शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६२६६ - चोरी

भाग: ३८ साल: २०५३ महिना: पौस अंक:

निर्णय  नं. ६२६६  अङ्क ९   ने.का.प.२०५३

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह

माननीय न्यायाधीश श्री हरिश्‍चन्द्रप्रसाद उपाध्याय

सम्व्त २०५० सालको फौं.पू.नं. .... ७९९

फैसला मितिः २०५३।३।५।४

मूद्दाः चोरी ।

 

पुनरावेदक

वादीः प्र.ज.चक्र बहादुर केवट समेतको जाहेरीले श्री ५ को सरकार ।

विरुद्ध

प्रत्यर्थी

प्रतिवादीः ग.अं. स्यांजा जिल्ला वालिङ गा.वि.स. वडा नं. २ वस्ने पुर्ण भन्ने पूर्णचन्द्र मल्ल    समेत जना ६ ।

     

      आफ्ना जिम्मामा रहेको सामानहरुको सुरक्षाको लागि पनि हेरचाह गर्न पुर्याउन आवश्यकता अनुसारएक ठाउंबाट अर्को ठांउमा लैजानु वा सार्नुपर्ने अवस्था श्रृजना नहुनेभनी मान्न नसकिने ।   

  (प्र.नं. १८)

      सामानहरु जिम्मा लिने व्यक्तिले आफू जिम्मा रहेको सामान सुरक्षित साथ राख्‍नु र आफूले जिम्मा लिई राखेको सामानहरु फिर्ता माग भएको वा खोजी भएको वखत सहि हालतमा वुझाउन पर्ने दायित्व निजहरुको हुंदा  त्यस्तो जिम्मा दिएको सामानहरु सही हालतमा वुझाउन नसकेमा जिम्मा दिनेले कानून अनुरूप जिम्मा लिनेबाट असूल उपर गरि लिन पाउने हुंदा त्यस्तो आफूले जिम्मा लिएको सामानहरु निज जिम्मा लिनेले नै चोरी गरेको भनी कानूनतः मिल्ने अवस्था नहुने। 

 (प्र.नं. १८)

      चोरी भएको भनिएको फलामे छड समेतका सामानहरु हिनामिना भै कभर्डहल निर्माण कार्यमा वाधा अवरोध आएको भन्ने उक्त वालीडण् कभर्डहल निर्माण समितिका तर्फबाट कुनै दावी जिकिर आएको पनि मिसिलबाट देखिएन । प्रहरी कार्यालयबाट चोरी गरि ल्याएको भनिएको सामानहरुको विवरण माग गर्दा निर्माण समितिले चोरी भएको सामानहरुको विवरण दिन सकेको समेत पाइएन । अतः उल्लेखित अवस्थामा निर्माण सामाग्री जिम्मा लिने व्यक्तिले नै चोरी गरेको भनी चोरीको वारदात कायम गर्न मिल्ने अवस्था नहुंदा प्रस्तुत मुद्दामा चोरीको वारदात कायम गरि प्रतिवादीहरुलाई सजाय गर्ने गरेको शुरू स्यांजा जिल्ला अदालतको फैसला उल्टी हुने ठहर्याइ प्रतिवेदन दावी खारेज गर्ने गरि पुनरावेदनअदालत पोखराले गरेको फैसला मिलेकै देखिंदा मनासिव ठहर्ने ।                  

  (प्र.नं. १८)

 

पुनरावेदक तर्फबाटः

      विव्दान सरकारी उप न्यायाधिवक्ता श्री पवन शर्मा ।

प्रत्यर्थी तर्फबाटः

अबलम्वित नजीरः

 

फैसला

     न्या.पृथ्वी बहादुर सिंहःपुनरावेदनअदालत, पोखराको फैसला उपर यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छः

      २. स्यांजा जिल्ला वालिंग गा.वि.स. वडा नं. २ फुलबारीमा निर्माण भैरहेको कवर्डहलको निर्माण स्थलमा रहेको फलामे छड पुरण भन्ने पूर्णचन्द्र मल्ल समेतका व्यक्तिहरुले ०४६।८।३ को राती चोरी गरि लगेको भन्ने बुझिन आएकोले निजहरु उपर कानून बमोजिम कारवाही गरि पाउं भन्ने समेत व्यहोराको प्र.ज. चक्र बहादुर समेतको प्रतिवेदन जाहेरी ।

      ३. २०४६८।३को राती मुक्ति श्रेष्ठले कवर्डहलवाट म समेतलाई बोकाई ३ सुते छड निज मुक्ति श्रेष्ठको घरसम्म पुर्याएको हु भन्ने समेत लोक बहादुर सार्कीको कागज ।

      ४. उक्त दिन मुक्ति श्रेष्ठले ज्याला दिन्छु छड बोक्न हिंड भनेकोले म समेत भई छड बोकी निज मुक्तिको घरमा पुर्याई दिएको हु भन्ने समेत ज्ञानबहादुर सार्कीको बयान कागज ।

      ५. उक्त दिन म समेत भई मुक्ति श्रेष्ठका भनाई अनुसार कवर्डहलमा रहेको छड ज्याला पाउने आशामा निज मुक्तिको घरसम्म पुर्याई दिएको हु भन्ने समेत कर्ण बहादुर गुरूंगको बयान कागज ।

      ६. मुक्ति श्रेष्ठ र मेरो सल्लाह अनुसार ०४६।८।३ का राती लोक बहादुर, कर्णबहादुर समतको व्यक्तिहरु बोलाई मुक्ति श्रेष्ठको घरमा कवर्डहलवाट छड बोकाई मुक्ति श्रेष्ठको घरमा लगेका हों भन्ने समेत पूर्णचन्द्र मल्लको बयान कागज ।

      ७. पूर्णचन्द्र मल्ल समेत मिली कवर्डहलको छड चोरी भएकोमा हाम्रो विश्वास लाग्दछ भन्ने समेत सर्जमिन मूचूल्का ।

      ८. पूर्णचन्द्र मल्ल, मुक्ति श्रेष्ठ, लोक बहादुर सार्की, ज्ञान वहादुर सार्की, कर्णवहादुर गुरूंग, पेटाहा कामी समेतका मानिसले मुलुकी ऐन चोरीको १ नं. बिपरित कसूर गरेको सिद्ध हुन आएकोले निजहरुलाई ऐ.को १२ नं. वमोजिम पहिला पटक कायम गरि सजाय गरि पाउन र वरामद भएको ३ सुते फलामेछड कवर्डहल निर्माण समिति वालिंगलाई चोरीको १०(३) नं. वमोजिम भराई दिन तथा फरार रहेका मुक्ति श्रेष्ठ, पेटाहा कामीलाई अदालतवाटै  म्याद जारी गरी कारवाही गरी पाउन समेत अनुरोध गरिएको छ भन्ने समेत प्रहरी प्रतिवेदन माग दावी ।

      ९. कवर्डहलमा राखिएको छड मुक्ति श्रेष्ठले ज्याला दिन्छु मेरो घरमा लगी राखि देउ भनी भनेकोले म समेतका व्यक्तिहरु भई निज मुक्तिश्रेष्ठको घरमा लगी करे सामा राखेका हौं । चोरीको भन्ने थाहा भएन । प्रहरी माग दावी वमोजिम हामीलाई सजाय हुनु पर्ने होईन भन्ने समेत व्यहोराको प्र.हरु लोक बहादुर सार्की, ज्ञानबहादुर सार्की, कर्णबहादुर गुरूङ्ग समेतको एकै मिलानको छुट्टा छुटै रुपमा अदालतमा गरेको वयान ।

      १०. छड तथा सिमेन्ट बुझ्ने एकनारायण बगाले हुन् । फलामे छड मुक्ति श्रेष्ठको घरमा के कसरी बरामद भयो मलाई थाहा छैन । म चोरीमा संलग्न छैन । मुक्ति श्रेष्ठ तथा एकनारायणलाई नै सत्य कुरा थाहा होला । म निर्दोष छुं भन्ने समेत पुर्ण चन्द्र मल्लले अदालतमा गरेको वयान ।

      ११. प्रतिवादीका साक्षीहरुको वयानभई मिसिल सामेल रहेको ।

      १२. यसमा प्रतिवादीहरु लोकबहादुर सार्की, ज्ञानबहादुर सार्की, कर्णबहादुर गुरूंग, पूर्णचन्द्र मल्ल समेत जना ४ ले विगो रु. १६५०। को फलामे छड पहिला पटक चोरी गरेको ठहर्छ । प्रतिवादीहरु मुक्ति श्रेष्ठ र पेटाहा कामीको हकमा चोरीको १० नं. वमोजिम मुलतवी राखि दिएको छ भन्ने समेत शुरू स्यांजा जिल्ला अदालतको मिति २०४८।३।२४ को फैसला ।

      १३.   उक्त फैसलामा चित्त वुझेन । आरोपित कसूरवाट सफाई दिलाई पाउं भन्ने समेत प्र. पूर्णचन्द्र मल्लको पुनरावेदनअदालत पोखरामा परेको पुनरावेदन।

      १४. यसमा पूर्णचन्द्र अदालतमा ईन्कार रहेको समेत परिप्रेक्ष्यमा वादी दावी ठहर गरेको शुरू फैसला विचारणीय हुंदा अ.वं. २०२ नं. तथा पुनरावेदनअदालत नियमावली, २०४८ वमोजिम बिपक्षी झिकाई आएपछि पेश गर्नु भन्ने समेत पुनरावेदन अदालत पोखराको आदेश ।

      १५. एउटै मुद्दामा प्रहरी प्रतिवेदन नै त्रूटीपुर्ण देखिएको अवस्थामा कुनै प्रतिवादीहरुका हकमा सजाय हुने र कुनै प्रतिवादीका हकमा सफाई पाउने भन्ने कुरा अ.वं. २०५ नं. को उद्देश्य र मनसाय विपरित समेत हुन जाने हुंदा पुनरावेदन नगर्ने व्यक्तिहरुका हकमा समेत सो प्रहरी प्रतिवेदन कायम रहन सक्ने अवस्था देखिएन । यस कारण चोरीको वारदात नै कायम हुन नआएको अवस्थामा प्रहरी प्रतिवेदन खारेज गर्नु पर्नेमा सो कायम गरि प्रतिवादीहरुलाई सजाय गर्ने गरेको समेत शुरू स्यांजा जिल्ला अदालतको फैसला नमिलेको देखिंदा उल्टी  हुन्छ  । प्रहरी प्रतिवेदन खारेज हुन्छ  भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पोखराको फैसला ।

      १६. सरकारी सम्पत्तिको दूरूपयोग एवं चोरी नहोस् भन्ने दृष्टिकोणले निजलाई उक्त सम्पत्तिको संरक्षण गर्ने अख्तियार दिइएको हो । निजलाई चोरी गर्नको लागि अख्तियार दिइएको होईन । यसरी कभर्ड हल (जिल्ला खेलकूद विकास समिति) को हक अधिकार अन्तर्गत रहेको सामान छड सो समितिको हक नै मेटिने गरि आफूहरुले लिन खानको लागि प्रतिवादीहरुले रातको समयमा चोरी लगेको भन्ने तथ्य प्रकरण नं. २ मा उल्लेखित आधारहरुवाट यथेष्ट रुपमा प्रमाणित हुंदा हुदै पनि प्रस्तुत वारदातलाई चोरीको वारदात कायम गर्न मिलेन भनी गरेको फैसला स्पष्ट रुपमा त्रुटीपूर्ण हुंदा वदरभागी छ भन्ने समेत व्यहोराको यस अदालतमा पर्न आएको पुनरावेदनपत्र ।

      १७. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत पुनरावेदन सहितको सम्पूर्ण मिसिल अध्ययन गरि पुनरावेदक वादी श्री ५ को सरकारको तर्फवाट वहसको लागी खटी आउनु भएका विद्धान सरकारी उप न्यायाधिवक्ता श्री पवन शर्माले गर्नु भएको वहस समेत सूनी पुनरावेदनअदालत पोखराले शुरू फैसला उल्टी गरि प्रहरी प्रतिवेदन खारेज गर्ने गरि गरेको फैसला मिले  नमिलेको के रहेछ सो कुराको निर्णय  दिनु पर्ने हुन आएको   छ ।

      १८. यस्मा निर्णय  तर्फ बिचार गर्दा स्यांजा जिल्ला वालिंग गा.वि.स. वडा नं. द्द फुलबारीमा निर्माणाधिन रहेको कभर्डहलको हातामा रहेको जुन फलामे छड समेतका सामानहरु प्रतिवादीहरु पुर्ण चन्द्र मल्ल समेतले चोरी लगेको भनी प्रस्तुत मुद्दामा दावी लिइएकोछ, सो फलामे छड समेतको सम्बन्धमा मिसिल संलग्न जिल्ला प्रशासन कार्यालय स्यांजाको मिति ०४६।९।४ को प्रतिवादी मध्येका पुर्णचन्द्र मल्ल समेतलाई सम्वोधन गरि लेखिएको पत्रमा वालिंग कभर्डहल निर्माणका निमित्त प्राप्त हुने सवै सामानहरु सुरक्षित साथ रेखदेख गर्ने जिम्मा दिएको भन्ने उल्लेख भएको पाईन्छ । यसरी उक्त पत्रवाट उल्लेखित सामानहरु निज प्रतिवादी पुर्णचन्द्र मल्ल समेतको जिम्मा रहेको भन्ने देखिएवाट कभर्डहल निर्माण सामाग्रीको तत्कालिन मालधनि निजहरु नै रहेको भनी मान्नु पर्ने हुन आउंछ । आफ्ना जिम्मामा रहेका सामानहरुको सुरक्षाको लागि पनि हेरचाह गर्न पुर्याउन आवश्यकता अनुसार एक ठाउंवाट अर्को ठाउंमा लैजानु वा सार्नुपर्ने अवस्था श्रृजना नहुनेभनी मान्न सकिदैन । सामानहरु जिम्मा लिने व्यक्तिले आफू जिम्मा रहेको सामान सुरक्षित साथ राख्‍नु र आफूले जिम्मा लिइ राखेको सामानहरु फिर्ता माग भएको वा खोजी भएको वखत सहि हालतमा वुझाउन पर्ने दायित्व निजहरुकै हुंदा त्यस्तो जिम्मा दिएको सामानहरु सही हालतमा वुझाउन नसकेमा जिम्मा दिनेले कानून  अनुरूप जिम्मा लिनेवाट असूल उपर गरि लिन पाउने हुंदा त्यस्तो आफूले जिम्मा लिएको सामानहरु निज जिम्मा लिनेले नै चोरी गरेको भनी कानूनतः मिल्ने अवस्था हुदैन । चोरी भएको भनिएको फलामे छड समेतका सामानहरु हिनामिना भै कभर्डहल निर्माण कार्यमा वाधा अवरोध आएको भन्ने उक्त वालिंगकभर्डहल निर्माण समितिका तर्फवाट कुनै दावी जिकिर आएको पनि मिसिलवाट देखिएन । प्रहरी कार्यालयवाट चोरी गरि ल्याएको भनिएको सामानहरुको विवरण माग गर्दा निर्माण समितिले चोरी भएको सामानहरुको विवरण दिन सकेको समेत पाईएन । अतः उल्लेखित अवस्थामा निर्माण सामाग्री जिम्मा लिने व्यक्तिले नै चोरी गरेको भनी चोरीको वारदात कायम गर्न मिल्ने अवस्था नहुंदा प्रस्तुत मुद्दामा चोरीको वारदात कायम गरि प्रतिवादीहरुलाई सजाय गर्ने गरेको शुरू स्यांजा जिल्ला अदालतको फैसला उल्टी हुने ठहर्याई प्रतिवेदन दावी खारेज गर्ने गरि पुनरावेदनअदालत पोखराले गरेको फैसला मिलेकै देखिंदा मनासिव ठहर्छ । पुनरावेदक वादी श्री ५ को सरकारको पुनरावेदनजिकिर पुग्न सक्तैन ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. हरिश्चन्द्र प्रसाद उपाध्याय

 

इति सवत् २०५३ साल आषाढ ५ गते रोज ४ शूभम... ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु