षेत्रीय कार्यालय वुटवलको यस अदालतमा पेश भएको लिखित जवाफ ।
५. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत रिट निवेदनमा रिट निवेदकका तर्फबाट उपस्थित हुनु भएका विद्वान अधिवक्ता श्री खगेन्द्र प्रसाद अधिकारीले मेरो पक्षलाई समेत नेपाल विद्युत प्राधिकरणको २०५०।८।९ को निर्णय अनुसारको नियुक्ति दिने निर्णय गरिएकोमा सोही अनुसार मेरो पक्षले नियुक्ति पाउनु पर्नेमा निरन्तर प्रयासरत रहंदा पनि नियुक्ति पत्र नदिने गरेको काम कारवाहीबाट मेरो पक्षको कानूनी र संवैधानिक हकमा आधात परेकोले मेरो पक्षलाई विपक्षीको २०५०।८।९ को निर्णय अनुसार नियुक्ति पत्र दिनु भनी विपक्षीको नाउँमा परमादेशको आदेश जारी हुनुपर्दछ भनी र विपक्षी तर्फबाट उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री प्रकाश रावतले निवेदकहरुले नतिजा प्रकाशन गर्दाको सेवाको शर्त, निरोगिताको प्रमाणपत्र र अद्योपान्त सेवाको निरन्तरताको प्रमाण पेश नगरेको र निजहरु सेवामा निरन्तर रुपमा कार्यरत नरहेको भनी कार्यालय प्रमुखबाट पत्राचार भएकोले सोही अनुसार रिट निवेदकलाई नियुक्ति पत्र नदिइएको हो । रिट निवेदकको माग बमोजिम रिट जारी हुनुपर्ने अवस्था नभएकोबाट रिट निवेदन खारेज हुनु पर्दछ भनि गर्नु भएको वहस जिकिर समेत सुनी रिट निवेदकको माग दावी वमोजिम रिट जारी हुनु पर्ने नपर्ने के हो ? सो उपर निर्णय दिनु पर्ने भएको छ ।
६. यसमा आज निर्णय सुनाउन तोकी पेश भएकोमा विपक्षी निकायले लिएको परीक्षामा सम्मिलित रही उतिर्ण भई मिति २०५०।८।९ को निर्णय अनुसार हामीले नियुक्ति पत्र पाउनु पर्ने र विपक्षीले नियुक्ति दिनु पर्नेमा निरन्तर प्रयास गर्दा पनि नदिएकोले हामीलाई नियुक्ति पत्र दिई हाजिर गराई काममा लगाउनु भनी विपक्षीका नाउँमा परमादेशको आदेश जारी गरी पाउँ भन्न मुख्य रिट निवेदन जिकिर नतिजा प्रकाशित गर्दाको सूचनाको शर्त विपक्षीहरुबाट पूरा नभएका कारणले गर्दा नियुक्ति नदिएको काम कारवाहीमा कानूनी र संवैधानिक त्रुटी विद्यमान नभई सो कार्य कानून सम्मत नै भएबाट रिट निवेदन खारेज गरी पाउँ भन्ने मुख्य लिखित जवाफ रहेको प्रस्तुत रिट निवेदनमा निर्णय तर्फ विचार गर्दा यसमा रिट निवेदकहरुलाई मिति २०५०।८।९ को निर्णय अनुसार प्राविधिक कुल्ली पद तह १ मा एक वर्षको परीक्षणकालमा रहने गरी स्थायी नियुक्ति गरिएको हो भन्ने नेपाल विद्युत प्राधिकरण प्रशासन विभागको मिति २०५०।८।९ को स्थायी नियुक्ति विषयको मिसिल संलग्न पत्रको फोटो प्रतिलिपिबाट देखिएको र उक्त निर्णयलाई लिखित जवाफमा खण्डन भएको पनि देखिएन । लिखित जवाफमा सिमित प्रतियोगिताको नतिजा प्रकाशित हुँदाको सूचनामा तोकिएको शर्त पूरा नभएको भन्ने कुराको सम्वन्धमा सो सूचना मिति २०५०।५।१७ मा मात्र प्रकाशित भएको फोटो प्रतिलिपिबाट देखिदा मिति २०५०।८।९ मा निवेदकहरुलाई नियुक्ति दिने निर्णय भएपछि सो भन्दा अगाडिको सूचनाको शर्त वमोजिम निवेदकहरुले नियुक्ति नपाउने भन्न सकिने अवस्था देखिंदैन । तसर्थ विपक्षीहरुका नाउँमा मिति २०५०।८।९ को निर्णय बमोजिम रिट निवेदकहरुलाई नियुक्ति पत्र दिनु भन्ने परमादेशको आदेश जारी गरि दिएको छ । मिसिल नियमानुसार गरी वुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.अरविन्दनाथ आचार्य
इति सम्बत् २०५४ साल वैशाख ६ गते रोज ६ शुभम