निर्णय नं. ८९८४ - जालसाज

ने.का.प. २०७०, अङ्क ३
निर्णय नं.८९८४
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री सुशीला कार्की
माननीय न्यायाधीश श्री प्रकाश वस्ती
पुनरावेदन नं. – ०६६–CR–०७५८
फैसला मितिः २०७०।१।१०
मुद्दा :– जालसाज ।
पुनरावेदक / वादीः जिल्ला बझाङ, रिठापाटा गा.वि.स.वडा नं.६ घर भै हाल जिल्ला कैलाली धनगढी न.पा.वडा नं. ११ वस्ने रत्ना स्नेही (सुनार)
विरुद्ध
प्रत्यर्थी / प्रतिवादीः जिल्ला बझाङ, रिठापाटा गा.वि.स.वडा नं.६ वस्ने अम्मरलाल सुनार समेत
शुरू फैसला गर्ने :–
मा.न्या.श्री रमेशराज पोखरेल
पुनरावेदन तहमा फैसला गर्ने :–
मा.न्या.श्री गिरीश चन्द्र लाल
मा.न्या.श्री शम्भुबहादुर खड्का
§ फिराद दावी र प्रतिउत्तर जिकीरबाट मुद्दाको विषयवस्तु बन्ने भई सोही सीमामा रही मुद्दाका निर्णायक प्रश्नहरू निर्धारण गर्नुपर्ने हुन्छ । अ.बं.१३३ बमोजिम गराइने कागजबाट थप दावी गरिएको रहेछ भने वा थप प्रतिवाद गरिएको रहेछ भने पनि ती सम्बन्धित फिराद र प्रतिउत्तर भन्दा पृथक रहेछन् भने यस्ता नयाँ तथ्य वा माग वा जिकीरले मुद्दाको निर्णायक प्रश्न निर्धारण गर्नुपर्दा कुनै कानूनी महत्व राख्दैन । तसर्थ फिराद तथा त्यसको प्रतिवादस्वरूप प्रस्तुत प्रतिउत्तरमा सीमित भई अदालतले आफ्नो फैसला दिनुपर्ने ।
§ कीर्ते कागजको ३ नं. र १० नं. अंगाली दायर फिरादमा फैसला बदर, दर्ता बदर र दर्ता हक कायम प्रकृतिका देवानी माग समेत लिइएको फिराद अ.बं. ७२ नं. प्रतिकूल हुन्छ । फिराद देवानी वा फौजदारी कुन प्रकृतिको हो भन्ने निर्धारण गर्नुपर्दा फिरादपत्रले टेकेका कानूनी आधारलाई हेर्नुपर्ने ।
§ जालसाजी क्रियाबाट हक स्थापित हुँदैन । जालसाजी ठहर भएको स्रोतले कसैलाई पनि हक प्रदान गर्न सक्दैन् । दर्ता बदर, दर्ता र हककायम समेत एउटै फिरादमा माग गरिएको अवस्थामा देवानी विषयमा प्रवेश नगरी निष्कर्षमा पुग्न नसकिने भएकाले फौजदारी विषयक मुद्दाबाट देवानी उपचार दिन कानूनन् असम्भव भएको अवस्थामा वादी दावी पुग्ने निष्कर्ष निकाल्न न्यायोचित नहुने ।
(प्रकरण नं.४)
§ मुद्दा सकार परिवारको अगुवा भई व्यवहार गर्ने व्यक्तिले गर्ने हो । मुद्दा सकार गर्दा अन्य परिवार सदस्यको पनि मञ्जूरी चाहिन्छ भन्नु प्रचलित कानून र व्यवहार प्रतिकूल हुन्छ । कसैले मुद्दा सकार गरेकोमा आपत्ति भए वा आफू पनि सरिक हुनपर्ने ईच्छा भए मुद्दा सकार समेतका माध्यमले मुद्दामा संलग्न हुन सकिन्छ । मुद्दा सकार गर्नेको हैसियत पक्ष सरह हुने हुँदा निजले मुद्दा फिर्ता लिन सक्ने ।
(प्रकरण नं.५)
§ मुद्दामा पक्ष कायम भएको मुद्दामा मिलापत्र गर्ने वा मुद्दा नै फिर्ता लिने जस्ता अधिकारको प्रयोग गर्न कुनै कानूनले रोक नलगाएकोले मुद्दामा पक्ष कायम भएको व्यक्तिले अदालतमा मुद्दा फिर्ताको लागि निवेदन दिई मुद्दा फिर्ता भएको कार्य आफैंमा जालसाजी हुन नसक्ने ।
(प्रकरण नं.६)
§ दावी लिएकै भरमा सकार गर्न सक्ने परिवारका सदस्यले मुद्दा फिर्ता लिँदैमा वा मिलापत्र गर्दैमा वा सो मुद्दामा पक्षको हैसियतले कुनै कार्य गर्दैमा ती कार्य जालसाजी घोषित गर्दै जाने हो भने पारिवारिक संरचना र कानूनी प्रणालीलाई नै पुनर्परिभाषित गर्नुपर्ने ।
(प्रकरण नं.७)
पुनरावेदक तर्फबाटः विद्वान अधिवक्ता इन्द्र खरेल
प्रत्यर्थी तर्फबाटः विद्वान अधिवक्ता मातृकाप्रसाद निरौला
अवलम्बित नजीरः
सम्बद्ध कानूनः
§ कीर्ते कागजको ३ नं. र १० नं.
§ अ.बं. ७२, ७७, र ७८ नं.
फैसला
न्या.प्रकाश वस्तीः पुनरावेदन अदालत दिपायलको २०६४।१०।२९ को फैसलाउपर मुद्दा दोहोर्याई हेरी पाऊँ भनी वादीको तर्फबाट निवेदन परी यस अदालतबाट न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) बमोजिम दोहोर्याई हेर्ने निस्सा प्रदान भै पुनरावेदनको रूपमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :–
मेरा बडाससुरा जंगे मिजार र उनका पाँच भाइ छोराहरू क्रमशः सन्तवीर, महावीर, अकवीर, मानवीर र वस्तीराम स्नेही हुन् । मेरा ससुरा महावीर मिजार र यिनका तीन भाइ छोराहरू क्रमश: विपक्षी अमरलाल मिजार, मेरा पति अमरध्वज मिजार र देवर रुद्रवीर मिजार हुन् । जंगे मिजारका नाउँमा दर्ता भएका सम्पूर्ण खेत पाखा जग्गाहरूमा बडाससुराका ५ भाइ छोराहरूको बराबर हक लाग्ने हुँदा सोहीबमोजिम बण्डा हिस्सा भई आएको अवस्था चैनपुर मौजामा सर्पट नापीको सा.कि.नं. ८१ मूल सडक पश्चिम, नरबहादुर पूर्व, हर्के दक्षिण, दलवीर उत्तरको मा.मु. । ५ को छोरे बगर खेत मेरा ससुरा महावीर मिजारका हिस्सामा परी उहाँको शेषपछि उहाँका तीन भाइ छोराहरूले सो कि.नं. ८१ को बराबर तीन हिस्सा गरी भोगचलन गरी आएकोमा उक्त जग्गा सम्बन्धमा २०४५ सालमा विपक्षी अम्मरलालसँग मेरा पतिसमेतको मुद्दा परेपछि मिति २०४५।३।२२ मा मिलापत्र भई बराबर तीन हिस्सा गरी दा.खा. समेत भैसकेको र २०५१ सालमा जग्गा नाप जाँच हुँदा उक्त सा.कि.नं. ८१ बाट कित्ताकाट भई कि.नं.६०२ अमरध्वजको नाममा, ६०३ रुद्रवीरको नाममा र कि.नं. ६०४ विपक्षी अम्मरलालको नाममा टिपिनुपर्नेमा विपक्षी अम्मरलालले सा.कि.नं. ८१ पूरै आफ्नै हो भनी दावी लिएको र जग्गा तेरोमेरोसम्बन्धी विवाद चलिरहेको अवस्था मालपोत कार्यालय बझाङले विपक्षीलाई जिताई निर्णय गरेकोमा सोउपर मेरा पति र विपक्षीबीच बझाङ जिल्ला अदालतमा मुद्दा चलिरहेका अवस्थामा मेरा पति अमरध्वज स्नेहीको मिति २०५८।५।५ मा कालगतिले मृत्यु भएपछि मेरी सौता शारदा पटिृका छोरा हृदयमणि स्नेहीले सा.कि.नं. ८१ बाट हाल कायम कि.नं.६०२, ६०३, ६०४ को जग्गासम्बन्धी मुद्दा परेको कुरा हामी घरपरिवारका अन्य सदस्यहरूलाई थाहा जानकारी नदिई विपक्षी जेठाजु अम्मरलालको भनाईमा लागी निज विपक्षीहरूले एकआपसमा अनुचित साँठगाँठ एवं जालसाज गरी मिति २०६०।३।४ मा फिराद दावी प्रमाणित गर्न सक्दिन भनी विपक्षी हृदयमणिले बझाङ जिल्ला अदालतमा जालसाजीपूर्ण निवेदन दिई सोही आधारमा अदालतले मुद्दा फिर्ता गरेको र सो कारणले म समेतका सदस्यहरूको हक जाने गरी फैसला गरेको हुँदा विपक्षी छोरा हृदयमणिले आफ्नो पैतृक सम्पत्तिमा दावी प्रमाणित गर्न सक्दिन भनी अदालतमा चढाएको मिति २०६०।३।४ को निवेदन मुलुकी ऐन, कीर्ते कागजको महलको ३ नं. विपरीत हुँदा निज विपक्षीहरूलाई सो ऐनको १० नं. बमोजिम हदैसम्म सजाय समेत गरी सोही निवेदनलाई आधार मानी गरेको मिति २०६०।३।८ को फैसलासमेत बदर गरी सा.कि.नं. ८१ बाट हाल कायम कि.नं. ६०२, ६०३, ६०४ मध्ये ६०२ को कित्ता म समेतका नाममा दर्ता गर्न आज्ञा आदेश गरिपाऊँ भन्ने समेत व्यहोराको रत्ना स्नेहीको फिराद दावी ।
फिरादपत्रको सम्पूर्ण व्यहोरा झूठा र बनावटी हो । १९९० सालको जाँचमा जंगे मिजारका नाममा दर्ता भएको सा.कि.नं. ८१ मा.मु.। ५ को छोरेवगरबाट हाल कायम भएका कि.नं. ६०२,६०३ र ६०४ को छोरेवगर खेत विपक्षीको अंश हिस्साको नभै एकलौटी मेरा अंश भागको हुँदा ता.मु.बाट मिति २०३५।८।३० मा मेरा नाममा दा.खा. समेत भई सकेको जग्गा विपक्षीहरूको हकअंशको भए उक्त मितिमा मेरा नामको दा.खा.बदर गराउन सक्नुपर्नेमा सो गराउन सकेको छैन । मेरो जग्गा लिने खाने मनसायले प्रेरित भै जालसाज मुद्दा दिएको हो । सो जग्गा सम्बन्धमा विपक्षीका लोग्ने अमरध्वजसँग मुद्दा परी अदालतबाट मिति २०६०।३।८ मा फैसला भई मैले जिती पाई मेरो एकलौटी हक हुन आएको जग्गा हो । उक्त जग्गा मिति २०४३।२।१३ को वन्धकी तमसुकमा भाइ रुद्रवीर साक्षी बस्नुको साथै मिति २०५४।५।२३ मा बझाङ जिल्ला अदालतबाट नापी शाखा बझाङ पठाएको पत्रमा पनि सा.कि.नं. ८१ को जग्गा अम्मरलाल मिजारको हो भनी उल्लेख भएको छ । मिति २०६०।३।४ गतेमा विपक्षीको छोरा हृदयमणिले आफ्नो हकदावी छोडी बझाङ जिल्ला अदालतमा साविती कागज गरी मेरो जग्गा होइन, निज अम्मरलालको जग्गा हो भनी स्वीकार गरिसकेको जग्गालाई लिन खान सकिन्छ कि भनी यो झूठा मुद्दा दिएका हुन् । फिराद खारेजभागी हुँदा खारेज गरिपाऊँ भन्ने समेत व्यहोराको अम्मरलाल मिजार र सुरेन्द्र स्नेही मिजारको संयुक्त प्रतिउत्तर पत्र ।
प्रतिवादीमध्येका हृदयमणि स्नेहीले अदालतबाट जारी भई तामेल भएका म्याद शुरू म्यादै गुजारी बसेको ।
सा.कि.नं.८१ को छोरे बगर भन्ने जग्गामा तीन भाइको बराबर भाग लाग्ने हो । यिनीहरूको के कति कारणले हो त्यो बेला वादी प्रतिवादीबीच मुद्दा परिरहेको थियो त्यो वीचमा हृदयमणि भन्नेले यी झगडिया अम्मरलाल र सुरेन्द्रसँग बसी जाँड रक्सी खाई मुद्दा जालसाज गरी आफ्ना कान्छा बुबा र कान्छी आमालाई अंश नपाउने गरी भागी धनगढी गएको हो भन्ने समेत व्यहोराको वादीका साक्षी दलबहादुर स्नेहीले गरेको बकपत्र ।
साहिला बुबा महावीरको अंशको जग्गा तीन भाईको बराबर हक लाग्ने जग्गा हो । अम्मरलाल र हृदयमणि मिली वादीको जग्गा हराउनका लागि अघि मुद्दामा मिलापत्र गरेका हुन् । हालको कि.नं. ६०४ अम्मरलालको, ६०३ रुद्रवीरको, ६०२ अम्मरध्वजको जग्गा हो । हृदयमणिले कान्छीपटिृका छोरालाई ठग्नका लागि प्रतिवादीसँग मिली जालासाज गरेका हुन् भन्ने समेत व्यहोराको वादीका साक्षी धनबहादुर स्नेहीले अदालतमा गरेको बकपत्र ।
दा.खा. कसको नाममा छ, मलाई थाहा छैन, प्रतिवादी अम्मरलाल मिजारले छोरेवगर जग्गामा आलु लगाएको देखेको हुँ भन्ने समेत व्यहोराको प्रतिवादीका साक्षी जगदीशचन्द्र जैसीले अदालतमा गरेको बकपत्र ।
वादी अमरध्वज स्नेही र प्रतिवादी अम्मरलाल मिजारबीच चलेको मालपोत निर्णय बदर हक कायम मुद्दामा वादीको मृत्यु भई निजका छोरा हृदयमणि स्नेहीले मुद्दा सकार गरी निज सकार गर्ने व्यक्तिले दावी प्रमाणित गर्न सक्दिन भनी अ.बं. ९२ नं. बमोजिम गरी दिएको कागजका आधारमा मुद्दा फिर्ताको निर्णय भएको देखिएकोले अ.बं. ९२ नं. बमोजिम गरेको कागजका आधारमा मालपोत निर्णय बदर मुद्दा फिर्ता गर्ने गरी भएको निर्णयउपर यी फिरादीले पुनरावेदन नगरी अ.बं. ९२ नं. बमोजिम भएको कागज नै जालसाजपूर्ण हो भनी लिएको वादी दावी पुग्न नसक्ने ठहर्छ भन्ने समेत व्यहोराको बझाङ जिल्ला अदालतबाट भएको मिति २०६३।९।६ को फैसला ।
अदालतमा गरिने मिलापत्र, डिसमिस, खारेजबाट अरू हकवालाहरूको हक जाने रहेछ भने आफ्नो हक जानेमा मिलापत्र, डिसमीस, खारेज जतिमा बदर गरिपाऊँ भनी नालिस गरेमा इन्साफ गरी दिनुपर्छ भन्ने कानूनी व्यवस्था रहेकोमा प्रतिवादी हृदयमणिले म समेतका हकवाला अंशियारहरूलाई मुद्दाको बारेमा कुनै थाहा जानकारी नदिई विपक्षीहरूसँग मिलोमतो गरी दावी प्रमाणित गर्न सक्दिन भनी कागज गरी कीर्ते कागजका महलको ३ नं. बमोजिम हामी हकवालाहरूको हकलाई समाप्त गर्ने गरी जालसाजपूर्ण तरिकाबाट गरिएको कागजलाई आधार मानी शुरू अदालतबाट भएको त्रुटिपूर्ण फैसला बदर गरी फिराद दावीबमोजिम गरिपाऊँ भन्ने समेत व्यहोराको वादीको पुनरावेदन अदालत दिपायलमा परेको पुनरावेदन पत्र ।
कानूनबमोजिम अड्डा अदालतमा भए गरेको कामकारवाही कीर्ते कागजको महलको ३ नं. को परिभाषाभित्रको जालसाजी कार्य भन्न मिल्ने नदेखिदा अ.ब.९२ नं. बमोजिम मुद्दा फिर्ता लिने प्रयोजनका लागि मिति २०६०।३।४ मा पेश गरेको निवेदन जालसाजी घोषित गरिपाऊँ भन्ने वादी दावी पुग्न नसक्ने ठहर गरी बझाङ जिल्ला अदालतबाट भएको मिति २०६३।९।६ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत दिपायलको २०६४।१०।२९ को फैसला ।
पुनरावेदन अदालतको फैसलामा चित्त बुझेन । साविक कि.नं. ८१ को जग्गा बराबरी बाँडी खाने भनी अदालतमा २०४५।३।२२ मा मिलापत्र भएको छ । सोही जग्गा विपक्षीले आफ्नो नाउँमा दर्ता गराएकोले सोउपरको उजूरीमा मालपोत कार्यालयले तेरोमेरोमा हकबेहक निर्णय गराई ल्याउनु भनी अदालतमा मुद्दा परी विचाराधीन रहेको अवस्थामा पतिको परलोक भै विपक्षी हृदयमणिले मुद्दा सकार गरेका थिए । निज हृदयमणिले निजमात्र हकवाला देखाई दावी प्रमाणित गर्न नसक्ने भनी अदालतमा निवेदन गरी मुद्दा फिर्ता लिएकाले मेरो पतिको जग्गाबाट मेरो हक जाने गरी गरेको कार्य कीर्ते कागजको ३ नं. को परिभाषाभित्र पर्नेमा शुरू र पुनरावेदन अदालतले दावी पुग्न नसक्ने गरी गरेको फैसला त्रुटिपूर्ण भएकाले मुद्दा दोहोर्याई हेरिपाऊँ भन्ने समेत व्यहोराको वादीको यस अदालतमा परेको निवेदन पत्र ।
यसमा बाबु अम्मरध्वजको विपक्षी अंशियार भएको कुरामा विवाद नभएको, बाबुको मृत्युपछि छोरा हृदयचन्द्रले अरू निवेदिकासहितका सबै हकदार नै नदेखाई एक्लै मुद्दा सकार गरी अरूको हक जाने गरी कायलनामा गरेको र निज हृदयचन्द्रको अर्को भाइ सुरेन्द्रले विपक्षीसँग गरेको लिनु र दिनुको कपाली तमसुकको परिप्रेक्ष्यमा भएको कायलनामातर्फको प्रमाणको समेत मूल्याङ्कन नगरी भएको पुनरावेदन अदालतको इन्साफमा प्रमाण ऐन, २०३१ को दफा ५४, अ.व.६२ नं. को व्याख्यात्मक त्रुटि भई फरक पर्ने हुँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) बमोजिम प्रस्तुत मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिदिएको छ भन्ने यस अदालतको आदेश ।
नियमबमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदनसहितको मिसिल अध्ययन गरियो । पुनरावेदक तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री इन्द्र खरेलले पुनरावेदक समेतको हक जाने गरी विपक्षीहरूले मिलेमतो गरी अदालतबाट मुद्दा फिर्ता लिएको कार्य स्पष्ट रूपमा जालसाजी हो । शुरू र पुनरावेदन अदालतले दावी नपुग्ने ठहर्याएको फैसला त्रुटिपूर्ण भएकाले उल्टी गरी वादी दावीबमोजिम विपक्षीहरूले जालसाजी गरेको ठहर हुनुपर्छ भन्ने समेत बहस गर्नुभयो ।
प्रत्यर्थी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री मातृकाप्रसाद निरौलाले हृदयमणिले निजको बाबुको मृत्युपछि बाबुको हकमा मुद्दा सकार गरेकोले उक्त मुद्दामा मिलापत्र गर्ने वा मुद्दा फिर्ता लिने जे सुकै गर्न पाउने अधिकार निजसँग छ । मुद्दा फिर्ता लिनको लागि मुद्दाको पक्ष नै नभएका व्यक्तिको पनि सहमति लिनुपर्ने हुँदैन । वादी पनि हकवाला भए मुद्दा सकार गरी आउनु पर्ने थियो । अमरध्वज मरी मुद्दा सकार गरी पक्ष कायम भएका हकवाला हृदयमणिले मुद्दा फिर्ता गरिपाऊँ भनी अदालतमा निवेदन दिएको कार्य कीर्ते कागजको परिभाषाभित्र नपर्ने हुँदा वादी दावी नपुग्ने ठहर्याएको शुरू र पुनरावेदन अदालतको फैसला मिलेको हुँदा सदर हुनुपर्छ भन्ने समेत बहस गर्नुभयो ।
उक्त बहस समेतलाई सुनी हेर्दा वादी दावी पुग्न नसक्ने ठहर्याएको शुरूको फैसला सदर गरेको पुनरावेदन अदालतको फैसला मिलेको छ वा छैन र वादीको पुनरावेदन जिकीर पुग्ने हो वा होइन भन्ने निर्णय दिनुपर्ने देखियो ।
२. निर्णयतर्फ विचार गर्दा पति अमरध्वज र विपक्षी अमरलालबीचमा बझाङ जिल्ला अदालतमा चलेको निर्णय बदर मुद्दामा पति अमरध्वजको मृत्युपछि सौतापटिृका छोरा ह्रदयमणीले अमरलालसँग मिलेमतोमा जालसाजी गरी २०६०।३।४ मा फिराद दावी प्रमाणित गर्न सक्तिन भनी अदालतमा निवेदन दिई मुद्दा फिर्ता गरेकोले मेरो समेत हक जाने गरी भएको विपक्षीहरूको उक्त कार्य कीर्ते कागजको ३ नं. विपरीत भएकाले विपक्षीहरूलाई सजाय गरी मुद्दा फिर्ता लिएको कार्य बदर गरिपाऊँ भन्ने वादीको मुख्य फिराद दावी रहेको पाइन्छ ।
३. शुरू जिल्ला अदालतले वादीको दावी पुग्न नसक्ने ठहर्याई फैसला गरेकोमा पुनरावेदन अदालतले सो फैसला सदर गरे उपर वादीको यस अदालतमा मुद्दा दोहोर्याई हेरी पाऊँ भन्ने निवेदन परी दोहोर्याउने निस्सा प्रदान भै पुनरावेदनको रोहमा प्रस्तुत मुद्दा पेश भएको देखियो ।
४. फिराद दावी र प्रतिउत्तर जिकीरबाट मुद्दाको विषयवस्तु बन्ने भई सोही सीमामा रही मुद्दाका निर्णायक प्रश्नहरू निर्धारण गर्नुपर्ने हुन्छ । अ.बं.१३३ बमोजिम गराइने कागजबाट थप दावी गरिएको रहेछ भने वा थप प्रतिवाद गरिएको रहेछ भने पनि ती सम्बन्धित फिराद र प्रतिउत्तर भन्दा पृथक रहेछन् भने यस्ता नयाँ तथ्य वा माग वा जिकीरले मुद्दाको निर्णायक प्रश्न निर्धारण गर्नुपर्दा कुनै कानूनी महत्व राख्दैन । तसर्थ फिराद तथा त्यसको प्रतिवादस्वरूप प्रस्तुत प्रतिउत्तरमा उल्लिखित सन्दर्भमा सीमित भई अदालतले आफ्नो फैसला दिनुपर्ने हुन्छ । देवानी र फौजदारी अलग–अलग विषय हुन् भन्ने कुरामा बिवाद छैन् । कीर्ते कागजको ३ नं. र १० नं. अंगाली दायर प्रस्तुत फिरादमा फैसला बदर, दर्ता बदर र दर्ता हककायम प्रकृतिका देवानी माग समेत लिइएको पाइन्छ । यस किसिमको फिराद अ.बं. ७२ प्रतिकूल हुन्छ । फिराद देवानी वा फौजदारी कुन प्रकृतिको हो भन्ने निर्धारण गर्नु पर्दा फिरादपत्रले टेकेका कानूनी आधारलाई हेर्नुपर्ने हुन्छ । प्रस्तुत फिराद फौजदारी क्रियासँग सम्बन्धित कानूनका आधारमा दायर भएबाट फिरादका देवानी मांग दावीलाई निरर्थक र निष्प्रयोजित मान्नुपर्ने हुन्छ । जालसाजी क्रियाबाट हक स्थापित हुँदैन । जालसाजी ठहर भएको स्रोतले कसैलाई पनि हक प्रदान गर्न सक्दैन् । तर, प्रस्तुत फिरादको प्रकृति हेर्दा दर्ता बदर, दर्ता र हककायम समेत यही फिरादमा माग गरिएको समेत अवस्थामा यी देवानी विषयमा प्रवेश नगरी निष्कर्षमा पुग्न सकिंदैन । तसर्थ फौजदारी विषयक मुद्दाबाट वादीले दावी गरेजस्तो देवानी उपचार दिन कानूनन् असम्भव भएको अवस्थामा वादी दावी पुग्ने निष्कर्ष निकाल्न न्यायोचित हुँदैन ।
५. चुनौती दिइएको विषय एक परिवार सदस्यले मुद्दा सकार गरी मुद्दा फिर्ता लिने कार्य जालसाजी हो वा होइन भन्ने सन्दर्भमा सीमित भई विचार गर्दा पतिले जग्गा तेरोमेरोमा मुद्दा दिएको र अदालतमा चलिरहेको यी फिरादीलाई जानकारी छ । पतिको देहान्त २०५८।५।५ मा भएको पनि निजकै फिराद लेखबाट देखिन्छ । सो मुद्दा सकार गर्ने समेतको कुनै सरोकार यी फिरादीले राखेको पाईदैन । सौतेनी छोराले सो मुद्दा सकार गरी २०६०।३।४ मा फिराद दावी प्रमाणित गर्न सक्दिन भनी मुद्दा फिर्ता लिने कार्य जालसाजी भन्ने फिराद कथन छ । मुद्दा सकार परिवारको अगुवा भई व्यवहार गर्ने व्यक्तिले गर्ने हो । मुद्दा सकार गर्दा अन्य परिवार सदस्यको पनि मञ्जूरी चाहिन्छ भन्नु प्रचलित कानून र व्यवहार प्रतिकूल हुन्छ । कसैले मुद्दा सकार गरेकोमा आपत्ति भए वा आफू पनि सरिक हुनपर्ने ईच्छा भए मुद्दा सकार समेतका माध्यमले मुद्दामा संलग्न हुन सकिन्छ । यी वादीले करीव दुई वर्ष सो मुद्दामा कुनै पनि किसिमको सरोकार जनाएको देखाउन सकेको पाइदैन । मुद्दा सकार गर्नेको हैसियत पक्ष सरह हुने हुँदा निजले मुद्दा फिर्ता लिन सक्ने नै हुन्छ । मुद्दा फिर्ता लिने कार्यमा कीर्ते कागजको ३ नं. का अन्तरवस्तु विद्यमान भएको देखाउने दायित्व वादीमै हुन्छ । कीर्ते कागजका ३ नं.का अन्तरवस्तुको विद्यमानताको कुनै आधार प्रमाण वादीले देखाउन सकेको पाइँदैन् । फिरादमा उल्लेख नगरेको तथा मिसिलमा संलग्न नै नभएको भई अ.बं.७८ नं. को प्रक्रियामा नै अपनाउनु पर्ने अवस्था नपरेको तमसुकलाई दोहोर्याउने निस्सा दिंदा उल्लेख गरिए पनि सो असम्बन्धित लिखतका आधारमा न्यायिक धारणा बनाउन मिलेन । मुद्दामा अ.बं.७७ बमोजिम विधिवत प्रवेश नपाएको लिखतलाई अ.बं. ७८ को प्रक्रिया अपनाउनु पर्दैन् । र, अ.बं.७८ बमोजिम सद्दे कीर्तेमा नसुनाइएको घरायसी लिखत सम्बन्धित पक्षका विरुद्ध प्रमाणमा लिन मिल्दैन । मुद्दामा देखा पर्ने वा देखाइने प्रत्येक लिखत प्रमाण हुन सक्दैनन् । प्रमाण हुन ती ठहर गर्नुपर्ने कुरासँग सम्बद्ध हुनुपर्छ र मूल्याङ्कित हुन विधिवत् पराजीत हुनुपर्दछ । मुद्दाको दावी प्रमाणित गर्न सक्दिन भनी फिर्ता लिने पक्षले अर्को पक्षसँग लाभ लिई मुद्दा छाडेको भनी मुद्दा दोहोर्याउने निस्सा दिँदा उल्लिखित तमसुकका बारेमा न फिरादमा कुनै उल्लेखन छ, न त त्यो लिखत मिसिलमा विधिवत संलग्न नै गराइएको छ । यस्ता अप्रमाणित तथा पुनरावेदन अदालतले निरोपण गर्नै नपाएको लिखतलाई आधार मानी सो फैसलालाई त्रुटिपूर्ण मान्न मिल्दैन । पुनरावेदकीय अधिकार प्रयोग गरी सम्बन्धित फैसलामाथि विचार गर्दा त्यो तथ्य वा प्रमाण उक्त अदालतले फैसला गर्दा मिसिल संलग्न थियो वा थिएन भन्ने कुरा हेरिनु पर्ने हुन्छ ।
६. यी पुनरावेदक वादीका पति अम्मरध्वज वादी र अम्मरलाल प्रतिवादी भई बुझाइ जिल्ला अदालतमा मालपोतमा निर्णय बदर मुद्दा चलेकोमा सो मुद्दा कारवाहीयुक्त अवस्थामा रहँदा वादी अमरध्वजको २०५८।५।५ मा मृत्यु भएपछि निजको छोरा हृदयमणिले २०५८।६।३ मा मुद्दा सकार गरेको देखिन्छ । निज हृदयमणिले मुद्दा सकार गरेपश्चात उक्त मुद्दाको कारवाहीमा सामेल रही २०६०।३।४ मा मुद्दामा लिएको दावी सावित गर्न नसक्ने हुँदा अ.बं. ९२ नं. बमोजिम मुद्दा फिर्ता गरिपाऊँ भनी बझाङ जिल्ला अदालतमा निवेदन दिई अदालतबाट मुद्दा फिर्ता हुने आदेश भै सो मुद्दाको कामकारवाही अन्तिम भएर रहेको देखिन्छ । यी वादीको उल्लिखित मालपोत कार्यालयको निर्णय बदर मुद्दामा कुनै प्रकारको हक सन्ननिहित रहेको भए आफ्नो हकमा समेत मुद्दा सकार गरी गराई आफू पनि सो मुद्दामा पक्ष कायम हुन सक्नुपर्नेमा सो केही भएको देखिएन । विपक्षी हृदयमणिले रितपूर्वक आफनो बाबुको तर्फबाट मुद्दा सकार गरेको भन्ने कुरामा विवाद छैन । यसरी मुद्दामा पक्ष कायम भएको हृदयमणिलाई सो मुद्दामा मिलापत्र गर्ने वा मुद्दा नै फिर्ता लिने जस्ता अधिकारको प्रयोग गर्न कुनै कानूनले रोक लगाएको छैन । मुद्दामा पक्ष कायम भएको व्यक्तिले अदालतमा मुद्दा फिर्ताको लागि निवेदन दिई मुद्दा फिर्ता भएको कार्य आफैंमा जालसाजी पनि हुन सक्तैन ।
७. वादीले दावी लिएकै भरमा सकार गर्न सक्ने परिवारका सदस्यले मुद्दा फिर्ता लिँदैमा वा मिलापत्र गर्दैमा वा सो मुद्दामा पक्षको हैसियतले कुनै कार्य गर्दैमा ती कार्य जालसाजी घोषित गर्दै जाने हो भने पारिवारिक संरचना र कानूनी प्रणालीलाई नै पुनर्परिभाषित गर्नुपर्ने हुन्छ ।
यसरी मुद्दाको पक्षले अदालतमा चलेको मुद्दा फिर्ता गरिपाऊँ भनी निवेदन दिई अदालतबाट कानूनी व्यवस्थाबमोजिम मुद्दा फिर्ता हुने गरी भएको कामकारवाही भरपर्दा यथेष्ट प्रमाणको अभावमा जालसाजी घोषित हुन नसक्ने हुँदा वादीको दावी पुग्ने अवस्था देखिएन ।
८. तसर्थ, उल्लिखित आधार र कारण समेतबाट वादी दावी पुग्न नसक्ने ठहर्याएको शुरू बझाङ जिल्ला अदालतको फैसला सदर गरको पुनरावेदन अदालत दिपायलको २०६४।१०।२९ को फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । वादीको पुनरावेदन जिकीर पुग्न सक्तैन । दायरीको लगत कटृा गरी मिसिल नियमानुसार बुझाई दिनू ।
उक्त रायमा म सहमत छु ।
न्या.सुशीला कार्की
इति संवत् २०७० साल बैशाख १० गते रोज ३ शुभम् ...
इजलास अधिकृत : विश्वनाथ भटृराई