निर्णय नं. ६२६५ - अंश

निर्णय नं. ६२६५ अङ्क ९ ने.का.प. ०५३
संयुक्त इजलास
माननीय न्यायाधीश श्री अरविन्द नाथ आचार्य
माननीय न्यायाधीश श्री नरेन्द्र बहादुर न्यौपाने
सम्बत् २०५२ सालको दे.पु.नं.. ... २६५६
फैसला मितिः२०५३।९।१०।४
मूद्दाः अंश ।
पुनरावेदक
प्रतिवादीः बर्दिया जिल्ला गुलरिया गा.बि.स.वडा नं. १ बस्ने त्रिपुरा शर्माको वा. भै आफना हकमा समेत ऐ.ऐ. बस्ने पिताम्बर शर्मा ।
विरुद्ध
बिपक्षी
वादीः ऐ.वडा नं.६ डेरा गरि बस्ने धनमाया भन्ने लालमाया शर्मा ।
मिति २०३४।९।२७ मा भएको सातौं संशोधन पछिको मुलुकी ऐनको अंश बण्डाको महलको १८ नं.मा भएको व्यवस्थावाट कसैले निजी तवरवाट पाएको सम्पत्ति निजी हुने र बण्डा गर्न कर नलाग्ने स्पष्ट देखिन्छ । त्यसमा पनि उल्लेखित लिखतको व्यहोरामा नै हेर बिचार र खुसी तूल्याएवापत भन्ने स्पष्ट उल्लेख भएवाट पनि उक्त जग्गा वादीले निजी तवरवाट प्राप्त गरेको रहेछ भन्ने स्पष्ट देखिन आउंछ । जव लिखत व्यहोरावाट सो लिखत वमोजिम पाउने व्यक्तिले निजी तवरवाट प्राप्त गरेको भन्ने देखिन आउंछ भने सो व्यहोरा सत्य नभै अन्यथा हो भनी मान्न तथा प्रतिवादीले नै थैली हाली खरिद गरेको भनी लिएको जिकिर समेत कानून संगत नदेखिने ।
(प्र.नं. १०)
पुनरावेदक प्रतिवादी तर्फवाटः
बिपक्षी वादी तर्फवाटः
अबलम्वीत नजीरः
फैसला
न्या.अरबिन्द नाथ आचार्यः पुनरावेदन अदालत, नेपालगंजको मिति २०५१।११।२३ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) वमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छः
२. विपक्षी पति तथा वावु पिताम्वर शर्माले सगोलमा वसेको अवस्थामा खान लाउन नदिई दैनिक कुटपिट गर्ने गरेकोले ०४५।१।५ गते मानो छूट्याई अलग वसेका छौं । अंशको फांटवारी लिइ ४ खण्डको २ खण्ड अंश र विवाह खर्च समेत दिलाई भराई पाउं भन्ने समेत व्यहोराको फिरादपत्र ।
३. वादीका नाउंको घडेरी ऋण समेत हिस्सा लगाई अंशवण्डा गर्न नमानी यो झुठ्ठा फिराद गरेका हून्, वादी समेतका नाउंमा रहेका जग्गा र ऋण समेत वरावर ४ भाग लगाई अंश दिन मन्जुर छ भन्ने समेत व्यहोराको प्रतिउत्तर पत्र ।
४. दुवै पक्षवाट पेश भएको अंशको फांटवारी र सर्जमिन मुचुल्का समेत मिसिल संलग्न रहेको ।
५. वादी प्रतिवादीवाट दाखिला भएको फांटवारीका सवै सम्पत्ति वण्डा हुने ठहर्छ विवाह हुन वांकी ३ जनाको विवाह खर्च परसारी वांकी सम्पत्तिमा ४ भाग लगाई वादीहरुले २ भाग अंश पाउने ठहर्छ भन्ने समेत वर्दिया जिल्ला अदालतवाट मिति ०५०।५।१० गते भएको फैसला ।
६. वर्दिया गुलरिया गा.वि.स. वडा नं. ६ कि.नं. ३५,७१० को ज.वि. ०-२-२ जग्गा ०४५।८।२० गते पारित हालैको वकसपत्रवाट मेरो हक कायम हुन आएको निजी जग्गा कसैलाई वण्डा गर्न कर नलाग्ने सम्पत्तिमा वण्डा लाग्ने भनी गरेको हदसम्म उक्त फैसला बदर गरि पाउं भन्ने समेत व्यहोराको वादी धनमाया शर्मा भन्ने लालमाया शर्माको पुनरावेदन अदालत, नेपालगंजमा परेको पुनरावेदन ।
७. यसमा मिति ०४५।८।२० को पारित हालैको वकसपत्रको लिखतवाट यी पुनरावेदिकाको हक हुन आएको जग्गामा समेत अंश भाग लाग्ने भनी ठहर गरेको वर्दिया जिल्ला अदालतको इन्साफ फरक पर्ने देखिंदा अ.वं. २०२ नं. बमोजिम विपक्षी झिकाई नियमानुसार पेश गर्नु भन्ने समेत पुनरावेदन अदालतवाट मिति २०५१।२।२३।२ मा भएको आदेश ।
८. ऐनले नै वण्डा गर्न कर नलाग्ने वादीले हालैको वकसपत्रवाट पाएको अंशवण्डाको १८ नं. वमोजिम निजको एकलौटी हक हुने र वण्डा गर्न कर नलाग्ने सम्पत्तिलाई पनि कानूनले मान्यता नपाउने सरजमिन जस्तो लिखतको आधारमा वण्डा गर्ने गरि भएको जिल्ला अदालतको फैसला सो हदसम्म त्रुटीपूर्ण हुंदा केही उल्टी हुने ठहर्छ भन्ने समेत व्यहोराको मिति २०५१।११।२३ को पुनरावेदन अदालत नेपालगंजको फैसला ।
९. पुनरावेदन अदालत, नेपालगंजवाट भएको उक्त फैसलामा प्रमाण र कानूनको वास्तै नगरि अंश जस्तो हकलाई नपाउने गरि नलाग्ने प्रमाण लगाई कानून र बूझनू पर्ने प्रमाणको वास्ता नगरि निर्णय मा तात्विक असर पर्ने गरि फैसला भएको र प्रमाण ऐन, २०३१ को दफा ५४ को त्रूटी समेत भएको हुंदा उक्त फैसला वदर गरि शुरू वर्दिया जिल्ला अदालतको फैसला सदर कायम राखी न्याय पाउं भन्ने समेत व्यहोराको प्रतिवादीले यस अदालतमा गरेको पुनरावेदन पत्र ।
१०. नियम वमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाका पुनरावेदकलाई वेन्चवाट पटक पटक वोलाउंदा पनि उपस्थित नभएकोले यस मुद्दाको रेकर्ड मिसिल समेतको पुनरावेदनपत्र समेत अध्ययन गरि निर्णय तर्फ बिचार गरि हेर्दा यसमा प्रस्तुत मुद्दाका वादी धनमाया भन्ने लालमाया शर्मा प्रतिवादी पिताम्वर शर्माको जेठी श्रीमती भन्ने हुंदा वादीले प्रतिवादीवाट अंश भाग पाउने कुरामा कूनै विवाद रहेको देखिएन । मुख्तः वादीले किशोर कूमार गौतमवाट मिति द्द०४५।८।२०मा पाएको हालै देखिको वकसपत्र वमोजिमको कि.नं. ३५ को ०-२-२ जग्गाका हकमा सो जग्गा समेत वण्डा गर्नु पर्ने नपर्ने भन्ने सम्बन्धमा सम्म मुख नमिलेको देखियो । वादीको व्यहोरा जिकिर अनुसार निजको मात्र एकलौटी हकको भन्न मिल्ने नमिल्ने के हो भन्ने सम्बन्धमा विचार गरि हेर्दा पनि मिति २०३४।९।२७ मा भएको सातौं संशोधन पछिको मुलुकी ऐनको अंशवण्डाको महलको १८ नं. मा भएको व्यवस्थावाट कसैले निजी तवरवाट पाएको सम्पत्ति निजी हुने र वण्डा गर्न कर नलाग्ने स्पष्ट देखिन्छ । त्यस्मा पनि उल्लेखित लिखतको व्यहोरामा नै हेर बिचार र खुसी तुल्याए वापत भन्ने स्पष्ट उल्लेख भएवाट पनि उक्त जग्गा वादीले निजी तवरवाट प्राप्त गरेको रहेछ भन्ने स्पष्ट देखिन आउंछ । जव लिखत व्यहोरावाटै सो लिखत वमोजिम पाउने व्यक्तिले निजी तवरवाट प्राप्त गरेको भन्ने देखिन आउंछ भने सो व्यहोरा सत्य नभै अन्यथा हो भनी मान्न तथा प्रतिवादीलेनै थैली हाली खरिद गरेको भनी लिएको जिकिर समेत कानून संगत देखिन आउंदैन । रजिष्ट्रेशन दस्तुर कम तिर्न परोस् भन्ने मनसायले मात्र वकसपत्रको लिखत गरेको र सर्जमिनका मानिसहरुले पनि सो जग्गामा घर वनाएको समेत उल्लेख गरि सो सम्पत्ति सगोलकै हो भनी वकपत्र गरेका छन् भन्ने पुनरावेदकको जिकिर भएकोमा सो जिकिर पनि यूक्ति संगत समेत देखिन आउंदैन । अतः शुरू वर्दिया जिल्ला अदालतले सो वकसपत्र लिखतको सम्पत्ति समेत वण्डा लाग्ने गरि गरेको फैसला सो हदसम्म केही उल्टी गरि पुनरावेदन अदालत, नेपालगंजवाट भएको ईन्साफ मनासिव ठहर्छ । पुनरावेदन जिकिर पूग्न सक्दैन । मिसिल नियमानुसारगरि बुझाई दिनु ।
उक्त रायमा म सहमत छू ।
न्या. नरेन्द्र बहादुर न्यौपाने ।
इति संवत् २०५३ साल पौष १० गते रोज ४ शूभम...