निर्णय नं. ६२५८ - मोही प्रमाण पत्र

निर्णय नं.६२५८ अङ्क-९ ने.का.प. ०५३
संयुक्त इजलास
माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा
माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय
सम्बत् २०५१ सालको दे.पू.नं. .... २०६९
आदेश मितिः २०५३।९।२३।३
मूद्दाः मोही प्रमाण पत्र ।
पुनरावेदक
वादीः जिल्ला धनुषा इकराही गाऊं विकास समिति वडा नं. ४ बस्ने वर्ष ५२ को बुधन साहु सुंडी
विरुद्ध
विपक्षी
प्रतिवादीः ऐ.ऐ.वडा नं. ३ वस्ने जमुना मण्डल केवट ।
पुनरावेदक वादीले भरेको भनिएको मिसिल संलग्न १ नं. लगत र सो वमोजिम प्रकाशित २ नं. अनुसूचीको प्रतिलिपि हेर्दा सम्बन्धित जग्गाको जग्गा धनिमा रमेशचन्द्र भटृाचार्य, पंच भटृाचार्य र क्षेत्रफल ०-९-० उल्लेख भएको देखिन आउनुको अतिरिक्त विवादको जग्गा वडा नं. ४ मा रहेकोमा वडा नं. ३ मा अनुसूची प्रकाशित भएको देखिन्छ, यसरी एउटा वडामा जग्गा रहेको र अर्को वडामा २ नं. अनुसूची प्रकाशित भएको स्थितिमा मोहीको प्रमाणपत्र दिन मिल्दैन भनी नि.नं. ४४१९, २०४८ सालको रिट नं. १२६ को उत्प्रेषण बिषयमा श्री सर्वोच्च अदालतवाट सिद्धान्त प्रतिपादन भएको देखिंदा सो प्रकाशित अनुसूचीलाई मान्यता दिन मिलेन ।
(प्र.नं. ११)
एक पटक कारवाही टूंगी सकेको सोही जग्गाको सोही बिषयमा पुनः १ नं. लगत २ नं. अनुसूची र ४ नं. जोताहा निस्सालाई आधार बनाई दिएको फिराद अ.बं. ८५ नं. ले दिन नमिल्ने।
(प्र.नं. ११)
जग्गा धनि नै नदेखिएका व्यक्तिको नाम १ नं. अनुसुचीमा भरी २ नं. लगत प्रकाशित भएकै कारणले अहिले आएर मोही प्रमाणपत्र पाउनु पर्ने भन्ने पुनरावेदकको कथन नमिल्ने । (प्र.नं. ११)
पुनरावेदक तर्फवाटः
विव्दान अधिवक्ता श्री पन्नामान तुलाधर
विपक्षी तर्फवाटः
विव्दान अधिवक्ता श्री महादेव यादव
अबलम्बित नजीरः
फैसला
न्या.मोहन प्रसाद शर्माः पुनरावेदन अदालत, जनकपुरको मिति २०५०।४।२० मा भएको फैसला उपर वादीको पुनरावेदन परी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छः
२. साविक सोमन कुमार भटृाचार्यको नाममा दर्ता रहेको जिल्ला महोत्तरी, एकराही वडा नं. ४ कि.नं. ९२ को ०-३-१८-६ जग्गा मोहीमा कमाई १ नं. अनुसूची २ नं. लगत प्रकाशन भई ४ नं. अस्थायी निस्सा प्राप्त गरेको छू । कि.नं. ९२ को ०-७-६ जग्गा समेत सोमन कुमारले जमुना मण्डललाई मिति २०४७।५।२१ मा विक्री गरि दिएकोले मैले जोती कमाई आएको जग्गाको मोही प्रमाण पत्र पाउं भन्ने समेत व्यहोराको फिराद ।
३.विपक्षीले उक्त जग्गा मोहीमा कमाई आएको भए सर्भेमा फिल्डबुकमा नाम लेखाउनु पर्ने कुत वाली जग्गा धनिलाई बुझाई भरपाई लिनु पर्ने लिन सकेको छैन भन्ने समेतको प्रत्युत्तरपत्र ।
४.कि.नं. ९२ को ०-७-६ मध्ये पूर्व तर्फवाट ०-३-१८-६ जग्गाको वादीले मोहियानी हकको प्रमाणपत्र पाउने ठहर्छ भन्ने समेत मिति २०४८।११।१४ को भुमि सुधार कार्यालय, धनुषाको निर्णय ।
५.सोमन कुमारको नाममा दर्ता रहेको जग्गामा १ नं. फाराम भरी २ नं. अनुसूची भूमि सुधार लागु हुंदा सोमन कुमारको नाममा दर्ता नै नरहेको जग्गाको मोही प्रमाणपत्र दिने ठहर गरेको निर्णय त्रुटीपूर्ण हुंदा वदर गरि पाउं भन्ने समेत व्यहोराको प्रतिवादीको पुनरावेदन पत्र ।
६. निवेदकले अशिषकुमार भटृाचार्यलाई जग्गा धनि नदेखिएका र नापीका वखत मोही महल खाली जनिएको हुंदा १ नं. लगत २ नं. अनुसूची प्रकाशन भएको भन्ने आधार प्रमाण लिइ भुमि सुधार कार्यालय, धनुषाले २०४२ सालको ने.का.प. अं. ६४ कि.नं. २३४४ को विपरित गरि मोही प्रमाणपत्र दिने ठहर्याएको भुमि सुधार कार्यालयको फैसला फरक पर्ने भएवाट अ.वं. २०२ नं. वमोजिम विपक्षी झिकाई पेश गर्नु भन्ने पुनरावेदन अदालत, जनकपुरको आदेश ।
७. अशिष कुमार जग्गा धनि नरहेका असंवन्धित व्यक्ति देखिएको र त्यस्तो उनाउ व्यक्तिले दिएको वाली वुझेको कवुलियत विनाको भरपाइलाई मान्यता दिनु उपयुक्त नभएकोले जोताहा वादी हून् भन्ने समेत मिसिल सामेल रहेको प्रमाणवाट पुष्टि हुन नसकेको अवस्थामा भुमि सुधार कार्यालय, धनुषाले वादीलाई मोहियानी प्रमाणपत्र पाउने ठहर्याएको निर्णय मिलेको नहुंदा उल्टी हूने ठहर्छ भन्ने समेतको पुनरावेदन अदालत, जनकपुरको मिति २०५०।४।२० गतेको फैसला ।
८. कानुन वमोजिम १ नं. लगत भरी २ नं. अनुसूची प्रकाशित भएको र वास्तविक रुपमा दावीको जग्गा मैले नै जोती आइरहेको अवस्थामा मोहीको प्रमाणपत्र नपाउने भनी ठहर गरेको पुनरावेदन अदालत, जनकपुरको उपरोक्त फैसलामा चित्त नवुझेकोले वदर गरि मोही प्रमाणपत्र पाउं भन्ने समेतको वादी वुधन साहु सुडीको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।
९. यसमा घरको मुख्य धनि रमेश भटृाचार्यका नाममा विवादको जग्गाको १ नं. अनुसूची २ नं. लगत प्रकाशित भएकोमा विवाद नदेखिएको अवस्थामा पुनरावेदकलाई मोही कायम नगर्ने गरेको पुनरावेदन अदालत, जनकपुरको फैसला विचारणीय हुंदा छलफलको लागि अ.वं. २०२ नं. वमोजिम विपक्षी झिकाई आएपछि पेश गर्नु भन्ने यस अदालत संयुक्त इजलासको मिति २०५२।११।१४ को आदेश ।
१०. नियम वमोजिम दैनिक पेशी सुचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीको तर्फवाट विव्दान अधिवक्ता श्री पन्नामान तुलाधरले मेरो पक्षले विवादको जग्गा पहिले देखि नै जोतेको कुरालाई सरजमिनले पनि समर्थन गर्दछ, भुमि सुधार लागु हुंदा मेरो पक्षले भरेको ज्ञ नं. लगतको आधारमा प्रकाशित २ नं. अनुसूची उपर मौकामा कूनै उजुर वाजुर छैन, तसर्थः मेरो पक्षले मोही प्रमाण पत्र पाउने ठहर्याएको शुरू भुमि सुधार कार्यालयको निर्णय सदर रही मोही प्रमाणपत्र नपाउने गरि भएको पुनरावेदन अदालत, जनकपुरको फैसला वदर हुनु पर्छ भनी वहस प्रस्तुत गर्नु भयो । त्यस्तै विपक्षी प्रतिवादीको तर्फवाट विद्धान अधिवक्ता श्री महादेव यादवले साविक जग्गा धनि सोमन भनिएकोमा प्रकाशित २ नं. अनुसूचीमा सोमनको नाम प्रकाशित छैन, कून मितिमा २ नं. अनुसूची प्रकाशित भयो मिति खूल्दैन, अर्कै अड्डामा प्रकाशित अनुसूचीले कानुनी मान्यता पाउने पनि भएन, फिरादीले एक पटक तारिख गूजारी तामेली रहेको अवस्थामा पुनः त्यही जग्गाको विषयमा प्रस्तुत फिराद दिएकोले अ.वं. ८५ नं. ले विवन्धित छ, तसर्थः पुनरावेदन अदालतको फैसला मिलेकै हुंदा सदर कायम हूनू पर्छ भनी गर्नु भएको वहस समेत सुनियो । विद्धान अधिवक्ताहरुको उपरोक्त वहस जिकिरलाई हृदयंगम गर्दै पुनरावेदन सहितको मिसिल कागजात अध्ययन गरि वादी दावीको जग्गामा मोही प्रमाणपत्र नपाउने गरि शुरू भुमि सुधार कार्यालयको निर्णय उल्टी गर्ने गरेको पुनरावेदन अदालत, जनकपुरको फैसला मिले नमिलेको के रहेछ, त्यस तर्फ निर्णय दिनु पर्ने हुन आयो ।
११. निर्णय तर्फ बिचार गरि हेर्दा यस्मा साविक सोमन कुमार भटृाचार्यको नाममा दर्ता रहेको जिल्ला महोत्तरी एकराही वडा नं. ४ कि.नं. ९२ को ०-७-६ मध्ये ०-९-१८-६ जग्गा मोहीमा कमाई १ नं. अनुसूची २ नं. लगत प्रकाशन भई ४ नं. अस्थायी निस्सा प्राप्त गरेको र जग्गा धनिलाई साल सालै कूत वुझाई आइ रहेकोले सो जग्गाको मोही प्रमाणपत्र पाउं भन्ने नै फिरादीको मुख्य दावी रहेको र २०४७।५।२१ मा मैले खरिद गरेको वखत देखि नै आफैले जोती कमाइ आएकोले वादी दावी अनूसार मोही प्रमाणपत्र पाउनु पर्ने होइन भन्ने प्रत्युर जिकिर लिएको पाईन्छ । पुनरावेदक वादीले भरेको भनिएको मिसिल संलग्न १ नं. लगत र सो वमोजिम प्रकाशित २ नंवर अनुसूचीको प्रतिलिपि हेर्दा सम्वन्धित जग्गाको जग्गा धनिमा रमेशचन्द्र भटृाचार्य, पंचु भटृाचार्य र क्षेत्रफल ०-९-० उल्लेख भएको देखिन आउनुको अतिरिक्त विवादको जग्गा वडा नं. ४ मा रहेकोमा वडा नं. ३ मा अनुसूची प्रकाशित भएको देखिन्छ । यसरी एउटा वडामा जग्गा रहेको र अर्को वडामा २ नं. अनुसूची प्रकाशित भएको स्थितिमा मोहीको प्रमाण पत्र दिन मिल्दैन भनी नि.नं. ४४१९, २०४८ सालको रिट नं. १२६५ को उत्प्रेषण विषयमा श्री सर्वोच्च अदालतवाट सिद्धान्त प्रतिपादन भएको देखिंदा सो प्रकाशित अनुसूचीलाई मान्यता दिन मिलेन । प्रकाशित २ नं. अनुसूची कहिले प्रकाशित भएको हो भन्नलाई मिति पनि खुलेको पाइदैन । अर्को महत्वपूर्ण कुरा के देखिएको छ भने यही विवादको कि.नं. ९२ को जग्गामा मोहीको प्रमाण पत्र पाउं भनी आशिषकुमार भटृाचार्यलाई जग्गा धनि देखाई यीनै वादी पुनरावेदकले २०४५।२।६ मा फिराद दिएकोमा भुमि सुधार कार्यालय, धनुषावाट २०४६।१०।९ मा वादीले तारिख गूजारेको भनी तामेलीमा रहेको प्रमाण मिसिलवाट देखिन आएकोले एक पटक कारवाही टूंगी सकेको सोही जग्गाको सोही बिषयमा पुनः १ नं. लगत २ नं. अनुसूची र ४ नं. जोतहा निस्सालाई आधार बनाई दिएको फिराद अ.वं. ८५ नं. ले दिन नमिल्ने प्रष्ट छ । जग्गा धनि नै नदेखिएका व्यक्तिको नाम १ नं. अनुसूचीमा भरी २ नं. लगत प्रकाशित भएकै कारणले अहिले आएर मोही प्रमाणपत्र पाउनु पर्ने भन्ने पुनरावेदकको कथन नमिल्ने छ, उसमा पनि सो जग्गा के कसरी सोमन कुमारको नाममा आयो भन्ने कुरा पनि फिरादवाट खुलेको पाइदैन । पुनरावेदकको कथन अनूसार यदी सो जग्गा साविक देखि नै मोहीमा कमाइ आएको भए यतिका अवधि वितिसक्दा पनि के कति कारणले मोहीको स्थायी प्रमाणपत्र लिन नपाएको हो त्यस्को कूनै तथ्ययूक्त कारण पनि खुलेको पाइदैन । साविक जग्गा धनि सोमन कुमारकै पाला पूर्व देखि नै आफ्नो जोतमा रहेको भनी दावी गर्ने पुनरावेदकले सो जग्गा प्रत्यर्थी जमुना मण्डललाई राजीनामा गर्नु अघिका दाता सोमन कुमारलाई प्रतिवादी पनि वनाएको देखिदैन। वस्तुतः २ नं. अनुसूचीमा प्रकाशित रामेश्चन्द्र भटृाचार्यको नाममा जग्गानरही सोमन कुमार नै वास्तविक जग्गा धनि भइ निज कै नामवाट प्रतिवादी जमुना मण्डलले राजीनामा गरि लिएको अवस्थामा सोमन कुमार भटृाचार्यलाई वाली बूझाएको भरपाई पेश गर्न नसकि आशिष कुमारले वाली वूझी गरि दिएको भरपाई पेश भएवाट यस्तो जग्गा धनि नै नभएको असम्बन्धित व्यक्तिलाई वाली वूझाएको भरपाईवाट मोही कायम गर्न नमिल्ने देखिएकोले मोही प्रमाण पत्र पाउनु पर्ने भन्ने पुनरावेदन जिकिर र तदनूरुप पुनरावेदक तर्फका विव्दान अधिवक्ताको वहस जिकिर संग सहमत हुन सकिएन । तसर्थः वादीलाई मोही प्रमाणपत्र दिने गरेको शुरू भुमि सुधार कार्यालय, धनुषाको निर्णय उल्टी गरि वादीले मोही प्रमाणपत्र नपाउने ठहर गरेको पुनरावेदन अदालत, जनकपुरको फैसला मिलेकै देखिंदा मनासिव ठहर्छ । पुनरावेदक वादीको पुनरावेदन जिकिर पूग्न सक्दैन, दस्तुर राखी पुनरावेदन परेको देखिंदा केही गर्न परेन, मिसिल नियम वमोजिम गरि वुझाई दिनु ।
उक्त रायमा मेरो सहमति छ ।
न्या. हरिश्चन्द्र प्रसाद उपाध्याय
इतिसंवत् २०५३ साल पौष २३ गते रोज ३ शूभम