शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७८०८ - मिलापत्र वदर दा.खा. दर्ता वदर लिखत दर्ता वदर

भाग: ४९ साल: २०६४ महिना: बैशाख अंक:

निर्णय नं.७८०८     ने.का.प.२०६४ अङ्क १

 

सर्वोच्च अदालत संयुक्त इजलास

माननीय न्यायाधीश श्री रामनगिना सिंह

माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला

२०६० सालको दे.पु.नं.: ९१५१

२०६२ सालको दे.पु.नं.: ७९९५

फैसला मितिः २०६३।७।२६।१

 

मुद्दाः मिलापत्र वदर दा.खा. दर्ता वदर लिखत दर्ता वदर  ।

 

पुनरावेदक/प्रतिवादीः जिल्ला रौतहट रुअठा गा.वि.स.वडा नं. ६ मा वस्ने गोपाल राय राजभाट

विरूद्ध

प्रत्यर्थी/वादीः जिल्ला रौतहट सरुअठा वडा नं. ६ वस्ने सतादेवी

 

पुनरावेदक/प्रतिवादीः रौतहट जिल्ला सरुअठ्ठा वडा नं ६ स्ने बिमा देवी

विरूद्ध

प्रत्यर्थी/वादीः ऐ.ऐ. वस्ने सतादेवी

 

§  देवानी मुद्दामा जसको जुन कुरामा हक पुग्छ उसले सो कुरामा नालिस गर्न पाउने हकदैयाको आधारयुक्त अधिकार हो । कुनै कुरामा हक पुग्छ पुग्दैन भन्ने कुराको निर्धारण विवादित कार्यबाट कुनै पनि व्यक्तिलाई के कति असर परेको छ भनी निर्धारण हुने कुरा हो । प्रस्तुत मुद्दामा वादीले रोक्का गराएको कित्ता जग्गा प्रतिवादीहरूले मिलापत्र दाखिल खारेज हक हस्तान्तरण समेत गरेको अवस्थाबाट वादीको लेनदेन मुद्दाबाट सावा व्याज फिर्ता पाउने अधिकारमा प्रत्यक्ष्य असर पर्न गएको देखिएकोमा सो उपर दावीगर्ने हकदैया नहुने भनी व्याख्या गर्न नमिल्ने ।

(प्रकरण नं. १४)

 

§  कानून बमोजिमको रोक्का फुकुवा गर्ने तर् मौकैमा आवश्यक कारवाही नढाई घुमाउरो तरिकाले उक्त रोक्कालाई निष्क्रिय र निष्प्रभावी वनाउने उद्देश्यले मिलापत्र दाखिल खारेज र हक हस्तान्तरण समेत गर्ने गरेको कार्य कानून सम्मत नदेखिने ।

(प्रकरण नं.१५)

                                

पुनरावेदन प्रतिवादी तर्फबाटः विद्धान अधिवक्ताद्धय श्री विजयराज मिश्र र नवराज तिमिल्सिना

प्रत्यर्थी वादी तर्फबाटः

अवलम्बित नजीरः

           

फैसला

न्या. राजेन्द्र प्रसाद कोइरालाः पुनरावेदन अदालत हेटौडाको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम प्रतिवादीको पुनरावेदन परी  पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः

२.    म फिरादीसँग स्वर्गय राम लगन राय राजभाटको श्रीमती केवला देवी राजभाटीनले मिति २०५७।१।१ मा नगद रु ४०,०००। ऋण लिई कपाली तमसुक गरी दिएकोमा लिखतमा उल्लेखीत भाखा भित्रमा सावा व्याज नदिएकोले केवला देवी राजभाटीन उपर दे.नं १५३० को लेनदेन मुद्दा दर्ता गराई कार्यवाहीको शिलशिलामा केवला देवी राजभाटनीको स्व. लोग्ने राम लगन राय राजभाटको नाममा दर्ता रहेको रौतहट जिल्ला सरुअठा गा.वि.स.वडा नं ६ ख कि.नं १४५ को ०१० र ऐ कि.नं. ४६५ को ०२ समेत जग्गा लेनदेन मुद्दामा रौतहट जिल्ला अदालतको च.नं ३७७२ मिति २०५७।९।१९।४ को पत्रले मालपोत कार्यालयले रोक्का राखेको थियो । लेनदेन मुद्दामा वादी दावी पुग्ने गरी फैसला भएको छ । लेनदेन मुद्दाबाट रोक्का भएको जग्गा मध्ये कि.न. ४६५ को०२ जग्गालाई प्रतिवादी मध्येको गोपाल राय राजभाटले राम लगन राय राजभाटको नाममा सर्वे नाप नक्सा दर्ता भएको ०६ मध्ये जग्गा निज राम लगन राय जिवित हुदा हुदै पनि २०३० सालमा मरी सकेको भन्ने झुठ्ठा व्यहोरा उल्लेख गरी राम लगनको श्रीमती केवला देवीले २०३२।१।६ मा रु ९९। बुझी सुक्रिबिक्री फार्छा राजिनामाको लिखत लेखी दिनु भएको भनी शिलादेवी उपर दे.नं २४९१ को घरवास जग्गा खिचोला हक कायम दर्ता चलन मुद्दा दर्ता गराई प्रतिवादी मध्येको गोपाल राय राजभाटको नाममा जग्गा दर्ता हक कायम भोग चलनमा हुने गरी मिति २०५८।६।२४ मा मिलापत्र गरेको रहेछन । सो मिलापत्रको आधारमा प्रतिवादी मध्येको गोपाल राजभाटले दा.खा. गराई सकेपछि विभा देवीको नाममा र.नं ४५८६ मिति २०५८।९।३ मा हा.व. लिखत लेखी दिएको कुरो मिति २०५८।११।३।६ मा नक्कल लिई थाहा हुन आएकोले प्रतिवादीहरूका नाउमा यो नालेस गर्न आएको छु । लेनदेन मुद्दाबाट राम लगन राय राजभाटको नाममा दर्ता रहेको कि.नं ४६५ को ०२ जग्गा रोक्का रहेकोमा प्रतिवादी मध्येको गोपल राय राजभाटले जिउदो रहेको राम लगन राय राजभाटलाई मिति २०३० सालमा मरी सकेको भनी झुठ्ठो व्यहोरा उल्लेख गरी मिति २०३२।१।६ को मिति रु ९९ थैली देखाई आपसमा मिलोमतो गरी किर्ते जालसाजी लिखत खडा गरी सो किर्ते जालसाजी लिखतको आधारमा घरवास जग्गा खिचोला हक कायम दर्ता चलन मुद्दा असम्बन्धित  व्यक्ति उपर दर्ता गरी गराई मिति २०५८।६।२४ मा मिलापत्र गरी सो मिलापत्रको आधारमा मिति २०५८।८।१ मा दा.खा दर्ता गराई प्रतिवादी गोपाल राय राजभाटले आफ्नो श्रीमती विभा देवीको नाममा हालै देखिको वकसपत्रको लिखत लेखी दिएकोले सो जालसाजी लिखतको आधारमा भएको मिलापत्र दा.खा दर्ता तथा प्र .विभा देवीको नाममा भएको दर्ता समेत वदर गरी पाउँ भन्ने समेत व्यहोराको दावी ।

३.    विधवा अवला आईमाई केवला देवीको सम्पति हात पार्ने षडयन्त्रबाट वादीको लोग्ने योगेन्द्र राय राजभाटले आफ्नी स्वास्नीको नाममा झुक्याई जाली कपाली तमसुक वनाएको हो । मेरो पुरानो वसोवासको घरवासलाई नै उठाउने नियत लिई निज केवला देवीको लोग्ने स्व. राम लगन रायको नामका अन्य केही जग्गा रोक्का तथा लिखत नभै यथावत रहेकोले निज विपक्षीले सो जग्गा नसमाती म गोपाल रायको बसोबासको घरबास जग्गालाई नै रोक्का राखेको छैन । अन्यत्रबाट कसैको हक र रोक्का नदेखिए रोक्का राख्ने भनी लेखेको तथ्यलाई गलत अर्थ लगाइएको छ । साविक लिखत र हक हस्तान्तरण भै सकेको कुरा गा.वि.स.को सिफारिस समेतबाट प्रमाणित भएको छ । मुलुकी ऐन ज.प.को २ क समेतका कानूनी हकाधिकारबाट मालपोत कार्यालय रौतहटले म गोपाल रायका नाममा दाखा गर्ने निर्णय ( टिप्पणी ) तथा आदेश मिति २०५८।८।१२ मा गरी दर्ता हुन आएको सो मालपोतको टिप्पणी आदेशलाई विपक्षीले वदर गरी पाउन कुनै दावी लिएको छैन । अर्कोतर्फ मेरो २०३२ ।१।६ को सुक्रि बिक्री लिखतलाई वदर गरी पाउँ भन्ने वादी पनि नभएको हुँदा मेरो शुद्ध सत्य व्यहोरामा भएको मिलापत्रले दा.खा गर्ने पर्जी गएको हो । यस अदालतको आदेशानुसार नै मालपोतले सम्पूर्ण प्रमाण वुझी निर्णय आदेश गरेको हुँदा फिराद खारेज गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तर पत्र । 

.    प्रस्तुत फिराद गर्ने हकदैया यी वादीमा निहित रहेको नदेखिंदा हकदैया विहिन फिरादबाट तथ्यमा प्रवेश गरी इन्साफ गरी रहनु नपरी अ.व. १८० नं बमोजिम खारेज हुने ठहर्छ भन्ने समेत व्यहोराको रौतहट जिल्ला अदालतको २०५९।२।७ को फैसला ।

५.    शुरु इन्साफमा चित्त वुझेन । प्रत्यर्थी केवला देवी राजभाटीनको लोग्ने राम लगन राय राजभाट २०३५ सालसम्म जिउदै रहेको अवस्थामा २०३१ सालमा राम लगन मरी सकेको भनी मेरो लेनदेन मुद्दाबाट रोक्का रहेको जग्गालाई षडयन्त्र रची विगो मास्ने उद्देश्यले मिति २०३२।१।६ को घरसारको कथित लिखत तथा सो लिखतको आधारमा मिलापत्र गरी दा.खा दर्ता समेत वदर हुनु पर्ने अवस्था हुँदा हुदै अ.व. १७१(क) जग्गा मिच्नेको ९ नं समेतको मर्म विपरीत भएको शुरु फैसला वदर गरी माग दावी तथा पुनरावेदन जिकिर बमोजिम गरी पाउँ भन्ने समेत व्यहोराको पुनरावेदन पत्र ।

६.    विवादको कि.नं ४६५ को जग्गा मिति २०५०।९।१९ मा रोक्का रहेको सो फुकुवा नहुदै त्यसतर्फ नवोली दर्तावालाको नाममा कानून बमोजिम दा.खा का लागि दावी नपरी उनाउ व्यक्तिसँग ज.खि. हक कायम तर्फ मुद्दा परी रोक्का विपरीत प्रतिवादी गोपालको नाममा दर्ता समेत गर्ने मिलापत्रबाट जग्गा मिच्नेको ९ नं प्रतिकूल काम गरेको देखिने भै सो बाट वादीले आफ्नो विगो भराई पाउने हकमा असर पर्न गएको देखिंदा देखिदै दावी नै खारेज गर्ने गरेको शुरुको निर्णय फरक पर्न सक्ने हुँदा अ.व. २०२ नं बमोजिम विपक्षी झिकाई पेश गर्नु भन्ने पुनरावेदन अदालतको आदेश ।

७.    विपक्षीले दावी गरेको जग्गामा विपक्षीको कस्तो हकदैया छ कही उल्लेख नभएको र हकदैयाको अभावमा दावी लिएपनि तथ्यमा प्रवेश गर्न नमिल्ने कानूनी तथा न्याय सिद्धान्त समेत रहेकाले सो मुताविक नै भएको शुरु निर्णय कानून सम्मत भएको हुँदा शुरु फैसला सदर गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीको लिखित प्रतिवाद ।

८.    रोक्का रहेको जग्गा फुकुवा नहुदै घरसारको लिखत देखाई घरबास जग्गा खिचोला हक कायम मुद्दा गरी मिलापत्र गरी जग्गा हक हस्तान्तरण दा.खा गरेको कार्य कानून सँग त देखिन नआएकोले वादी दावी बमोजिम मिति २०५८।६।२४ मा मिलापत्र गरी सो मिलापत्रको आधारमा भएको दा.खा दर्ता र सो आधारमा प्रतिवादी गोपाल रायले आफ्नी श्रीमती विभा देवीलाई गरी दिएको मिति २०५८।९।३ को लिखत समेत वदर हुने ठहर्छ । हकदैया पुग्न नसक्ने भनी खारेज गर्ने गरेको शुरु रौतहट जिल्ला अदालतको फैसला मिलेको नदेखिदा उल्टी हुन्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत हेटौडाको फैसला ।

 

९.    अ.व.८२ नं ले जसको जुन कुरामा हक पुग्छ सोही कुरामा मात्र नालेस गर्न पाउँछ। दावीको जग्गा म गोपाल रायले २०३२ सालमा केवलादेवीसँग खरीद गरी लिएको हो । कि.नं ४६५ को जग्गा शिलादेवीसँग जग्गा खिचोला चलन मुद्दा चली मिलापत्रबाट हक स्थापित भएको हो । सोही जग्गा विभादेवीले हालै देखिको वकसपत्र पारित गरी लिएको निर्विवाद छ । जहाँसम्म अदालतबाट रोक्का रहेको जग्गा लेनदेन गरेको भन्ने प्रश्न छ उक्त जग्गा लेनदेन मुद्दा सृजना हुनु भन्दा धेरै वर्ष पहिले मैले खरीद गरी केवला देवीको हक समाप्त भएको छ । हकै नभएको केवलादेवी र वादी शिलादेवीबीच चलेको लेनदेन मुद्दामा जग्गा रोक्का रहेको भन्दैमा वादीको हक पुग्छ भनी मान्न मिल्दैन । हकदैया विहिन व्यक्तिले गराएको रोक्काको कानूनी औचित्य नै नरहने हुँदा सो कुरालाई मात्र आधार वनाई हामीलाई हराएको फैसला त्रुटिपूर्ण छ । मिलापत्र बमोजिम म गोपाल रायको हक कायम हुन आई मैले विभादेवीलाई गरि दिएको लिखत वदर हुने ठहराएको पुनरावेदन अदालत हेटौडाको फैसला त्रुटीपूर्ण हुँदा उल्टी गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी मध्येका गोपाल राय राजभाट र शिलादेवी राजभाटनीको यस अदालत परेको संयुक्त पुनरावेदन पत्र ।

१०.    कि.नं ४६५ को ज.वि. ०२ मेरा पतिले २०३२।१।६ मा रु ९९। को लिखतबाट हक पाएको जग्गा हो । सोही जग्गामा दशकौ देखि घरबास छ । उक्त लिखत वदर नभै कायमै रहेको अवस्थामा हकै नपुग्ने लेनदेन मुद्दाका पक्षले रोक्का गराएको गैरकानूनी छ । वादीले फिरादमा मिलापत्र वदर, दा.खा निर्णय वदर, हालैदेखिको वकसपत्र लिखत वदरजस्ता अनिश्चित मागहरू राखी छुट्टा छुट्टै निर्णय एउटै फिरादबाट धेरै निर्णय वदर गर्न माग गरेको अ.व. ७२ नं प्रतिकूल भै वदर भागी छ । विवादित जग्गा २०३२ सालमा खरीद गरी वसोवास गर्दै आएको तथ्यमा विवाद छैन । सोही सोबास गरेको जग्गा सिलादेवीसँग खिचोला मुद्दा चली मिलापत्र भएको हो । व्यवहार मिलाउन मलाई दिएकै कारणले मिलापत्रलाई दुषित भन्न मिल्दैन । हामीले लेनदेन गर्दा जग्गा रोक्का रहेको जानकारी पनि   थिएन । आफूले हक परित्याग गरी उनाउ व्यक्तिको हक कायम भैसकेपछि मिलेमतोमा लेनदेन मुद्दा तयार गरी रोक्का गराइएको हो । रोक्का कै आधारमा हक स्वामित्व परिवर्तन हुन सक्दैन । रोक्काको अर्थ थैलीको सुरक्षा हो । स्वामित्वको सृजना होइन । पुनरावेदिकाको वासस्थान उठाउने लिलामको आदेश वदर गर्न यस अदालतमा रिट दायर गरेकोमा अन्तरिम आदेश समेत जारी भै कारवाहीयुक्त अवस्थामा छ । विपक्षीहरूको म पुनरावेदिकालाई बेघरबास वनाउने चाल भएकोमा जिल्ला अदालतको फैसला उल्टी गरी म पुनरावेदिकालाई हराएको पुनरावेदन अदालत हेटौडाको फैसला त्रुटीपूर्ण भएकाले उल्टी गरी फिराद खारेज गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी विभादेवीको यस अदालतमा परेको पुनरावेदन ।

११.    नियम बमोजिम मुद्दा पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको मिसिल संलग्न कागजात अध्ययन गरियो । पुनरावेदक विभा देवीका तर्फबाट उपस्थित विद्वान अधिवक्ताद्धय श्री विजयराज मिश्र र नवराज तिमिल्सिनाले लेनदेन मुद्दामा जग्गा रोक्का हुदैमा हक स्वामित्व प्राप्त हुने होइन । हकै नपुग्ने व्यक्तिको फिराद खारेज हुनुपर्छ । केवला देवीको हक २०३२ सालको लिखतबाट नै समाप्त भै सकेकोमा लेनेदन मुद्दाको वादीले निजको अर जग्गा छ छैन भन्ने हेर्दै नहेरी यो जग्गा रोक्का राखिएको छ । लेनदेन मुद्दाको फैसला हुनु अगावै भएको कारोवारलाई अन्यथा भन्न मिल्दैन । यसै विषयमा यसै अदालतमा रिट समेत कारवाहीयुक्त अवस्थामा छ । पुनरावेदन अदालत हेटौडाको फैसला त्रुटीपूर्ण हुँदा उल्टी गरी शुर फैसला सदर हुनुपर्छ भनी गर्नु भएको हस जिकिर समेत सुनी पुनरावेदन अदालत हेटौडाको फैसला मिले नमिलेको के रहेछ हेरी निर्णय दिनु पर्ने देखिन आयो ।

१२.   निर्णय तर्फ विचार गर्दा केवलादेवी राजभाटनीले २०५७।१।१ मा लिएको ऋणको साँवा व्याज नतिरेकाले निज उपर लेनदेन मुद्दा दायर गरी कि.नं १४५ र ४६५ को जग्गा रोक्का गराएकोमा रोक्का रहेकै जग्गा प्रतिवादीहरूले खिचोला हक कायम दर्ता मुद्दामा मिलापत्र गरी हक कायम भएको देखाई गोपाल राय राजभाटले विभादेवीलाई हालै देखिको वकसपत्र पारित गरी हक हस्तान्तरण गरेकाले मिलापत्र, दाखिल खारेज, वकसपत्रको लिखत समेत वदर गरी पाउँ भन्ने समेत व्यहोराको फिराद दावी छ । लेनदेन मुद्दामा दायर भएको कपाली तमसुकको व्यहोरा नै सद्दे होइन । उक्त जग्गा साविक लिखत समेतबाट हक हस्तान्तरण भै आएको हो । साविक लिखत समेत वदर नभएको अवस्थामा मिलापत्र दाखिल खारेज समेत वदर हुनु पर्ने होइन भन्ने प्रतिउत्तर भएको प्रस्तुत मुद्दामा शुरु जिल्ला अदालतले वादीको हकदैया नभएको भनी फिराद खारेज गर्ने ठहराएको निर्णय पुनरावेदन अदालतबाट उल्टी भै वादी दावी बमोजिम लिखत वदर हुने ठहर भए उपर प्रतिवादीहरूको यस अदालतमा पुनरावेदन परी पेश हुन आएको देखिन्छ ।

१३.   वादी सितादेवीले केवलादेवी राजभाटनी उपर दिएको लेनदेन मुद्दामा रौतहट जिल्ला अदालतको आदेशले निजको लोग्ने स्वर्गिय राम लगन राय राजभाटको नाउँ दर्ताको कि.नं १४५ र ४६५ को जग्गा रोक्का रहेको तथ्यमा विवाद भएन । रौतहट जिल्ला अदालतको २०५७।९।१९।४ को पत्रले उक्त कित्ता जग्गा रोक्का रहेको मिसिल संलग्न मालपोत कार्यालय रौतहटको २०५७।९।२० को पत्रको प्रतिलिपीबाट देखिन्छ । प्रमाणको गोपाल राय राजभाट वादी शिलादेवी राजभाटनी प्रतिवादी भएको २०५८ सालको दे.नं २४९१ को घरवास जग्गा खिचोला हक कायम दर्ता चलन मुद्दा २०५८।६।४ मा दायर भै दावीको कि.नं ४६५ को जग्गा वादी गोपाल राय राजभाटकै नाममा कायम हुने गरी २०५८।६।२४ मा मिलापत्र भएको देखिन आउँछ । सोही मिलापत्र बमोजिम नै कि.नं ४६५ को जग्गा गोपाल राय राजभाटका नाउँमा दाखेल खारेज गर्ने गरी मालपोत कार्यालय, रौतहटबाट निर्णय भएको मिसिल संलग्न निर्णय प्रतिलिपीबाट देखिन आएको छ । सोही निर्णयबाट प्रतिवादी गोपाल राय राजभाटका नाउमा दर्ता कायम हुन आएको जग्गा नै निजले विभादेवीलाई २०५८।९।३ मा हालै देखिको वकसपत्र पारित गरी दिएको देखिन आएबाट गोपाल राय राजभाटको नाउँमा हक कायम गराउने र निजले हक हस्तान्तरण गर्ने लगायतका सम्पूर्ण प्रक्रिया सितादेवीले केवलादेवी उपर लेनदेन मुद्दामा जग्गा रोक्का गरिसके पछि मात्र भए गरेको देखियो । मुलुकी ऐन जग्गा मिच्नेको ९ क नं मा कानून बमोजिम रोक्का भएको जग्गा फुकुवा नभै आफ्नो हक पुग्ने भए पनि अर्कालाई केही व्यहोराले दिन र लिनेले पनि जानी जानी लिन हुदैन । दिए लिएको भए वदर हुन्छ भन्ने कानूनी व्यवस्था छ । प्रस्तुत मुद्दामा उक्त कानूनी व्यवस्था प्रतिकूल २०५७।९।१९ मा नै रोक्का रहेको जग्गा २०५८।६।२४ मा गोपाल राय राजभाटको नाउँमा हक कायम हुने गरी मिलापत्र गरी तदनुरुप दाखिल खारेज र हक हस्तान्तरण समेत गरेको देखिन आयो । रोक्का रहेको उक्त कि.नं. ४६५को जग्गा कानून बमोजिम फुकुवा नभै कुनै पनि व्यहोराले भएको हक हस्तान्तरण कानून सँग त भएको भनी मान्न मिल्दैन ।  

१४.   जहाँसम्म फिराद दायर गर्ने वादीको हकदैया नै छैन भन्ने प्रतिवादीको जिकिर छ हकदैयाको गणितीय ढङ्गले सिमाङ्कन गर्न मिल्दैन । देवानी मुद्दामा जसको जुन कुरामा हक पुग्छ उसले सो कुरामा नालिस गर्न पाउने हकदैयाको आधारयुक्त अधिकार हो । कुनै कुरामा हक पुग्छ पुग्दैन भन्ने कुराको निर्धारण विवादित कार्यबाट कुनै पनि व्यक्तिलाई के कति असर परेको छ भनी निर्धारण हुने कुरा हो । प्रस्तुत मुद्दामा वादीले रोक्का गराएको कित्ता जग्गा प्रतिवादीहरूले मिलापत्र दाखिल खारेज हक हस्तान्तरण समेत गरेको अवस्थाबाट वादीको लेनदेन मुद्दाबाट सावा व्याज फिर्ता पाउने अधिकारमा प्रत्यक्ष असर पर्न गएको देखिएकोमा सो उपर दावीगर्ने हकदैया नहुने भनी व्याख्या गर्न मिल्दैन । विवादित कार्यबाट वादी प्रत्यक्ष प्रभावित भैरहेको देखिएकाले प्रस्तुत फिराद दायर गर्न वादीको हकदैया नहुने भन्ने पुनरावेदक तर्फका कानून व्यवसायीको वहस जिकिरसँग सहमत हुन सकिएन ।

१५.   अर्को तर्फ लेनदेन मुद्दामा जग्गा रोक्का गरेको कार्य नै कानून सम्मत छैन भन्ने पुनरावेदक तर्फका कानून व्यवसायीको जिकिर छ सो जिकिर उपर यस मुद्दाबाट विचार गरिरहनु पर्ने अवस्था छैन । गैर कानूनी ढुङ्गले रोक्का गराएको भए मौकैमा उक्त रोक्का उपर नालेस उजुर गरी वदर गराई रोक्का फुकुवा गराउन सक्नु पर्नेमा रोक्का फुकुवा गराएको अवस्था देखिन आउदैन । कानून बमोजिमको रोक्का फुकुवा गर्ने तर्फ मौकैमा आवश्यक कारवाही नवढाई घुमाउरो तरिकाले उक्त रोक्कालाई निष्कृय र निष्प्रभावी वनाउने उद्देश्यले मिलापत्र दाखिल खारेज र हक हस्तान्तरण समेत गर्ने गरेको कार्य कानून सम्मत देखिएन । अतः रोक्का रहेको जग्गामा हक कायम हुने गरी २०५८।६।२४ मा मिलापत्र गरी सो मिलापत्रको आधारमा गोपाल राय राजभाटका नाउँमा दाखिल खारेज गरी निजले आफ्नो श्रीमती विभादेवीलाई २०५८।९।३ मा गरिदिएको हालैदेखिको वकसपत्रको लिखत वदर हुने ठहर्याएको पुनरावेदन अदालत हेटौडाको फैसला मिलेकै देखिदा सदर हुने ठहर्छ । शुरु जिल्ला अदालतको फैसला सदर हुनु पर्छ भन्ने पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. राम नगिना सिंह

 

इति सम्वत २०६३ साल कार्तिक २६ गते रोज १ शुभम.....................

 

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु