शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६४०६ - अंश

भाग: ३९ साल: २०५४ महिना: कार्तिक अंक:

निर्णय नं. ६४०६               २०५४, ने.का.प.               अङ्क ७

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा

माननीय न्यायाधीश श्री नरेन्द्र बहादुर न्यौपाने

सम्बत् २०५१ सालको दे.पु.नं...... २४५१

आदेश मितिः २०५४।२।१४।३

 

मुद्दाः अंश

 

पुनरावेदक/प्रतिवादीः जिल्ला झापा शिवगंज गा.वि.स. वडा नं. ४ वस्ने वर्ष ५१ को तुल वहादुर राई समेत जना २ ।

विरुद्ध

विपक्षी/वादीः ऐ. दमक न.पा. वडा नं. १२ वस्ने गौर वहादुर राई ।

 

§  पुनरावेदक प्रतिवादी तुल वहादुरले विवादित कि.नं. ६४८ र ६४९ को आफ्नो मोहीयानी भएको जग्गालाई जग्गा धनी इन्द्र कुमारीको हद वढीको जग्गा भन्ने मिति २०३६।११।१० मा पाएको भन्ने लालपुर्जावाट देखिन आउँछ । मुलुकी ऐन अंश वण्डाको १८ नं. मिति २०३४।७।२७ मा शंसोधित भै सो शंसोधन भएपछि २०३६।११।१० मा मोहीको नाताले प्राप्त गरेको हुँदा निजी आर्जनको सम्पति देखिन आई पिता पुर्खाको पालाको भन्ने देखिन आउदैन । यस्तो निजी आर्जनको सम्पतिमा वण्डा गरीरहनु पर्ने अवस्था नभएवाट वण्डा गर्र्ने गरी गरेको पुनरावेदन अदालत इलामको फैसला उल्टी हुने ठहर्छ । शुरु इलाम जिल्ला अदालतको फैसला मनासिव देखिने ।

(प्र.नं. १३)

 

पुनरावेदक तर्फबाटः विद्वान अधिवक्ता श्री अग्नी खरेल

विपक्षी तर्फबाटः

अवलम्वित नजीरः

 

आदेश

     न्या.मोहन प्रसाद शर्माः पुनरावेदन अदालत इलामको फैसला उपर पर्न आएको पुनरावेदन सहितको मुद्दाको संक्षिप्त तथ्य एवं व्यहोरा यस प्रकार छ ।

      २.    वावु लाल वहादुरका हामी २ छोरा मध्ये जेठा तुल वहादुर म फेरादी कान्छा गौर वहादुर हामी २ भाई हौं । हाम्रा वावु आमा म सानै हुँदा परलोक हुनु भएकोले म र वावु सगोलमा वसि आएका थियौं र पहाडको जग्गा वेच विखन गरी झापा शिवगन्ज गा.वि.स. अन्तर्गत जग्गा खरिद गरी के कस्का नाउँमा राखेको छ मलाई थाहा भएको छैन । सगोलमा वसी आएको अवस्था २०४८ साल आषाढ ३ गतेका दिन अं. २ वजेको समयमा हामीहरुले लाए अराएको काम गर्दैनस भनी कुटपिट गरी घरवाट निकाला गरेका र मैले पाउने अंश दिनु होस भनी भन्दा अंश दिन्न भनेकाले विपक्षीहरुवाट अंश पाउने चल अचल जग्गा समेतको फाँटवारी लिई २ भागको एक भाग अंश दिलाई सजांय गरी पाउँ भन्ने २०४८।४।१०।२ को फिराद दावी  रहेछ ।

      ३.    फिराद दावी वमोजिम फिरादीलाई हामीले अंश दिन पर्ने होइन । वादी र म तुल वहादुर दाजु भाई हौं । पिता लाल वहादुरको पहिले नै परलोक भएको र पिता परलोक हुँदा वादी र म तुल वहादुर समेत नावालक थियौं । पिता जिवित छंदै रिण खाएको सो रिणमा भएको जग्गा वन्धकी दिएको रहेछ । फिरादी र म तुल वहादुर सावालक भएपछि विवाद गरी सगोलमा वसी आएका थियौं । सगोल गुजरा नचल्ने भई पहाडमा भएको सगोलको चल सम्पत्ती हात हातैमा वाडी भिन्न भई म  तुल वहादुर आफनो जहान परिवार लिई झापा शिवगन्ज वडा नं. ४ मा आई इन्द्र कुमारीको कि.नं. १७९ को ज.वि. २-१३-० मोहीमा कमाई गुजरा गरी आएको र विपक्षी पनि पहाड छोडी साविक तोपगाछी हाल धरमपुर गा.वि.स. ७ मा वसाई सरी वसोवास गरी ऐ वार्डको कि.नं. १२८ मा विपक्षी कै नाउँमा ज.वि. २--१० जमिन दर्ता गरी वसेका छन । अंश वण्डाको लिखत नभएपनि विपक्षी र मेरा वीच २०२० साल मै अलग व्यवहार दर्ता भोग वसोवास गरी आएका अवस्थामा मैले मोही भै कमाएको जग्गा जग्गा धनीको हद वढी जग्गा भएकोले २०३६ सालमा मोहीको हैसियतले विक्री वितरणमा प्राप्त गरेको हुँ । फिरादीले  सुकुम्वासीको हैसियतले ज.वि.२--१० दर्ता गराई वसोवास गरी भोगी आएका हुन । उक्त जग्गा २०४०।११।३ मा धनपति गुरागाइलाई विक्री गरी मिति २०४०।२।८ ज.वि. १--५ मा उमेश कुमार शाहीवाट खरिद गरी लि मिति २०४१।१०।१७ गते सो जग्गा पनि गणेश वहादुर भन्नेलाई विक्री गरी खाई मासी हाल दमकमा गै वसेका छन । आफनो अंश विक्री गरी सिध्याएपछि म सँग अंश खोज्न आएका हुन । झूठ्ठा फिराद दावीबाट अलग गरी सजाय हवस भन्ने २०४८।८।१।१ को तुल वहादुर राइ सुकमाया राईको एकै व्यहोराको प्रतिवादी जिकिर रहेछ ।

      ४.    यसमा फिराद दावी बमोजिम २०४८।३।३ गतेसम्म प्रतिवादीसँग वसेको भन्ने वादी दावी सांचो नदेखिएको र प्रतिवादीको नामको जग्गा निजी आर्जन भनी प्रतिवादी जिकिर भएकोमा सो होइन भन्ने वादीले सवुद प्रमाण पेश हुन नआएको हुँदा उपरोक्त प्रमाणको आधारमा प्रतिवादीवाट वादीले अंश पाउने ठहर्दैन भन्ने मिति २०४९।२।२२ को झापा जिल्ला अदालतको  फैसला ।

      ५. सो फैसलामा चित्त वुझेन । प्रतिवादीले हामी अंशियार होइन भन्न सकेको  छैन । केवल अगाडी नै चल सम्पति वण्डा भै सकेको अचल सम्पत्ति नभएको हुँदा वावुकै पालामा अंश दिएको भन्नसम्म भनेको भरवाट अगाडी नै अंश भै राखेको भन्ने उल्लेख भएमा अंश वण्डा भएको लिखत प्रमाण पेश नभएपछि कानून वमोजिम मैले अंश पाउने ठहरी फैसला हुन पर्नेमा मलाई अंशवाट वंचित गराइ भएको फैसला वदर गरी दावी वमोजिम अंश पाउँ भन्ने पुनरावेदन जिकिर ।

      ६.    यसमा अंशियारमा विवाद नभएको रित पुवर्कको अंशवण्डा भएको प्रमाणको अभावमा अंशवण्डा भैसकेको भनी शुरुले ठहराएको फैसला फरक पर्न जाने हुँदा अ.वं. २०२ नं. वमोजिम प्रत्यर्थि र अ.वं. २०१ नं. वमोजिम पुनरावेदकलाई समेत झिकाई दुवै पक्षवाट अंशवण्डाको २०, २१, २२, २३ नं. वमोजिम अंशको तायदाती फाँटवारी लिई पेश गर्नु भन्ने २०५०।३।२३ को पुनरावेदन अदालतको आदेश ।

      ७. मिति २०५०।८।२९ गते प्रत्यर्थी प्रतिवादी तुल वहादुर राईको वा. हरि प्रसाद श्रेष्ठले पेश गरेको अंशको फाँटवारी ।

      ८.    यसमा पुनरावेदक वादीवाट रु २०६५।२९ दाखेल गर्न ल्याउनु भन्ने आदेश अनुसार पुनरावेदकलाई कोर्टफि लिई हाजिर हुन आउनु भनी म्याद जारी गरी पठाएकोमा कोर्टफिको हकमा पछि मुद्दा किनारा भएका वखत ठहरे वमोजिम गर्ने गरी पुनरावेदकवाट कोर्टफि नलिई कारवाही गर्ने मिति २०५१।३।१७ गते भएको आदेश ।

      ९.    वादी दावी वमोजिम तायदाती सम्पतिको २ भागको १ भाग अंश दिलाई दिने समेत ठहर्छ । शुरु झापा जिल्ला अदालतले दावी वमोजिम २ भागको १ भाग अंश दिलाई दिने ठहर गर्नु पर्नेमा दावी नपुग्ने ठहर गरेको शुरुको फैसला उल्टी हुने ठहर्छ भन्ने पुनरावेदन अदालत इलामको मिति २०५१।३।२८ को र्पैmसला ।

      १०.    अंशवण्डाको १८ र ३० नं. तथा नि.नं. ३८६९ र ३२७८ मा सर्वोच्च अदालतवाट प्रतिपादित कानूनी सिद्धान्त समेतको विपरित भएकोले उक्त पुनरावेदन अदालत इलामको फैसला वदर गरी शुरु झापा जिल्ला अदालतको फैसला सदर गरी पाउँ भन्ने पुनरावेदक प्रतिवादीको तर्फवाट यस अदालत समक्ष पर्न आएको पुनरावेदन ।

      ११.    यसमा प्रतिवादीले दाखिला गरेको तायदाती फाँटवारीवाट पैतृक सम्पति भएको नदेखिएको वादीले आकडाको फाराम भरी प्राप्त गरेको क्षेत्रफल २--१० र पछि खरिद गरेको क्षेत्रफल १--५ समेत जम्मा क्षेत्रफल ३-१५-१५ विक्री गरेको र प्रतिवादीले मोहीको हैसियतले प्राप्त गरेको क्षेत्रफल २--१५ को जग्गा वादी दावी वमोजिम वण्डा गरेको पुनरावेदन अदालत इलामको फैसला मिलेको नदेखिंदा अ.वं. २०२ नं तथा सर्वोच्च अदालत नियमावली, २०४९ वमोजिम विपक्षी झिकाई आएपछि वा अवधि नाधेपछि नियमानुसार पेश गर्नु भने यस अदालतको मिति २०५३।८।१८ को  आदेश ।

      १२.   नियम वमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीका तर्फवाट नियुक्त कानून व्यवसायी विद्वान अधिवक्ता श्री अग्नी खरेलले यसमा शुरु अदालतको फैसला सदर गरी पुनरावेदन अदालतको इन्साफ उल्टी हुनु पर्छ भनी वहस प्रस्तुत गर्नु भयो ।

      १३. विद्वान अधिवक्ताको वहस सुन्नुको साथै  इजलास समक्ष प्राप्त मिसिल कागजात समेत अध्ययन गरी हेर्दा यसमा एकै वावुका छोरा जेठा तुलवहादुर म फिरादी कान्छा गौर वहादुर हामी २ भाई वावु आमा सानै छंदा परलोक हुनु भएकोले म र दाजु सगोल मै वसी आएकोमा मैले अंश माग्दा दिन्न भनेकोले विपक्षीहरुवाट अंश पाउने चल अचल जग्गा समेतको फाँटवारी लिई २ भागको एक भाग अंश दिलाई पाउँ भन्ने वादी जिकिर भएकोमा वादी र म तुल वहादुर नावालक छंदै पिता परलोक भएको र पिता जिवीत छंदै ऋण लिए वापत जग्गा वन्धकीमा रहेकोमा हामी सावालक हुँदा साथ विवाह गरी सगोलमा वसी अँएकोमा गुजारा नचल्ने भई सगोलको पहाडको सम्पत्ती हात हातैमा वांडी भिन्न भै म तुल वहादुर आफ्ना जहान परिवारसाथ शिवगन्ज वाड नं. ४ मा आइ इन्द्र कुमारीको कि.नं. १७९ को ज.वि. २-१३-० मोहीमा कमाई गुजारा गरी आएको र विपक्षी पनी पहाड छाडी साविक तोप गाछी हाल धरमपुर गा.वि.स.७ मा आई वसोवास गरी ऐ वार्ड को कि.नं ०१८ मा विपक्षीको नाउमा ज.वि. २--१० जग्गा दर्ता गरी वसी आएको र हामी भाइ भाई वीच अंशवण्डाको लिखत प्रमाण वेगर नै २०२० सालमा भिन्न भै अलग व्यवहार दर्ता भोग गरी वसोवास गरी आएको अवस्थामा मैले मोही भै कमाएको जग्गा जग्गा धनीको हदवन्दी भन्दा वढीको जग्गा भएको कारणले २०३६ सालमा मोहीको हैसियतले विक्री वितरणमा प्राप्त गरेको जग्गा भएको, जवकि विपक्षीले सुकुम्वासीको हैसियतवाट प्राप्त गरेको उक्त उल्लेखित जग्गा विगाह २--१० अन्यलाई विक्री गरी खाइ मासी हाल दमकमा गइ वसेकाले आफनो अंशभाग मासि विक्री गरी सकेपछि म सँग अंश खोज्न आएको, वादीको झूठा दावीबाट फूर्सद दिलाई पाउँ भन्ने विपक्षी प्रतिवादीको तर्फवाट पर्न आएको प्रत्यूत्तर जिकिरको आधारमा शुरु जिल्ला अदालतले वादीले प्रतिवादीवाट अंश नपाउने ठहराएको फैसला उपर पुनरावेदन पर्दा पुनरावेदन अदालत इलामले शुरु झापा जिल्ला अदालतले दावी वमोजिम २ भागको १ भाग अंश दिलाई दिने ठहर गर्नु पर्नेमा दावी नपुग्ने ठहर गरेको शुरुको इन्साफ उल्टी हुने ठहर्छ भनी भएको फैसला उपर चित्त नवुझी प्रतिवादीको तर्फवाट यस अदालत समक्ष पुनरावेदन पर्न आएको पाइन्छ ।

      १४.   अतः पुनरावेदन माग दावी वमोजिम प्रतिवादीले वादीलाई अंश दिनु पर्ने हो होईन र पुनरावेदन अदालत इलामले शुरुको इन्साफ लाई उल्टी गरी गरेको फैसला मिले नमिले तर्फ के रहेछ भनी निर्णय दिनु पर्ने हुन आयो ।

      १५.   अव निर्णय तर्फ विचार गरी हेर्दा यसमा पुनरावेदक प्रतिवादी तुल वहादुरले विवादित कि.नं. ६४८ र ६४९ को आफनो मोहीयानी भएको जग्गालाई जग्गा धनी इन्द्र कुमारीको हद वढीको जग्गा भन्ने मिति २०३६।११।१० मा पाएको भन्ने लालपुर्जावाट देखिन आउँछ । मुलुकी ऐन अंशवण्डाको १८ नं. मिति २०३४।७।२७ मा शंसोधित भै सो शंसोधन भएपछि २०३६।११।१० मा मोहीको नाताले प्राप्त गरेको हुँदा निजी आर्जनको सम्पति देखिन आई पिता पुर्खाको पालाको भन्ने देखिन आउदैन । यस्तो निजी आर्जनको सम्पत्तिमा वण्डा गरीरहनु पर्ने अवस्था नभएवाट वण्डा गर्र्ने गरी गरेको पुनरावेदन अदालत इलामको फैसला उल्टी हुने ठहर्छ । शुरु इलाम जिल्ला अदालतका फैसला मनासिव छ । तपसिल वमोजिम गरी मिलिस नियमानुसार वुझाई दिनु ।

 

तपसिल

माथि इन्साफ खण्डमा लेखिए वमोजिम शुरु जिल्ला अदालतको इन्साफ सदर भई पुनरावेदन अदालतको मिति २०५१।३।२८ को इन्साफ उल्टी भएकोले सो फैसलाले कायम गरेको लगत कट्टा गरी दिनु भनी शुरु जिल्ला अदालतमा लेखि  पठाउनु ....  १

कोर्टफिको हकमा पुनरावेदक प्रतिवादीले यस अदालतमा पुनरावेदन गर्दा कोटैफि वापत रु.३१०।- तीनसय दश रुपैया राखेकोले भराई पाउनको लागि प्रतिवादीवट ऐको म्याद भित्र दरखास्त पर्न आए कानून वमोजिम गरी वादीवाट भराई दिलाई दिनु भनी शुरु जिल्ला अदालतमा लेखि पठाउनु ......१

 

उक्त रायमा म सहमत छु ।

 

न्या. नरेन्द्र वहादुर न्यौपाने

 

इति संम्बत २०५४ साल जेष्ठ १४ गते रोज ३ शुभम ......

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु