शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६४४१ - कर्तव्य ज्यान

भाग: ३९ साल: २०५४ महिना: पौस अंक:

निर्णय नं. ६४४१              २०५४, ने.का.प.                 अङ्क ९

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी

माननीय न्यायाधीश श्री केदारनाथ आचार्य

संवत २०५० सालको फौ.पु.नं. ... ७६०

फैसला मितिः २०५४।५।२५।४

मुद्दाः कर्तव्य ज्यान ।

 

पुनरावेदक/प्रतिवादीः जिल्ला महोत्तरी, भरतपुर गा.वि.स. वडा नं. १ मा घर भै कारागार शाखा महोत्तरीमा थुनामा रहेको रौस्तम नट

विरुद्ध

प्रत्यर्थी/वादीः फुलवदना देवीको जाहेरीले श्री ५ को सरकार

 

लाश जाँच रिपोर्ट (Post Mortem Report) मा घाँटी निमोठीइ निसासीएर मृत्यु भएको भन्ने डाक्टरको राय उल्लेख हुनु र लास प्रकृति मुचुल्कामा मृतकको दुवै आंखा मुनी दुवै गाला सुनिएको दाहिने आंखा माथि पुरपुरोमा आधा इन्च लामो चोट लागेकोको निलडाम देखिएको, मृतकको घाँटीमा मसिनो विजुलीको तार ४ दोवर पारी कसी राखेको भन्ने समेत देखिएबाट यी प्रतिवादी रौसतम नटले मौकामा अधिकार प्राप्त अधिकारी समक्ष गरेको साविती वयान कागजलाई पुष्टि गरी रहेको देखिन आउँछ । यस अलावा प्रहरीले कुटपिट गरी सावित गराएका हुन भन्ने पनि जाँच गराउनु पर्ने छैन भनी घा जाँच तर्फ दावी लिन सकेको पाइदैन । उल्लेखित आधार प्रमाण समेतबाट प्रतिवादी अदालतमा इन्कारी रहेकै कारणबाट मात्र आरोपित कसुरबाट सफाई पाउनु पर्ने भन्ने निजको पुनरावेदन जिकिर मनासिव नदेखिने ।         

(प्र.नं. १८)

 

पुनरावेदक प्रतिवादी तर्फबाटः

प्रत्यर्थी वादी तर्फबाटः सरकारी अधिवक्ता चेतनाथ घिमिरे

अवलम्वित नजिरः

 

फैसला

            न्या.केदारनाथ आचार्यः पुनरावेदन अदालत जनकपुरको मिति २०४९।१२।३ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(ख) वमोजिम पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यस प्रकार छ ।

            २.    २०४४।२।२६ गते विहान मटिहानी तर्फको हालखवर वुझ्न जान लाग्दा सिमरदही वा.नं. ९ वोहवा गाउँ देखि दक्षिण जलाधार पोखरी देखि उत्तर वोहर्वा जाने वाटो नजिक एकान्त स्थानमा नाउँ गाउँ समेत थाहा नभएको लोग्ने मानिसको लाश छ भन्ने खवर पाई हेर्न जांदा २९, ३० वर्ष जतिको लोग्ने मानिस घाटीमा विजुलीको मसिनो तारले चार दोव्वर पारी कसि लाश फाली राखेको फेला परेको भन्ने प्र.ज. दिल बहादुरको प्रतिवेदन ।

            ३.    मेरो लोग्ने देवनारायण नाच पार्टीको हिरो मुख्य कलाकार भएकोले १५, १६ वर्ष अघि नाचगान गर्ने निलम नटीनीसँग अर्को विवाह गरी नाचगान गर्दै आएको सौता नीलम लोग्ने देव नारायणसँग वस्न इन्कार गर्दै रिसाई रहेकी थिइन । २०४४।२।२४ गते खैरा वस्ने राजेन्द्र कल्वारको घरमा लोग्ने सौता समेतका नाचपार्टीका मानिसहरु गएको सो रात ६, ७ वजे तिर लोग्नेलाई कर्तव्य गरी मारेको कुरो सुनेको र लाश प्रहरीले वरामद गरेको थाहा पाइ फोटो हेर्दा लोग्ने देवनारायणको फोटो देखि जाहेर गर्न आएकी छु । लोग्ने देवनारायणलाई सौता निलम नटीनीले षडयन्त्र गरी निजको भाई रोस्तम नट -, राजु साह -, रामवीर मण्डल -१ रोस्तम नटकै आमा समेत भई २०४४।२।२५ गते रात लोग्नेको घाँटीमा विजुलीको तारले वाधी कसि निरमम हत्या गरी लाश फालेको हुँदा निजहरुलाई पक्राउ गरी ज्यान सम्वन्धी महल वमोजिम सजाय गरी पाउँ भन्ने समेत व्यहोराको फुलवदन देवीको जाहेरी दरखास्त पत्र ।

            ४.    हाम्रो रायमा निजको मृत्यु घाँटी निमोठीई निसासिइ भएको भन्ने २०४४।२।२८ मा भएको लाश जाँच रिर्पोट ।

            ५.    २०४४।२।२४ गते खैरा वस्ने राजेन्द्र साहको घरमा दिदी नुरजहाँ भिनाजु देवनारायण समेत आएको दिदीलाई सौताले दुःख दिने र लोग्ने देवनारायणले मियाइन भनी हेला गरी पन्छाउन खोजेको कारण देवनारायणलाई मारी देउ यो नाचबाट आउने रुपैया सवै तपाईहरु लिनु भनी दिदी र मैले भन्दा मंजुर गरी रक्सी खाई निस्की एकान्त चौरी मा गई राजु साह र राम वीरले घाँटीमा ३, ४ फन्को तारले वेरी लडाए, मैले मुख थुनी दिए, दिदीले हात समाती निजहरुले जोडसँग तारले वांधी राजु र रामवीरले जत्रतत्र कुटि केहीवेर पछि देवनारायणको मृत्यु भएको हो भन्ने समेत व्यहोराको प्र. रौस्तम नटले प्रहरीमा गरेको वयान कागज ।

            ६.    मृतक देवनारायणलाई पक्राउ गरेको रोस्तम नट समेत भई कर्तव्य गरी मारेकोमा विश्वास लाग्छ भन्ने समेत व्यहोराको मिति २०४६।१।३० मा भएको सर्जमिन मुचुल्का ।

            ७.    विरुद्ध खण्डमा उल्लेखित प्रतिवादीहरुले मुलुकी ऐन ज्यान सम्वन्धी महलको १ नं. विपरित कसुर अपराध गरेको सिद्ध हुन आएकोले प्र. मध्य हिरासतमा रहेका रोस्तम नटले मृतक देवनारायण गिरीलाई कर्तल्य गरी मार्नलाई निजको मुख थुनि संयोग पारी दिएको निजको हकमा सोही महलको १३(४) वमोजिम सजाय गरी पाउन माग दावी लिएको र विरुद्ध खण्डमा उल्लेखित प्रतिवादीहरु विदेशी नागरिक देखिंदा सरहदमा पक्राउ परी आएका वखत कानून वमोजिम गरी मागीने हुँदा प्र. रौस्तम नटलाई यसै साथ प्रस्तुत गरिएको छ । प्र. रौस्तम नटको आमा सोनावती देवी नटनी समेतले कर्तव्य गरी मारेको भन्न जाहेरी कतैबाट समर्थित हुन नआएकोले निजको हकमा मुद्दा नचलाएको भन्ने व्यहोराको मिति २०४६।२।१ को प्रहरी प्रतिवेदन ।

            ८.    जोहरीमा सोनावती देवी समेतको षडयन्त्रबाट मारेको भन्ने उल्लेख भएको र निज भागी लुकी वसेबट निजलाई मुलुकी ऐन ज्यान सम्वन्धी महलको १६ नं. को सजाय माग भएको मिति २०४६।२।३ को छुट्टै प्रहरी प्रतिवेदन ।

            ९.    मेरो दिदी नुरजहा एकजना गिरीसँग गएकी थिइन । दिदीगिरीसँग गएपछि आउने जाने वन्द भै भात मान्सा समेत चल्दैनथ्यो । जाहेरी अनुसार मैले जाहेरवालको लोग्नेलाई कतव्य गरी मारेको छैन । प्रहरीमा भएको वयान मैले भनी लेखाएको होइन । मारेको भनी लेखाएको व्यहोरा झूठ्ठा हो । प्रहरीले कुटपिट गरेका थिए, मैले कर्तव्य गरेको छैन । मेरो दिदी समेतले देव नारायणलाई मारे नमारेको थाहा छैन । राजेन्द्र कलवारलाई चिनेको छैन भन्ने समेत प्र. रोस्तम नटले अदालतमा गरेको वयान ।

            १०.    वादी दावी वमोजिम मार्नेमा संयोग पारी दिएको समर्थित हुँदा प्र. रौसतम नटलाई ज्यान सम्वन्धी महलको १४(४) वमोजिम जन्म कैद हुने ठहर्छ । प्र. जिकिर पुग्न सक्तैन । अर्को प्रतिवादी सोनावतीका हकमा निज समेतले मृतकलाई मार्नमा षडयन्त्रमा रहेको भन्ने प्रमाण वादी पक्षबाट पुर्‍याउन नसकेबाट निजको हकमा वादी दावी पुग्न सक्दैन । वादी दावीबाट सफाई पाउने ठहर्छ । अन्य प्र. हरुको हकमा पक्राउन परेका वखत कानून वमोजिम कार्यवाही चल्ने नै देखिएको भन्ने समेत शुरु महोत्तरी जि.अ. बाट २०४९।५।२१ मा भएको फैसला ।

            ११.    प्रहरीले डर धाक देखाई सास्ती सास्तना दिई सावित गराएको मेरो साक्षीको वकपत्रलाई मूल्याङ्कन नगरी गरेको शुरु महोत्तरी जिल्ला अदालतको फैसला वदर गरी पाउँ भन्ने समेत पुनरावेदन अदालत जनकपुरमा परेको प्र. रौस्तम नटको पुनरावेदन पत्र ।

            १२.   अदालतमा उपस्थित नहुने प्र. सोनावती देवीको हकमा मुल्तवी राख्नु पर्नेमा सफाई दिएको हदसम्म शुरु फैसला वदर होस भन्ने वादी श्री ५ को सरकारको तर्फबाट पुनरावेदन अदालत जनकपुरमा परेको पुनरावेदन पत्र ।

            १३.   सरजमिनका पोषण साह समेतले रौस्तम नट समेतले तारले घाँटीमा कसी मारेको हुन भनी सर्जमिनमा लेखाएको व्यहोरा समर्थन गरी अदालतमा आई वकपत्र गरेको समेत हुँदा अदालतमा कसुरमा इन्कार रहेकै मात्र कारणले सफाई पाउनु पर्ने भन्ने निज रौस्तम नटको पुनरावेदन जिकिर पुग्न सक्दैन । शुरु म.जि.अ. ले निजलाई ज्यान सम्वन्धी महलको १३(४) नं. अनुसार सजाय गर्ने ठहर्‍याएको इन्साफ मिलेकै देखिंदा मनासिव ठहर्छ भन्ने समेत पुनरावेदन अदालत जनकपुरको मिति २०४९।१२।३।३ को फैसला ।

            १४.   समाव्हानको म्यादमा हाजिर नहुने प्रतिवादी सौनावती देवीको हकमा अ.वं. १९० नं. वमोजिम मुल्तवी राख्नु पर्नेमा ठहर फैसला गरी सफाई दिने ठहराएको फैसला त्रुटीपूर्ण हुँदा सो हदसम्म वदर भै प्रत्यर्थी प्रतिवादी सोनावतीको हकमा अ.वं. १९० नं. वमोजिम मुल्तवी राखी दिने गरी शुरु म.जि.अ. को फैसला केही उल्टी हुने ठहर्छ भन्ने समेत पुनरावेदन अदालत जनकपुरको मिति २०५१।३।६।२ को फैसला ।

            १५.   सरजमिनका पोषण साह समेत वारदात देख्ने एकजना पनि चश्मदीत व्यक्ति  छैन । सरजमिन वक्ने व्यक्तिले अनुमानको आधारमा लेखाएको व्यहोरा मेरो विरुद्ध प्रमाण लाग्न सक्दैन सम्मानित सर्वोच्च अदालत फुलवेन्चबाट नि.नं. ९६७ ने.का.प. २०३० अंक ५ पृष्ठ ६० जोग व. तुला घर विरुद्ध श्री ५ को सरकार खुन डांका मुद्दामा साक्षीहरुले आफ्नै इन्द्रीयले अथवा आंखा कान वा इशाराले देखेको सुने वुझेको कुरा मात्र भन्न पाउने र वार्दत गरेको हो होइन भनी इन्साफको तवरबाट निर्णय गरी प्रमाण पुग्ने कुरा व्यक्त गर्न पाउने कर्तव्य नभएको भनी प्रतिपादीत सिद्धान्त विपरित पुनरावेदन अदालत जनकपुरबाट २०४९।१२।३ मा भएको कानून त्रुटीपूर्ण फैसला वदर गरी झूठ्ठा दावीबाट उन्मुक्ति पाउँ भन्ने समेत प्र्र. रोस्तम नटको कारागार शाखा महोत्तरी मार्फत यस अदालतमा परेको पुनरावेदन पत्र ।

            १६.    प्र. रौस्तम नटको प्रहरीमा भएको वयानमा मृतकले नाचगान गरी गई रक्सी खाएको भन्ने व्यहोरा उल्लेख भएको तर पोष्टमार्टम रिर्पोटबाट मृतकको पेट खाली रहेको देखिएबाट सो प्रहरीमा भएको साविति वयान अन्य स्वतन्त्र ठोस प्रमाणबाट समर्थित भइरहेको नदेखिएकोले छलफलको लागि अ.वं. २०२ नं. वमोजिम विपक्ष झिकाई आएपछि पेश गर्नु भन्ने यस अदालतको आदेश ।

            १७.   नियम वमोजिम पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत पुनरावेदन सहितको मिसिल समेत अध्ययन गरी पुनरावेदक तर्फबाट नियुक्त वैतनिक अधिवक्ता उपस्थित नभएबाट प्रत्यर्थी वादी श्री ५ को सरकारको तर्फबाट उपस्थित विद्वान सरकारी अधिवक्ता श्री चेतनाथ घिमिरेले निज प्र. रौस्तम नट अदालतमा वयान गर्दा प्रहरीमा भएको वयान प्रहरीले कुटपिट गरी मन परी लेखेको भनी लेखाएकोमा घाउ खत जाँच गराउनु पर्ने छैन भनी वयान गरेको प्रहरीले भएको सम्पूर्ण व्यहोरा थाहा पाएर लेख्न सम्भव पनि हुदैन । निज अन्यत्र रहेको भनी अदालतमा वायन गरेकोमा त्यसको पुष्टि नहुनुको साथै उसकै साक्षी अलिया राइनले नाचगान गरी हिड्ने मानिस भनेकोमा प्रतिवादीले ज्याला मंजुरी खाने भनेबाट अदालतको वायन झूठ्ठा देखिएको हुँदा समेत सम्पूर्ण घटनाक्रम र परिस्थितिलाई मध्य नजर राख्दा निजले देव नारायणलाई मारेको पुष्टि भइरहेको हुँदा पुनरावेदन अदालत जनकपुरको फैसला सदर हुनुपर्छ भन्ने समेतको गर्नु भएको वहस समेत सुनि शुरु महोत्तरी जिल्ला अदालतले प्र.रौस्तम नटलाई ज्यान सम्वन्धीको १३(४) नं. अनुसारको सजाय गर्ने ठहराउको इन्साफ सदर गरेको पुनरावेदन अदालत जनकपुरको फैसला उपर निजको पुनरावेदन परेकोमा सो पुनरावेदन अदालत जनकपुरको फैसला मुनासिव छ छैन भनी निर्णय दिनु परेको छ ।

            १८.   निर्णय तर्फ विचार गर्दा लोग्ने देवनारायणलाई सौता निलम नटिनीले षडयन्त्र गरी निजको भाई रौस्तम नट रँजु साह रामवीर मण्डल, रौसतम नटकै आमा समेत भई २०४४।२।२५ गते रात लोग्नेको घाटीमा विजुलीको तारले वाधी कसी निर्मम हत्या गरी लास फालेको हुँदा कारवाही गरी पाउँ भन्ने समेतको जाहेरी दरखास्त देखिन्छ । प्र. रौस्तम न टले अदालतमा वयान गर्दा दिदी नुरजहा गिरीसँग गएपछि आउने जाने वन्द भै भात मान्सा समेत चल्दैनथ्यो भन्दै आरोपित कसुर गरेमा इन्कारी रही वयान गरेको र निजले अधिकार प्राप्त अधिकारी समक्ष वयान कागज गर्दा दिदीलाई सौताले दूःख दिने र लोग्ने देवनारायणले मियाइन भनी हेला गरी पन्छाउन खोजको कारण देव नारायणलाई मारी देउ यो नाचबाट आउने रुपैया सवै लिनु भनी दिदी र मैले भन्दा मंजुर गरी रक्सी खाई निस्की एकान्त चौरमा गई राजु साह र रामवीरले घाँटीमा ३, ४ फन्को तारले वेरी भूइमा लडाए मैले मुख थुनी दिए दिदीले हात समाती निजहरुले जोडसँग तारले वांधी राजु र रामवीरले जत्रतत्र कुटी केहिवेरपछि देव नारायणको मृत्यु भएको भनी लेखाई वयान गरेको देखिन आउँछ । यी प्रतिवादी रौस्तम नट समेतको षडयन्त्र र मिलेमतोबाट तारले घाँटीमा वांधी कर्तव्य गरेकोमा विश्वास लाग्छ भन्ने समेत सर्जमिनमा लेखाएको व्यहोरा समर्थन गरी पोषण साह तेली समेतले अदालतमा वकपत्र गरी दिएको पाइन्छ । लाश जाँच रिपोर्ट (Post Mortem Report) मा घाँटी निमोठीइ निसासीएर मृत्यु भएको भन्ने डाक्टरको राय उल्लेख हुनु र लास प्रकृति मुचुल्कामा मृतकको दुवै आंखा मुनी दुवै गाला सुनिएको दाहिने आंखा माथि पुरपुरोमा आधा इन्च लामो चोट लागेकोको निलडाम देखिएको, मृतकको घाँटीमा मसिनो विजुलीको तार ४ दोवर पारी कसी राखेको भन्ने समेत देखिएबाट यी प्रतिवादी रौसतम नटले मौकामा अधिकार प्राप्त अधिकारी समक्ष गरेको साविती वयान कागजलाई पुष्टि गरी रहेको देखिन  आउँछ । यस अलावा प्रहरीले कुटपिट गरी सावित गराएका हुन भन्ने पनि जाँच गराउनु पर्ने छैन भनी घा जाँच तर्फ दावी लिन सकेको पाइदैन । उल्लेखित आधार प्रमाण समेतबाट प्रतिवादी अदालतमा इन्कारी रहेकै कारणबाट मात्र आरोपित कसुरबाट सफाई पाउनु पर्ने भन्ने निजको पुनरावेदन जिकिर मनासिव देखिन आएन ।

तसर्थ शुरु महोत्तरी जिल्ला अदालतले पुनरावेदक प्रतिवादी रोस्तम नटलाई ज्यान सम्वन्धी महलको १३(४) नं. वमोजिम सजाय गर्ने ठहराएको इन्साफ मुनासिव ठहराएको पुनरावेदन अदालत जनकपुरको फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ । पुनरावेदन जिकिर पुग्न सक्दैन । मुद्दा किनारा भएको जनाउ पुनरावेदक प्रतिवादी र महान्यायाधिवक्ताको कार्यालयलाई दिई मिसिल नियमानुसार गरी वुझाई दिनु ।

           

उक्त रायमा सहमत छु ।

 

न्या.कृष्णजंग रायमाझी

 

इति संवत २०५४ साल भाद्र २५ गते रोज ४ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु