निर्णय नं. ६४२५ - करार पूरा गरि क्षतिपूर्ति पाउँ

निर्णय नं. ६४२५ २०५४, ने.का.प अङ्क ८
संयुक्त इजलास
माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय
माननीय न्यायाधीश श्री नरेन्द्र बहादुर न्यौपाने
सम्वत् २०५३ सालको दे.पु.नं. ... ३५६८,३५६७
फैसला मितिः २०५४।१।२।२
मुद्दाः करार पूरा गरि क्षतिपूर्ति पाउँ ।
पुनरावेदक/प्रतिवादीः जि.तेह्रथुम, स्याङलुङ गा.वि.सं. वार्ड नं. २ वस्ने वसन्तमान श्रेष्ठ ।
विरुद्ध
विपक्षी/वादीः जि.पांचथर फिदिम गा.वि.स. वार्ड नं. ८ वस्ने कृष्ण प्रसाद जोशी समेत ।
§ रकम र ठेक्का वन्दोवस्त ऐन, २०२० को दफा २५ मा कटकेन्दारले तिर्न वुझाउनु पर्ने रकम निजले नवुझाई मुल ठेकेदारले वुझाउनु परेमा आफूले वुझाए जति रकम कटकेन्दारबाट असुल उपर गराई लिन पाउने व्यवस्था रहेको देखियो । यसरी मुल ठेकेदारले उपरोक्तानुसारको रकम वुझाउन वाध्य भै कवुलियत गरेको मिति २०४७।६।२२ मा धरौटी राखेको मिति २०४७।७।८ बाट नै मुल ठेकेदारले सो रकम भराई पाउन कटकेन्दार उपर मुद्दा गर्नु पर्ने अवस्थाको सिर्जना भएको मान्नु पर्ने हुन्छ । सो मिति बाट हदम्याद भित्र वादीको सन्धिकार अदालतमा फिराद परेको देखिन्छ । यस्तो स्थिति मा २०४५ सालमा नै सो वेरुजुका सम्वन्धमा कारवाही शुरु भएकोले सो मितिमा मुद्दा गर्नु पर्ने कारण परेको र उक्त कुराको जानकारी २०४५ सालमा नै फिरादीलाई भएको भनी हदम्यादको आधारमा फिराद खारेज गर्ने गरेको शुरु पांचथर जिल्ला अदालतको फैसला वदर गरी वादीको फिराद हदम्याद भित्रको भएकोले कानून वमोजिम इन्साफ गर्न शुरु जिल्ला अदालतमा पठाउने गरी गरेको पुनरावेदन अदालत इलामको फैसला मिलेको देखिदा सदर हुने ।
(प्र.नं. १०)
पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता द्वय श्री भिम राई र श्री दुर्गा सुव्वा
विपक्षी वादी तर्फबाटः
अवलम्वित नजिरः
फैसला
न्या. नरेन्द्र बहादुर न्यौपानेः पुनरावेदन अदालत इलामको मिति २०५२।२।११ को फैसला उपर न्याय प्रशासन ऐन २०४८ को दफा ९(१)(ग) वमोजिम यस अदालतमापर्न आएको प्रस्तुत पुनरावेदन सहितको संक्षिप्त व्यहोरयस प्रकार छः
२. श्री ५ को सरकार स्वाथ्य मन्त्रालयको सूचना (टेन्डर) प्रकाशित गरीए बमोजिम पांचथर फिदिममा १५ शैयाको अस्पताल निर्माण गर्न हामी फिरादी बिच अस्पताल बनाउने सर्त कबुलियत गरी मिती ०३५ मा चलन पूर्जि लिई काम गर्दै आएका थियौ । एक डेढ बर्ष भवन निर्माण सम्बन्धि काम गरीए पश्चात हाम्रो ठेकेदारहरु बिरामी भै काम गर्न नसक्ने काबु बाहिरको परिस्थिती परेको कारणले गर्दा रकम तथा सरकारी ठेक्का बन्दोबस्त ऐन, २०२० को दफा २२ ले निर्दिष्ट गरीए बमोजिम हामीले ठेक्का लिदा गरीएका सर्तका अधिनमा रहि कड्केन्दार नियुक्ति गरी ठेक्का सन्चालन गर्न पाउने भएकोले नारायण मान श्रेष्ठ -१, दिल प्रसाद श्रेष्ठ -१, इश्वरमान श्रेष्ठ -१ समेत ३ जनालाई मिती ०३६।१०।८ मा कड्केन्दार नियुक्ति गरी सो सम्पूर्ण कामहरु सन्चालन गर्न ठेक्काको काम जिम्मा दिने कबुलिएत भएको थियो । तत्काल अवस्थामा ठेक्काको काम सन्चालन गर्नका लागी मन्जूरी गरीएका अर्थात नियुक्ति भएका ३ जना कड्केन्दारहरु मध्येको नारायण मान श्रेष्ठको आफ्ना काल गतीले मिती ०३८।१२।३ मा निधन भएको मुल कडकेन्दार नै परलोक हुन गएको हुँदा रकम तथा सरकारी ठेक्का वन्दोबस्त ऐन, २०२० को दफा २२ को उपदफा (२) बमोजिम कड्केन्दार नियुक्ति गरी सर्त करारनामा बमोजिम सम्पूर्ण ठेक्काको कार्य गर्न कड्केन्दारहरुलाई जिम्मा दिएका थियौ । यसरी मिती ०३९।३।१२ मा हामलिे ठेक्काको सम्झौता बमोजिम विपक्षीहरुलाई कार्य गर्न सर्तनामा अनुसार दिइएकोमा सर्तनामामा उल्लेख भएको सम्पूर्ण दायित्व वहन गरेको होला भन्ने कुरामा पूर्णतः विश्वासमा रहेका थियौं। ठेक्काको सम्पूर्ण कामको फरफारक भएकै होला भन्ने कुरा पूर्णत विश्वासमा थियौ । यसरी विश्वासमा रहेको अवस्थामा यहि ०४७।७।८ गतेका दिन जिल्ला प्रशासन कार्यालय, पांचथरका प्र.जि.अ.ज्यूले म फिरादी मध्येको कृष्ण प्रसाद जोशीलाई जि.प्र.का. पांचथरमा उपस्थित भइ गराइ तपाइहरुले ठेक्का लिएको काम पूरा भएको छैन । ठेक्काको हकमा विभिन्न वेरुजुहरु निस्किएको छ । त्यो बुझाउनुपर्छ भन्नु भएकोमा मिती ०३९।३।१२ मा कड्केन्दार नियुक्ति गरी पूर्ण दायिक्त निजहरुमा नै निहित भएको हुनाले कुनै प्रकारको रकम समेत तिर्नु बुझाउनु पर्दैन भन्दा समेत रु.४३६५६५।२७ बराबरको रकम बुझाउनु होस भन्दा तत्काल फिदिम गा.वि.स. वार्ड नं. १ बस्ने चंख बहादुर श्रेष्ठ को नाममा रहेको २ कित्ता जग्गा अं. मूल्य ३,००,०००। जेथा दिइ अब दुइ महिना भित्र सबै रकम तिर्ने बुझाउने छु भन्ने कागज गराइ सो को कुनै जानकारी भर्पाइ आदी नदिइ जेथा लिएको हुनाले मिति २०४७।७।८ गते अवगत भइ सोहि मितिको ३ महिना भित्र करार ऐन, २०२० को दफा १८ बमोजिम हामीले मिति ०३६।३।१२ मा कड्केन्दार नियुक्ति भै सर्त बमोजिम काम पूरा नगरी करार ऐन, २०२३ को दफा २..४..१०..१३ तथा रकम तथा सरकारी ठेक्का बन्दोबस्त ऐन, २०२० को दफा २२, २३ र २५ नं. बमोजिम हामीले बुझाउनु परेको रकम रु.४,३६,५६५।२७ दिलाइ भराइ करार बमोजिम दायित्व वहन गराइ करार ऐन, २०२३ को दफा १५ बमोजिम क्षतिपूर्ति हर्जना समेत दीलाइ भराइ पाऊं भन्ने समेत ०४७।९।१० को संयुक्त फिराद पत्र ।
३. फिराद लेख बमोजिम विपक्षी कृष्ण प्रसाद, मेदनी प्रसाद रिजालले फिदिम स्थित १५ सैया पांचथर अस्पताल भवन निर्माण सम्बन्धि टेन्डर स्विकृत गरी श्री ५ को सरकार, स्वास्थ्य मन्त्रालय र विपक्षीहरु विच सम्झौता भइ ०३५ सालमा चलन पूर्जि पाई कार्य शुरु गर्न पेश्कि लिनलाई जेथा जमानत राखी रकम लिई निजहरुबाट भवन निर्माण कार्य गरि आउँदैमा विपक्षीहरुले विरामीको कारण देखाइ कड्केन्दार नियुक्त गर्ने भै ०३६।१०।८ मा कागज गरी कागजलाइ बैधानिक मान्यता प्राप्त गर्न जिल्ला कार्यालय पांचथर का.प्र.जि.अ.ज्यू समक्ष कड्केन्दार नियुक्ति भै हामी कड्केन्दारमाथी सुम्पिएको अभिभारालाई अविच्छिन्न रुपमा काम गरी आउँदै थियौं । मुल कड्केन्दार नारायणमान श्रेष्ठ आफ्ना कालगतीले ०३८।३।१२ मा असामयिक निधन भई कार्यमा बाधा पर्ने महशुस गरी निजको छोरा वसन्तमान र प्र.इश्वर कुमार थापा समेतलाई कड्केन्दार नियुक्ति गर्ने भन्ने विपक्षीहरुको निवेदन जि.प्र.का. मा परी स्वीकृतीको लागी जि.का. बाट माग गर्दा स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा बिभागको ०३९।२।२७ को आ.वा.बाट ठेक्काको अन्तिम दायित्व पूर्व सर्त अनुसार मुल ठेकदारहरुमा नै रहने गरी स्वीकृति प्राप्त भएकोले सोहि बमोजिम गर्ने गरि ०३९।३।१२ मा कार्य सम्पन्न नभएसम्म अन्तिम दायित्व मुल ठेकेदारहरुमा रहि रहने हामी पूर्ण सहमती छौं । हामीमा रहने दयित्व आवश्यक पर्ने रनिङ बिल भुक्तानी लिने आवश्यक पर्दा भुक्तानी लिने आर्थिक कारोबारहरु गर्न दिएका छौ । हामी कड्केन्दारहरु समेतले मन्जूर गरि संयुक्त कागज गरेका छौं । अन्तिम दयित्व मुल ठेकेदारहरुमा अन्तर्निहित रहने गरी हामीहरुले प्राप्त गरेको अधिकारको प्रयोजन कार्य गरी आएका छौं । विपक्षीहरुले दाबी लिए झै ठेक्काको स्वामित्व हामीलाई हस्तान्तरण गर्न रकम र सरकारी ठेक्का वन्दोबस्त ऐन, २०२० को दफा २२(३) ले नमिल्ने प्रावधान हुँदा सोहि परिधिभित्र रहि काम गर्ने भन्ने स्वास्थ्य मन्त्रालय स्वा.से. विभाग २०३९।२।२७ को आ.वा.को मनसाय भएकोले निर्माण कार्य समाप्त भएपछि जति भएको कामको विल जाँच पास गर्दा तत्कालिन सा.नि.शाखा पांचथरको कार्य सम्पन्न म.ले.प. फा.नं. १७६, नापी किताव ठेक्का सम्बन्धी संयुक्त हस्तान्तरण भएका कागजातहरु शा.नी. शाखाबाट जिल्ला कार्यालय पांचथरमा पठाई सो को बोधार्थ पांचथर अस्पताल, स्वास्थ्य मन्त्रालय, कानून ब्याबस्था शाखामा समेत पठाएको छ । सो कार्यको जाच पास गर्दा प्राविधिकबाट भवनको गुणस्तर नभएको भनि रु.४६,८१६।५० र बढि भूत्तानी भएको भनी ६०,६३५।९६ उल्लेख भै गएको थियो । कार्यको विभिन्न मूल्याङ्कन गरी पटक पटक रनिङ बिलको भूत्तानी हुँदा कुनै कुरा नभएको जाँच पास गर्दा त्यसरी कट्टा भएको रकम विपक्षहरुले हामीमा बेरुजु आउन सक्ने दृष्टि पुर्याई निकायहरुमा दाबी लिन सक्नु पर्ने बिपक्षीहरुलाइ ज्ञात हुँदाहुदै कुनै दाबी लिन सक्नु भएन । विपक्षीहरुले पेश्कि लिन धितो राखेको यद्यपी विधिबत रुपमा फूकुवा गरी लिनु भएको पनि छैनन्, जति पनि कारोबार भएको रकमको खर्चको हिसाब समय समयमा हामीलाई देखाउने भनि ०३९।१।१० मा दुबै पक्षको कागज भएको छ । त्यस किसिमको कार्य गरेको स्पष्ट कागज हुदाहुदै ठेक्काको सम्पूर्ण दायित्व हामीलाई बुझाएको भन्न मिल्न सक्दैन । ठेक्काको सम्पूर्ण कार्यहरु विपक्षीहरुकै मातहतमा रहेको हुदा ठेक्काको दायित्व निजहरुमा नै सर्वोपरी रहेको संलग्न पुस्टि गर्ने छ । हामीहरुले विपक्षीहरुकै कार्यपरिधि भित्र रहि छिटो टरितो काम गराउने पक्षमा जनहित दृष्टिगत गरी केवल प्रतिनिधि स्वरुप काम गरी आएका हौं । वादी दावी बमोजिम हामीले बेरुजु रकम तिर्नु बुझाउनु वा क्षतीपूर्ति र हर्जाना हामीले ब्यहोर्नु पर्ने छैन सो हुदा वादीको झूठ्ठा माग दावीबाट अलग फुर्सद गरी वादीलाई नै सजाय गरी पाउँ भन्ने ०४७।११।२७ को संयुक्त प्रतिउपर पत्र ।
४. हाम्रो नाउँको बेरुजु रकम कड्केन्दार इश्वर थापा र वसन्तमानबाट उपलब्ध गराइपाउँभनि वादी ठेकेदार दुबै जनाले जिल्ला कार्यालय, पांचथरमा २०४५।११।२६ मा निवेदन दिएको देखिन्छ । यसबाट निज ठेकेदारहरुले वेरुजु कायम भएको तिर्नु पर्ने रकम समेत ०४५।११।२६ मा भन्दा अगावै नै जानकारी पाई सकेकोले सो करार पूरा नगरेको कुरा वादीहरुलाई ०४५ सालमै जानकारी आइसकेको देखिन्छ । यसरी ०४५ सालमै जानकारीमा आइसकेको कुरामा जिल्ला कार्यालय, पांचथरबाट जेथा धरौट लिए पनि ०४७।७।८ देखि मुद्दा गर्नु पर्ने कारण भनी उल्लेख गरी आएकोमा निज ठेकेदारहरुलाई ०४५ सालदेखि नै जानकारी भएपछि सोेहि मितिबाट ३ महिनाभित्र फिराद गर्नु पर्नेमा नगरी म्याद नाघि फिराद परेको देखिदा खारेज हुने ठहर्छ भन्ने ०५०।१।३१ को पांचथर जिल्ला अदालतको फैसला ।
५. हामी पुनराबेदकहरुले लिएको ठेक्का सन्चालनका कड्केन्दारहरुको रुपमा विपक्षीहरुले लिएपछि ठेक्काको निर्माण कार्य गर्न देखि लिएर किस्ता भुक्तानी लिने जाँच पास गराउदै नै फरफारक लिइ धरौटी रकम समेत फिर्ता लिने गरी सारा दायित्व पूरा गर्ने जिम्मा विपक्षीहरुले लिएकोमा बढि पेश्कि भुक्तानी लिएको काम गर्दा लगत इष्टिमेट बमोजिम नगरेको वेरुजु निस्केको समेत एक मुष्ट रकम रु.४,३६,५६५।२७ क्षति हुन गई सो क्षति रकम हामी पुनरावेदकबाट भराइ जिल्ला प्रशासन कार्यालय पांचथरले मिति ०४७।७।८ मा हामीबाट धितो जमानत लिएकोले सोहि मिति ०४७।७।८।६ बाट विपक्षीहरु उपर वांकि बक्यौता क्षति दिलाइ भराइ करारको दायित्व पूरा गर्न लगाइ पांउ भनि हामीले म्यादै भित्र फिराद गरेकोमा खारेज गर्ने गरेको शुरु फैसला त्रुटिपूर्ण वदर गरी शुरु फिराद दावी बमोजिम गरी पाउँ भन्ने वादी कृष्ण प्रसाद जोशी समेतको पुनरावेदन ।
६. मुद्दा गर्नु पर्ने कारण परेको मितिबाट वादीले करार ऐन, २०२३ को दफा १८ को म्याद ३ महिना भित्रै फिराद दायर गरेकोमा खारेज गर्ने गरेको शुरुको फैसला फरक पर्न जाने हुदा अ.व. २०२ नं. बमोजिम प्रत्यर्थीहरु झिकाइ पेश गर्नु भन्ने पुनरावेदन अदालत इलामको संयुक्त इजलासबाट भएको आदेश ।
७. ठेकेदारहरुलाई २०४५ सालदेखि नै जानकारी भएको अवस्थाको निर्णयधार उल्लेख गरी हदम्यादको आधारमा फिराद खारेज गरेको निर्णय नमिलेकोले शुरु पांचथर जिल्ला अदालतको मिति ०५०।१।३१ को निर्णय वदर गरी दिएको छ । अब जो जे प्रमाण बुझ्नुपर्छ बुझि कानून बमोजिम इन्साफ गर्नु भनि प्रस्तुत मिसिल शुरुमा पठाई दिने ठहर्छ भन्ने समेत ब्यहोराको पुनरावेदन अदालत, इलामको मिति ०५२।२।२१ को फैसला ।
८. प्रस्तुत मुद्दामा अस्पताल बनि सकेपछि बेरुजु निस्किएको कुरा विपक्षीलाइ जानकारी भएपछि सोहि मितिबाट मुद्दा गर्नुपर्ने कारण सृजना भएको छ । च.नं. ४८६७ मिति ०४५।१०।१९ को पुर्वान्चल क्षेत्रीय स्वस्थ्य सेवा निर्देशनालय धनकुटाको विपक्षीका नामको पत्रबाट विपक्षीलाइ उक्त कुराको जानकारी भएको देखिन्छ । यिनै विपक्षले द.न. ४२६१ मिति ०४५।११।२६ मा प्रमुख जिल्ला अधिकारी पांचथर समक्ष दिएको निवेदनबाट उक्त कुरा जानकारी पाइसकेका भन्ने ब्यहोरा आफै उल्लेख गर्नुको साथै सोहि निवेदनमा सर्तनामा बमोजिम उल्लंघन भएको भनी उल्लेख गर्नु भएको छ । करारमा शर्त उल्लंघन गरी क्षती भए सोहि मुद्दा गर्ने कारण श्रृजना हुनेमा सो कुराको वास्तै नगरी फैसला भएको छ । विपक्षले पुनरावेदन गर्दा करारमा निरन्तरता छदैछ भििन उल्लेख गर्नु भई क्षतिमा दावी गर्नु भएको छ । फिरादमा करार उल्लंघन गरी दावी गर्नु भएको छ । उक्त दुवै कुरा मिल्ने देखिदैन । पु.वे.अ. इलामले वादीले जानकारी पाए नपाएको सम्बन्धमा वयान गराउँदा कुनै जानकारी नपाएको भनि ०५१।१०।२४ मा बयान गरेकोमा भनि तथ्य ढाटि बयान गरेकोमा पुनः जिल्ला कार्यालयमा बुझ्दा जानकारी भएको जवाफ दिएकोमा त्यस सम्बन्धमा अदालतले कुनै वास्ता राखेको छैन । तसर्थ पुनरावेदन अदालत इलामको मिति ०५२।२।११ को फैसला वदर गरी फिराद दावी खारेज गरी शुरु पांचथर जिल्ला अदालतको फैसला सदर कायम गरी पांउ भन्ने समेत ब्यहोराको प्रतिवादी वसन्तमान श्रेष्ठ र प्रतिवादी इश्वर कुमार थापाको छुट्टाछुट्टै पुनरावेदन ।
९. नियमानुसार पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक तर्फका विद्वान अधिबक्ता द्वय श्री भिम राई र श्री दुर्गा सुब्बाले प्रस्तुत गर्नु भएको बहस समेत सुनि पुनराबेदन सहितको मिसिल अध्ययन गरी हेर्दा शुरुको खारेजी फैसला वदर गरी ईन्साफ गर्न शुरु जिल्ला अदालतमा पठाउने ठहर्याएको पुनरावेदन अदालत इलामको फैसला मिलेको छ छैन ? सो बिषयमा निर्णय दिनुपर्ने देखिन आयो ।
१०. निर्णय तर्फ विचार गर्दा पांचथर फिदिमको अस्पताल निर्माण गर्न लिएको ठेक्का संचालन गर्न विपक्षीहरुलाई कडकेन्दार नियुक्ति गरी सम्पूर्ण ठेक्काको कार्य गर्न निज कड्केन्दारहरुलाई जिम्मा दिएको थियो । ठेक्काको सम्पूर्ण कार्य फरफारक भएको विश्वासमा रहेको अवस्थामा मिति २०४७।७।८ गतेका जिल्ला प्रशासन कार्यालय पांचथरबाट सो ठेक्कामा विभिन्न वेरुजुहरु निस्कीएकोले वुझाउन भनिएको । उक्त ठेक्का कडकेन्दार नियुक्त गरी पूर्ण दायित्व निजहरुमा निहित रहेकोले हामीले तिर्नु वुझाउनु पर्दैन भन्दा समेत रु.४,३६,५६५।२७ वरावर रकम वुझाउनु पर्ने भनिएकोले जेथा जमानी राखी २ महिना भित्र उक्त रकम वुझाउने छु भनी मिति २०४७।७।८ मा कागज गरी सो मितिले ३ महिना भित्र करार ऐन, २०२० को दफा १८ वमोजिम समेत उक्त रकम विपक्ष कड्केन्दारबाट दिलाई भराई करार वमोजिमको दायित्व वहन गराई क्षतिपूर्ति समेत दिलाई पाउँ भन्ने फिराद दावी रहेको देखिन्छ । मुल कड्केन्दार नारायणमान श्रेष्ठ आफ्ना कालगतिले मृत्यु भएपछि निजको छोरा वसन्तमान र प्र.इश्वर कुमार थापा समेतलाई कड्केन्दार नियुक्ति गरी स्वास्थ्य मन्त्रालयको मिति २०३९।२।२७ को आ.वा. अनुसार ठेक्काको अन्तिम दायित्व पूर्व शर्त अनुसार मुल ठेकदारमा नै रहने गरी स्वीकृति प्राप्त भएकोले सोही वमोजिम ठेक्काको सम्पूर्ण कार्य विपक्षीको मातहतमा नै भएको हुँदा हामीले वादी दावी वमोजिमको रकम तिर्नु वुझाउनु पर्ने होइन भन्ने विपक्षीको प्रतिउत्तर जिकिर रहेको पाइन्छ । ठेक्का वमोजिमको कार्य सम्पन्न गर्नका लागि यिनै वादी प्रतिवादी वीच मिति २०३९।३।१२ मा भएको संझौतामा सम्पूर्ण कार्य सम्पन्न गर्ने र रकम भुक्तानी लिने समेतको अधिकार प्रतिवादी कड्केन्दारलाई दिई समयमा कार्य सम्पन्न हुन नसकेमा श्री ५ को सरकारको शर्त वा कवुलियत अनुसारको कार्यको क्षतिपूर्ति समेत कडकेन्दारले व्यहोर्नु पर्ने कुरा उल्लेख भएको देखिन्छ । सोही कार्यका सम्वन्धमा देखिएको वेरुजु रकम असुल गराउने सिलसिलामा ०४५ साल देखि कारवाही भई मिति २०४७।६।२२ मा मुल ठेकेदारबाट नै सो ठेक्का वेरुजु रुकम रु.४,३६,५६५।२७ असुल गराउने सिलसिलामा मिति २०४७।६।२२ मा जिल्ला प्रशासन कार्यालयले मुल ठेकेदार यिनै वादीलाई सो रकम धरौटी राख्ने कवुलियत गराएको र मिति २०४७।७।८ मा सो अनुसार निजहरुले धरौटी राखेको पाइन्छ । रकम र ठेक्का वन्दोवस्त ऐन, २०२० को दफा २५ मा कटकेन्दारले तिर्न वुझाउनु पर्ने रकम निजले नवुझाई मुल ठेकेदारले वुझाउनु परेमा आफूले वुझाए जति रकम कटकेन्दारबाट असुल उपर गराई लिन पाउने व्यवस्था रहेको देखियो । यसरी मुल ठेकेदारले उपरोक्तानुसारको रकम वुझाउन वाध्य भै कवुलियत गरेको मिति २०४७।६।२२ मा धरौटी राखेको मिति २०४७।७।८ बाट नै मुल ठेकेदारले सो रकम भराई पाउन कटकेन्दार उपर मुद्दा गर्नु पर्ने अवस्थाको सिर्जना भएको मान्नु पर्ने हुन्छ । सो मिति बाट हदम्याद भित्र वादीको साफिकार अदालतमा फिराद परेको देखिन्छ । यस्तो स्थिति मा २०४५ सालमा नै सो वेरुजुका सम्वन्धमा कारवाही शुरु भएकोले सो मितिमा मुद्दा गर्नु पर्ने कारण परेको र उक्त कुराको जानकारी २०४५ सालमा नै फिरादीलाई भएको भनी हदम्यादको आधारमा फिराद खारेज गर्ने गरेको शुरु पांचथर जिल्ला अदालतको फैसला वदर गरी वादीको फिराद हदम्याद भित्रको भएकोले कानून वमोजिम इन्साफ गर्न शुरु जिल्ला अदालतमा पठाउने गरी गरेको पुनरावेदन अदालत इलामको फैसला मिलेको देखिदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी वुझाई दिनु ।
उक्त रायमा सहमत छु ।
न्या. केदारनाथ उपाध्याय
इति संवत २०५४ साल वैशाख २ गते रोज २ शुभम् .. ।