शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७८४४ - कर्तव्य ज्यान

भाग: ४९ साल: २०६४ महिना: भाद्र अंक:

निर्णय नं. ७८४४    ने.का.प.२०६४ अङ्क ५

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी

माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ

संत् २०६० सालको फौ.पु.नं. ...३३७५

संत् २०६० सालको निवेदन नं. .....४६३८

संत् २०६१ सालको साधक नं. ....४९४

फैसला मितिः २०६३।११।२७

 

विषयः पुनरावेदन सरह मुद्दा हेरी पाउँ ।

 

पुनरावेदक

वादीः मानकुमारी थापाको जाहेरीले, नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी

प्रतिवादीः मोरङ जिल्ला विराटनगर उ.म.न.पा. वडा नं. २० घर भै हाल रुपन्देही जिल्ला बुटवल             नगरपालिका वडा नं. १३ बस्ने कन्हैया राय कुर्मी समेत

 

निवेदक/प्रतिवादीः रुपन्देही जिल्ला बुटवल न.पा. वडा नं. १३  बस्ने कृष्ण  काकी क्षेत्रीको हकमा           निजको पिता मोहन सिंह कार्की

विरूद्ध

प्रत्यर्थी/वादीः मनकुमारी थापाको जाहेरीले, नेपाल सरकार

 

वादीः मानकुमारी थापाको जाहेरीले, नेपाल सरकार

विरूद्ध

प्रतिवादीः रपन्देही जिल्ला बुटवल नगरपालिका वडा नं. १३ बस्ने कृष्ण कार्की के.सी. 

 

मुद्दाः कर्तव्य ज्यान ।

 

§  अपराध घटेको तथ्य पुष्टि भइरहेको अवस्थामा साना तिना प्राविधिक विषयको पछि लागी अभियुक्तलाई सफाइ दिदै जाने हो भने समाजले अपराधको भयबाट कहिल्यै मुक्ति नपाउने र अपराध गर्नेलाई दण्डित गर्ने फौजदारी न्यायको अभिष्ट समेत पराजित हुने ।

§  फौजदारी कसूर प्रमाणित हुन मनसाय तत्व अनिवार्य हुने फौजदारी न्याय प्रणालीको आधाभूत मान्यता हो । मनसायको परिभाषा, विस्तार र सीमाको सम्बन्धमा फौजदारी कानूनमा स्पष्ट रुपमा परिभाषित गरी किटान नगरिएको भए पनि फौजदारी विधिशास्त्रको स्वीकृत मान्यता र हाम्रो फौजदारी कानूनको आवश्यकतानुसार प्रयोगको सिलसिलामा त्यसको व्याख्या गर्नुपर्ने ।

§  मुलुकी ऐन ज्यान सम्बन्धीको १ नं. मा रहेको कानून बमोजिम बाहेक कसैले कुनै मानिसको ज्यान मार्न, मार्न लगाउन वा मार्नको उद्योग गर्न हुँदैनभन्ने कानूनी प्रावधानले समष्टिगत रुपमा गैरकानूनी ढंगबाट कसैको ज्यान मार्ने कार्यलाई निषेध गरेको पाइन्छ । उक्त कानूनी व्यवस्था बमोजिमको फौजदारी दायित्वबाट छुटकारा पाउन मानिस मारेको कार्य कानून अनुरुपको हो भन्ने पुष्टि प्रतिवादीले गर्न सक्नु पर्ने ।

(प्रकरण नं.४६)

§  कुनै निश्चित घटना कुनै अवस्थामा दोषपूर्ण मानिन्छ भने त्यो कार्य अनिच्छित वस्तु (व्यक्ति वा सम्पत्ति) माथि घट्न पुग्छ भने पनि त्यसमा मनसाय नरहेको भन्ने कुराको महत्व रहँदैन। उसको अपराधिक दुराशय एउटा वस्तुबाट अर्कमा सर्दछ भन्ने कानूनी अनुमान रहन्छ। यस्तो अवस्थामा अभियुक्तलाई कानूनी प्रयोजनको लागि मनसायपूर्वक प्रहार गरेको ठानी व्यवहार गरिनु पर्ने ।

(प्रकरण नं.४९)

§  प्रतिवादीले लक्षित गरेको व्यक्तिलाई ताकी प्रहार गरेको चोट गैरकानूनी छ भने सो चोटको प्रहारबाट जोसुकैलाई आहत गरे पनि प्रतिवादीको कसूरको अपराधिकता प्रवाहित भइरहन्छ र सोबाट पीडित जोसुकै उपरको कार्य आपराधिकताको सिमा भित्र पर्न जाने ।

§  कुनै कार्य गैरकानूनी हो वा होइन भनी छुट्याउन साधारणतया कानूनसम्मत उद्देश्यको लागि गरिएको कार्य हो वा होइन भनी हेर्नु पर्दछ र कानूनसम्मत उद्देश्यको लागि गरिएको कार्य होइन भने गैरकानूनी कार्यको परिणामको दायरा कसलाई, कसले, कति चोट परेको छ भन्ने आधारमा किटान गर्नुपर्ने ।

§  फौजदारी कानूनमा कतिपय अवस्थामा निरपेक्ष दायित्व किटान गरिएको हुन्छ । त्यस्तोमा उद्देश्य जे भए पनि परिणाम खरा छ भने त्यसका लागि उत्तरदायित्व बहन गर्नुपर्ने ।

     (प्रकरण नं.५२)

§  समाजमा वस्ने कसैले पनि आफ्नो व्यवहार कानूनसम्मत राख्नु जरुरी छ । आफ्नो कामको दायित्वबाट उन्मुक्ति पाउनलाई आफ्नो काम कानूनसम्मत छ भनी देखाउनै पर्ने ।

§  यदि कामको प्रकृतिनै गैरकानूनी छ र त्यसले दुष्परिणाम ल्याउँछ भने त्यहाँ उसको गैरकानूनी मनसाय र काम विस्तृत भै पीडित भएको अन्य व्यक्तिसम्म सरेको हुन्छ भनी मान्नुपर्ने ।

(प्रकरण नं.५३)

§  लक्षित व्यक्ति उपर कार्य गर्दा जुन अपराध हुन सक्थ्यो, उक्त कार्य अर्क अनिच्छित व्यक्ति उपर भएमा पनि सोही अपराध मानिन्छ । एउटा मानिसलाई मार्ने नियतले गरेको प्रहार अर्क अनिच्छित मानिसलाई लागेर मृत्यु हुन पुगेको अवस्थामा कर्ताको आपराधिक मनसाय समाप्त भएको मानिने नभई सरेको (Transferred) मानिने हुँदा मनसाय प्रेरित हत्याको फौजदारी दायित्व सिर्जना हुने ।

(प्रकरण न.५४)

 

पुनरावेदक वादी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री डिल्लीरमण आचार्य

प्रत्यर्थी प्रतिवादी तर्फबाट :

अबलम्वित नजीरः ने.का.प. १४८६

 

आदेश

न्या. कल्याण श्रेष्ठः पुनरावेदन अदालत बुटवलको मिति २०६०।३।४ को फैसला उपर वादी नेपाल सरकारको तर्फबाट न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ख) अन्तर्गत यस अदालतमा पुनरावेदन परेको, प्रतिवादी कृष्ण कार्की के.सी. का हकमा ऐ. दफा १० अन्तर्गत साधक पेश हुन आएको र निजै प्रतिवादीका हकमा ऐ. दफा १०(४) अन्तर्गत पुनरावेदन सरहको निवेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः

२.    मिति २०५५।६।१६ गते साँझ ८:३० बजेको समयमा कान्छो छोरा वर्ष १९ को शुकु थापा मगर साथीको घरमा जान्छु भनी बाहिर गएका पछिसम्म घर आएनन् । निज शुकु थापासँग बुटवल नगरपालिका वडा नं. ११ बस्ने नगेन्द्र थापा, कन्हैया राय कुर्मी, दिपक राय कुर्मी, कृष्णबहादुर कार्की (के.सी.) समेतको के कुन कुरामा झगडा भै निज ४ जनाले मेरो छोरा शुकु थापालाई धारिलो हतियार छुरी प्रहार गरी मृत्यु भएको भन्ने कुराको खर काले भन्ने नगेन्द्र थापाले गरेकोले तत्काल छिमेकी सहित घटनास्थलमा गै हेर्दा छोराको छातीको दुई दुधको बीचमा धारिलो हतियार छुरा प्रहार भएको घाउचोट देख निज प्रतिवादीहरूलाई आवश्यक कारवाही गरिपाऊँ भन्ने समेत व्यहोराको मान कुमारी थापाको जाहेरी दरखास्त ।

३.    मिति २०५५।६।१६ गते राती करि २०:३० बजेको समयमा बुटवल नगरपालिका वडा नं. १३ कालीकानगर शान्तिपथको चोकमा छुरा हानाहान भएको छ भन्ने खर पाई तत्काल घटनास्थलतर्फ जाँदा चोकमा रगत रहेको, सो भन्दा केही दक्षिण बाटोको किनारामा फलामको विड भएको हँसिया फेला परेको र पूर्णलाल भण्डारीको घरको आँगनमा पुगी सोधपुछ गर्दा शुकु थापा उत्तानो अवस्थामा छातीबाट रगत आई कपडा समेत भिजेको, सोही स्थानमा नगेन्द्र थापा, कन्हैया राय, दिपकराय, कृष्ण के.सी. समेतले छुरा तथा हतियार प्रयोग गरेको चोट पिडाबाट मृत्यु भएको हो भन्ने बुझिएको हुँदा नगेन्द्र थापा, कन्हैया राय, दिपक रायलाई पक्राउ गरी दाखेल गरेको छु भन्ने प्र.ना.नि. लक्ष्मण पुनको प्रतिवेदन ।

४.    जिल्ला रपन्देही बुटवल नगरपालिका वडा नं. १२ स्थित पूर्व सिद्धार्थराजमार्ग कालिकानगर प्रतिक्षालय, पश्चिम शिवलाल श्रीसको घर, दक्षिण कोशीराम वकीलको घर तथा शान्तिपथको चोक बाटोबाट आवतजावत गर्ने गल्ली गोरेटो बाटो, उत्तर भिम नारायणको घर यति ४ किल्ला भित्र पर्ने सिद्धार्थ राजमार्ग बाटोबाट ७५ फिट पश्चिम शिवलाल श्रीसको घर अगाडि बेलको फुलको रुखको फेदमा काठको बिँड भएको धारिलो अर्को पट्टि माछाकाँडे दाँत भएको चौडाई सवाएक इन्च बिँड देखि टुप्पो सम्म १० इन्च लम्बाई, बिँड साढे तीन इन्च लम्बाई, बिँडको काँजोदेखि चुच्चोसम्म साँढे ६ इन्च लम्बाईको धारिलो छुरी १ फेला परेको भन्ने बरामदी मुचुल्का।

५.    बुटवल नगरपालिका वडा नं. १३ शान्तिपथ जाने बाटो चोकमा अं. २ फुट गोलाईमा रगत भै सो रगत मिति २०५५।६।१६ गते राती परेको पानीले पाखलिए जस्तो ढुङ्गाहरूमा रगतको छिटाहरू लागेको देखिएको सो स्थान देखि १० मि. शान्तिपथ जाने ग्राभेलिङ्ग बाटोको पश्चिम किनारामा छालाको लोती सहित पौने ७ इन्च लम्बाई, पौने २ इन्च चौडा भएको छालाको दाप फेला परेको, सो देखि ८ मिटर दक्षिण चौरमा लम्बाई १ फुट ३ इन्चको फलामको बिँड भएको हँसिया फेला परेको भन्ने समेत घटनास्थल प्रकृति विवरण ।

६.    उक्त घटनास्थल देखि दक्षिण पश्चिम २५ मिटर पूर्णबहादुर भण्डारीको घरको उत्तर पट्टि आँगनमा वर्ष १९ को शुकु थापाको लास रहेको मृतकको घाँटीको टिसर्ट आधी इन्च चौडा, १ इन्च लम्बाई काटिई छातीमा आधा इन्च चौडा १ इन्च लम्बाई छुरा हानेको घाउ देखिएको भन्ने लास जाँच प्रकृति मुचुल्का विवरण ।

७.    पूर्व कालिकानगर जाने पक्की बाटो, पश्चिम न्यु होराईजन जाने कच्ची बाटो, उत्तर चित्रबहादुर गुरुङको पक्की घर, दक्षिण चक्रपाणी उपाध्यायको पक्कीघर यती ४ किल्ला भित्र खाल्टोमा खुकुरी थान १ फेला परेको भन्ने बरामदी मुचुल्का रहेछ ।

८.    कन्हैया रायको घाँटीको नजिकै घाउ लागेको भन्ने र उर्मिला रायको बाँया हातको ३ वटा औलामा काटेको घाउ लागेको भन्ने घाउँ जाँच केश फाराम ।

९.    मुटुमा घातक चोट परी मृत्यु भएको भन्ने मृतक शुकु थापाको लाश पोष्टमार्टम रिपोर्ट ।

१०.    मिति २०५५।६।१६ गते राती म आफ्नै घरमा थिएँ । रातको ८:३० बजेको समयमा कृष्ण कार्की (के.सी.) ले मलाई बाहिर बोलाई बाटो तर्फ आएपछि निजले मलाई गालामा १ थप्पड हिर्काएकोले किन हिर्काएको भनी भन्दा मृतक शुकु थापाले हातमा खुकुरी, नगेन्द्र थापाले हसिया लिई दौडिई म भएको ठाउँमा आई मलाई पंखा चोर लगाउने भन्दै शुकु थापाले मलाई खुकुरीले हान्न लाग्दा चुच्चो भागले मेरो दायाँ तर्फको च्यापुमुनी सानो घाउ लाग्न गएको तर पनि मैले समाती हिर्काउन मिलेन । निज र म धकेला धकेल गरेको अवस्थामा कृष्ण कार्कीले आफ्नो हातमा भएको छुरीले मलाई हिर्काउन लाग्दा सो चोट छल्न मैले शुकु थापालाई धकेल्दा सो छुरीको चोट शुकु थापाको छातीमा लाग्न, रोपीन गै भुईमा पल्टिएपछि निजको मृत्यु भएको हो भन्ने समेत प्रतिवादी कन्हैया रायले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान ।

११.    उक्त मिति समयमा मलाई पंखा चोर लगाएको छ, कन्हैया रायलाई आज कुटपिट गर्न जाउँ भनी शुकु थापाले कृष्ण कार्कीलाई र मलाई भनेबाट मैले हँसिया, शुकु थापाले सानो खाले खुकुरी र कृष्ण कार्कीले चक्कु छुरी लिई गै बाटोमा बसी कृष्ण कार्कीले कन्हैया रायलाई बोलाई लिई आउन कन्हैयाको डेरामा गए । कन्हैयालाई कृष्ण कार्कीले लिई आउँदै गर्दा बाटोमा एक थप्पड हिर्काएपछि कन्हैयाले पनि शुकु थापालाई हिर्काए त्यसपछि मैले दिपक रायलाई समाती बसें, शुकु थापा, कृष्ण कार्की र कन्हैया रायले हानाहान घचेटा घचेट गर्दै केही पर गएका थिए । शुकु थापाले कन्हैयालाई खुकुरीले हिर्काउँदा बचाउ गरी धकेला धकेल गर्दै रहेको अवस्थामा कृष्ण कार्कीले कन्हैया रायलाई छुरीले हिर्काउन चोट छाडेको अवस्थामा उक्त चोट कन्हैया रायलाई छलिई शुकु थापाको छातीमा रोपिई मृत्यु भएको हो भन्ने प्रतिवादी नगेन्द्र थापाले गरेको बयान।

१२.   उक्त मिति समयमा म मेरै घरमा थिएँ । सोही बेला कृष्ण कार्कीले मेरो भाई कन्हैयालाई बाटोमा लगेपछि झगडा भएको आवाज सुनी म पनि उक्त स्थानमा जाँदा शुकुले कन्हैयालाई र कन्हैयाले शुकुलाई एक एक थप्पड हिर्काएको देखी किन हिर्काएको भनी मैले शुकु थापालाई एक थप्पड हिर्काएकोमा सोही खत नगेन्द्रले मलाई हँसिया देखाई चुप लाग नत्र छप्काउने छु भने पछि निज र मेरो झगडा हुँदै थियो । शुकु थापाले खुकुरी निकाली कन्हैयालाई हिर्काउन लाग्दा निजको हात समाती बचाउँदै गरी धकेला धकेल गर्दै गरेको अवस्थामा कृष्ण कार्कीले छुरी निकाली कन्हैया रायलाई हिर्काउन छोडेको चोट धकेला धकेलको मौका पारी कन्हैयालाई छलीई सो चोट शुकु थापाको छातीमा लागि रोपीई भुईमा लडे पछि कृष्ण कार्की भागेका हुन् । त्यसको केही बेर पछि शुकु थापाको मृत्यु भएको हो । निज शुकु थापालाई मैले पनि हिर्काएको र सो खत मान्छे मार्न सक्छ भन्ने देखि रोक्न नसकेको उल्लेखित परिस्थिति र क्रियाकलापले गर्दा म समेतको कारणबाट निज शुकु थापाको मृत्यु भएको हो भन्ने समेत दिपक रायले गरेको बयान ।

१३.   उक्त मिति र समयमा मेरो कान्छो छोरा कन्हैयालाई कृष्ण कार्कीले बोलाई बाटोमा कुटपिट झगडा गरेको सुनी म र जेठा छोरा दिपक राय समेत भै सो ठाउँमा गै हेर्दा नगेन्द्रको हातमा हँसिया कृष्ण कार्कीको हातमा छुरी, शुकु थापाको हातमा खुकुरी देखे । ती मध्ये शुकु थापाले कान्छो छोरा कन्हैया रायलाई खुकुरीले हिर्काउँदा निजको हात समाती ताना तान धकेला धकेल गर्दा मैले चिच्याई गुहार भनी कराउँदा चुप तेरा आमा छोरालाई सिध्याई दिन्छु भनी नगेन्द्र थापाले हँसिया देखाई म र छोरा दिपक रायलाई धम्काउँदा शुकु थापा चुप लागेर स साले कृष्ण र म भएपछि यस कन्हैयाका दाजु भाईलाई ठिक पार्छौ भनेको कुरामा नगेन्द्र थापालाई रिस उठी उल्टै मलाई गाली गर्छस भनी कन्हैया र शुकु थापाबीच धकेला धकेल भै शुकु थापालाई नगेन्द्र थापाले लात्ताले हिर्काउँदा र कृष्ण कार्कीले हातमा लिएको छुरीले कन्हैया रायलाई हिर्काउन छाडेको चोट एकसाथ पर्न गई सो चोट कन्हैयाबाट छलिई शुकु थापाको छातीमा रोपीन गएबाट भूँईमा पल्टी त्यसपछि निज नगेन्द्र थापाले बोक ए बुढी भनेकोले डराई मैले एकापट्टिको खुट्टा, छोरा दिपकले अर्को पट्टिको खुट्टा र कृष्ण कार्की तथा नगेन्द्रले दुई हात समाती शुकुलाई उठाई मेरो डेरा अगाडि खाली जग्गामा उज्यालोमा राखी हेर्दा छातीमा प्वाल परी रगत वगेको थियो । बोलाउँदा हल्लाउँदा मृत्यु भएको थाहा पाएपछि कृष्ण कार्की तत्काल भागे । नगेन्द्रले पुलिसलाई यो कुरा भनिस भने तँलाई पनि यस्तै गरी दिन्छु भनी धम्की दिदै हिड्न लागेको अवस्थामा प्रहरीहरू गएको देखी भाग्न लागेका थिए । प्रहरीले कन्हैया, दिपक र नगेन्द्रलाई पक्राउ गरेका हुन् भन्ने समेत घटनाको अवस्थामा प्रत्यक्ष देख्ने उर्मिला रायले प्रहरीमा गरेको कागज ।

१४.   उक्त मिति, समय र स्थानमा झगडा कुटपिट भएको हो । बदमासहरूले खवरदार कोही घरबाट वाहिर निस्कियो भने भनी धम्की दिएको आवाज सुनेको कारण कुनकुन व्यक्ति हुन् भन्ने कुरा यकिन भएन । पछि शुकु थापाको मृत्यु भएपछि प्रहरीको गाडी पुगे पश्चात सो स्थानमा गई हेर्दा बदा शुकु थापाको छातीमा छुरीको घाउ चोट लागि मृत्यु भएको र घटनास्थलबाट कृष्ण कार्की भागेको भन्ने कुरा देखी सुनी थाहा पाएको हो भन्ने समेत व्यहोराको घटनास्थलमा बुझिएका शान्ति गुरुङ, नारायण भण्डारी, देवी पाण्डे र दिल कुमारी समेतको अलगअलग प्रहरीमा भएको कागज ।

१५.   मृतक शुकु थापा र कन्हैयाका बीच हाना हान धकेला धकेल हुँदा कृष्ण कार्की       (के.सी.) ले हातमा लिई राखेको छुरीले कन्हैया रायलाई हान्न लाग्दा सोही छुरीले शुकु थापालाई लाग्न गै सोही चोटका कारण मृतक शुकु थापाको मृत्यु भएकोले निजलाई ज्यान सम्बन्धीको महलको १३(१) नं. बमोजिम प्रतिवादी कन्हैया राय र मृतकले समातासमात गरी हात हालेको विषयमा मृतकसँग रिसइवी भएको भन्ने देखिँदा निज कन्हैया रायलाई ऐ. को १३(४) नं. अनुसार तथा प्रतिवादी मध्येका नगेन्द्र थापा तथा दिपक रायले बचाउने प्रयास नगरी मतियार मतलवीको रुपमा हेरी बसेकोले ऐ. को १७ (३) नं. अनुसार सजाय गरिपाऊँ भन्ने समेत अभियोग पत्र माग दावी ।

१६.    मिति २०५५।६।१६ गते म दिउसो फिलीम हेर्न गएको थिएँ । करिव ८:१५ बजेको समयमा डेरामा आउँदा खाना पाकेको थिएन । म पल्टी रहेको थिएँ । प्रतिवादी कृष्ण मेरो डेरामा आई कन्हैयालाई बोलाएर समातेर बाटो तिर ल्याए । कृष्णले मेरो भाई कन्हैयालाई पिट्न थाल्यो र म छुट्याउन जाँदा प्रतिवादी नगेन्द्र र मेरो बीचमा झगडा भयो । त्यही समयमा मलाई कृष्णले ३/४ फाईट हाने । त्यही समयमा मृतक प्रतिवादी कन्हैया भएको ठाउँमा आए । मृतकको हातमा चक्कु खुकुरी के थियो राम्ररी हेर्न पाईन । उक्त हतियार त्यँही खसाले । पछि फेरि हँसिया ल्याएर आयो । उक्त हँसिया नगेन्द्रको हातमा थियो । नगेन्द्रले सबैलाई काटी दिन्छु भनी हँसिया घुमाउन लाग्यो र म नगेन्द्रसँग लड्न गएँ । कन्हैया र मृतक धकेला धकेल गर्दै थिए । कन्हैयाले केही उछिट्याई दिएर प्रहरी बोलाउन भनी गए । मृतक ड्याम्म ढले के कस्तो चोटले ढले म केही टाढा हुँदा भन्न सक्दिन भन्ने समेत व्यहोराको प्रतिवादी दिपक राय कुर्मीले शुरु जिल्ला अदालतमा गरेको बयान ।

१७.   मिति २०५५।६।१६ गते म मेरो गाउँमै थिएँ प्रतिवादी कन्हैया र शुकु थापा बीचमा पंखा कसको हो थाहा भएन चोरेको विषयमा झगडा भएपछि मृतकले हामीसँग गुहार मागे पछि म कृष्ण र मृतक केही अगाडि गयौं । हामी जाँदा मृतक, प्रतिवादी कन्हैया र दिपक रायको झगडा भई रहेको थियो । कृष्ण र म घटनास्थलमा नपुग्दै मृतक नमालुम को कसले हानी पल्टीएको देखेका हौं । दाजु भाई प्रतिवादी दिपक राय र कन्हैया रायको झगडा परेकोले तिनीहरूले नै हानेकोले मृतकको मृत्यु भएको होला । अध्यारो हुँदा मैले देखिन । प्रहरीले बयानमा के के लेखे मलाई थाहा छैन । बयान पढी बाची सुनेको होइन, सही पछि गरेको हुँ । बरामद भएको सामान प्रतिवादी दिपक रायको घरको हो । मैले आँखाले देखिन, कहाँबाट बरामद भएको हो भन्न सक्दिन भन्ने समेत नगेन्द्र थापा मगरले शुरु जिल्ला अदालतमा गरेको बयान ।

१८.   मिति २०५५।६।१६ गतेका दिन म मेरो घरमा थिएँ । म घरमा सेको समयमा रातको ८:१० बजे प्रतिवादी कृष्ण कार्की मेरो घरमा आई मलाई एक छिन काम छ बाहिर आइज भनी बोलाए । म बाहिर आएपछि मलाई कुटपिट गरे । मैले किन पिटिस भनी भन्दा मृतकले खुकुरी निकालेर मलाई हान्न खोजेका थिए । मैले निजले हान्न लागेको खुकुरी छेकी दिएर केही तर्किएँ । मेरो दाजु दिपक र नगेन्द्रको पुनः झगडा भयो ।  दिपक रायलाई नगेन्द्रले कुटपिट गरी कुलातिर पल्टेको थियो । म दाजुलाई हेर्न जाँदा मृतकले मलाई खुकुरले चिउँडो मुनि हान्दिए  र मैले निजलाई धकेली दिएँ । मृतक पल्टिन गयो । त्यसपछि के भयो कसले कसलाई हाने मैले केही थाहा पाईन । प्रहरीमा गरेको बयान मलाई पढी बाची सुनाएको होइन मृतकलाई कसले छाडेको चोटले गर्दा निजको मृत्यु भयो मलाई थाहा छैन भन्ने समेत व्यहोराको प्रतिवादी कन्हैया राय कुर्मीले शुरु जिल्ला अदालतमा गरेको बयान ।

१९.    मिति २०५५।६।१६ गते म त्रिवेणीमा थिएँ । मलाई सन्चो नभएकोले काकाको साथमा काका पनि त्रिवेणीनै बस्ने हुँदा मिति २०५५।६।१५ मा नै गएको थिएँ । ५/६ दिन जति औषधी उपचार गराई घरमा फर्की आएको हुँ । सह प्रतिवादीसँग मेरो चिनजान छ । मृतक शुकु थापासँग पनि चिनजान छ । उक्त मिति २०५५।६।१६ मा निज मृतक र प्रतिवादीहरू कसैसँग पनि मेरो भेटघाट भएको थिएन भन्ने समेत व्यहोराको फरार रहेका प्रतिवादीले मिति २०५५।९।१० का दिन निवेदन साथ हाजिर भै गरेको इन्कारी बयान ।

२०.   आदेशानुसार बुझिएका प्रतिवादीका साक्षीले गरेको बकपत्र समेत मिसिल सामेल रहेछ ।

२१.   यसमा शुकु थापाको लाश जाँच मुचुल्का, पोष्टमार्टम रिपोर्ट समेतबाट मुटुमा चोटको कारण निजको मृत्यु भएको देखिन्छ । प्रतिवादी मध्येका कन्हैया राय कुर्मीले अधिकार प्राप्त अधिकारी समक्ष बयान गर्दा कृष्ण कार्की (के.सी.) ले छुरी प्रहार गर्दा धकेली दिएको कारण शुकु थापालाई लाग्न गै निजको मृत्यु भएको भनी बयान गरेको र अदालतमा बयान गर्दा छुरी हानेको कुरामा इन्कारी रही बयान गरेता पनि निजलेनै धकेलेको कारणबाट मृतक लडेको कुरा स्वीकार गरेको देखिन्छ । मिसिल संलग्न प्रमाणबाट यिनै प्रतिवादीको चोट समेतको कारणबाट मृतक शुकु थापाको मृत्यु भएको देखिदा निज उपर मुलुकी ऐन, ज्यान सम्बन्धीको १३(४) नं. को सजायको माग दावी भए पनि ऐ. को १३ (३) नं. बमोजिम सजाय हुने ठहर्छ । यी प्रतिवादी मृतकलाई मार्नको लागि गएको भन्ने नदेखिई पंखा चोरीको आरोप लगाएको भनी मृतक नै यी प्रतिवादीको घरमा गै झगडा भएको अवस्थामा मृतकको मृत्यु भएको देखिँदा कानून बमोजिम सजाय गर्दा चर्क पर्ने देखिएकोले निज प्रतिवादी कन्हैया राय कुर्मीलाई १५ वर्ष कैद सजाय गर्न मनासिव देखिएकोले अ.वं. १८८ नं. बमोजिम अलग्गै राय व्यक्त गरिएको छ । प्रतिवादी मध्येका कृष्ण कार्की (के.सी.) अदालतमा कसूरमा इन्कार रही बयान गरेको र सो इन्कारी बयान निजका साक्षीको वकपत्रद्धारा समर्थन भएको छ । प्रतिवादी दिपक राय कुर्मी र नगेन्द्र थापा मगर अधिकार प्राप्त अधिकारी र अदालतमा समेत आरोपित कसूरमा इन्कार रही बयान गरेका छन् । निज प्रतिवादीहरू उपरको अभियोग दावी पुष्टि हुने गरी वादी पक्षका साक्षी अदालतमा उपस्थित भई वकपत्र गर्न नसकेको समेतबाट प्रतिवादी कृष्ण कार्की (के.सी.), दिपक राय कुर्मी र नगेन्द्र थापा मगरले सफाइ पाउने ठहर्छ भन्ने समेत व्यहोराको रुपन्देही जिल्ला अदालतबाट मिति २०५७।४।३० मा भएको फैसला ।

२२.   म आफ्नै कोठामा भएको अवस्थामा बाहिर बोलाई कृष्ण कार्की (के.सी.) ले गलामा हिर्काए । मृतक शुकु थापाले खुकुरी, नगेन्द्र थापाले हँसिया लिई आई मलाई पंखा चोर लगाउने भन्दै शुकु थापाले मलाई खुकुरीले हान्न लाग्दा खुकुरीको चुच्चो भागले मेरो च्पाप्पु मुनी लागेको, निज र म धकेला धकेल गरेको अवस्थामा कृष्ण कार्कीले चलाएको खुकुरीले मृतक शुकु थापाको छातीमा लाग्न गै निजको मृत्यु भएको हो । कृष्ण कार्की (के.सी.) र मृतक शुकु थापाले म वसी रहेको कोठाबाट वाहिर बोलाई मलाई मार्ने मनसायले खुकुरी छुरीले प्रहार गरेको र मैले आफ्नो ज्यान बचाउनको लागि मृतकसँग धकेला धकेल सम्म भएको कुरा मिसिल संलग्न प्रमाण कागजबाट देखिई रहेको अवस्थामा कसूरदार ठहर गरी सजाय गरेको रुपन्देही जिल्ला अदालतको फैसला त्रुटीपूर्ण हुँदा बदर गरी सफाइ पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी कन्हैया राय कुर्मीको पुनरावेदन अदालत बुटवलमा पर्न आएको पुनरावेदन पत्र ।

२३.   मौकामा पक्राउ परेका प्रतिवादी कन्हैया राय कुर्मी, दिपक राय कुर्मी र नगेन्द्र थापाले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान समेतका मिसिल संलग्न प्रमाणबाट कृष्ण कार्की (के.सी.) ले कन्हैया राय कुर्मीलाई प्रहार गरेको छुरी शुकु थापालाई लाग्न गै सोही चोटको कारणबाट निजको मृत्यु भएको स्पष्ट देखिएको छ । प्रतिवादी कृष्ण कार्की (के.सी.) ले छुरी प्रहार गरेको र अन्य प्रतिवादीहरू बारदात स्थलमा उपस्थित रहेको कुरा मौकामा कागज गर्ने व्यक्तिको लेखाई समेतबाट समर्थित भई रहेको अवस्थामा प्रतिवादी कृष्ण कार्की (के.सी.), दिपकराय कुर्मी र नगेन्द्र थापाले अभियोग दावीबाट सफाइ पाउने गरी भएको फैसला त्रुटीपूर्ण छ । कन्हैया राय कुर्मिलाई मात्र सजाय गरेको अवस्थामा निजलाई ज्यान सम्बन्धीको १३(१) नं. बमोजिम सजाय गर्नु पर्नेमा ऐ. को १३(३) नं. बमोजिम सजाय गरेको मिलेको छैन । तसर्थ रपन्देही जिल्ला अदालतबाट भएको फैसला बदर गरी सबै प्रतिवादीहरूलाई अभियोग माग दावी बमोजिम सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको वादी तर्फबाट पुनरावेदन अदालत बुटवलमा पर्न आएको पुनरावेदन पत्र ।

२४.   यसमा मृतकको मृत्यु छुरी प्रहार गरेको कारणबाट भएको भन्ने पोष्टमार्टम रिपोर्टबाट समेत देखिन आएको, प्रतिवादी कन्हैया राय कुर्मीले अनुसन्धान अधिकारी समक्ष बयान गर्दा कृष्ण कार्की (के.सी.) ले प्रहार गरेको छुरीबाट मृतक शुकु थापालाई लागेको भन्ने किटानी पोल गरेको, अन्य प्रतिवादी नगेन्द्र थापा मगर र दिपकराय कुर्मीले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयानमा समेत छुरी कृष्ण के.सी. ले प्रहार गर्नु भएको हो भनी किटानी साथ लेखाई दिएको र मिसिल सामेल रहेको अन्य सवुद प्रमाणहरूबाट समेत कन्हैया राय कुर्मी बाहेक अन्य प्रतिवादीहरू समेत वारदात स्थलमा रहे भएको देखिन आएको अवस्थामा कृष्ण कार्की, नगेन्द्र थापा मगर र दिपक राय कुर्मी समेतका प्रतिवादीहरूलाई आरोपित कसूरबाट सफाइ दिने गरेको शुरु रुपन्देही जिल्ला अदालतको फैसला प्रमाण मूल्याङ्कनको परिप्रेक्ष्यमा फरक पर्न सक्ने हुँदा छलफलको लागि सफाइ दिईएका कृष्ण कार्की (के.सी.) समेतका तीनै जना प्रतिवादी प्रत्यथीहरूलाई झिकाई नियमानुसार गरी पेश गर्नु भन्ने मिति २०५८।७।२१ को पुनरावेदन अदालत बुटवलको आदेश ।

२५.   यसमा प्रतिवादी कन्हैया राय कुर्मी र प्रतिवादी कृष्ण कार्की (के.सी.) को हकमा रुपन्देही जिल्ला अदालतले मिति २०५७।४।३० मा गरेको फैसला नमिलेकोले केही उल्टी भई प्रतिवादी कृष्ण कार्की (के.सी.) लाई ज्यान सम्बन्धीको १३(३) नं. अनुसार जन्मकैदको सजाय र प्रतिवादी कन्हैया राय कुर्मीलाई ज्यान सम्बन्धीको १७(२) नं. अनुसार ५ वर्ष कैदको सजाय हुने ठहर्छ । साथै प्रतिवादी कृष्ण कार्की (के.सी.) लाई १० वर्ष मात्र कैद गर्न उचित हुने भनी अ.वं. १८८ नं. अनुसार राय व्यक्त गरिएको छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत बुटवलको मिति २०६०।३।४ को फैसला ।

२६.   पुनरावेदन अदालतको उक्त फैसलामा चित्त बुझेन । प्रतिवादी कन्हैया राय कुर्मी समेतको कर्तव्यबाट मृतक शुकु थापाको मृत्यु भएकोमा कुनै विवाद देखिदैन । निज प्रतिवादीले मृतकको जिउमा हात हाली पक्री समाती धकेलेको समेत कारणबाट अर्को प्रतिवादीले छुरी प्रहार गर्न सफल भई सोही कारणबाट मृत्यु भएको तथ्य लाशजाँच मुचुल्का, पोष्टमार्टम रिपोर्ट समेतबाट पुष्टि भई रहेको छ । निज उपर ज्यान सम्बन्धीको १३(४) नं. को दावी लिईएको छ । प्रतिवादीले अधिकार प्राप्त अधिकारी र अदालत समक्ष मृतकलाई धकेली दिएको तथ्यलाई स्वीकारेको हुँदा निजको कार्य ज्यान सम्बन्धीको १७(२) नं. अन्तर्गतको होइन भन्ने स्पष्ट भई रहेको छ ।

२७.   प्रतिवादी कृष्ण कार्की उपर मृतकलाई धारिलो हतियार प्रहार गरी मारेको भनी ज्यान सम्बन्धी महलको १३(१) नं. को अभियोग दावी लिईएको छ । पुनरावेदन अदालतले दावी परिवर्तन गरी १३(३) नं. बमोजिम सजाय गरेको छ । उक्त दुवै कानूनी व्यवस्थाहरू फरकफरक अवस्थामा आकर्षित हुन्छन् । प्रतिवादीले मृतकलाई धारिलो हतियार छुरी प्रहार गरी त्यसैको चोटबाट मृतक शुकु थापाको मृत्यु भएको भन्ने कुरा प्रहरी प्रतिवेदन, जाहेरी दरखास्त, सहअभियुक्तहरूको बयान, प्रत्यक्षदर्शी उर्मिला रायको कागज र वकपत्र, लाश प्रकृती मृचुल्का र शव परिक्षण प्रतिवेदन तथा स्वयं प्रतिवादीको बयानबाट पुष्टि भई रहेको अवस्थामा दावी बमोजिम ज्यान सम्बन्धीको १३(१) नं. ले सर्वस्व सहित जन्म कैद गर्नु पर्नेमा १३(३) नं. बमोजिम कसूर ठहर गरेको फैसलामा उल्लिखित कानूनी त्रुटी हुन गएको छ ।

२८.   सफाइ पाएका प्रतिवादी नगेन्द्र थापा र दिपक राय कुर्मीले अनुसन्धान अधिकारी एवं अदालत समक्षको बयानमा घटनास्थलमा मौजुदा रहेको भन्ने तथ्य स्विकारेका छन् । यसरी घटनास्थलामा रहेका निज प्रतिवादीहरूले मृतकलाई छुरी प्रहार हुनबाट हार गुहार गरी बचाउने प्रयास गरेको नदेखिएबाट प्रतिवादीहरूले मतलवी मतियारको भूमिका निर्वाह गरेको स्पष्ट हुन्छ ।

२९.   अतः मिसिल संलग्न प्रमाणको मूल्याङ्कन नगरी प्रतिवादी कृष्ण कार्की, कन्हैया राय कुर्मीलाई अभियोग दावी बमोजिम सजाय नगरी कम सजाय गरिएको तथा प्रतिवादी नगेन्द्र थापा मगर र दिपक राय कुर्मीलाई सफाइ दिएको हद सम्मको पुनरावेदन अदालत बुटवलको फैसला त्रुटीपूर्ण हुँदा बदर गरी शुरु अभियोग दावी बमोजिम सबै प्रतिवादीहरूलाई सजाय गरी पाउन सादर अनुरोध छ भन्ने समेत व्यहोराको पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा दायर हुन आएको पुनरावेदन पत्र । प्रतिवादी कृष्ण कार्की (के.सी.) का हकमा साधक निकासाको लागि समेत पेश हुन आएको रहेछ ।

३०.   मेरो छोरा कृष्ण कार्की विदेश भारत गई घर फर्की आउने ठेगान नभएकोले न्याय प्रशासन ऐन, २०४८ को दफा १०(४) बमोजिम निज छोराका हकमा यो निवेदन गर्न आएको छु । कृष्ण कार्कीले छुरी प्रहार गरेको देख्ने प्रत्यक्षदर्शी कोही छैन । बरामदी मुचुल्का हेर्दा छुरी कृष्ण कार्कीबाट बरामद भएको र सो छुरी निजकै हो भन्ने पनि देखिदैन । प्रतिवादी मध्येका नगेन्द्र थापाले अध्यारो हुँदा छुरी कसले हानेको भन्ने देखिन भनी बयान गरेबाट निजको भनाई प्रतिवादी कृष्ण कार्की विरूद्ध प्रमाण लगाउन मिल्ने अवस्थाको छैन । मृतक र प्रतिवादी कन्हैया राय तथा निजको भाई बीच पंखा चोरी विषयमा वाद विवाद भई धकेला धकेल भएको भन्ने तर्फ पुनरावेदन अदालतको ध्यान गएको छैन । प्रतिवादी कन्हैयाको अदालत समक्षको बयानबाट घटनाको प्रकृति छर्लङ्ग भएको छ । सो बयानमा कृष्ण कार्कीले छुरी हानेको भन्ने छैन । पुनरावेदन अदालतको फैसला बुँदा प्रमाणमा नभई अनुमानमा आधारित छ । पंखा चोरीको जरियाबाट विवाद भएको छ। सो विषयमा कृष्ण कार्कीको कुनै सम्बन्ध छैन । मृतक र कन्हैया राय कुर्मी तथा निजको भाई समेतका बीचमा सो विषयमा वाद विवाद भई कन्हैयाले मृतकलाई धकेली लडाएको भन्ने भएपछि कृष्ण कार्की कसूरदार हुन सक्ने अवस्था छैन ।

३१.   अतः सवुद प्रमाणको मूल्याङ्कन नगरी पोष्टमार्टम रिपोर्ट, उर्मिलाको कागज र अदालतको वकपत्र तथा सह प्रतिवादीको घाउ जाँचबाट मात्र कसूरदार ठहराएको पुनरावेदन अदालतको फैसला त्रुटीपूर्ण हुँदा साधक जाँचको क्रममा प्रस्तुत निवेदनलाई पनि पुनरावेदन सरह मानी हेरी निर्दष कृष्ण कार्कीलाई सजाय गर्ने गरेको फैसला बदर गरी सफाइ दिलाई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी कृष्ण कार्कीको हकमा निजको पिता मोहन सिंह कार्कीको यस अदालत समक्षको पुनरावेदन सरहको निवेदन पत्र ।

३२.   नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान सहन्यायाधिवक्ता श्री डिल्लीरमण आचार्यले प्रतिवादी कृष्ण कार्कीले प्रहार गरेको धारिलो हतियार छुरीको चोटबाट मृतक शुकु थापाको मृत्यु भएको भन्ने तथ्य शंकारहित तवरबाट पुष्टि भएको छ । यस्तो अवस्थामा निज उपर दावी लिईएको मुलुकी ऐन, ज्यान सम्बन्धीको १३(१) नं. बमोजिम नै सजाय गरिनु पर्नेमा १३(३) नं. अनुरुप सजाय ठहर गरेको फैसला मिलेको छैन । प्रतिवादी कन्हैया राय कुर्मले पनि मृतकको जिउमा हात हालेको तथा निजलाई धकेलेको भन्ने तथ्य अदालतमा समेत स्वीकार गरेको अवस्था छ । सोही धकेल्दा प्रतिवादी कृष्ण कार्कीले प्रहार गरेको छुरी मृतकको शरिरमा घोपिन गएको हुँदा निजलाई समेत अभियोग माग बमोजिम ज्यान सम्बन्धीको १३(४) नं. अनुरुपनै सजाय गर्नु पर्नेमा १७(२) अनुसार सजाय गर्ने गरेको हदसम्मको फैसला त्रुटीपूर्ण छ । त्यसै गरी सफाइ दिईएका प्रतिवादीहरू दिपकराय कुर्मी र नगेन्द्र थापा बारदातको समयमा घटनास्थलमा मौजुद रहेको भन्ने तथ्य निजहरूको बयान समेतका प्रमाणबाट निर्विवाद रुपमा स्थापित भएको छ । घटनास्थलमा मौजुद रही मृतकलाई बचाउने तर्फ कुनै प्रयास नगरेबाट निजहरू समेत घटनाको मतियार मतलवीका रुपमा रहेको भन्ने स्पष्ट हुँदा माग दावी बमोजिम सजाय गरिनु पर्नेमा सफाइ दिएको त्रुटीपूर्ण फैसला उल्टी गरी सबै प्रतिवादीहरूलाई शुरु माग दावी अनुरुप कसूर र सजाय ठहर गरिनु पर्दछ भन्ने समेत बहस प्रस्तुत गर्नु भयो ।

३३.   विद्वान सहन्यायाधिवक्ताको उल्लिखित बहस जिकिरतर्फ ध्यान दिई पुनरावेदन सहितको मिसिल अध्ययन गरी हेर्दा पुनरावेदन अदालत बुटवलको फैसला मिलेको छ वा छैन र पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्ने हो, वा होइन ? भन्ने विषयमा निर्णय दिनु पर्ने देखियो ।

३४.   निर्णयतर्फ विचार गर्दा यसमा मृतक शुकु थापालाई छुरी प्रहार गरी मारेको भन्ने आरोपमा प्रतिवादी कृष्ण कार्की (के.सी.)लाई ज्यान सम्बन्धी महलको १३(१), प्रतिवादी कन्हैया रायलाई १३(४), एवं प्रतिवादीहरू नगेन्द्र थापा र दिपक रायलाई सोही महलको १७(३) नं. बमोजिम सजाय गरिपाऊँ भन्ने समेत शुरु अभियोग पत्र माग दाबिमा रपन्देही जिल्ला अदालतले प्रतिवादी कन्हैया राय कुर्मलाई ज्यान सम्बन्धीको १३(३) नं. बमोजिम सजाय गरी अन्य प्रतिवादीहरूलाई सफाइ दिने ठहर गरेको फैसला पुनरावेदन अदालतबाट केही उल्टी भई प्रतिवादी कृष्ण कार्की (के.सी.) लाई ज्यान सम्बन्धीको १३(३) नं. बमोजिम जन्म कैद र प्रतिवादी कन्हैया रायलाई सोही १७(२) नं. अनुसार ५ वर्ष कैद हुने ठहराई भएको फैसला उपर चित्त नबुझाई वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा पुनरावेदन, प्रतिवादी कृष्ण कार्की (के.सी.) का हकमा न्याय प्रशासन ऐन, २०४८ को दफा १०(४) अन्तर्गत पुनरावेदन सरहको निवेदन र मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३(३) नं. को सजाय ठहर भएका निजै प्रतिवादीका हकमा साधक निकासाको लागि समेत पेश हुन आएको रहेछ । कृष्ण कार्की (के.सी.) ले प्रहार गरेको धारिलो हतियार छुरीको चोटबाट मृतकको मृत्यु भएको भन्ने स्पष्ट रुपमा पुष्टि हुँदा हुँदै १३(१) नं. को दावीलाई परिवर्तन गरी १३(३) नं. बमोजिम घटी सजाय गरिएको, प्रतिवादी कन्हैया राय उपर १३(४) को दावी भएकोमा लाग्नै नसक्ने १७(२) प्रयोग गरी ५ वर्ष मात्र कैद गरेको तथा प्रतिवादीहरू नगेन्द्र थापा र दिपक रायलाई सफाइ दिएको समेत पुनरावेदन अदालतको फैसला त्रुटीपूर्ण रहेकोले बदर गरी सबै प्रतिवादीहरूलाई अभियोग माग दावी बमोजिम सजाय गरिनु पर्दछ भन्ने समेत पुनरावेदक वादी नेपाल सरकारको मुख्य पुनरावेदन जिकिर रहेको देखिन्छ । त्यसै गरी कसूरमा कुनै संलग्नता नरहेका कृष्ण कार्कीलाई सफाइ दिनु पर्नेमा विना आधार प्रमाण कसूरदार ठहर गरेको पुनरावेदन अदालतको फैसला त्रुटीपूर्ण हुँदा बदर गरिपाऊँ भन्ने समेत निजको हकमा पर्न आएको पुनरावेदन सरहको निवेदनमा जिकिर लिईएको पाईयो ।

३५.   यसमा कृष्ण कार्की (के.सी.) समेतका ४ जना मानिस भै मेरो छोरा शुकु थापालाई धारिलो हतियार छुरी प्रहार गरी मारेको भन्ने मृतकको आमा मानकुमारीको जाहेरी दरखास्त, मृतकको छातीको दुवै स्तनको बीच भागमा १½ इन्च चौडाई, १ इन्च लम्बाईको छुरा हानेको चोट देखिई सोबाट रगत निस्किएको भन्ने लाश प्रकृति मुचुल्का, काठको विड भएको सवा इन्च चौडाई, १० इन्च लम्बाईको एकातर्फ धारिलो र अर्को तर्फ माछी काँडा रहेको छुरी बरामद भएको भन्ने बरामदी मुचुल्का, घटनाको प्रत्यक्षदर्शी भनिएकी उर्मिला राय कुर्मिको छुरी प्रहारबाट मृतकको मृत्यु भएको भन्ने मौकाको कागज र सोही व्यहोरा मिलानको प्रतिवादीहरूको अधिकार प्राप्त अधिकारी समक्षको बयान तथा The Cause of death is due injury to heart भन्ने लाश जाँच प्रतिवेदन समेतका मिसिल संलग्न प्रमाणहरूको विश्लेषण गर्दा मृतक शुकु थापाको मृत्यु धारिलो हतियार छुरी प्रहारबाट भएको रहेछ भन्ने तथ्यमा सन्देह गर्नु पर्ने अवस्था देखिएन ।

३६.   अब उक्त छुरी प्रहार गरी मृतकलाई मार्ने कार्यमा केकुन प्रतिवादीको केकस्तो संलग्नता रहेछ भन्ने सम्बन्धमा प्रथमतः पुनरावेदन अदालतले मूख्य दोष ठहर गरेको प्रतिवादी कृष्ण कार्की (के.सी.) का हकमा जन्मकैदको सजाय सदर निकासाका लागि पेश हुन आएको साधक, सफाइ पाउँ भन्ने पुनरावेदन सरहको निवेदन र घटी सजाय गरिएकोले अभियोग माग दावी बमोजिम सजाय गरिनु पर्ने भन्ने वादी पक्षको पुनरावेदन समेतको समष्टिगत विषयहरूबाट विचार हुनु वाञ्छनिय देखियो ।

३७.   सो सम्बन्धमा निरपण गर्न प्रस्तुत मुद्दाको बारदात तर्फ दृष्टिगत गर्दा, घटना घट्नु भन्दा १५/२० दिन अघि मृतक शुकु थापाले बुटवल न.पा. वडा नं. १२ कालिका नगर स्थित स्व. जगबहादुर थापाको घरबाट टेवुल पंखा चोरी बिक्री गरेको भन्ने कुरा प्रतिवादी कन्हैया रायले जगबहादुरको छोरालाई भनी दिएको भन्ने रिसइवीको जरियाबाट घटनाको उठान भएको भन्ने प्रतिवादी कन्हैयाको मौकाको र अदालत समक्षको बयानबाट देखिन्छ । जगबहादुरको छोरा नगेन्द्रले कन्हैयाले भनेको कुराको आधारमा मृतक शुकुलाई पंखा चोरको वात लगाएपछि मृतकले प्रतिवादी कृष्ण कार्की (के.सी.), नगेन्द्र थापा समेतसँग सहयोग मागी प्रतिवादी कन्हैयासँग झगडा गर्न भनी प्रतिवादी कृष्ण कार्कीले छुरी, मृतकले खुकुरी र प्रतिवादी नगेन्द्रले हँसिया समेतका हतियार बोकी मिति २०५५।५।१६ गते राती करिव ८:३० बजेको समयमा प्रतिवादी कन्हैया राय कुर्मी बस्ने गरेको डेरा कोठा तर्फ गएको भन्ने तथ्यलाई प्रतिवादी नगेन्द्र थापाले अधिकार प्राप्त अधिकारी समक्षको बयानमा स्वीकारेको देखिन्छ । अदालतमा बयान गर्दा निज प्रतिवादीले हातहतियार लिई गएको भन्ने शुरुमा लेखाएको व्यहोरामा केही दिशान्तर भएको पाईए पनि मृतकको भनाईमा लागि प्रतिवादी कृष्ण कार्की (के.सी.) समेत भई घटनास्थलमा गई झगडा गरेको र धकेलाधकेलकै क्रममा मृत्यु भएको भन्ने मूलभूत तथ्यलाई स्वीकारै गरेको पाइन्छ । प्रतिवादी कन्हैयाको डेरा कोठामा पुग्नु भन्दा केही वरै बाटोमा प्रतिवादी नगेन्द्र र मृतक वसी प्रतिवादी कृष्ण कन्हैयालाई बोलाउन निजको कोठामा गएको भनी नगेन्द्रले मौकामा गरेको बयान प्रतिवादी कन्हैया र प्रतिवादी दिपकको अधिकार प्राप्त अधिकारी तथा अदालतको बयान एवं घटनाको प्रत्यक्षदर्शी उर्मिला रायको मौकाको कागजबाट समर्थित भएको देखिन्छ । प्रतिवादी कन्हैया भान्साको काम गर्दै रहेका, निजकी आमा उर्मिला र दाजु प्रतिवादी दिपक बिस्तरामा आराम गरी रहेको अवस्थामा प्रतिवादी कृष्ण पुगी कन्हैयालाई एउटा कुरा छ बाहिर आउभनी बोलाएको र रातको समयमा किन बोलाएको होला भनी कन्हैयाको आमा र दाई समेत पछिपछि गएको भन्ने उर्मिलाको मौकाको कागजबाट देखिन्छ । यसरी घर बाहिर लगिसकेपछि प्रतिवादीले कृष्णले कन्हैयालाई एक थप्पड हानेको र किन हानेको भन्दा पंखा चोर लगाई थुनाउने विचार गरेको थिइसनीभनी मृतक शुकुले सानो खुकुरी निकाली हिर्काउन लाग्दा बचाउ गर्दा गर्दै दाहिने तर्फ च्यापु मुनी घाँटीमा सानो चोट लाग्न गएको, सोही घँचेटाघचेट र हानाहानको बेलामा कृष्णले निजको हातमा भएको छुरी निकाली मलाई हिर्काउन लागेको अवस्थामा सो चोट छल्न शुकु थापालाई धकेली तर्किदा (छलिदा) सो छुरीको चोट शुकु थापाको छातमा रोपिन गएको होभनी प्रतिवादी कन्हैयाले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान, प्रतिवादी नगेन्द्र र प्रतिवादी दिपकको अधिकार प्राप्त अधिकारी समक्षको बयान तथा घटनामासँगै गएकी प्रत्यक्षदर्शी भनिएकी उर्मिला रायको मौकाको कागजसँग परस्पर मेल खाई समर्थित भई रहेको पाइन्छ ।

३८.   मिसिल संलग्न उल्लिखित तथ्यहरूबाट एकातर्फ मृतक शुकु थापा प्रतिवादी कृष्ण कार्की र नगेन्द्रको समूह हात हतियारले सुसज्जित भई प्रतिवादी कन्हैयासँग झगडा गर्न गएको देखिन्छ भने अर्को तर्फ रातको समयमा किन बोलाउन आएहोला भनी प्रतिवादी कन्हैयाको आमा उर्मिला र दाई प्रतिवादी दिपक समेत शंका गरी पछि पछि गएको कारणबाट मृतकको समूह र प्रतिवादी कन्हैयाको पारिवारिक समूह बीच हानाहान कुटाकुट भएको र मृतक समूहको प्रहार रोक्ने क्रममा प्रतिवादी कन्हैयाको चिउडो मुनी घाँटीमा तथा निजको आमा उर्मिलाको औलामा चोटपटक लाग्न गएको तथ्य मिसिल संलग्न घाजाँच केश फाराम समेतबाट स्पष्ट रुपमा पुष्टि प्रमाणित भई रहेको देखिन्छ ।

३९.   यसप्रकार कन्हैयाले पंखा चोर लगाएको भन्ने आरोपको पूर्व रिसइवी साँध्न निजसँग झगडा गर्ने मनसाय राखी मृतकले प्रतिवादी कृष्ण र नगेन्द्र समेतको सहयोग मागेकोमा निजको भनाईमा सहमत भै हातमा छुरी, खुकुरी र हँसिया जस्तो हतियार बोकी रातको समयमा प्रतिवादी कन्हैयाको डेरा कोठामा गई तरकारी काट्दै रहेको निजलाई बाहिर बोलाई जथाभावी हतियार प्रहार गर्दै गरेको अवस्था प्रतिवादी कृष्णले प्रतिवादी कन्हैयालाई ताकी प्रहार गरेको छुरी कन्हैयाले आफू छलिन मृतक शुकुलाई धकेली दिएको कारणबाट निजको छातीमा रोपिन गई मृत्यु हुन गएको भन्ने घटनाका सहभागी र प्रत्यक्षदर्शी समेत रहेका प्रतिवादीहरू नगेन्द्र, कन्हैया, दिपकको अधिकार प्राप्त अधिकार समक्षको बयान तथा उर्मिलाको मौकाको कागजबाट खुल्न आएको छ । निजहरूको उक्त भनाई मृतकको दुवै स्तन बीचको छातीको भागमा धारिलो हतियारको चोट देखिएको भन्ने वस्तुस्थिति तथा लाश प्रकृति मुचुल्का र मुटुमा लागेको चोट नै मृत्युको कारण भन्ने पोष्टमार्टम रिपोर्टबाट पुष्टि भई रहेको पाइन्छ ।

४०.   प्रतिवादी कृष्ण कार्की मौकामा पक्राउ पर्न सकेका छैनन् । अदालतबाट जारी भएको म्यादमा हाजिर भएका छन् । निजले घटनामा आफ्नो संलग्नतालाई पूर्ण रुपले इन्कार गरी उक्त मितिमा घटनास्थलमा नभई त्रिवेणीमा रहेको भनी अन्यत्र उपस्थित रहेको (Alibi) को जिकिर लिई आफ्नो भनाईलाई पुष्टि गर्न साक्षी वकपत्र समेत गराएको अवस्था छ । मौकामा निज प्रतिवादीले नै चोट छाडेको भनी व्यहोरा लेखाउने अन्य प्रतिवादीहरूले अदालतमा बयान गर्दा आफूहरू सहित प्रतिवादी कृष्ण कार्कीको घटनास्थलको उपस्थिति र परस्पर हानाहानको तथ्यलाई स्वीकारेको भए पनि मृतकलाई चोट यसैले छाडेको हो भनी स्पष्ट रपमा नभनी धकेलाधकेलको क्रममा कसले हानेको चोटबाट मृतक लडेको हो रातको समय हुँदा स्पष्ट देखिएन भन्ने जस्तो आशयको अभिव्यक्ति दिई घटनालाई रहस्यमय पार्न खोजेको देखिन्छ । मौकामा बुझिएका उर्मिला सहितका अन्य कुनै पनि मानिसहरूलाई वादी पक्षले अदालत समक्ष उपस्थित गराउन सकेको पाईएन ।

४१.   प्रतिवादी कृष्ण कार्कीले अदालतमा बयान गर्दा लिएको अन्यत्रावस्थाको (Alibi) जिकिर केकसो रहेछ भन्ने सम्बन्धमा विचार गर्दा, प्रतिवादी नगेन्द्र, मृतक शुकु र निज कृष्ण कार्की पूर्व चिनजानका साथीभाईहरू रहेको भन्ने कुरा प्रतिवादी नगेन्द्रले मौका र अदालतमा गरेको बयानबाट खुल्न आएको देखिन्छ । प्रतिवादी कृष्णले अदालतमा गरेको बयानमा समेत निजहरूसँग चिनजान रहेको तथा झैझगडा समेत नरहेको भन्ने कुरा स्पष्ट रुपमा लेखाएको पाइन्छ । प्रतिवादी कृष्ण कार्की मौकामा पक्राउ नपरे पनि वारदातमा निजको उपस्थिति मात्र होइन प्रमुख भूमिका रहेको भन्ने कुरा निजकै समूहका प्रतिवादी नगेन्द्र थापा तथा प्रतिवादी कन्हैया र दिपकको अधिकार प्राप्त अधिकारी समक्षको बयान तथा प्रत्यक्षदर्शी उर्मिलाको कागज र जाहेरी दरखास्त समेतबाट खुल्न आएको अवस्था छ । मृतकले नगेन्द्र थापा र प्रतिवादी कृष्ण कार्कीको सहयोग मागी हतियार सहित घटनास्थलमा गएको तथा मृतक र नगेन्द्र अलि वरै बाटोमा सी कन्हैयालाई बोलाउन निजै कृष्ण कार्की गएको भनी प्रतिवादी नगेन्द्रको मौकाको बयानमा स्पष्ट उल्लेख छ । म र जेठो छोरा दिपक बिस्तारामा आराम गरी रहेका थियौं । प्रतिवादी कृष्ण कार्की आई भान्साको काम गर्दै रहेको कान्छो छोरा कन्हैयालाई एकै छिन बाहिर जाउँ भनी बोलाएभन्ने उर्मिलाको मौकाको कागज,  “कृष्ण कार्कीले बोलाएर अंगालो हाल्दै बाहिर लगे र बाटोमा पुगेपछि एक थप्पड हानेभन्ने प्रतिवादी कन्हैयाको तथा भाई कन्हैयालाई प्रतिवादी कृष्णले एकछिन बाहिर जाउँ भनी बोलाएर लगेभन्ने प्रतिवादी दिपकको अधिकार प्राप्त अधिकारी समक्षको बयानमा उल्लेख भएको देखिन्छ । मौकाको बयानमा लेखाएको उक्त व्यहोरालाई समर्थन गर्दै प्रतिवादीहरू नगेन्द्र, कन्हैया र दिपकले अदालत समक्ष बयान गर्दा आफूहरू र निज प्रतिवादी कृष्ण कार्की समेत घटनास्थलमा उपस्थित रहेको भनी व्यहोरा लेखाएको पाइन्छ ।

४२.   सहअभियुक्तहरूको मौका र अदालतको उक्त बयान र प्रत्यक्षदर्शी उर्मिलाको मौकाको कागज परस्पर मेल खाई घटनाको पूर्ण र स्पष्ट चित्रण प्रस्तुत भएको देखिन्छ । त्यसरी आफू उपर आफ्नै साथी समेतले घटनामा संलग्न रहेको भनी पोल गर्नु पर्ने अन्य कुनै कारण रहेको भरपर्द आधार त परै जावस, सानो जिकिरसम्म पनि प्रतिवादी कृष्ण कार्कीले अदालत समक्षको बयानमा लिन सकेको पाईदैन । त्यतिमात्र हैन, प्रतिवादी कृष्ण कार्कीको प्रस्तुत घटनामा उपस्थिति रहेको कुरा नमान्ने हो भने घटनालाई नै काल्पनिक ठहर गर्नु पर्ने अवस्था हुन जान्छ। यस्तो अवस्थामा प्रतिवादी कृष्ण कार्कीको ठोस आधार र प्रमाणबिनाको अन्यत्रावस्थाको (Alibi) जिकिरमा भर पर्न सक्ने अवस्था नहुँदा वारदातको अवस्थामा कृष्ण उपस्थित रहेको भन्ने प्रतिवादी नगेन्द्र, प्रतिवादी कन्हैया र प्रतिवादी दिपक र उर्मिला रायको भनाई नै विश्वासनय देखिन आउँछ । 

४३.   अनुसन्धानको क्रममा अदालत बाहिर तयार भएका मुचुल्का, कागज, प्रतिवेदन र सह अभियुक्तहरूको भनाईको प्रमाणिक महत्व कुन हदसम्म रहने हो र त्यतिकै भरमा प्रतिवादी कृष्ण कार्कीलाई ज्यान मारेको भन्ने जस्तो संगिन अपराधको दोष करार गर्नु न्यायोचित हुने हो, होइन ? भन्ने सवाल पनि प्रस्तुत मुद्दामा त्यतिकै पेचिलो रपमा उठ्न सक्ने देखिन्छ । सो विषयको सही निरुपणको लागि प्रमाण ऐन, २०३१ को कानूनी व्यवस्था तथा हामीले अबलम्बन गर्दै आएको फौजदारी न्याय प्रणाली तर्फ समेत सुक्ष्म दृष्टि दिनु पर्ने हुन्छ ।

४४.   फौजदारी कानून तथा न्याय प्रशासनको अन्तिम लक्ष्य अपराध गर्नेलाई सजाय दिलाई समाजलाई अपराधको भयबाट मुक्त राख्नु नै हो । अपराध घटेको तथ्य निर्विवाद रपले पुष्टि भई रहेको अवस्थामा साना तिना प्राविधिक विषयको पछि लागि अभियुक्तलाई सफाइ दिदै जाने हो भने समाजले अपराधको भयबाट कहिल्यै मुक्ति नपाउने र अपराध गर्नेलाई दण्डित गर्ने फौजदारी न्यायको अभिष्ट समेत पराजित हुन जान्छ । प्रस्तुत विवादमा बुटवल जस्तो ठाउँको शहरी क्षेत्रमा वेलुकी ८:३० बजे घट्ना घटेको छ । घटना प्रत्यक्ष देख्ने उर्मिला राय जिवितै छन् । घटना घटाउने मनसाय र तयारी साथ घटनास्थलमा गई जथाभावी हतियार छाड्दा मानिस मर्न सक्छ भन्ने कुरा सामान्य समझको मानिसले पनि पूर्व जानकारी राख्न सक्ने अवस्था छ । सो हुँदा हुँदै पूर्व तयारी र गलत मनसाय राखी प्रतिवादी कृष्ण कन्हैयाको डेरा कोठामा गएको देखिन्छ । प्रतिवादी कृष्ण मौकामा फरार भई अदालतमा इन्कार रहे पनि अर्का प्रतिवादी नगेन्द्र थापाले अधिकार प्राप्त अधिकारी समक्ष प्रतिवादी कृष्णले छुरी प्रहार गरेको भनी स्पष्ट बयान गरेका र अदालत समक्षको बयानमा पनि कृष्ण कार्की समेत भई घटनास्थल गई झैझगडा गरेको तथ्य स्विकारेको अवस्था छ । बचाउ पक्षका प्रतिवादी कन्हैया र दिपक रायले समेत अधिकार प्राप्त अधिकारी समक्षको बयानमा स्पष्ट रपले प्रतिवादी कृष्णले नै छुरी प्रहार गरेको भनेका छन् । अदालतको बयानबाट प्रतिवादी कृष्ण के.सी. को घटनाको उपस्थिति र हतियार छाडेको तथ्य उजागर भएकै अवस्था छ । अधिकार प्राप्त अधिकारी समक्षको बयान कुटपिट, डर, धाकबाट गराईएको भनी कुनै प्रतिवादीहरूले पनि अदालतमा जिकिर लिएको अवस्था नभएबाट अन्य प्रमाणबाट समर्थित भएको त्यस्तो मौकाको बयान र कागजातलाई प्रमाण ऐन, २०३१ को दफा ९ को उपदफा (२) को खण्ड (क) को (१) (२) र (३) बमोजिम प्रमाणमा ग्रहण गर्न मिल्ने नै अवस्था देखिन्छ ।

४५.   त्यसै गरी मुटुमा लागेको चोटबाट मृतक शुकुको मृत्यु भएको भनी शव परिक्षण गरी चिकित्सकले दिएको रायमा दुवै पक्षले विवाद गर्न सकेको नपाईदा पक्षहरूका बीचमा मुख मिलेको सो तथ्यलाई प्रमाणमा ग्रहण गर्न प्रमाण ऐन, २०३१ को दफा १८ बमोजिम कुनै कानूनी अड्चन रहेको पाईदैन । सहअभियुक्तहरूको मौकाको पोलका सम्बन्धमा प्रतिवादी कृष्ण कार्कीलाई अदालतमा बयान गराउँदा प्रश्न सोधिएकोमा सो पोल जिकिर अन्यथा हो भनी भन्न सकेको र त्यसरी पोल बयान गर्ने प्रतिवादीहरू उपर रिसइवी थियो भन्न सकेको सम्म पनि देखिदैन । आफू समेत घटनामा गएको तथ्य स्विकारी सहअभियुक्तहरूले प्रतिवादी कृष्ण कार्की उपर गरेको पोल बयान खण्डित गर्ने अबसर प्राप्त हुँदा समेत प्रतिवादी कृष्ण कार्कीले खण्डन गर्न सकेको नपाईदा त्यस्तो पोललाई प्रमाणमा ग्रहण गर्न मिल्नेनै हुन्छ ।

४६.   उपरोक्त वस्तुस्थितिबाट प्रस्तुत मुद्दामा एकालाई प्रहार गर्न ताकेको भाला जसलाई प्रहार गर्न खोजिएको हो निजलाई नलागी सँगै गफमेलमा सामेल भएको भनिएका उसै समूहका सदस्य मध्ये अर्को व्यक्तिलाई लाग्न गएको भै यस्तोमा एकाप्रति लक्षित मनसाययुक्त चोट अर्कोलाई लाग्न गएको व्यक्ति सम्म सर्ने अवस्था आउँछ वा आउँदैन भन्ने प्रश्न उपस्थित हुन आएको छ । मनसाय सरेको अवस्थामा प्रतिवादी कृष्ण कार्कीलाई सजाय गर्न मिल्ने हो वा होइन भन्ने विषय पनि प्रस्तुत मुद्दामा सन्निहित रहेको छ । फौजदारी कसूर प्रमाणित हुन मनसाय तत्व अनिवार्य हुने हाम्रो फौजदारी न्याय प्रणालीको आधाभूत मान्यता हो । मनसायको परिभाषा, बिस्तार र सीमाको सम्बन्धमा हाम्रो फौजदारी कानूनमा स्पष्ट रुपमा परिभाषित गरी किटान नगरिएको भए पनि फौजदारी विधिशास्त्रको स्वीकृत मान्यता र हाम्रो फौजदारी कानूनको आवश्यकतानुसार प्रयोगको सिलसिलामा त्यसको व्याख्या गर्नु पर्ने हुन्छ । मनसाय सरेको (Transfer of malice) अवस्थामा सजाय गर्ने सम्बन्धमा मुलुकी ऐन ज्यान सम्बन्धी महल लगायतका प्रचलित नेपाल कानूनमा भारतीय दण्ड संहितामा जस्तो पृथक रुपमा कुनै स्पष्ट कानूनी व्यवस्था रहे भएको पाईदैन । मुलुकी ऐन ज्यान सम्बन्धीको १ नं. मा रहेको कानून बमोजिम बाहेक कसैले कुनै मानिसको ज्यान मार्न, मार्न लगाउन वा मार्नको उद्योग गर्न हुँदैनभन्ने कानूनी प्रावधानले समष्टिगत रपमा गैरकानूनी ढंगबाट कसैको ज्यान मार्ने कार्यलाई निषेध गरेको पाइन्छ । उक्त कानूनी व्यवस्था बमोजिमको फौजदारी दायित्वबाट छुटकारा पाउन मानिस मारेको कार्य कानून अनुरुपको हो भन्ने पुष्टि प्रतिवादीले गर्न सक्नु पर्दछ । प्रस्तुत मुद्दामा त्यस्तो अवस्था नभई प्रतिवादीले कन्हैयालाई ताकी मार्ने मनसायबाट हानेको छुरी निजलाई छलिई मृतक शुकु थापालाई लाग्न गएको अवस्था भए पनि मानिस मार्ने प्रतिवादीको कार्य पूर्ण भएको देखिन्छ । मार्ने मनसाय समाप्त नभई सरेको परिणाम स्वरुप प्रतिवादीले मार्ने मनसाय राखी कार्य गरेको प्रतिवादी कन्हैया नमरी सोही मनसाय र क्रियाबाट शुकु थापाको मृत्यु भएको अवस्था हुँदा मर्ने व्यक्ति सम्म फरक परेको भए पनि प्रतिवादीको आपराधिक कार्यमा कुनै भिन्नता आएको अवस्था छैन ।

४७.   भारतीय दण्ड संहिता, १८६० को दफा ३०१ मा यदि कुनै व्यक्तिले आफूले गरेको कुनै कार्यबाट मानिस मर्न सक्दछ भन्ने जानीजानी मनसाय सहित कुनै कार्य गर्दा कुनै मानिसको मृत्यु हुन्छ भने दण्डनय मानव हत्याको कसूर हुन जान्छ । त्यसरीनै सोही तरिकाबाट गरिएको कार्यबाट उसले नचाहेको वा थाहा नभएको मानिसको मृत्यु भए पनि दण्डनय मानव हत्या सरहकै कसूर हुन्छ (If a person, by doing anything which he intends or knows to be likely to cause death, commits culpable homicide by causing the death of any person, whose death he neither intends nor knows himself to be likely to cause, the culpable homicide committed by the offender is of the description of which it would have been if he had caused the death of the person whose death is intended or knew himself to be likely to cause.) भन्ने समेत व्यवस्था रहेको पाइन्छ । 

४८.   उपरोक्त व्यवस्थाबाट भारतीय दण्ड संहिता अन्तर्गत सरेको मनसायबाट घटित अपराध पनि कर्तव्य ज्यानकै समकक्षी रहेको तथ्य स्पष्ट हुन्छ । सोही कानूनी व्यवस्थाको व्याख्या गर्दै भारतीय सर्वच्च अदालतबाट जगपाल सिंह विरूद्ध पञ्जाव राज्य भएको मुद्दामा सरेको मनसायको सिद्धान्त अनुसार कुनै पनि हत्याको आरोपिलाई दफा ३०१ बमोजिम सजाय गर्न मिल्छ (Accused is punishable for murder under doctrine of transfer of malice under section 301 of the code when he aimed at one and killed another person. Jagpal Singh vs. State of Panjab), (1991) cr LJ 597 (SC) भन्ने समेत सिद्धान्त प्रतिपादन भएको देखिएबाट सरेको मनसायबाट श्रृजित अपराधलाई भारतमा पनि हत्याकै दर्जामा राखी सजाय गर्ने गरिएको पाइन्छ। जसलाई हाम्रो न्यायिक सन्दर्भमा समेत दृष्टान्तका रुपमा लिन नसकिने होइन ।

४९.   फौजदारी कानूनका विज्ञ ग्रानबिल विलियम्स (Glanville Williams) ले पनि सरेको मनसायका सम्बन्धमा उनको पुस्तक फौजदारी कानून (Criminal Law) (द्वितीय संस्करण पृष्ठ ७२) अपराधिक मनसाय कानूनी अर्थमा नियोजित रपमा गरिएको दोषपूर्ण कार्य हो, जसलाई उचित कारण विनाको र अक्ष्यम्य मानिन्छ । अपराधिक मनसायले कानूनमा सामान्यतयाः मनसाय वा लापरवाहीको बोध गराउँदछ । जब कुनै एउटालाई लक्षित गरी गरेको प्रहार दुर्घटनाव अर्को माथि पर्न जान्छ भने त्यसलाई सरेको मनसायबाट घटित क्रिया मान्नु पर्ने हुन्छ । अर्को शब्दमा भन्दा यदि अभियुक्तले गरेको कुनै निश्चित घटना कुनै अवस्थामा दोषपूर्ण मानिन्छ भने त्यो कार्य अनिच्छित वस्तु (व्यक्ति वा सम्पत्ति) माथि घट्न पुग्छ भने पनि त्यसमा मनसाय नरहेको भन्ने कुराको महत्व रहँदैन । उसको अपराधिक दुराषय एउटा वस्तुबाट अर्कोमा सर्दछ भन्ने कानूनी अनुमान रहन्छ । यस्तो अवस्थामा अभियुक्तलाई कानूनी प्रयोजनको लागि मनसायपूर्वक प्रहार गरेको ठानी व्यवहार गरिन्छ । वस्तुतः यस्तो गरौ भन्ने उसको मनसाय र लापरवाही रहेको हुँदैन (Malice in its legal sense means a wrongful act done intentionally, without just cause or excuse. "Malice" in Law generally means intention or recklessness. Transferred intention (transferred malice) occurs when an injury intended for one falls on another by accident. In other words if the accused intends particular consequence he is guilty of crime of intention even though his act takes effect upon an object (whether person or property) that was not intended. His "Malice" is by a legal fiction transferred from the one object to the other. The accused is then treated for legal purpose as though he had intended to hit the object that he did hit, though in fact he not have the intent, nor even was reckless as to it.) भन्ने समेत उल्लेख गरेको देखिएबाट सरेको मनसाय स्वरुप श्रृजित कार्यलाई पनि हत्याको अपराधकै कोटीमा राखेको पाइन्छ ।

५०.   मुलुकी ऐन ज्यान सम्बन्धी महलमा भारतीय दण्ड संहिता १८६० (Indian Penal Code 1860) को दफा ३०१ को जस्तो सरेको मनसाय सम्बन्धमा छुट्टै कानूनी व्यवस्था नभए पनि मनसाय सहित वा रहित अवस्थामा भएको ज्यान सम्बन्धी कसूरहरूको गम्भिरतालाई विभिन्न किसिमले वर्गिकृत गरेको पाइन्छ ।  जस्तै भवितब्य परी ज्यान गएको अवस्थामा ज्यान सम्बन्धीको ५ र ६  नं. ले कसूरको परिभाषा गरी सजायको व्यवस्था गरेको छ भने तत्काल उठेको रिसको झोकमा केही गर्दा ज्यान गएको अवस्थामा ज्यान सम्बन्धीको १४ नं. बमोजिमको सजायको व्यवस्था गरेको छ । इवि इविलाग सहित कुनै परिवन्धले ज्यान मार्ने काम गरेको अवस्थामा ज्यान सम्बन्धीको महलको १३ नं. ले विभिन्न व्यवस्था गरेको छ ।  ज्यान सम्बन्धी महलले ज्यान मार्ने क्रिया (Murder) पूरा हुन मनसाय तत्व अनिवार्य हुने भनी स्पष्ट नतोके पनि कानूनको संरचना र कसूरको प्रकृतिको आधारमा ज्यान सम्बन्धीको १३ नं. अन्तर्गतको ज्यान सम्बन्धी कसूर भएको ठहर्नलाई मनसाय तत्व अनिवार्य हुने भनी यसै सर्वच्च अदालतले पटक पटक बोलेको छ । यसका साथै प्रचलित फौजदारी विधिशास्त्रको आधाभूत मान्यतालाई हाम्रो न्यायिक अभ्यासमा पनि समाहित गरी सकिएको हुँदा त्यसबाट पछि हट्न मिल्ने अवस्था छैन ।

५१.   फौजदारी कानूनको मुख्य उद्देश्य कानूनद्धारा आवद्ध जीवन विताउन प्रोत्साहित गर्नु र कसैलाई पनि आफ्नो जीवन, धन र स्वतन्त्रताको गैरकानूनी हस्तक्षेप व्यहोर्न नपरोस भन्ने सुरक्षाको अनुभूति दिनु हो । प्रस्तुत मुद्दामा अभियुक्तलाई मृतक लगायत सबैको जवन र स्वतन्त्रताको सम्मान गर्नुपर्ने कर्तव्य छ । त्यसैले निजले सो विपरीत कसैको पनि जीवन र स्वतन्त्रतामा हस्तक्षेप गर्न नपाउने अवस्था छ ।  मृतक र मृतक जस्तै अरु कसैको पनि कानून बमोजिम बाहेक जीवन र हकमा दख्खल पुग्ने काम अभियुक्तले गर्न नपाउने हुनाले अभियुक्तको यो दायित्व निरपेक्ष प्रकृतिको छ । अभियुक्तले मृतक वा त्यस्तै अन्य व्यक्ति उपर गरेको कार्य कानूनसम्मत हुनै पर्दछ । कसै उपर पनि गैरकानूनी क्रिया गर्दछ भने त्यसको कानूनी परिणामहरू हुन्छन् र अभियुक्त कानूनले तोकेको दायित्व बहन गर्न बाध्य रहन्छ ।

५२.   प्रस्तुत मुद्दामा अभियुक्तले मानिसलाई लक्ष्य गरी छाडेको आपराधिक चोट त्यसको प्रकृतिबाटै गैरकानूनी देखिन्छ । सो आपराधिक चोटको प्रहार जसलाई लागे पनि गैरकानूनी हुन्छ र चोट छाड्ने व्यक्ति त्यस वापत निहित कानूनी दायित्वबाट मुक्त हुन सक्ने अवस्था देखिन्न । अभियुक्तले प्रहार गरेको चोट कन्हैयालाई लागेको भए गैरकानूनी र अरुलाई लागेको भए कानूनी मान्न सकिने जस्तो कृत्तिम वर्गिकरण गर्ने संभावना हाम्रो कानूनमा देखिन्न । कुनै काम कानूनसम्मत हो वा होइन भन्ने कुरा गरिएको कामको प्रकृतिबाटै निर्धारण गरिने विषय हो । कुनै दण्डको कार्यान्वयनको सिलसिलामा मृतकलाई नियतपूर्वक प्रहार गर्न खोजिएको भन्ने जिकिर लिईएको अवस्था प्रस्तुत मुद्दाको नभएकोले चोट कसलाई लाग्यो भने कुराको सान्दर्भिकता नै देखिन्न । मृतकलाई लागेको चोट र त्यसको असर त कसूरको गम्भिरतालाई निर्धारण गर्ने विषय मात्रै हुन् । अर्को शब्दमा भन्ने हो भने प्रतिवादीले लक्षित गरेको व्यक्तिलाई ताकि प्रहार गरेको चोट गैरकानूनी छ भने सो चोटको प्रहारबाट जो सुकैलाई आहत गरे पनि प्रतिवादीको कसूरको अपराधिकता प्रवाहित भई रहन्छ र सो बाट पीडित जो सुकै उपरको कार्य आपराधिकताको समा भित्र पर्न जान्छ । कुनै कार्य गैरकानूनी हो वा होइन भनि छुट्याउन साधारणतया कानूनसम्मत उद्देश्यको लागि गरिएको कार्य हो वा होइन भनी हेर्नु पर्दछ  र कानूनसम्मत उद्देश्यको लागि गरिएको कार्य होइन भने गैरकानूनी कार्यको परिणामको दायरा कसलाई, कसले, कति चोट परेको छ भन्ने आधारमा किटान गर्नु पर्ने हुन्छ । अन्यथा एकै कार्यको परिणाम कसैको हकमा अपराधिक र कसैको हकमा निर्दष भन्ने अवस्था आउँछ । हुनत फौजदारी कानूनमा कतिपय अवस्थामा निरपेक्ष दायित्व किटान गरिएको हुन्छ । त्यस्तोमा उद्देश्य जे भए पनि परिणाम खराव छ भने त्यसको लागि उत्तरदायित्व बहन गर्नुपर्ने हुन्छ । खास गरेर काला बजार, खाद्य पदार्थमा मिसावट आदिमा राम्रो उद्देश्य भनेर पनि सुख पाईदैन । जुन गुणस्तर तोकिएको हो सो पुरा हुनै पर्दछ । त्यस्तो गुणस्तरको अभाव कसूरदारको अपराधको गुरुत्व झन ढ्ने हुन्छ ।

५३.   अपराधको विस्तारको उपरोक्त व्याख्या गैरकानूनी र खरा उद्देश्यलाई निरुत्साहित र नियन्त्रित गर्न एवं कानूनी संरक्षण पाउनु पर्नेलाई सो पाउने कुरा सुनिश्चित गर्नलाई सहायक हुने व्यवस्था गर्नु हो । फौजदारी कानूनको व्याख्या गर्दा खरा मनसाय र कामलाई नियन्त्रित र दण्डित गर्ने दृष्टिकोण लिईने गरिन्छ, जुन सबै जसो मुलुकको विधिशास्त्रले अंगिकार गरेको कुरा हो । प्रतिवादीले गरेको गैरकानूनी कार्यलाई कसलाई लक्षित थियो र जसको उपर लक्षित थियो निजलाई नै चोट लागेको छ वा छैन भन्ने आधारमा अपराधको किटान गर्न खोज्ने हो भने पानीको टंकीमा विष हालेर जन-समुदाय मरेमा पनि मारिएका व्यक्ति अनिश्चित थिए वा लक्षित थिएन भनी उन्मुक्ति दिनुपर्ने अवस्था आउँछ । भिडमा गोली हान्दा मानिस मर्न सक्छ भन्ने जान्दा जान्दै गोली हानी मानिस मारेको खण्डमा पनि मारिएको व्यक्ति उपर गोली लक्षित थिएन भनी सफाइ दिनु पर्ने हुन्छ । यथार्थमा त्यस्तो कार्यबाट अपराधको गुरुत्व अझ ढन हो, घट्ने होइन । समाजमा वस्ने कसैले पनि आफ्नो व्यवहार कानूनसम्मत राख्नु जररी छ । आफ्नो कामको दायित्वबाट उन्मुक्ति पाउनलाई आफ्नो काम कानूनसम्मत छ भनी देखाउनै पर्ने हुन्छ । यदि कामको प्रकृतिनै गैरकानूनी छ र त्यसले दुष्परिणाम ल्याउँछ भने त्यहाँ उसको गैरकानूनी मनसाय र काम विस्तृत भै पीडित भएको अन्य व्यक्ति सम्म सरेको हुन्छ भनी मान्नु पर्ने हुन्छ। प्रस्तुत मुद्दामा गैरकानूनी उद्देश्यले चोट प्रहार गरेको हुँदा सो चोटबाट पीडित हुने जो सुकै व्यक्ति उपरको परिणामको दायित्व पीडक प्रतिवादीले लिनुपर्ने हुन्छ । हुनत प्रस्तुत मुद्दामा मृतक, प्रतिवादीकै गफमेलका, निजसँग आपराधिक उद्देश्यको लागि आएको भन्ने देखिन्छ । त्यसो भए तापनि त्यतिकै कारणले निजको ज्यानको महत्वलाई कम आंकलन गर्न मिल्दैन । कसैको पनि ज्यान लिन नमिल्ने हुनाले मृतक आफैं आपराधिक सगठनका मानिस भए पनि निजको पनि ज्यान संरक्षण गर्नु पर्नेमा निजको ज्यान लिने सम्मको कार्य भएबाट सोको आपराधिक दायित्व प्रतिवादीले लिनै पर्ने देखियो ।

५४.   सरेको मनसाय सम्बन्धमा यस अदालतबाट समय समयमा विभिन्न सिद्धान्तहरू प्रतिपादन गरिदै आएको अवस्था हुँदा यो विषय हाम्रो फौजदारी न्याय प्रशासनमा विल्कुलै नयाँ भने होइन । टेकबहादुर रेउलेको जाहेरीले, वादी नेपाल सरकार विरूद्ध नरबहादुर रेउले समेत प्रतिवादी भएको कर्तव्य ज्यान मुद्दामा यस अदालतबाट लक्षित व्यक्ति उपर कार्य गर्दा जुन अपराध हुन सक्थ्यो, उक्त कार्य अर्को अनिच्छित व्यक्ति उपर भएमा पनि सोही अपराध मानिन्छ । एउटा मानिसलाई मार्ने नियतले गरेको प्रहार अर्को अनिच्छित मानिसलाई लागेर मृत्यु हुन पुगेको अवस्थामा कर्ताको आपराधिक मनसाय समाप्त भएको मानिने नभई सरेको (Transferred) मानिने हुँदा मनसाय प्रेरित हत्याको फौजदारी दायित्व सिर्जना हुनेभन्ने समेत मिति २०६१।११।२० मा निर्णय भई (ने.का.प. २०६१ अंक ११, पृ. १४८६ नि.नं. ७४६६) सिद्धान्त प्रतिपादन भएको देखिन्छ। प्रस्तुत मुद्दामा पनि प्रतिवादी कृष्ण कार्कीले प्रतिवादी कन्हैयालाई मार्न भनी प्रहार गरेको छुरी प्रतिवादी कन्हैयाले आफू बच्न मृतकलाई धकेल्दा मृतक शुकु थापालाई लाग्न गै मरेको भन्ने सरेको मनसायको स्पष्ट अवस्था विद्यमान रहेको देखिदा त्यस्तो सरेको मनसायबाट प्रतिवादी कृष्ण कार्कीको मनसाय समाप्त भएको सम्झी निजले गरेको कसूरबाट उन्मुक्ती दिन मिल्ने नदेखिदा निजको हकमा पर्न आएको पुनरावेदन सरहको निवेदन जिकिर पुग्न सक्ने देखिएन ।

५५.   प्रतिवादी कृष्ण कार्की उपर ज्यान सम्बन्धीको १३(१) नं. को दावी लिईएकोमा १३(३) नं. बमोजिम कसूर र सजाय ठहर गरेको मिलेन भन्ने पुनरावेदन जिकिरका हकमा विचार गर्दा प्रस्तुत मुद्दामा प्रतिवादीबाट प्रयोग भएको हतियारको प्रकृति हेरी मुलुकी ऐन ज्यान सम्बन्धीको १३(३) नं. अन्तर्गतको कसूर मानी सजाय गरेको विषयमा कस्तो त्रुटी भएको हो भन्ने कुराको आधार पुनरावेदक पक्षले स्पष्ट गर्न नसकेको हुँदा पुनरावेदन जिकिरसँग सहमत हुन नसकिने हुनाले उपरोक्त बमोजिम सजाय गर्ने गरेको पुनरावेदन अदालतको इन्साफ परिवर्तन गर्नु पर्ने देखिएन ।

            ५६.   प्रतिवादी कन्हैया रायलाई ज्यान सम्बन्धीको १३ नं. को देहाय (४) बमोजिमको अभियोग दावी लिईएकोमा १७ नं. को देहाय (२) बमोजिम घटी सजाय गरिएको मिलेको छैन भन्ने पनि वादी पक्षको पुनरावेदन जिकिर रहेको पाइन्छ । उक्त दुवै कानूनी प्रावधानको तुलनात्मक विश्लेषणको लागि प्रथमतः उक्त कानूनी व्यवस्था अलोकन गर्नु पर्ने देखियो ।

 

मुलुकी ऐन ज्यान सम्बन्धीको १३ नं. को देहाय (४):-

जुनसुकै कुरा गरिकन पनि ज्यान मार्नमा बचन दिनेलाई वा वारदात भई रहेको ठाउँमा गै मार्नलाई संयोग पारिदिन निमित्त मर्ने मानिसको जिउमा हात हाली पक्री समाती दिनेलाई जन्मकैद गर्नुपर्छ ।

 

मुलुकी ऐन ज्यान सम्बन्धीको १७ नं.

            ज्यान मार्नालाई मतलवमा भने पसेको तर मूख्य भै वचन पनि नदिने, हातहतियार पनि नछोड्ने, जिउमा पनि नछुने देहायका अवस्थाका अरु मतलबीहरूलाई ज्यान मरेको रहेछ भने देहाय बमोजिम र ज्यान मरेको रहेनछ भने देहायमा लेखिएको सजायको आधा सजाय गर्नुपर्छ...

ज्यान मार्नलाई भनी हतियार विष मागेमा जानी जानी हात हतियार गोली बारुद विष दिने वा ज्यान मार्ना निमित्त बारदात गरिरहेका ठाउँमा हतियार साथमा लिई महजुद रहनेलाई दशवर्ष कैद गर्नुपर्छ........१

माथि १ दफामा लेखिए बाहेक घेरा दिने, बाटो गौंडा छेक्ने वा भाग्न उम्कन नपाउने समेत गैह्र काम गरी मार्ने संयोग पारिदिनेलाई पाँच वर्ष कैद गर्नुपर्छ ...२

५७.   उल्लिखित दुई कानूनी व्यवस्थालाई समग्र रुपमा अध्ययन गरी हेर्दा पहिलो अर्थात १३(४) नं. को कानूनी व्यवस्था मानिस मार्ने वचन दिने तथा मार्नलाई मानिसको जिउमा हात समेत हाली पक्री समाती दिने उपर आकर्षित हुने देखियो । वचन दिने व्यक्ति मनसाय र तयारीका चरणमा समेत सरिक हुने हुँदा मुख्य ज्यान मारा सरहनै ठहर्ने हुन्छ । प्रस्तुत मुद्दामा प्रतिवादी कन्हैयाले मृतक शुकुलाई मार्न बचन दिएको समेत कुनै अवस्था खुल्न आएको छैन । उल्टै प्रतिवादी कृष्णले निज प्रतिवादी कन्हैयालाईनै ताकी छुरी प्रहार गरेको अवस्था छ । प्रतिवादी कन्हैया झगडा गर्न भनी मनसाय, पूर्वतयारी र हातहतियार सहित घटनास्थलमा गएका पनि छैनन् । आफ्नो डेराकोठामा बेलुकीको खाना तयार गरी रहेका निज प्रतिवादी कन्हैयालाई मार्न भनी स्वयं मृतक र प्रतिवादी कृष्ण कार्की समेतको समूह हातहतियार सहित आई कोठाबाट निकाली निज माथि अन्धाधुन्ध हतियार प्रहार गरेको अवस्था देखिन्छ । यसै क्रममा प्रतिवादी कृष्णले कन्हैया माथि प्रहार गरेको छुरी छल्न मृतक शुकु थापालाई धकेल्दा सो छुरी निजलाई लाग्न गई मृत्यु भई प्रतिवादी कन्हैयाले आफू बच्ने प्रयास सम्म गरेको देखिए पनि त्यस्तो धकेलाधकेल र हानाहानको तनावपूर्ण स्थितिमा प्रतिवादी कन्हैयाले आफू बच्न गरेको प्रयासलाई मृतक शुकु थापालाई मार्नका लागि निजको जिउमा हात हाली पक्री समाति दिएको जस्तो अर्थ लगाउन मिल्ने नदेखिँदा दावीको १३(४) नं. निजका हकमा कुनै पनि अर्थमा आकर्षित हुने देखिएन ।

५८.   निज प्रतिवादी उपर मुलुकी ऐन ज्यान सम्बन्धीको १७(२) नं. आकर्षित हुने ठहराएको पुनरावेदन अदालतको फैसला उपर प्रतिवादी कन्हैयाको यस अदालतमा पुनरावेदन परेको अवस्था छैन । साधक समेतको रोहबाट हेरिदा मुख्य अभियुक्त प्रतिवादी कृष्ण कार्की उपरको सजायमा फरक पर्न आएको अवस्था छैन । यस्तो अवस्थामा प्रतिवादीले स्वीकार गरी बसेको उक्त सजाय मिले नमिलेको भनी थप विचार गर्न मुलुकी ऐन अ.वं. २०५ नं. र न्याय प्रशासन ऐन, २०४८ को दफा १० ले  मिल्ने अवस्था नदेखिँदा त्यसतर्फ थप विश्लेषण गरिरहनु परेन ।

५९.   प्रतिवादी नगेन्द्र थापा र दिपक राय उपर ज्यान सम्बन्धीको १७(३) नं. को दावी लिईएकोमा सफाइ दिएको फैसला त्रुटीपूर्ण रहेको भन्ने पुनरावेदन जिकिरका हकमा विचार गर्दा प्रतिवादी मध्येको नगेन्द्र थापा मृतक शुकु थापाको मत सल्लाहमा पसी प्रतिवादी कन्हैयासँग झगडा गर्न हातमा सानो खुकुरी सहित वारदात स्थलमा गएको भनी निजले अधिकार प्राप्त अधिकारी समक्ष गरेको साविती बयान प्रतिवादी कन्हैया र दिपकको अधिकार प्राप्त अधिकारी र अदालत समक्षको बयान तथा प्रत्यक्षदर्शी उर्मिला रायको मौकाको कागजबाट पुष्टि भएको छ । त्यसै गरी निजले घटनास्थलमा लिएर गएको भनेको सानो खुकुरी बरामद भई आएको देखिए समेतबाट निज प्रतिवादी घटनास्थलमा मौजुद रही प्रतिवादी कन्हैया र दिपकसँग झैझगडा गरेको भन्ने तथ्यमा विवाद रहेको पाईदैन । यद्दप निज प्रतिवादी मृतकलाई मार्ने काम कुराको मतलवी नभई मृतकको समूहकै देखिन्छन् ।  मृतककै भनाईमा लागि निजकै लागि लड्न गएका र लडेको अवस्था समेत देखिन्छ । परिस्थितिवस यी प्रतिवादी सहितको मृतकको समूह आफूले चाहे जस्तो परिणाम निकाल्न असफल भई सरेको मनसायको परिणाम स्वरुप आफ्नै समूहका प्रतिवादी कृष्ण कार्कीको छुरी प्रहारबाट मृतक शुकुको मुत्यु भएको पाइन्छ । जो विरूद्ध संगठित भै निजहरू प्रतिवादी कृष्ण कार्कीसँग आएको हो सो विरूद्धको योजना कार्यान्वयन हुन नसकेको हुँदा र शुकुलाई मार्ने कार्यमा यि प्रतिवादीको मतलवी मतियारको भूमिका रहेको नदेखिँदा सफाइ दिएको फैसलामा कुनै कानूनी त्रुटी रहेको देखिएन ।

६०.   अर्का प्रतिवादी दिपक राय उपर पनि मतियार मतलवीकै कसूर गरेको भन्ने अभियोग देखिन्छ । निज प्रतिवादी कन्हैयाका दाई नाताका व्यक्ति देखिन्छन् । प्रस्तुत मुद्दाको उठानको जरिया वा विषयवस्तुसँग यी प्रतिवादीको कुनै सम्बन्धनै रहेको देखिदैन । मृतकलाई पंखा चोर लगाउने भनिएका प्रतिवादी कन्हैयासँग झगडा गर्न मृतकको समूह हात हतियार सहित यी प्रतिवादीसँगै बस्ने भाई कन्हैयालाई बोलाउन राती हुँदो आएको अवस्था छ । रातीको समयमा आफ्नो भाई प्रतिवादी कन्हैयालाई शंकास्पद तरिकाले बोलाएको थाहा पाई यी प्रतिवादी र निजको आमा उर्मिला समेत प्रतिवादी कन्हैयाको पछिपछि घट्नास्थलमा गएका छन् । मृतक समेतको समूहले प्रतिवादी कन्हैयालाई प्रहार गर्न लाग्दा प्रतिवादी दिपकले आफ्नो भाईलाई वचाउन मृतकको समूहसँग लडेको सम्म देखिन आएको छ । यसै क्रममा मृतक र प्रतिवादी कन्हैयाको समूह बीच हानाहान कुटाकुटको अवस्था सिर्जना भई सोही क्रममा प्रतिवादी कृष्णले कन्हैयालाई हानेको छुरी कन्हैयाले मृतकलाई हुत्याउँदा निजलाई लाग्न गै मृत्यु भएको अवस्था छ । सो वखत प्रतिवादी नगेन्द्र र यी प्रतिवादी एकापसमा भिड्दै रहेको भन्ने देखिँदा मृतकलाई मार्ने कार्यमा यी प्रतिवादीको कुनै मतलवी मतियारको भूमिका देखिएन ।

६१.    तसर्थ उल्लेखित कानूनी व्यवस्था र प्रतिपादित सिद्धान्त समेतको विवेचित आधार प्रमाणबाट शुरुको फैसला केही उल्टी गरी प्रतिवादी कृष्ण कार्की (के.सी.) लाई ज्यान सम्बन्धी महलको १३(३) नं. बमोजिम जन्मकैद र प्रतिवादी कन्हैया रायलाई सोही १७(२) नं. बमोजिम ५ वर्ष कैद सजाय हुने ठहराएको समेत पुनरावेदन अदालत बुटवलको मिति २०६०।३।४ को फैसला मनासिव देखिँदा साधक समेत सदर हुने ठहर्छ । वादी नेपाल सरकारको पुनरावेदन र प्रतिवादी कृष्ण कार्की (के.सी.) का हकमा पर्न आएको पुनरावेदन सरहको निवेदन जिकिर पुग्न सक्दैन ।

६२.   प्रतिवादीहरू कृष्ण कार्की (के.सी.) का हकमा ठहरे बमोजिम सजाय गर्दा चर्क पर्ने भनी पुनरावेदन अदालतले अ.वं. १८८ नं. बमोजिम १० वर्ष कैद हुन उपयुक्त देखिएको भनी राय समेत पेश गरिएको रहेछ । सो सम्बन्धमा विचार गर्दा, माथि विभिन्न प्रकरणहरूमा गरिएको विवेचनाबाट प्रतिवादी कृष्ण कार्की (के.सी.) को मृतक शुकु थापालाई मार्ने सम्मको पूर्व रिसइवी रहे भएको देखिदैन । बर उल्टै मृतकको भनाई मानी निजकै सहयोग मद्दतको लागि प्रतिवादी कन्हैयासँग झगडा गर्न गएको अवस्था कन्हैयालाई हानेको छुरी निजले मृतकलाई धकेल्दा लाग्न गई मरेको अवस्था देखिन्छ । १९ वर्ष उमेर र पेशा पढ्दै गरेको भन्ने प्रतिवादी कृष्ण कार्कीको बयानबाट देखिँदा निजको कलिलो उमेर र घटनाको परिस्थिति समेतलाई विचार गर्दा जन्मकैदको सजाय गर्दा चर्क नै हुने हुँदा १० वर्ष कैद सजाय हुन पेश गरिएको राय समेत मनासिव भई सदर हुने ठहर्छ अरुमा तपसिल बमोजिम गर्नु ।

 

तपसिल

प्रतिवादी मध्येको कृष्ण कार्की (के.सी.) लाई मुलुकी ऐन ज्यान सम्बन्धीको १३(३) नं. बमोजिम जन्मकैदको सजाय ठहर गरी अ.व. १८८ नं. बमोजिम १० वर्ष कैदको लागि राय व्यक्त गरेको समेत पुनरावेदन अदालतको फैसला सदर हुने ठहरेकोले वेरुजु रहेको उक्त कैदको लगत कसी असुल गर्नु गराउनु भनी शुरु रुपन्देही जिल्ला अदालतमा लगत दिनु ...

मिसिल नियमानुसार गरी बुझाई दिनु ...२

 

उक्त रायमा म सहमत छु ।

 

न्या.केदारप्रसाद गिरी

 

इति सम्मत २०६३ साल फाल्गुण २७ गते रोज १ शुभम्.......

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु