निर्णय नं. ६२६२ - अपुताली हक कायम

निर्णय नं. ६२६२ ने.का.प. २०५३ अङ्क ९
संयुक्त इजलास
माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल
माननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा
सम्बत् २०५० सालको दे.पु.नं. १३८२
फैसला मितिः २०५३।७।२९।५
मूद्दाः अपुताली हक कायम ।
पुनरावेदक
प्रतिवादीः जि.वर्दिया जमुनी गा.बि.स.वडा नं. ५ वस्ने वर्ष ४१ को सुर्य बहादुर थापा ।
विरुद्ध
विपक्षी
वादीः जि.स्यांजा वालिंग गा.बि.स.वडा नं. ३ वस्ने धन कुमारी सारु मगर ।
अपुतालीको २ नं. मा मर्नेको भन्ने उल्लेख भएकोवाट मर्ने स्वयंको गर्भवाट जन्मेको छोरा भएमा मात्र छोरीको अपुतालीको पाउने क्रम छोरा भन्दा टाढा रहने अवस्था पर्दछ । त्यस्तो एकाउदरको छोरा नभएमा एकाउदरवाट जन्मेको छोरीले अपुताली पाउने हुन्छ । अपुताली पर्दा जो मरी अपुताली परेको छ सो वाट क्रमको गणना गर्नु पर्ने ऐ. २ नं. को कानूनी व्यवस्था छ । अपुतालीमा एकाउदरलाई प्राथमिकता दिइएको कुरा अपुतालीको १० र १२ नं. को कानूनी व्यवस्थावाट पुष्टि हुन आउंने ।
(प्र.नं. १२)
रगतको नाता, यस जीवन र परलोक जीवनमा मर्नेलाई आर्थिक र आध्यात्मिक लाभ पुर्याएको तथ्यलाई अपुतालीको रुपवाट सम्पत्ति अवतरण हुने भन्ने अपुताली सम्बन्धी सामान्य सिद्धान्त भएको र सर्वोच्च अदालतवाट हेलमाया विरुद्ध तिलक बहादुर भएको वकसपत्र वदर मुद्दामा (निर्णय सार संग्रह, पृष्ठ ५७५) छोरा भनेको ठाउंमा सौतेनी छोरा पनि भनी व्याख्या गर्न मिल्दैन भनी छोरीले नै अपुतालीको पाउने सिद्धान्त प्रतिपादन गरेको समेत देखिंदा प्रतिवादी सुर्य बहादुरले मर्ने ज्ञानुमायाको एकाउदरकी छोरी धन कुमारीले अपुताली पाउनेमा आफुले अपुताली पाउने भनी मृतक ज्ञानमायाको नाउंको अचल सम्पत्ति नामसारी गराएको बदर गरि वादीको अपुताली हक कायम गर्ने गरेको पुनरावेदन अदालत, नेपालगन्जको इन्साफ मुनासिब ठहर्छ ।
(प्र.नं. १२)
पुनरावेदक प्रतिवादी तर्फवाटः
विद्धान अधिवक्ता श्री पुष्पा भुसाल
विपक्षी वादी तर्फवाटः
अवलम्वित नजीरः
हेलमाया विरुद्ध तिलक बहादुर भएको वक्सपत्र वदर मुद्दामा सिद्धान्त प्रतिपादित (निर्णय सार संग्रह, पृष्ठ ५७५) ।
फैसला
न्या.लक्ष्मण प्रसाद अर्यालः पुनरावेदन अदालत, नेपालगंजको मिति ०५०।४।३१।१ मा भएको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अनुसार यस अदालतमा पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छः
२. वावु दिल बहादुरका दुई श्रीमती मध्ये जेठी मेरो आमा स्व. ज्ञानुमाया मगर र कान्छी सौतेनी आमा गौरी मगर भएको, वावुको मृत्यु पछि वावुको अचल सम्पत्ति खोलाले बगाई वाढी पिडीत भएको हुंदा आमाले सुकुम्वासीको हैसियतवाट वर्दियामा केही जग्गा प्राप्त गरेको, मेरी आमा र सौतेनी आमा तथा यी विपक्षीसंग वाद विवाद भएपछि मेरी आमा एकतर्फ र विपक्ष र विपक्षीको आमा एकतर्फ भै घरसारमा अंशवण्डा भएको र आमाको स्याहार संभार औषधी उपचार समेत मैले गर्दै आएको र आमाको मेरो घर स्यांजामा मृत्यु भएको र काजक्रिया समेत मैलेनै गरेकोले आमाले प्राप्त गरेको जमुनी गा.वि.स. वडा नं. ५(ग) को कि.नं. ३५ को ज.वि. २-०-३ ऐ.वा.नं. ५ को कि.नं. ५१ को ज.वि. १-०५ को जग्गा अपुतालीको २० नं. का म्याद भित्र नामसारी गर्नका लागि मा.पो.का वार्दीयामा जांदा विपक्षीले नामसारी गरि सकेका रहेछन् भन्ने थाहापाई म्याद थमाई हदम्याद भित्र फिराद गर्न आएकी छु । नामसारी निर्णय वदर गरि अपुताली हक कायम गरि पाउं भन्ने समेत व्यहोराको फिराद दावी ।
३.वावु दिल बहादुर र आमाहरुको एकासगोलमा रहेका वसेकै अवस्था परलोक भएपछि वावु आमाको एक मात्र छोरा म भएकोले मुलुकी ऐन अपुताली १,२ नं. ले अपुतालीमा मेरो मात्र हक लाग्ने निर्विवाद कानूनी व्यवस्था भएको र यी फिरादीको अपुतालीमा हक नपुग्ने हुंदा ऐ.को ८२ नं. प्रतिकूल दायर भएको प्रस्तुत फिराद खारेज भागी छ । मालपोत कार्यालय वर्दियावाट भएको नामसारी निर्णय र सो को आधारमा मेरा नाउंमा खडा भएको श्रेस्ता समेत कायमै राखि विपक्षीवाट रहेको कोर्टफि समेत जफत गरि पाउं भन्ने समेत व्यहोराको प्रतिउत्तर जिकिर ।
४. आदेशानुसार वादी प्रतिवादीका साक्षीले गरेको वकपत्र मिसिल सामेल रहेको।
५.मिसिल संलग्न संकलित सबूद प्रमाणको आधारमा वादी दावीको जग्गा मध्ये प्रतिवादीको आधी संपत्ति वाहेक मालपोत कार्यालय वर्दियावाट भएको नामसारी निर्णय वदर गरि वांकी रहेको वादी दावीको सम्पत्ति मध्ये आधी संपत्ति सम्मको अपुतालीको हक कायम गरि दिने ठहर्छ भन्ने समेत शुरू वर्दिया जिल्ला अदालतको फैसला ।
६.सौतेनी पटिृको छोरा भएपनि अपुताली २ नं.को उद्देश्यको लागि सुर्य बहादुर थापा नै हकवाला छोरा भएकोले मर्ने ज्ञानु मायाको छोरा हुंदा हुंदै छोरी धनकुमारीले अपुताली पाउने कुरा कानून संगत छैन । तसर्थः अपुतालीको २ नं. को गलत व्याख्या गरि छोरा प्र. सुर्य बहादुर हुंदा हुंदै ज्ञानु मायाको नाउंमा अधी सम्पत्ति वादीले अपुताली पाउने होइन र साक्षी र सर्जमिनका वकपत्र समेतको आधारमा शुरू जिल्ला अदालतको कानूनी त्रुटीपूर्ण फैसला वदर गरि वादीको फिराद दावी खारेज गर्ने गरि इन्साफ गरि पाउं भन्ने समेत व्यहोराको प्रतिवादी सुर्य बहादुर थापाको पुनरावेदन अदालतमा परेको पुनरावेदन जिकिर ।
७. ज्ञान सीपवाट आर्जित सम्पत्तिमा मर्ने ज्ञानुमायाको अपुताली अचल सवै हकवाला र पालन पोषण स्याहार संभार काजक्रिया गर्ने म पुनरावेदकको हक कायम हुने संपत्ति भएको मेरो साक्षीले मेरो फिराद दावी अनुसार किटानी वकपत्र गरेको र प्र.का. केही साक्षीले वादी दावी सांचो हो भनी वकपत्र गर्नु भएको समेतवाट स्व. ज्ञानुमायाको आधा संपत्ति मेरो हक कायम नहुने ठहरी प्रत्यर्थीले पाउने गरेको शुरू जिल्ला अदालतको फैसला वदर गरि सो हदसम्मको अपुताली समेत मेरै हक कायम गरि नामसारी निर्णय समेत वदर गरि न्याय पाउं भन्ने समेत व्यहोराको वादी धन कुमारी सारु मगरको पुनरावेदन अदालतमा परेको पुनरावेदन जिकिर ।
८.प्रस्तुत मूद्दाको तथ्यहरुले मर्ने ज्ञानुमाया मगर्नीको अपुताली निजको छोरी धनकुमारीले पाउने सौतेनी छोरा सुर्य बहादुरले नपाउने कानूनी स्थिति देखिन आएकोले शुरू वर्दिया जिल्ला अदालतले ज्ञानुमायाको नाउंमा भएको जग्गा सम्पत्ति आधि मात्र वादी धनकुमारीले पाउने ठहराएको फैसला नमिलेकोले सो हदसम्म उक्त फैसला उल्टी हुने ठहर्छ । ज्ञानुमायाको अपुतालीको छोरी वादी धनकुमारीले पाउने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत, नेपालगंजको मिति ०५०।४।३१।१ को फैसला ।
९. विपक्षीको विवाह अन्यत्र भै वसेको अवस्थामा आमाको शेषपछि छोराले हक खान पाउने सम्पत्तिमा विपक्षीले दावा गर्न मिल्दैन । म र आमा एका सगोलमा वसेको अवस्थामा एक मात्र छोरा म हुंदा हक स्वतः मेरो भै आएवाट जग्गा नामसारी गरि भोग गर्दै आएको छु वर्दिया जिल्ला अदालतवाट अंशवण्डा जस्तै आधी आधी गर्ने फैसला र पुनरावेदन अदालतवाट मलाई छोरानै मान्न इन्कार गरि हक नै नपुग्ने भनी गरेको दुवै फैसला वदर गरि इन्साफ पाउं भन्ने समेत व्यहोराको प्रतिवादी सुर्य वहादुर थापाको यस अदालतमा परेको पुनरावेदन ।
१०. सगोल रहेकै अवस्थामा आर्जन गरेको सम्पत्तिमा दर्तावाला ज्ञानुमायाको परलोक पछि अपुतालीको २ नं.ले छोरा भएसम्म छोरीले अपुतालीको नपाउने भन्ने र कानून व्याख्या सम्बन्धी ऐन, २०१० को दफा २ को खण्ड (म) मा पुत्र (छोरा) भन्नाले धर्मपुत्रलाई समेत जनाउंछ भनी परिभाषा गरेको र सो शव्दले सौतेनी छोरालाई नजाउने भन्ने नदेखिंदा प्रतिवादीले ज्ञानुमायाको अपुतालीको नपाउने गरि पुनरावेदन अदालत नेपालगंजले शुरूको इन्साफ केही उल्टी गरेको फैसला मिलेको नदेखिएकोले अ.वं. २०२ नं. वमोजिम विपक्षी झिकाई आएपछि वा अवधि नाघेपछि नियमानुसार पेश गर्नुभन्ने समेत व्यहोराको यस अदालतको मिति ०५२।२।१७।५ को आदेश ।
११. नियमानुसार पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन सहितको मिसिल अध्ययन गरि पुनरावेदक तर्फवाट उपस्थित विव्दान अधिवक्ता श्री पुष्पा भूषालले प्रस्तुत गर्नु भएको वहस समेत सुनियो ।
१२. आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा शुरू वर्दिया जि.अ.को फैसला केही उल्टी गरेको पुनरावेदन अदालत, नेपालगंजको फैसला मिलेको छ छैन ? सो निर्णय दिनु पर्ने देखिन आयो । निर्णय तर्फ बिचार गर्दा मेरी आमाको विपक्षीहरु सित विवाद भै घरसारमा अंशवण्डा भएको र त्यसपछि मेरी आमालाई मैले नै स्याहार संभार गर्दै आएकोमा आमाको मेरो घरमा मृत्युभै मैले नै काजक्रिया गरि आमाले प्राप्त गरेको कि.नं. ३५ समेतको जग्गा अपुतालीको २० नं. वमोजिम नामसारी गर्न जांदा विपक्षीहरुले नामसारी गरि सकेको थाहा पाएकोले विपक्षीका नाउंमा भएको सो नामसारी निर्णय वदर गरि अपुतालीको हक कायम गरि पाउं भन्ने फिराद दावी भएको र मुलुकी ऐन अपुताली १, २ नं. ले अपुतालीकोमा मेरो मात्र हक लाग्ने निर्विवाद कानूनी व्यवस्था भएको र यी फिरादीको अपुतालीकोमा हक नै नपुग्ने हुंदा अ.वं. ८२ नं. विपरित दायर गरेको फिराद खारेज गरि पाउं भन्ने विपक्षीको प्रतिउत्तर जिकिर रहेको देखिन्छ । प्रस्तुत मुद्दामा वादी दावीको सम्पत्ति मध्ये आधी सम्पत्ति सम्ममा वादीको अपुतालीको हक कायम गरि दिने ठहर्याएको शुरू वर्दिया जिल्ला अदालतको फैसला उपर पुनरावेदन परी पुनरावेदन अदालत, नेपालगंजवाट शुरू फैसला उल्टी गरि मृतक धनमायाको अपुतालीको छोरी वादी धनकुमारीले पाउने ठहर्याई फैसला भए उपर प्रतिवादीको प्रस्तुत पुनरावेदन यस अदालतमा पर्न आएको देखिन्छ ।
यसमा अपुतालीको २ नं. मा मर्नेको भन्ने उल्लेख भएकोवाट मर्ने स्वयंको गर्भवाट जन्मेको छोरा भएमा मात्र छोरीको अपुताली पाउने क्रम छोरा भन्दा टाढा रहने अवस्था पर्दछ । त्यस्तो एकाउदरको छोरा नभएमा एकाउदरवाट जन्मेको छोरीले अपुताली पाउने हुन्छ । अपुताली पर्दा जो मरी अपुतालीको परेको छ सो वाट क्रमको गणना गर्नुपर्ने ऐ. २ नं. को कानूनी व्यवस्था छ । अपुतालीकोमा एकाउदरलाई प्राथमिकता दिइएको कुरा अपुतालीको १० र १२ नं. को कानूनी व्यवस्थावाट पुष्टि हुन आउंदछ । रगतको नाता, यस जीवन र परलोक जीवनमा मर्नेलाई आर्थिक र आध्यात्मिक लाभ पुर्याएको तथ्यलाई अपुताली रुपवाट सम्पत्ति अवतरण हुने भन्ने अपुतालीको सम्बन्धी सामान्य सिद्धान्त भएको र सर्वोच्च अदालतवाट हेलमाया विरुद्ध तिलक बहादुर भएको वकसपत्र वदर मुद्दामा (निर्णय सार संग्रह, पृष्ट ५७५) छोरा भनेको ठाउंमा सौतेनी छोरा पनि भनी व्याख्या गर्न मिल्दैन भनी छोरीले नै अपुतालीको पाउने सिद्धान्त प्रतिपादन गरेको समेत देखिंदा प्रतिवादी सुर्य बहादुरले मर्ने ज्ञानुमायाके एकाउदरकी छोरी धन कुमारीले अपुतालीको पाउनेमा आफुले अपुतालीको पाउने भनी मृतक ज्ञानमायाका नाउंको अचल सम्पत्ति नामसारी गराएको बदर गरि वादीको अपुतालीको हक कायम गर्ने गरेको पुनरावेदन अदालत, नेपालगन्जको इन्साफ मुनासिब ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पूग्न सक्दैन । मिसिल नियमानुसार गरि वूझाई दिनु ।
उक्त रायमा सहमत छु ।
न्या.हरि प्रसाद शर्मा
इति संवत् २०५३ साल कार्तिक २९ गते रोज ५ शूभम .... ।