शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६४३३ - किर्ते

भाग: ३९ साल: २०५४ महिना: पौस अंक:

निर्णय नं. ६४३३              २०५४, ने.का.प.                 अङ्क ९

 

संयुक्त इजलास

सम्माननीय का.मु.प्रधान.न्यायाधीश श्री ओमभक्त श्रेष्ठ

माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय

संवत २०५१ सालको फौ.पु.नं. .. ११०१

फैसला मितिः २०५४।५।१६।२

 

मुद्दाः किर्ते ।

 

पुनरावेदक/प्रतिवादीः जिल्ला धनुषा जनकपुर न.पा. वडा नं. ४ वस्ने विन्दश्वरी लालकी पत्नी वर्ष ४४ की शैल कुमारी देवी कायस्थ समेत जम्मा २ ।

विरुद्ध

प्रत्यर्थी/वादीः  जि.ध. जनकपुर न.पा. वडा नं. ४ वस्ने भनिएकी अं. वर्ष ४७ कि राज कुमारी देवी कायस्थ

 

§  जालसाजी किर्ते ठहर हुनको लागि यो यस्तो हक मेटियो भन्ने वस्तुनिष्ठ आधार वादीले पेश गर्नु पर्ने ।

 

पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री सहयोग पोखरेल

प्रत्यर्थी वादी तर्फबाटः विद्वान अधिवक्ता श्री कमल नारायण दास

अवलम्वित नजिरः

 

फैसला

            का.मु.प्र.न्या.ओमभक्त श्रेष्ठः पुनरावेदन अदालत जनकपुरको मिति २०५०।९।२६ को फैसला उपर न्याय प्रशासन ऐन, २०४९ को दफा ९(१)(क) वमोजिम पर्न आएको प्रस्तुत पुनरावेदन सहित मुद्दाको व्यहोरा यस प्रकार छः

            २.    वादी शैल कुमारी देवी प्रतिवादी म समेत भएको २०४५ सालको दे.नं. ७५२ को फैसला वदर मुद्दा ०४५।११।२० मा डिसमिस भएकोमा गुज्रेको म्याद थामी दिन हु.प्र. वक्स भै डिसमिसबाट जगाई मेरा नाउँमा जारी भएको म्यादम घर दैलामा नटांसी फेला परेपनि वुझ्न इन्कार गरेकाले भनी घर दैलामा प्र. सिकन्दर र लक्ष्मेश्वर शाह साक्षी वसी २०४६।६।११।३ मा टांस मुचुल्का गरेको वडा अध्यक्ष राघो सिंहको सही समेत रहेकोले निजसँग सम्पर्क राख्दा सही किर्ते भनी जवाफ दिएको यसरी तामेलीमा झूटो व्यहोरा लेखि किर्ते कागजको ३ नं. अनुसारको अपराध हुन गएकोले विपक्षीहरुलाई झिकी जे जो वुझ्नू पर्ने वुझी विपक्षीहरुलाई किर्ते कागजको ७ र १० नं. वमोजिम सजाय गरी पाउँ भन्ने समेत व्यहोराको फिराद पत्र ।

            ३.    सो तामेलीमा कुनै त्रुटी छैन अ.वं. ११० नं. को रीत पुर्‍याई तामेल भएको छ । जालसाज अन्य कार्य गरेको नहुँदा फिराद खारेज गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीहरु जना ४ को संयुक्त प्रतिउत्तर पत्र ।

            ४.    नभएको झूठ्ठा कुरालाई गरे भएको हो भनी म्याद तामेल भएको देखिंदा प्रतिवादीहरुले किर्ते कागजको ३ नं. को कसुर गरेकोमा ऐ. का १० नं. ले जनही रु.२५। जरीवाना समेत हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत जनकपुरको मिति २०५०।९।२६ को फैसला ।

            ५.    हामीले कुनै किर्ते जालसाज  नगरेको हुँदा पुनरावेदन अदालतको फैसला त्रुटीपूर्ण हुँदा सो फैसला बदर  गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीहरु शैल कुमारी देवी र शिव नारायण यादको यस अदालतमा परेको पुनरावेदन ।

            ६.    यस्मा वादीले मुलुकी ऐन, किर्ते कागजको १ नं. र ३ नं. अन्तर्गतको कसुर गरकोले ऐ.को ७ र १० नं. अनुसार सजाय गरी पाउँ भन्ने वादी दाव भएकोमा लामो समयसम्म म्याद अदालतमा नवुझाएको तामेलीमा बस्ने साक्षीहरुले तामेली मिति फरक देखाएको भन्ने जस्ता आधारमा जालसाजी ठहर्‍याएको देखियो । वादीको के हक प्रितिवादीहरुले यो यस्तो किर्ते जालसाजी गरी वादीको हक मेटाउन गरेको भनी बस्तुनिष्ट आधार वेगर सजायं गरेको फौजदारी मुद्दामा कसुर प्रमाणित गर्ने भार वादीमा रहन्छ भन्ने कानूनी सैद्धान्तिक व्यवस्था अनुरुप नहुँदा अ.वं. २०२ नं. बमोजिम विपक्षी झिकाई नियमानुसार पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति २०५३।१२।११ को आदेश ।

            ७.    नियमानुसार पेश भएको प्रस्तुत पुनरावदेन सहितको मिसिल अध्ययन गरी पुनरावेदक शैल कुमारीको तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री सहयोग पोखरेल तथा प्रत्यर्थी वादी तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री कमल नारायण दासले गर्नु भएको बहस समेत सुनियो ।

            ८. यस्मा फिराद दावी बमोजिम किर्ते कागजको ३ नं. बमोजिमको कसुर यी पुनरावेदनक प्रतिवादीहरुले गरेको ठहर्याको पुनरावेदन अदालत जनकपुरको फैसला मिलेको छ छैन सो सम्वन्धमा निर्णय दिनु पर्ने देखिन  आयो ।

            ९.    निर्णय तर्फ विचार गर्दा यी पुनरावेदक प्रतिवादी वादी र प्रत्यर्थी वादी राज कुमारी प्रतिवादी भएको फैसला  बदर मुद्दामा प्रतिवादी परिसके पछि डिसमिस भै हुकुम प्रमाङ्गीबाट थमिई प्रतिवादी राजकुमारीका नाममा ७ दिने म्याद निजले नबुझेको भनी घरमा नटासी घरमा टांसेको भनी व्यहोरा लेखि जालसाजी किर्ते गरेको भन्ने मुख्य दावी भएको प्रस्तुत मुद्दामा फैसला वदरमा वादी शैल  कुमारीले आफूले वक्सपत्रवाट प्राप्त गरेको सम्पत्ति नपाउने भै अवण्डा हुँदा प्र. राजकुमारीले प्राप्त हुने सम्पत्ति भएको देखि चित्त नबुझी फैसला बदर मुद्दा दिएको देखिएको छ । सो मुद्दा जगाई ७ दिने म्याद तामेली भएको मुद्दा एक तर्फी हुने अवस्था नभै प्रतिउत्तर समेत परिसकेको स्थितिमा सवुद प्रमाणको मूल्याङ्कन भै फैसला हुने अवस्था देखिनुका अतिरिक्त पुनरावेदन पनिलाग्ने मुद्दा देखिन्छ । लामो समय सम्म म्याद अदालतमा नबुझाएको तामेलीमा वस्ने साक्षीहरुले तामेली मिति फरक देखाएको भन्ने जस्ता आधार लिई पुनरावेदन अदालतले  दावी ठहर गरेको देखिन्छ । जालसाजी किर्ते ठहर हुनको लागि यो यस्तो हक मेटियो भन्ने वस्तुतिष्ठ आधार वादीले पेश गर्नु पर्ने त्यस्तो वस्तुनिष्ठ आधार वादीले  पेश गर्न सकेको देखिन आएन ।

            १०. तसर्थ वस्तुनिष्ठ ठोस आधारको अभावमा वादी दावी नपुग्नेमा वादी दावी वमोजिम जालसाजी ठहर गरेको पुनरावेदन अदालत जनकपुरको फैसला मिलेको नदेखिंदा उल्टी हुने ठहर्छ । वादी दावी पुग्न सक्दैन ।

            ११. वादी दावी पुग्न नसक्ने देखिन आएकोले पुनरावेदन नगर्ने प्रतिवादीहरु लक्ष्मेश्वर शाह कलवार र सिकिन्दर शाह सोनारका हकमा समेत पुनरावेदन अदालत, जनकपुरको इन्साफ उल्टी भै निजहरुले समेत वादी दावीको अभियोगवाट अ.वं. २०५ नं. वमोजिम सफाई पाउने ठहर्छ । अरु तपसील वमोसिज गर्नु ।

 

तपसील

माथि इन्साफ खण्डमा लेखिए वमोजिम ठहरेकाले पुनरावेदन अदालत जनकपुरको फैसलाको तपसीलको देहाय १ को लगत कायम राख्नु पर्ने नदेखिंदा उक्त लगत कट्टा गरिदिनु भनी धनुषा जिल्ला अदालतमा लेखि पठाई दिनु ..१

पुनरावेदक प्रतिवादीहरु शैल कुमारी देवी कायस्थ र शिव नारायण यादव के माथि इन्साफ खण्डमा लेखिए बमोजिम ठहरेकोले निजहरुलाई पुनरावेदन अदालत, जनकपुरको फैसलाले ठहर भएको जनही जरिवाना रु.२५। पुनरावेदन अदालत मार्फत यस अदालतमा पुनरावेदन गर्दा पुनरावेदन अदालत जनकपुरमा र नं. १५८९ मिति ०५१।७।२५ मा बुझाई सदर स्याहा भएको देखिंदा यस अदालतको फैसलाले उक्त जरीवाना निजहरुलाई लाग्ने नहुँदा उक्त रकम फिर्ता भराई पाउँ भनि कानूनका म्यादभित्र फिर्ता माग गर्न आए निजहरुलाई फिर्ता भराई दिनुभनि धनुषा जिल्ला अदालतमा लेखि पठाई दिनु........२

प्रत्यर्थी वादी राजकुमारी देवी कायष्टके माथि इन्साफ खण्डमा लेखिए वमोजिम पुनरावेदन अदालतको फैसला उल्टी भै वादी दावी नपुग्ने ठहरेकाले दावी पुग्ने ठहर भएकोभए किर्ते कागजको १० नं. ले प्रतिवादीहरुलाई दुईसय रुपैयासम्म जरिवाना हुने देखिएकोले दावी ठहर नभएको हुँदा दण्ड सजायको १८ नं. बमोजिम निजवादी राज कुमारीलाई रु.१००। जरीवाना  हुन्छ । लगत कसी असुल उपर गर्नु भनी धनुषा जिल्ला अदालतमा लेखि पठाई दिनु......... ३

मिसिल नियमानुसार गरी वुझाई दिनु..४

 

उक्त रायमा म सहमत छु ।

 

न्या. हरिश्चन्द्र प्रसाद उपाध्याय

 

इति सम्वत् २०५४ साल भाद्र १६ गते रोज २ शुभम्

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु