शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६४३६ - लेनदेन

भाग: ३९ साल: २०५४ महिना: पौस अंक:

निर्णय नं. ६४३६       २०५४, ने.का.प.                   अङ्क ९

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय

माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय

सम्वत् २०५२ सालको दे.पु.नं. ... ३४९७

फैसला मितिः २०५४।२।२९।४

 

मुद्दाः लेनदेन ।

 

पुनरावेदक/प्रतिवादीः जिल्ला पर्सा गाउँ विकास समिति वडा नं. ४ सिवर्वा वस्ने सिंगासन राउत कुर्मी

विरुद्ध

विपक्षी/वादीः जिल्ला पर्सा गाउँ विकास समिति सिवर्वा वडा नं. ४ वस्ने जमुना राउत कुर्मी ।

 

§  मिति २०४६।३।२७ को लिखत वमोजिम सांवा रु.२३,०००। तथा सयकडा १०% ले हुने व्याज समेत गरी जम्मा रु.२७,४२७।४० पैसा समेत प्रतिवादीबाट दिलाई पाउँ भन्ने वादी र वादीले खडा गरेको लिखत झूठ्ठा हो वादी दावी वमोजिमको रकम दिनु पर्ने होइन भन्ने प्रतिवादी जिकिर देखिन्छ । प्रतिवादीको वारिसले अदालतमा वयान गर्दा उक्त विवादको लिखत लिफा कागजमा तयार पारेको भन्ने जिकिर लिएता पनि उक्त लिखत हेर्दा लिफाको प्रयोजनको लागि तयार भएको भन्ने लिखतको प्रकृतिबाट देखिदैन सामान्यतः लिफामा लिखतको अक्षर शुरु हुने स्थान र अन्त हुने स्थानमा ल्याप्चे सहीछाप हुन्छ, तर प्रस्तुत विवादको लिखतमा अक्षर थपिएको ठाउँमा समेत वादीको ल्याप्चे छाप लागेको देखिन्छ । साथै लिखतमा लागेको ल्याप्चे छाप आफ्नो होइन भन्न पनि वादीले नसकेको अवस्था समेत हुँदा वादी दावी वमोजिम प्रतिवादीबाट वादीले सावा व्याज भरी पाउने ठहर्‍याएको पुनरावेदन अदालत हेटौडाको फैसला मिलेको देखदा सदर हुने । 

(प्र.नं. ७)

 

पुनरावेदकप्रतिवादी तर्फबाटः

विपक्षी वादी तर्फबाट

अवलम्वित नजिरः

फैसला

            न्या. केशव प्रसाद उपाध्यायः पुनरावेदन अदालत हेटौडाको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) वमोजिम पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छः

            २.    विपक्षीले घर खर्च वापत घर खर्च गर्नलाई म सँग रु.२३,०००। लिइ सो रुपैयाको सयकडा १० प्रतिशतले व्याज सांवा व्याज समेत २०४६ साल माघ महिना भरमा चुक्ता गरी वुझांउला भनी विपक्षीले भाखा गरी मिति २०४६।३।२७।३ का दिन मालपोत कार्यालय पर्सा अगाडि वसी घरसारमा प्रतिवादीले कपाली तमसुकको कागज लेखि सहीछाप गरी लिखत मलाई सुम्पी दिनु भएको छ । उक्त भाखामा र आज सम्म सांवा व्याज समेतको रुपैया वुझाइ दिनुस भनी प्रतिवादीलाई वारम्वार ताकिता गरी माग्दा आलटाल गरी आजसम्म वुझाइ नदिनु भएकोले सांवा रु.२३,०००। को लिखत मिति २०४६।३।२७ गते देखि आज तक एक वर्ष यघार महिना तिन दिनको सयकडा १० का दरले हुने व्याज रु.४४२७।४० पैसा समेत जम्मा रु.२७,४२७।४० र भोलिको मिति देखि मुद्दा फैसाल भएको मितिसम्म र विगो भरी भराउ भएको दिनसम्मको व्याज लगाई सांवा व्याज समेत विपक्षीबाट दिलाई लगेको कोर्टफि भराई पाउँ भन्ने समेत व्यहोराको फिराद पत्र ।

            ३.    म प्रतिवादी सिंगासन राउत कुर्मी र गंगाजली देवी र छोरा राम वालक कुर्मी र फकेन राउत समेतसँग अंश हकको कुरामा वाद विवाद भई झै झगडा भएकोमा म सिंगासन राउतको श्रीमती गंगाजली देवी र छोरा फकेन राउत कुर्मी र राम वालक प्रसाद कुर्मीले म उपर यस अदालतमा दे.नं. १४५४ को अंश दर्ता मुद्दा दिंदा सोही मुद्दामा म सिंगासन राउत कुर्मीलाई जमुना राउत कुर्मीले आफ्नो गफमेलमा मिलाई राखी सोही समयमा विपक्षी वादीले म सिंगासन राउत कुर्मीसँग थाहा नभएको के कुन किसिमको विभिन्न लिफा कागजहरुमा सहीछाप गराई लिएका थिए सोही लिफा कागजरुमा विपक्षी वादीले गैरकानूनी तवरबाट मिति २०४६।३।२७ गतेको मितिबाट जालसाजी लिखत खडा गरी गराई सो लिखतमा आफ्नो गफ मेलका मानिसहरुलाई मिलाई साक्षी अन्तर साक्षि जालसाजी तवरबाट वसाइ जालसाजी लिखत खडा गरी गराई दायर गर्नु भएको प्रस्तुत फिराद गैरकानूनी भई वदर भागी छ दावी वमोजिम मैले विपक्षी वादीसँग रुपैया लिई कुनै कागज गरेको होइन छैन भन्ने समेत व्यहोराको प्रतिवादीको इन्कारी प्रतिउत्तर ।

            ४.    वादी प्रतिवादीको वीचमा सही सत्य व्यवहाराबाट मिति २०४६।३।२७।३ को लिखत भएको रहेछ भनी मान्न सकिने अवस्था नभएको हुँदा वादी दावी पुग्न नसक्ने ठहर्छ भन्ने मिति २०४९।७।५।४ को पर्सा जिल्ला अदालतको फैसला ।

            ५.    वादी दावीको लिखतमा भएको सहिछाप आफ्नो होइन भनी इन्कार गर्न नसकेको र प्रतिउत्तर र प्रतिवादीको वा. को वयानमा समेत उक्त लिखत लिफा कागजमा तयार गरेको भन्ने प्रती जिकिर लिएता पनि उक्त सक्कल लिखत हेर्दा कारणीको सहीछाप लागेको स्थान समेतको दृष्टिबाट उक्त जिकिर अनुसार लिफामा तयार गरेको देखिन नआई सही सांचो व्यहोराको प्रष्ट देखिएको समेत कारण प्रतिवादीको लिफामा तयार भएको वा जालसाजीबाट खडा गरेको भन्ने प्रति जिकिर मनासिव भएन । त्यस्तै अंशवण्डा भएको तत्काल पछि अंशियारको वीचमा लेनदेन लिखत खडा हुँदा असमान्य भनी सम्झन नमिल्ने नभएको समेतको कारण वादी दावी वमोजिम प्रतिवादीबाट वादीले सांवा व्याज भरी पाउने ठहर्छ । शुरु पर्सा जिल्ला अदालतले विवादीत लिखत लिफामा खडा गरेको वा जालसाजीबाट तयार गरेको हो होइन भनी यकिन नगरी अनुमानको आधारमा उक्त लिखतलाई असमान्यको संज्ञा दिई वादी दावी पुग्न नसक्ने ठहराएको मिति २०४९।७।५।४ को इन्साफ उल्टी हुन्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत हेटौडाको फैसला ।

            ६.    पुनरावेदन अदालत हेटौडाको फैसला त्रुटीपूर्ण र कानून प्रतिकूल हुँदा वदर गरी पाउँ भन्ने समेत व्यहोराको पुनरावेदन पत्र

            ७.    नियम वमोजिम पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकको वारिसलाई रोहवरमा राखी निर्णयतर्फ विचार गर्दा यस्मा वादी दावी वमोजिम प्रतिवादीबाट लिखत वमोजिमको सांवा व्याज भराई दिने ठहर्‍याएको पुनरावेदन अदालत हेटौडाको फैसला मिलेको छ छैन भन्ने कुरामा निर्णय दिनु पर्ने देखियो । यस्मा मिति २०४६।३।२७ को लिखत वमोजिम सांवा रु.२३,०००। तथा सयकडा १०% ले हुने व्याज समेत गरी जम्मा रु.२७,४२७।४० पैसा समेत प्रतिवादीबाट दिलाई पाउँ भन्ने वादी र वादीले खडा गरेको लिखत झूठ्ठा हो वादी दावी वमोजिमको रकम दिनु पर्ने होइन भन्ने प्रतिवादी जिकिर देखिन्छ । प्रतिवादीको वारिसले अदालतमा वयान गर्दा उक्त विवादको लिखत लिफा कागजमा तयार पारेको भन्ने जिकिर लिएता पनि उक्त लिखत हेर्दा लिफाको प्रयोजनको लागि तयार भएको भन्ने लिखतको प्रकृतिबाट देखिदैन सामान्यतः लिफामा लिखतको अक्षर शुरु हुने स्थान र अन्त हुने स्थानमा ल्याप्चे सहीछाप हुन्छ, तर प्रस्तुत विवादको लिखतमा अक्षर थपिएको ठाउँमा समेत वादीको ल्याप्चे छाप लागेको देखिन्छ । साथै लिखतमा लागेको ल्याप्चे छाप आफ्नो होइन भन्न पनि वादीले नसकेको अवस्था समेत हुँदा वादी दावी वमोजिम प्रतिवादीबाट वादीले सावा व्याज भरी पाउने ठहर्‍याएको पुनरावेदन अदालत हेटौडाको फैसला मिलेको देखिदा सदर हुन्छ ।

पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार वुझाइ दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. हरिश्चन्द्र प्रसाद उपाध्याय

 

इति संवत २०५४ साल जेष्ट २९ गते रोज ४ शुभम ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु