निर्णय नं. ८९८५ - जालसाजी

ने.का.प. २०७०, अङ्क ३
निर्णय नं.८९८५
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री प्रकाश वस्ती
माननीय न्यायाधीश ज्ञानेन्द्रबहादुर कार्की
०६७–CI–०६४७
फैसला मितिः २०७०।१।३१।३
मुद्दाः– जालसाजी ।
पुनरावेदक / प्रतिवादीः दोलखा जिल्ला गैरीमुदी गा.वि.स. वडा नं. ३ बस्ने शारदा घिमिरे
विरुद्ध
प्रत्यर्थी / वादीः काठमाडौं जिल्ला गोलढुंगा गा.वि.स. वडा नं.६ बस्ने भगवती फुयाँल समेत
शुरू फैसला गर्नेः–
मा.जि.न्या.श्री विनोदमोहन आचार्य
पुनरावेदन फैसला गर्नेः–
मा.मु. न्या.श्री वैद्यनाथ उपाध्याय
मा.न्या.श्री दिनेशकुमार कार्की
§ जालसाजीको कसूर आफ्नो फाइदा र अरूको नोक्सानी पुर्याउने नियतले गैरकानूनी कागजको माध्यमबाट व्यक्तिद्वारा व्यक्ति विरुद्ध गरिने फौजदारी प्रकृतिको अपराध भएबाट जालसाजीको अपराध स्थापित हुन आपराधिक कार्य र सो कार्य गर्ने आपराधिक मनसायको पुष्टि हुनैपर्दछ । कुनै पनि कार्य स्वतः जालसाजीपूर्ण हुने होइन । जालसाजी हुन अंश लाग्ने सम्पत्ति बिक्री भई प्राप्त हुने अंश भागमा प्रतिकूल असर पर्यो भन्नु मात्र पर्याप्त नहुने ।
§ फौजदारी विवाद अपराधसँग जोडिने भएबाट कर्ताको मनसाय तत्व मूलरूपमा हेरिनुपर्दछ भने देवानी विवादको जरो साम्पत्तिक र पदीय हकसमेत गाँसिने भएबाट कानूनद्वारा संरक्षित हकमा आघात पुग्न जाने ।
§ आफ्नो मञ्जूरी बिना घरव्यवहार चलाउन आफूखुशी गर्न पाउने हदभन्दा बढी जग्गा बिक्री भएबाट फौजदारी कार्य अर्थात् जालसाजी भयो भन्ने वादी दावीका सन्दर्भमा कीर्ते कागजको ३ नं. को परिधिभन्दा बाहिर जान नमिल्ने ।
(प्रकरण नं.४)
§ झूठा कुरालाई सद्दे हो भनी लिखित रूपमै काम सम्पन्न गरी अर्कालाई हानि नोक्सानी पुर्याउनु जालसाजीको आपराधिक कार्य हो । घरव्यवहार चलाउन आफूखुशी गर्न पाउने हदभन्दा बढी बिक्री गर्नुसँग झूठा कुरालाई सद्दे भनी लिखत गरिएको भन्न नमिल्ने ।
§ दावीकर्तालाई प्रत्यक्ष हानि नोक्सानी पुगेको छैन, लिखत गरी लिने वा दिने दुवै वा एक पक्षको गैरकानूनी मनसायको अभाव छ र त्यस्ता लिखत पारित गर्ने क्रममा तेस्रो पक्षलाई हानि नोक्सानी पुर्याउने कपटपूर्ण नियत राखी कार्य भएको प्रमाण छैन भने त्यस्तो कार्य जालसाजीको कार्य हुन नसक्ने ।
(प्रकरण नं.६)
§ विभिन्न वैकल्पिक उपचार मार्गहरू विद्यमान भएको अवस्थामा पक्षले आफूलाई सहज पर्ने बाटो अवलम्बन गर्न नसक्ने भन्ने होइन, सुनिश्चित उपचार विधि उपभोग गर्ने म्याद व्यतीत गरी अन्य मार्ग अवलम्बन गर्नु हुँदैन । यस्तो गलत मार्ग अनुशरण गर्ने पक्षलाई अदालतले मद्दत गर्न नसक्ने ।
§ जुन लिखतका आधारमा जग्गा दर्ता भएको हो सोही मूल दावी दर्ता बदरमा नै दावी नपुग्ने भनी ठहर भएको फैसला अन्तिम भएको स्थितिमा उक्त लिखत जालसाजपूर्वक खडा भएको भनी अर्थ गर्न नमिल्ने ।
(प्रकरण नं.७)
§ म्यादभित्रै उपयुक्त उपचारको मार्ग नअपनाई लिखत बदरमा दावी गर्ने हदम्याद व्यतीत गरी अर्को बाटो जालसाजको माध्यमबाट जालसाजीका तत्वहरू प्रकटरूपमा नदेखाई लिखत बदर हुनपर्ने देवानी तत्वका आधारमा आउन कानूनतः नमिल्ने ।
(प्रकरण नं.१०)
पुनरावेदक तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ताद्वय हरिहर दाहाल र बद्रीबहादुर कार्की तथा विद्वान अधिवक्ता रामबहादुर थापा
प्रत्यर्थी तर्फबाटः विद्वान अधिवक्ता पूर्णचन्द्र पौडेल
अवलम्बित नजीरः
§ नेकाप २०६८, असार, नि.नं.८५८७, पृष्ठ ५३७
सम्बद्ध कानूनः
§ अंशबण्डाको १९(१) नं.
§ कीर्ते कागजको ३ नं.
§ लेनदेन व्यवहारको १० नं.
§ जग्गा पजनीको १७ नं.
फैसला
न्या.प्रकाश वस्तीः न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क)(ख) बमोजिम मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :–
हजुरबुबा लीलानाथको एकमात्र छोरा हामी फिरादीका पति पिता कालिकाप्रसाद फुँयाल हुनुहुन्छ । अमरनाथ र पदमनाथ गरी दुई छोरा तथा छोरीको जन्म भएकोमा छोरीहरूको विवाह भैसकेको छ । पिता र हामी सगोलमै रहेको अवस्थामा २०६३।६।२४ गते पिताको निधन भै हाल हामी वादी तीनजना मात्र अंशियार छौं । पिताको निधन भएपछि काजक्रिया सम्पन्न गरी पैतृक सम्पत्ति स्व.पिता पतिकै नाममा दर्ता कायम रहेकोले नामसारी गराई लिन जाँदा पति पिताले हाम्रो समेत अंश हक लाग्ने पैतृक घरजग्गा हामीलाई कुनै जानकारी नदिई तथा साक्षीसमेत नराखी लिखत गरी विभिन्न व्यक्तिलाई हक छाडी दिनुभएको व्यहोरा २०६३।८।७ मा लिखतको नक्कल सारी थाहा हुन आएकोले फिराद गरेका छौं । काठमाडौं जिल्ला, गोलढुंगा गा.वि.स. वडा नं. ६ (क) कि.नं. १०८ समेत ११ कित्ता जग्गा क्षेत्रफल १६–९–१–० जग्गा हजुरबुबा ससुराबाट हाम्रा पति पिताको नाममा कायम हुन आएको थियो । पिता पति घरको मुख्य व्यक्ति भएकोले घरव्यवहार चलाउन निजलाई ऐनबमोजिम केही छूट प्राप्त हुने भए पनि सबै जग्गा बिक्री गर्ने अधिकार छैन । उल्लिखित जग्गामध्ये काठमाडौं जिल्ला गोलढुंगा गा.वि.स. वडा नं. ६ (ङ) कि.नं. २७ क्षेत्रफल ४–८–३–०, ऐ. ऐ. कि.नं. १८ क्षेत्रफल ०–६–०–० समेत दुई २ कित्ता जग्गा जालसाजीपूर्वक र.नं. १७११४ मिति २०६१।३।१४ को लिखतमार्फत् पति पिताबाट प्रतिवादी शारदा घिमिरेले हक छुटाई लिनु भएको हुँदा उक्त लिखतको चार भागको तीन भाग लिखत जालसाजी घोषित गरिपाऊँ भन्ने समेत व्यहोराको फिराद पत्र ।
वादीहरू र निजहरूका पति पिता एकासगोलमा रहँदा प्रचलित कानूनबमोजिम रीत पुर्याई राजीनामा पास गरिदिएको जग्गा हो । विपक्षी वादीहरूको पति पिता जीवित रहँदासम्म सगोलमा रहेका अवस्थामा जग्गा बिक्री गरी प्राप्त रकम सगोलमै भोगचलन गरेका हुन् । बुबा जीवित रहँदासम्म कुनै प्रकारको मुद्दा दायर नगरी हाल बनावटी मुद्दा खडा गरी लिखत बदरतर्फ म्याद समाप्त भैसकेको अवस्थामा कीर्ते कागजको १८ नं. बमोजिम दायर भएको फिराद खारेज गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिउत्तर पत्र ।
वादीमध्येका पदमनाथ फुयाँल उक्त लिखत पारित गर्दा २१ वर्ष पूरा नगरेको अवस्थामा घरका मुख्य व्यक्ति एवं निजहरूका बाबुले सो लिखत गरिदिएको हुँदा उक्त लिखत गर्दा निज पदमनाथ फुयाँलको अंश हक मार्ने नियत राखिएको भन्ने फिराद दावी कानूनसंगत देखिन आएन । त्यसबाहेक वादीमध्येका भगवती फुयाँल र अमरनाथ फुयाँल कारणी कालिकाप्रसाद सरहका समान अंशियार भएको भन्ने देखिएको, तर निज कालिकाप्रसादले बिक्री गरेको कि.नं. १८ र २७ को जग्गाको लिखत गर्दा अरू जग्गा बाँकी राखेको भन्ने तथा सो बिक्री गरेको पैसा रकम सगोलमै घर खर्चमा प्रयोग गरेको भन्ने देखिन नआएकोले सो सम्पत्ति बिक्री गरिएको कार्यबाट वादी भगवती फुयाँल र अमरनाथ फुयाँलको अंश हकमा असर परेको हुँदा र.नं. १७११४ मिति २०६१।३।१४ को पारित लिखत वादीमध्येका भगवती फुयाँल र अमरनाथ फुयाँलको हकसम्मको सो लिखत कीर्ते कागजको महलको ३ नं. अन्तर्गतको कसूर भएको हुँदा मिति २०६१।३।१४ मा र.नं. १७११४ बाट पारित राजीनामा लिखत चार भागको दुई भागसम्म जालसाजी गरेको ठहर्छ भन्ने व्यहोराको काठमाडौं जिल्ला अदालतको मिति २०६५।२।२९ कोे फैसला ।
शुरू अदालतले जुन सिद्घान्त ग्रहण गरी मलाई हराएको छ ती सिद्घान्त जालसाजी मुद्दामा आकर्षित हुन सक्दैनन् । देवानी मुद्दामा वादीको हकबेहकको सम्बन्धमा उल्लेख गरेको सिद्घान्तले जालसाजी मुद्दामा प्रतिवादीले कसूर गरेको हो वा होइन भन्ने सम्बन्धमा खण्डन वा समर्थन गर्न सकिँदैन । अंशबण्डाको १९ नं. ले घरव्यवहार चलाउनको लागि मात्र छूट दिएको अवस्थामा मेरो पिता कालिकाप्रसादले फिरादमा उल्लिखित जग्गा बिक्री गरी घरव्यवहार चलाएको भन्ने व्यहोरा स्थापित भएको देखिँदैन भनी स्वयं यसै फैसलामा बोलिएको स्थिति समेतबाट कि.नं. १८ र २७ को जग्गाहरू बिक्री गरी घरव्यवहार चलाउन खर्च गरेको नभई उक्त पैतृक जग्गा बिक्री गरी सोबाट प्राप्त रूपैया आफूखुशी खर्च गरेको पुष्टि भएको देखिन्छ । यस सम्बन्धमा पिता कालिकाप्रसादलाई अंशबण्डाको १९(१) नं. को सुविधा प्राप्त हुन नसक्ने हुँदा र.नं. १७११४ मिति २०६१।३।१४ को लिखत मेरो हकमा समेत जालसाजी ठहर हुनुपर्नेमा जालसाजी ठहर नभएको हदसम्म फैसला उल्टी गरी फिराद दावीबमोजिम गरी न्याय पाऊँ भन्ने व्यहोराको वादी पदमनाथ फुयाँलको पुनरावेदन अदालत, पाटनमा परेको पुनरावेदन पत्र ।
कीर्ते कागजको ३ नं. बमोजिम मैले जालसाजीको कसूर गरेको प्रमाणित हुनसक्ने अवस्था छैन । विवादित जग्गा विपक्षी वादीहरूको अंश हक रहेको वा नरहेको कुरा मलाई थाहा जानकारी हुने कुरा हुँदैन । त्यसै गरी विवादित जग्गा मेरा दाताले मलाई राजीनामा दिनुभन्दा पहिले विपक्षी वादीहरूको मञ्जूरी लिनुपर्ने वा नपर्ने कुरासमेत मलाई थाहा हुने कुरा होइन । मञ्जूरी नलिई हक हस्तान्तरण गरेको भन्ने प्रश्न दाताहरूको मृत्युपश्चात् आकृष्ट हुन सक्दैन । वादीहरू र दाता कालिकाप्रसाद एकासगोलमा रहँदा नै कालिकाप्रसादको मृत्यु भएको कुरा फिरादमा उल्लेख गरेको हुँदा उक्त जग्गा बिक्रीबाट प्राप्त रकम घरखर्च परिवारको पालन पोषणमा खर्च गरेको कुरामा द्विविधा छैन । घरखर्च गर्न बिक्री गरेको त्यस्तो कार्य जालसाजी हुन सक्दैन । कालिकाप्रसादले कि.नं. २७ र १८ बिक्री गरी कालिकाप्रसादको २०६३।६।२४ मा मृत्यु भएपश्चात् भगवती फुयाँलले आफ्नो नाउँमा २०६३।७।२७ कि.नं. ८८, १५६, ७०, २० र २५ का जग्गाहरू नामसारी गरिलिएको कुरा लुकाई अदालत प्रवेश गरेको समेत देखिएको हुँदा शुरू फैसला उल्टी गरी न्याय इन्साफ पाऊँ भन्ने व्यहोराको प्रतिवादी शारदा घिमिरेको पुनरावेदन अदालत, पाटनमा परेको पुनरावेदन पत्र ।
यसमा लगाउको दे.पु.नं. २१८३ को दर्ता बदरसमेत मुद्दामा झगडिया झिकाउने आदेश भएकोले प्रस्तुत मुद्दा उक्त मुद्दासँग सम्बन्धित देखिँदा यस मुद्दामा समेत छलफलका निम्ति प्रत्यर्थी झिकाई आएपछि वा अवधि नाघेपछि नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालत पाटनको मिति २०६५।१२।१० को आदेश ।
घरको मुख्य पिताले घरव्यवहार चलाउन अचल सम्पत्ति चलाउन पर्यो भने २१ वर्ष पुगेको पत्नी छोरा र विधवा वुहारीको मञ्जूरी लिनुपर्ने व्यवस्था अंशबण्डाको १९(१) नं. ले गरेको देखिन्छ । वादीहरूको नाममा जग्गा नै नभई सबै जग्गा बिक्री गरेको भनी वादी दावी नै झूठा भएको, सफा हात लिई अदालत प्रवेश नगरेको र आधीभन्दा कम सम्पत्तिमात्र आफूखुश गरेकोले जालसाजी ठहर हुन नपर्ने भन्ने पुनरावेदक प्रतिवादीको जिकीरतर्फ विचार गर्दा यो यति कारणले आधीभन्दा बढी सम्पत्ति हक छाडेको छैन भनी कुनै हिसाब पुनरावेदक प्रतिवादीले देखाउन सकेको पाइएन । भगवती फुयाँलको नाममा कि.नं. ८८, १५६, ७०, २० र ५२ पाँच कित्ता जग्गा भएको जग्गाधनी प्रमाणपूर्जाको छायाप्रति र सिर्जना फुयाँलको नामको कि.नं. ४३ र ४५ को लालपूर्जाको छायाँप्रति पुनरावेदक प्रतिवादीबाट पेश भएकोतर्फ विचार गर्दा सिर्जना फुयाँल कालिकाप्रसाद फुयाँलको विवाहिता छोरी भएको भन्ने वादी भनाईलाई पुनरावेदक वादीले अन्यथा भन्न सकेको पाइएन । विवाह भई गई सकेकी छोरीको नाममा रहेको सम्पत्तिलाई सगोलको सम्पत्ति भन्न मिलेन । भगवतीको नाममा रहेको कि.नं. ८८ लगायतका पाँच कित्ता जग्गाको सबै क्षेत्रफल जोड्दा पनि ३–३–२ हुने हुँदा कालिकाले हक छोडी दिएको जग्गाहरू निकै बढी देखिँदा प्रतिवादीको पुनरावेदन जिकीरसँग सहमत हुन सकिएन ।
पदमनाथको अंश हक जति जालसाज घोषित नभएउपर परेको वादीको पुनरावेदन जिकीरतर्फ विचार गर्दा पदमनाथले फिराद दायर गर्दा आफैँले आफ्नो उमेर २० वर्ष भनी उल्लेख गरेको देखिन्छ । घरको मुख्य पिताले घर व्यवहार चलाउन आधीभन्दा बढी अचल सम्पत्ति चलाउन पर्दा २१ वर्ष पुगेको छोरीको मञ्जूरी लिनुपर्ने अंशण्डाको १९(१) नं. ले कानूनी व्यवस्था गरेको तर २१ वर्षभन्दा मुनि २० वर्षको छोरासँग मञ्जूरी लिनुपर्ने वाध्यता कुनै कानूनले नगरेको हुँदा पदमनाथको हकमा जालसाजी ठहर नगरेको शुरू काठमाडौं जिल्ला अदालतको मिति २०६५।२।२९ को फैसला मिलेकै देखिँदा सदर हुन्छ भन्ने व्यहोराको पुनरावेदन अदालत, पाटनको मिति २०६६।८।१ को फैसला ।
वादी तथा वादीका बाबु एकासगोलमा नै रहेका अवस्था लिखत पारित भएको र बाबुको जीवनकालमा विवाद नगरी बाबुको मिति २०६३।६।२४ मा मृत्यु भएपछि मुद्दा दायर गरिएको छ । वादीहरूका बाबुको तथा वादीहरूको कुनै आयस्रोत नभएको, बाबु आमा, दुई छोरा र चार छोरी गरी आठजनाको परिवार भएको उक्त परिवारको लालनपालन, छोराछोरीको शिक्षादीक्षा र विवाह, दानलगायतका कार्य बिनाआयस्रोत सम्भव छैन । अन्य कुनै आयस्रोत नभएकोले घर व्यवहार चलाउने वादीका बावुले जग्गा बिक्री गरेका हुन । वादीका बाबुले जग्गा बिक्री गर्दा आधा सम्पत्तिभन्दा बढी बिक्री गरेका छैनन् । घरव्यवहार चलाउन अंशबण्डाको १९ (१) नं. ले वादीका बाबु स्वतन्त्र छन् । उक्त कुरामा यी वादीहरूको दावी पुग्ने होइन । काठमाडौं जिल्ला गोलढुंगा गा.वि.स. वडा नं. ६(ङ) को कि.नं. १८ र २७ को जग्गा देखाई अन्यत्रको कि.नं. ४३ र ४५ को जग्गा मिति २०५९।१२।१२ मा पारित गरिदिएकोले झुक्याई पारित गरिदिएको जग्गा सगोलकी छोरी सिर्जना फुयाँललाई फिर्ता गरी कि.नं. १८ र २७ को जग्गा मैले २०६१।३।१४ मा र.नं. १७११४ बाट जग्गा पारित गरिलिएकी हुँ । मैले पहिला लिखत पारित गरिलिँदा भगवती फुयाँल साक्षी बसेकी छिन् । सगोलमा रहँदा घरव्यवहार चलाउने प्रयोजनले बिक्री गरेकोमा लेनदेन व्यवहारको १० नं. को म्याद व्यतीत भएपछि कीर्ते कागजको १८ नं. टेकी अदालत प्रवेश गरेको कार्य लेनदेन व्यवहारको १०, अंशबण्डाको १९(१) र कीर्ते कागजतको १८ नं. विपरीत छ । उक्त कानूनी प्रावधानविपरीत दायर भएको दावीमा प्रवेश गरी जालसाज हुने ठहर गरेको पुनरावेदन अदालत पाटनको फैसला त्रुटिपूर्ण हुँदा न्याय प्रशासन ऐन, २०४८ को दफा, १२(१)(क) (ख) बमोजिम मुद्दा दोहोर्याई हेरी पाऊँ भन्ने प्रतिवादीको यस अदालतमा पर्न आएको निवेदन पत्र ।
यसमा दिने सिर्जना फुयाँल र लिने जयलक्ष्मी श्रेष्ठ भएको २०६१।१०।२८ को राजीनामाको लिखतमा ऋणीको एकाघरको बाबु भनी दाताको पिता कालिकाप्रसाद साक्षी बसेको देखिँदा त्यसबखत छोरी सिर्जना समेत एकासगोलमा रहेको भन्ने देखिन आयो । एकासगोलमा रहेकी छोरीले बेचबिखन गरेको सम्पत्तिलाई मूल सम्पत्तिबाट बाहेक गरेको पुनरावेदन अदालतको इन्साफमा मुलकी ऐन, अंशबण्डाको महलको १९(१) को व्याख्यात्मक र अ.बं. १८४ क, प्रमाण ऐन, २०३१ को दफा ३ र ५४ अनुसार प्रमाण मूल्याङ्कनको त्रुटिका साथै यस अदालतबाट प्रतिपादित सर्वोच्च अदालत बुलेटिन २०६३, वर्ष १५, अङ्क २०, पूर्णाङ्क ३५०, पृष्ठ १६ मा प्रतिपादित सिद्घान्तसमेत प्रतिकूल देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क)(ख) बमोजिम प्रस्तुत मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिदिएको छ भन्ने समेत व्यहोराको यस अदालतको मिति २०६७।९।९ को आदेश ।
नियमबमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीको तर्फबाट विद्वान वरिष्ठ अधिवक्ताद्वय श्री हरिहर दाहाल र श्री बद्रीबहादुर कार्की तथा विद्वान अधिवक्ता श्री रामबहादुर थापाले सगोलका अंशियारले जग्गा बिक्री गरेको तथ्यमा वादीहरूले समयमा थाहा पाई लिखत बदरमा नालेस गरिएको छैन । तर, लिखत बदरतर्फ दावी गर्ने म्याद व्यतीत भएपछि जालसाजीतर्फ दावी गरियो । दर्ता बदर मुद्दामा फरक कुरा बोलिएको छ । त्यसले जालसाजमा प्रभाव पारेको छ । दर्ता बदरमा दावी पुग्दैन भनियो । तर, जालसाजमा दावी ठहर गरिएको पुनरावेदन अदालतको फैसला आफैँमा विरोधाभाष छ । दर्ता बदरमा दावी नपुगेपछि कसरी जालसाज हुन सक्दछ । दर्ता बदर मुद्दाले लिखतलाई कानूनी मान्यता दिई सकेपछि सोही विवादमा जालसाज ठहर गरेको पुनरावेदन अदालतको फैसला मिलेको नहुँदा पुनरावेदन अदालतको फैसला उल्टी हुनुपर्दछ भन्ने समेत व्यहोराको बहस प्रस्तुत गर्नुभयो ।
प्रत्यर्थी वादीहरूको तर्फबाट विद्वान अधिवक्ता श्री पूर्णचन्द्र पौडेलले प्रतिवादीहरूले सिर्जना फुयाँललाई जग्गा फिर्ता गरेको नभई राजीनामा लिखत पारित गरिदिएको हो । दर्ता बदर मुद्दामा वादीहरूको हकै नपुगेको भन्ने उल्लेख नभई अर्को मुद्दाबाट इन्साफ पाउने भनी बोलिएको हुँदा जालसाजी मुद्दाबाट वादीहरूको हक स्थापित भएको हो । लिखत जासलाज हुँदा पुनरावेदन अदालतको फैसला सदर हुनुपर्दछ भन्ने समेत व्यहोराको बहस प्रस्तुत गर्नुभयो ।
दुवैतर्फका विद्वान कानून व्यवसायीहरूले प्रस्तुत गर्नुभएको बहससमेत सुनी मिसिल अध्ययन गरी हेर्दा पुनरावेदन अदालत पाटनको फैसला मिलेको छ छैन सोही विषयमा निर्णय दिनुपर्ने देखिन आयो ।
यसमा पति पिता कालिकाप्रसाद फुयाँलले २०६१।३।१४ मा र.नं. १७११४ बाट आफूखुश गर्न पाउनेभन्दा बढी जग्गा प्रतिवादी शारदा घिमिरेलाई बिक्री गरी जालसाज गरेको हुँदा चार भागको तीन भाग जालसाजी घोषित गरिपाऊँ भन्ने वादी दावी भएकोमा वादीमध्ये पदमनाथ फुयाँल लिखत हुँदा २१ वर्ष नपुगेको हुँदा निजको हकमा वादी दावी नपुग्ने र अन्य वादी भगवती फुयाँल र अमरनाथ फुयाँलको हकमा चार भागको दुई भाग लिखत जालसाजी ठहर गरेको शुरू काठमाडौं जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको फैसलाउपर प्रतिवादीको तर्फबाट मुद्दा दोहोर्याई पाउन निवेदन परी निस्सा प्रदान भई निर्णयार्थ पेश हुन आएको पाइयो ।
२. निर्णयतर्फ विचार गर्दा पति पिता कालिकाप्रसाद फुयाँल घरको मुख्य भएको र मुख्यको नाताले घरव्यवहार चलाउन निजलाई केही सम्पत्ति आफूखुश गर्न पाउने भए पनि सो हदभन्दा बढी कि.नं. २७ र १८ को जग्गा जालसाजपूर्वक प्रतिवादी शारदा घिमिरेलाई मिति २०६१।३।१४ मा र.नं. १७११४ को लिखतबाट हक हस्तान्तरण गरिदिएको आफ्नो हक जति जालसाज ठहर हुनुपर्ने भन्ने वादी दावी रहेको देखियो । उक्त दावीलाई इन्कार गर्दै अंशबण्डाको १९ (१) नं. बमोजिम आधा सम्पत्ति घर व्यवहार चलाउन आफूखुश गर्न पाउने हक वादीहरूका पति पितामा रहेको र सो हदभन्दा बढी जग्गा निजले बिक्री नगरेको एवं वादी भगवती फुयाँलसमेत साक्षी बसी लिखत पास गर्दा कि.नं. १८ र २७ को जग्गा देखाई अन्यत्रको कि.नं. ४३ र ४५ को जग्गा मिति २०५९।१२।१२ मा पारित गरिदिएकोले उक्त कि.नं.का जग्गा सगोलकी छोरी सिर्जना फुयाँललाई नै लिखत गरी फिर्ता दिई सोको सट्टामा कि. नं.१८ र २७ आफूले पारित गरिलिएको हो । सगोलको व्यवहारमा लेनदेन व्यवहारको १० नं.को म्याद व्यतीत भएपछि कीर्ते कागजको १८ नं. को सहारा लिई सद्दे लिखतलाई जालसाजको संज्ञा दिई गरिएको दावी उक्त कानूनी प्रावधानविपरीत छ भन्ने प्रतिउत्तर जिकीर एबं पुनरावेदन जिकीर रहेको पाइयो ।
३. घरव्यवहार चलाउने प्रयोजनको लागि कालिकाप्रसादलाई घरको मुख्य व्यक्तिको रूपमा वादीहरूले स्वीकार गरेबाट घरको मुख्यमा विवाद भएन । तर निजै वादीहरूका पति पिताले प्रतिवादी शारदा घिमिरेलाई मिति २०६१।३।१४ मा र.नं. १७११४ बाट पारित गरिदिएको लिखत जालसाज हो भन्ने दावी छ । अब, उक्त लिखत जालसाज हो, होइन यही विवादित विषयको निरोपण गर्नुपर्ने देखिन आयो ।
४. जालसाजीको कसूर आफ्नो फाइदा र अरूको नोक्सानी पुर्याउने नियतले गैरकानूनी कागजको माध्यमबाट व्यक्तिद्वारा व्यक्ति विरुद्ध गरिने फौजदारी प्रकृतिको अपराध भएबाट जालसाजीको अपराध स्थापित हुन आपराधिक कार्य र सो कार्य गर्ने आपराधिक मनसायको पुष्टि हुनै पर्दछ । कुनै पनि कार्य स्वतः जालसाजीपूर्ण हुने होइन । जालसाजी हुन अंश लाग्ने सम्पत्ति बिक्री भई प्राप्त हुने अंश भागमा प्रतिकूल असर पर्यो भन्नु मात्र पर्याप्त हुँदैन । फौजदारी मुद्दालाई फौजदारी मुद्दा निरोपण गरिने आखाँले हेरिनुपर्दछ फौजदारी कार्यमा आपराधिक तत्वको अनिवार्य विद्यमानता आवश्यक हुन्छ । देवानी मुद्दामा भने कसैको पनि हकको संरक्षणको प्रश्न सान्दर्भिक हुन्छ । फौजदारी र देवानी मुद्दाको प्रकृति र तिनको निर्क्यौल विधिमा नितान्त पृथकता हुन्छ । फौजदारी विवाद अपराधसँग जोडिने भएबाट कर्ताको मनसाय तत्व मूलरूपमा हेरिनु पर्दछ भनी देवानी विवादको जरो साम्पत्तिक र पदीय हक समेत गाँसिने भएबाट कानूनद्वारा संरक्षित हकमा आघात पुग्न नै पर्याप्त हुन पुग्दछ । आफ्नो मञ्जूरीबिना घरव्यवहार चलाउन आफूखुशी गर्न पाउने हदभन्दा बढी जग्गा बिक्री भएबाट फौजदारी कार्य अर्थात् जालसाजी भयो भन्ने वादी दावीका सन्दर्भमा कीर्ते कागजको ३ नं. को परिधिभन्दा बाहिर जान मिल्दैन । यसमा पनि सम्पूर्ण कार्य वा लिखतलाई जालसाजी नभनी चार भागको तीन भाग खण्ड जालसाजी ठहर्याई पाउने माग गरिएको छ । चार खण्डको तीन खण्ड लिखत जालसाजी भन्नलाई आफूले प्राप्त गर्न सक्ने अंश भागलाई आधार मानिएको छ । सम्पत्तिको अंश भाग विशुद्ध देवानी विषय हो । फिराद देवानी आधार लिई फौजदारी मांग गर्दै दायर भएको छ । यस सन्दर्भमा फौजदारी विषयलाई सम्बोधन गर्ने कीर्ते कागजको ३ नं. विश्लेषण यहाँ आवश्यक भएको छ ।
५. के कस्तो कार्य जालसाजीको कसूर हुने भन्ने सम्बन्धमा कीर्ते कागजको ३ नं. मा उल्लेख छ । उक्त कानूनी प्रावधानअनुसार “अर्काको हक मेट्ने हदम्याद तारिख जाने वा कुनै तरहसँग नोक्सान पार्ने इत्यादि जुनसुकै मतलवले होस् नगरे नभएको झूठा कुरा गरे भएको हो भनी वा मिति अङ्क वा व्यहोरा फरक पारी सहीछाप गरी गराई कागज बनाई वा बनाउन लगाएमा समेत जालसाजी गरेको ठहर्छ” भन्ने उल्लेख छ । उक्त प्रावधानअनुसार जालसाजीको क्रिया हुन निम्न तत्व देखिनु आवश्यक छ :
(क) नगरे नभएको झूठा कुरा भए गरेको हो भनी कागजका माध्यमबाट काम सम्पन्न गर्नु,
(ख) एक वा एकभन्दा बढी व्यक्तिको मिलेमतोमा अर्काको हानि पुग्ने तरिकाबाट कार्य सम्पन्न गर्नु,
(ग) अर्काको हक मेट्ने, हदम्याद तारिख जाने वा अरू कुनै किसिमको नोक्सानी पार्ने कार्य सम्पन्न गर्नु,
(घ) झुक्यानमा पारी आफूलाई फाइदा हुने किसिमले काम गर्नु ।
६. उपरोक्त तत्वहरूमा ध्यान केन्द्रित गरी हेर्दा झूठा कुरालाई सद्दे हो भनी लिखित रूपमै काम सम्पन्न गरी अर्कालाई हानि नोक्सानी पुर्याउनु जालसाजीको आपराधिक कार्य हो । यसको तात्पर्य घरव्यवहार चलाउन आफूखुशी गर्न पाउने हद भन्दा बढी बिक्री गर्नुसँग झूठा कुरालाई सद्दे भनी लिखत गरिएको भन्न मिल्दैन । यसै गरी अरूको अधिकारमा असर पर्छ भन्ने जानीजानी वा असर पुर्याउने नियत राखी त्यस्तो कार्य गर्नु जालसाजी अपराधको मनसाय तत्व हो । वादीहरूलाई नोक्सान पार्ने नियत के थियो प्रमाण पुर्याउन पर्ने हुन्छ । यस्तो नियतका विषयमा फिराद मौन छ । यदि मात्र होइन सम्पूर्ण मिसिलबाट दाताको त्यस्तो नियत देखिँदैन । यी दुवै तत्वको विद्यमानताको अभाव छ भने सो कार्य जालसाजी हुन सक्दैन । दावीकर्तालाई प्रत्यक्ष हानि नोक्सानी पुगेको छैन, लिखत गरी लिने वा दिने दुवै वा एक पक्षको गैरकानूनी मनसायको अभाव छ र त्यस्ता लिखत पारित गर्ने क्रममा तेस्रो पक्षलाई हानि नोक्सानी पुर्याउने कपटपूर्ण नियत राखी कार्य भएको प्रमाण छैन भने त्यस्तो कार्य जालसाजीको कार्य हुन सक्दैन । प्रस्तुत विवादमा वादीहरूले कालिकाप्रसादलाई घरको मुख्यको रूपमा स्वीकार गरेको स्थिति छ घरव्यवहार चलाउन अंशबण्डाको १९(१) ले आधी अचल सम्पत्ति बिक्री गर्न यी वादीहरूको मन्जूरी लिइरहनु पर्ने आवश्यकता नरहेको स्वीकारोक्ति छ वादीहरूले कालिकाप्रसादलाई घरको मुख्यको रूपमा स्वीकार गर्नु तर त्यही बाबुले घरव्यवहार चलाउन गरेको व्यवहारलाई अकारण जालसाज भनी चुनौती दिन मिल्ने हुँदैन ।
७. मिति २०६१।३।१४ को र.नं. १७११४ बाट पारित लिखतलाई जालसाजी तथा सो लिखतका आधारमा भएको दर्तालाई दर्ता बदरमा छुट्टा–छुट्टै दावी लिई फिराद दायर गरेको अवस्था छ । विभिन्न वैकल्पिक उपचारका मार्गहरू विद्यमान भएको अवस्थामा पक्षले आफूलाई सहज पर्ने बाटो अवलम्बन गर्न नसक्ने भन्ने होइन तर, गलत तथा सुनिश्चित उपचार विधि उपभोग गर्ने म्याद व्यतीत गरी अन्य मार्ग अवलम्बन गर्नु हुँदैन । यस्तो गलत मार्ग अनुशरण गर्ने पक्षलाई अदालतले मद्दत गर्न सक्दैन । वादीले लेनदेन व्यवहारको १० नं. बमोजिम लिखत बदरमा दावी नगरी जग्गा पजनीको १७ नं. र जग्गा मिच्नेको १८ नं. को सहारा लिई कि.नं. १८ र २७ को जग्गाको विषयमा दर्ता बदरको दावी गर्दै यस जालसाजीसँगै अर्को दर्ता बदर मुद्दा गरेको स्थिति छ । सो मुद्दामा सगोलको सम्पत्ति बिक्री गरेकोमा लेनदेन व्यवहारको १० नं. बमोजिम दावी गर्नुपर्नेमा सोको हदम्याद सकिएपछि सो कानूनी व्यवस्थालाई छली जग्गा पजनीको १७ नं. र जग्गा मिच्नेको १८ नं. को हदम्याद टेकी दायर गरेको फिरादमा कुनै विचार गर्नु नपर्ने भनी लगाउका दे.पु.नं.९०३/२१८३ र ९०४/२१८४ का दर्ता बदर मुद्दाहरूमा पुनरावेदन अदालत, पाटनबाट मिति २०६६।८।१ मा भएको फैसला सर्वोच्च अदालतबाट दोहोर्याउने निस्सा समेत नदिई अन्तिम भएर रहेका छन् । उक्त फैसलाबाट देवानी मुद्दाको जरियाबाट वादीको हक स्थापित हुन नसकेको तथ्य स्थापित छ । जुन लिखतका आधारमा जग्गा दर्ता भएको हो सोही मूल दावी दर्ता बदरमा नै दावी नपुग्ने भनी ठहर भएको फैसला अन्तिम भएको स्थितिमा उक्त लिखत जालसाजपूर्वक खडा भएको भनी अर्थ गर्न मिल्दैन ।
८. यहाँ वादीहरूले आफ्नो वा बाबुको व्यापार, व्यवसाय वा अन्य कुनै पेशा वा रोजगार भएको र सो आम्दानीबाट सहज रूपले घर व्यवहार चलेको भनी दावी गर्न सकेको पाइँदैन । आठजनाको परिवारमा चारजना छोरीहरूको विवाह भएको भनी वादी लेख भएबाट ती छोराछोरीको पालनपोषण, अध्ययनलगायतका घरव्यवहारका विवाहदान कार्य तथा वादीहरूका पति पिता बिमारी भई औषधोपचार गर्दागर्दै मृत्यु भएको अवस्थासमेत रहेको स्थिति पनि मिसिल संलग्न औषधोपचार गराइएका अस्पताल समेतका कागजबाट देखिन्छ । सगोलमा रहँदा सम्पत्तिको यी वादीहरूले समेत भरपूर उपयोग गरी लाभ हासिल गरेको भन्ने देखिन आउँछ । यस्तो स्थितिमा लिखत गर्दा आफ्नो मञ्जूरी लिइएन वा मञ्जूरी थिएन भनी दावी गर्नुको कुनै औचित्यता देखिदैन । यसै सन्दर्भमा, “सम्पत्ति हस्तान्तरण गरेर कुनै पारिवारिक दायित्व पूरा गरिएको जस्ता कुरा प्रमाणबाट पुष्टि हुन्छ भने पनि यस्ता कार्यलाई मञ्जूरी नै मान्नुपर्ने भई लिखत बदर गर्नुपर्ने औचित्यको पुष्टि नहुने” (नेकाप २०६८, असार, नि.नं.८५८७, पृष्ठ ५३७ ) भनी सिद्घान्त प्रतिपादन भएको छ । प्रस्तुत विवादमा पनि वादीहरूले आफ्ना पति पितासँग सगोलमा नै रही अंशबण्डाको १९(१) को सीमाभित्र रही बाबुले बिक्री गरेको जग्गाबाट प्राप्त रकम भरपूर उपभोग गरेका र बाबुले पनि पारिवारिक दायित्व पूरा गरेको होइन भन्ने तथ्य वादीहरूबाट प्रमाण दिइएको कारण जनाएको प्रमाणित नहुँदा उक्त सिद्घान्त प्रस्तुत विवादमा आकर्षित हुने नै देखिन्छ । आफ्नो मञ्जूरी नलिई पारित गरिएको लिखत जालसाज घोषित हुनुपर्ने भन्ने वादी दावी यस कारणबाट समेत मनासिब देखिएन ।
९. मिति २०६१।३।१४ मा र.नं. १७११४ बाट कि.नं.१८ र २७ को जग्गा कालिकाप्रसाद फुयाँलले शारदा घिमिरेलाई हक हस्तान्तरण गरेको उक्त जग्गा निजले जयन्तीदेवी गुरूङसमेत पाँच जनालाई मिति २०६२।४।३० मा र निजहरूले पनि उक्त जग्गामध्ये कि.नं.१८ को जग्गा मिति २०६२।५।१३ मा डिल्लीप्रसाद फुयाँललाई हक हस्तान्तरण गरेको लगाउका मुद्दाहरू समेतबाट देखिन्छ । प्रतिवादीहरूका दाता तथा परदाता कालिकाप्रसाद बिमारी भई उपचारकै क्रममा मिति २०६३।६।२४ मा मृत्यु भएपछि उक्त लिखतहरूको नक्कल मिति २०६३।८।७ मा लिएको भनी जालसाज र दर्ता बदरतर्फ मिति २०६३।९।१७ मा फिराद गरेको देखिन्छ ।
१०. वादीहरू आफ्ना पति पितासँग सगोलमा रहेको अवस्थामा नै मूल लिखत मिति २०६१।३।१४ मा पारित भएकोमा लेनदेन व्यवहारको १० नं. बमोजिम दावी गर्ने हदम्याद व्यतीत भएपछि लाग्नै नसक्ने अर्को कानूनी व्यवस्थाको सहारा लिएको भन्ने कुरा दर्ता बदर मुद्दामा अन्तिम भएको फैसलाबाट स्पष्ट छ । अर्कोतर्फ म्यादभित्रै उपयुक्त उपचारको मार्ग नअपनाई उक्त लिखत बदरमा दावी गर्ने हदम्याद व्यतीत गरी अर्को बाटो जालसाजको माध्यमबाट जालसाजीका तत्वहरू प्रकटरूपमा नदेखाई लिखत बदर हुनपर्ने देवानी तत्वका आधारमा आउन कानूनतः मिल्ने देखिँदैन ।
११. पति पिता कालिकाप्रसाद जीवित रहँदा एकमात्र पत्नी यी वादी र दुईमात्र छोरा यी वादीको हक मार्न जालसाजीजस्तो जघन्य कर्तूत गर्नुपर्नाका कारण फिरादमा खुलाउन सकेको अवस्था छैन । लिखत गर्दा लिनेदिनेमा कुनै बद्नियत नदेखिएबाट मिति २०६१।३।१४ को र.नं. १७११४ को लिखतलाई जालसाजीपूर्वक खडा भएको भन्न मिलेन । प्रस्तुत दावी कीर्ते कागजको ३ नं. ले वर्णित कानूनी व्यवस्थाबमोजिमको जालसाजीको कार्य भए गरेको नदेखिँदा मिति २०६१।३।१४ को र.नं. १७११४ को लिखत चार भागको दुई भाग जालसाज ठहर गरेको पुनरावेदन अदालत, पाटनको फैसला मिलेको देखिन आएन ।
१२. अतः माथि विवेचित आधार प्रमाणबाट कालिकाप्रसाद फुयाँलले प्रतिवादी शारदा घिमिरेलाई मिति २०६१।३।१४ मा र.नं. १७११४ बाट पारित गरी दिएको काठमाडौं जिल्ला गोलढुंगा गा.वि.स. वडा नं. ६(ङ) कि.नं. १८ को ज.रो. ०–६–०–०, कि.नं. २७ को ज.रो. ४–८–३–० को राजीनामाको लिखतको चार भागको दुई भाग लिखत जालसाज ठहर गरेको काठमाडौं जिल्ला अदालतको मिति २०६५।२।२९ को फैसला सदर गरेको पुनरावेदन अदालत, पाटनको मिति २०६६।८।१ को फैसला मिलेको नदेखिँदा उल्टी हुन्छ । उक्त मिति २०६१।३।१४ को र.नं. १७११४ को पारित राजीनामा लिखत जालसाज घोषित गरिपाऊँ भन्ने वादी दावी नपुग्ने ठहर्छ । अरूमा तपसीलबमोजिम गर्नू ।
तपसील
माथि इन्साफ खण्डमा लेखिएबमोजिम पुनरावेदन अदालत, पाटनको मिति २०६६।८।१ को फैसला उल्टी भई वादी दावी नपुग्ने ठहरी फैसला भएको हुँदा शुरू काठमाडौं जिल्ला अदालतको फैसलाको तपसील खण्डको प्रकरण २ मा कायम गरेको लगतबमोजिमको कार्य गर्नु नपर्ने हुँदा सोको जानकारी शुरू काठमाडौं जिल्ला अदालतमा लेखी पठाई दिनू .... १
प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू .........२
उक्त रायमा म सहमत छु ।
न्या.ज्ञानेन्द्रबहादुर कार्की
इति संवत् २०७० साल बैशाख ३१ गते रोज ३ शुभम् ....
इजलास अधिकृतः– दीपक ढकाल