शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६४०५ - कुत दिलाई मोही निष्काशन

भाग: ३९ साल: २०५४ महिना: कार्तिक अंक:

नि.नं. ६४०५             २०५४, ने.का.प.                         अङ्क ७

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ

माननीय न्यायाधीश श्री उदयराज उपाध्याय

सम्बत् २०५१ सालको दे.पु.नं. ..........२७५५

फैसला मितिः २०५४।२।२७।२

मुद्दाः कुत दिलाई मोही निष्काशन ।

 

पुनरावेदक/प्रतिवादीः जिल्ला सप्तरी फुलकाही गा.वि.स. वडा नं. १ वस्ने सातैन चौधरी थारु ।

विरुद्ध

विपक्षी/वादी : ऐ राजविराज नगरपालिका वडा नं. ६ वस्ने दिपमान श्रेष्ठ ।

 

§  वादी दावी बमोजिमको जग्गाको २०४६ सालको कुत भराउने गरी भएको भूमि सुधार कार्यालय सप्तरीको निर्णय उपर प्रतिवादीको पुनरावेदन परेको देखिएन । यसरी कुत नवुझाएको कुरालाई स्वीकारै गरी प्रतिवादिले भूमि सुधार कार्यालयको निर्णयलाई मन्जूर गरी वसेकोवाट कुत नवुझाएको प्रष्ट देखिएको र भूमि सम्बन्धी ऐन, २०२१ को दफा २९(१) मा दैवी परी वाली नास भएमा वा उव्जा हुन नसकेमा वाहेक मोहीले कुत वुझाएन भन्ने कुराको जग्गावालाले उजुरी दिएमा तोकिएको अधिकारीले त्यस्तो मोहीलाई निष्काशन गर्ने आदेश दिन सक्नेछ भन्ने कानूनी व्यवस्था भएको परिप्रेक्ष्यमा शुरु भूमि सुधार कार्यालयको निर्णय केही उल्टी गरी मोही निष्काशन समेत हुने ठहराएको पुनरावेदन अदालत राजविराजको फैसला मिलेकै देखिंदा प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्तैन ।     

(प्र.नं. १२)

 

पुनरावेदक तर्फबाटः विद्वान अधिवक्ता श्री राम प्रसाद भट्टराई

विपक्षी तर्फबाटः

अवलम्वित नजिरः

 

फैसला

     न्या.ओमभक्त श्रेष्ठः पुनरावेदन अदालत, राजविराजबाट भएको मिति २०५१।८।२० को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अन्तर्गत यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः

      २. मेरो नाममा दर्ता रहेको जि.स.गा.वि.स. फूलकाही वडा नं. १ को कि.नं ८८८ को ०(११(१.१र२ दोयम किसिमको जग्गामा विपक्षी मोहीलाई जग्गा कमाउदै आएकोमा २०४६ सालको कुत मलाई नदिएको र धरौट समेत नराखेकोले कुतको विगो रु. ८९२।५० दिलाई मोहियानी हकबाट निष्काशन गरी पाउँ भन्ने समेत व्यहोराको फिराद दावी ।

      ३.    वादी दावीको जग्गामा म मोही भै कमाउँदै आएको र २०४६ सालको कुत वादीको कारिन्दा भगलु ठाकुर लाई वुझाई दिएको भरपाई माग गर्दा मालिक आएपछि दिन्छु भनेबाट विश्वासमा परि वसेको थिए । वादी दावीबाट फुर्सत पाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तरपत्र ।

      ४.    मोहीलाई यथावत कायम राखी कुतको विगो वादीले प्रतिवादीबाट भरी पाउने ठहर्छ भन्ने समेत व्यहोराको भूमि सुधार कार्यालय सप्तरीको मिति २०५०।१।८ को फैसला ।

      ५.    उक्त फैसलामा चित्त वुझेन भन्ने समेत व्यहोराको पुनरावेदन पत्र ।

      ६.    भूमि सुधार कार्यालय, सप्तरीको निर्णय फरक पर्न सक्ने देखिंदा अ.वं. २०२ नं. बमोजिम प्रत्यर्थी झिकाई आएपछि नियमानुसार पेश गर्नु भन्ने समेत व्यहोराको पुनरावेदन अदालत राजविराजको आदेश ।

      ७.    आफ्नो दायित्व पूरा नगर्ने मोहीलाई कायम राखि राख्न न्यायोचित नहुने हुँदा वादी दावी अनुसार मोही समेत निष्काशन हुने ठहराउनु पर्नेमा सो नठहराएको शुरु भूमि सुधार कार्यालय सप्तरीको मिति २०५०।१।८ को निर्णय नमिलेकोले सो हदसम्म केही उल्टी हुने र वादी दावी अनुसार मोही निष्काशन समेत हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत, राजविराजको फैसला ।

      ८.    वुझनु पर्ने प्रमाण नवुझिकन मूल्याङ्कन गर्नु पर्ने प्रमाणको मूल्याङ्कन नै नगरी भएको पुनरावेदन अदालत राजविराजको मिति २०५१।८।२० को फैसला त्रुटीपूर्ण भएको हुँदा उक्त फैसला वदर गरी शुरु भूमि सुधार कार्यालय सप्तरीको फैसला सदर गरी मोहियानी हकको संरक्षण गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीले यस अदालतमा दिएको पुनरावेदन ।

      ९.    नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीको तर्फबाट उपस्थित हुनु भएका विद्वान अधिवक्ता श्री राम प्रसाद भट्टराइले मेरो पक्षले मोहीको हैसियतले वहन गर्नु पर्ने सम्पूर्ण दायित्वहरु पूरा गरेको छ । आ.व. २०४७।४८ र २०४९।५० को कुत ऐनका म्याद भित्र भूमि सुधार कार्यालय, सप्तरीमा धरौट राखेकोमा वादीले उक्त कुत वुझी लिएकोवाट वादीले मेरो पक्षलाई आचरणवाट मोही हो भन्ने कुरा स्वीकार गरेको पुष्टि हुन्छ । यस्तो अवस्थामा मोही निष्काशन गर्न नमिल्नेमा मोही निष्काशन गर्ने गरेको पुनरावेदन अदालत राजविराजको फैसला न्याय सँगत छैन । उक्त फैसला वदर होस भन्ने वहस प्रस्तुत गर्नु  भयो ।

      १०.    विद्वान कानून व्यवसायीको उल्लेखित वहस जिकिर सुनी प्रस्तुत मुद्दाको शुरु मिसिल सहितको रेकर्ड मिसिल र पुनरावेदन पत्र समेत अध्ययन गरी हेर्दा यसमा कि.नं. ८८८ को जग्गा विपक्षीले मोहीमा कमाउँदै आएकोमा २०४६ सालको कुत नवुझाएको र धरौट पनि नराखेको हुँदा कुत दिलाई मोही निष्काशन समेत गरी पाउँ भन्ने वादीको दावी र २०४६ सालको कुत वादीको कारिन्दालाई वुझाएको हो । फिराद झूठ्ठा हुँदा खारेज गरी पाउँ भन्ने प्रतिउत्तर जिकिर भै विवाद परेको देखिन्छ । वाली भराइ दिने, मोही निष्काशन नहुने ठहर्‍याई शुरु भूमि सुधार कार्यालय सप्तरीवाट भएको फैसला उपर वादीको पुनरावेदन पर्दा वाली भराई मोही निष्काशन समेत हुने ठहर्‍याएको पुनरावेदन अदालत राजविराजको फैसला उपर यस अदालतमा यो पुनरावेदन पर्न आएको देखियो ।

      ११. पुनरावेदन अदालत राजविराजबाट भएको उक्त फैसला मिले नमिलेको के रहेछ हेरी निर्णय दिनु परेको छ ।

      १२.   निर्णय तर्फ विचार गर्दा  यसमा

वादी दावी बमोजिमको जग्गाको २०४६ सालको कुत भराउने गरी भएको भूमि सुधार कार्यालय सप्तरीको निर्णय उपर प्रतिवादीको पुनरावेदन परेको देखिएन । यसरी कुत नवुझाएको कुरालाई स्वीकारै गरी प्रतिवादीले भूमि सुधार कार्यालयको निर्णयलाई मन्जूर गरी वसेकोवाट कुत नवुझाएको प्रष्ट देखिएको र भूमि सम्बन्धी ऐन, २०२१ को दफा २९(१) मा दैवी परी वाली नास भएमा वा उव्जा हुन नसकेमा वाहेक मोहीले कुत वुझाएन भन्ने कुराको जग्गावालाले उजुरी दिएमा तोकिएको अधिकारीले त्यस्तो मोहीलाई निष्काशन गर्ने आदेश दिन सक्नेछ भन्ने कानूनी व्यवस्था भएको परिप्रेक्ष्यमा शुरु भूमि सुधार कार्यालयको निर्णय केही उल्टी गरी मोही निष्काशन समेत हुने ठहराएको पुनरावेदन अदालत राजविराजको फैसला मिलेकै देखिंदा प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्तैन । मिसिल नियमानुसार

गरी वुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. उदयराज उपाध्याय

 

इति सम्बत २०५४ साल जेष्ठ २७ गते रोज २ शुभम

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु