शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६४२४ - नाता कायम

भाग: ३९ साल: २०५४ महिना: मंसिर अंक:

निर्णय नं.- ६४२४              ०५४, ने.का.प                   अङ्क ८

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल

माननीय न्यायाधीश श्री राजेन्द्रराज नाख्वा

सम्वत् २०५२ सालको फौ.पु.नं. ... १२७६

फैसला मितिः २०५४।१।२।२

 

मुद्दाः नाता कायम ।

 

पुनरावेदक/वादीः दोलखा जिल्ला, सुनखानी गा.वि.स. वार्ड नं १ वस्ने परमाया (शिवाकोटी) पाठकको संरक्षक भई एकाघरकी आमा चन्द्रमाया पाठक ।

विरुद्ध

विपक्षी/प्रतिवादीः ऐ.ऐ. वस्ने रुद्र वहादुर शिवाकोटी ।

 

§  कारणी वादी वक्क लाटी भएकीले आफूले कसैको पनि नाम उच्चारण गर्न नसक्ने अवस्था भएकोले कसको करणीबाट गर्भ रहेको भन्ने मुल प्रश्नमा अन्य मुद्दामा झै नाम नामेसी निर्णय हुँदैन । तसर्थ प्रतिवादी कान्छो शिवाकोटी भनी गाउँ घरमा वोलाउने प्रचलन रहेने हुँदा कारणीको नाममा विवाद नभएको अवस्था हुँदा समेत प्रस्तुत मुद्दामा वावुको नाममा विविधता आएको कारणले मुद्दाको मुल विषयमा निर्णय गर्नमा तात्विक महत्व नराख्ने हुँदा समेत पुनरावेदन अदालत पाटनबाट वादी दावा नपुग्ने ठहराएको मिति २०५२।१।७ को फैसला नमिलेकोले उल्टी हुने ।   

(प्र.नं २०)

 

 

पुनरावेदक तर्फबाटः विद्वान अधिवक्ता श्री राजु आचार्य 

प्रत्यर्थी प्रतिवादीतर्फबाटः विद्वान अधिवक्ता श्री भिम वहादुर गुरुङ

अवलम्वित नजीरः

 

फैसला

            न्या. लक्ष्मण प्रसाद अर्यालः पुनरावेदन अदालत, पाटनको २०५२।१।७ को फैसला उपर वादी तर्फबाट यस अदालतमा दायर हुन आएको पुनरावेदन सहितको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार रहेछ ।

            २. मेरो लाटी छोरी र विपक्षी प्रति दिन आआफ्नो वारका वस्तु चराउने काममा जंगलको यात्रा गर्थे मेरी लाटी छोरीको ईशाराको भनाई अनुसार मैले पहिलो गहुँ टिपेको दिन भनेकाले सो दिन २०४७।२।२२ को दिन थियो । विपक्षी र मेरी लाटी छोरीको विचमा करणी लिनुदिनु भएको पहिलो दिन ज्यामिरेको पुछार गैरी गनेशे भन्ने खेतको छेउमा धारीमा रहेको वगरमा त्यस्तो करणीको कार्य सम्पन्न भएको बुझियो । उक्त कुराको पुष्टि लाटीले तत्कालिन प्र.पं. श्री खडग प्रसाद शिवाकोटीका घरमा विपक्षीलाई अंकित गरेर दांत भांचिएको भाईले मलाई यसो गर्‍यो भनेकोवाट पुष्टि हुन्छ । सो कुरा वाख्रा चराउन गएका नवराजले देखेका र सो भन्दा पछाडी पनि रमिते ढुंगाको ओडार तथा किराको ठुलो भन्ने ओडार समेतमा विपक्षी र उक्त लाटी विच करणी लिनु दिनु भएको कुरा नवराज बताउदै छन । २०४७ भाद्र सम्म पनि निज लाटीको मासिक धर्म रोकिएको थाहा पाई जानकारी लिंदा माथिकै कुरा पुष्टी भएको छ । यसरी विपक्षी र उक्त मेरी लाटी छोरीका विच भएको उक्त कुरालाई लिएर निजको अभिभावकसँग कुरा गर्दा नकारात्मक व्यवहार दर्शाइएको हुँदा लोग्ने स्वास्नीको ५ क. वमोजिम मेरी लाटी छोरी र विपक्षीका विच लोग्नेस्वास्नीको नाता कायम गराई पाउँ र उक्त लाटीको गर्भमा रहेको जातक पैदा भएपछि विपक्षीबाट न्वारन समेत गराई पाउँ भन्ने समेत व्यहाराको वादीको फिराद दावी ।

            ३. विपक्षको फिराद दावी झूठा हो । विपक्ष चन्द्रमायाको छोरी परममाया आमा समानकी हुन । विपक्षी चन्द्रमायाको छोरी र मेरो विच करणी लिनु दिनु भएको छैन । पिता भारतमा नै काम गरी वस्नु हुने भएकोले पिता २०४६।११।१७ मा घर आई म र पिता २०४७।१।१३ गते नै भारत तर्फ गै २०४७ सालको वैशाख जेष्ठ र आषाढ समेत ३ महिना भारतमा नै बसि २०४७।४।९ गते मात्र घर आएको हुँ । विपक्षी परम माया र ऐ. वार्ड नं. २ बस्ने रामजी शिवाकोटीको विर्य हो म रुद्र वहादुरको होइन भन्ने समेत व्यहोराको प्रतिउत्तर पत्र ।

            ४. वादी परम मायाले बोकेको गर्भ कस्को हो भनि सोध्दा प्रतिवादीलाई समाएकोले निजकै गर्भ भन्ने विश्वास लाग्छ । २०४७ साल वैशाख १०,१२ गते निज लाटीले नै हल्ला गरेकोले थाहा पाएको हुँ भन्ने समेत व्यहोराको वादीका साक्षी खड्ग प्रसाद शिवाकोटी १, नेत्र प्रसाद शिवाकोटी समेतको वकपत्र ।

            ५. प्रतिवादीका वावु प्रेम वहादुर शिवकोटी भारत गण्डकमा २०४६ साल वैशाख १३ गते प्रतिवादी सहति गै २०४७ साल श्रावण ९ गते मात्र घर आएको हुँदा वादी र प्रतिवादी विच करणी लिनु दिनु गरेको कुनै कुरा होईन र नाता कायम हुन पर्ने होईन भन्ने समेत व्यहोराको प्रतिवादीका साक्षी विष्णु प्रसाद शिवाकोटी १, शिवलाल शिवकोटी १, समेतको वकपत्र ।

            ६. वादीको गर्भ वृष वहादुरको छोराको हो भन्ने कुरा लाटीले भनेबाट  सुनेको हुँ उक्त गर्भ बोकेको संवन्धमा वैठक वसेको ठाउँमा मेरो गर्भ हो भनि भनेकोले म सँग पैसा रु.२५००।- वार्ड अध्यक्षले मागे र केटीको मामासँग रु.१०००।- र आमासँग १०००।- मागे सो रकम मैले केटीको आमाले नदिएकाले सोही रिसईवीबाट म उपर प्रस्तुत झूठ्ठा आरोप लगाएका हुन भन्ने समेत व्यहोराको पेटवोलीबाट बुझिएका र।मजी भन्ने नन्द प्रसाद शिवाकोटीको वयान ।

            ७. वादी परममाया २०४७ साल वैशाखको १० र १२ गते आई म सँग ज्यामिरे भन्ने ठाउँमा हातको इसाराले करणी भएका हल्लाको सम्वन्धमा वताएकी थिइन । प्र. रुद्र वहादुर र लाटी विच करणी भएको हातको इसाराले भनेकी हुन । गाउँ समाजमा मिलाउन खोज्दा वृष वहादुरले समाजले निन्दा गर्छन भनि मिल्न नमानेको र जिल्ला कार्यालयमा उजुर पारि जिल्ला कार्यालयमा मिलाउन खोज्दा अदालतमा गएर मिल्ने भनेबाट समेत यी वादी र प्रतिवादी विच नाता  कायम हुन पर्ने हो भन्ने समेत व्यहोराको वुझिएका खड्ग प्रसादको वयान ।

            ८. २०४७ साल जेष्ठ २२ गतेका दिन दिनको अं. १ वजेको समयमा म र यसै मुद्दाको वादी र प्रतिवादी समेत साततल्ले जंगलमा वाख्रा हेर्न गएको थियौं । २०४७।२।२२ गते दिनको १ वजेको समयमा मलाई पानी लिन लाटा लाटीले जा भनि पठाए । के गर्दा रहेछन भनि हेर्दा निज वादी प्रतिवादी विच उक्त वनको किराको दुलो भन्ने वगरमा करणी गरी रहेको मैले आफ्नु आंखाले देखेको हुँ । मैले के गरेको भन्दा लाटीले कुटन आई आमालाई भन्दा त्यसपछि गाउँघरमा मिलाउने भन्दा नमिलाएकोले जिल्ला प्रहरी र जिल्ला कार्यालयमा समेत निवेदन दिएको हो । त्यसपछि यस अदालतमा वादीले नालिस दिएका हुन । त्यसपछि लगातार ३ दिन देखें त्यसपछि देखिन अन्य मानिसले भनेको सुनेको हुँ भन्ने समेत व्यहोराको नवराज खरेलको वयान ।

            ९. वादी निज परममाया पाठकसँग प्रतिवादी इन्द्र वहादुर शिवाकोटीको करणी लिनु दिनु भएको प्रमाणित देखिंदा निज वादी परममाया पाठक र प्रतिवादी विच लोग्ने स्वास्नी नाता कायम हुने ठहर्छ । निज वादी परममाया पाठकबाट जन्मेको जातकको २०४७।१०।१३ मा जन्मीई मृत्यु भैसकेको भन्ने वादीको निवेदन समेतबाट देखिंदा न्वारन गराउने प्रयोजन नै विद्यमान नदेखिंदा न्वारन समेत गराई पाउँ भन्ने वादी दावी पुग्न सक्तैन भन्ने समेत व्यहोराको शुरु दोलखा जिल्ला अदालतको २०४९।११।३।१ को फैसला ।

            १०. सो फैसला उपर चित्त नबुझि शुरु दो.जि.अ. को फैसला न्यायोचित नभएको हुँदा शुरु दो. जि.अ.ले नाता कायम हुने ठहर्‍याई गरेको शुरु फैसला वदर गरी पाउँ भन्ने समेत व्यहोराको वादीको पुनरावेदन पत्र ।

            ११. जिल्ला कार्यालयमा २०४७।६।२५ मा दिएको निवेदनमा वृष वहादुरको छोरा नाम नजानेको कान्छो शिवाकोटीको गर्भ भनी भनेको फिराद प्रेम वहादुरको कान्छो छोरो इन्द्र वहादुर उपर परेबाट शुरु ईन्साफ फरक पर्ने देखिंदा छलफलको निमित्त विपक्षी झिकाई पेश गर्नु भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पाटनको मिति २०५१।९।२९।६ को आदेश ।

            १२. वादी परममायाले फिरादपत्रको प्रकरण ४ मा प्रतिवादीको करणीबाट गर्भ समेत रहेको भनि जिकिर लिएकोमा स्वास्थ्य परिक्षण गराई दावी प्रमाणित गर्न सकेको देखिंदैन । यिनै वादीले जिल्ला प्रशाशन कार्यालयमा २०४७।६।२५ उजुरी दिंदा प्रतिवादीको नाम कृष्ण वहादुरको छोरा नाम नजानेको कान्छा शिवाकोटी भनी उल्लेख गरेकोमा फिराद पत्रमा वीर वहादुर भन्ने प्रम वहादुरको कान्छो छोरो ईन्द्र वहादुर शिवाकोटी भनी लेखेबाट जिल्ला प्रशाशन कार्यालयमा दिएको निवेदन र फिरादपत्रमा प्रतिवादीको वावुको नाम नै फरक देखिन आएबाट साक्षीको वकपत्र आधारमा मात्र फिराद दावी अनुसार दावी प्रातिवादीको लोग्ने स्वास्नीको नाता कायम हुने गरी गरेको दोलखा जिल्ला अदालतको फैसला मिलेको नदेखिंदा उल्टी हुन्छ भन्ने समेत पुनरावेदन अदालत पाटनको मिति २०५२।१।७ को फैसला ।

            १३. करणीको वारदात भएको र पुनरावेदीकाले गर्भधारण गरी २०४७।१०।१३ मा जातक वच्चा जन्मीएको निर्विवाद तथ्य् भएको प्रष्ट देखिंदा पुनरावेदिकाको स्वास्थ्य परिक्षण गरी दावी प्रमाणित गर्न नसकेको भनी लिएको आधार न्यायिक सिद्धान्त र तथ्त्यगत रुपमा त्रुटिपूर्ण छ । म वक्क लाटी भएको, करणी गर्ने कारणीलाई इशाराले गाउँ वैठकमा देखाएको थिएं । जि.प्र.का. मा दिएको निवेदनमा उल्लेखित नाम र फिरादमा उल्लेखित नाम भिन्न भनी लिएको आधार तथ्य्गत र सिद्धान्ततः त्रुटिपूर्ण छ । प्रमाणको मूल्याकंन गरी दोलखा जिल्ला अदालतबाट भएको फैसलालाई सदर गरी पाउँ भन्ने समेत व्यहोराको वादीको यस अदालतमा दायर पुनरावेदन पत्र ।

            १४. यसमा वादी परममाया वक्क लाटी देखिन्छ । यी वादी र प्रतिवादी वीच वनकिरीको ठुलो भन्ने वडारमा करणी लिनु दिनु भएको देख्ने चश्मदित व्यक्ति नवराजको वकपत्रबाट पुष्टि भएको पाईन्छ । जातक जन्मेको र मरेकोमा विवाद  देखिन्न । अन्य व्यक्तिको करणीबाट वादीको गर्भ रहेको कुरा मिसिलबाट प्रमाणित समेत नदेखिंदा लोग्ने स्वास्नीको नाता कायम नहुने व्यहोराको पुनरावेदन अदालत पाटनको इन्साफ मिलेको नदेखिंदा अ.वं. २०२ नं. वमोजिम विपक्षीलाई छलफलका लागि झिकाई पेश गर्नु भन्ने समेत यस अदालत संयुक्त इजलासको मिति २०५३।८।११ को आदेश ।

            १५. नियम वमोजिम पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदिकाका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री राजु आचार्यले पुनरावेदिकाका वक्क लाटी हुँदा इशाराले मात्र वताउने, गाउँ समाजमा छानविन गर्न सोधपुछ गर्दा निजले प्रतिवादीलाई समाई हातको इशाराले व्यक्त गरेको देखिन्छ । करणी लिनु दिनु गरेको देख्ने प्रत्यक्षदर्शी नवराज खरेलको अदालतमा वकपत्र भएको छ । अनौठो घटनाको स्मरण निजमा रहन सक्छ । रुद्र वहादुरले रामजी शिवाकोटीको तर्फबाट गर्भ रहेको भनी प्रतिउत्तरमा लेखेकोमा अ.वं. १३९ नं. वमोजिम निज रामजीलाई बुझदा आफ्नो गर्भ होईन भनी इन्कार गरेका छन । पुनरावेदिका वक्कलाटी भएकीले जि.प्र.का. र अदालतमा नाम फरक हुन सक्ने स्थिति भएको पेटवोलीबाट बुझिएका प्र.पं. खडग प्रसादले पनि अदालतमा वकपत्र गर्दा गाउँ समाजमा पुनरावेदिकाले वादीलाई समाई देखाएको, फिरादपत्रमा प्रतिवादीको वावुको नाम फरक परको भनी अदालतमा पुरक निवेदन दिएको देखिन्छ । मातृत्व निश्चित हुने अवस्था छ । पुनरावेदन अदालतको फैसला गल्ती हुँदा सदर हुनु पर्छ भन्ने समेत वहस गर्नु भयो ।

            १६. प्रत्यर्थी प्रतिवादी तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री भिम वहादुर गुरुङले अ.वं. ८३ नं. र लोग्ने  स्वास्नीको ५ (क) ले नावालकको हकमा मात्र संरक्षक भई फिराद गर्न पाइने व्यवस्था छ । साक्षीको वकपत्रबाट करणी भएको स्थान र मिति पृथक देखाइएको छ । प्रतिवादीको नाम पनि फरक फरक देखाइएको छ । वाख्रा चराउने नावालक नवराजको वकपत्र प्रमाणमा लिन मिल्दैन । इशारा जान्नेका सामु लाटाको इशारा जान्ने विशेषज्ञको सहायता लिएको भएमात्र विश्वसनिय हुन्छ । ठोस प्रमाणको आधार वेगर नाता कायम गर्न मिल्दैन । तर्सथ पुनरावेदन अदालत पाटनको इन्साफ सदर हुनु पर्छ भन्ने समेत वहस गर्नु भयो ।

            १७. विद्वान अधिवक्ताद्वयले गर्नु भएको वहस समेत सुनी निर्णय तर्फ विचार गर्दा यसमा प्रतिवादीले प्रतिउत्तरको प्रकरण ५ मा वादीले धारण गर्नु भएको गर्भ मेरो होईन, रामजी शिवाकोटीको हो भन्ने कुरा उल्लेख गरेको हुँदा वादीको गर्भ रहेको तथ्य्मा विवाद नउठाएकोले विवाद नभएको कुरामा स्वास्थ्य परिक्षण गराउनु पर्ने लगायतका प्रमाण बुझि रहनु पर्ने अवस्था रहदैन । वादीको गर्भबाट २०४७।१०।१३ मा जातक जन्मेको भन्ने कुरा संलग्न प्रमाण मिसिलबाट देखिन आउँछ । मौकामै वादीका तर्फबाट प्र.जि.अ. समक्ष दिएको निवेदनमा पनि गर्भ रहेको कारण उल्लेख भएको हुँदा समेत वादीको गर्भ रहेको भन्ने कुरा र मिसिल संलग्न प्रमाणबाट पुष्टाई पनि भएको देखिन आएको छ ।

            १८. वादी परममाया वक्क लाटी भएको हुँदा अ.वं. ८३ नं. वमोजिम संरक्षकले नाता कायम गरी पाउन फिराद गरेको वादीलाई करणी गरेको पटक पटक देख्ने भनिएका नवराज शिवाकोटीलाई बुझ्दा वादी दावीमा उल्लेखित कुरालाई समर्थन गरेको, तत्कालिन प्रधान पन्च खड्ग प्रसाद शिवाकोटीले वादीलाई प्रतिवादीले करणी गरेको सम्वन्धमा गाउँका मानिस समेत जम्मा भै छलफल समेत भएको भन्ने व्यहोरा उल्लेख भएका, वादीका साक्षी नेत्र प्रसाद समेतले वादीको कथनलाई पुष्टयाई गरी वकपत्र गरी दिएको समेत देखिन्छ । गाउँका मानिस भेला भै छलफल हुँदा वादीले प्र. रुद्र वहादुरलाई समाई देखाएको भन्ने पनि उल्लेख भएको पाईन्छ ।

            १९. उपरोक्तानुसार प्रतिवादी रुद्र वहादुर शिवाकोटीको करणी विर्यबाट गर्भ रहन गई जातक जन्मेको भन्ने देखिन आयो । वादी वक्क लाटी भएकी प्र. लठेउरो रुद्र वहादुर दुवै जना साथै वनमा गाई वाख्रा चराउन जाने गरेको भन्ने देखिन आउँछ । वादी प्रतिवादी विच संसर्ग हुन सक्ने सामान्य अवस्था भएको, वादी वक्क लाटीको इशारा बुझ्ने संरक्षकले फिराद गरेको, गाउँका भलादमीको भेलामा प्रतिवादीलाई देखाउने, समाउने कार्यबाट लाटालाटीको कार्यबाट पनि निजहरुको इशाराको अर्थ खुल्न आउदछ ।

            २०. अव प्रतिवादीका पिताको नाम फरक परेको भन्ने पुनरावेदन अदालतको फैसलामा उल्लेखित वुँदा तर्फ विचार गर्दा सो नाम सच्याई पाउँ भनि शुरुमा निवेदन परेको प्र.जि.अ.मा वृष वहादुरको छोरा भनेर पनि वीर वहादुरले संरक्षक भएर सहि गरेको तारीखमा वसेको, नाता कायम गर्न जानु भनी सुनाउँदा पनि वीर बहादुर भनी सहि गरेको प्रतिउत्तरमा वीर वहादुर भन्ने प्रेम  वहादुर भनेको अलावा कारणी वादी वक्क लाटी भएकीले आफूले कसैको पनि नाम उच्चारण गर्न नसक्ने अवस्था भएकोले कसको करणीबाट गर्भ रहेको भन्ने मुल प्रश्नमा अन्य मुद्दामा झै नाम नामेसी निर्णय हुँदैन । तसर्थ प्रतिवादी कान्छो शिवाकोटी भनी गाउँ घरमा वोलाउने प्रचलन रहेने हुँदा कारणीको नाममा विवाद नभएको अवस्था हुँदा समेत प्रस्तुत मुद्दामा वावुको नाममा विविधता आएको कारणले मुद्दाको मुल विषयमा निर्णय गर्नमा तात्विक महत्व नराख्ने हुँदा समेत पुनरावेदन अदालत पाटनबाट वादी दावा नपुग्ने ठहराएको मिति २०५२।१।७ को फैसला नमिलेकोले उल्टी हुने । शुरु दोलखा जिल्ला अदालतबाट मिति २०४९।११।३ मा वादी प्रतिवादी विच लोग्ने स्वास्नीको नाता कायम गर्ने गरेको इन्साफ मिलेको देखिंदा सदर हुन्छ । अरु तपसिल वमोजिम गर्नु ।

 

तपसिल

माथि ठहर खण्डमा लेखिए वमोजिम पुनरावेदन अदालत पाटनको मिति २०५२।१।७ को फैसला उल्टी भै शुरु दोलखा जिल्ला अदालतको मिति २०४९।११।३ को फैसला सदर हुने ठहरेकोले पुनारवेदन अदालत पाटनको उक्त फैसला वमोजिम गर्नु परेन .. १

मिसिल नियमानुसार गरी बुझाई दिनु ...... १

 

उक्त रायमा म सहमत छु ।

 

न्या. राजेन्द्रराज नांख्वा

 

इति सम्वत् २०५४ साल वैशाख २ गते रोज २ शुभम्

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु