शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६४४२ - अंश दपोट

भाग: ३९ साल: २०५४ महिना: पौस अंक:

निर्णय नं. ६४४२             २०५४, ने.का.प.                 अङ्क ९

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ

माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा

सम्वत् २०५१ सालको दे.पु. नं. .. २५४५

फैसला मितिः २०५३।११।२१।३

 

मुद्दाः  अंश दपोट ।

 

पुनरावेदक/प्रतिवादीः जिल्ला दाङ त्रि.न.पा. वडा नं. २ घर भै दाङ सुनपुर गा.वि.स.वडा नं. ५ बस्ने मान बहादुर गिरी र तुल्सि गिरी समेत जना २ को मु.स. गर्ने त्रि.न.पा. वडा नं. २ गहिरा गाउँ बस्ने तारादेवी गिरी ।

विरुद्ध

प्रत्यर्थी/वादीः दाङ देउखुरी सुनपुर गा.वि.स. वडा नं. ५ टिकुलिया बस्ने जंग प्रसाद गिरी

 

§  मान बहादुर घरको मुख्य ब्यक्ति बाबु भएकोले उक्त घर सो जग्गामा भएको जानकारी निजलाइ थिएन भन्न मिल्दैन । न त निजको त्यस्तो जिकिर नै देखिन्छ । अंशियारले आफ्नो जिम्माको सम्पत्तिको विवरण खुलाउनु पर्ने दायित्व स्पष्टतः अंश बण्डाको महलले जिम्मा हुने ब्यक्तिलाई तोकेको छ । सो सम्पत्ति आफ्नो कब्जा जिम्मामा छ र कानूनले अबैध नमानेको स्थितिमा त्यस्तो सम्पत्तिको विवरण दिनु जिम्मा हुनेको कर्तब्य हो । श्रेस्ता नभएको तर आफ्नो जिम्मामा रहेको सम्पत्तिको विवरण दिनु नपर्ने हो भने चलधनमालको श्रेस्ता नहुने हुदा चल धनमालको विवरण दिनु पर्ने दायित्व नहुने भन्नुपर्ने स्थिति हुन जान्छ जुन कि कानूनले भन्दैन । चल धनमालको पनि तायदाती दिनु पर्ने कर्तब्य अंशियारको हुन्छ भन्ने अंशबण्डाको महलमा स्पष्ट देखिने । 

(प्र.नं. १२)

 

पुनरावेदक प्रतिवादी तर्फबाटः

प्रत्यर्थी वादी तर्फबाटः

अवलम्वित नजिरः

फैसला

            न्या.गोविन्द बहादुर श्रेष्ठः पुनरावेदन अदालत नेपालगञ्जको मिति २०५१।२।२३ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) अनुसार पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः

            २. विपक्षि मध्येको वावु मान बहादुर गिरी अमा तुलसी गिरी दाजु स्व. जय बहादुर गिरी र म फिरादि  जंग बहादुर गिरी समेत ४ अंशियार संगोलमा बसि आएको विपक्षि आमा वावु र दाजु समेत मिली अंश मुद्दा दिइ फाँटबारी अनुसार मिलापत्र गरी सम्पत्ति भोग गरी आएका छौं । फाँटवारी दिदा   विपक्षी वावु आमा र दाजु मिली दाजुको नाममा दर्ता श्रेस्ताका घर घडेरीहरु मलाई ठग्ने नियतले दवाई छिपाई राख्नु भएको कुरा मलाई जानकारी हुन गै विपक्षीहरु समेतका म फिरादीले २०४५ सालमा अंश दपोट मुद्दा दायर गरी हाल मध्य पश्चिमान्चल क्षेत्रीय अदालतमा कारवाही चलिरहेको छ । पछि यसरी अन्य कुनै सम्पत्ति पनि दवाई छिपाई राखेका छन कि भनी पत्ता लगाउँदा विपक्षी तिन जना मिली विपक्षी वावुका नाउँमा दर्ता श्रेस्ता रहेको दांग दे. सोनपुर गा.पं. वडा नं. ५(ख) कि.नं. ३९८ ज.वि. ०-८-८ जग्गा दवाई छिपाई राख्नु भएको रहेछ । दवाए छिपाएको सम्पत्ति जग्गा म फिरादीको एकलौटी हक कायम गरी खान पाउँ भन्ने समेत व्यहोराको फिराद पत्र ।

            ३.    वादीले दावी लिएको यो मुद्दाको दांग दे. सोनपर वडा नं. ५ ख कि.नं. ३९८ को ज.वि. ०-८-८ जग्गा ०२७ सालको हालको सर्भे नापीले घर व्लक छाडी नापी दर्ता नगरेको त्यसरी फाँटवारी दिंदाका अवस्था दर्ता नै नभएको र मिलापत्रमा म प्र. मान बहादुरको वण्डामा दिएको छ र भएको घर घडेरी निकास वाटो सन्धिसर्पन भएको घर व्लक जग्गा मिलापत्र गर्दाको अवस्थामा समेत दर्ता पूर्जा तयार नभएको अतः आफ्ना नाममा दर्ता श्रेस्ता नै नभएका जग्गालाई अंशको फाँटवारीमा देखाएन र मिलापत्रमा समेत नदेखाइ वण्डा नलगाई छिपायो भन्ने वादीको दावी लाग्न पुग्न नसक्ने हुँदा खारेज गरी पाउँ भन्ने व्यहोराको प्रतिउत्तर पत्र ।

            ४.    वादी प्रतिवादकिा साक्षीहरुले जे जस्तो वकपत्र गरे पनि लिखत प्रमाणबाट पुष्टि भइ रहेको अवस्थामा साक्षीहरुको भनाईलाई आधार गर्न नसकिने हुन्छ । अंवण्डाको सम्पत्ति हुँदा एक भाग वादीले पाउँछ । वादी दावी अनुसार प्रतिवादीहरुले अंश दपोट गरेको ठहदैन भन्ने दांग दे. जिल्ला अदालतको फैसला ।

            ५.    दांग देउखुरी जिल्ला अदालतको कानूनी सिद्धान्तको विपरीत गरेको फैसला गंभिर रुपमा त्रुटीपूर्ण भई वदर भागी भएकोले उक्त त्रुटीपूर्ण फैसला वदर गरी मेरो शुरु उजुरी दावी वमोजिम गरी पाउँ भन्ने जंग प्रसाद गिरीको पुनरावेदन पत्र ।

            ६.    दा. दे.जि..अ बाट फैसला सहितको छिनुवा मिसिल झिकी वुझी उक्त त्रुटीपूर्ण फैसला वदर गरी पाउँ भन्ने मानवहादुरको गिरी समेतको पुनरावेदन पत्र ।

            ७.    यसमा यिनै पक्ष विपक्ष वीच चलेको मिलापत्र भएको भनको अंश मुद्दाको मिसिल प्रमाण निमित्त शुरु दांग देउखुरी जिल्ला अदालतबाट झिकाई साथै राखी पेश गर्नु भन्ने पुनरावेदन अदालतबाट भएको आदेश ।

            ८.    विवादको जग्गा प्र. मान बहादुर गिरीको नाउँमा दर्ता भएको देखिन आएको हुनाले निजले नै अंश दपोट गरेको ठहर्छ । अरु अंशियारहरु प्र. तुल्सी गिरी, जय बहादुर गिरी तथा वादी जंग प्रसाद गिरी समेत भएकाले कि.नं. ३९८ ज.वि. ०-८-८ मध्ये ३ भागको १ भागमा वादीको हक कायम हुने ठहर्छ । अंश दपोट गर्ने मान बहादुर गिरी वाहेक अन्य अंशियार तुल्सी गिरी र जय बहादुर गिरीले दपोट गरेको नदेखिएकोले वांकी दुई भाग मध्ये एक एक भागमा निजहरुको हक कायम हुन्छ । सो हदसम्म शुरु दांग देउखुरी जिल्ला अदालतको फैसला उल्टी हुन्छ भन्ने समेतको पुनरावेदन अदालत नेपालगंजको मिति २०५१।२।२३ को फैसला ।

            ९.    मिलापत्र हुँदाको अवस्थामा विवादीत जग्गा मान बहादुर गिरीको नाममा दर्ता भएको नै थिएन । यसरी आफ्नो नाममा दर्ता नै नभै सकेको जग्गालाई फाँटवारीमा देखाएन भन्नु तथा दर्ता भएको भनी दपोट गरेको ठहर्‍याउनु त्रुटीपूर्ण छ । फैसलामा वण्डा गरि दिने गरी निर्णय भएको छ । वादी दावी नै नभएको कुरामा अदालतले निर्णय दिन मिल्दैन । अंश मुद्दामा ०३८।८।२१ मा फाँटवारी दाखिल भएको छ भने विवादीत जग्गा २०५०।१२।१ मा मात्र मान बहादुरको नाममा विधिवत दर्ता भएको तथ्यलाई ध्यान दिइएको छैन । २०३९।५।२८ मा निजको नाउँमा अस्थायी दर्ता गरि दिने निर्णय भएको भए पनि सो मिति पनि तायदाती फाँटवारी भन्दा पछिल्लो मिति हो । उपरोक्तानुसार पुनरावेदन अदालत नेपालगंजको निर्णय त्रुटीपूर्ण हुँदा सो वदर गरी प्रतिउत्तर जिकिर अनुरुप इन्साफ पाउँ भन्ने समेतका मु.स. गर्ने तारादेवी गिरीको यस अदालतमा परेको पुनरावेदन ।

            १०.    यसमा यिनै वादी प्रतिवादी भएको अंश मुद्दामा २०३८।८।२१ मा तायदाती आएको पाइन्छ । विवादमा कित्ता जग्गामा यिनै वादी र प्रतिवादी मान बहादुरको वीच २०३५ साल देखि तेरो मेरामा विवाद उठेकोमा २०३९।५।२८ मा उच्चस्तरीय समिति दांग घोराहीको पर्चाबाट विवादीत कित्ता जग्गा मान बहादुरको नाउँमा दर्ता हुने र वादी जंग प्रसादलाई अदालत जानु भनी सुनाएको देखिंदा तायदाती दिंदाको अवस्था विवादको जग्गामा झगडा परेको मान बहादुरको नाउँमा दर्ता रहे भएको नदेखिंदा मान बहादुरले तायदातीमा नदेखाएको भएबाट दपोट ठहर्‍याएको पुनरावेदन अदालत नेपालगंजको इन्साफ मिलेको नदेखिंदा छलफलको मिसिल अ.वं. २०२ नं. वमोजिम विपक्षीलाई झिकाई पेश गर्नु भन्ने यस अदालत संयुक्त इजलासको मिति २०५३।६।१ को आदेश ।

            ११.    नियम वमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री प्रकाश वस्तीले यो मुद्दा अंशवण्डाको २७ र ३५ नं. भित्र पर्दैन किनभने वादी दावीको कि.नं. ३९८ को जग्गा मिति २०३८।८।२१ मा तायदाती दिंदा मेरो नाउँमा विधिवत दर्ता नै भएको छैन मिति २०३९।५।२८ मा मात्र मेरो नाउँमा अस्थायी दर्ता हुने भनी उच्च स्तरीय समितिबाट निर्णय भएकोले सो भन्दा अघि मिति २०३८।८।२१ मा मैले तायदातीमा जग्गा खुलाउने स्थितिको नै नहुँदा दपोटको प्रश्न नै उत्पन्न हुदेन र उक्त आदेशमा मेरो नाउँमा अस्थायी दर्ता गर्ने भनी विपक्षीलाई उजुर गर्न ३५ दिनको म्याद प्रदान गराएकोमा विपक्षीले उजुर नगरेपछि निजको उजुर गर्ने म्याद पनि वांकी रहेन हक पनि रहेन पुनरावेदन अदालतको फैसला वदर गरी पाउँ भनी वहस प्रस्तुत गर्नु भयो । प्रत्यर्थी वादी जंग प्रसाद गिरीको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री महेश कुमार नेपालले आफ्नो जिम्माको सम्पत्तिको विवरण दिन पर्नेमा नदीइ लुकाई छिपाई राखेकोले दपोट गरेको मान्नु पर्ने हुन्छ । उच्चस्तरीय समितिमा मान बहादुरले यो जग्गा जंग प्रसादको पनि हो भनी वयान गरेको छन् । पुनरावेदन अदालतको फैसला सदर गरी पाउँ भनी आफ्नो वहस प्रस्तुत गर्नु भयो ।

            १२.   मिसिल अध्ययन गरी विद्वान अधिवक्ताहरुले गर्नु भएको वहस समेतलाई ध्यानमा राखी पुनरावेदन अदालत नेपालगंजले दपोट ठहराएको इन्साफ मनासिव छ छैन भन्ने तर्फ विचार गर्दा वादीले दपोट भनी दावी गरेको कि.नं. ३९८ को ०-८-८ जग्गा उच्चस्तरीय समिति दांग घोराहीको मिति २०३८।५।२८ को निर्णयबाट प्रतिवादी मान बहादुरको नाउँमा अस्थायी दर्ता गर्ने भन्ने निर्णय भएको देखिन्छ तर सो जग्गा नयां आवादी नभै मान बहादुरको अंश हकको कि.नं. ११९ को ज.वि. ११-६-१७ मध्ये दक्षिण तर्फको ज.वि. ४-१५-१ मा वनेको घर समेत रहेको जग्गा रहेछ भन्ने प्रष्ट देखिन्छ । मान बहादुर घरको मुख्य ब्यक्ति बाबु भएकोले उक्त घर सो जग्गामा भएको जानकारी निजलाई थिएन भन्न मिल्दैन । न त निजको त्यस्तो जिकिर नै देखिन्छ । अंशियारले आफ्नो जिम्माको सम्पत्तिको विवरण खुलाउनु पर्ने दायित्व स्पष्टतः अंश बण्डाको महलले जिम्मा हुने ब्यक्तिलाई तोकेको छ । सो सम्पत्ति आफ्नो कब्जा जिम्मामा छ र कानूनले अबैध नमानेको स्थितिमा त्यस्तो सम्पत्तिको विवरण दिनु जिम्मा हुनेको कर्तब्य हो । श्रेस्ता नभएको तर आफ्नो जिम्मामा रहेको सम्पत्तिको विवरण दिनु नपर्ने हो भने चलधनमालको श्रेस्ता नहुने हुदा चल धनमालको विवरण दिनु पर्ने दायित्व नहुने भन्नुपर्ने स्थिति हुन जान्छ जुन कि कानूनले भन्दैन । चल धनमालको पनि तायदाती दिनु पर्ने कर्तब्य अंशियारको हुन्छ भन्ने अंशबण्डाको महलमा स्पष्ट छ ।

            १३.   अतएवः आफ्नो जिम्मा भोगमा रहेको घर समेत भएको जग्गाको विवरण मिति २०३८।८।२१ को आफूले पेश गरेको तायदातीमा नखुलाई विवरण दिनुलाई अंशवण्डाको २७ नं. को तात्पर्यको लागि अंश दपोट नै मान्नु पर्ने हुदा दपोट ठहर्‍याएकाई तदनुकूल मान बहादुर वाहेक अन्य अंशियार वीच अंशवंण्डा गरी दिनु पर्ने ठहर्‍याएको पुनरावेदन अदालत नेपागंजको इन्साफ मनासिव ठहर्छ । दपोट ठहर्नु नहुने भन्ने पुनरावेदक प्रतिवादीहरुको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी वुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.कृष्ण कुमार वर्मा

 

इति संवत २०५३ साल फाल्गूण २१ गते रोज ३ शुभम ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु