शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७८०४ - रकम दिलाई पाउँ ।

भाग: ४९ साल: २०६४ महिना: बैशाख अंक:

निर्णय नं.७८०४     ने.का.प.२०६४ अङ्क १

 

सर्वोच्च अदालत संयुक्त इजलास

माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी

माननीय न्यायाधीश श्री शारदा श्रेष्ठ

सम्वत २०६१ सालको दे.पु.नं.:१००८६

फैसला मितिः २०६३।११।२०।१

 

मुद्दाः रकम दिलाई पाउँ ।

 

पुनरावेदक/प्रतिवादीः जिल्ला सप्तरी, भगवतपुर गाउँ विकास समिति वडा नं. ६ मा रहेको विजय ब्यापार केन्द्र राजविराज८ सप्तरीका प्रोप्रार्ईटर विजय चन्द्र लाभ ।

विरूद्ध

प्रत्यर्थी/वादीः जिल्ला धनुषा जनकपुर नगरपालिका वडा  नं. ४ स्थित एभरेष्ट पेपर मिल्स प्रा.लि.     जनकपुर ।

 

§  वादी प्रतिवादीहरूको बीचमा भएको सम्झौता पत्र केवल सम्झौतापत्र मात्र हो, करार हो भन्नलाई करारमा हुनुपर्ने मुख्य ३ कुराहरू मध्येः करारीय दायित्व को कसले कसरी व्यहोर्ने, सम्झौताको परिपालन नभएमा कुन कानूनको प्रयोग हुने, सम्झौताबाट पक्षहरूको बीचमा दायित्व र अधिकार श्रृजना भएको छ वा छैन भन्ने जस्ता विषयहरू सम्झौतामा हेरिनु पर्दछ। यी पक्ष विपक्षीको बीचमा भएको सम्झौतामा दुवै पक्षको बीचमा कारोवार भई दायित्व र अधिकार श्रृजना भएको तर कानूनको परिपालना सम्बन्धमा केही उल्लेख नभएबाट प्रस्तुत सम्झौतालाई करार भन्न नमिल्ने ।     

(प्रकरण नं. १९)

§  वादी प्रतिवादीहरूको बीचमा सम्झौता भई व्यापारिक कारोवार समेत भै सकेको अवस्थामा यदि सम्झौतामा कुनै विशेष कानून उल्लेख भई सोही कानून अनुसार उपचार प्रदान हुनेछ भन्ने व्यवस्था उल्लेख भएदेखि बाहेक लेनदेन व्यवहार सम्बन्धमा सामान्य कानून अन्तर्गत रहेको मुलुकी ऐनको लेनदेन व्यवहारको महलनै आकर्षित हुने ।

(प्रकरण नं. २०)

§  प्रतिवादी मध्येको विजय व्यापार केन्द्रका प्रोप्राइटर विजय चन्द्र लाभ उक्त संस्थाको संस्थापक भई संस्थाको प्रमुख उत्तरदायी व्यक्ति भएको, प्रतिवादी अनिल कुमार कर्ण विजय व्यापार केन्द्रको कर्मचारी भै व्यापार केन्द्रको प्रतिनिधिको रुपमा गरेको व्यापरिक कार्यबाट निजलाई नि रुपमा उत्तरदायी बनाउन नमिल्ने भएकोले प्रतिवादी अनिल कुमारले व्यक्तिगत हैसियतबाट कुनै काम नगरेको अवस्थामा व्यापार केन्द्रको नाममा रहेको उधारो रकम निजबाट समेत भराउने गरेको हदसम्मको शुरु जिल्ला अदालतको फैसला मिलेको नदेखिने ।

(प्रकरण नं. २२)

निवेदक तर्फबाटः विद्वान अधिवक्ता रत्नेश्वरप्रसाद शर्मा

विपक्षी तर्फबाटः

अवलम्बित नजीरः ने.का.प.२०४८ नि.नं. ४३५९ पृ.४९९

 

फैसला

न्या.केदारप्रसाद गिरीः पुनरावेदन अदालत जनकपुरबाट मिति २०५८।५।६ मा भएको फैसला उपर चित्त नबुझी प्रतिवादी पक्षबाट न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः

२.    विपक्षी मध्येका विजय व्यापार केन्द्र तर्फबाट विपक्षी विजय चन्द्र लाभले यस उद्योगको तत्कालिन स्टाफ विपक्षी अनिल कुमार कर्ण मार्फत सेतो कागज किनबेचको व्यापार गर्ने क्रममा पटकपटक गरी उधारो रकम र ट्रक भाडा समेत गरी रु. ३,९१,९४६।८८ लिनु भएकोमा रु. ७०,०००।नगद बुझाउनु भएको र रु. १,५०,०००।– (एक लाख पचास हजार) रा.वा. बैंक जनकपुर शाखाबाट निज विजय व्यापार केन्द्रको परफरमेन्स वण्डबाट प्राप्त गरे पनि बाँकी हुने रु. १,७१,९४६।८८ विपक्षीलाई तिर्न बराबर टेलिफोन र पत्राचार गर्दा पनि तिरी भुक्तानी गर्नु भएन । तसर्थ विपक्षीले तिर्नु पर्ने साँवा रु. १,७१,९४६।८८ र विपक्षीले उधारो सामान लाँदा कवुल गरेको २४ प्रतिशत ले २०४९ साल आषाढ मसान्त सम्मको हुने व्याज रु. ४३,०९०।१४ र साँवा रु. १,७१,९४६।८८ गरी जम्मा साँवा ब्याज रु. २,१५,०३७।०२ पैसा विपक्षीबाट दिलाई भराई पाउँ भन्ने मिति २०४९।१२।१०।३ को फिराद पत्र ।

३.    विपक्षीले लेनदेन व्यवहारको ४० नं. अंगाली आउनु भएको छ तर फिराद लेखको प्रकृतिबाटै प्रस्तुत मुद्दा करार ऐन अन्तर्गतको भएकोमा सो को म्याद नाघी दर्ता भएको हुँदा खारेज हुनु पर्दछ । वादीले दुई जनालाई प्रतिवादी बनाउनु भएको छ तर कुन प्रतिवादीले के व्यहोराले लिएको हो र कुन प्रतिवादीबाट बिगो भराउनु पर्ने हो सो पनि स्पष्ट छैन । वादीले दावी लिएको बिल बमोजिमको रकम म माथि बाँकी छैन । मिति २०४८।७।२७ को बिल नं. २०० र मिति २०४८।९।१४ को बिल  नं. २६६ बाट मेरो फर्ममा कागज आएको छ । सोको भुक्तानी गरी सकेको छु । बिल नं. २३६ र बिल नं. २७४ को कागज मेरो फर्ममा आएको छैन । बिलमा भएको सही पनि मेरो होइन । विपक्षीले लेख्नु भएको ३ पि.एम.२.४.१३९/१३२६ र २.४.१३९ को पत्र मेरो फर्ममा आई पुगेको छैन । मिति २०४९।४।१५ को भुक्तानी सम्बन्धी सर्तनामा सम्बन्धमा पनि मलाई कुनै जानकारी छैन । बैंकबाट प्राप्त गरेको भनेको रु. १,५०,०००।सम्बन्धमा बैंकमा मैले परफरमेन्स वण्ड पनि बनाएको छैन । अतः विपक्षीले मैले बुझाउनु पर्ने सम्पूर्ण रकम बुझाई सकेको हुँदा झुठ्ठा दावाबाट फुर्सद दिलाई पाउँ भन्ने समेत व्यहोराको विजय व्यापार केन्द्र राजविराजका प्रोप्राईटर विजय चन्द्र लाभको प्रतिउत्तर पत्र ।

४.    वादीले दावी लिनु भएको ऐन प्रस्तुत मुद्दामा आकर्षित हुन नसक्ने हुँदा खारेज गरी पाउँ । दोश्रो कुरा विपक्षीसँग कारोवार गर्ने विजय व्यापार केन्द्र हो म लिने दिने व्यक्ति होइन । दावी गर्नु भएको समयमा विपक्षीको मिलमा स्टाफ भै काम गरेको थिएँ । विपक्षीले लाए अह्राए बमोजिमको काम गर्ने हुँदा विपक्षीले दिएको कागज विजय व्यापार केन्द्रलाई के कति कागज दिए र लिनु पर्ने कति छ सो पनि मलाई थाहा छैन । मैले विपक्षीको मिलबाट जागिर छोडे पनि विजय व्यापार केन्द्रमा काम गर्न थालेपछि विजय व्यापार केन्द्रको नाममा आउने चिठ्ठी पत्र बुझी लिने गरेको र सो अवधिमा कुनै उधारोमा कागज समेत आएको नहुँदा विपक्षीको झुठ्ठो फिराद दावाबाट उन्मुक्ती दिलाई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी अनिल कुमार लाल कर्णको प्रतिउत्तरपत्र ।

५.    बिल नं. २७४ बिल नं. २३६ को बिलहरू देखाउँदा देखे ती बिलहरूमा मेरो सही छाप अथवा मेरो फर्मको तर्फबाट कसैको सहीछाप परेको छैन । बिलको कागज मैले लिएको छैन भन्ने समेत व्यहोराको प्रतिवादी विजय चन्द्र लाभको मिति २०५०।१२।१६ को सनाखत बयान ।

६.    देखाईएको बिल नं. २७४ र २३६ का बिलहरू हेरे । सो बिल बमोजिमको रकम एभरेष्ट पेपर मिलमा काम गर्दा बिल नं. २०० र २६६ को कागज चलान भएको हो जसको भुक्तानी विजय व्यापार केन्द्रले नै गरी सकेको छ । मैले पेपर मिलबाट नोकरी छाडेपछि विजय व्यापार केन्द्रले कहिले कागज प्राप्त गरेको छैन । ट्रकबाट सामान पठाएको भए अन्यत्र भुक्तानी गरी झुठ्ठा बिल पेश गरेको हुनु पर्छ । बिल नं. २३६ र २७४ मा हाम्रो पक्षबाट कसैको सही छाप नहुँदा उक्त गलत हो भन्ने समेत व्यहोराको प्रतिवादी विजय किशोर लाभले गरेको सनाखत बयान।

७.    प्रतिवादीहरूले गरेको बयान व्यहोरा सुने । निजहरूले गरेको बयान झुठ्ठा एवं कपोलकल्पित हो । अनिल कुमार कर्ण यस उद्योगको तत्कलिन स्टाफ हो । निजबाटै विजय व्यापार केन्द्रले कागज लिएको हो । विपक्षीले भुक्तानी सम्बन्धमा यस उद्योगलाई लेखेको पत्रबाट समेत कारोबार भएको छ । निजहरूको बयान झुठ्ठा देखिन्छ भन्ने वादी राजेन्द्र महतको बयान।

८.    वादी तथा प्रतिवादी पक्षका साक्षीहरूले आआफ्नो पक्षमा गरेको वकपत्र ।

९.    वादीले प्रतिवादीहरूबाट बिल बमोजिमको रकम रु.१,७१,९४६।८८ (एक लाख एकहत्तर हजार नौसय छयालिस रुपैंया अठासी पैसा) भरी पाउने ठहर्छ । व्याजको सम्बन्धमा विचार गर्दा वादीद्धारा पेश भएका बिलहरू तथा मिति २०४८।१२।१९ को लिखतमा समेत ब्याज उल्लेख नभएको हुँदा लेनदेन व्यवहारको ६ नं. बमोजिम व्याज तर्फ वादी दावी पुग्न सक्दैन भन्ने शुरुको २०५५।१।९ को फैसला ।

१०.    वादी दावी बमोजिम लेनदेन कारोवार पनि भएको छैन । वादीले फिराद साथ पेश गरेको बिलहरूमा मेरो तर्फबाट कसैको सहिछाप परेको छैन । एउटै  लिखत एक समयमा करार र अर्क समयमा लेनदेन लिखत हुन सक्दैन । तसर्थ कारार ऐन अन्तर्गत प्रस्तुत मुद्दा नपरेकोले प्रस्तुत मुद्दालाई स्वतः खारेज गर्नु पर्नेमा मलाई हराई गर्नु भएको फैसला स्वतः बदर भागी छ भन्ने समेत व्यहोराको मिति २०५५।९।२९।४ को विजय चन्द्र लाभको पुनरावेदन पत्र ।

११.    जुन ऐनलाई अंगाली नालेश दायर भएको छ त्यो ऐन नै रकम दिलाउनको लागि आकृष्ट हनु सक्दैन । व्यापारिक कारोवारको लागि करार ऐनको नालेश गर्नु पर्नेमा बाटो बिराएर लेनदेनको ४० नं. अंगाली दायर भएको फिराद पत्रबाट इन्साफ हुन नसक्ने भै खारेज गरिनु पर्नेमा सो नगरी कानूनको गलत व्याख्या गरी वादी दावी ठहर गर्नु कानून सम्मत नहुँदा शुरुको फैसलाबाट उन्मुक्ति पाउँ भन्ने समेत व्यहोराको मिति २०५५।१०।७।५ को अनिल कुमार कर्णको पुनरावेदन पत्र ।

१२.   यसमा अ.वं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाउनु भन्ने मिति २०५७।१।२६ को आदेश ।

१३.   एभरेष्ट पेपर मिल कागज उत्पादन गर्ने उद्योग भएको, विजय व्यापार केन्द्रले उत्पादित कागजको खरीद गरी बेबिखन गर्ने कार्य गर्ने गरेको, यी वादी प्रतिवादी बीच व्यापार भई कागज लिने र बिल अनुसारको भुक्तानी दिने कार्य भई रहेकोमा केही बिल अस्वीकार गरेकोसम्म देखिएको, प्रतिवादीको मिति २०४९।५।१८ र २०४८।१२।१९ को पत्रबाट समेत वादीले प्रतिवादीलाई पहिलेको रकम तिर्न बुझाउन बाँकी छ भन्ने कुरा देखिन आएको हुँदा वादी दावी बमोजिम प्रतिवादीले वादीलाई रकम बुझाउनु पर्ने देखिन आएको हुँदा प्रतिवादी मध्येका अनिल कुमार कर्ण विजय व्यापार केन्द्रका कर्मचारी भएको हुँदा वादी दावी बमोजिमको रकम रु. १,७१, ९४६।९८  वादीले प्रतिवादी व्यापार केन्द्रबाट भरी पाउने ठहराउनु पर्नेमा प्रतिवादी अनील कुमार कर्णबाट समेत भराउने गरेको हदसम्मको इन्साफ उल्टी हुने र अरु शुरु फैसला कायम रहने गरी गरेको पुनरावेदन अदालत जनकपुरको मिति २०५८।५।६ को  फैसला ।

१४.   पुनरावेदन अदालतले गरेको फैसला मिलेको छैन । बिल नं. २०० र २६६ को बिल बमोजिम कागज मैले लिएको र सो को भुक्तानी पनि भै सकेको कुरा मिसिल संलग्न प्रमाणबाट देखिएको, रु. ५०,०००।भन्दा ढ्ता बिना ग्यारेन्टी उधारो नदिने पेपर मिल्सको नियम रहेको नहुँदा उक्त नियमको विपरीत कागज आपूर्त गर्नुपर्ने कुनै प्रयोजन रहेको नदेखिएको, बिल नं. २३६ र २७४ को बिल रु.पचास हजार भन्दा वढी अंकको भएको हुँदा, यी दुवै बिलहरू मौखिक अर्डरको रहेका र सो कागज आफ्नो ट्रकबाट ढुवानी भएको देखिदा कागज कहाँ कसलाई दिएको हो सो कुराको प्रमाण पेश नभएबाट मेरो तिर्नु पर्ने कानूनी दायित्व कहि कतैबाट देखिदैन । प्रतिवादी अनील कुमार कर्ण वादीको स्टाफभै रंजन कापी उद्योगको प्रोप्राईटर रहेको अवस्थामा अनील कुमार कर्णले आफ्ना हकमा पेपर मिल्ससँग गरेको सम्झौताले मलाई समात्न पाउने होइन । मुद्दामा पेश भएका कागजातहरूबाट ३ पटक करार भएको देखिन्छ । यसरी ३ पटक करार भै सकेकोमा करार ऐन अन्तर्गत नालेश नगरी लेनदेनको महल अनुसार आएको फिराद दावी नै अनुचीत हुँदा खारेज गर्नु पर्नेमा खारेज नगरी गरेको फैसला मिलेको छैन । यसरी नालेशै खारेज गर्नु पर्ने मुद्दामा नालेश खारेज नगरी प्रतिवादीहरूबाट दावी बमोजिम रकम भराई पाउने ठहर्छ भनी धनुषा जिल्ला अदालतबाट भएको फैसला केही उल्टी गरी भएको पुनरावेदन अदालत जनकपुरको फैसला नमिलेकोले बदर गरी वादी दावी खारेज गरी न्याय दिलाई पाउँ भनी प्रतिवादीको तर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।

१५.   यसमा वादी एभरेष्ट पेपर मिल्स प्रा.लि. को मिति २०४८।१२।१९ मा कागज बिक्रीका सम्बन्धमा भनी कागज आपूर्ति गर्ने सम्बन्धमा विभिन्न शर्त उल्लेख गरी कागजको बिक्री वितरण गर्ने प्रस्तावलाई पुनरावेदक प्रतिवादीले स्वीकार गरेबाट करारको स्वरुप ग्रहण गरेको अवस्थामा प्रस्तुत विवाद करार ऐन अन्तर्गत नपरी लेनदेन व्यवहार अन्तर्गत परेको आधारमा दावी ठहर गरेको पुनरावेदन अदालत जकपुरको मिति २०५८।५।६ को फैसला फरक पर्न सक्ने हुँदा छलफलको लागि अ.वं. २०२ नं. बमोजिम विपक्षी झिकाई नियमानुसार गरी पेश गर्नु भन्ने यस अदालत संयुक्त इजलासको आदेश ।

१६.    नियम बमोजिम दैनिक मुद्दा पेशी समा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा प्रत्यर्थी वादीको तर्फबाट उपस्थित विद्वान अधिवक्ता रत्नेश्वरप्रसाद शर्माले वादी प्रतिवादीहरूको बीचमा व्यापारिक कारोबार भएको, वादीले प्रतिवादीबाट उल्लेखीत रकम लिन बाँकी छ भन्ने कुरा वादी प्रतिवादीको बीचमा भएको सम्झौता एवं विजय व्यापार केन्द्रले र अनिल कुमारले एभरेष्ट पेपर मिल्सलाई लेखेको पत्रबाट समेत देखिएको हुँदा पुनरावेदन अदालतले गरेको इन्साफ मिलेकै हुँदा सदर हुनु पर्दछ भनी गर्नु भएको वहस समेत सुनी शुर, रेकर्ड र मिसिल संलग्न कागजातहरूको अध्ययन गरी निम्न प्रश्नहरूमा केन्द्रित रही निर्णय दिनु पर्ने हुन आयो ।

१.     वादी प्रतिवादीको बीचमा व्यापारिक कारोवार भएको छ, छैन यदी भएको छ भने             प्रस्तुत विवादमा लेनदेन व्यवहारको महल आकर्षित हुने हो वा करार ऐन                         आकर्षित हुने हो ?

२.    वादी दावी बमोजिम प्रतिवादीले वादीलाई रकम बुझाउनु पर्ने हो वा होइन ?

      ३.    पुनरावेदन अदालतले गरेको इन्साफ मिलेको छ वा छैन ?

१७.   निर्णय तर्फ विचार गर्दा विपक्षी विजय व्यापार केन्द्रको तर्फबाट निजको स्टाफ विपक्षी अनिल कुमार कर्ण मार्फत सेतो कागज किनवेचको व्यापार गर्ने क्रममा पटकपटक गरी कागज लगेको उधारो रकम र ट्रक भाडा समेतको रकम मध्ये सावाँ रु.१,७१,९४६।८८ र विपक्षीले उधारो सामान लिदा कवुल गरेको २४ प्रतिशत व्याजले २०४९ साल आषाढ मसान्त सम्मको हुने व्याज रु.४३,०९०।१४ समेत गरी जम्मा साँवा व्याज रु.२,१५,०३७।०२ विपक्षीबाट दिलाई भराई पाउँ भन्ने वादी दावी र विपक्षी लेनदेन व्यवहारको ४० नं. लाई अगांली आउनु भएको छ, फिराद लेखको प्रकृति हेर्दा करार ऐन आकर्षित हुने भएकोले करार ऐनले प्रदान गरेको हदम्याद भित्र फिराद पर्न नआएकोले प्रस्तुत फिराद खारेज हुनु पर्दछ । मैले विपक्षीबाट सामान ल्याएको बिल बमोजिमको रकमको भुक्तानी गरी सकेको छु । विपक्षीले दावी लिएको बिल नं. २३६ र २७४ को कागज मेरो फर्ममा आएको होइन बिलमा भएको भनिएको सहीछाप पनि मेरो होइन, विपक्षीले पठाएको भनेको पत्र फर्ममा आएको छैन । भुक्तानी सम्बन्धमा भएको सर्तनामा सम्बन्धमा पनि मलाई केही थाहा छैन । विपक्षीको बुझाउनु पर्ने सबै रकम बुझाई सकेकोले झुठ्ठा फिराद दावीबाट अलग फुर्सद गरी पाउँ भन्ने प्रतिउत्तर जिकिर भै चलेको प्रस्तुत मुद्दामा वादी दावी बमोजिमको रकम प्रतिवादीहरूबाट वादीले भराई पाउने ठहर गरेको शुरु जिल्ला अदालतको इन्साफ केही उल्टी गरी प्रतिवादी विजय व्यापार केन्द्रका प्रोप्राईटरले मात्र तिर्नु बुझाउनु पर्ने ठहराई भएको पुनरावेदन अदालत जकपुरको इन्साफ उपर चित्त नबुझी प्रतिवादी विजय व्यापार केन्द्रका प्रोप्राइटर विजय चन्द्र लाभको यस अदालतमा पुनरावेदन पर्न आएको देखिन्छ ।

१८.   पहिलो प्रश्न तर्फ विचार गर्दा प्रस्तुत मुद्दाको वादी एभरेष्ट पेपर मिल्स प्रा.लि.ले कागज उत्पादन गरी बिक्री वितरण गर्ने कार्य गर्दछ भने पुनरावेदक प्रतिवादी विजय व्यापार केन्द्रले कागज खरीद गरी आफ्ना ग्राहकहरूलाई बिक्री वितरण गर्ने गर्दछ । यसै सिलसिलामा वादी दावी र प्रतिउत्तर जिकिर समेतलाई हेरी विचार गर्दा वादी एभरेष्ट पेपर मिल्स र प्रतिवादी विजय व्यापार केन्द्र बीच मिति २०४८।१२।१९ मा कागज बिक्रीको सम्बन्धमा दुवै पक्षले सम्झौता गरी पटकपटक कागज खरीद बिक्री गरी भुक्तानी समेत आदान-प्रदान गरेको अवस्थामा यी वादी प्रतिवादीहरूले एक आपसमा कागजको खरीद बिक्री गरी व्यापारिक कारोवार गरेका होइनन् भन्न सकिने अवस्था रहेन ।

१९.    अ वादी प्रतिवादीको बीचमा कारोवार भएको कुरामा विवाद नभई सकेपछि प्रस्तुत मुद्दामा वादी दावी बमोजिम लेनदेन व्यवहारको ४० नं. आकर्षित हुने हो वा प्रतिउत्तर जिकिर बमोजिम करार ऐन आकर्षित हुने हो सो तर्फ विचार गर्दा वादी र प्रतिवादीबीच कागज बिक्री सम्बन्धी भएको सम्झौता हेर्दा वादी प्रतिवादी दुवै पक्ष प्रस्तुत सम्झौतालाई मान्न तयार भई हस्ताक्षर भएको, वादीले कागज दिने प्रतिवादीले त्यसको भुक्तानी गर्ने, सामान प्राप्त भै सकेपछि प्रतिवादीले वादीलाई भुक्तानी दिनु पर्ने तोकिएको समयमा भुक्तानी नदिए २४ प्रतिशतका दरले व्याज दिनु पर्ने शर्त राखी सम्झौता गरेको देखिन्छ । प्रतिवादीले आफ्नो प्रतिउत्तरमा वादीले सम्झौता बमोजिमको म्याद भित्र आउनु पर्नेमा लेनदेन व्यवहारको ४० नं. को सहारा लिई आएको मिलेन भनी जिकिर लिएकोमा यी वादी र प्रतिवादी बीच भएको प्रस्तुत सम्झौता करार हो वा होइन भनी हेर्दा तिर्थ राजकुमारी राणा विरूद्ध रामशंकर श्रेष्ठको मु.स. गर्ने विनोद शंकर श्रेष्ठको करार बमोजिम लिखत पारित गरी पाउँ भन्ने मुद्दामा दुई वा सो भन्दा वढी व्यक्तिहरू बीच कुनै काम गर्न वा नगर्नको लागि त्यसमा संलग्न पक्षहरूलाई बाध्य गराएको छ वा छैन करारमा उल्लेख भए बमोजिमको काम गर्न दुवै पक्षको बीचमा सहमती (Meeting of the Mind) भएको छ, छैन हेर्नु पर्ने हुन्छ भन्ने सिद्धान्त प्रतिपादन भएको अवस्थामा प्रस्तुत विवादमा दुवै पक्षहरू संलग्न भई सहमति भएता पनि मर्का पर्ने पक्षले मर्का पार्ने पक्षबाट क्षतिपूर्ति के कुन कानूनको प्रयोग गरी के कसरी पाउने हो भन्ने कुरा उक्त सम्झौता पत्रमा उल्लेख भएको नदेखिएको हुँदा यी वादी प्रतिवादीहरूको बीचमा भएको सम्झौता पत्र केवल सम्झौतापत्र मात्र हो, करार हो भन्नलाई करारमा हुनुपर्ने मुख्य ३ कुराहरू मध्ये करारीय दायित्व को कसले कसरी व्यहोर्ने, सम्झौताको परिपालन नभएमा कुन कानूनको प्रयोग हुने, सम्झौताबाट पक्षहरूको बीचमा दायित्व र अधिकार श्रृजना भएको छ वा छैन भन्ने जस्ता विषयहरू सम्झौतामा हेरिनु पर्दछ । यी पक्ष विपक्षीको बीचमा भएको सम्झौतामा दुवै पक्षको बीचमा कारोवार भई दायित्व र अधिकार श्रृजना भएको तर कानूनको परिपालना सम्बन्धमा केही उल्लेख नभएबाट प्रस्तुत सम्झौतालाई करार भन्न मिलेन ।

२०.   वादी प्रतिवादीहरूको बीचमा सम्झौता भई व्यापारिक कारोवार समेत भै सकेको अवस्थामा यदि सम्झौतामा कुनै विशेष कानून उल्लेख भई सोही कानून अनुसार उपचार प्रदान हुनेछ भन्ने व्यवस्था उल्लेख भएदेखि बाहेक लेनदेन व्यवहार सम्बन्धमा सामान्य कानून अन्तर्गत रहेको मुलुकी ऐनको लेनदेन व्यवहारको महलनै आकर्षित हुने देखिन्छ । यसै सम्बन्धमा ने.का.प. २०४८ नि.नं. ४३५९ पृष्ठ ४९९ मा लिखतको आकृति, प्रकृति र पेटको बोली समेतबाट व्यापारिक कारोवारको लिखत टिपोट देखिन आएकोले मुलुकी ऐन लेनदेन व्यवहारको ४० नं. को हदम्याद लाग्नेभन्ने उल्लेख भएबाट पनि प्रस्तुत विवाद व्यापारिक कारोवार भएको हुँदा करार ऐन आकर्षित नभई लेनदेन व्यवहारको महलनै आकर्षित हुने देखिन्छ । तसर्थ प्रस्तुत मुद्दामा प्रतिउत्तर जिकिर एवं पुनरावेदन जिकिर बमोजिम करार ऐन आकर्षित हुने देखिदैन ।

२१.   दोश्रो प्रश्न तर्फ विचार गर्दा, वादी प्रतिवादीहरूको बीचमा व्यापारिक कारोवार हुने गरेको कुरामा दुवै पक्षको मुख मिली कारोवार भएको कुरा स्पष्ट हुन आई सके पछि वादी कागज उत्पादन गर्ने संस्था र प्रतिवादी उत्पादित कागज बिक्री वितरण गर्ने संस्था भएकोले प्रतिवादीले वादीबाट पटक पटक कागज खरिद गरी लिई भुक्तानी समेत गर्दै आएको कुरा मिसिल संलग्न प्रमाणबाट देखिई रहेको, वादी प्रतिवादीको बीचमा उधारो कारोवार भै वादीले प्रतिवादीबाट बिल बमोजिमको भुक्तानी पछि प्राप्त गर्ने गरेको देखिएको, प्रतिवादीले बिल नं. २७४ र २३६ का बिलहरू मेरो फर्ममा कागज ल्याएका बिल होइन त्यसमा भएको सहीछाप समेत मेरो फर्मको तर्फबाट परेको छैन भनी प्रतिउत्तर लगाएतापनि विपक्षी विजय व्यापार केन्द्रको तर्फबाट अनिल कुमार कर्णले मिति २०४९।५।१८ र २०४९।६।३ मा एभरेष्ट पेपर मिललाई सम्बोधन गरी लेखेको पत्रमा तिर्न बुझाउन बाँकी रहेको रकम भुक्तानी सम्बन्धमा श्री अनिलजीले कुरा गरी आउनु भए अनुसार यो महिनाको अन्त्य देखि गर्ने व्यहोरा अनुरोध छभनी पत्र लेखबाट पनि के प्रष्ट हुन आउदछ भने प्रतिवादीले वादीलाई कागज उधारोमा लिए वापतको रकम तिर्न बाँकी रहेछ भन्ने उक्त पत्रबाट देखिन आएको, प्रतिवादीले बिल नं. २३६ र २७४ को सामान बुझेको होइन भनेतापनि त्यसलाई पुष्टि गर्ने प्रमाण दिन नसकेको, र वादी र प्रतिवादीहरूको बीचमा मिति २०४८।१२।१९ मा भएको सम्झौता पत्रको प्रकरण नं. ७ मा प्रतिवादीले वादीलाई तिर्नुपर्ने भनी रु. ३,४५,९४६।८८ उल्लेख भएबाट सो भन्दा अघि काटिएका बिल नं. २७४ र २३६ का रकमहरू समेत तिर्नु पर्ने रकम अन्तर्गत परी सकेको अवस्थामा बिल नं. २३६ र २७४ बाट पठाईएको सामान मैले बुझेको छैन सो मा उल्लेखित रकम तिर्नु पर्ने छैन भनी प्रतिवादीले भन्न पाउने अवस्था नभएको हुँदा वादी दावी बमोजिमको रकम प्रतिवादीले वादीलाई बुझाउनु पर्ने देखिन आउँछ ।

२२.   अ वादी दावी अनुसारको रकम कुन प्रतिवादीले के कति बुझाउनु पर्ने हो भन्ने सम्बन्धमा विचार गर्दा प्रतिवादी मध्येको विजय व्यापार केन्द्रका प्रोप्राइटर विजय चन्द्र लाभ उक्त संस्थाको संस्थापक भई संस्थाको प्रमुख उत्तरदायी व्यक्ति भएको, प्रतिवादी अनिल कुमार कर्ण विजय व्यापार केन्द्रको कर्मचारी भै व्यापार केन्द्रको प्रतिनिधिको रुपमा गरेको व्यापरिक कार्यबाट निजलाई निजी रुपमा उत्तरदायी बनाउन नमिल्ने भएकोले प्रतिवादी अनिल कुमारले व्यक्तिगत हैसियतबाट कुनै काम नगरेको अवस्थामा व्यापार केन्द्रको नाममा रहेको उधारो रकम निजबाट समेत भराउने गरेको हदसम्मको शुरु जिल्ला अदालतको फैसला मिलेको देखिएन ।

२३.   तसर्थ प्रतिवादी विजय व्यापार केन्द्रको प्रो. विजय चन्द्र लाभबाट वादी दावीको रु. १,७१,९४६।८८ भरी पाउने ठहराउनु पर्नेमा प्रतिवादी अनिल कुमार कर्ण  समेतबाट भराउने गरेको हदसम्मको शुरु जिल्ला अदालतको इन्साफ उल्टी हुने ठहराई वादी दावी बमोजिमको रकम वादीले प्रतिवादी विजय व्यापार केन्द्रबाट भराई लिन पाउने ठहराई गरेको पुनरावेदन अदालत जनकपुरको फैसला मिलेकै देखिदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन। मिसिल निमायनुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा सहमत छु ।

 

न्या.शारदा श्रेष्ठ

 

 

ईति सम्वत् २०६३ साल फाल्गुण २० गते रोज १ शुभम.............।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु