निर्णय नं. ६४१० - जवरजस्ती करणी गर्ने उद्योग

नि.नं. ६४१० २०५४, ने.का.प. अङ्क ७
संयुक्त इजलास
माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय
माननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा
सम्बत २०५२ सालको फौं.पु.नं. ..... ११८६
फैसला मितिः २०५४।२।१४।३
मुद्दाः जवरजस्ती करणी गर्ने उद्योग ।
पुनरावेदक/प्रतिवादीः वाग्लुङ जिल्ला वोवाङ गा.वि.स. वार्ड नं. ८ वस्ने वर्ष ३१ को प्रेम वहादुर घर्ती मगर
विरुद्ध
प्रत्यर्थी/वादीः लाल कुमारी पुर्जा समेतको जाहेरीले श्री ५ को सरकार ।
§ प्रतिवादी प्रेम बहादुर घर्ति मगरले जाहेरवाली लाल कुमारी पुर्जालाई करणी गर्ने मनसायले लछारपछार गरेको हुँदा निजलाई जवरजस्ती करणीको ५ नं. वमोजिम सजाय गरी पाउँ भन्ने प्रहरी प्रतिवेदन दावी भएकोमा निज प्रतिवादीले अदालतमा आई वयान गर्दा रिसइवीले झूठ्ठा जाहेरी दिएका हुन । मैले लाल कुमारीलाई जवरजस्ती करणी गर्ने उद्योग गरेको होइन भनी वकी लेखाई दिएको देखिन्छ । तर निज प्रतिवादी प्रेम बहादुरले अधिकार प्राप्त अधिकारी समक्ष वयान गर्दा उक्त घटनामा आफू संलग्न रहेको सावित भै वयान गरेको र घटनास्थलबाट वरामद भएको चप्पल आफ्नो भएको भनी सनाखत गरी जाहेरवालीसँग लछार पछार हुँदा उक्त चप्पल छुटेको भनी प्रहरी र सरकारी वकिल समक्ष निजले गरेको वयानमा समेत स्वीकार गरेको देखिन्छ । प्रहरीमा भएको उक्त वयानलाई निजले आफ्नो स्वेच्छा विरुद्ध जवरजस्ती गराएको भनी निजले पुष्टि गर्न सकेको अवस्था पनि मिसिलबाट देखिदैन । घटनाका सम्वन्धमा प्रत्यक्षदर्शी भनिएका सो गाउँ विकास समितिका सचिव राम बहादुरले पिडीत जोहरवालीलाई मौकामा भेट्ता प्रतिवादी प्रेम बहादुरले जवरजस्ती करणी गर्न मलाई समाती कपडा समेत च्यातेको छ भनी लाल कुमारीले भनेको सुनेको छु भनी निजको मौकाको जोहरी र अदालतमा भएको वायन समेतलाई समर्थन गर्ने गरी वकपत्र समेत गरिदिएको देखिन्छ । पिडीत लाल कुमारी पुर्जाको मौकाको जाहेरी र प्रतिवादी प्रेम बहादुरको प्रहरीमा भएको साविती वयानमा सामन्जस्यता रहेको देखिन्छ । त्यसै गरी घटनाको तत्काल पछि पिडीत लाल कुमारीको घाउ जाँच गर्दा निजको शरीरको विभिन्न भागमा चोटपटक लागेको पनि मिसिल संलग्न घाउ जाँच केश फारामबाट देखिन आउँछ । प्रतिवादी प्रेम बहादुरका साक्षीहरुले अदालतमा वकपत्र गर्दा निज प्रेम बहादुर वहालवाला प्रहरी कर्मचारी भएको र निजको दरवन्दी रहेको जिल्ला प्रहरी कार्यालयको व्यारेकमा वेलुका ८.३० वजे पश्चात आफूसंगै सुतेको भनी वयान गरेको भएपनि उक्त कर्यालय र घटना भएको ठाउँको दुरी र समय समेतको आधारमा घटना पश्चात पनि निज आफ्नो कार्यालयमा पुग्न सक्ने अवस्था छैन भनी भन्न लेखाउन नसकेको समेत हुँदा सोही वकपत्रको आधारमा मात्र निज प्रतिवादीको उक्त घटनामा संलग्नता नरहेको मान्न मिलेन । यसरी मिसिल संलग्न रहेका सवुद प्रमाणहरु समेतबाट निज प्रतिवादी पे्रम बहादुरले जाहेरवाली लाल कुमारीलाई जवरजस्ती करणी गर्ने उद्योग गरेको तथ्य स्थापित हुन आएकोले निजलाई सफाइ दिने गरी गरेको शुरु म्याग्दी जिल्ला अदालतको फैसला उल्टी गरी वहालवाला प्रहरी कर्मचारी भएको समेत आधारमा निज प्रतिवादीलाई जवरजस्ती करणीको महलको ५ नं. वमोजिम २ वर्ष कैद हुने ठहर्याएको पुनरावेदन अदालत पोखराको इन्साफ मिलेकै देखिदा सो फैसला सदर हुने ।
(प्र.नं. १८)
निवेदक तर्फबाटः
विपक्षी तर्फबाटः
अवलम्वित नजीरः
फैसला
न्या. हरि प्रसाद शर्माः पुनरावेदन अदालत पोखराको मिति २०५१।४।२३ मा भएको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) (ग) वमोजिम यस अदालतमा पर्न आएको प्रस्तुत पुनरावेदन सहितको संक्षिप्त व्यहोरा यस प्रकार छ :
२. २०४८।८।१ गते राती ९:३० वजेको समयमा खाना खाई म आशा फगामी र म लाल कुमारी पुर्जा म लाल कुमारीको घरमा सुतेको, आमा र दिदी वजारमा जानु भएको, घरमा २ जना पाहुना सुति रहेको अवस्थामा पाकिस्तान भन्ने जगन्नाथ श्रेष्ठ र जि.प्र.का म्याग्दीका प्र.ज. प्रेम वहादुर घर्तिमगर २ जना आई जगन्नाथले ढोका खोल भनेको, खोल्दैनौ भन्दा ढोका कच्ची भएकोले जगन्नाथले आफै खोले, आफै हात हाली खाने कुरा खाई हामी विस्तारमा सुतेको अवस्था जगन्नाथले म आशा फगामीलाई समाउने र प्रेम घर्तिमगरले म लाल कुमारीलाई समाउन गरेको म लाल कुमारी निज प्रेम घर्ति मगरसँग लडदै भिडदै निजको पंजावाट भागी सतित्व सम्म जोगाउन सफल भए, म आशा फगामीलाई जगन्नाथले हस्पीटल मुनि वाटोमा लगी वोल्न चिच्याउन केहि नदिई प्रेम घर्ति मगरले धाटी अठयाइ जगन्नाथ श्रेष्ठले जवरजस्ती करणी गरेकोले निजलाई संजाय गरी पाउँ भन्ने समेत लाल कुमारी पुर्जा र आशा फगामीको जाहेरी दरखास्त ।
३. मिति २०४८।८।१ गते राती जगन्नाथ श्रेष्ठ र म जाहेरवाली लाल कुमारीको घरमा ढोका फोडी भित्र पसेका हौं । त्यहाँ २ जना केटी भएकोले हामी पनि २ जना केटा हुँदा निजहरुलाई करणी गर्ने मनसायले निजहरुले ओडी रहेको सिरक भित्र पस्न लाग्दा निजहरु घर वाहिर निस्के आशा फगामीलाई जगन्नाथले समातेका हुँन मैले लाल कुमारीलाई समाती जवरजस्ती करणी गर्ने प्रयास गरें । तर सफल हुन सकिन भन्ने समेत प्र. प्रेम वहादुर घर्ति मगरले प्रहरीमा गरेको वयान कागज ।
४. २०४८।८।१ गते वेलुका ९:३० वजेको समयमा लाल कुमारीसँग भेट भयो । निजले मेरो साथी आशा फगामीलाई जगन्नाथले जवरजस्ती करणी गर्ने उद्देश्यले कता लग्यो सहयोग गर्नु होस भनेकाले जगन्नाथ श्रेष्ठलाई किन यसो गरेको भन्दा तं तेरो वाटो जा भनेका हुन । लाल कुमारीले मलाई पनि प्रेम वहादुर घर्ति मगरले जवरजस्ती करणी गर्ने मनसायले समातेका हुन भनेकि हुन भन्ने समेत राम वहादुर जि.सी.ले प्रहरीमा गरेको कागज ।
५. जगन्नाथ श्रेष्ठ र प्रेम वहादुर घर्तिले आशा फगामीलाई घरवाट जवरजस्ती समाई ल्याई निजहरुले गुहार गरेकोले देखेका हौं । कुन कुन केटीलाई कुन कुनले वलात्कार गरे जाहेरवालीहरुलाई थाहा होला भन्ने समेत सर्जमिन मुचुल्का ।
६. पाकिस्तान भन्ने जगन्नाथ श्रेष्ठले आशा फगामीलाई निजको इच्छा विरुद्ध जवरजस्ती करणी गरेकाले निज फरार हुँदा वारेन्ट जारी गरी झिकाई जवरजस्ती करणीका ३ नं. वमोजिम सजाय गरी जगन्नाथ श्रेष्ठको अंश सर्वस्व गरी ऐ. का १० नं. वमोजिम आशा फगामीलाई दिलाई पाउँ । यस्तै अर्को प्रतिवादी प्रेम वहादुर घर्ति मगरले जाहेरवाली लाल कुमारी पुर्जालाई करणी गर्ने मनसायले लछार पछार गरेका हुँदा निजलाई ऐ.का ५ नं. वमोजिम सजाय गरी पाउँ भन्ने समेत प्रहरी प्रतिवेदन ।
७. भू.जि.प्र.का. म्याग्दीमा प्रहरी पदमा कार्यरत छु । मैले दौडनु पर्ने तालिम गरेको र स्वास्थ्यको लागि पनि दौडनु पर्ने हुँदा वेनीको उल्ले पिपल भन्ने ठाउँनिर दौडन जांदा जाहेरवालीको घरमा रक्सीखाई हो हल्ला गरेको सुनि हप्काउने गरेको र झि गा.वि.स. अन्तर्गतको ज्यान काण्डमा फरार हुने लोक वहादुर भण्डारी गोरखपुर छ भन्ने कुरा मैले पत्ता लगाएको निज लोक वहादुर मितेरी नाता पर्ने हुँदा हाम्रो मानिसलाई पत्ता लगाई दियो भन्ने रिसइवीले झूठ्ठा जाहेरी दिएका हुन । मैले लाल कुमारीलाई जवरजस्ती करणी गर्ने उद्योग गरेको होइन भन्ने समेत प्र. प्रेम वहादुर घर्तिमगरले अदालतमा गरेको वयान ।
८. पाकिस्तान भन्ने जगन्नाथ श्रेष्ठका नाउमा वारेण्ट तथा म्यादी पुर्जा जारी भै २०४८।९।१५ मा तामेल भएकोमा उपस्थित हुन नआई फरार रहि वसेको रहेछ ।
९. जाहेरवाली लाल कुमारी पुर्जा, सर्जमिनका व्यक्ति र प्र.प्रेम वहादु घर्ति मगरका साक्षीहरुको वकपत्र भै मिसिल सामेल रहेछ ।
१० फरार रहेका प्रतिवादी पाकिस्तान भन्ने जगन्नाथ श्रेष्ठको अंश रोक्का भएको रहेछ।
११. राम वहादुर जि.सी.लाई अ.वं. ११५ नं. वमोजिम वुझिएको रहेछ ।
१२. प्रतिवादी मध्येका पाकिस्तान भन्ने जगन्नाथ श्रेष्ठ अदालतवाट जारी भएको वारेण्ट तथा म्यादी पुर्जिमा समेत हाजिर नभै फरार रहेको देखिंदा निजका हकमा अ.वं. १९० नं. वमोजिम मुल्तवी रहने, अर्का प्रतिवादी प्रेम वहादुर घर्तिमगरको हकमा विचार गर्दा निजले कसुर अपराध गरेमा अदालतमा पूर्ण रुपमा इन्कार छन । निजका सक्षीले सो रातसंगै सुति विहान संगै उठेको भनी वकपत्र गरेकोवाट प्र. प्रेम वहादुरको इन्कारीलाई साक्षीवाट पुष्टी भएको छ । जाहेरवाली र प्र. प्रेम वहादुर वीच ठुलो संघर्ष भएको देखिन्छ । तर प्रतिवादीको शरिरमा कुनै किसिमको घा चोट परेको भनी घा. केश फाराम भए गरेको देखिदैन । जाहेर वालीको भनाई वाहेक अन्य सवुद प्रमाण वादी पक्षवाट पुर्याउन सकेको नदेखिंदा जवरजस्ती करणी गर्ने उद्योग जस्तो गहन फौज्दारी अपराधमा कसुरदार ठहर गर्न न्यायोचित नपर्ने हुँदा प्र. प्रेम वहादुर घर्तिमगरले निज उपर लगाइएको अभियोगबाट सफाई पाउने ठहर्छ भन्ने समेत म्याग्दी जिल्ला अदालतको मिति २०५०।५।७ को फैसला ।
१३. प्र. प्रेम वहादुर घर्ति मगरले जवरजस्ती करणी गर्ने उद्योग गरेमा अधिकार प्राप्त अधिकारी समक्ष सावित रहेको र सो साविती स्वेच्छा विपरित हो भनी अदालतमा खण्डन गर्न नसकेको, जाहेरवालाले मौकाको जाहेरीलाई समर्थन गरी वकपत्र गरेकी, निजको चप्पल घटनास्थलमा भेटिएको, यदि प्र. प्रेम वहादुर घर्ति मगरले जवरजस्ती करणी गर्ने उद्योग नगरेको भए आफ्नो सतित्वमा नै आघात पुग्ने गरी भूठ्ठा उजुर गर्नु पर्ने अवस्था समेत नभएकोमा निजलाई सफाई दिएको म्याग्दी जिल्ला अदालतको फैसला त्रुटीपूर्ण हुँदा सो फैसला वदर गरी प्रहरी प्रतिवेदन माग दावी वमोजिम सजाय गरी पाउँ भन्ने समेत वादी श्री ५ को सरकारको पुनरावेदन अदालत पोखरामा परेको पुनरावेदन पत्र ।
१४. यसमा पिडीत लाल कुमारीको शरिरको धा जाँच हुँदा धा खत भएको देखिएकोले निजले आततायीवाट संघर्ष गरी उम्केको भन्ने जाहेरी व्यहोरा समर्थित भै रहेको स्थितिमा निज प्रतिवादी प्रेम वहादुर घर्तिलाई सफाई दिएको शुरु म्याग्दी जिल्ला अदालतको फैसला फरक पर्ने देखिंदा छलफलका लागि अ.वं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ वमोजिम विपक्षी झिकाई आएपछि वा अवधी नाघेपछि नियमानुसार गरी पेश गर्नु भन्ने उक्त अदालत संयुक्त इजलासको मिति २०५१।१।४ को आदेश ।
१५. प्र. प्रेम वहादुरलाई सजाय नगरी आरोपित कसुरवा सफाई दिने ठहर्याएको म्याग्दी जिल्ला अदालतको निर्णय त्रुटीपूर्ण हुँदा उल्टी हुने र प्रतिवादी प्रेम वहादुरले जाहेरवालीलाल कुमारीलाई जवरजस्ती करणी गर्ने उद्योग गरेको ठहर्छ । अपराधको गम्भीरता र मात्रा समेतलाई विचार गरी जवरजस्ती करणीको ५ नं. वमोजिम निजलाई २ वर्ष कैद हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पोखराको मिति २०५१।४।२३ को फैसला ।
१६. जवरजस्ती करणीको उद्योगमा मेरो अपराधिक मनसाय र कृयाकलाप एवं समष्टिगत सवुद प्रमाणको मूल्याङ्कन समेत गरीनु पर्नेमा केवल विपक्षीको कथन र परस्पर विरोधाभाष प्रमाणहरुलाई आधार मानी शुरु जि.अ.ले मलाई सफाई दिने गरेको फैसलामा उल्टी गरी सम्मानित अदालतवाट मैले कसुर गरेको ठहराई मलाई २ वर्ष कैद गर्ने फैसला गरेकोमा म अन्यायमा परेको छु । यसर्थ पुनरावेदन अदालत, पोखरावाट मलाई सजाय गर्ने गरी भएको त्रुटीपूर्ण फैसला वदर गरी हक इन्साफ पाउँ भन्ने समेत व्यहोराको यस अदालतमा परेको प्रतिवादीको पुनरावेदन पत्र ।
१७. नियमानुसार पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन सहितको मिसिल अध्ययन गरी हेर्दा प्रतिवादी प्रेम वहादुरलाई जवरजस्ती करणी गर्ने उद्योग गरेकोले संजाय गर्ने ठहर्याई भएको पुनरावेदन अदालतको फैसला मिलेको छ छैन ? सो विषयमा निर्णय दिनु पर्ने देखिन आयो।
१८. निर्णय तर्फ विचार गर्दा प्रतिवादी प्रेम बहादुर घर्ति मगरले जाहेरवाली लाल कुमारी पुर्जालाई करणी गर्ने मनसायले लछारपछार गरेको हुँदा निजलाई जवरजस्ती करणीको ५ नं. वमोजिम सजाय गरी पाउँ भन्ने प्रहरी प्रतिवेदन दावी भएकोमा निज प्रतिवादीले अदालतमा आई वयान गर्दा रिसइवीले झूठ्ठा जाहेरी दिएका हुन । मैले लाल कुमारीलाई जवरजस्ती करणी गर्ने उद्योग गरेको होइन भनी वकी लेखाई दिएको देखिन्छ । तर निज प्रतिवादी प्रेम बहादुरले अधिकार प्राप्त अधिकारी समक्ष वयान गर्दा उक्त घटनामा आफू संलग्न रहेको सावित भै वयान गरेको र घटनास्थलबाट वरामद भएको चप्पल आफ्नो भएको भनी सनाखत गरी जाहेरवालीसँग लछार पछार हुँदा उक्त चप्पल छुटेको भनी प्रहरी र सरकारी वकिल समक्ष निजले गरेको वयानमा समेत स्वीकार गरेको देखिन्छ । प्रहरीमा भएको उक्त वयानलाई निजले आफ्नो स्वेच्छा विरुद्ध जवरजस्ती गराएको भनी निजले पुष्टि गर्न सकेको अवस्था पनि मिसिलबाट देखिदैन । घटनाका सम्वन्धमा प्रत्यक्षदर्शी भनिएका सो गाउँ विकास समितिका सचिव राम बहादुरले पिडीत जोहरवालीलाई मौकामा भेट्ता प्रतिवादी प्रेम बहादुरले जवरजस्ती करणी गर्न मलाई समाती कपडा समेत च्यातेको छ भनी लाल कुमारीले भनेको सुनेको छु भनी निजको मौकाको जोहरी र अदालतमा भएको वायन समेतलाई समर्थन गर्ने गरी वकपत्र समेत गरिदिएको देखिन्छ । पिडीत लाल कुमारी पुर्जाको मौकाको जाहेरी र प्रतिवादी प्रेम बहादुरको प्रहरीमा भएको साविती वयानमा सामन्जस्यता रहेको देखिन्छ । त्यसै गरी घटनाको तत्काल पछि पिडीत लाल कुमारीको घाउ जाँच गर्दा निजको शरीरको विभिन्न भागमा चोटपटक लागेको पनि मिसिल संलग्न घाउ जाँच केश फारामबाट देखिन आउँछ । प्रतिवादी प्रेम बहादुरका साक्षीहरुले अदालतमा वकपत्र गर्दा निज प्रेम बहादुर वहालवाला प्रहरी कर्मचारी भएको र निजको दरवन्दी रहेको जिल्ला प्रहरी कार्यालयको व्यारेकमा वेलुका ८.३० वजे पश्चात आफूसंगै सुतेको भनी वयान गरेको भएपनि उक्त कर्यालय र घटना भएको ठाउँको दुरी र समय समेतको आधारमा घटना पश्चात पनि निज आफ्नो कार्यालयमा पुग्न सक्ने अवस्था छैन भनी भन्न लेखाउन नसकेको समेत हुँदा सोही वकपत्रको आधारमा मात्र निज प्रतिवादीको उक्त घटनामा संलग्नता नरहेको मान्न मिलेन । यसरी मिसिल संलग्न रहेका सवुद प्रमाणहरु समेतबाट निज प्रतिवादी पे्रम बहादुरले जाहेरवाली लाल कुमारीलाई जवरजस्ती करणी गर्ने उद्योग गरेको तथ्य स्थापित हुन आएकोले निजलाई सफाइ दिने गरी गरेको शुरु म्याग्दी जिल्ला अदालतको फैसला उल्टी गरी वहालवाला प्रहरी कर्मचारी भएको समेत आधारमा निज प्रतिवादीलाई जवरजस्ती करणीको महलको ५ नं. वमोजिम २ वर्ष कैद हुने ठहर्याएको पुनरावेदन अदालत पोखराको इन्साफ मिलेकै देखिदा सो फैसला सदर हुने ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने देखिएन । मिसिल नियमानुसार गरी वुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. केदार नाथ उपाध्याय
इति सम्बत २०५४ साल जेष्ठ १४ गते रोज ३ शुभम ।