निर्णय नं. ६४३४ - गाली बेइज्जती नाता कायम

निर्णय नं ६४३४ २०५४, ने.का.प. अङ्क ९
संयुक्त इजलास
माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा
माननीय न्यायाधीश श्री टोप बहादुर सिंह
सम्वत् २०५१ सालको फौ.पु.नं..... ८३६
फैसला मितिः २०५४।४।२८।३
मुद्दाः गाली बेइज्जती नाता कायम
पुनरावेदक/प्रतिवादीः रुकुम जिल्ला खलंगा गा.वि.स.वडा नं. ९ रातामाटा वस्ने आसाराम खड्काको वारेस भई आफ्नो हकमा समेत ऐ. ऐ. वस्ने वर्ष ५० को किर्त बहादुर खड्का
बिरुद्ध
विपक्षी/वादीः रुकुम जिल्ला खलंगा गा.वि.स. वडा नं. ९ रातामाटा बस्ने एक्की कुमारी खड्का
§ वैवाहिक सम्बन्ध स्थापित भै लोग्ने स्वास्निको रुपमा रहे बसेको अवस्थामा जन्मेको सन्तान अन्यथा प्रमाणीत नभएसम्म निज लोग्नेको करणी विर्यबाट जन्मेको नभै कुनै उनाउ व्यक्तिको करणी विर्यबाट जन्मेको भन्ने युक्तिसँगत नहुने ।
पुनरावेदक प्रतिवादी तर्फबाटः
विपक्षी वादी तर्फबाटः
अवलम्वित नजिरः
फैसला
न्या.मोहन प्रसाद शर्माः पुनरावेदन अदालत नेपालगञ्जको फैसला उपर न्याय प्रशासन ऐन,२०४८ को दफा ९(१) (ग) अन्तर्गत पर्न आएको प्रस्तुत पुनरावेदनको तथ्य एवं ठहर यस प्रकार छ ।
२. म कुमारी रहेको अवस्थामा विपक्षी ससुराले मेरो बाबुसँग मगनी गरी मेरो समेत मन्जूरीबाट विपक्षी मध्येका आसारामको र मेरो दील चित्त मिली ०४६।११।४ गतेका दिन कूलधर्म रितिथिती अनुसार विवाह भै विपक्षीकै घरमा रहि आएको थिएं । विपक्षी आशाराम खड्का लोग्ने र मेरो करणी विर्यबाट ममा गर्भ रहि मोहन नाम गरेको छोरा जातक समेत जन्मि विपक्षी लोग्ने आशारामले सो जातकको न्वारान समेत गर्नु भएको हो । यसरी विपक्षी कै घरमा बसी आएको अवस्थामा ०४८।६।११ का दिन विपक्षीहरुले त बाट जन्मेको छोरा मेरो छोरा नाती होइन त इज्जत नभएकि कुनै परपुरुषबाट गर्भ बोक्ने चन्डाललाई हाम्रा घरमा बस्न दिदैनौ तंबाट जन्मेको छोरा समेत साथमा लिइ माइती घरमा जा भनी विपक्षी दुबै जनाले मलाई घरबाट निकाला गरी मेरो चरित्र हत्या गरी बेइज्जती गरेकाले विपक्षीलाइ सजायं गरी क्षतीपूर्ति समेत दिलाइ भराइपाउँ भन्ने समेत ब्यहोराको वादी एक्कि कुमारी खड्काको फिरादी पत्र ।
३. विपक्षीसँग मिति २०४६।११।४ गते विवाह भएपछि विपक्षी विरामी भएकीले निजको आमाले माइती घरमै लगी औषधी उपचार गर्छू भनी लगेपछि हामीहरु बारम्बार लिन जादां सन्चो छैन सन्चो भएपछि पठाइदिन्छौं चिन्ता लिनु पर्दैन भन्दै हामीलाइ फर्काउँदै आउनु भएको अबस्थामा ०४७।४।१५ गते छोरी सुत्केरी भै छोरो जन्मेको छ सुत्केरी छोरीलाइ लिन आउनुहोस भनी खबर पठाउँदा ०४६।११।४ गते बिवाह भएकोमा ०४७।४।१५ गते नै सुत्केरी भएपछि कसरी हाम्रो घरमा ल्याउने हामी लिन जादैनौ भनी खबर पठाएपछि विपक्षीका बाबु दल बहादुर पटक पटक हामीसँग भेट गरी मेरो छोरीबाट जन्मेको जातकको न्वारान गरी आमा छोरालाई घरमा ल्याइ पालनपोषण गर्नुहोस भनी भन्दै आउनु भएको र सो कुरालाई हामीहरुले नकार्दै आएको कारणबाट यो झूठ्ठा उजुरी दिएकि हुन् । फिराद दावी अनुसार गाली बेइज्जती गरेको होइन भन्ने समेत व्यहोराको प्रतिवादी कृत बहादुर खड्का - १ र प्रतिवादी आशाराम खड्काको संयुक्त प्रतिउत्तर पत्र ।
४. वादी प्रतिवादीका साक्षीहरुले गरेको वकपत्र मिसिल सामेल रहेको ।
म र प्रतिवादी आशाराम खड्का त्रि.ज.मा.वि. खलंगामा एउटै कक्षामा पढिरहेका थियौं, ०४५ सालदेखि नै हामीहरुको सम्बन्ध थियो । ०४९।११।४ गते मेरो र प्र.आशाराम खड्काको विवाह भएको हो । म बाट जन्मेको छोरा प्रतिवादी आशाराम कै करणी विर्यबाट म मा गर्भ रही जन्मेको छोरा भएकोले प्र.आशाराम संगै मेरो नाता कायम हुनुपर्छ भन्ने समेत व्यहोराको नाता कायम तर्फ अ.व. ८० नं. बमोजिम वादी एक्कि कुमारी खड्काले गरेको बयान ।
५. कस्को करणी वीर्यबाट जन्मेको हो ? वादीलाई नै थाहा होला । मैले वादीलाइ ०४६।११।४ गते विवाह गरी घरमा ल्याएको हुँ । मिति ०४७।४।१५ गते माईती घरमा बच्चा जन्मिएको हो । मैले न्वारान नगरेकोले नै म समेतलाइ गाली बेइज्जती मुद्दा दिएकि हुन । म सँग नाता कायम हुनुपर्ने हौइन भन्ने समेत व्यहोराको प्र. अशारामले नाता कायम तर्फ अ.व. ८० नं. बमोजिम गरेको बयान ।
६. वादी मेरी बुहारी होइनन् र मेरो छोरा आशाराम खड्कासँग वादी एक्कि कुमारीको नाता कायम हुनुपर्ने होइन । वादीलाइ मैले देखे चिनेको पनि थिएन । विवाह हुनु भन्दा अगाडी प्र.आशारामको र वादी एक्कि कुमारीको कुनै पनि सम्बन्ध थिएन । वादीको भनाइ झूठ्ठा हो भन्ने समेत व्यहोराको प्र.कृत बहादुर खड्काको नाता कायम तर्फ अ.व. ८० नं. बमोजिम गरेको वयान ।
७. विवाह भएको ५ महिना १० दिन भित्रै वादीबाट छोरा जन्मिएको देखिदा प्र. आशारामको छोरा ठहर्दैन । यसरी वादीबाट जन्मिएको छोरो प्रतिवादी आशाराम खड्काको छोरो नठहरेको अवस्थामा वादीबाट जन्मिएको छोराको प्रतिवादी आशाराम खड्का वाबु नाता कायम हुन सक्तैन । यस्तो अवस्थामा वादीले प्रतिवादी उपर दिएको गाली बेइज्यति मुद्दामा समेत वादी दावी पुग्न सक्तैन भन्ने समेत व्यहोराको रुकुम जिल्ला अदालतको फैसला ।
८. विपक्षी लोग्ने आशारामले विवाह पूर्व म मा गर्भ राखि विवाह पश्च्यात छोराको न्वारान समेत गरी हामी लोग्ने स्वास्नी वाबु छोरा भै ०४८।६।१० सम्म घर व्याबहार चलाइ आएको अवस्थामा वेइज्जती गरेकोमा उजुरी दिएपछि बेइज्जतीबाट नाता तर्फ कारवाही उठाइ म र आशारामलाइ लोग्ने स्वास्नि कायम गर्ने र मबाट जन्मेको छोराको बाबु भने प्र. आशारामलाई पनि ठहर नगरेको र अर्को कुनै वाबु पनि ठहर गर्न नसकेको र बेइज्जती गरेको नठहर्याएको शुरुको हचुवा फैसला उल्टाइ फिराद दावी कायम राखि पाउँ भन्ने समेत व्यहोराको वादी एक्कि कुमारी खड्काको पुनरावेदन अदालत नेपालगञ्जमा परेको पुनरावेदन पत्र ।
९. एक्कि कुमारीले जन्माएको छोरा प्रतिवादी आशारामको करणी विर्यबाट जन्मिएको सिद्ध हुन आएकोले वाबु छोराको नाता कायम हुने समेत ठहर्छ । शुरु रुकुम जिल्ला अदालतको नाता कायम नहुने गरेको फैसला उल्टि हुन्छ । बेइज्जती तर्फ बिचार गर्दा माइतिमा बालक जन्माएको कारणले सम्म विवाद उठेको कारणले बेइज्यती गरेको नठहर्याएको शुरु जिल्ला अदालतको इन्साफ मिलेकै हुँदा सो हदसम्म शुरुको इन्साफ सदर हुने भै बेइज्जती तर्फको वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन समेत व्यहोराको पुनरावेदन अदालत नेपालगञ्जको फैसला ।
१०. एक्कि कुमारीबाट जन्म भएको जातकको सम्बन्धमा वादीको साक्षिहरुको विवादास्पद वकपत्र वादीको अस्पष्ट फिराद दावी माइतिमा बच्चा जन्माएको अवस्था , वच्चाको न्वारान नभएको न्वारान तर्फ कारवाहि नचलाइ गा.वे. मा मुद्दा चलाएको अवस्था विवाह भएको करिब ५ महिना १० दिन भित्र बच्चाजन्माएको तथ्य समेतको विस्तृत र न्यायिक विबेचना नगरी शुरु फैसलालाइै बदर गर्ने गरेको निराधार स्पष्ट र मनोगत पूर्ण पुनरावेदन अदालतको फैसलामा गम्भिर कानूनी त्रुटि भएकोले उक्त पु.वे.अ. को फैसलालाइै वदर गरी शुरु फैसला कायम गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी कृत बहादुर र प्र.आसाराम खड्काको यस अदालतमा परेको पुनरावेदन ।
११. नियमानुसार अजको दैनिक मुद्दा पेशि सुचिमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत पुनरावेदनको पुनरावेदन पत्र सहितको मिसिल कागजात अध्ययन गरी हेर्दा यसमा पुनरावेदन अदालत नेपालगञ्जको फैसला मिले नमिलेको के रहेछ हेरि पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्ने वा नसक्ने के रहेछ सोहि विषयमा दिनु पर्ने । निर्णय देखिन आयो । यस्मा पुनरावेदक प्र. आशाराम र विपक्षी वादी एक्कि कुमारी खड्काको बिचमा विवाह भै लोग्ने स्वास्निको रुपमा रहे बसेको कुरामा विवाद उठेको देखिदैन । केवल जातकको सम्बन्धमा प्र. आशाराम खड्का कै करणी विर्यबाट जन्मेको भन्ने वादी दावी देखिन्छ भने मेरो करणी विर्यबाट जन्मेको होइन भन्ने प्रतिवादी जिकिर रहेको सम्बन्धमा वादी एक्कि कुमारीबाट मोहन नामको जातक जन्मिएपछि सो जन्म शंकास्पद भए सो सम्बन्धमा समय मै प्रतिवादीहरुले विवाद उठाउनु पर्नेमा विवाद उठाएको पनि देखिदैन । यसरी वैवाहिक सम्बन्ध स्थापित भै लोग्ने स्वास्निको रुपमा रहे बसेको अवस्थामा जन्मेको सन्तान अन्यथा प्रमाणीत नभएसम्म निज लोग्नेको करणी विर्यबाट जन्मेको नभै कुनै उनाउ व्यक्तिको करणी विर्यबाट जन्मेको भन्ने युक्तिसँगत नहुने हुदा पुनरावेदन अदालत नेपालगञ्जबाट शुरु रुकुम जिल्ला अदालतले नाता कायम नहुने गरी गरेको फैसला उल्टि गरी वाबुछोराको नाता कायम हुने गरी गरेको फैसला र बेइज्जती तर्फ भने सोहि जातकको जन्म सम्मको जरियाबाट वादविवाद सम्म भएको र यस्तो वादविवाद लोग्ने स्वास्निको बिचमा भएको देखिदा बेइज्जती गरेको नठहराएको समेत पुनरावेदन अदालत नेपालगञ्जको फैसला मनासिब देखिदा सदर कायम हुने ठहर्छ । पुनरावेक प्रतिवादीहरुको पुनरावेदन जिकिर पुग्न सक्दैन । फैसलाको सूचना पुनरावेदकलाई दिइ मिसिल नियमानुसार बुझाइदिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. टोप बहादुर सिंह
इति सम्बत २०५४ साल श्रावण २८ गते रोज ३ शुभम