शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६४०१ - लिखत वदर

भाग: ३९ साल: २०५४ महिना: असोज अंक:

निर्णय नं. ६४०१             २०५४, ने.का.प.                   अङ्क ६

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री उदयराज उपाध्याय

माननीय न्यायाधीश श्री भैरव प्रसाद लम्साल

सम्वत् २०५१ सालको दे.पु.नं. ..    २२१५

फैसला मितिः २०५४।६।८।४

 

मुद्दाः लिखत वदर ।

 

प्रतिवादी/पुनरावेदकः नुवाकोट जिल्ला ढाडेदी घर भै हाल का.जि.का.न.पा. वडा नं. ४ वालुवाटार वस्ने वर्ष ६६ को जगन्नाथ पाण्डे समेत २ ।

विरुद्ध

वादी/प्रत्यर्थीः  नुवाकोट जिल्ला मदानपुर गा.वि.स. वडा नं १ घर भै हाल का.जि.नयां वानेश्वर डेरा गरी वस्ने सत्य रुपा पाण्डे ।

§  हजुरवुवा जगन्नाथले आफ्नी छोरी माया सेढाइलाई ०४१।२।३ मा हालैको वकसपत्र गरी दिएको  पिता राम प्रसाद परलोक हुनु भएको निजको आधा सम्पत्तिमा हक लाग्नेमा जेठी दिदी राधा देवीको विवाह भएको म अविवाहिता हुँदा आधी लिखत वदर गरी पाउँ भन्ने वादी र अपुतालीको २ नं. ले विपक्षीलाई हकाधिकार प्राप्त भए पनि वादीको वावुले पाउने अंश  हक सम्ममा वादीलाई हकदैया प्राप्त हुने हो । विपक्षीको २ दिदी वहिनी मध्ये दिदी राधा देवीको विवाह भइसकेको छ । वादी छोराकी छोरी हुन निजको जन्म २०३३।६।१७ मा भएको हो । फिराद खारेज हुनु पर्दछ भन्ने प्रतिवादी भई विवाद परेको देखिन्छ ।

 

§  फिराद गर्दा वादीले १६ वर्षकी हुँ भनी उमेर उल्लेख गरेको र प्रतिउत्तर जिकिरबाट ०३३।६।१७ मा जन्म भएको भन्ने हिसावबाट १५ वर्षको उमेर नाघी १६ वर्षको देखिनाले समेत वादीले नालेश गर्न नपाउने अवस्था देखिदैन । प्रतिवादी जगन्नाथ र निजको छोरा राम प्रसाद भई निज राम प्रसादकी छोरी वादी भएकी र राम प्रसाद परलोक भई सकेको तथ्यमा विवाद छैन । वावु छोरा भएकोमा अंशवण्डाको १ नं. ले आफ्नो आधी अंश लाग्ने र अपुताली पर्दा छोरा नभए छोरीले   अपुताली पाउनेमा कन्या छोरीले दुई खण्ड र विवाह  भएकी छोरीले एक खण्ड पाउने गरी अपुतालीको २ नं. ले कानूनी व्यवस्था गरेको समेत देखिन्छ । यसबाट वावु राम प्रसाद परलोक भएपछि निजको अपुतालीमा वादीको हक लाग्ने नै देखियो । विवादीत सम्पत्ति २०११ सालमा वकस पाई प्रतिवादी जगन्नाथको हक भएको भन्ने प्रतिउत्तर जिकिर देखिन्छ । स्व. राम प्रसाद  र जगन्नाथको वीच रीत पूर्वकको वण्डा नभएको २०३४।९।२७ पूर्व तत्काल प्रचलित मुलुकी ऐन अंशवण्डाको १८ नं. ले सगोलको अंशियारले जुनसुकै व्यहोराबाट प्राप्त गरे पनि एकलौटी हुने अवस्था रहे भएको नदेखिने र वादीले विवाह भएकी छोरी राधा देवी भएको भन्ने कुरा फिरादमा उल्लेख गरेको र निजको हकमा यो नालेश परेको समेत नदेखिदा स्व. राम प्रसादको हक लाग्ने आधीमा ३ खण्डको २ खण्डमा मात्र वादीको हक लाग्ने हुनाले विवादीत लिखतमा वादीको हक लाग्ने जति ३ खण्डको २ खण्ड लिखत वदर हुने ठहर्छ । आधि लिखत वदर हुने ठहर्‍याएको पुनरावेदन अदालत ललितपुरको इन्साफ सो हदसम्म नमिलेकोले केही उल्टी हुने ।

(प्र.नं. ११ र १२)

 

प्रतिवादी पुनरावेदन तर्फबाटः       विद्वान अधिवक्ता श्री रमेश प्रसाद धिताल

वादी प्रत्यर्थी तर्फबाट :

अवलम्वित नजिरः

फैसला

     न्या.उदयराज उपाध्यायः पुनरावेदन अदालत पाटनको मिति २०५१।४।२० गतेको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) वमोजिम दायर प्रस्तुत मुद्दाको पुनरावेदनको संक्षिप्त व्यहोरा एवं ठहर यस प्रकार छः

      २. विपक्षी मध्येका जगन्नाथका छोरा राम प्रसाद पाण्डे मेरो पिता हुँदा छोरा १  जन्मेको परलोक भएको र जेठी छोरी राधादेवीको विवाह भै सकेको म एक मात्र छोरी र हजुरवुवा जगन्नाथ एका घरमा वसी साविक मदानपुर गा.पं. वडा नं. १ को कि नं. ३४६ क्षे.फ. ९---३ खेत ऐ. कि.नं. ५०७ को २३--३ पाखो र ऐ. कि. नं. ५४९ को ७--२ पाखो घर समेत भएको सो जग्गा समेत उपभोग गरी आएका थियौं । पिता २०३३ सालमा परलोक भएको माता पोइल गइसकेको सो घर जग्गामा विपक्षी जगन्नाथ र मेरो वावा राम प्रसादको आधा आधा अंश हक लाग्ने हुँदा मेरो पिता राम प्रसादले पाउने अंश हक जति मैले पाउनु पर्ने अपुतालीको २ नं. मा व्यवस्था भएको । विपक्षी जगन्नाथलाई मेरो पिताले पाउने आधा अंश दिनुहोस् भनी भन्दा मैले अन्यत्र दिई सकेको छु भनेकोले मालपोत कार्यालयमा गै हेर्दा दिने जगन्नाथ लिने मायां पाण्डे भै हा.व गरि लिए दिएछन् । आधा लिखत वदर गरी पाउँ भन्ने समेत व्यहोराको वादीको फिराद  दावी ।

      ३. विपक्षीको उमेर १६ वर्ष पुगेको छैन । रीझाए वापत वक्सपत्रवाट प्राप्त आफूखुस गर्न पाउने कसको हक नलाग्ने जग्गा लिए दिएका हौं । फिराद खारेज गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीहरुको संयुक्त प्रतिउत्तर पत्र ।

      ४. जगन्नाथले, नीजि तवरवाट वक्सपत्र पाएको सम्पत्ति नीजले आफू खुस गर्न पाउने हुँदा वण्डा गर्न कर नलाग्ने हुँदा वादी दावी पुग्न नसक्ने ठहर्छ भन्ने समेत व्यहोराको नु.जि.अ. को फैसला ।

      ५. अंशवण्डा सम्वन्धी र अपुताली सम्वन्धी कानूनले समेत सुरक्षित राखेको हुँदा मेरो फिराद दावी वमोजिम लिखत वदर गराई माग्ने हक हुँदा हुदै पनि पिताले वदर गराउने हक नभएको भन्ने फैसला वदर गरी पाउँ भन्ने समेत व्यहोराको वादीको पुनरावेदन पत्र ।

      ६. अंशवण्डाको १८ नं. र अपुतालीको २ नं. समेतको आधारमा शुरुको निर्णय विचारणीय हुँदा अ.वं. २०२ नं. वमोजिम विपक्षी झिकाई पेश गर्नु भन्ने २०५०।१०।१४ को श्री पुनरावेदन अदालत पाटन ललितपुरको आदेश ।

      ७. २०३४।९।२७ भन्दा अघि संगोलको अंशियारले जुनसुकै व्यहोराले प्राप्त गरेको सम्पत्ति एकलौटी नहुने, विवादित लिखतमा परेको अचल सम्पत्ति स्व.पिता राम प्रसादको आधा र जगन्नाथको आधा हक लाग्ने भएपछि सगोलमा वसेकी अविवाहित छोरी एक मात्र हुँदा पिताको भागको आधा वादीको हुदैन भनी व्याख्या गर्न मिलेन । २०४१।२।३ को आधा सम्म लिखत वदर गर्नु पर्नेमा लिखत वदर नहुने ठहर गरेको २०४९।६।२७ को शुरु फैसला उल्टी हुन्छ । आधा लिखत वदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत पाटनको फैसला ।

      ९. फिराद लेखवाटै वादी १९ वर्ष की भनी स्पष्ट लेखिएको छ । १६ वर्ष पुगी १७ वर्ष नलागेकी नावालक मानिने कुरा मुलुकी ऐन, अ.वं. २४।४० र ८३ नं. मा व्यवस्था छ भने अर्को तिर निजी आर्जनको सम्पत्ति आफूखुस गर्न पाउने व्यवस्था अंश वण्डाको १८ नं. मा छंदा छदै निजी आर्जनको सम्पत्ति वक्पसत्र गरि दिएको लिखत सदर हुनुपर्नेमा पुनरावेदन अदालतले लिखत वदर हुने ठह्याएको फैसला न्यायसँगत नहुँदा सो फैसला वदर गरी पाउँ भन्ने जगन्नाथ पाण्डे समेतको संयुक्त पुनरावेदन पत्र ।

      ९. यसमा विवादको मिति २०४१।२।३ को लिखतको अचल सम्पत्ति जगन्नाथ पाण्डेले ०११।२।११ को वक्सपत्र वमोजिम प्राप्त गरेको निजको पालाको आर्जन देखिंदा लेनदेन व्यवहारको १० नं.ले आफूखुस गर्न पाउनेमा लिखत वदर हुने ठहर्‍याएको पुनरावेदन अदालत पाटनको फैसला नमिली फरक पर्ने देखिंदा विपक्षी झिकाउने भन्ने यस अदालतको ०५३।१०।२ को आदेश ।

      १०. नियम वमोजिम दैनिक पेशी सुचिमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन सहितको मिसिल अध्ययन गरियो । पुनरावेदक प्रतिवादी तर्फवाट उपस्थित विद्वान अधिवक्ता श्री रमेश प्रसाद धितालले मेरो पक्ष जगन्नाथले आफ्नी छोरी मायांसेडाइलाई २०४१।२।३ मा वक्सपत्र दिएको सम्पत्ति १०११ सालमा एकरामवाट प्राप्त गरेको निजी आर्जनको हुँदा सो सम्पत्ति उपर लिखत वदरमा वादीलाई दावी गर्ने हक छैन। वादीको अर्की दिदी पनि हुनाले आधी लिखत वदर हुने अवस्था पनि छैन भनी वहस प्रस्तुत गर्नु भयो ।

      ११. हजुरवुवा जगन्नाथले आफ्नी छोरी माया सेढाइलाई ०४१।२।३ मा हालैको वकसपत्र गरी दिएको  पिता राम प्रसाद परलोक हुनु भएको निजको आधा सम्पत्तिमा हक लाग्नेमा जेठी दिदी राधा देवीको विवाह भएको म अविवाहिता हुँदा आधी लिखत वदर गरी पाउँ भन्ने वादी र अपुतालीको २ नं. ले विपक्षीलाई हकाधिकार प्राप्त भए पनि वादीको वावुले पाउने अंश हक सम्ममा वादीलाई हकदैया प्राप्त हुने हो । विपक्षीको २ दिदी वहिनी मध्ये दिदी राधा देवीको विवाह भइसकेको छ । वादी छोराकी छोरी हुन निजको जन्म २०३३।६।१७ मा भएको हो । फिराद खारेज हुनु पर्दछ भन्ने प्रतिवादी भई विवाद परेको देखिन्छ ।

      १२. फिराद गर्दा वादीले १६ वर्षकी हुँ भनी उमेर उल्लेख गरेको र प्रतिउत्तर जिकिरबाट ०३३।६।१७ मा जन्म भएको भन्ने हिसावबाट १५ वर्षको उमेर नाघी १६ वर्षको देखिनाले समेत वादीले नालेश गर्न नपाउने अवस्था  देखिदैन । प्रतिवादी जगन्नाथ र निजको छोरा राम प्रसाद भई निज राम प्रसादकी छोरी वादी भएकी र राम प्रसाद परलोक भई सकेको तथ्यमा विवाद छैन । वावु छोरा भएकोमा अंशवण्डाको १ नं. ले आफ्नो आधी अंश लाग्ने र अपुताली पर्दा छोरा नभए छोरीले अपुताली पाउनेमा कन्या छोरीले दुई खण्ड र विवाह  भएकी छोरीले एक खण्ड पाउने गरी अपुतालीको २ नं. ले कानूनी व्यवस्था गरेको समेत देखिन्छ । यसबाट वावु राम प्रसाद परलोक भएपछि निजको अपुतालीमा वादीको हक लाग्ने नै देखियो । विवादीत सम्पत्ति २०११ सालमा वकस पाई प्रतिवादी जगन्नाथको हक भएको भन्ने प्रतिउत्तर जिकिर देखिन्छ । स्व. राम प्रसाद र जगन्नाथको वीच रीत पूर्वकको वण्डा नभएको २०३४।९।२७ पूर्व तत्काल प्रचलित मुलुकी ऐन अंशवण्डाको १८ नं. ले सगोलको अंशियारले जुनसुकै व्यहोराबाट प्राप्त गरे पनि एकलौटी हुने अवस्था रहे भएको नदेखिने र वादीले विवाह भएकी छोरी राधा देवी भएको भन्ने कुरा फिरादमा उल्लेख गरेको र निजको हकमा यो नालेश परेको समेत नदेखिदा स्व. राम प्रसादको हक लाग्ने आधीमा ३ खण्डको २ खण्डमा मात्र वादीको हक लाग्ने हुनाले विवादीत लिखतमा वादीको हक लाग्ने जति ३ खण्डको २ खण्ड लिखत वदर हुने ठहर्छ । आधि लिखत वदर हुने ठहर्‍याएको पुनरावेदन अदालत ललितपुरको इन्साफ सो हदसम्म नमिलेकोले केही उल्टी हुन्छ । अरु तपसिल वमोजिम गर्नु ।

 

तपसिल

पुनरावेदक प्रतिवादी जगन्नाथ पाण्डे समेतको माथि इन्साफ खण्डमा लेखिए वमोजिम मिति २०४१।२।३ को वक्सपत्र लिखतमा आधा लिखत वदर हुने ठहर्‍याएको पुनरावेदन अदालत पाटनको फैसलामा आधा लिखत मध्ये ३ खण्डको १ खण्ड लिखत वदर नहुने भएकोले पु.वे.अ. को फैसलाले वादीले पाउने ठहर्‍याएको शुरु कोर्ट फि रु.४४। पुनरावेदन गर्दा यस अदालतमा धरौट राखेको देखिंदा ३ खण्डको १ खण्डको दामासाहीले हुने रु.१४।६६ फिर्ता पाउने ठहरिएकोले ऐनका म्याद भित्र दरखास्त दिए फिर्ता दिनु भनी लगत फाँटमा लगत दिनु..... १

प्रत्यर्थी वादी सत्यरुपा पाण्डेको माथि इन्साफ खण्डमा लेखिए वमोजिम ०४१।२।३ को वक्सपत्र लिखतको सम्पत्तिमा आधा मध्ये ३ खण्डको २ खण्ड लिखत वदर हुने ठहरेकोले प्रतिवादीले पुनरावेदन गर्दा यस अदालमा शुरु कोर्ट फि रु.४४। धरौटी राखेको देखिंदा ३ खण्डको २ खण्डले हुने कोर्ट फि. रु.२९।३२ फिर्ता पाउने ठहरेकोले ऐनको म्याद भित्र फिर्ता दिन दरखास्त दिए फिर्ता भनी लगत दिनु ..   १

फैसलाको जनाउँ सम्वन्धित मालपोत  कार्यालयलाई दिनु ....     १

प्रस्तुत मुद्दाको मिसिल नियमानुसार गरी वुझाई दिनु ........      १

 

उक्त रायमा म सहमत छु ।

 

न्या.भैरव प्रसाद लम्साल

 

इति सम्वत २०५४ साल आश्विन ८ गते रोज ४ शुभम्

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु