निर्णय नं. ७८१४ - अंश चलन

निर्णय नं.७८१४ ने.का.प.२०६४ अङ्क २
संयुक्त इजलास
माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी
माननीय न्यायाधीश श्री पवनकुमार ओझा
सम्व्त २०५९ सालको दे.पु.नं. .. ८१०३
फैसला मितिः २०६४।१।५।४
मुद्दा :– अंश चलन ।
पुनरावेदक
प्रतिवादीः जिल्ला ललितपुर गोदाम चौर गा.वि.स.८ बस्ने साबित्री समेत
विरूद्ध
प्रत्यर्थी
वादीः जिल्ला ललितपुर गोदामचौर गा.वि.स. वडा नं. ८ बस्ने पार्वती थापा समेत
§ समान अंशियार भए तापनि समान स्तरका अंशियार नभई बुबा वा लोग्नेको सम्पत्तीमा छोरा र श्रीमतीको हक पहिले लोग्ने वा बाबुको हक सिर्जना भएपछि मात्र सिर्जना हुने हुँदा बाबु वा लोग्नेले जुनसुकै व्यहोराबाट कमाएको सम्पत्तीमा र लगाएको ऋण समेतमा छोरा स्वास्नीको उत्तिकै हक अधिकार सिर्जना हुने र दायित्व व्यहोर्नु पर्ने भएकोले बाबुको सम्पत्ति छोरा श्रीमतीको हकमा पैत्रिक सम्पत्ति नै मान्नुपर्ने ।
§ मुलुकी ऐन अंशवण्डाको १८ नं. को व्यवस्थाले बाबुको अंश छोरा र श्रीमतीले पाउने कुरामा शंकुचित नगरी समान अंशियारहरूबाट आफूले अंश पाउने कुरामा आफ्नो निजी आर्जन स्वरुप पाएको वकस पत्रको सम्पत्ती अरुलाई भाग नलाग्ने तर आफू नै मुली भै अरु अंशियारहरूलाई आफूले अंश दिनुपर्ने हुन आएको अवस्थामा मैले सो सम्पत्ति बकस पाएको हो म कसैलाई अंश दिन्न भन्न पाउने अवस्था आउँदैन । बाबु वा पतिको आर्जन छोरा स्वास्नीको लागि पैत्रिक सम्पत्ती हुने ।
(प्रकरण नं.१६)
§ अंशवण्डाको १० नं.को कानूनी व्यवस्थाबाट लाग्ने वा बाबु आमाले जुन सुकै व्यहोराबाट प्राप्त गरेको सम्पत्ति छोरा छोरी र श्रीमतीको लागि पैतृक सम्पत्ति मान्नु नै पर्ने ।
(प्रकरण नं.१८)
§ अंशवण्डाको १ नं. अनुसार बाबु, आमा, छोरा, छोरीहरूमा जिया जियैको अंश हक लागि समान अंशियार देखिएता पनि सोही महलको १० नं.अनुसार अंश दिने दायित्व बाबु, आमा वा लोग्नेमा रहेको हुँदा अंशवण्डाको १८ नं.मा भएको कानूनी व्यवस्थाको घेरालाई साँघुरो बनाई बाबु वा लोग्नेको सम्पत्ति निजी आर्जन मानी छोरा छोरीहरू र स्वास्नीलाई अंश नलाग्ने भन्न नमिल्ने ।
(प्रकरण नं.१९)
पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ताद्वय चन्डेश्वर श्रेष्ठ र राजाराम श्रेष्ठ
प्रत्यर्थी वादी तर्फबाट : विद्वान अधिवक्ता अच्युतराज बुढाथोकी
अवलम्वित नजीरः
फैसला
न्या.केदारप्रसाद गिरीः पुनरावेदन अदालत पाटनको मिति २०५९।३।१० को फैसला उपर चित्त नबुझी प्रतिवादी तर्फबाट न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः–
२. म फिरादी पार्वती थापा र विपक्षी मदनबहादुर थापा बीचमा मिति ०१५ सालमा विवाह भई हामीबाट एक छोरा फिरादी मध्येको सुबोध थापाको र एक छोरीको जन्म भएतापनि हाल छोरीको मृत्यु भई सकेको छ । यतिकैमा विपक्षी मदनबहादुर थापाले विपक्षी मध्येकी सावित्री थापालाई ०२७ सालमा विवाह गरि घरमा ल्याउनु भयो । विवाह पश्चात हामीहरू उपर हेलाको दुष्टिले हेर्ने, खान लाउन नदिने म फिरादीको छोरा सुवोध थापाको पढाई लेखाई र औषधी उपचार खर्चमा ध्याननदिई मेरी आमा पार्वती थापाले ज्याला बनी गरी मेरो पढाई लेखाई र औषधी उपचार गर्दा पनि विपक्षीहरूले वास्ता गरेनन् । विपक्षीहरूको खराव व्यवहारले गर्दा जीवनयापन गर्न ज्यादै कठिन परेको छ । म फिरादी सुवोध थापाले ०५४।१०।२४ मा विवाह गर्दा समेत विपक्षी बाबुले कुनै सहयोग नगरेकोले म आफैले विवाह गर्न पर्यो । विवाह पश्चात त हामीहरूलाई खान लाउन नदिइएकाले हजुरबुबा, हजुरआमाको घरमा शरण लिई बसेका छौ । विपक्षीले यिनीहरू मेरा स्वास्नी छोरा होइनन् म घरमा राख्दिन जे गछौं गर भनि गाली गलौज गरको र अंश भाग खाने हामी फिरादी २ र विपक्षीहरू ३ समेत गरि जम्मा ५ भागको २ भाग अंश हामी फिरादीहरूको नाउँमा अदालतबाट नै वण्डा छुट्याई दिलाई भराई चलन समेत चलाई पाउँ भन्ने समेत व्यहोराको मुख्य फिराद माग दावी ।
३. वादी पक्षलाई खान लगाउन दिएको अवस्थामा विपक्षीहरूलाई अंश दिनै पर्छ भन्ने कुनै वाध्यता छैन र स्वास्नी छोराले पनि लोग्ने बाबुको जीउ छउन्जेल लोग्नेको मन्जुरी बिना अंश लिई छुटीन पाइदैन भन्ने कुरा अंशवण्डाको १० नं. मा व्यवस्था भएबाट यी विपक्षीहरूको फिराद दावी पुग्न सक्दैन । अतः यी विपक्षीहरूको असत्य बनावटी एवं कानूनी आधारहीन फिराद दावी खारेज गरि इन्साफ पाउँ भन्ने समेत व्यहोरोको संयुक्त प्रतिउत्तर पत्र ।
४. वादीका साक्षी दिनेशबहादुर थापा र प्रतिवादीका साक्षी दलबहादुर थापाले आ-आफ्नो पक्षको मिलान गरि गरेको वकपत्र मिसिल सामेल रहेको ।
५. मिति ०५७।८।१ को आदेशनुसार वादी प्रतिवादीहरूबाट पेश भएको तायदाती फाँटवारी र उक्त फाँटवारीमा उल्लेखित जग्गाहरूको सम्बन्धित कार्यालयबाट प्राप्त दर्ता उत्तार र नपुग कोर्ट फि समेत सम्बन्धित पक्षबाट पेश दाखिल भएको मिसिल सामेल रहेछ ।
६. पेश भएको तायदाती फाँटवारीबाट विवाह नभएको छोरीको विवाह खर्च परसारी ५ भाग को २ भाग अंश वादीहरूले प्रतिवादीहरूबाट पाउने ठहर्छ भन्ने ललितपुर जिल्ला अदालतको मिति ०५८।३।२१ को फैसला ।
७. म मदनबहादुरले बकसपत्रबाट प्राप्त गरको निजी आर्जनको कि.नं. २६७ को जग्गामा समेत वण्डा लाग्ने ठहर्याएको र बसन्त थापाको हकमा विवाह खर्च पर नसारेको हदसम्मको शुरु फैसला त्रुटीपूर्ण भएकोले बदर गरि पाउँ भन्ने प्रतिवादीहरूको संयुक्त पुनरावेदन पत्र ।
८. अंशवण्डाको १८ नं. को परिप्रेक्ष्यमा कि.नं. २६७ को जग्गा वण्डा हुने ठहर्याएको शुरु ललितपुर जिल्ला अदालतको फैसला फरक पर्न सक्ने देखिँदा अ.वं.२०२ नं. बमोजिम झिकाउनु भन्ने यस अदालतको आदेश ।
९. वादी प्रतिवादीहरू अंशियार भएको, प्रतिवादी मदनबहादुर थापाका दुई श्रीमती रहेका, वादीहरूले प्रतिवादीबाट अंश पाउने कुरामा विवाद नभएको, बाबुको सम्पत्ती छोरा स्वास्नीको लागि प्रत्रिक हुने हुनाले मदनबहादुरले बकसबाट पाएको सम्पत्ती वण्डा नलाग्ने भन्न नमिल्ने अविवाहित अंशियारको विवाह खर्च परसार्नु पर्नेनै देखिन आयो । बसन्त थापाको विवाह खर्च पर नसारेको हदसम्म शुरू फैसला उल्टी गरि अरू कुरामा शूरूको फैसला सदर गरी भएको पुनरावेदन अदालत पाटनको मिति २०५९।३।१० को फैसला ।
१०. पुनरावेदन अदालतबाट भएको फैसलामा चित्त बुझेन । मदनबहादुरले बकसपत्र पाएको कि.नं. २६७ को क्षेत्रफल १–३–० जग्गा समेत वण्डा लाग्ने गरी गरेको फैसला कानुन प्रतिकूल छ । उक्त कि.नं. २६७ को जग्गा बकपत्रमा पाएको हो, पैत्रिक वा वण्डा लाग्ने सम्पत्ती होइन । मुलुकी ऐन सातौ संशोधन २०३४ मा अंशवण्डाको १८ नं.ले कुनै अंशियारले कसैबाट निजी तवरले दान वा बकस पाएको सम्पत्ती सो पाउने अंशियारको निजी ठहरी आफूखुसी गर्न पाउने वण्डा गर्न कर नलाग्ने कानूनी व्याख्या गरेको छ । कानुनमा यस्तो पृष्ठ व्याख्या हुँदा हुँदै बाबुको सम्पत्ती छोरा स्वास्नीलाई पैत्रिक हुने भन्दै अंशवण्डाको १८ नं.को गलत व्याख्या गरी प्रतिपादित नजिर सिद्धान्त समेतको विपरीत हुने गरी गरेको पुनरावेदन अदालतको फैसला नमिलेकोले उक्त फैसला बदरगरी पाउँ भनि प्रतिवादीहरूको तर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।
११. यसमा मुलुकी ऐन, अंशवण्डाको १ नं.मा बाबु आमा छोरा छोरीको जिए जिएको अंश लाग्ने भनी उल्लेख भएको देखिन्छ । प्रतिवादी मध्येको सावित्री थापाको छोरी ऋतु थापाले संगोलको समयमा अंशवण्डाको महल बमोजिम निजको पनि अशं छुट्याउनु पर्ने अवस्था देखिन आएकोले उल्लेखित कानूनी व्याख्याको आधारमा पुनरावेदन अदालत पाटनको फैसला सो हदसम्म फरक पर्न सक्ने हुँदा अ.बं. २०२ नं. अनुसार छलफलको निमित्त विपक्षी झिकाई नियमानुसार गरि पेश गर्नु भन्ने यस अदालतको मिति २०६२।३।२९ को आदेश ।
१२. नियम बमोजिम आजको दैनिक मुद्दा पेशीसूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीहरूको तर्फबाट विद्वान अधिवक्ताद्धय चन्डेश्वर श्रेष्ठ र राजाराम श्रेष्ठले यी प्रत्यर्थी वादीहरू अंशियार भएको कुरामा कुनै विवाद छैन । प्रतिवादी मदनबहादुर थापाले बकसपत्रबाट प्राप्त गरेको कि.नं. २६७ को वण्डा नलाग्ने सम्पत्तीलाई वण्डा लाग्ने गरी गरेको र अविवाहीत छोरी ऋतु थापाको विवाह खर्च र अंश नछुट्याई गरेको पुनरावेदन अदालतको फैसला नमिलेकोले उल्टी हुनु पर्दछ भनी र प्रत्यर्थी वादीको तर्फबाट रहनु भएका विद्वान अधिवक्ता अच्युतराज बुढाथोकीले पति वा बाबुको सम्पत्ती स्वास्नी र छोरा छोरीको लागि पैत्रिक सम्पत्ती हुने हुँदा वण्डा नलाग्ने भन्न मिल्दैन । पुनरावेदन अदालत पाटनबाट भएको फैसला मिलेकै हुँदा सदर हुनु पर्दछ भनि गर्नु भएको बहस समेत सुनि, मिसिल संलग्न कागजातहरूको अध्ययन गरि पुनरावेदन जिकिर बमोजिम पुनरावेदन अदालतबाट भएको फैसला मिले नमिले सम्बन्धमा निर्णय दिनुपर्ने हुन आयो ।
१३. निर्णय तर्फ विचार गर्दा म फिरादी पार्वती थापा र विपक्षी मदनबहादुर थापाको बीचमा २०१५ मा विवाह भै हामीहरूबाट एक छोरी र एक छोराको जायजन्म भएकोमा छोरीको पहिलेनै मृत्यु भैसकेको छ भने छोरा फिरादी सुबोध थापा हुन् । विपक्षी मदनबहादुर थापाले विपक्षी सावित्री थापालाई २०२७ सालमा विवाह गरि छोरा बसन्त थापाको जन्म भएको छ । विपक्षी पति पिताले दोश्रो विवाह गरेपछि हामीहरूलाई हेला गरी खानलाउन समेत नदिई घरबाट निकाला गरेकोले सासु, ससुरा एवं हजुर बुबा हजुर आमाको शरणमा गई ज्यान पालेका छौ । हामीलाई अंश दिनु होला भन्दा नदिएकोले विपक्षीहरूको जिम्मामा रहेको सम्पूर्ण सम्पत्तीलाई ५ भाग लगाई २ भाग हामीहरूको नाममा अंश दिलाई वण्डा छुट्याई पाउँ भन्ने वादी दावी र यी फिरादीहरू मेरा श्रीमती र छोरा हुन निजलाई मेरो आमा बाबु बसेको जिउनीको घर सम्पत्तीमा राखी खान लाउन दिएको छु । खान लाउन दिदाँ दिदै अंश दिन कर नलाग्ने हुँदा फिराद दावी खारेज गरी पाउँ । फिरादीले आफ्नो फिरादमा ५ जना मात्र अंशियारा भनेकोमा कान्छी श्रीमतीबाट जन्मिएकी छोरी ऋतु थापा समेत अविवाहित अवस्थामा हामीहरूसँगै छन् । निजको नाम समेत उल्लेख नगरी फिराद दिएको हुँदा उक्त फिराद ग्रहण योग्य नभएकोले खारेज गरी पाउँ भन्ने प्रतिउत्तर जिकिर भै चलेको प्रस्तुत मुद्दामा अविवाहित छोरा बसन्त थापाको विवाह खर्च पर सार्नु पर्नेमा सो उल्लेख नगरिएको हदसम्म शुरू फैसला उल्टी भै अरू कुरामा विवाह नभएकी छोरीको विवाह खर्च पर सारी ५ भागको दुई भाग अंश वादीहरूले पाउने ठहर्याई गरेको शुरु जिल्ला अदालतको इन्साफ सदर गरेको पुनरावेदन अदालत पाटनको इन्साफ उपर यस अदालतमा प्रतिवादीहरूको तर्फबाट पुनरावेदन पर्न आएको देखिन्छ ।
१४. अब यी पुनरावेदक प्रतिवादीहरूको जिकिर बमोजिम पुनरावेदन अदालतबाट भएको फैसला मिलेको छ वा छैन भन्ने सम्बन्धमा विचार गर्दा यी पुनरावेदक प्रतिवादीहरू र प्रत्यर्थी वादीहरू संगोलका अंशियारहरू भएको कुरामा दुवै पक्षले फिराद र प्रतिउत्तर पत्रबाट स्वीकार गरी सकेको हुँदा संगोलका अंशियार भएको कुमारका कुनै विवाद देखिएन । वादीले आफ्नो फिरादमा ५ अंशियार छौ भनी उल्लेख मात्र गरेका छन् भने प्रतिवादीले आफ्नो प्रतिउत्तरमा अंशियार ५ छौ भनेता पनि प्रतिवादीहरूले कान्छी श्रीमती सावित्री थापाबाट जन्मिएकी अविवाहीता एक छोरी ऋतु थापा छन् । भनी उल्लेख गर्नुका साथै कान्छी श्रीमती सावित्री थापाबाट जन्मिएका छोरा प्रतिवादी बसन्त थापा समेत अविवाहित रहे भएको कुरा प्रतिवादीहरूको प्रतिउत्तर पत्रबाट देखिन आउँदछ ।
१५. यी वादी प्रतिवादीहरू एकासंगोलका अंशियार भएको हुँदा मुलुकी ऐन एघारौ संशोधन २०५८ आउनु भन्दा पहिले अंशियारहरूबीच अंशवण्डा गर्दा मुलुकी ऐन अंशवण्डाको महलको १ नं. अनुसार बाबु, आमा, स्वास्नी, छोराहरूको जिया जियैको अंश गर्नु पर्दछ भन्ने व्यवस्था भए अनुसार अविवाहिता ३५ वर्ष उमेर नपुगेकी प्रतिवादी सावित्री थापाको अंश छुट्याएको देखिदैन । मुलुकी ऐन २०५८ सालमा एघारौ संशोधन भै अंशवण्डाको १ नं. मा संशोधन भई यो नम्बर प्रारम्भ भएपछि अंशवण्डा गर्दा यस महलको अन्य नम्बरहरूको अधिनमा रही बाबु आमा, लोग्ने स्वास्नी, छोरा, छोरीहरूको जिया जियैको अंश गर्नु पर्दछ भन्ने कानूनी व्यवस्था भए अनुसार यी वादी प्रतिवादीहरूका साथै सावित्री थापा र मदनबहादुर थापाबाट जन्मिएकी अविवाहित ऋतु थापालाई अंश लाग्ने हुँदा समेत जम्मा ६ अंशियार कायम हुन आई वादीहरूले अविवाहीता अंशियारहरूको विवाह खर्च परसारी अंश पाउने देखिन्छ ।
१६. प्रतिवादीहरूले आफ्नो प्रतिउत्तर जिकिरमा मदनबहादुर आफ्ना बाबु र भाइहरू समेतबाट सँग २०३३ सालमा छुट्टी भिन्न भै सके पछि बकपत्रबाट प्राप्त गरेको सम्पत्ती समेतलाई पुनरावेदन अदालतबाट बाबुको सम्पत्ती छोरा र स्वास्नी लाई पैत्रीक सम्पत्ती हुने हुँदा अंशवण्डाको १८ नं. अनुसार वण्डा नलाग्ने भन्न मिल्दैन भनी गरेको फैसलाका सम्बन्धमा विचार गर्दा, मुलुकी ऐन अंशवण्डाको १८ नं. मा कुनै अंशियारले आफ्नो ज्ञान वा सीप वा प्रयासबाट निजी आर्जन गरेको वा कसैबाट निजी तवरले दान वा वकस पाएको वा कसैको अपुताली परेको वा स्त्री अंशधनको महलको ५ नं. बमोजिम पाएकोमा त्यस्तो आर्जन वा पाएको सम्पत्ती सो आर्जन गर्ने वा पाउने अंशियारको निजी ठहरी आफूखुसी गर्न पाउँदछ वण्डा गर्न कर लाग्दैन भन्ने कानूनी व्यवस्था रहेको देखिन्छ । प्रस्तुत मुद्दामा वादी प्रतिवादीहरू समान अंशियार भएता पनि समानस्तरका अंशियार नभई बुबा वा लोग्नेको सम्पत्तीमा छोरा र श्रीमतीको हक पहिले लोग्ने वा बाबुको हक सिर्जना भएपछि मात्र सिर्जना हुने हुँदा बाबु वा लोग्नेले जुन सुकै व्यहोराबाट कमाएको सम्पत्तीमा र लगाएको ऋण समेतमा छोरा स्वास्नीको उत्तिकै हक अधिकार सिर्जना हुने र दायित्व व्यहोर्नु पर्ने भएकोले बाबुको सम्पत्ति छोरा श्रीमतीको हकमा पैत्रिक सम्पत्ति नै मान्नु पर्ने हुन्छ । मुलुकी ऐन अंशवण्डाको १८ नं. को व्यवस्थाले बाबुको अंश छोरा र श्रीमतीले पाउने कुरामा शंकुचित नगरी समान अंशियारहरूबाट आफूले अंश पाउने कुरामा आफ्नो निजी आर्जन स्वरुप पाएको वकस पत्रको सम्पत्ती अरुलाई भाग नलाग्ने तर आफू नै मुली भै अरु अंशियारहरूलाई आफूले अंश दिनुपर्ने हुन आएको अवस्थामा मैले सो सम्पत्ति बकस पाएको हो म कसैलाई अंश दिन्न भन्न पाउने अवस्था आउदैन । बाबुको वा पतिको आर्जन छोरा स्वास्नीको लागि पैत्रिक सम्पत्ती हुने नै देखिन्छ ।
१७. विवादित सम्पत्ती मदनबहादुरको निजी आर्जन कै सम्पत्ति हो भने पनि आफ्नो पिताको निजी आर्जनको सम्पत्तिमा निजका छोरा वा स्वास्नीको अंश हक नलाग्ने भन्ने कुनै कानूनी आधार देखिदैन । अंशवण्डाको १० नं.मा लोग्ने वा बाबु आमाले स्वास्नी वा छोरा छोरीलाई इज्जत आमद अनुसारमा खान लाउन र आवश्यकता अनुसार उचित शिक्षा दिक्षा र स्वास्थ्य उपचारको व्यवस्था गर्नु पर्दछ सो नगरे अंश दिनु पर्दछ भन्ने कानूनी व्यवस्था भएबाट पनि बाबु, लोग्ने र आमाको कानूनी दायित्व रहेको देखिन्छ ।
१८. यस्तो अवस्थामा अंशवण्डाको १८ नं. मा रहेको कुनै अंशियारको निजी आर्जनको सम्पत्ति वण्ड गर्न कर लाग्दैन भनि व्याख्या गर्दा सोही महलको १० नं. ले सिर्जना गरेको लोग्ने र बाबु आमाको दायित्व समेतलाई विचार गर्नुपर्ने हुन्छ । अंशवण्डाको १० नं.को कानूनी व्यवस्थाबाट लाग्ने वा बाबु आमाले जुनसुकै व्यहोराबाट प्राप्त गरेको सम्पत्ति छोरा छोरी र श्रीमतीको लागि पैतृक सम्पत्ति मान्नु नै पर्ने हुन्छ । प्रस्तुत मुद्दा पुनरावेदक प्रतिवादी मदनबहादुर थापाले बकसपत्रबाट प्राप्त गरेको सम्पत्ति निजको छोरा सुवोध थापा र श्रीमती पार्वती थापाको लागि पैत्रिक सम्पत्ति भै अंशहक लाग्ने हुन आउँदछ ।
१९. अंशवण्डाको १ नं. अनुसार बाबु, आमा, छोरा, छोरीहरूमा जिया जियैको अंश हक लागि समान अंशियार देखिएता पनि सोही महलको १० नं.अनुसार अंश दिने दायित्व बाबु, आमा वा लोग्नेमा रहेको हुँदा अंशवण्डाको १८ नं.मा भएको कानूनी व्यवस्थाको घेरालाई साघुरो बनाई बाबु वा लोग्नेको सम्पत्ति निजी आर्जन मानी छोरा छोरीहरू र स्वास्नीलाई अंश नलाग्ने भन्न मिल्दैन । पुनरावेदक प्रतिवादीहरूले आफ्नो पुनरावदेनमा अंशवण्डाको १८ नं.बमोजिम बकस पाएको सम्पत्ति वण्डा हुने होइन भनी लिएको जिकिरसँग सहमत हुन सकिएन ।
२०. तसर्थ वादी प्रतिवादीहरू ६ अंशियार कायम भै वादीहरूले अविवाहित अंशियारहरूको विवाह खर्च परसारी ६ भागको दुई भाग अंश पाउने ठहराई फैसला गर्नुपर्नेमा मदनबहादुरको छोरा बसन्तको विवाह खर्च पर सार्नु पर्नेमा सो खर्च उल्लेख नगरिएको हदसम्म शुरु फैसला उल्टी गरि विवाह नभएकी छोरीको विवाह खर्च परसारी ५ भाग को २ भाग अंश वादीहरूले प्रतिवादीहरूबाट पाउने ठहर्छ भनी गरेको शुरु जिल्ला अदालतको इन्साफ मनासिव ठहराई गरेको पुनरावेदन अदालत पाटनको इन्साफ केही उल्टी हुने ठहर्छ । प्रत्यार्थी वादीहरूले प्रतिवादीहरूबाट अविवाहित अंशियारहरूको विवाह खर्च परसारी अरु सम्पत्तिबाट ६ भागको २ भाग अंश पाउने ठहर्छ । अरु तपसिल बमोजिम गर्नु ।
तपसिल
माथि इन्साफ खण्डमा पुनरावेदन अदालत पाटनको फैसला केही उल्टी भै अविवाहिता अंशियारहरूको विवाह खर्च परसारी अरु सम्पूर्ण सम्पत्तिलाई ६ अंश कायम गरी प्रत्यर्थी वादीहरूले ६ भागको २ भाग अंश पाउने ठहरी फैसला भएकोले पहिले कायम भएको लगत कट्टा गरि सोही बमोजिमको लगत कायम गर्नु भनि शुरु जिल्ला अदालत लाई लगत दिनु । सोही बमोजिम लगत दिनु ...................१
मिसिल नियम अनुसार बुझाई दिनु ..२
उक्त रायमा सहमत छु ।
न्या.पवनकुमार ओझा
इति सम्व्त २०६४ साल बैशाख ५ गते रोज ४ शुभम् ...........