निर्णय नं. ८९७८ - उत्प्रेषणसमेत

ने.का.प. २०७०, अङ्क ३
निर्णय नं.८९७८
सर्वोच्च अदालत, संयुक्त इजलास
सम्माननीय का.मु.प्रधानन्यायाधीश श्री दामोदरप्रसाद शर्मा
माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह
रिट नं. ०६६–WO–०९००
आदेश मितिः २०६९।१२।८।५
विषयः– उत्प्रेषणसमेत ।
निवेदकः पोखरा उपमहानगरपालिका वडा नं. ५ घर भई काठमाडौं विश्वविद्यालयबाट सम्बन्धनप्राप्त नोबेल मेडिकल कलेज एण्ड रिसर्च सेण्टर (प्रा) लि. द्वारा सञ्चालित एम.बी.बी.एस.अध्ययनरत कृष्ण बराल
विरुद्ध
विपक्षीः काठमाडौं विश्वविद्यालय धुलिखेल समेत
§ कुनै पनि विश्वविद्यालयद्वारा प्रचलित कानूनको अधीनमा रही निर्धारण गरिएको कुनै विषयको पाठ्यक्रम तथा विद्यार्थी भर्नासम्बन्धी शैक्षिक योग्यताको अन्तर्वस्तुभित्र प्रवेश गरी त्यसको उपयुक्तता वा औचित्यका विषयमा अदालतले पुनरालोकन गर्न नमिल्ने ।
§ नीतिगत एवं प्राज्ञिक विषयवस्तुहरू नीतिगत एवं प्राज्ञिक तहबाटै निरोपण हुने वातावरणको सिर्जना भई सम्बन्धित तह वा निकायहरूमा व्यवसायिकताको विकासका लागि मार्गप्रशस्त हुने ।
(प्रकरण नं.१२)
§ विश्वविद्यालयका आन्तरिक निर्णय तथा पत्र परिपत्रहरू सार्वजनिकरूपमा प्रकाशन नगरेसम्म सर्वसाधारणको जानकारीमा आउँदैनन् र विश्वविद्यालयबाट सञ्चार माध्यमहरूमा प्रकाशन हुने सार्वजनिक सूचनाहरूलाई नै आधिकारिक मानी सर्वसाधारण तथा भर्नाका आकाङ्क्षी विद्यार्थीहरूले विश्वविद्यालयसँग व्यवहार गर्नुपर्ने हुन्छ र यस्ता सूचनाहरूलाई नै वैध मानी त्यसैमा भर पर्नु उनीहरूका लागि अस्वाभाविक पनि नहुने ।
(प्रकरण नं.१४)
§ शैक्षिक कार्यक्रमहरूमा विद्यार्थी भर्ना तथा पठनपाठनलगायत सम्बन्धनसँग सम्बन्धित विषयवस्तुमा कलेजहरूलाई विश्वविद्यालयको नीति तथा उद्देश्यअनुरुप कटिवद्ध र दुरुस्त रहन लगाई त्यसको उत्तरदायित्व स्वयं बोध गर्ने कर्तव्यबाट पनि विपक्षी विश्वविद्यालय विमुख हुन नसक्ने ।
(प्रकरण नं.१६)
§ विश्वविद्यालय वा यसको सम्बन्धनप्राप्त मेडिकल कलेजले निवेदकलाई एम.बी.बी.एस.कार्यक्रममा भर्नाका लागि योग्यता परीक्षण गर्न सञ्चालित प्रवेश परीक्षामा उत्तीर्ण गराई भर्ना लिई आफ्नो आचरण र व्यवहारबाट निवेदकलाई योग्य ठहर्याई केही सत्र अध्ययनसमेत गरी सकेपछि निजको भर्नासम्बन्धी योग्यतामा प्रश्न उठाई रजिष्ट्रेशन गर्न इन्कार गरेको कार्यलाई औचित्यपूर्ण एवं मनासीब भन्न नसकिने ।
(प्रकरण नं.१८)
§ शैक्षिक योग्यताका सम्बन्धमा विपक्षी विश्वविद्यालयका तर्फबाट प्रवेश परीक्षा तथा भर्नाकै बखत तत्काल निर्णय हुन नसकेको यथार्थ र निवेदकले पनि वैध अपेक्षा (Legitimate Expectation) का साथ विपक्षी कलेजमा भर्ना भई गरेको अध्ययन र मेहनत तथा आर्थिक लगानी एवं व्यतीत भएको समय तत्व समेतलाई विचार गर्दा अध्ययन गर्नबाट वञ्चित गर्नु न्यायसंगत नहुने ।
(प्रकरण नं.१९)
निवेदकतर्फबाटः विद्वान् वरिष्ठ अधिवक्ता शम्भु थापा तथा विद्वान् अधिवक्ता टीकाराम भट्टराई
विपक्षी तर्फबाटः विद्वान् वरिष्ठ अधिवक्तात्रय राधेश्याम अधिकारी, निरञ्जन आचार्य र प्रकाश राउत
अवलम्बित नजीरः
सम्बद्ध कानूनः
काठमाडौं विश्वविद्यालय ऐन, २०४८ को दफा ३, ५, ८, ९
आदेश
न्या.रामकुमार प्रसाद शाहः नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ तथा १०७(२) अन्तर्गत दायर हुनआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः–
म निवेदक नेपाली नागरिक हुँ । मैले एस.एल.सी. बोर्ड नेपालबाट २०६१ सालमा प्रथम श्रेणीमा एस.एल.सी.उत्तीर्ण गरेको छु । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (CTEVT) बाट सम्बन्धनप्राप्त Pokhara Technical health Multipurpose Institute Pvt. Ltd बाट सन् २००८ मा Proficiency Certificate Examination in General Medicine को परीक्षा पनि प्रथम श्रेणीमा नै उत्तीर्ण गरेको छु । मैले उत्तीर्ण गरेको उक्त परीक्षालाई CTEVT ले Technical Certificate Level in Health Science (General Medicine) सरहको भनी समकक्षता निर्धारण गरेको छ । तत्पश्चात् २०६६ सालमा जनता उच्च माध्यमिक विद्यालय, तानसेनबाट Pre requisite Course समेत विज्ञान संकायअन्तर्गत प्रथम श्रेणीमा नै उत्तीर्ण गरेको छु । मैले उत्तीर्ण गरेको उक्त परीक्षा (१०+२) सरह रहेको भनी उच्च माध्यमिक शिक्षा परिषद्ले प्रमाणपत्र प्रदान गरेको छ । उक्त प्रमाणपत्रहरूको आधारमा निवेदकलाई नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा दर्ता गरी प्रमाणपत्रसमेत प्रदान गरिएको छ ।
विपक्षी काठमाडौं विश्वविद्यालयबाट एम.बी.बी.एस.तथा बी.डी.एस.मा भर्नाका लागि भनी २०६६।३।१९ को कान्तिपुर दैनिकमा प्रवेश परीक्षामा सामेल हुन तथा उक्त विषयहरू अध्ययन गर्नका लागि आवश्यक योग्यता उल्लेख गरी सूचना प्रकाशित गरिएको थियो । उक्त सूचनामा Biology, Physics, Chemistry र English मूल विषय लिई सबै विषय तथा समग्रमा समेत न्यूनतम ५० प्रतिशत अङ्क हासिल गरेको र १७ वर्ष उमेर पुगेको हुनुपर्ने भनी योग्यता तोकिएको र उक्त योग्यताहरू आफूमा रहेकाले निर्धारित समयमा नै फर्म भरी मणिपाल कलेज अफ मेडिकल साइन्सेजबाट प्रवेश परीक्षामा सहभागी भएको थिएँ ।
प्रवेश परीक्षामा म उत्तीर्ण भएको र प्रवेश परीक्षामा उत्तीर्ण भएका विद्यार्थी विपक्षी विश्वविद्यालयबाट सम्बन्धनप्राप्त जुनसुकै कलेजमा भर्ना हुनसक्ने भएकोले विपक्षी नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेण्टरमा एम.बी.बी.एस.मा भर्ना भई अध्ययन गरिरहेको थिएँ । अध्ययनका लागि कलेजले निर्धारण गरेबमोजिम पटक पटक गरी हालसम्म रु.१८,४१,५००।– बुझाइसकेको छु र सेमेष्टर प्रणालीबमोजिम परीक्षा सञ्चालन भएको प्रथम सेमेष्टरको परीक्षा दिई उक्त परीक्षामा ५२.९५ प्रतिशत अङ्क प्राप्त गरेको छु ।
यसैवीच “CTEVT बाट प्रमाणपत्र तह उत्तीर्ण गरी उच्च माध्यमिक शिक्षा परिषद् (HSEB) बाट तोकिएको Bridge Course, I.Sc. सरहका लागि चाहिने पाठ्यक्रमको तुलनामा समयावधि र अङ्कभार नपुग देखिएकोले KUMET परीक्षाका लागि योग्य नभएको भनी काठमाडौ विश्वविद्यालय प्राज्ञिक परिषद्को २०६६ श्रावण २५ मा सम्पन्न ६०औं बैठकबाट भएको निर्णयअनुसार अगस्ट २००९ समूहमा भर्ना भएका कृष्ण बरालको रजिष्ट्रेशनमाथि कुनै कारवाही नगरी यसैसाथ फिर्ता पठाइएको छ” भन्ने व्यहोराको विपक्षी विश्वविद्यालयको मिति २०६६।११।१३ को पत्र प्राप्त भएको र विश्वविद्यालय सर्वोच्च निकाय भएकोले विश्वविद्यालयको निर्देशनलाई हामीले पालना गर्नुपर्ने बाध्यात्मक अवस्था भएको हुँदा रजिष्ट्रेशन नै नगरी/नभई विद्यार्थीलाई अध्ययन अध्यापन गराउन नसकिने भएको हुँदा सोहीअनुसार गर्न तपाइँलाई अनुरोध गरिन्छ भन्ने विपक्षी कलेजको मिति २०६६।१२।४ को पत्र प्राप्त भएकोले सम्मानित अदालतको शरणमा आएको छु ।
विपक्षी विश्वविद्यालयले एम.बी.बी.एस.अध्ययनको लागि प्रवेश परीक्षा दिन आवश्यक पर्ने भनी प्रवेश परीक्षासम्बन्धी सूचनामा उल्लेख गरेका सबै योग्यताहरू ममा रहेको छ । सोही कारणबाट नै मेरो दरखास्त ग्रहण गरी प्रवेश परीक्षामा मलाई सामेल गराइएको हो । सूचनामा उल्लेख भएका योग्यताहरूमध्ये यो योग्यता ममा नरहेको भन्ने निर्णयको जानकारी गराइएको सो पत्रमा उल्लेख भएको पनि छैन । यथार्थमा त्यस्तो कुनै योग्यताको अभाव ममा रहेको पनि छैन । आफैंले योग्यताको निर्धारण गरी योग्यता रहे नरहेको सम्बन्धमा मौकैमा परीक्षण गरी आवश्यक योग्यता रहेको ठहर गरिसकेको विषयमा समयान्तरमा आएर योग्यता नभएको भनी निर्णय गर्ने अधिकार विपक्षी विश्वविद्यालय तथा प्राज्ञिक परिषद्लाई रहेको छैन । मेरो दरखास्त ग्रहण गरी प्रवेश परीक्षामा मलाई सामेल गराई भर्ना भई प्रथम सेमेष्टरको परीक्षासमेत दिइसकेपछि विपक्षी विश्वविद्यालय तथा प्राज्ञिक परिषद्ले मलाई अयोग्य घोषित गर्न मिल्दैन ।
प्रवेश परीक्षाका लागि योग्यता तोकी प्रकाशित गरिएको सूचनामा कुन विषयको समयावधि र अङ्कभार कति हुनुपर्ने हो भन्नेसम्बन्धमा केही उल्लेख नै गरिएको छैन । सूचनामा Biology, Physics, Chemistry र English मूल विषय लिई १०+२ वा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनुपर्ने र उल्लिखित मूल विषयहरू तथा समग्रमा समेत न्यूनतम ५० प्रतिशत अङ्क ल्याई उत्तीर्ण गरेको हुनुपर्ने भन्ने उल्लेख छ । योग्यता तोक्ने सूचनामा नै विषयगत अङ्कभार तथा समयावधि नतोकी केवल विषय, तह र अङ्कको प्रतिशत तोकी सूचना प्रकाशित गरी उक्त योग्यताहरूको आधारमा प्रवेश परीक्षामा सहभागी भई सो परीक्षा उत्तीर्ण गरी अध्ययनरत म निवेदकको रजिष्ट्रेशन नगर्ने भनी विपक्षी विश्वविद्यालयले गरेको निर्णय स्वेच्छाचारी छ ।
विपक्षी विश्वविद्यालयको सूचनामा १०+२ वा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनुपर्ने भनी योग्यता तोकिएको छ । निवेदकले जनता उच्च माध्यमिक विद्यालय तानसेन पाल्पाबाट उत्तीर्ण गरेको विज्ञान विषयको Pre-requisite Course १०+२ को समकक्ष रहेको भनी उच्च माध्यमिक शिक्षा परिषद्ले प्रमाणित गरेको छ । उच्च माध्यमिक शिक्षा परिषद्को उक्त प्रमाणपत्रलाई अन्यथा भन्ने अधिकार विपक्षी विश्वविद्यालय तथा प्राज्ञिक परिषद्लाई छैन । प्रवेश परीक्षासम्बन्धी सूचनामा विज्ञान विषयमा १०+२ वा प्रवीणता प्रमाणपत्र तह (Intermediate) मा विषयगत रूपमा तथा समष्टिगतरूपमा समेत न्यूनतम ५० प्रतिशत अङ्क प्राप्त गरी उत्तीर्ण गरेको हुनुपर्ने भनी योग्यता तोकिएकोमा निवेदकको शैक्षिक योग्यता १०+२ सरह रहेको भनी उच्च माध्यमिक शिक्षा परिषद्ले प्रमाणपत्र प्रदान गरेको छ भने १०+२ प्रवीणता प्रमाणपत्र सरह हुने व्यवस्था उच्च माध्यमिक शिक्षा ऐन, २०४६ को दफा ९ ले गरेको छ । यसबाट सूचनामा उल्लेख भएबमोजिमको योग्यता ममा रहेको अवस्थामा हाल आएर मलाई अयोग्य भनी गरेको निर्णय बदरभागी छ । उक्त निर्णय गर्नु पूर्व प्राकृतिक न्यायको सिद्धान्तबमोजिम मलाई सुनुवाइको मौका प्रदान गर्नुपर्नेमा सोसमेत गरिएको छैन ।
विपक्षीको उपरोक्त निर्णय तथा पत्रहरूले निवेदकको उल्लिखित कानूनी हकको अलावा नेपालको अन्तरिम संविधान, २०६३ को धारा १३(१), १७, १८ तथा १९ समेतद्वारा प्रत्याभूत हक आघातित भएको र विपक्षीबाट भएको उक्त निर्णय तथा पत्राचारलगायतका कामकारवाहीहरू बदर गरी हकको संरक्षण तथा प्रचलन गरिपाउने अरू प्रभावकारी वैकल्पिक उपचारको मार्ग नभएकोले नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ तथा १०७(२) अन्तर्गत सम्मानित अदालतसमक्ष यो निवेदन लिई उपस्थित भएको छु । विपक्षी विश्वविद्यालयको प्राज्ञिक परिषद्को मिति २०६६।४।२५ मा सम्पन्न ६० औं बैठकबाट निवेदकको रजिष्ट्रेशनमाथि कुनै कारवाही नगरी फिर्ता पठाउने गरी भएको भनिएको निर्णय, सो निर्णयका आधारमा विपक्षी कलेजलाई लेखिएको मिति २०६६।११।१३ को पत्र एवम् विपक्षी कलेजको मिति २०६६।१२।४ को पत्रलगायत सो सम्बन्धमा विपक्षीहरूबाट भए गरिएका सम्पूर्ण काम कारवाहीहरू उत्प्रेषणको आदेशद्वारा बदर गरी निवेदकको रजिष्ट्रेशन ग्रहण गरिसकेकोलाई यथावत् मान्यता दिनु, नाम दर्ता बदर गर्ने कार्य नगर्नू नगराउनु, अध्ययन गरिसकेको र प्राप्त प्रमाणपत्र एवम् अध्ययनको हकमा कुनै प्रकारको अवरोध उत्पन्न नगर्नू नगराउनु, अध्ययन गर्न दिनु दिलाउनु अध्यापन गर्नु गराउनु भन्ने परमादेशलगायत जो चाहिने उपयुक्त आज्ञा वा आदेश जारी गरिपाऊँ ।
विपक्षीको उक्त निर्णय तथा पत्रहरू तत्काल कार्यान्वयन भएमा निवेदक उच्च शिक्षा हासिल गर्नबाट बञ्चित हुने र निवेदकको रजिष्ट्रेशन फिर्ता गरी सेमेष्टर प्रणाली अन्तर्गत सञ्चालन हुने परीक्षाहरू दिनबाट वञ्चित गरिए निवेदनको प्रयोजन नै नरहने भई अपूरणीय हानी नोक्सानी हुने अवस्था विद्यमान रहेकोले प्रस्तुत निवेदनको अन्तिम किनारा नभएसम्म विवादित निर्णय र पत्रहरू कार्यान्वयन नगरी निवेदकलाई नियमितरूपमा एम.बी.बी.एस.अध्ययन गर्न दिनु दिलाउनु र अन्य विद्यार्थीसरह निवेदकलाई नियमित परीक्षाहरूमा सामेल गर्नु गराउनु भनी विपक्षीहरूका नाउँमा अन्तरिम आदेशसमेत जारी गरिपाऊँ भन्ने व्यहोराको निवेदनपत्र ।
विपक्षीहरूबाट लिखितजवाफ मगाउनु । अन्तरिम आदेशको मागका सम्बन्धमा, यो निवेदनको अन्तिम टुंगो नलागेसम्म विपक्षी काठमाडौ विश्वविद्यालयको प्राज्ञिक परिषद्बाट निवेदकको रजिष्ट्रेशनमाथि कुनै कारवाही नगरी फिर्ता पठाउने गरी मिति २०६६।४।२५ मा सम्पन्न ६० औं बैठकबाट भएको निर्णय, सो निर्णयको आधारमा विपक्षी नोबेल कलेजलाई लेखिएको मिति २०६६।११।१३ को पत्रसमेतका कार्यहरू कार्यान्वयन नगर्नु नगराउर्नु, निवेदकलाई एम.बी.बी.एस.अध्ययन गर्न नियमितरूपमा दिनु दिलाउनु र अन्य विद्यार्थीहरूसरह नियमित परीक्षामा सामेल गर्नु गराउनु भनी सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ४१ अनुसार विपक्षीका नाममा अन्तरिम आदेश जारी गरिदिएको छ । रिट निवेदनको विषयवस्तुको गम्भीरतालाई मध्यनजर गरी अग्राधिकारसमेत प्रदान गरिएको छ भन्ने व्यहोराको यस अदालतको मिति २०६६।१२।२५ को आदेश ।
विपक्षीले प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् (CTEVT) बाट प्रमाणपत्र तह उत्तीर्ण गरेका छन् तर त्यो उच्च माध्यमिक शिक्षा परिषद्को १०+२ को पाठ्यक्रमसरह छैन । त्यसैले १०+२ सरहका लागि विपक्षीले pre-requisite कोर्ष गरेको भन्ने देखिन्छ । १०+२ को परिषद्को फिजिक्स, केमेष्ट्री र बायोलोजीसमेतका विषयमा २०० पूर्णाङ्कको पाठ्यक्रम निर्धारण गरिएको छ र त्यसको समयावधि २ वर्षको रहेको भन्नेमा पनि विवाद हुनसक्तैन । उपरोक्त विषयहरूमा विपक्षीले CTEVT र परिषद्समेत गरेर प्रत्येक विषयमा जम्मा १५० पूर्णाङ्कको मात्र अध्ययन गरेका छन् । उल्लिखित प्रत्येक विषयमा बाँकी ५० पूर्णाङ्क र यसका लागि चाहिने अध्ययन समय ६ महिना विपक्षीले पूरा गरेका छैनन् । परिषद्बाट तोकिएको पाठ्यक्रमको तुलनामा विपक्षीले पूरा गरेको कोर्षमा समयावधि र अङ्कभारसमेत नपुगेको पाएपछि निवेदकको रजिष्ट्रेशनमाथि कुनै कारवाही नगरी फिर्ता पठाइएको हो । विश्वविद्यालयले प्रवेश परीक्षाका लागि भनेर प्रकाशित सूचनामा १०+२ वा सो सरहको योग्यता पुगेकालाई नै आव्हान गरेको हो । १०+२ वा सो सरहको प्रमाणपत्र नभएकालाई आव्हान गरिएको होइन । तर निवेदक सो योग्यता नै नपुगी प्रवेश परीक्षामा सहभागी भएको भन्ने विश्वविद्यालयलाई थाहा भएपछि बाध्य भएर निजलाई एम.बी.बी.एस.को निम्ति रजिष्टर नगरिएको हो भन्ने व्यहोराको विपक्षी काठमाडौ विश्वविद्यालय, ऐ.को प्राज्ञिक परिषद् र रजिष्ट्रारसमेतको संयुक्त लिखितजवाफ ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् (CTEVT) बाट स्वास्थ्य विज्ञान र जनरल मेडिसिनमा प्रमाणपत्र तहको परीक्षा उत्तीर्ण गरेको आधारमा यस विश्वविद्यालयको एम.बी.बी.एस.कार्यक्रममा भर्ना हुन सकिँदैन । त्यसका लागि दश जोड दुई वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्दछ । त्यही उद्देश्यले विपक्षीले उच्च माध्यमिक शिक्षा परिषद्बाट त्यहाँको ब्रिज कोर्ष पढेर दश जोड दुई सरहको तह उत्तीर्ण गरेको भन्ने आधारमा स्वास्थ्य विज्ञान, स्नातक तहका निम्ति यस विश्वविद्यालयबाट सञ्चालित भर्ना परीक्षामा सरिक भएका थिए । तर विपक्षीको सो भर्ना परीक्षाका लागि योग्यता पुगेको थिएन किनभने दश जोड दुईसरह हुनका लागि अँग्रेजी, फिजिक्स, केमेष्ट्री र बायोलोजीसमेत प्रत्येकमा १०० पूर्णाङ्कको कोर्ष पूरा गरेको हुनुपर्छ । विपक्षीले उक्त विषयहरूमा ५० पूर्णाङ्कको कोर्ष मात्र पूरा गरेका छन् । विपक्षीले ब्रिजकोर्ष गरेर पनि दश जोड दुईसरहको कोर्ष पूरा गरेको नदेखिँदा विश्वविद्यालयले निजलाई रजिष्ट्रेशन नगरेको हो । सम्मानित अदालतबाट जारी अन्तरिम आदेशको आधारमा निवेदकलाई प्रथम भागको परीक्षामा समावेश गराइएको छ । परीक्षामा समावेश गराइएको भए पनि नतीजा प्रकाशनका बारेमा अन्तरिम आदेशमा केही उल्लेख नभएकोले निजको परीक्षाको नतिजा प्रकाशन गरिएको छैन । एम.बी.बी.एस.कार्यक्रममा प्रथम भागको परीक्षा उत्तीर्ण नगरी दोस्रो भागमा सम्मिलित गराउन नमिल्ने भनी प्राज्ञिक परिषद्ले मापदण्ड निर्धारण गरेको सन्दर्भमा दोस्रो भागको परीक्षामा निवेदकलाई सहभागी गराउन नियमविपरीत हुने स्थिति उत्पन्न भएकोले सम्मानित अदालतबाट जारी अन्तरिम आदेश खारेज गरिपाऊँ भन्ने व्यहोराको विपक्षी काठमाडौ विश्वविद्यालयका तर्फबाट परेको निवेदनपत्र ।
नियमबमोजिम पेशी सूचिमा चढी पेश हुनआएको प्रस्तुत रिट निवेदनको मिसिलसंलग्न सम्पूर्ण कागजात अध्ययन गरियो ।
निवेदकतर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री शम्भु थापा तथा विद्वान् अधिवक्ता श्री टीकाराम भट्टराईले निवेदकले विपक्षी काठमाडौं विश्वविद्यालयद्वारा निर्धारित शैक्षिक योग्यता हासिल गरी एम.बी.बी.एस./बी.डी.एस तहमा अध्ययन गर्नका लागि सो विश्वविद्यालयद्वारा सञ्चालित प्रवेश परीक्षा (KUMET-2009) मा उत्तीर्ण भई विपक्षी नोबेल मेडिकल कलेजमा भर्ना भई अध्ययन गरिरहेको अवस्था विद्यमान छ । निवेदकले एस.एल.सी.पश्चात् प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् (CTEVT) अन्तर्गतको पोखरा टेक्निकल हेल्थ मल्टिपरपोज इन्ष्टिच्युट पोखराबाट Health Science (General Medicine) विषयमा ३ वर्षे प्रवीणता प्रमाणपत्र तहको अध्ययन पूरा गरी उच्च माध्यमिक शिक्षा परिषद्बाट उच्च माध्यमिक तहको विज्ञान विषय समूहसरहको समकक्षता प्रदान गर्ने सिलसिलामा निर्धारित Pre-requisite Course समेत सम्पन्न गरी विपक्षी विश्वविद्यालयको प्रवेश परीक्षा (KUMET-2009) मा सम्मिलित भएको र विपक्षी मेडिकल कलेजले सोही शैक्षिक योग्यताहरूको आधारमा निवेदकलाई एम.बी.बी.एस.तहमा भर्ना गरी पठनपाठन गराउँदैआएको हो । यसरी प्रवेश परीक्षा लिई भर्नासमेत गरी पठनपाठन गराउँदैआएको आफ्नो विद्यार्थीलाई पछिबाट रजिष्ट्रेशन गर्न इन्कार गरेको विपक्षी विश्वविद्यालयको निर्णय कानूनप्रतिकूल भएकोले मागबमोजिमको आदेश जारी हुनुपर्दछ भनी बहस गर्नुभयो । त्यस्तै विपक्षी काठमाडौं विश्वविद्यालयका तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्तात्रय श्री राधेश्याम अधिकारी, श्री निरञ्जन आचार्य र श्री प्रकाश राउतले निवेदकले प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् (CTEVT) बाट प्रमाणपत्र तह उत्तीर्ण गरेका छन् तर सो उच्च माध्यमिक शिक्षा परिषद्को १०+२ को पाठयक्रमसरह छैन । उच्च माध्यमिक शिक्षा परिषद्को १०+२ को पाठ्यक्रममा फिजिक्स, केमिष्ट्री, बायोलोजीसमेतका विषयहरूमा २०० पूर्णाङ्कको पाठ्यक्रम निर्धारित छ र समयावधि पनि २ वर्षको रहेको छ । निवेदकले उच्च माध्यमिक शिक्षा परिषद्बाट सञ्चालित Pre-requisite Course अध्ययन गरेको भए पनि सो कोर्ष र CTEVT को जोड्दा पनि ती प्रत्येक विषयमा २०० पूर्णाङ्क र २ वर्ष समयावधि पुग्दैन । त्यसैले विश्वविद्यालयले निर्धारण गरेअनुरुपको १०+२ वा सो सरहको शैक्षिक योग्यता निवेदकले हासिल नगरेको हुँदा निजलाई एम.बी.बी.एस.तहको अध्ययनका लागि अयोग्य ठहर गरेको विश्वविद्यालयको निर्णय विधिसम्मत् भएकोले रिट निवेदन खारेज हुनुपर्दछ भनी बहस गर्नुभयो ।
उल्लिखित बहससमेत सुनी निवेदकको मागबमोजिमको आदेश जारी हुनपर्ने हो होइन भन्ने विषयमा निर्णय दिनुपरेको छ ।
२. निर्णयतर्फ विचार गर्दा, रिट निवेदक कृष्ण बराल विपक्षी काठमाडौं विश्वविद्यालयद्वारा एम.बी.बी.एस./बी.डी.एस.प्रोग्राम अध्ययनका लागि सञ्चालित प्रवेश परीक्षा KUMET-2009 मा सम्मिलित भई प्रवेश परीक्षा उत्तीर्ण गरी सोही विश्वविद्यालयबाट सम्बन्धन प्राप्त विपक्षी नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेण्टर प्रा.लि. विराटनगरमा एम बी बी एस तह (अगष्ट २००९ समूह) मा भर्ना भएको तथ्यमा विवाद देखिन्न ।
३. निवेदक उक्त कलेजमा भर्ना भई अध्ययनरत रहेकै बखत “CTEVT बाट प्रमाणपत्र तह उत्तीर्ण गरी उच्च माध्यमिक शिक्षा परिषद् (HSEB) बाट तोकिएको Bridge Course, I.Sc सरहका लागि चाहिने पाठ्यक्रमको तुलनामा समयावधि र अङ्कभार नपुग देखिएकोले KUMET परीक्षाका लागि योग्य नभएको भनी प्राज्ञिक परिषद्को २०६६ श्रावण २५ मा सम्पन्न ६० औं बैठकबाट भएको निर्णयअनुसार अगष्ट २००९ समूहमा भर्ना भएका कृष्ण बरालको रजिष्ट्रेशनमाथि कुनै कारवाही नगरी यसैसाथ फिर्ता पठाइएको छ” भन्ने व्यहोराको विपक्षी काठमाडौं विश्वविद्यालयको मिति २०६६।११।१३ को पत्र विपक्षी कलेजमा प्राप्त भएको र कलेजले सोको जानकारी गराएपछि निवेदक मिति २०६६।१२।२४ मा प्रस्तुत निवेदन लिई अदालत प्रवेश गरेको देखिन्छ ।
४. विपक्षी विश्वविद्यालयको मिति २०६६।११।१३ को उक्त पत्रमा उल्लिखित सो विश्वविद्यालयको प्राज्ञिक परिषद्को मिति २०६६।४।२५ मा सम्पन्न ६० औं बैठकको माइन्युट उतार हेर्दा शैक्षिक सत्र २००९।२०१० का लागि एम.बी.बी.एस.कार्यक्रममा विद्यार्थी भर्ना लिने सम्बन्धमा, २०६६ श्रावण ४ गते सम्पन्न K.U., T.U., BPKIHS का उपकुलपतिहरू र नेपाल मेडिकल काउन्सिलका अध्यक्ष सम्मिलित बैठकबाट Physics, Chemistry, Biology, English मुख्य विषयहरूसहित नेपाल मेडिकल काउन्सिलले तोकेका आधारहरू पूरा गरेका +२ वा आइ.एस्सी वा सो सरहका तहमा कम्तीमा कूल ५० प्रतिशत अङ्क प्राप्त गरेका विद्यार्थीहरूलाई एम.बी.बी.एस.प्रवेश परीक्षामा बस्नका लागि न्यूनतम योग्यता निर्धारण भएको र प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् (CTEVT) बाट प्रमाणपत्र तह उत्तीर्ण गरी उच्च माध्यमिक शिक्षा परिषद् (HSEB) बाट तोकिएको Bridge Course, I.Sc सरहका लागि चाहिने पाठ्यक्रमको तुलनामा समयावधि र अङ्कभार नपुग देखिएकोले KUMET परीक्षाका लागि योग्य नभएको भन्नेसमेत निर्णय भएको देखिन्छ ।
५. विपक्षी काठमाडौं विश्वविद्यालयले एम.बी.बी.एस./बी.डी.एस.कार्यक्रमका लागि आव्हान गरेको प्रवेश परीक्षा (KUMET-2009) सम्बन्धी सार्वजनिक सूचनामा सो कार्यक्रमका लागि Eligibility Criteria अन्तर्गत अन्य कुराका अतिरिक्त "Candidates, who have completed 10+2 years of education or Intermediate of Science or equivalent; with Biology, Physics, Chemistry and English as main subjects and having secured not less than 50 percent marks in the subject mentioned above put together and an overall aggregate of 50 percent, are eligible to apply" भन्ने उल्लेख भएको पाइन्छ ।
६. विपक्षी विश्वविद्यालयको उक्त Eligibility Criteria अनुरुपको आफ्नो शैक्षिक योग्यता रहेको भन्ने निवेदकको दावी रहेको छ । सो सम्बन्धमा मिसिलसंलग्न कागजात अध्ययन गरी हेर्दा, निवेदकले प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् (CTEVT) अन्तर्गतको पोखरा टेक्निकल हेल्थ मल्टिपर्पोज इन्ष्टिच्युटबाट Health Science (General Medicine) कार्यक्रममा ३ वर्षे प्रवीणता प्रमाणपत्र (Proficiency Certificate) तह सन् २००८ मा कूल ७९.४४ प्रतिशत अङ्कसहित प्रथम श्रेणीमा उत्तीर्ण गरेको देखिन्छ । मिसिलसंलग्न उक्त ट्रान्सक्रिप्टको प्रतिलिपि हेर्दा प्रथम वर्षमा रहेका English, Physics, Chemistry विषयमा निर्धारित पूर्णाङ्क र निवेदकले हासिल गरेको अङ्क निम्नानुसार रहेको देखिन्छः–
Subject |
Full Marks |
Pass Marks |
Marks Secured |
||||||
Int. |
Ext. |
Total |
Int. |
Ext. |
Total |
Int. |
Ext. |
Total |
|
English |
20 |
80 |
100 |
8 |
32 |
40 |
13 |
42 |
55 |
Physics(Th) |
16 |
64 |
80 |
25.6 |
25.6 |
32 |
16 |
38 |
54 |
Physics (Pr) |
8 |
12 |
20 |
7.2 |
7.2 |
12 |
8 |
12 |
20 |
Chemistry (Th) |
16 |
64 |
80 |
6.4 |
25.6 |
32 |
15 |
42 |
57 |
Chemistry (Pr) |
8 |
12 |
20 |
4.8 |
7.2 |
12 |
6 |
10 |
16 |
७. उपरोक्तानुसारको शैक्षिक योग्यता हासिल गरेपछि उच्च माध्यमिक शिक्षा परिषद्ले स्वास्थ्य विज्ञान विषयमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (CTEVT) वा सोद्वारा मान्यताप्राप्त संस्थाबाट ३ वर्षे प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेका विद्यार्थीहरूलाई उच्च माध्यमिक तहको विज्ञान विषय समूह सरहको समकक्षता प्रदान गर्ने सम्बन्धमा सो परिषद्ले तयार गरेको पाठ्यक्रमअनुसारको Pre-requisite Course निवेदकले मिति २०६५।११।२२ देखि २०६६।४।१२ सम्म जनता उच्च मा.वि.तानसेन, पाल्पामा अध्ययन गरी उत्तीर्ण गरेको देखिन्छ । कूल पूर्णाङ्क ३०० मा निवेदकले १८३ अङ्क हासिल गरेको मिसिलसंलग्न उच्च माध्यमिक शिक्षा परिषद्को उक्त मार्कसिटको प्रतिलिपि हेर्दा Compulsory English, Physics, Chemistry, Biology विषयहरूको अङ्कभार र ती विषयहरूमा निवेदकले हासिल गरेको अङ्कको स्थिति निम्नानुसार रहेको देखिन्छः–
Subject |
Full Marks |
Pass Marks |
Marks Obtained |
||||
Th |
Pr |
Th |
Pr |
Th |
Pr |
Total |
|
Compulsory English |
80 |
|
32 |
|
47 |
|
47 |
Physics 35 |
35 |
15 |
14 |
6 |
22 |
15 |
37 |
Chemistry |
35 |
15 |
14 |
6 |
15 |
15 |
30 |
Biology |
35 |
15 |
14 |
6 |
20 |
15 |
35 |
८. निवेदकले उत्तीर्ण गरेको Compulsory Nepali र Mathematics विषयसहितको उपरोक्त एचभ चभत्रगष्कष्तभ कोर्षलाई उच्च माध्यमिक शिक्षा परिषद्ले विज्ञान विषयमा उच्च माध्यमिक तह (१०+२) सरहको (Equivalent to Higher Secondary Level (10+2) in Science Subjects) भनी समकक्षता निर्धारण गरेकोसमेत मिसिलसंलग्न प्रमाणपत्रको प्रतिलिपिबाट देखिन्छ ।
९. उपरोक्तानुसार आफूले उच्च माध्यमिक तह (१०+२) सरहको शैक्षिक योग्यता हासिल गरेकोले विपक्षी विश्वविद्यालयको एम.बी.बी.एस.तहमा अध्ययन गर्न आफूयोग्य (Eligible) रहेको भन्ने निवेदकको दावी रहेको देखिन्छ । सो सम्बन्धमा विपक्षी काठमाडौं विश्वविद्यालयको लिखितजवाफ हेर्दा निवेदकले CTEVT बाट उत्तीर्ण गरेको प्रमाणपत्र तहको शैक्षिक योग्यता उच्च माध्यमिक शिक्षा परिषद्को १०+२ को पाठ्यक्रमसरह नभएको अर्थात् उच्च माध्यमिक शिक्षा परिषद्ले उच्च माध्यमिक तह (१०+२) का लागि Physics, Chemistry र Biology समेतका विषयहरूका लागि २०० पूर्णाङ्क निर्धारण गरेको र अध्ययन अवधि पनि २ वर्षको रहेकोमा निवेदकले CTEVT र उच्च माध्यमिक शिक्षा परिषद् (HSEB) दुवैबाट अध्ययन गरेकोलाई जोड्दा पनि उक्त विषयहरूमा १५० पूर्णाङ्क मात्रको अध्ययन गरेको र २ वर्षको अध्ययन अवधि पनि पूरा नभएको हुँदा निवेदकले हासिल गरेको उक्त शैक्षिक योग्यता विश्वविद्यालयले निर्धारण गरेको शैक्षिक योग्यता अर्थात् उच्च माध्यमिक तह (१०+२) वा सो सरह नभएको भन्ने जिकीर गरेको देखिन्छ ।
१०. विपक्षी काठमाडौं विश्वविद्यालयको प्राज्ञिक परिषद्को मिति २०६६।४।२५ को उपरोक्त निर्णय तथा एम.बी.बी.एस./बी.डी.एस. शैक्षिक कार्यक्रममा भर्नाका लागि सो विश्वविद्यालयद्वारा निर्धारित Eligibility Criteria र लिखितजवाफ व्यहोरासमेतबाट रिट निवेदकले प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् (CTEVT) बाट हासिल गरेको प्रवीणता प्रमाणपत्र तहको शैक्षिक योग्यता र सो योग्यतालाई उच्च माध्यमिक तह (१०+२) सरहको समकक्षता प्रदान गर्ने प्रयोजनका लागि उच्च माध्यमिक शिक्षा परिषद्द्वारा सञ्चालित Pre requisite Course लाई समेत विपक्षी काठमाडौं विश्वविद्यालयले उच्च माध्यमिक तह (१०+२) सरहको मान्यता प्रदान नगरेको देखिन आयो ।
११. अब, निवेदकले हासिल गरेका उपरोक्त शैक्षिक योग्यतालाई उच्च माध्यमिक तह (१०+२) सरहको मान्यता प्रदान नगर्ने गरी विपक्षी काठमाडौं विश्वविद्यालयको प्राज्ञिक परिषद्ले गरेको उक्त निर्णय कानूनसम्मत छ छैन भन्नेसम्बन्धमा विश्लेषण गर्नुपर्ने भएको छ । तत्सम्बन्धमा काठमाडौं विश्वविद्यालय ऐन, २०४८ को दफा ३ मा विश्वविद्यालय स्वशासित संस्था हुनेछ भन्ने प्रावधान रहेको देखिन्छ । त्यस्तै दफा ८ मा विश्वविद्यालयको शैक्षिक तथा प्राज्ञिक कुरामा मुख्य निकायको रूपमा कार्य गर्न प्राज्ञिक परिषद् रहने व्यवस्था रहेको छ भने दफा ९ मा विश्वविद्यालयमा हुने अध्ययन तथा अध्यापनको गुणस्तर, पाठ्यक्रम, परीक्षाको स्तर र किसिम, मूल्याङ्कन विधिहरू, शिक्षण सामग्रीहरू, विद्यार्थी भर्नासम्बन्धी संख्या र योग्यता निर्धारण गर्नेसमेतको अधिकार प्राज्ञिक परिषद्लाई रहेको देखिन्छ ।
१२. काठमाडौं विश्वविद्यालय ऐनका उपरोक्त व्यवस्थाहरूबाट विश्वविद्यालयको पाठ्यक्रम निर्धारण गर्न तथा शैक्षिक कार्यक्रमहरूमा विद्यार्थी भर्नाका लागि शैक्षिक योग्यता निर्धारण गर्न सो विश्वविद्यालय स्वतन्त्र रहेको देखिन्छ । यस्तो प्राज्ञिक स्वतन्त्रता विश्वविद्यालयलाई हुन वाञ्छनीय पनि हुन्छ । शैक्षिक कार्यक्रम तथा पाठ्यक्रम एवं शैक्षिक उपाधिहरूको गुणस्तरको निर्धारण, विश्लेषण, मूल्याङ्कन तथा मापन गर्ने विषय आफैंमा प्राज्ञिक कार्य भएकोले सो कार्य सम्बन्धित विश्वविद्यालय वा शैक्षिक संस्थाहरूकै विशेषज्ञता (Expertise) को विषय हो । सोबाहेक अदालत वा अन्य कुनै निकायमा त्यस्तो विशेषज्ञता नहुने हुँदा कुनै पनि विश्वविद्यालयद्वारा प्रचलित कानूनको अधीनमा रही निर्धारण गरिएको कुनै विषयको पाठ्यक्रम तथा विद्यार्थी भर्नासम्बन्धी शैक्षिक योग्यताको अन्तरवस्तुभित्र प्रवेश गरी त्यसको उपयुक्तता वा औचित्यका विषयमा अदालतले पुनरालोकन गर्न मिल्दैन । आफ्नो विशेषज्ञता नभएको र अदालतले अपनाउने न्यायिक प्रक्रियाका विशिष्ट पद्धतिहरूबाट निरोपण गर्न पनि नसकिने (Non-justiciable) यस्ता प्राज्ञिक एवं नीतिगत विषयवस्तुहरूमा प्रवेश गरी अन्यथा आदेश गर्न अदालतले संयम अपनाउनु पर्दछ र यस अदालतले सो गर्दैआएको पनि छ । यसबाट नीतिगत एवं प्राज्ञिक विषयवस्तुहरू नीतिगत एवं प्राज्ञिक तहबाटै निरोपण हुने वातावरणको सिर्जना भई सम्बन्धित तह वा निकायहरूमा व्यवसायिकताको विकासका लागि मार्गप्रशस्त हुने गर्दछ ।
१३. उपरोक्त विश्लेषणबाट रिट निवेदकले हासिल गरेको प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् (CTEVT) अन्तर्गतको प्रवीणता प्रमाणपत्र तहको शैक्षिक योग्यता र उच्च माध्यमिक शिक्षा परिषद् (HSEB) को Pre-requisite Course (Bridge Course) अध्ययन गरी हासिल गरेको योग्यतासमेतलाई एम.बी.बी.एस.तहमा भर्ना हुने प्रयोजनका लागि उच्च माध्यमिक तह (१०+२) सरहको मान्यता प्रदान नगर्ने भनी विपक्षी विश्वविद्यालयको प्राज्ञिक परिषद्ले गरेको निर्णय कानूनप्रतिकूल नदेखिँदा निवेदकको मागबमोजिम सो निर्णयलाई बदर गर्नुपर्ने देखिएन ।
१४. तर विपक्षी विश्वविद्यालयले एम.बी.बी.एस. बी.डी.एस. तहमा भर्नाका लागि आह्वान गरेको सार्वजनिक सूचना (KUMET-2009) हेर्दा १०+२ तह वा सो सरहको शैक्षिक योग्यता हासिल गरेका विद्यार्थीहरूले समेत आवेदन गर्नसक्ने गरी सामान्यरूपको सूचना प्रकाशित भएको देखिन्छ । विश्वविद्यालयको प्राज्ञिक परिषद्को मिति २०६६।४।२५ को ६० औं बैठकले शैक्षिक सत्र २००९।२०१० का लागि एम.बी.बी.एस. कार्यक्रममा भर्नाका लागि न्यूनतम शैक्षिक योग्यता निर्धारण गरेको र प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (CTEVT) बाट प्रमाणपत्र तह उत्तीर्ण गरी उच्च माध्यमिक शिक्षा परिषद्बाट सञ्चालित Bridge Course अध्ययन गरेका विद्यार्थीहरू KUMET प्रवेश परीक्षाका लागि योग्य नहुने भनी निर्णय गरेको देखिए पनि सो निर्णयको व्यहोरा KUMET को प्रवेश परीक्षाका लागि प्रकाशित गरेको सूचनाबाट देखिँदैन । विश्वविद्यालयका आन्तरिक निर्णय तथा पत्र परिपत्रहरू सार्वजनिकरूपमा प्रकाशन नगरेसम्म सर्वसाधारणको जानकारीमा आउँदैनन् र विश्वविद्यालयबाट सञ्चार माध्यमहरूमा प्रकाशन हुने सार्वजनिक सूचनाहरूलाई नै आधिकारिक मानी सर्वसाधारण तथा भर्नाका आकांक्षी विद्यार्थीहरूले विश्वविद्यालयसँग व्यवहार गर्नुपर्ने हुन्छ र यस्ता सूचनाहरूलाई नै वैध मानी त्यसैमा भर पर्नु उनीहरूका लागि अस्वाभाविक पनि हुँदैन ।
१५. प्रस्तुत विवादमा प्राज्ञिक परिषद्को उक्त निर्णय विपक्षी विश्वविद्यालयले KUMET जस्तो भर्नासम्बन्धी सार्वजनिक सूचनामा प्रष्टरूपमा उल्लेख गरिदिएको भए विद्यार्थीहरूले स्पष्टरूपमा सूचित हुने मौका पाउने थिए र योग्यता नै नपुगेको विषयमा आवेदन गरेको भनी यी रिट निवेदकका हकमा भन्न सकिने अवस्था हुन सक्तथ्यो तर विश्वविद्यालय आफैंले आफ्नै निर्णयविपरीत आवश्यक योग्यता नभएका रिट निवेदकको आवेदनलाई स्वीकार गरी मिति २०६६।५।२४ मा भएको प्रवेश परीक्षामा सामेल गराएको अवस्था छ । प्राज्ञिक परिषद्को उक्त निर्णय विद्यार्थी भर्नासम्बन्धी सूचनामा सार्वजनिकरूपमा प्रकाशन नगरी रिट निवेदकलगायत सर्वसाधारणलाई स्पष्टरूपमा सुसूचित गराउने काम पनि विश्वविद्यालयले गरेको देखिँदैन । विपक्षी विश्वविद्यालयबाट हुनगएको यो व्यवस्थापकीय त्रुटिका कारण रिट निवेदक पीडित हुनुहुँदैन भन्ने कुरामा विपक्षी विश्वविद्यालयका तर्फबाट उपस्थित विद्वान् कानून व्यवसायीहरूले पनि सहमति व्यक्त गर्दै विश्वविद्यालयको प्राज्ञिक स्वतन्त्रता कुण्ठित नहुने र निवेदकले उपचार पनि पाउने मध्यमार्गी समाधानका लागि इजलाससमक्ष आग्रह गर्नुभएको छ ।
१६. विपक्षीमध्येको नोबेल मेडिकल कलेजले लिखितजवाफ नै दिएको देखिँदैन । उक्त कलेज काठमाडौं विश्वविद्यालयद्वारा सम्बन्धनप्राप्त कलेज रहेको भन्ने देखिएको अवस्थामा सो कलेज र सम्बन्धन प्रदान गर्ने काठमाडौं विश्वविद्यालयबीचको करारीय सम्बन्ध जे जस्तो रहेको भए पनि सम्बन्धनभित्रको विषयवस्तुमा यस अदालतले विश्वविद्यालय र कलेजलाई निरपेक्षरुपमा अलग्याएर हेर्न मिल्दैन । काठमाडौं विश्वविद्यालय ऐन, २०४८ को दफा ५ मा कलेजको शैक्षिक सम्बन्धनबारे आवश्यक प्रबन्ध गर्ने र सम्बन्धन प्राप्त कलेजलाई निर्देशन दिने तथा मार्गदर्शन गर्नेसमेतको काम, कर्तव्य र अधिकार विश्वविद्यालय सभालाई रहेभएको देखिँदा आफूद्वारा सम्बन्धन प्रदान गरिएका कलेजहरूको नियमनकारी निकाय विश्वविद्यालय स्वयं नै रहेको देखिन्छ । यस परिप्रेक्ष्यमा शैक्षिक कार्यक्रमहरूमा विद्यार्थी भर्ना तथा पठनपाठनलगायत सम्बन्धनसँग सम्बन्धित विषयवस्तुमा कलेजहरूलाई विश्वविद्यालयको नीति तथा उद्देश्यअनुरुप कटिवद्ध र दुरुस्त रहन लगाई त्यसको उत्तरदायित्व स्वयं बोध गर्ने कर्तव्यबाट पनि विपक्षी विश्वविद्यालय विमुख हुनसक्ने स्थिति देखिँदैन ।
१७. प्रस्तुत विवादमा निवेदक सम्मिलित एम.बी.बी.एस. तहको प्रवेश परीक्षा विपक्षी विश्वविद्यालय स्वयंले सञ्चालन गरेको र सो प्रवेश परीक्षामा उत्तीर्ण भएको आधारमा निवेदकको सो शैक्षिक कार्यक्रममा विपक्षी नोबेल मेडिकल कलेजमा भर्ना भएको भन्ने देखिन्छ । विश्वविद्यालयले यस्तो प्रवेश परीक्षा तथा भर्नाकै चरणमा विद्यार्थीहरूको योग्यतासम्बन्धी विषयमा गम्भीरतापूर्वक जाँचबुझ गरी तत्काल निर्णय गर्ने दरिलो व्यवस्थापकीय परिपाटीको विकास गर्न सके प्रस्तुत निवेदनमा एम.बी.बी.एस.कार्यक्रममा भर्ना भएपश्चात् देखिएजस्ता विवाद र अप्ठ्यारा परिस्थितिहरूलाई अगाडि नै निराकरण गर्न सकिने हुँदा त्यसतर्फ विश्वविद्यालयको ध्यान आकृष्ट हुनु अत्यावश्यक देखिन्छ ।
१८. माथि गरिएको विवेचनाबाट निवेदकले हासिल गरेको शैक्षिक योग्यतालाई विपक्षी काठमाडौं विश्वविद्यालयले आफ्नो एम.बी.बी.एस.कार्यक्रममा भर्ना हुनका लागि आवश्यक योग्यताको रूपमा मान्यता नदिएको भए तापनि सो विश्वविद्यालयद्वारा सञ्चालित प्रवेश परीक्षामा निवेदक सम्मिलित भई प्रवेश परीक्षा उत्तीर्ण गरी विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त मेडिकल कलेजमा निवेदक भर्ना भई अध्ययन गरिरहेको अवस्थामा ढीलो गरी विपक्षी विश्वविद्यालयले निवेदकको शैक्षिक योग्यतासम्बन्धी प्रश्न उठाई निजलाई एम.बी.बी.एस.तहको शैक्षिक कार्यक्रममा रजिष्ट्रेशन गर्न इन्कार गरेको कार्यबाट सिर्जित परिणामहरूलाई गम्भीरतापूर्वक विचार गर्नुपर्ने भएको छ । विश्वविद्यालय वा यसको सम्बन्धनप्राप्त मेडिकल कलेजले निवेदकलाई एम.बी.बी.एस.कार्यक्रममा भर्नाका लागि योग्यता परीक्षण गर्न सञ्चालित प्रवेश परीक्षामा उत्तीर्ण गराई भर्ना लिई आफ्नो आचरण र व्यवहारबाट निवेदकलाई योग्य ठहर्याई केही सत्र अध्ययनसमेत गरी सकेपछि निजको भर्नासम्बन्धी योग्यतामा प्रश्न उठाई रजिष्ट्रेशन गर्न इन्कार गरेको कार्यलाई औचित्यपूर्ण एवं मनासीब भन्न सकिने हुँदैन ।
१९. आफूलाई रजिष्ट्रेशन नगर्ने विपक्षी विश्वविद्यालयको उक्त निर्णयको जानकारी भएपश्चात् निवेदक प्रस्तुत रिट निवेदन लिई यस अदालतमा प्रवेश गरेकोमा यस अदालतबाट विपक्षी विश्वविद्यालयको सो निर्णय कार्यान्वयन नगर्न नगराउन र निवेदकलाई निजले अध्ययन गरिरहेको एम.बी.बी.एस.कार्यक्रमको पठनपाठनबाट वञ्चित नगर्न विपक्षीहरूका नाममा मिति २०६६।१२।२५ मा अन्तरिम आदेश जारी भई निवेदक निरन्तररूपमा अध्ययन गरिआएको अवस्था विद्यमान रहेको छ भने सो अन्तरिम आदेश बदर गरिपाऊँ भनी ढीलो गरी मिति २०६९।११।८ मा मात्र विपक्षी विश्वविद्यालयले यस अदालतमा निवेदन दिएको देखिन्छ । यस पृष्ठभूमिमा निवेदकको शैक्षिक योग्यताका सम्बन्धमा विपक्षी विश्वविद्यालयका तर्फबाट प्रवेश परीक्षा तथा भर्नाकै बखत तत्काल निर्णय हुन नसकेको यथार्थ र निवेदकले पनि वैध अपेक्षा (Legitimate Expectation) का साथ विपक्षी कलेजमा भर्ना भई गरेको अध्ययन र मेहनत तथा आर्थिक लगानी एवं व्यतीत भएको समय तत्वसमेतलाई विचार गर्दा निवेदकलाई अब आएर अध्ययन गर्नबाट वञ्चित गर्नु न्यायसंगत नहुने हुँदा निवेदकका हकमा पनि अन्य विद्यार्थीसरह नै विश्वविद्यालयद्वारा एम.बी.बी.एस.तहमा भर्ना हुनका लागि निर्धारित शैक्षिक योग्यता हासिल गरी भर्ना भएको मानी अन्य विद्यार्थीसरहकै व्यवहार निजलाई पनि गरी अध्ययन गर्न दिनु र सो प्रयोजनका लागि निजको नाम रजिष्ट्रेशन गर्ने, परीक्षा लिने तथा परीक्षाफल प्रकाशित गर्नेलगायतका जो गर्नुपर्ने सबै नियमित प्रक्रियाहरू पूरा गर्नु गराउनु भनी विपक्षीहरूका नाममा विशेष आदेश जारी गरिएको छ । आदेशको जानकारी विपक्षीहरूलाई गराई मिसिल नियमानुसार बुझाइदिनू ।
उक्त रायमा म सहमत छु ।
का.मु.प्र.न्या.दामोदरप्रसाद शर्मा
संवत् २०६९ साल चैत ८ गते रोज ५ शुभम्–––
इजलास अधिकृतः मातृकाप्रसाद आचार्य