निर्णय नं. ६४३८ - वाली विगो

निर्णय नं. ६४३८ २०५४, ने.का.प. अङ्क ९
संयुक्त इजलास
माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल
माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे
सम्वत् २०५२ सालको दे.पु.नं. .. २८०४
फैसला मितिः २०५४।३।२५।४
मुद्दाः वाली विगो ।
वादी/पुनरावेदकः जिल्ला पर्सा गा.वि.स. झौवा गुठी वडा नं. ६ वस्ने वर्ष ४५ को राम दयाल साह कानु
विरुद्ध
विपक्षी/प्रतिवादीः ऐ.ऐ. वस्ने लखन साह कानु
§ वादीले फिरादको आधार अंशवण्डाको ३५ नं. र जग्गा मिच्नेको १८ नं लाई वनाएको पाइन्छ । यस अदालतबाट दोहोर्याउने निस्सा दिंदा अंशवण्डाको ३१ नं. को त्रुटि भयो भन्ने उल्लेख भएको पाइन्छ । अंशवण्डाको ३५ नं. अंशमा नालेस गर्ने हद म्यादको विषयमा र ज.मि. को १८ नं. मा झगडा परेको जग्गाको विषयमा मुद्दा प्रारम्भ भएको मिति देखि मुद्दा टुंगो लागेको मिति सम्मको आयस्ता वालीमा मुद्दा टुंगो लागेको मितिले १ वर्ष भित्र नालेस गर्नु पर्ने व्यवस्था गरेको देखिन्छ । तर प्रस्तुत मुद्दाको माग दावि मानो छुट्टिएको मिति २०३७।७।१४ देखि चलन पूर्जी पाएको मितिसम्मको आयस्ता वाली दिलाई पाउ भन्ने हुँदा अंशवण्डाको ३५ नं. र ज.मि. को १८ नं. अन्तर्गतको विषय वस्तु देखिएन । अंशवण्डाको ३१ नं. ले तायदाती आएपछि वादीको अंश भाग जतिको जग्गाको वाली रोक्का गर्ने व्यवस्था गरेको पाइन्छ । प्रस्तुत मुद्दामा वादीबाट २०४२।११।१३ र २०४३ साल आषाढमा तायदाती दिएको देखिन्छ । सो तायदाती आएपछि वादीको अंश भागमा पर्ने जति जग्गा रोक्का रहेको र त्यस्तो रोक्का रहेको वाली दिलाई पाउँ भन्ने दावी नभएको हुँदा अंशवण्डाको ३१ नं. को व्याख्याको प्रश्न समावेश भएको देखिएन । तसर्थ वादीको फिराद कानूनमा आधारित नदेखिएको हुँदा प्रष्ट कानूनी आधार वेगर मानो छुट्टिएको मिति देखि अंश चलन पाएको मितिसम्मको आयस्तावाली दिलाई पाउँ भन्ने वादी दावी नपुग्ने ठहर्याएको शुरुको सदर गर्ने गरेको पुनरावेदन अदालत हेटौडाको इन्साफ सदर हुने ।
(प्र.नं. ९)
पुनरावेदक तर्फबाटः विद्वान अधिवक्ता श्री कृष्ण उपाध्याय
विपक्षी तर्फबाटः विद्वान अधिवक्ता श्री हरीहर दाहाल
अवलम्वित नजीर :
फैसला
न्या. लक्ष्मण प्र्रसाद अर्यालः पुनरावेदन अदालत हेटौंडाको मिति २०४९।११।२८ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) बमोजिम दोहोर्याई पाउँ भन्ने निवेदनमा दोहोर्याउने निस्सा प्रदान भई दायर हुन आएको प्रस्तुत पुनरावेदनको संक्षिप्त व्यहोरा एवं तथ्य यस प्रकार छ ।
२. विपक्षीको वावु माथि मेरो अंश दर्ता मुद्दा परी श्री सर्वोच्च अदालतबाट २ खण्डको १ खण्ड अंश पाउने ठहरी भएको फैसला अनुसार मेरो अंश हक ३-१३-४ जग्गाको वाली विपक्षीले ०३७।७।१४ देखि ०४४।६।२७ सम्मको वाली विपक्षीले एकलौटी खाई दिएको हुँदा ०३७ सालको गहुँ वाली ३६-२४ को प्रतिमत १ को रु.१४०।- को हुने रु.५१२४।३८ सालको धानवाली मन ७३-८० को प्रति मन १ को रकम रु.११३४५।९६ र सोही सालको गहुँ मन ३६-२४ को प्रतिमनको रु.१६०।- ले हुने रु.५८५६।- र ०३९ सालको धान मन ७३(०० को १६०।- ले हुने रु.११७१२।- र सोही सालको गहुँ मन ३६-२४ को १५०।- ले हुने रु.५४९०।- र ०४० सालको धान मन ७३-८० को रु.१६०।- ले हुने रु.११७१२।- र सोही सालको गहुँ मन ३६-२४ को १५०।- ले रु.५४९०।- र ४१ सालको धानमन ७३-८० को १६०।- ले रु.११७१२।- र गहु. मन ३६-२४ को १५०।- ले रु.५४९०।- २०४२ सालको धान मन ७३-८० को १६०।- ले रु.११७१२।- र गहुँ मन ३६-२४ को १५०।- ले रु.५४९०।- र ०४३ सालको धान मन ७३-८० ले रु.१७०।- ले रु.१२४४४।- समेत जम्मा धान गहु. मन ३६-२४ को १६०। ले रु.५८५६ र २०४४ सालको धान ७३-८० को रु.१७०। ले रु.१२४४४। समेत जम्मा धान गहुँ मन ७६८-२०-० हुने जम्मा विगो रु.१२१८७७।९६ मध्ये दश कर्म गरे पछि आधा ३८४-१०-० को रु.६०९३८।९८ विपक्षीले मेरो वण्डा वमोजिमको जग्गाको वाली खाई दिएको हुँदा विपक्षीबाट वाली विगो भराई पाउँ भन्ने वादीको फिराद ।
३. विपक्षी वादीको फिरादबाट ०३७।७।१५ गतेको अघिल्लो दिन मानो छुट्टिएको मिति कायम गरी २ भागको १ भाग वादीले पाउने अंश छुटयाई कानून वमोजिम गर्नु भन्ने श्री सर्वोच्च अदालतबाट ०४२।४।३० गतेको फैसला भएको छ । सो वाट पनि ०४४।४।३० को भन्दा अगाडी जग्गामा वादीको हक नभएको र फैसलामा पनि वालीको सम्वन्धमा केहि उल्लेख सम्म नभएकोबाट हक स्थापित हुनु भन्दा अगाडिको जग्गाको वालीको लागि दावी गर्न पाउने हक अधिकार अ.वं. ८२ नं. ले श्रृजना नहुने भएकोले अ.वं. ८२ नं. को विपरित दायर भएको फिराद हक दैयाको अभावमा खारेज हुनु पर्छ भन्ने प्रतिउतर ।
४. वादीले अंश मुद्दामा वाली आयस्ता रोक्का गरी पाउँ भनि भनेको छैन । अंशवण्डाको ३१ नं को स्वतः अंश भागको वाली पाउने होइन र अंशवण्डाको ३५ नं. र जग्गा मिच्नेको १८ नं. यस मुद्दासँग सरोकार राख्ने कानून पनि देखिंदैन । यस्तो स्थितिमा अंश मुद्दा तायदाती माग गरेको मिति देखि वण्डा नछुट्याउन्जेल २०३७ साल देखि २०४४ साल सम्मको आयस्ता वाली दिलाई पाउँ भन्ने वादी दावी पुग्न नसक्ने ठर्हछ भन्ने समेत व्यहोराको पर्सा जिल्ला अदालतको मिति ०४८।१०।६ को फैसला ।
५. वादी दावी पुग्न नसक्ने ठहर गरेको शुरु पर्सा जिल्ला अदालतको फैसलामा चित्त वुझेन भन्ने समेत व्यहोराको वादीको पर्न आएको पुनरावेदन ।
६. अदालतबाट भै आएको मुचुल्का हेर्दापनि दाविको जग्गाको वाली विपक्षी लखन साह कानुले मात्र एकलौटी खाएको भन्ने नभै वादी प्रतिवादी दुवैले मानो छुट्टिएको मितिबाट र्नै आफ्नो अंश हकको जग्गा आ(आफ्नो भोगचलन गरी कमाई वाली समेत खाई आएको भन्ने देखिंदा समेत वाली विगो भराई पाउँ भन्ने दावी भएकोमा वादी दावी पुग्न नसक्ने ठहर्याएको पर्सा जिल्ला अदालतको फैसला मनासिव ठहर्छ भन्ने पुनरावेदन अदालत हेटौंडाको ०४९।११।२८ को फैसला ।
७. मैले पाउने पर्ने अंश भाग दिनुस भन्दा खान लाउन नदिई घरबाट निकाला गरी सकेको अवस्थामा पनि प्रतिवादीले एकलौटी वाली खाएको नभई वादी प्रतिवादी दुवैले मानो छुट्टिएको मितिवाट नै आ आफ्नो भाग गरी खाई आएको र आफ्नो अंश हकको जग्गा रोक्का समेत राखेको नदेखिंदा भन्ने वुँदा लगाई वादी दावी नपुग्ने ठहर्याएको शुरु जिल्ला अदालतको फैसलालाई सदर ठहर्याएको पुनरावेदन अदालत हेटौंडँको फैसला त्रुटीपूर्ण हुँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) वमोजिम दोहोर्याई हेरी इन्साफ पाउँ भन्ने वादीको निवेदन ।
८. यसमा मानो छुट्टिएको मिति ०३७।७।१४ गते कायम भएको पश्चातको आफ्नो अंश हकको जग्गाको वाली विगोमा रोक्का नराखेको भन्ने आधारमा वादी दावी नपुग्ने ठहर्याएको पुनरावेदन अदालत हेटौंडाको फैसलामा अंशवण्डाको ३१ नं. को व्याख्यात्मक त्रुटी भै न्याय प्रशासन ऐन, २०४८ कोदफा १२(१) को खण्ड (क) को अवस्था विद्यमान देखिंदा दोहोर्याउने निस्सा प्रदान गरिएको छ भन्ने यस अदालतको २०५२।७।२ गतेको आदेश ।
९. नियम वमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन सहितको मिसिल अध्ययन गरियो । पुनरावेदक तर्फका वारेस श्री कृष्ण उपाध्यायको जिकिर एवं विपक्षी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री हरिहर दाहालले गर्नु भएको वहस समेत सुनियो । अंश मुद्दाबाट मैले अंश हक पाउने भएको जग्गाको मिति ०३७।७।१४ देखि ०४४।६।२७ सम्मको वाली विपक्षीबाट दिलाई पाउँ भन्ने वादी दावी र वादीको अंश हक स्थापित हुनु भन्दा अगावै देखिको वाली माग गर्ने हक दैया वादीलाई नभएको हुँदा दावी खारेज गरी पाउँ भन्ने प्रतिउत्तर परेकोमा वादीले अंश मुद्दामा वाली आयस्ता रोक्का राखी पाउँ भनी निवेदन दिई रोक्का राखेको समेत नदेखिंदा वादी दावी पुग्न सक्दैन भनि शुरु जिल्ला अदालतबाट फैसला भएका पाईन्छ । वादी दावी नपुग्ने ठहर्याए उपर वादीको पुनरावेदन अदालत हेटौंडामा पुनरावेदन पर्दा विवादित जग्गाको वाली प्रतिवादीले एकलौटी खाएको नभइ वादी प्रतिवादी दुवैले आ आफूले खादैं आइ रहेको भन्ने मुचुल्काबाट समेत देखिंदा शुरु जिल्ला अदालतको फैसला सदर हुने ठर्हछ भनी पुनरावेदन अदालत हेटौंडाबाट भएको फैसला उपर वादीको यस अदालतमा दोहोर्याउने निस्सा माग हुँदा निस्सा प्रदान भई पुनरावेदन दर्ता भएको देखिन्छ । अव वादी दावी वमोजिम वाली भराई दिनुपर्ने हो होईन भनी निर्णय दिनु पर्ने हुन आएको प्रस्तुत मुद्दामा निर्णय तर्फ विचार गर्दा वादीले फिरादको आधार अंशवण्डाको ३५ नं. र जग्गा मिच्नेको १८ नं लाई वनाएको पाइन्छ । यस अदालतबाट दोहोर्याउने निस्सा दिंदा अंशवण्डाको ३१ नं. को त्रुटि भयो भन्ने उल्लेख भएको पाइन्छ । अंशवण्डाको ३५ नं. अंशमा नालेस गर्ने हद म्यादको विषयमा र ज.मि. को १८ नं. मा झगडा परेको जग्गाको विषयमा मुद्दा प्रारम्भ भएको मिति देखि मुद्दा टुंगो लागेको मिति सम्मको आयस्ता वालीमा मुद्दा टुंगो लागेको मितिले १ वर्ष भित्र नालेस गर्नु पर्ने व्यवस्था गरेको देखिन्छ । तर प्रस्तुत मुद्दाको माग दावि मानो छुट्टिएको मिति २०३७।७।१४ देखि चलन पूर्जी पाएको मितिसम्मको आयस्ता वाली दिलाई पाउ भन्ने हुँदा अंशवण्डाको ३५ नं. र ज.मि. को १८ नं. अन्तर्गतको विषय वस्तु देखिएन । अंशवण्डाको ३१ नं. ले तायदाती आएपछि वादीको अंश भाग जतिको जग्गाको वाली रोक्का गर्ने व्यवस्था गरेको पाइन्छ । प्रस्तुत मुद्दामा वादीबाट २०४२।११।१३ र २०४३ साल आषाढमा तायदाती दिएको देखिन्छ । सो तायदाती आएपछि वादीको अंश भागमा पर्ने जति जग्गा रोक्का रहेको र त्यस्तो रोक्का रहेको वाली दिलाई पाउँ भन्ने दावी नभएको हुँदा अंशवण्डाको ३१ नं. को व्याख्याको प्रश्न समावेश भएको देखिएन । तसर्थ वादीको फिराद कानूनमा आधारित नदेखिएको हुँदा प्रष्ट कानूनी आधार वेगर मानो छुट्टिएको मिति देखि अंश चलन पाएको मितिसम्मको आयस्तावाली दिलाई पाउँ भन्ने वादी दावी नपुग्ने ठहर्याएको शुरुको सदर गर्ने गरेको पुनरावेदन अदालत हेटौडाको इन्साफ सदर हुने ठहर्छ । पुनरावेदकको पुनरावदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. इन्द्रराज पाण्डे
इति सम्वत् २०५४ साल आषाढ २५ गते रोज ४ शुभम्