शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६४१६ - कर्तव्य ज्यान

भाग: ३९ साल: २०५४ महिना: कार्तिक अंक:

निर्णय नं. ६४१६        ०५४, ने.का.प.                   अङ्क ७

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य

माननीय न्यायाधीश श्री केदारनाथ आचार्य

सम्वत् २०५२ सालको फौ.पु.नं. ... १०५८

सम्वत २०५२ सालको साधक नं ..२३०

फैसला मितिः  २०५३।१२।१८।२

 

मुद्दाः कर्तव्य ज्यान ।

 

पुनरावेदक/प्रतिवादीः रोल्पा जिल्ला जेली पोखरी गा.वि.स. वार्ड नं. ८ घर भै हाल कारागार शाखा तुलसीपुरमा थुनामा रहेका गंगा बहादुर पुन समेत जम्मा ५ ।

विरुद्ध

विपक्षीः विर बहादुरको जाहेरीले श्री ५ को सरकार

 

§  मृतक चोर भएको र जाहेरवालाको घरमा फोटो चोरी गरेकोले प्रहरीलाई जिम्मा लगाउन वाँधछाद गरी सामान्य कुटपिट गरेको स्वीकार गर्ने प्रतिवादीहरुले मृतकलाई कुटपिट गर्दा ज्यान मर्लाभन्ने सम्मको अवस्थाको  ख्यालै नगरी ज्यान मर्ने सम्मको कुटपीट गरेवाट प्रतिवादीहरुलाई निर्देाष मान्न मिलेन । त्यसमा पनि प्रतिवादी गंगा वहादुरले लाठीले तिघ्रामा हानेको भनी अधिकार प्राप्त अधिकारी समक्ष वयान गरेको र उक्त वयानलाई अन्य सह अभियुक्तहरुको अदालतमा भएको वयानवाट पुष्टी भएको अवस्थामा प्रतिवादीहरु गंगा बहादुर पुन, मान बहादुर पुन, मैन बहादुर पुन र मनु वुढा मगरलाई अभियोगवाट सफाईदिन मिल्ने अवस्था देखिदैन । चोर हो भनी वाँधछाद कुटपिट गर्दा मृतकको मृत्यु भएको अवस्था हुँदा प्रस्तुत मुद्दाको वारदात प्रकृतिवाट ज्या.संं. को १३(३) नं. लाग्न सक्ने नभै ज्या.सं. को ५ नं. को अवस्था देखिन आउँछ भन्ने वहस जिकिर भए पनि सामुहिक कुटपिटको परिणामवाट मृत्यु भएको हुँदा भवितव्यको अवस्था नभएकोले विद्वान अधिवक्ताको उक्त वहस जिकिरसँग सहमत हुन सकिएन । तसर्थ चोरी गर्न आएको अपरिचित व्यक्ति मृतकको ज्यान मर्ला भन्ने सम्मको हेक्का नराखी प्रतिवादी गंगा वहादुर, मान वहादुर, मनु वहादुर तथा मैनु वुढा मगरले निजको शरिरमा छोडेको चोटवाट मृतकको मृत्यु भएको देखिंदा प्रतिवादीहरुलाई ज्यान सम्वन्धीको महलको १३(३) नं. वमोजिम सर्वस्व सहित कैद हुने ठहराएको पुनरावेदन अदालत नेपालगन्जको इन्साफ मिलेकै देखिंदा मनासिव ठहर्ने ।            

(प्र.नं. ३८)

 

निवेदक तर्फवाटः विद्वान वरिष्ठ अधिवक्ता श्री

विपक्षी तर्फवाटः x

अवलम्वित नजीरः x

 

फैसला

     न्या.अरविन्दनाथ आचार्यः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अनुसार पुनरावेदन अदालत नेपालगन्जको फैसला उपर यस अदालतमा पर्न आएको प्रस्तुत पुनरावेदनको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः

      २. मिति २०४६।८।२२ गतेका दिन मेरो श्रीमती विरामी हुदा गाउँको धामी पुनाराम घर्तिलाई वोलाई उपचार गरीरहेको अवस्था दलानमा फोटो निकालेको आवाज सुनी हेर्दा चोर भागेको चन्द्रमाको उज्यालोमा देखि चोर चोर भनी मेरो छोरा रन वहादुर र म पछि पछि गयौं । हामी कराएको अवाज सुनी गाउँका मानिस पाताल भन्ने वन जंगल सम्म दगुर्दै जांदा चोरलाई पक्राउँ गर्न नसकि फर्कि आएपछि जेठी भाउजु जैसराको घरमा नचिनेको मानिस वास वस्न आएको रहेछ भनी मेरो श्रीमतीले भन्दा छोरा रन वहादुरलाई को रहेछ वुझ भनी  भन्दा छोराले अपरिचित मानिस छ भन्दा चोर हुन सक्छ समातेर राख भन भनेर म पनि भाउजुको घरमा जांदा गंगा वहादुर, भिम वहादुर समेत अन्य मैले नचिनेका मानिस आई तिम्रो घर कहां हो भनी सोधपुछ गरी रहेका थिएं । भाउजुको घरमा लोग्ने मानिस नहुँदा निजलाई वांधेकै अवस्थामा मेरो घरमा ल्याई भाग्न उम्कन नपाउने गरी वांधी राखेपछि प्रहरी कार्यालयमा पेश गरौला भनी म श्रीमतीको उपचार तर्फ लागे गंगा वहादुर, मन वहादुरले हातमा, कम्मरमा वांधी लाठी, लात्ती मुड्कीले पिट्दै थिएं । पछि अरु को कसले पिटे थाहा भएन मृतकको मृत्यु भएको हुँदा मृतकलाई सुरक्षित साथ  कुरुवा राखी जाहेर गर्न आएको छु भन्ने समेत विर वहादुरको जाहेरी दर्खास्त ।

      ३. आमा विरामी भएकोले ०४६।८।२२ गते राती झाक्रीले उपचार गर्दै थिए । दलानमा घल्याङ आवाज सुने वावु वाहिर आई हेर्दा फोटो चोरी भएको देखेपछि चोर भन्दा वावु र म दौडेपछि हाम्रो पछि चेतलाल, भिम वहादुर दौडे । चोरलाई फेला नपार्दा फर्कि सवै जना हाम्रो घरमा आयौं । एक जना मानिस जैसराको  घरमा वास देउ भनी ढोका हातले हानेको देखि म र भिम वहादुर गई तपाईको घर कहां हो भन्दा कहिले सल्यान खलंगा कहिले प्युठान भन्यो । ठाउँ ठाउँमा घर वताएकोले मैले एक चोट गालामा हाने । चेतलाल, अम्वर सिंह, विर वहादुर, सन्ते समेतका मानिस आएर निज नारायणलाई समाति मेरो घरमा लग्यौं । मान वहादुर, गंगा वहादुरले नारायणको दुवै हात पछाडी लगी वांधी मेरै घरको दलानको थाममा वरियाले वांधी गंगा वहादुरले लाठीले खुट्टामा हाने । टाउको थाममा ठोकी दिए । टुपीको रौं उखेली दिए । मान वहादुरले पनि लठ्ठीले खुट्टामा हानेका थिए । म घर भित्र गए र सुने त्यसपछि को कसले हाने देखिन भोलिपल्ट विहान प्र.पं. लाई वोलाउन पठाएकोले म प्र.पं. लाई वोलाउन जान लाग्दा अम्वर सिंहले नारायणलाई भात खुवाउन लागेका थिए । प्र.पं. लाई वोलाई आउदा नारायण मरी सकेको थियो भन्ने समेत रन वहादुर पुनले प्रहरीमा गरेको वयान  कागज ।

      ४. २०४६।८।२२ गतेका दिन नापी टोलीलाई कपडा छोडी अं. १.१र२ घण्टा वसी घर जान हिडी विर वहादुरको घरमा आई पुग्दा नारायणलाई विर वहादुरको दलानको थाममा वांधेका थिए । सो ठाउँमा भिम वहादुर मनु भन्ने मन वहादुर, विर वहादुर, रन वहादुर, चेतलाल, सन्ते, चित्र वहादुर, मान वहादुर समेत थिए । यसलाई किन वांधेको भनी सोध्दा एउटा चोरले फोटो चोरी भाग्यो । पक्राउँ गर्न सकिएन । फर्कि आउँदा भाउजुको ढोका हान्दै थियो भनी सोध्दा एक्लै थिए भनी जवाफ दिंदा झूठ्ठो कुरा गर्छस् भनी लठ्ठीले २ चोटी खुट्टामा हाने र हातले गालामा हाने टाउको थाममा ठोकि दिए । पछि उगा गाउँका मोटे र म आएका थियौं । भोटेले म फोटो चोरी भाग्छू । मानिस मेरो पछि आउछन् । तिमीले चोरी गर्नु भनेको थिए भनी भनेपछि नारायणलाई वांधेकै अवस्थामा छाडी म घर तर्फ आए भोली पल्ट विहान ७ वजे विर वहादुर मेरो घरमा आई चेर एक सासे भएको छ । होसमा छैन भन्दा विर वहादुरको साथ लागी आउँदा वांधेको खोलेको थियो । म गएपछि निजको प्राण गएको हो भन्ने समेत गंगा वहादुर पुनले प्रहरीमा गरेको वयान कागज ।

      ५. २०४६।८।२२ गते राती विर वहादुर समेतले चोर चोर भन्दै मेरो आंगनवाट दौड्दै गएकोले म पनि पछि पछि गए । चोर फेला नपरी विर वहादुरको घर आउँदा रन वहादुरले जैसराको ढोकानिर एक जना मानिस उभिएका देखि मैले घर कहां हो । किन आएका भनी कांटका वाहुला समाई धकल पकल पारी एक्लै छैनौ होला भनी सोध्दा घर सल्यान हो । मोटे र म आएका हौं भनेपछि चित्र वहादुर, सन्ते, चेतलाल, मन वहादुर, अम्वर सिंह र विर वहादुर समेत आए । गंगा वहादुर र मान वहादुरले हात समाती विर वहादुरको घरमा ल्याए । नारायणको दुवै हात पछाडी पारी वरियाले थाममा वांधी दियौं । गंगा वहादुरले लठ्ठीले खुट्टामा हानी कपाल समाई थाममा ढ्याक ढ्याक पारी टाउको ठोकाए पछि मान वहादुरले खुट्टा तिर चित्र वहादुरले लात्तीले हानेपछि म र चेतलाल घर गै सुत्यौं । भोलिपल्ट विहान विर वहादुरको घरमा जांदा नारायण वांधिएकै थियो । मैले र मन वहादुरले वांधेको डोरी खोली दियौं । निजलाई थाममा अड्याई वसाली अम्मर सिंहले भात दही ल्याई खुवाउँदा खाएन । वसेकै ठाउँमा सुतेपछि मन वहादुरको सानो नानी विरामी भएकोले मन वहादुरको घरमा गएं । मृतक नानीको लास सतगद गरी आउँदा म र अम्मर सिं भै लाश गोठको करेसामा राखेका हौं भन्ने समेत प्र.भिम वहादुरले प्रहरीमा गरेको वयान कागज ।

      ६. मिति २०४६।८।२२ गते रात अं. ८।९ वजे तिर विर वहादुरले चोर आयो भनी हल्ला गर्दै दौडेकोले म पनि पछि पछि गए । चोर पक्राउ नभएकोले फर्कि विर वहादुरको घरमा आए । जैसराको घरमा मानिस छ भन्ने थाहा पाई रन वहादुर र भिम वहादुर गै सोधपुछ गर्न थाले म पनि गए । मलाई श्रीमतीले वोलाएकीले म घर तर्फ गएपछि आउँदा विर वहादुरको दलानमा थाममा वांधेका थिएं । वाधेका नारायणलाई गंगा वहादुर, मैते वुढाले हात लाठीले हान्दै थिए । मैलेपनि एक लाठीले कम्मरमा हानें । केही वेरपछि म घरतिर लागे र सुते भोलिपल्ट विहान जांदा नारायण मरी सकेको रहेछ । मृतक हानेको र वाधेको चोटले मरेको हो भन्ने समेत चित्र वहादुर पुनले प्रहरमा गरेको वयान कागज ।

      ७. ०४६।८।२२ गतेको राती खान खाई सुतेको अवस्था मैले वुढँ अम्मर सिंह र मान वहादुर समेत ३ जना आइ वावुलाई वोलाएकोले म पनि उठें विर वहादुरको घरमा चोर पक्रेका छौं । तपाई गा.पं.स. भएकोले जानु पर्यो भनी वावु रुपकलाललाई भन्दा रातको समयमा जादैन भनेपछि जानै पर्छ भने म जान्छु भनी विर वहादुरको घरमा आउँदा नारायणलाइ थाममा वस्न नमिल्ने गरी वांधेकाक् थिए । मैले पनि मृतकको गाालामा एकचोट हाने र विर वहादुरको दलानमा ओछ्यान लगाएको हुँदा सुते सन्ते पुन पनि सुत्यो, भोलिपल्ट उठी हेर्दा वाधेकै अवस्थामा जिउदै थियो । पछि भिम वहादुर घरवाट आएर निजले र मैले नारायणलाइ वाधेका डोरी खोली थाममा अडेस लगाई वसाली पानी खान दियौं पछि अम्मर सिंहले दुध भात खान दिए त्यसपछि म आफ्नो घर तर्फ गएको हुँ भन्ने समेत प्र. मनु भन्ने मन वहादुर पुनःले प्रहरीमा गरेको वयान कागज ।

      ८. २०४६।८।२२ गते सांझ नापी टोली वसेका ठाउँमा कपडा पुर्याई फर्कि जैसराको घर नेर आई पुग्दा भिम वहादुर, सन्ते, चैतलाल, विर वहादुर चित्रे, रन वहादुर, मान वहादुर समेतले हल्ला गर्दै थिए । मैले केहो भनी सोधनी गर्दा भिम वहादुरले एउटा चोर फोटो चोरी भाग्यो एउटा रहेछ समात्यौ भनेर गंगा वहादुरले मृतक नारायणलाइ २।३ चोट हातले हानें । मान वहादुर, गंगा वहादुरले समाती विर वहादुरको घरमा ल्याएं र दुवै हात पछाडी लगी वस्न नमिल्ने गरी थाममा वांधेर गंगा वहादुर, चित्र वहादुर, मान वहादुर, रन वहादुर समेतले लाठी लात्तीले हाने । गा.पं.स. रुपकलाललाई वोलाउन जांदा रातको समयमा म जादैन भनेकोले मेरो छोरा मनु भन्ने मन वहादुर हाम्रो साथ लागी विर वहादुरको घरमा आए र म सुतेपछि को कसले नारायणलाई हाने थाहा भएन भोलिपल्ट विहानसम्म नारायण वांधिएकै थिए । म घर गै केहि वेरपछि विर वहादुरको घरमा आउँदा वांधेको डोरी फुकाई वसालेका थिए । मैले दहीभात खान दिए र म भात खान घरमा गै फर्कि आउँदा नारायण मरी सकेका थिए भन्ने समेत प्र. अम्मर सिंह पुनले प्रहरीमा गरेको वयान कागज ।

      ९. गएको असार देखी नारायणलाई खान लाउन र मासिक रु.२००। दिने गरी ज्यालामा काम गर्न राखेको थिए । मेरो श्रीमती भिमा माइतैवाट उगा गाउँको टेक वहादुर सँग पोइल गएकी थिइ । मेरो जारले गाउँमा मलाई काटछु मार्छू भन्ने कुरा गरेको गाउले मानिसवाट सुनेको टेक वहादुरले मलाई कसरी मार्छ भनी २०४६।८।२२ गतेका दिन ४ वजे उगा गाउँतर्फ घुम्न जाउ भनी नाराणउ र मैले सल्लाह गरी उगा गाउँका माइला पुनको फोटो चोरी गरी भाग्ने गाउँका मानिस मेरो पछि आएपछि नारायण भित्र पसी चोरी गर्ने सल्लाह गरी फोटो चोर्न लाग्दा नारायण करेसामा थिए । फोटो चोर्दा विर वहादुरले थाहा पाई मेरो पछि दौडदै आए  म पनि  भाग्दै गए ३ वटा फोटो मैले दौडदै र जंगल पसि लुकें विर वहादुर समेत फर्कि गएपछि पहिला वसेको माइला पुनको घरमा गै उठाइ सुते । अर्को दिन विहान म घर गै वसे भोलिपल्ट नारायणलाई खोज्न जान लागेको थिए नाम नजानेको उगा गाउँका गा.पं.स. मलाइ वोलाउन आएकोले साथ लागी विर वहादुरको घरमा जांदा नाराणको लास करेसामा राखेका थिए भन्ने समेत प्र. भोटे भन्ने अम्मर वहादुर पुनले प्रहरीमा गरेको वयान कागज ।

      १०. २०४६।८।२२ गते सांझको खाना खाई हात धून लागेको थिए । बिर बहादुरले चोर चोर भनी हल्ला गरेकाले म पनि गए । चोर फेला नपरेकाले सबै फर्कि बिरबहादुरको घरमा आयौ र रन बहादुरले जैसराको घरमा अपरिचित मानिस छ चोर हो कि भनी भन्न आएकोले नारायणलाई समाइ बिर बहादुरको घरमा ल्याइ बिर बहादुरको घरको दलानको थाममा बस्न नमिल्ने गरी बांधि गंगा बहादुर, चित्र बहादुर, रन बहादुर, मन बहादुर, मैते र मान बहादुर समेतले कुनैले लाठी कुनैले हातले हानेका हुन । त्यसपछि म बिर बहादुरको दलानमा सुते । भोलिपल्ट बिहानै उज्यालो नहुदै घर गएं । सो अबस्था सम्म नारायण मरेको थिएन भन्ने समेत प्र.सन्त बहादुर पुनले प्रहरीमा गरेको बयान कागज ।

      ११. २०४६।८।२२ गते सांझ चोर चोर भनी कराएको सुनि कराए तर्फ जादां बिर बहादुर समेत फर्कि आउन लागेका थिए । के भयो भन्दा चोरले फोटो चोरी लगेछ भनेकाले हामी सबै बिर बहादुरको घर गै ३ वटा फोटो हराएछ । जैसराको घरमा कसले ढोका हान्छ भनी रन बहादुरले भन्दा म समेत सो ठाऊं गै नारायणलाई पण्डित बिर बहादुरको घर लगी वांधि गंगा बहादुरले लाठिले हान्दै थिएं । म अम्मर सिंह, मैते, रुपक लालको घर गयौं । निजलाई उठाइ बिर बहादुरको घरमा जाऊं भन्दा अहिले जादिन भोलि आउँछु भनेकाले निजको छोरा मनु भन्ने मन बहादुरलाई साथ लिई बिर बहादुरको घर आउँदा गंगा बहादुरले नारायणलाई पिटदै थिए । मनु भन्ने मन बहादुरले, चित्र बहादुरले, मैते बुढाले कुनैले हात कुनैले डिङनाले हाने त्यसपछि म घरतर्फ गएं । भोलिपल्ट सन्ते पुनको घरमा जादां नारायण मर्यो भनेकाले थाहा पाएको हुँ भन्ने समेत प्र. मान बहादुर पुनले प्रहरीमा गरेको बयान कागज ।

      १२. मिती ०४६।८।२२ गतेको बेलुका नापी टोलिलाई भात खुवाई फर्कि आउँदा बिर बहादुरको घरमा नारायणलाई बस्न नमिल्ने गरी बाधेका र गंगा बहादुर,भिम बहादुर, बिर बहादुर, सन्ते, चित्र, अम्मर सिंह समेत थिए । यो को हो ? किन बाधेको भन्दा चोर हो भनेका र फोटो चोरेको र जैसराको घरको ढोका हानेकोमा निजले स्विकारेकोले मैले हातले एक थप्पर गालामा हानें । गा.वि.स. रुपकलाललाई बोलाउन म मन बहादुर, अम्मर सिंह समेत भैजादा रातको बेला म जादिन भन्दा छोरा मनु भन्ने मन बहादुरले म जान्छु भनी हाम्रो साथ बिर बहादुरको घर आयौं । एकछिन पछि म त्यहि दलानमा सुती निदाएं । भोलिपल्ट उठ्दा नारायण बाधिएकै थिए । पछि म आफ्नो घरमा गएं । पुनः बिर बहादुरको घरमा आउँदा नारायणलाई थाममा अडाइ बसाली अम्मर सिंहले भात खुवाएको देखेको हुँ । पछि म घरमा गै अन्यत्रै जान लागेको थिएं । अम्मर सिंहले नारायण मरेको खबर भनेकोले थाहा पाएको हुँ भन्ने समेत प्र. मैते बुढाले प्रहरीमा गरेको बयान कागज ।

      १३. मिती ०४६।८।२२ गतेको बेलुका खाना खाई सुतेको थिए । बिर बहादुरले चोर आयो भन्दै जांदा म पनि दौडदै गए । चोरलाइ नभेटि बिर बहादुर समेत भै फर्कि बिर बहादुरको घरमा आयौं । जैसराको घरमा चोर आएको छ भन्ने थाहा पाई सबै जना गई नारायणलाइ बिर बहादुरको घरको थाममा ल्याइ बांधि गंगा बहादुर, मान बहादुरले डिङ्नाले हानेको देखेपछि म आफ्नो घरमा सुत्न गएं । भोलि पल्ट नारायण मर्यो भनी अम्मर सिंहले भन्दा थाहा पाएको हुँ भन्ने समेत प्र, चेतलालले प्रहरीमा गरेको कागज ।

      १४. अम्मर सिंह पुन सन्त वहादुर पुन, चेतलाल पुनको जमानी लिने प्र.पं. मान वहादुर राणाको जमानी कागज ।

      १५. मृतक नारायणलाई माग्न नदिई हेर भनी छोरा रन वहादुरलाई भनेको हुँ । नारायणलाई भाउजु जैसराको घरमा निजको घरको वरियाले गंगा वहादुर, मान वहादुर कसले वांधे थाहा छैन मैले एउटा फोटोको रु.५०। को दरले किनेको हुँ भन्ने समेत जाहेरवाला विर वहादुर पुनले प्रहरीमा गरेको कागज ।

      १६. नारायण वुढाथोकीको मृत्यु चित्र वहादुरक्, रन वहादुर, अम्मर सिंह, मनु भन्ने मन वहादुर, भिम वहादुर, गंगा वहादुर मोटे भन्ने अम्मर वहादुर पुन, सन्त वहादुर, मान वहादुर, मैते वुढा, चैते लाल पुन र जाहेरवाला मानिएका विर वहादुर पुन समेतको वाँध छांद र कुटपीटको चोट पीरले मृत्यु भएको देखिंदा जाहेरवाला भनीएका विर वहादुर पुन र हाजिर जमानीमा छोडिएका अम्मर सिंह पुन, सन्त वहादुर पुन, चेत लाल पुन समेत उपर ज्यान सम्वन्धीको १३(३) वमोजिम सजाय गरी पाउँ भन्ने जि.स.व. कार्यालय रोल्पाको छुट्टै राय ।

      १७. यसमा वुझिए सम्मका कागज प्रमाणहरुवाट गंगा वहादुर, चित्र वहादुर, मान वहादुर मनु भन्ने मन वहादुर, रण वहादुर, भिम वहादुर मैते वुढा समेतले नारायणलाई मारपिट तथा वाँधछाद गरी रगत संचारको गति वन्ध भै नारायणको मृत्यु भएको र ज्यान मार्ने भराउनेमा शुरु नरिया मोटे भन्ने अम्मर वहादुरले गराई नारायणको ज्यान मर्न गएकोले निजहरु उपर ज्यान सम्वन्धी महलको १३(३) वमोजिम सजाय भै मोटे भन्ने अम्मर वहादुर पुनलाई चोरीको १२ नं. वमोजिम कारवाही भै चोरीको विगो जाहेरवाला विर वहादुर पुनलाई दिलाई पाउँ भन्ने प्रहरी प्रतिवेदन ।

      १८. ०४६।८।२२ गते राती ९.१र२ वजेको समयमा नापी टोलीवाट विर वहादुरको घरको वाटो भै घर फर्कदा नारायणलाई विर वहादुरको घरमा वांधेको देखि किन वांधेको भन्दा यि चोरहरु हुन् मेरो घरवाट एउटाले फोटो चोरी लग्यो । अर्को यो भागेकोले भाउजु जैसराको घरमा ढोका हान्दै थियो र लिएर वाधेका हौं भनी भन्दा एक चोट गालामा हानेको हुँ त्यसपछि उगाको मोटेसँग चोरी गर्न आएको हुँ भनी भनेपछि म आफ्नो घरमा गएको  हुँ । मृतकलाई को कसले वाधेको हुन् मैले देखिन  सन्त वहादुर, मान वहादुर समेतले लाठीले खुट्टामा हानेको देखेको हुँ । विर वहादुर विहान मलाइ वोलाउन गएकोले विर वहादुरको घर जांदा नारायण मर्न आटेको थियो । म आएपछी मरेको हो भन्ने समेत प्र.गंगा वहादुर पुनले अदालतमा गरेको वयान ।

      १९. मिति २०४६।८।२२ गते सांझ  जोहरवालाले चोर आयो भनी कराउँदा हामी सवै जम्मा भै चोरलाई लखेट्न गयौं । नभेटीएकोले फर्केर आउँदा मृतकलाई जैसराको घरमा देखियो । म घरमा गए फेरी फर्केर आउँदा जाहेरवालाको घरको थाममा वांधेका थिए । मैले वढा, गंगा वहादुरले हातले हान्दै थिए । त्यसपछि म घरमा गए । विहान मृतकको मृत्यु भै सकेपछि म आएको हुँ । मैले मृतकलार्य हानेको हुँ अरु को, को कसले हाने मैले देखिन । त्यहाँ अम्मर सिंह, सन्त वहादुर, चेतलाल समेतका सवै प्रतिवादी थिए । चोर चोर भनी वांधेर पिट्दा मृतकको मृत्यु भएको हो भन्ने समेत प्र.चित्र वहादुर पुनले अदालतमा गरेको वयान ।

      २०. गते वारको याद छैन ०४६ साल मंसीर महिनामा म नापी वाट फर्केर आउँदा विर वहादुरको थाममा मृतकलाई वांधेका थिए । गंगा वहादुर र मनु भन्ने मन वहादुरले चोर भनेका र मृतकले चोर्न आएको हुँ भनेकोले एक चोट गालामा हानेको हुँ त्यसपछि गंगा वहादुर मनु भन्ने मन वहादुर, चित्र वहादुर, सानो भन्ने सन्ते, जाहेरवालाको श्रीमती, रन वहादुर समेतले कुनैले हातले, कुनैले लाठीले हानेका थिए । सो अम्मर सिंह, सन्त वहादुर चेतलाल समेत थिए । सवैले हानेको चोट पिरवाट मृतकको मृत्यु भएको हो भन्ने समेत प्र.मैते वुढा मगरले अदालतमा गरेको वयान ।

      २१. मिति २०४६।८।२२ गते राती अं. १२ वजे तीर मेरो वावुलाई वोलाउन मान वहादुर, अम्मर सिंह, मैते वुढा मेरो घर जांदा  वबा घरमा नहुँदा निजहरुको साथ म वारदात भएको ठाउँमा गए । मृतकलाई विर वहादुरको घरको थाममा वाधेको  थिए । जाहेरवालाको श्रीमती र जैसराले यसलाई हान भन्ने  र गंगा वहादुरले टाउको थाममा ठोकाउने लात लाठीले हान्ने गर्दै थिए । मृतकले म सँग चोर्न आएको हुँ भनेकाले हातले मृतकको गालामा एक चोट हानेको हुँ । त्यसपछि मैते वुढा ले पनी लाती र हातले एक चोट हानेको हो यसरी नहान भन्दा गंगा वहादुरले मलाई एक चोट हान्यो । त्यसपछि म सुते विहान उठदा उठ्ने वेलामा विर वहादुरको श्रीमतीले लाठीले ३ पटक हानेको देखे । वांधेर हानमार गरेको चोटले गर्दा भात खान सकेन त्यसपछि गंगा वहादुरले लाठीले एक चोट पेटमा हान्दा मृतक कोल्टो परी फेरी लात्तीले २ पटक हान्यो केही छीन पछि म घर गए । मृतकको मृत्यु भएछ । चोर भनी मृतकलाई वांधी कुटपिट गर्दा सो कुटपिटको चोटवाट मृतकको मृत्यु भएको हो भन्ने समेत प्र. मनु भन्ने मन वहादुर पुनले अदालतमा गरेको वयान ।

      २२. २०४६।८।२२ गते सांझ ८ वजेको समयमा आमा विरामी भएकोले झांक्री, वसालेका थिए । वाहिर फोटो चोरी भएको आवाज सुनी हेर्दा चोर भागी सकेकोले वावु विर वहादुर र म समेत चोरलाई लखटदै कराएपछि मान वहादुर, भिम वहादुर, मन वहादुर, चेतलाल अर्को चेतलाल पुन समेतका मानिस जम्मा भै पातल भन्ने दमार सम्म चार्दै लग्यो । घर फर्कि आउँदा जैसरीको घरमा मृतक नारायणले ढोका हान्दै रहेको देखि भिम वहादुर, गंगा वहादुर, अम्मर सिंह समेतले समाती हाम्रो घरको थाममा डोरीले बांधी मान वहादुर, गंगा वहादुरले लाठीले हानेर मृतकको टाउको वांधेको थाममा बजारी दियौ । मृतकको टुप्पी पनी उखेली फाली दियौ । गंगा वहादुर जांड रक्सीलेम मातिएको थियो । रातको १० वजे देखि ३ वजेसम्म मृतकलाई पिट्ने र विहान ६ वजे प्रधानलाई वोलाउन जाने भनी वावु र म प्रधानको घरमा गयौं । ९ वजे फर्कि आउँदा मृतकको मृत्यु भै सकेको थियो । चोर भनी बांधेर मारपिट गर्दा सोही चोटबाट मृतकको मृत्यु भएको हो । मृतकलाई मैले हानेको होइन भन्ने समेत प्र. रन वहादुर पुनले अदालतमा गरेको वयान ।

      २३.   २०४६।८।२२ गते सांझ अं. ९ वजेको समयमा चोर चोर भनी कराएको सुनि जांदा फर्केर आउँदै थिए । को हो भनी भन्दा विर बहादुरले एउटा चोर भाग्यो भन्दथे । हामी सवै विर बहादुरको घरमा आयौं । रन बहादुर जैसराको घरमा को कराउँछ भन्दा म समेत सवै गई यो चोरलाई वाँध भनी विर बहादुरले डोरी दिएपछि गंगा बहादुरले समात्ने, मैले विर बहादुरकै घरको थाममा वाधेको हुँ । त्सपछि गंगा बहादुरले हान्दै गरेर चोरी गर्न आएको हुँ भनी मृतकले भनेकीले तेरो चोरी गर्ने खुट्टा यही हो भनी लाठीले मृतकको तिघ्रामा २ चोट हानेको हुँ । त्यसपछि म मैते बुढा अम्वर सिं समेत गा.प.स.लाई वोलाउन गयौं । गा.प.स. नआई छोरा मनु भन्ने मन बहादुरलाई पठाएकोले निजले पनि एक चोट हातले मृतकको गालामा हान्यो । मृतकलाई वांधी मारपिट गर्दा गर्दा त्यसको चोटबाट मृतकको ०४६।८।२३ गते विहान ८ वजे तिर मृत्यु भएको हो भन्ने समेत प्र.मान बहादुर पुनले अदालतमा गरेको वयान ।

      २४.   ०४६।८।२२ गते राति ८ वजेको समयमा रन बहादुर, विर बहादुर चोर चोर भन्दै आएको सुनि म पनि घरबाट निस्की खोज तलास गर्न गए । फेला नपरेकोले फर्कि विर बहादुरको घरमा के के चोरी भयो भनी हेर्न गयौं । फोटो चोरी भएको थियो । त्यस पछि रन बहादुरले जैसराको  घरमा को कराउँछ हेर्न जाउँ भन्दा म समेत गयौं घर कहां हो भन्दा सल्यान भनी मृतकले भनेपछि गंगा बहादुर र मान बहादुरले यो पनि चोर हो भनी समाती विर बहादुरको घरमा ल्याई वांधी गंगा बहादुरले लाठीले हाने पछि म घर गै सुते विहान ७ वजे मनु भन्ने मन बहादुर मलाई वोलाउन गए र म आई निजले र मैले मृतकलाई वांधेको डोरी फूकाई दिएपछि मृतक बसेका थिए । म जैसराको घरमा गए । फर्कि आउँदा मरी सकेका थिए । मृतकलाई चोर भनी वांधी गंगा बहादुरले लाठी, हात, लात्तीले पिटेको चोटबाट मृतकको मृत्यु भएको हो भन्ने समेत प्र. भिम बहादुर पुनले अदालतमा गरेको वयान ।

      २५.   मृतकको घर सल्यान जिल्लामा पर्छ निज ०४९ साल आषाढ महिना देखि मेरो घरमा काम गर्न बसेका थिए । मृतक र म तरुनी वस्न जाउँ भनी जोलिपोखरी गा.प.वडा नं. ८ बस्ने वुढाको घरमा आउँदा वाटोमा जाहेरवालाको घर भएकोले मृतकले जाहेरवालको घरबाट एउटा फोटो झिक्यो । सो फोटो मैले पक्डेको थिए । फेरी झिक्यो भनी हल्ला गर्दा फोटो त्यही फाली म भोज नारायण पनि वेग्ला वेग्लै भै भाग्यौं । मलाई चित्र बहादुर समेतले लखेट्दै  लगतै मलाई भेटाउन नसकी फर्के । म माइला पुन भन्नेको घरमा बसे । नारायणलाई रातमा पक्री कुटपिट गरेछन् को कसले कुटपिट गरे मलाई थाहा छैन । कुटपिट गर्ने गंगा बहादुर, चित्र बहादुर, रन बहादुर समेतको कुटाईबाट मृतकको मृत्यु भएको हो भन्ने कुरा विहान म त्यहाँ घटनास्थलमा आउँदा सुनेको हुँ । विर बहादुरको घरमा लाश परेको छ भन्ने हल्ला सुन्दा मेरो साथी हो की भनी म घटनास्थलमा जांदा मृतकको मृत्यु भै सकेको थियो भन्ने समेत प्र. मोटे भन्ने अम्मर  बहादुर पुनले अदालतमा गरेको  वयान ।

      २६.   मिति ०४६।८।२२ गते सांझ नापी टोलीबाट फर्कदा म र गंगा बहादुर साथै आउँदा जैसराको घरमा हल्ला गरेको सुनी दुवै जना जांदा जाहेरवाला समेतले एकजनाले हाम्रो घरको फोटो चोरी गयो । अर्को यसले जैसराको घरमा ढोका हान्दै रहेछ । यो पनि चोर हो भनी मृतकलाई विर बहादुरको घरमा ल्याएं । विर बहादुरको घरको दलानको थाममा मनु भन्ने मन वहादुरले वाधे र गंगा बहादुरले लाठीले अरु चित्र बहादुर, मनु भन्ने मन बहादुर समेतले हानेका हुन । त्यस पछि म मनु भन्ने मन बहादुर, मैते वुढा समेत गा.पं.स.लाई वोलाउन गयौं । गा.पं.स. जानुन भनी निजको छोरा हाम्रो साथ आयो । मृतकलाई वांधेकै थिए । निन्द्रा लागेकोले म जाहेवालाको घर भित्र गै सुते विहान उज्यालो हुने अवस्था जाहेरवालाको श्रीमतीले चोर भाग्छ हेर भन्दा मृतकको सामु गै वसे जाहेरवालाको श्रीमती समेत लाठीले २ चोट मृतकलाई हानेको देखेको हुँ । त्यसपछि मृतकलाई भात खुवाउन लाग्दा खान सकेन । त्यसपछि म  आफ्नो घर गए । खाना खाई आउँदा मृतकको मृत्यु भैसकेको थियो चोर हो भनी गंगा बहादुर समेतले कुटपिट गरेकै चोटवाट मृतकको मृत्यु भएको हो । मृतकलाई मैले कुटपिट गरेको होइन भन्ने समेत अम्मर सिंह पुन मगरले गरेको वयान ।

      २७.   ०४६।८।२२ गते राती जाहेरवालाका वावु छोराले चोर पर्यो गुहार भनी कराउँदा म समेत गए । फर्कि आउँदा मृतकले जैसराको घरमा ढोका हान्न लागेका रहेछ्न । सवै गई हेर्दा अपरिचित देखिंयोपनि चोर हो भनी मान बहादुरले समात्यो । जाहेरवालाको दलानमा लगी थाममा मृतकको दुवै कम्मर दुवै हातमा वांधी गंगा बहादुर, चित्र बहादुर, मान बहादुर, मैते बुढा, मनु भन्ने मन बहादुर, रन बहादुर समेतले कुनैले डिङनाले कुनैले हात लाठी समेतले हाने म आफ्नो घर गई सुते । अर्को विहान ९ बजे पक्रेको चोर मर्यो भन्ने सुनेको हुँ । मृतकलाई चोर भनी वांधी कुटपिट गर्दा सो चोटबाट मृतकको मृत्यु भएको हो भन्ने समते प्र. सन्त बहादुर पुनले गरेको वयान ।

      २८.   जाहेरवालाको वावु छोराले ०४६।८।२२ गते राती ९ बजेको समयमा चोर आयो गुहार भनी कराए पछि म पनि गै हेर्दा चोर नभेटिएकोले फर्केर विर बहादुरको घरमा गर्याैं । त्यसपछि जाहेरवालाले जैसराको घरमा कसले ढोका हान्दैछ रे भन्दा सवै गयौं । दलानमा मृतक उभिएको रहेछ ।  रातीको समय हुँदा कसले समात्यो थाहा भएन । जाहेरवालाको घरमा ल्याए म पनि पछि पछि आए । पिशाव फेर्न लागे । पिसाव गरी जांदा मृतकलाई जाहेरवालाको घरको थाममा उभ्याई वांधी सकेका थिए र गंगा वहादुर, मनु भन्ने मन वहादुरले लाठीले हान्दै थिए । म घरमा गएर सुते भोलिपल्ट विहान म आएन । मृतकलाई वांधी कुटपिट गरेको चोट वाटै मृतकको मृत्यु भएको हो । मैले मृतकलाई वांध्ने हान्ने कुनै गरेको होइन भन्ने समेत प्र. चेत लाल पुनले गरेको वयान ।

      २९. २०४६।८।२२ गतेको राती मेरो भाउजु जैसराको घरमा राती ढोका खोल भन्दै मृतक नारायण वुढाथोकीले ढोका हान्न लागेको रहेछ । थाहा पाई चित्र वहादुर, मान वहादुर, गंगा वहादुर समेत गै पक्डी वांधेर कुटपिट समेत गरेछन् । भाउजुको घरमा ठूला लोग्ने मानिस नभएकोले मृतकलाई गंगा वहादुर समेतले मेरो घरमा लगेर गंगा वहादुर र मान वहादुरले थाममा वांधे निजहरुले चोर हो भनी वांधेका रहेछन् । मेरा घरमा ल्याएपछि पनि थाममा वांधेर गंगा वहादुर समेतले लाठी लाती र चित्र वहादुरले जुताले हानेको देखेको हुँ । मेरो घरमा श्रीमती विरामी भएकोले झांक्री वोलाएको थिए । मैले मृतकलाई कुट भनी भनेको र कुटेको समेत होइन सो ठाउँ गंगा वहादुर, चित्र वहादुर, मान वहादुर समेतका धेरै मानिस थिए । मृतकलाई गंगा वहादुरले वांधी कुटेकै चोटवाट मृत्यु भएको हो मृतकको मृत्यु भएपछि प्रधानलाई खवर गर्न गए र चौकीमा खवर गरी अनि जि.प्र.का. रोल्पामा आई जाहेर गरेको हुँ । २०४६।८।२२ गते राती मेरो घरको पटाहामा राखेको ३ वटा फोटो चोरी भएको हो । सो फोटोहरु मोटे भन्ने अम्मर वहादुरले चोरेको भनी मृतकले गंगा वहादुरसँग भनेका रहेछन् । सो कुरा मलाई गंगा वहादुरले भन्दा थाहां पाएको हुँ भन्ने समेत प्र.विर वहादुर पुनले गरेको वयान ।

      ३०. सर्जमिनका मानिसहरु, जाहेरवालाको साक्षी तथा प्रतिवादीका साक्षीहरुको वकपत्र भै मिसिल सामेल रहेको ।

      ३१. निजहरु मतियारको रुपमा देखिएकोले प्र.मध्येका चित्र वहादुर, रन वहादुर, भिम  वहादुर मुलुकी ऐन ज्यान सम्वन्धी महलको १७(३) अनुसार १७ महिना १५ दिन कैद हुने ठहर्छ । प्र.मध्येका अम्मर सिंह, चेतलाल, सन्त वहादुरलाई सोही ऐन अनुसार १५ महिना कैद हुने ठहर्छ । प्र. मध्येका विर वहादुर र अम्मर वहादुरको हकमा अपराध कार्यमा कुनै संलग्नता भएको भन्ने र मृतकलाई कुटपिट गरेको नदेखिएकोले ज्यान सम्वन्धी अपराधमा सफाई पाउने ठहर्छ । प्र.अम्मर, वहादुरको हकमा चोरी गर्न गएको देखीएको र चोरी गरी भागेको हुँदा चोरी तर्फ प्रहरी प्रतिवेदन माग दावी अनुसार सजाय हुने ठहर्छ । प्र.मध्येका मैते वुढा, मन वहादुर, मान वहादुरलाई र गंगा वहादुरलाई मुलुकी ऐन ज्यान सम्वन्धीको १३(३) अनुसार सजाय हुने देखिएता पनि अपराध घट्दाको अवस्था मार्नु पर्ने इवी र नियोजित नियतको अभावमा अपराध कानूनत दण्डनिय नै भएपनि सो को अभावमा अर्को सजाय गर्न न्यायसँगत हुने नहुँदा अर्थात उक्त सजाय चर्को पर्ने देखिएकोले मु.ऐन अ.वं. १८८ नं. अनुसार ८(आठ) वर्ष कैद गर्दा पनि ऐनको मनसाय पूर्ण हुने भएको ८(आठ) वर्ष कैद गर्ने गरी मिति २०४८।३।५।४ मा आएको शुरु रोल्पा जिल्ला अदालतवाट भएको  फैसला ।

      ३२. उक्त फैसलामा चित्त वुझेन । उपरोक्त वुँदा प्रमाणहरुको आधारमा प्र.चित्र वहादुर, रन वहादुर, भिम वहादुर, चेतलाल, अम्मर सिं, सन्त वहादुरलाई १७(३) ठहर भएको तथा विर वहादुर, अम्मर वहादुरलाई सफाई दिइएको रो.जि.अ.को फैसला वदर भागी भएकोले वदर गरी शुरु प्रहरी प्रतिवेदन दावी वमोजिम सजाय गरी पाउँ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारको पुनरावेदन  पत्र ।

      ३३. प्रतिवदीहरुले ज्यान सम्वन्धीको १७ (३) नं.वमोजिम कसुर र सजाय ठहर गरेको शुरु रोल्पा जिल्ला अदालतको फैसला फरक पर्न सक्ने हुँदा प्रत्यर्थी प्रतिवादीहरु चित्र वहादुर पुन, अम्मर सिंह पुन, चेत लाल पुन, सन्त वहादुर पुन, रन वहादुर पुन, भिम वहादुर पुन र विर वहादुर पुन समेतलाई अ.वं २०२ नं. तथा पुनरावेदन अदालत नियमावली २०४८ को नियम ४७ र ४८ वमोजिम छलफलको लागि झिकाई उपस्थित भएपछि वा म्याद गुजारे पछि नियमानुसार पेश गर्नु भन्ने समेत व्यहोराको मिति २०५०।३।३।५ को पुनरावेदन अदालतको आदेश ।

      ३४. यसमा प्रतिवादी गंगा वहादुर पुन समेतलाई शुरु जिल्ला अदालतवाट ज्यान सम्वन्धी महलको १३(३) नं अनुसार कसुर गरेको ठहरी सजाय भएकोमा निज प्रतिवादीहरुको पुनरावेदन   गरेको नदेखिदा निजहरुको सम्वन्धमा साधकको लगतमा दर्ता गरी नियमानुसार पेश गर्नु भन्ने मिति २०५१।३।१३।२ को पुनरावेदन अदालतको आदेश ।

      ३५. ज्यान सम्वन्धी महलको १३(३) नं. को कसुर कायम गरीएका प्र.गंगा वहादुर, मन वहादुर, मान वहादुर, मैतु वुढा मगर तथा ज्यान सम्वन्धीको १७(३) को कसुर कायम गरीएका प्र. चित्र बहादुर, रन बहादुर, भिम बहादुर, अम्मर सिं, सन्त बहादुर, चेतलाल र सफाई पाएका प्र. विर बहादुर पुनको हकमा शुरु रोल्पा जिल्ला अदालतले गरेको फैसला मिलेकै हुँदा मनासिव ठहर्छ । ज्यान सम्वन्धीको १३ (३) अनुसार सजाय पाएका प्रतिवादीहरुको हकमा शुरु जिल्ला अदालतले अ.वं. १८८ नं. वमोजिम राय लगाएको सम्वन्धमा विचार गर्दा प्र. गंगा बहादुर पुन नै प्रत्यक्ष कुटपिटमा संलग्न भएको देखिंदा निजको हकमा सम्म राय मनासिव छ । प्र. मन बहादुर पुन, प्र. मान बहादुर पुन तथा मैतु वुढा मगरको हकमा कैद वर्ष ८ पनि चर्को पर्ने चित्तमा लागेकोले कैद वर्ष ५ मात्र सजाय गर्नु मनासिव देखि अ.वं. १८८ नं. वमोजिम राय जाहेर गरीएको छ भन्ने समेतको पुनरावेदन अदालत नेपालगन्जको फैसला ।

      ३६.   हामीहरुलाई हराई फैसला गर्दा पुनरावेदन अदालतले प्रतिवादीहरुले प्रहरी एवं अदालत समक्ष गरेको वयानलाई मुख्य रुपमा ज्यान सम्वन्धी महलको १३(३) को अपराध ठहर्न अपराधिक मनसाय तत्व तथा कार्यको अनिवार्यता रहन्छ । यिनीहरुको अभावमा अपराध हुन सक्दैन । अपराधिक मनसाय र ज्यान मार्नु पर्ने सम्मको पूर्ण रिसइवि ज्यान मार्नको लागि पूर्व तयारी जोखिम हात हतियारको प्रयोग आदि तत्व प्रस्तुत विवादमा रहे भएको छैन । मृतक हामीसँग पूर्ण परिचय नभएका व्यक्ति हुन । निजलाई मार्ने हाम्रो पूर्व तयारी वा मनसाय थिएन । जैसराको घरमा चोरले ढोका हानी रहेको अवस्थामा एउटा चोरले फोटो चोरी भागेको र अर्को चोरलाई गाउलेहरुले समाई विरे मगरको घरमा ल्याई दुई तीन थप्पड हानेको भनी प्रहरी र अदालतमा वयान गरेका थियौं । चोर नभागोस भन्ने हेतुले वाधिएको र डोरी नखोली  वांध्दा भवितव्यबाट चोरको मृत्यु भएको अवस्थामा ज्यान सम्वन्धी ६(२) वमोजिमको कसुर ठहर गर्नु पर्नेमा ज्यान सम्वन्धी महलको १३ (३) नं. वमोजिम सजाय गरेको मिलेन । तसर्थ उक्त फैसला उल्टाई पाउँ भन्ने समेतको प्रतिवादीहरुको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।

      ३७.   नियम वमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत पुनरावदेन सहितको मिसिल अध्ययनज गरीयो । प्रतिवादीहरुको पुनरावेदन पर्न आएको देखिंदा साधकको दायरी लगत कट्टा हुन्छ । पुनरावेदक तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री केदार गौतमले मृतकले चोरी गर्न ढोका घचघच्याएको र चोर भनी पक्री वाँध छांद गरी एक दुई मुक्का हिर्काएकोमा वांधिएको डोरीबाट रक्त संचार वन्द भै मृतकको मृत्यु भएकोलाई ज्यान सम्वन्धी महलको १३(३) नं. को कसुर कायम गरेको मिलेन मृतकको मृत्यु भवितव्यबाट हुन गएको हुँदा ज्यान सम्वन्धीको ६(२) नं. वमोजिम सजाय हुनु पर्ने भन्ने वहस प्रस्तुत गर्नु भयो ।

      ३८.   निर्णय तर्फ विचार गर्दा मिति २०४६।८।२२ मा जोहरवालाको भाउजुको घरमा मृतक वास वस्न आएको र अपरिचित व्यक्ति देखि प्रतिवादीहरुले सोधपुछ गरी चोर भनी वाँधछाद गरी गंगा बहादुर, भीम बहादुरले हात र कम्मरमा वांधी लात लाठीले मुड्कीले र पछि कस कसले पिटे थाहा भएन । मृतकको मृत्यु भएछ भनी जाहेरी दरखास्त पर्न आएको र प्रतिवादीहरुसँग गंगा बहादुर पुन, मान बहादुर पुन, मन बहादुर पुन तथा मैतु वुढा मगरले मृतकलाई वाँधछाद गरी लात, मुड्की र लाठीले हानेको कुरामा स्वीकार रही अदालतमा वयान गरेको देखिन्छ । मृतक चोर भएको र जाहेरवालाको घरमा फोटो चोरी गरेकोले प्रहरीलाई जिम्मा लगाउन वाँधछाद गरी सामान्य कुटपिट गरेको स्वीकार गर्ने प्रतिवादीहरुले मृतकलाई कुटपिट गर्दा ज्यान मर्लाभन्ने सम्मको अवस्थाको ख्यालै नगरी ज्यान मर्ने सम्मको कुटपीट गरेवाट प्रतिवादीहरुलाई निर्देाष मान्न मिलेन । त्यसमा पनि प्रतिवादी गंगा वहादुरले लाठीले तिघ्रामा हानेको भनी अधिकार प्राप्त अधिकारी समक्ष वयान गरेको र उक्त वयानलाई अन्य सह अभियुक्तहरुको अदालतमा भएको वयानवाट पुष्टी भएको अवस्थामा प्रतिवादीहरु गंगा बहादुर पुन, मान बहादुर पुन, मन बहादुर पुन र मैतु वुढा मगरलाई अभियोगवाट सफाई दिन मिल्ने अवस्था देखिदैन । चोर हो भनी वाँधछाद कुटपिट गर्दा मृतकको मृत्यु भएको अवस्था हुँदा प्रस्तुत मुद्दाको वारदात प्रकृतिवाट ज्या.सं. को १३(३) नं. लाग्न सक्ने नभै ज्या.सं. को ५ नं. को अवस्था देखिन आउँछ भन्ने वहस जिकिर भए पनि सामुहिक कुटपिटको परिणामवाट मृत्यु भएको हुँदा भवितव्यको अवस्था नभएकोले विद्वान अधिवक्ताको उक्त वहस  जिकिरसँग  सहमत  हुन सकिएन । तसर्थ चोरी गर्न आएको अपरिचित व्यक्ति मृतकको ज्यान मर्ला भन्ने सम्मको हेक्का नराखी प्रतिवादी गंगा वहादुर, मान वहादुर, मनु वहादुर तथा मैतु वुढा मगरले निजको शरिरमा छोडेको चोटवाट मृतकको मृत्यु भएको देखिंदा प्रतिवादीहरुलाई ज्यान सम्वन्धीको महलको १३(३) नं. वमोजिम सर्वस्व सहित कैद हुने ठहराएको पुनरावेदन अदालत नेपालगन्जको इन्साफ मिलेकै देखिंदा मनासिव ठहर्छ ।

साथै वारदातको प्रकृति तथा मृतकलाई मारौं भन्ने मनसायको अभाव तथा पूर्व रिसइवि समेत केही नभएको अवस्था भई छाडेको चोटबाट मृतक नारायणको मृत्यु हुन गएको देखिंदा प्रतिवादी गंगा बहादुर पुन मगरलाई कैद वर्ष ८ गर्ने भनी पुनरावेदन अदालतले लगाएको राय समेतका सम्वन्धमा विचार गर्दा निज मात्रको संलग्नता भएको अवस्था नहुँदा निज गंगा बहादुर समेतलाई कैद वर्ष ५ (पांच) सम्म गरी अरुमा पु.वे.अ. को सो राय समेत मनासिव ठहर्छ । प्रतिवादीहरुको पुनरावेदन जिकिर पुग्न सक्दैन । अरुमा तपसिल वमोजिम गर्नु ।

 

तपसिल

माथि इन्साफ खण्डमा उल्लेख भए वमोजिम प्रतिवादीहरु गंगा बहादुर पुन, मान बहादुर पुन, मन बहादुर पुन तथा मैतु वुढा मगरलाई जनही कैद वर्ष ५(पांच) हुने ठहरेकोले शुरु जिल्ला अदालतले राखेको सर्वश्व सहितको कैदको लगत कट्टा गरी ५ वर्षको कैदको लगत राख्नु भनी लगत दिनु ......... १

प्रतिवादीहरु मान बहादुर पुन, मन बहादुर पुन, गंगा बहादुर पुन तथा मैतु वुढा मगर शुरु रोल्पा जिल्ला अदालतको मिति २०४६।१०।१५ को आदेशले थुनामा वसेका र निजहरुलाई ठहर भएको कैद वर्ष ५(पांच) को भूक्तान भैसकेको देखिंदा अन्य मुद्दाबाट थुनामा राख्न नपर्ने भए थुनाबाट मुक्त गरी दिनु भनी कारागार शाखा तुल्सीपुरलाई लेखि पठाई दिनु .......... १

प्रस्तुत पुनरावेदनको दायरी लगत कट्टा गरी मिसिल नियमानुसार गरी वुझाइ दिनु .......      १

 

उक्त रायमा सहमत छु ।

 

न्या.केदारनाथ आचार्य

 

इति सम्वत २०५३ साल चैत्र १८ रोज २ शुभम..

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु