शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६२६१ - अंश नामसारी

भाग: ३८ साल: २०५३ महिना: पौस अंक:

निर्णय  नं. ६२६१  ने.का.प. ०५३ अङ्क ९

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल

माननीय न्यायाधीश श्री उदयराज उपाध्याय

सम्बत् २०४९ सालको दे.पु.नं.. .... ८४०

फैसला मितिः २०५३।६।२३।४

 

मुद्दाः अंश नामसारी ।

 

पुनरावेदक

वादीः जि.न.प.हरपुर गा.बि.स.वार्ड नं. ६ वस्ने वर्ष ६० को मुन्ना चमार ।

                                     विरु४   

प्रत्यर्थी

प्रतिवादीः ऐ. कुस्मा गा.वि.स. वडा नं. ८ वस्ने भदै चमार ।

 

      मुद्दामा वादी दावा कायम गर्दा शुरू फिराद दावा बयानलाई आधार मान्नु पर्ने ।

  (प्र.नं. १४)

 

      अघि नै भदै चमारका बाबु छुट्टी भिन्न भएको भनी निज उपर फिराद नगरेको हुंदा भदैका नाउंमा दर्ता भएको सम्पत्तिको बिषयमा पुनरावेदनवाट दावी गर्न नमिल्ने ।                  (प्र.नं. १४)

 

      पैत्रिक सम्पत्तिमा मात्र अंश सम्बन्धी विवाद परेको मुद्दामा मानो कहिले छुट्टीएको भन्ने प्रश्न गौण ।                      

 (प्र.नं. १५)

 

      कुन मितिमा मानो छुट्टीएको भन्ने कुराले पुर्खौली सम्पत्ति सम्म बण्डा गर्न फरक नपार्ने ।

(प्र.नं. १५)

 

पुनरावेदकतर्फवाटः

      विद्धान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी ।

प्रत्यर्थी तर्फवाटः

      विद्धान अधिवक्ता श्री मातृकाप्रसाद निरौला ।

अबलम्बित नजीरः

फैसला

      न्या. लक्ष्मण प्रसाद अर्यालः पुनरावेदन अदालत, वूटवलको मिति ०४९।३।१६ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अन्तर्गत यस अदालतमा पर्न आएको प्रस्तुतपुनरावेदन सहितको संक्षिप्त व्यहोरा यस प्रकार छः

      २. मुल पुरूष मल्लुका ४ भाई छोरामा जेठा विपक्षी समेतका बाबुराम गुलाम माहिला मेरा वावु शिव गुलाम, साहिला वरन कान्छा नरिजन भएकोमा राम गुलामका ३ भाई छोरा मध्ये दशरथ, बूद्ध र बोकट हुन् । शिव गुलामका ३ भाई छोरामा जेठा बुन्निर र कान्छो म फिरादी मुन्ना हुम। नरिजनका छोरा जेठा लखराज कान्छा मनराम भएको साहिला वरनका छोरा भदै हुन् । मुल पुरूषमल्लु बाबुहरू राम गुलाम, शिव गुलाम, नरिजन वरन समेत परलोक भै सके, मेरा दाजु बुन्नि र लखराज पनि परलोक भै सके, मुल पुरूष मल्लुको परलोक भएपछि काका नरिजन र वरन आ आफ्नो अंश भाग लिई छुट्टी भिन्न भै वसेका जेठा बाबु राम गुलाम म र मेरा बाबु शिव गुलाम भएका संगोलमा हुनुहुन्थ्यो पछि संगोल मै छदा जो भएको पैत्रिक सम्पत्ति मल्लु पछि राम गुलामको दशरथका नाउंमा नामसारी भै आएको हुंदा राम गुलामको हक खाने बिपक्षी दशरथ र वुद्ध चोकट तथा शिव गुलामको हक खाने म वादी मुन्ना समेतका २ अंशियार बीच अंशवण्डा भएको छैन । संगोलमा वस्ता परिवारको चाप बढेको र संगोल मै रही रहंदा घर व्यवहार चलाउन कठिनाइ परेकोले अंश माग गर्दा दिन इन्कार गरेको हुनाले बिपक्षीलाई झिकि वुझि २ भागको १ भाग सम्पत्ति अंश वापतमा मलाई दिलाई नामसारी समेत गरि पाउं भन्ने वादी दावी ।

      ३.विपक्षीले देखाएको पुस्तावालीमा कुनै विवाद छैन । वादीले आफ्नो फिरादमा मल्लु परलोक भएपछि काका नरिजन र वरनले आफ्नो भाग लिइ छुट्टी भिन्न भै सकेको र मेरो बाबु राम गुलाम र फिरादीको बाबु शिव गुलामलाई एकासगोलमा रहेको भन्ने उल्लेख गरेको देखिन्छ । हाम्रा बाबुहरूको अंशवण्डा भएको स्वयं वादीले नै देखाएको निजका बाबु मेरा बाबुसंग अंश मिसाइ बसेको भए सो कुराको प्रमाण दिन सक्नु पर्ने सो नदेखाएको हुंदा वादीलाई अंशमा दावी गर्ने अधिकार छैन । मौकैमा हाम्रा बाबुहरू छुट्टी भिन्न भै सकेकोले छुट्टीएपछि को निजी आर्जन कमाईको संपत्तिवाट वादीले अंश पाउनु पर्ने नहुंदा झुठ्ठा वादी दावीवाट अलग फुर्सद पाउं भन्ने समेतको प्र.दशरथ चमारको प्रतिउत्तर जिकिर ।

      ४. मल्लुका ४ छोरा राम गुलाम, शिव गुलाम, वरन र नरिजन भै वादी मुन्ना, शिव गुलाम र म, नरिजन र प्र. दशरथ समेतका ३ भाई राम गुलामका छोरा हुंदा पैत्रिक सम्पत्ति दशरथका नाउंमा छ, हामी अलग अलग वसेका भएपनि मैले बाबुहरूको अंश निजवाट प्राप्त नगरेको हुंदा मैले पैत्रिक सम्पत्तिवाट अंश पाउनु पर्ने छ भन्ने समेत व्यहोरा पेटवोलीवाट वुझिएका भदै चमारको वयान ।

      ५.मल्लुका ४ छोरा मध्ये राम गुलामका ३ छोरामा जेठा दशरथ वुदु र चोकट हौ । हाम्रो अंशवण्डा नभएको हुनाले राम गुलामको हिस्सावाट ३ भागको १ भाग सम्पत्ति मैले अंश पाउनु पर्ने हो भन्ने पेटवोलीवाट वुझिएका वुद्धू चमारको वयान ।

६. मुल पुरूष मल्लुका ४ छोरा मध्ये जेठा राम गुलामका ३ भाई छोरा मध्ये जेठा दशरथ माहिला बुद्धु र कान्छा चोकट भै म चोकटको छोरा भएको र बाबु चोकटको मृत्यु भएको हुनाले राम गुलामको हिस्सा मध्ये ३ भाग लगाई सो वाट चोकटको पाउने अंश मैले पाउनु पर्ने हो भन्ने पेटवोलीवाट वुझिएका सामा चमारले गरेको वयान ।

      ७. लखराज मेरा बाबु हुन् । निजको नाउंको जग्गा मेरा नाउंमा नामसारी भै मेरै नाउंमा लालपुर्जा प्राप्त गरेको छु । मैले अरुवाट अंश पाउन र दिन समेत छैन भन्ने समेत व्यहोराको पेटवोलीवाट वुझिएको चूलहाई चमारले गरेको वयान ।

      ८. वादी दावी वमेजिम जम्मा संपत्तिको ३ भाग लगाई सो वाट वादी मुन्ना चमारले एक भाग अंश दिलाई भराई निजका नाममा नामसारी गराइ पाउने ठहर्छ भन्ने नवलपरासी जि.अ.को २०४६।२।२२ को फैसला ।

      ९. वादीले दावी गरे भन्दा वाहिरको मानु छुट्टी वसे पश्‍चात आफै आर्जन गरेको सम्पत्तिको तायदाती फांटवारी लिई वण्डा लाग्ने ठहराएको शुरू फैसला सो हदसम्मको वदर गरि पाउं भन्ने ०४६।४।२२ को पुनरावेदन अदालत वुटवलमा विपक्षीले दिएको पुनरावेदन पत्र ।

      १०. पुनरावेदक प्रतिवादी भदै चमारले तायदाती पेश गर्दा निजी आर्जनको वण्डा नलाग्ने भनी तायदातीमा उल्लेख गरेकोमा सो तायदाती र अरु प्रतिवादी तथा वादीवाट पेश भएका तायदाती समेत परस्पर देखाए सुनाएकोमा प्रतिवादी भदै चमारको निजी आर्जनको होइन भनी वादी तथा अन्य प्रतिवादीहरुले कुनै किसिमको विरोध नगरेवाट उक्त प्रतिवादी भदै चमारवाट पेश भएको वण्डा नलाग्ने भन्ने सम्पत्ति समेत वण्डा गरि दिने गरेको र मानो छुट्टीएको मिति फिराद परेको अघिल्लो दिनलाई कायम गरेको सो हद सम्मको ईन्साफ नमिलेकोले शुरू नवलपरासी जि.अ.को इन्साफ केही उल्टी हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत, वूटवलको मिति २०४९।३।१६।३ को फैसला ।

      ११. भदै चमारको नाउंको सम्पत्तिमा अंश नलाग्ने ठहराएको हदसम्मको पुनरावेदन अदालतको फैसला वदर गरि हक इन्साफ पाउं भन्ने समेत व्यहोराको वादी मुन्ना चमारको यस अदालतमा परेको पुनरावेदन ।

      १२. यस्मा वादी मुन्ना चमारको अंश तर्फ ०४४।२।३ मा फिराद परेकोले अ.वं. ८९ नं. वमोजिम वादी मुन्ना चमारको फिराद सदर हुनु पर्ने र मानो छुट्टीए तर्फ वादी प्रतिवादीको मुख नमिलेकोले फिराद परेको अघिल्लो मितिलाई मानो छुट्टीएको मिति कायम गर्नु पर्नेमा सो नभएको र भदै चमारको नाउंको जग्गा पक्का प्रमाण वेगर निजी आर्जन कायम नहुनेमा निजी आर्जन समेत कायम गरेको पुनरावेदन अदालत वूटवलको इन्साफ नमिलेकोले अ.वं. २०२ नं. वमोजिम विपक्षी झिकाइ पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालतको मिति ०५१।८।२७ को आदेश ।

      १३. नियमानुसार पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन सहितको मिसिल अध्ययन गरियो । पुनरावेदक वादी मुन्ना चमारको तर्फवाट उपस्थित विद्धान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी र प्रत्यर्थी प्रतिवादी भदै चमारको तर्फवाट उपस्थित विद्धान अधिवक्ता श्री मातृका प्रसाद निरौलाले प्रस्तुत गर्नु भएको वहस समेत सुनियो । प्रस्तुत मुद्दामा पुनरावेदन अदालत, वुटवलले गरेको फैसला मिलेको छ छैन ? सो बिषयमा निर्णय  दिनु पर्ने देखिन आयो । निर्णय  तर्फ बिचार गर्दा वाजे मल्लुको नामको पुर्खौली सम्पत्ति विपक्षीका पिता राम गुलामको नाममा आइ निजको छोरा दशरथको नाममा नामसारी भएको हुंदा सो पैत्रिक सम्पत्तिवाट २ भागको १ भाग अंश दिलाई पाउं भन्ने फिराद दावी भएकोमा पुनरावेदन अदालत वुटवलले पुर्खौली सम्पत्ति ३ वण्डा लाग्ने गरि वादी भदै चमार भएको मुद्दामा ठहर गरे उपर प्र. दशरथ समेतले पुनरावेदन नगरि सो फैसलामा चित्त वुझाई वसेको देखिन आउंदछ ।

      १४. अव मुन्ना चमारको पुनरावेदन तर्फ बिचार गर्दा भदै चमारको नाउंमा भएको पैत्रिक सम्पत्ति वाहेकको सम्पत्ति पनि वण्डा लगाउनु पर्ने भन्ने देखिन्छ । फिराद पत्रमा दावी लिंदा भदै चमारका बाबु अघि नै भिन्न वसेको भन्ने उल्लेख गरेको र भदै चमारले दिएको अंश मुद्दामा पेटवोलीवाट वुझ्दा पनि आफूले फिराद दिंदा  उल्लेख गरे अनुसार नै वयान गरेको देखिन्छ । मुद्दामा वादी दावा कायम गर्दा शुरू फिराद दावी वा वयानलाई आधार मान्नु पर्ने हुन्छ । पुनरावेदन  तहमा  फिराद दावा भन्दा बेगल किसिमको दावा गर्न र कायम गर्न मिल्ने देखिदैन । तसर्थः अघि नै भदै चमारका बाबुहरू छुट्टी भिन्न भएको भनी निज उपर फिराद नगरेको हुंदा भदैका नाउंमा दर्ता भएको सम्पत्तिको विषयमा पुनरावेदनवाट  दावी गर्न  नमिल्ने  हुनाले  भदैको सम्पत्तिमा बिचार गरि रहन पर्ने अवस्था देखिदैन । वाजे मल्लुको नामको राम गुलाम तर्फ नामसारी हूंदै आएको पैत्रिक सम्पत्तिको विषयमा मात्र दावी विवाद परेको देखिंदा यस्तो अवस्थाको मुद्दामा मानो छुट्टीएको मितिको खास सान्दर्भिकता नरहने सो विषय गौण हुने हुंदा त्यस तर्फ प्रस्तुत मुद्दामा निर्णय  गरि रहन पर्ने देखिदैन । प्रस्तुत मुद्दा सामान्य सवै प्रकारका सम्पत्ति वण्डा गरि पाउं भनी सवै अंशियार उपर अंशमा दावी गर्ने प्रकृतिको मुद्दा नभै पैत्रिक सम्पत्ति वण्डा हुने नहुने भन्ने सम्म विवाद भएको देखिन्छ । यसमा वादी समेत अलग अलग वसोवास गरि खेतीपाती गरि आएको कुरा सवै पक्षवाट स्वीकारोक्ति दर्शाको, वादी प्रतिवादी अलग अलग ठाउंमा घरवास गरि वसेको र आ आफूले आर्जी खती उपती गरि आएको तथ्य दुवै पक्षले मानेको देखिन आउंदछ ।

      १५. उपरोक्तानुसार पैत्रिक सम्पत्तिमा मात्र अंश सम्बन्धी विवाद परेको मुद्दामा मानो कहिले छुट्टीएको भन्ने प्रश्‍न गौण हुने हुंदा त्यस तर्फ  वोली रहन नपर्नेमा मानो छुट्टीएको मिति कायम गरेको पु.वे.अ. वुटवलको ईन्साफ सो हदसम्म  केही  उल्टी हुन्छ। कुन मितिमा मानो छुट्टीएको भन्ने कुराले पुर्खौली सम्पत्ति सम्म वण्डा गर्न फरक  नपार्ने  हुंदा पुनरावेदन अदालत, वुटवलको तायदातीमा वण्डा लाग्ने भनी दशरथका नाउंमा नामसारी भै आएको सम्पत्ति ३ भाग मध्ये १ भाग अंश लाग्ने र सो पैत्रिक सम्पत्ति वाहेकको भदै चमारको नाउंमा रहेको कुस्मा गा.वि.स. को घर जग्गा वण्डा नलाग्ने गरेको फैसला सो हदसम्म मिलेकै देखिंदा सदर हुने ठहर्छ। भदै चमारको नाउको सम्पत्ति समेत वण्डा गरि पाउं भन्ने समेत पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरि वुझाई दिनु ।

 

उक्त रायमा सहमत छु ।

न्या. उदयराज उपाध्याय

इति संवत् २०५३ साल असोज २३ गते रोज ४ शूभम ... ।

yle='font-size:12.0pt;line-height:115%;mso-bidi-font-family: Mangal'> 

 

इति संवत् २०५३ साल आषाढ ५ गते रोज ४ शूभम्... ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु