निर्णय नं. ९१३८ - कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ
माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय
फैसला मिति :- २०७१।२।२६।२
०६८-CR-११११
मुद्दा M कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग ।
पुनरावेदक/प्रतिवादी M सिन्धुपाल्चोक जिल्ला, नवलपुर गाउँ विकास समिति वडा नं. ९ घर भई हाल कारागार कार्यालय, काठमाडौं भद्रबन्दीगृहमा थुनामा रहेका सुवास अधिकारी
विरूद्ध
प्रत्यर्थी/वादी M नविन लामासमेतको जाहेरीले नेपाल सरकार
०६८-CR-११८१
पुनरावेदक/प्रतिवादी M भक्तपुर जिल्ला, मध्यपुर ठिमी नगरपालिका, वडा नं. ५ घर भई हाल कारागार कार्यालय, जगन्नाथदेवल, काठमाडौंमा थुनामा रहेका प्रदिप पौडेल
विरूद्ध
प्रत्यर्थी/वादी M नविन लामासमेतको जाहेरीले नेपाल सरकार
०६८-CR-११९८
पुनरावेदक/वादी M नविन लामासमेतको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी/प्रतिवादी M भक्तपुर जिल्ला, मध्यपुर ठिमी नगरपालिका वडा नं. ५ धुन्चेपाखा बस्ने आशा तामाङ् लामासमेत
- मृतकको मृत्यु अमुक कसैको चोटबाट भएको भन्न सकिने अवस्था नभए पनि कुनै खास व्यक्ति वा चोटकै कारणले नै मरेको देखाउन पर्छ भन्न पनि मौजुदा अवस्थामा सम्भव नहुने । एकभन्दा बढी व्यक्तिको र एकभन्दा धेरै कारणले मारिने अवस्था रहने ।
- वारदातको अवस्थासम्म पुर्याउने कुरामा प्रतिवादीहरूको सहभागिता देखिएको र सोलगायतका कारणले वारदात घट्न गएको हुँदा निजहरूलाई दायित्वविहीन मान्न नसकिने । अन्यथा कसूरको कार्य गर्नलाई भीडको संलग्नता निम्त्याउने र त्यसैको आडमा अपराधिक दायित्वविहीन हुने कुराको तर्जुमा गर्ने अवस्था आउँछ । त्यसो गर्नु भनेको प्रकारान्तरमा दण्डहीनता सिर्जना गर्ने हुने ।
(प्रकरण नं.३)
- सुरूदेखिको सबै श्रृङ्खलामा प्रतिवादीहरूको सरोकार र संलग्नता भएपछि अन्तिम अवस्थाको भीडकोसमेत संलग्नताले प्रतिवादीहरूले आफ्नो असंलग्नता र निर्दोषिताको जिकीर लिन सक्ने अवस्था रहेन ।
(प्रकरण नं.४)
पुनरावेदक/प्रतिवादीका तर्फबाट M विद्वान वरिष्ठ अधिवक्ताद्वय प्रा.डा.रजितभक्त प्रधानाङ्ग र शेखरकुमार जोशी, विद्वान अधिवक्तात्रय कुमुदकुमार भट्टराई, निर्मला शाक्य र कृष्णप्रसाद पाण्डे
पुनरावेदक/वादीका तर्फबाट M विद्वान उपन्यायाधिवक्ता वालकृष्ण वाग्ले
प्रत्यर्थी/वादीका तर्फबाट M
अवलम्बित नजीर M
सम्बद्ध कानून M
- मुलुकी ऐन, ज्यानसम्बन्धीको १, १३-३_
सुरू फैसला गर्नेः मा.जि.न्या.श्री पुरूषोत्तमप्रसाद ढकाल
पुनरावेदन तहमा फैसला गर्ने M मा.न्या.श्री टीकाबहादुर हमाल
मा.न्या.श्री सत्यराज गुरूङ
फैसला
न्या.कल्याण श्रेष्ठ M न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत, पाटनको फैसलाउपर प्रतिवादीहरू सुवास अधिकारी, प्रदिप पौडेल र वादी नेपाल सरकारका तर्फबाट छुट्टाछुट्टै पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ M–
भक्तपुर जिल्ला, मध्यपुर ठिमी न.पा. वडा नं. ८ चपाचोस्थित पूर्व त्रिरत्न शाक्यको घरदेखि गणेश प्रजापतीको घरसम्म, पश्चिम काजी प्रजापतीको घरसम्म, उत्तर दक्षिण बाहाखा बजार पुरानो बाटो ठिमी चोक जाने पक्की सडकको पश्चिमतर्फ घुमाउने सार्वजनिक पाटी र सो पाटीसँगै जोडिएर रहेको नेपाल टेलिकमको टेलिफोन क्याविनलाई मसुर निसाना मानी मसुर निसानाबाट ३ फिटको दूरीमा २ फिट लामो रगतको दाग, ८२ फिट दूरीमा ३ फिट लामो रगतको दाग भएको १०० फिट दूरीमा रगतका दागहरू रहेको घटनास्थलमा झोला तथा २ इन्च लामो २ इन्च चौडाई फलामको तरबारसमेतका झोला र हतियारसमेतका सामानहरू रहेको भन्नेसमेत व्यहोराको घटनास्थल मुचुल्का ।
भक्तपुर जिल्ला, मध्यपुर ठिमी न.पा. वडा नं. ८ चपाचोमा स्थानीय व्यक्तिहरूको समूहले नाम, थर, वतन थाहा नभएका पुरूष व्यक्तिहरूलाई कुटपीट गरी मरणासन्न अवस्थामा छाडी आगोसमेत लगाउने कुरा गरेका छन् भन्ने सूचना प्राप्त भई घटनास्थलमा गई फेला परेका ४ जना नाम, थर, वतन नखुलेका व्यक्तिलाई तत्काल उपचारका लागि प्रहरी गाडीमा राखी वी.एन्ड वी. अस्पताल लगिएकोमा २ जनाको मृत्यु भएको हुँदा कानूनबमोजिम गरिपाऊँ भन्नेसमेत व्यहोराको प्रहरी प्रतिवेदन ।
मिति २०६६।३।२२ गते सुवास अधिकारीले वसन्त लामालाई बोडेमा हिर्काउँदा नाकसमेत फुटी फर्किएकोमा मिति २०६६।३।२३ गते सुवास अधिकारीलाई ठीक पार्नुपर्छ भन्ने सल्लाह भई म वसन्त लामा, अनिलसमेत मैले नचिनेका बब दाइ भन्ने र अन्य नचिनेका ६ जनासमेत भई धुन्चेपाखा गई सुवास अधिकारीसँग सामान्य झगडा हुँदा थुप्रै मान्छे जम्मा भई उल्टै हामीलाई लखेट्न थालेकाले भाग्ने क्रममा म खेतमा लडेँ, नचिनेका व्यक्तिले मलाई कुटपीट गरे धुन्चेपाखाबाट लखेट्ने सुवास अधिकारी र निजका साथीहरूले ठिमीतर्फ लखेट्दै थिए । मलाई प्रहरीले पक्राउ गर्यो । पछि ठिमी चपाचोमा कुटपीट हुँदा घाइते भएका २ जनाको मिति २०६६।३।२३ गते नै र एक जनाको मिति २०६६।३।२६ गते मृत्यु भएको र एक जनाको उपचार भइरहेको भन्ने सुनी थाहा पाएको हुँ । सुवास अधिकारी र निजका साथीहरू र ठिमी चपाचोका अरू व्यक्तिहरूले कुटपीट गरेका हुन् भन्नेसमेत व्यहोराको अनुसन्धानको क्रममा बुझिएका अनुपम वि.क. ले गरेको कागज ।
तत्कालै नाम, थर, वतन थाहा नभएका हाल बुझिन आएका सुवास अधिकारी, प्रदिप पौडेललगायत अन्य ग्रुपमा रहेका हुलहुज्जतले मोटरसाइकलबाट लखेट्दै आई अपहरणकारीलाई समातौं मारौं भन्दै टोल छिमेकमा होहल्ला गर्दै अन्धाधुन्ध हातहतियार ढुङ्गामुढासमेत प्रहार गरी कुटपीट गरी सख्त घाइते बनाएकोमा हामीहरूका भाइ तथा छोराहरूलाई उपचारको लागि वी.एन्ड वी. अस्पताल लगी भर्ना गर्दा घाइतेमध्येका जीवन गाहामगर र सविन महत क्षेत्रीको मिति २०६६।३।२३ गते नै र अर्को घाइते वसन्त लामाको मिति २०६६।३।२६ गते मृत्यु भएको र सो घटना नियतबश मार्ने मराउने उद्देश्य राखी भएकाले घटनाको दोषीलाई हदैसम्मको कारवाही गरी उपचार क्षतिपूर्तिसमेत दिलाई पाऊँ भन्नेसमेत व्यहोराको नविन लामासमेतको जाहेरी दरखास्त ।
भक्तपुर जिल्ला, मध्यपुर ठिमी न.पा. वडा नं. ८ चपाचोमा स्थानीय व्यक्तिहरूले कुटपीट गरी घाइते बनाएका वसन्त लामासमेतका ४ जना व्यक्तिहरूको वी.एन्ड वी. अस्पतालमा उपचारका लागि भर्ना भएकामध्ये यकीन नाम, थर, वतन थाहा नभएका वर्ष अं. १९।२० को पुरूष व्यक्तिको उपचारकै क्रममा ऐ. २३ गते १५.२० बजे मृत्यु भएकोले कानूनबमोजिम गरिपाऊँ भन्नेसमेत व्यहोराको प्रहरी प्रतिवेदन ।
शरीरको माथिल्लो भाग नाङ्गो, तलको भागमा जिन्स पेन्ट नीलो कट्टु लगाएको, अनुहारमा पूरै रगत लतपतिएको, बायाँ आँखी भौँ माथि २ इन्च लामो गहिरो घाउ, नाकबाट रगत बगेको, टाउकोको दायाँतर्फ पछाडि टाका लगाएको यु आकारको ४ इन्च लामो गहिरो घाउ, दायाँ कानबाट रगत बगिरहेको, अनुहार पूरै फुलेको सुन्निएको, बायाँ हातको नाडीमा अङ्ग्रेजीमा ओम लेखिएको ट्याटु रहेको, लिङ्गबाट तरल पदार्थ बगेको, टाउकोको पछाडि भागमा लतपतिएको, मलद्वारबाट केही ननिस्केको, मुर्दाघरमा रहेको अं. वर्ष १९।२० को ५ फिट ६ इन्च अग्लो पुरूष व्यक्तिको लास भएको भन्नेसमेत व्यहोराको लास जाँच मुचुल्का ।
मिति २०६६।३।२३ गते भक्तपुर जिल्ला, मध्यपुर ठिमी न.पा. वडा नं. ८ चपाचोमा कुटपीट भै घाइते भै उपचारको लागि वी.एन्ड वी. अस्पताल भर्ना भएका यकीन नाम, थर, वतन थाहा नभएका वर्ष अं. १९।२० को पुरूष व्यक्तिको उपचारकै क्रममा ऐ. २३ गते १६.३० बजे मृत्यु भएकोले कानून बमोजिम गरिपाऊँ भन्नेसमेत व्यहोराको प्रहरी प्रतिवेदन ।
वी.एन्ड वी. अस्पतालको मुर्दाघरमा रहेको लासको शरीरको माथिल्लो भाग नाङ्गो, तल्लो भागमा नीलो खैरो अण्डर पेन्टी लगाएको, टाउकोमा बाँधेको व्याण्डेज खोली हेर्दा रगत जस्तो पदार्थ बगी पूरै टाउको भिजेको, बायाँ कानमाथि कन्चटमा आधा इन्च गोलो गहिरो घाउ, निधार, अनुहार, गालामा रगत लतपतिएको र सुकेको अवस्थामा रहेको, दुबै आँखी भौँ परेलाको भाग सुन्निएको फुलिएको, दायाँ गालामा ३ इन्च लामो २ इन्च चौडाई ददारिएको घाउ लागी काटिएको, नाकको प्वालबाट रगत जस्तो रातो तरल पदार्थ बगेको, बायाँ कानबाट रगत जस्तो रातो पदार्थ बगेको, अनुहार पूरै सुन्निएको फुलेको, छाती, पेट तथा करङ्को भागमा ददारिएको घाउ रहेको, लिङ्ग, मलद्वारबाट केही ननिस्केको, बायाँ हातको नाडीमा ट्याटु देखिएको, अं. वर्ष १८।१९ को ५ फिट ५ इन्च अग्लो पुरूष व्यक्तिको शारीरिक विवरण भएको भन्ने व्यहोराको लास जाँच मुचुल्का ।
मिति २०६६।३।२३ गते भक्तपुर जिल्ला, मध्यपुर ठिमी न.पा. वडा नं. ८ चपाचोमा भएको कुटपीटबाट जीवन गाहामगरसमेतको मृत्यु भएको घटनामा संलग्न सुवास अधिकारीसमेतलाई पक्राउ गरी दाखिला गरेको भन्ने व्यहोराको प्रहरी प्रतिवेदन ।
मिति २०६६।३।२६ गते यकीन वतन नखुलेको वर्ष १६ को वसन्त लामाको मृत्यु भएको हुँदा कानूनबमोजिम गरिपाऊँ भन्ने व्यहोराको प्रहरी प्रतिवेदन ।
वी.एन्ड वी. अस्पतालको मुर्दाघरमा रहेको नाङ्गो लासको टाउकोमा बायाँतर्फ अस्पतालमा अप्रेशन गरी १४ इन्च लामो टाका लगाएको, निधारमा ददारिएको घाउ, दुबै आँखामा नील जमेको, गालाको माथिल्लो भाग नाक, मुख, च्यापु, छाती, पेट, नाडी, पाखुरा, औँलाहरूमा ददारिएको घाउसमेत भएको भन्ने व्यहोराको मृतक वसन्त लामाको लास जाँच मुचुल्का ।
मिति २०६६।३।२२ मा बोडेमा वसन्त लामा र निजको साथीसँग सामान्य झगडा भएको, भोलिपल्ट धुन्चेपाखामा वसन्त लामाको समूहसँग कुटपीट भै त्यहाँ मानिसहरू धेरै जम्मा भएकोले निजहरू भागेकोले ज्वाला, प्रदिप, संजु मसमेत अन्य नचिनेका बोडे धुन्चेपाखाका मानिसहरू भई पछाडिबाट वसन्त लामाको समूहलाई चपाचोसम्म लखेटेका हौँ । नगदेश चपाचोका मानिसहरूले कुटपीट गरेका हुन्, मैले कुटपीट गरेको होइन भन्नेसमेत व्यहोराको प्रतिवादी सुवास अधिकारीको अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयान कागज ।
मसमेत सुवास अधिकारी, ज्वाला तामाङ्, संजु लामासमेत भई लखेट्ने कार्य गरेका हौँ । मसमेत भई सानोठिमीसम्म छेक्न गएको हुँ । चपाचोतिरबाट फर्कने क्रममा बाटोमा राजिन बाडेसँग भेट भयो, निजले कुटपीट गरी फर्केको भनी बताएका हुन्, मसमेत उक्त घटनास्थलमा पुगेको हुँ, कुटपीट गरेको होइन भन्नेसमेत व्यहोराको प्रतिवादी प्रदिप पौडेलको अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयान कागज ।
बिक्रम ज्यापुले अपहरणकारी भागेको छ, लखेट्न जाउँ भनेकाले मोटरसाइकल चढी चपाचोतर्फ गएको हो । चपाचो नगदेशतिरको मानिसहरूले कुटपीट गरिरहेका थिए । हामीहरूसमेतले अलिअलि कुटपीट गरेका हौं भन्नेसमेत व्यहोराको प्रतिवादी राजिन बाडेको बयान कागज ।
मिति २०६६।३।२३ गते भक्तपुर जिल्ला, मध्यपुर ठिमी न.पा. वडा नं. ५ धुन्चेपाखास्थित हिमचुली स्कुलअगाडि पसलमा चिसो खाई बोतल पसलभित्र राख्न लाग्दा मास्क लगाएका ९।१० जनाको केटाहरूको समूहले सुवासलाई यता आइज भनी वादविवाद झगडा गर्न थाले । झगडा नगरसम्म भनेको हुँ । स्थानीय र खेतमा काम गर्ने मान्छे जम्मा भए, ९।१० जनाको समूहमा आएका केटा भाग्न लागे, भाग्ने क्रममा पक्राउ परेका एक जनालाई मसमेतले कुटपीट गर्न नदिएको हो । सुवास, प्रदिप र ज्वालाले भागेका केटाहरूलाई चपाचोतर्फ लखेट्दै लगेको देखेको हुँ । मैले चपाचोसम्म लखेटेको होइन, क–कसले कुटपीट गरे थाहा छैन । घाइते भएका ४ जनामध्ये ३ जनाको मृत्यु भएको भन्ने सुनी थाहा पाएको हुँ भन्नेसमेत व्यहोराको प्रतिवादी आशा लामाको बयान कागज ।
धुन्चेपाखा नगदेश चपाचोतिरका व्यक्तिहरू तथा बटुवाहरूसमेतको अन्दाजी एक हजारको संख्यामा रहेको भीडले मुक्का, लात्ति, रड, ईट्टा, धारिलो हतियार प्रयोग गरी कुटपीट गरेका हुन् भन्ने त्यहीं हल्ला हुँदा सुनी थाहा पाएको हुँ, को कसले कुटपीट गरे मैले देखिन । सोही कुटपीटका कारण सोही दिन २ जनाको र एक जनाको ३।४ दिनपछाडि मृत्यु भयो भन्ने सुनी थाहा पाएको हुँ, कुटपीट गरी मान्छे मार्नु दण्डनीय अपराध हो कानूनबमोजिम कडा कारवाही हुनुपर्छ भन्नेसमेत व्यहोराको सुनिल नकर्मीको कागज ।
प्रतिवादी प्रदिप पौडेललाई साथमा लिई निजले देखाए खुलाएको ठाउँमा खोजतलास गर्दा खुकुरी फेला नपरेको भन्नेसमेत व्यहोराको प्रहरी प्रतिवेदन ।
३ वटा मोटरसाइकलमा आएका ७।८ जना मानिसले बाटो छेकी अपहरणकारी भनी कुटपीट गर्दै गरेको बखत धुन्चेपाखाबाट लखेट्दै गरेका मानिसहरूसमेतको ठूलो भीडले कुटपीट गरेको हो । भीडमा गएका मानिसहरूको हुलिया खुलाउन सक्दिन, ठूलो भीडले कुटपीट गरेको हुँदा सोही कुटपीटको चोटले नै घाइतेहरूको मृत्यु भएको विश्वास लाग्छ भन्नेसमेत व्यहोराको शंकरप्रसाद श्रेष्ठ र प्रकाश शाक्यसमेतको कागज ।
मिति २०६६।३।२३ गते दिउँसोको समयमा घरमा बसिरहेको अवस्थामा चपाचो टोलमा अपहरणकारीलाई कुटपीट गरी रहेछन् भन्ने हल्ला हुँदा त्यसतर्फ मसमेत गएको हुँ । मानिसहरूको ठूलो भीड थियो, कसले पिट्यो थाहा भएन, पछि प्रहरी टोली आई घाइते भएका ४ जनालाई उपचारको लागि अस्पताल लगेकोमा ३ जनाको उपचारकै क्रममा मृत्यु भएको र एक जनाको उपचार भइरहेको छ भनी सुनी थाहा पाएँ भन्नेसमेत व्यहोराको मदन छजुको घटना विवरण कागज ।
मिति २०६६।३।२३ गते म पसलमा बसिरहेको थिएँ । सुवास र आशा बाहिर थिए । अं. १२ बजेतिर मिलरोड बोडेतिरबाट १०।१२ जना मुखमा मास्क लगाएका व्यक्तिहरू आइ सुवास अधिकारीसँग वादविवाद गर्न थाले निजहरूमध्येको एक जनाले सुवास अधिकारीलाई हानेपछि दुबै जना बीच हानाहान भयो । सुवास अधिकारी, प्रदिप पौडेलसमेतले १०।१२ जनाको समूहमा आएका केटाहरूलाई नगदेशतर्फ लखेट्दै गएका हुन्, नगदेश चपाचोसमेतका मानिसहरूले अपहरणकारी भनी भागेका केटाहरूलाई कुट्दा ३ जनाको मृत्यु भएको भन्ने सुनी थाहा पाएको हो भन्नेसमेत व्यहोराको विन्दु गुरूङसमेतको कागज ।
मिति २०६६।३।२३ गते दिउँसोको समयमा घरमा बसिरहेको अवस्थामा चपाचो टोलमा अपहरणकारीलाई कुटपीट गरिरहेका छन् भन्ने हल्ला हुँदा त्यसतर्फ मसमेत गएको हुँ । मानिसहरूको ठूलो भीड थियो, कसले कसलाई पिट्यो थाहा भएन । ठूलो भीड भएकाले कुटपीट भएको ठाउँसम्म पुग्न सकिन पछि प्रहरी टोली आई घाइते भएका ४ जनालाई उपचारको लागि अस्पताल लगेकोमा ३ जनाको उपचार कै क्रममा मृत्यु भएको र एक जनाको उपचार भइरहेको छ भन्ने सुनी थाहा पाएको हुँ भन्नेसमेत व्यहोराको विशाल शाक्य, रवि बाडेसमेतको एकै व्यहोराको घटना विवरण कागज ।
मिति २०६६।३।२३ गते पसल बाहिर नचिनेका १०।१२ जना मानिसहरू हाम्रो पसलबाहिर बसिरहेका सुवास अधिकारीसँग वादविवाद तानातान गरिरहेका थिए । स्थानीय धेरै मानिस जम्मा भई १०।१२ जना केटालाई लखेटे, के कहाँसम्म लखेटे मलाई थाहा भएन, चपाचोमा स्थानीय मानिसहरूबाट सुनी थाहा पाएको हुँ भन्नेसमेत व्यहोराको सरोज गुरूङको कागज ।
टाउकोमा लागेको चोटको कारण मृत्यु भएको भन्नेसमेत व्यहोराको मृतक वसन्त लामा, जीवन गाहामगर र सविन महत क्षेत्रीसमेतको शव परीक्षण प्रतिवेदन र अचेत बोल्न नसक्ने र कुनै निर्णय गर्न नसक्ने, मर्न सक्ने भन्ने व्यहोराको घाइते सरोज राईको घाउ जाँच केश फाराम ।
मिसिल संलग्न घटनास्थल मुचुल्का, प्रहरी प्रतिवेदन, बुझिएका अनुपम वि.क. को कागज, नविन लामासमेतको जाहेरी दरखास्त, मृतकको लास जाँच मुचुल्का, प्रतिवादीहरू सुवास अधिकारी, प्रदिप पौडेल, राजिन बाडे र आशा लामाको बयान कागज, बुझिएका मानिसहरूको कागज, घाइतेको घाउ जाँच केश फारामसमेतका मिसिल संलग्न प्रमाणहरूबाट मिति २०६६।३।२३ गते दिनको अं.१.०० बजेको समयमा वसन्त लामा, सरोज राई, जीवन गाहामगर, सविन महत क्षेत्रीसमेतलाई बच्चा अपहरणकारी हो मारौं भन्दै धुन्चेपाखाबाट चुप्पी, खुकुरी, रड, ढुङ्गासमेत प्रहार गरी चपाचोसम्म पुर्याई विरूद्ध खण्डमा उल्लिखित सुवास अधिकारीसमेतका प्रतिवादीहरूले मरणासन्न हुने गरी कुटपीट गरेको र सोही कारणबाट जीवन गाहामगर, वसन्त लामा, सविन महत क्षेत्रीको मृत्यु भएको र सरोज राई घाइते भई अचेत अवस्थामा उपचार भइरहेको वारदातसमेत मिसिल संलग्न प्रमाणबाट पुष्टि भएकाले विरूद्ध खण्डमा उल्लिखित प्रतिवादीहरूको उक्त कार्य मुलुकी ऐन, ज्यान सम्बन्धीको १ नं. र १३(३) नं. को कसूरमा ऐ. १३(३) नं. बमोजिम सजाय हुन साथै प्रतिवादीहरूले ज्यान मार्ने उद्देश्यले सरोज राईलाई प्रहार गरेको र निज हाल गम्भीर घाइते भई उपचाररत रहेको, घाउ जाँच केश फारामबाट निज मर्न सक्नेसम्मको अवस्था मिसिलबाट देखिँदा निज प्रतिवादीहरूलाई ज्यानसम्बन्धीको महलको १५ नं. को कसूरमा ऐ. १५ नं. बमोजिमसमेत सजाय हुन माग दावी लिइएको छ भन्नेसमेत व्यहोराको अभियोगपत्र ।
धुन्चेपाखास्थित रहेको चिया पसलअगाडि सुवास अधिकारी र अन्य १०।१२ जना केटाहरू बीच मिति २०६६।३।२३ गते भएको झगडामा झगडा नगर भनी मैले छुट्याइदिएको र झगडा गर्न आएको १ जना व्यक्तिलाई समातेर म एकछिन बसिरहेँ र त्यसपछि एकहुल ३०।४० जना जति मानिसहरू आएर मसमेतले समातेको मानिसलाई लिएर गए, म घरतिर गएँ । सुवासलाई कुटपीट गरेको देखेर धान रोप्नेहरू आएर कराएपछि उनीहरू आफैँ भागेर गएका हुन्, सोपछि म काठमाडौं गएँ । मैले कोही कसैलाई कुटपीट गरेको होइन । प्रहरीमा भएको बयान व्यहोरा मेरो हो । ममाथिको अभियोग झूट्ठा हो भन्नेसमेत व्यहोराको प्रतिवादी आशा तामाङ् लामाले अदालतमा गरेको बयान ।
घटना घटेको मिति २०६६।३।२३ गते दिउँसो १४.०० बजेको समयमा म मेरो बारी मनोहरा फाँटमा थिएँ । घटना सम्बन्धमा मलाई थाहा छैन, सुवास अधिकारीलाई सामान्य चिनेको हुँ, म घटनामा संलग्न नभएकाले अभियोग दावी झूट्ठा हो भन्नेसमेत व्यहोराको प्रतिवादी राजिन बाडेले सुरू अदालतमा गरेको बयान ।
मिति २०६६।३।२२ गते बोडे भन्ने ठाउँमा म चिया खाजा खान गएको बेला नचिनेका केटाहरू बीच भनाभन भएको र मिति २०६६।३।२३ गते मुखमा माक्स लगाएर आएका १०।१२ जना केटाहरूले मेरो डेरा कोठा धुन्चेपाखास्थित हिमचुली स्कुल नजिक रहेको चिया पसलमा बसिरहेको बेला आई एक्कासी मलाई हात लात मुक्काले कुटपीट गर्न थाले निजहरूसँग हतियारसमेत थिए, के हतियार थिए यकीन भएन । त्यसरी कुटपीट गर्दा म ढली सकेको थिएँ र सो समयमा प्रदिप पौडेल, आशा लामा लगायतका अन्य गाउँका मानिसहरू आएर मलाई छुट्याएर घर पठाएका हुन्, त्यसपछि म, आशा लामा, प्रदिप पौडेल मेरो घरमा केहीबेर बस्यौं र निजहरू घर गएका हुन् । हामीले निजहरूलाई लखेट्दै गएका पनि होइनौं । म घाइते भएकोले घरमै बसीरहेँ । चपाचोमा घटना घटेको र मानिस मरेको कुरा समाचारमा मात्र थाहा पाएको हुँ । मैले कुटपीट गरी कर्तव्य गरी कोही कसैलाई मारेको होइन । अभियोग माग दावी झूट्ठा हो भन्नेसमेत व्यहोराको प्रतिवादी सुवास अधिकारीले सुरू अदालतमा गरेको बयान ।
मिति २०६६।३।२३ गते म कलेजबाट घर आई घरमा बसिरहेको बेला हल्ला भएकाले बाहिर निस्कदा मैले पहिलेदेखि चिनेका सुवास अधिकारीलाई १०।१२ जना केटाहरूले कुटपीट गरिरहेका रहेछन् । त्यसपछि मलगायत खेत रोप्ने मानिसहरू जम्मा भई झगडा नगर भनी छुट्याई दिएर सुवासलाई लिएर म घरमै गएर बसेको हुँ । मैले कोही कसैलाई लखेट्दै गई अपहरणकारी भनी कुटपीट गरेको होइन, छैन, को कसले कुटपीट गरे मलाई थाहा छैन, ममाथि लगाएको अभियोग दावी झूट्ठा हो भन्नेसमेत व्यहोराको प्रतिवादी प्रदिप पौडेलले अदालतमा गरेको बयान ।
तत्काल प्राप्त प्रमाणबाट यी प्रतिवादीहरूले अभियोगपत्रमा उल्लेख भएबमोजिमको कसूर गरेका रहेछन् भनी विश्वास गर्ने मनासिब आधार देखिएकाले पछि बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललाई मुलकी ऐन, अ.बं. ११८ नं. को देहाय २ नं. को अवस्था विद्यमान हुँदा यी प्रतिवादीहरू सुवास अधिकारी, प्रदिप पौडेल तथा राजिन बाडेलाई हाललाई मुलुकी ऐन, अ.बं. १२१ नं. बमोजिम थुनुवा पूर्जीसमेत दिई थुनामा राख्न कारागार शाखामा पठाउने, प्रतिवादी आशा लामालाई मुलुकी ऐन, अ.बं. ४७ नं. बमोजिम साधारण तारेखमा राख्ने गरी मुलुकी ऐन, अ.बं. १२४ग नं. बमोजिम आदेश गरिदिएको छु भन्नेसमेतको मिति २०६६।४।२५ को भक्तपुर जिल्ला अदालतको थुनछेक आदेश ।
प्रतिवादी राजिन बाडे घटना भएको दिन बिहानदेखि बेलुकासम्म आफ्नो खेत मनोहरामा हामीसँग काम गरी फर्किएकाले निज घटनामा संलग्न नभएकाले निजउपर लगाएको आरोप झूट्ठा हो । निजलाई सजाय हुनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी राजिन बाडेका साक्षी तेजकृष्ण खिचाजु, दिलकृष्ण अवाल तथा कमलभक्त प्रधानाङ्गले गरेको एकै व्यहोराको अलग अलग बकपत्र ।
घटना भएको दिन प्रतिवादी प्रदिप पौडेल आफ्नै घरमा बसेको देखेको हुँ । निज अपराध गरी हिँड्ने मानिस होइन र निजले कसैलाई पनि मारेको छैन र निजले सफाइ पाउनुपर्छ भन्नेसमेत व्यहोराको प्रतिवादी प्रदिप पौडेलको साक्षी दिपेन्द्र पौडेल तथा लक्ष्मण थापा मगरले गरेको बकपत्र ।
घटना भएको दिन प्रतिवादी प्रदिप पौडेल आफ्नै घरमा बसेको देखेको हुँ । निज अपराध गरी हिँड्ने मानिस होइन र निजले कसैलाई पनि मारेको छैन र निजले सफाइ पाउनुपर्छ भन्नेसमेत व्यहोराको प्रतिवादी प्रदिप पौडेलको साक्षी दिपेन्द्र पौडेल तथा लक्ष्मण थापा मगरले गरेको बकपत्र ।
घटना भएको दिन प्रतिवादी सुवास अधिकारी चपाचो गएको छैन । निज हामीसँगै निज डेरा गरी बसेको घरमा नै थियो । निजले अपराध गरेको होइन भन्नेसमेत व्यहोराको प्रतिवादी सुवास अधिकारीको साक्षी विमली खत्री तथा रीता खड्काले गरेको अलग अलग बकपत्र ।
घटना भएको दिन आशा लामाको संलग्नता छैन भन्नेसमेत व्यहोराको प्रतिवादी आशा लामाको साक्षी ठूलोभाइ तामाङ्ले गरेको बकपत्र ।
जाहेरीको व्यहोरा साँचो हो र सोमा भएको सहीछापसमेत मेरो हो । उक्त घटना भएको दिन मेरो छोरा वसन्त लामा बोडेस्थित उसको साथी मनिस श्रेष्ठको घरमा जाँचको लागि गएको थियो । सोही दिन ३.१५ बजे मैले छोरालाई फोन गर्दा छोराले फोन नउठाई नचिनेको मानिसले तपाइँको छोरा अपहरणकारी हो, तपाइँको छोरालाई प्रहरी चौकी ठिमीमा लगेको छ भनेकोले मैले छोरालाई बुझ्ने क्रममा बेहोस् अवस्थामा वी.एन्ड वी. अस्पतालमा भेटेको हो । छोरासँग कुरा हुन सकेन । उपचारको क्रममा छोराको मृत्यु भएकाले मेरो छोरालाई अपहरणकारी भनी कुटपीट गरी मारेका हुन् भन्नेसमेत व्यहोराको जाहेरवाला नविन लामाले गरेको बकपत्र ।
मेरो छोरा जीवन गाहामगर मिति २०६६।३।२३ गते अनिल नगरकोटी निजको साथीले ठिमीबाट फोन गरेर आएको थियो । मलाई ३ बजे आउँछु भनेको थियो । पछि मैले अनिलको आमालाई फोन गर्दा घटनाको बारेमा थाहा भयो र प्रहरी कार्यालयबाटसमेत फोन आई तपाइँ टिचिङ् अस्पताल जानुहोस् भनेकाले म बेहोस् भएँ । अस्पताल जाँदा मेरो छोराको मृत्यु भैसकेको रहेछ । मैले जाहेरी गरेपछिमात्र झगडा गर्ने मानिसहरूको नाम थाहा भयो । निजहरू रमेश पौडेल, आशा लामा, सुवास अधिकारी, प्रदिप पौडेल, राजिन बाडेसमेतका मानिसहरू भन्ने सुनेको थिएँ । घटना घटेको ठाउँमा गएको छैन । जाहेरीको व्यहोरा र सही मेरो हो भन्नेसमेत व्यहोराको जाहेरवाला सिरकुमारी गाहामगरले गरेको बकपत्र ।
मेरा भाइ सरोज राई उक्त घटनामा घाइते भएपछि मसमेतले जाहेरी दिएको हो । घटना घटेपछि बेलुका भाइलाई वी.एन्ड वी. अस्पताल लगेको भन्ने थाहा भयो । अस्पताल जाँदा भाइ बेहोस् अवस्थामा थियो । भाइको दाहिने कान काटिएको, टाउकोमा चोटपटक थियो, घाँटीदेखि माथि पूरै सुन्नीएको थियो । घटनामा सुवास अधिकारी र प्रदिप पौडेल रहेको भन्ने सुनेको हुँ भन्नेसमेत व्यहोराको जाहेरवाला मनोज राईले गरेको बकपत्र ।
म साथी अनिलसँग घुम्न गई हिँडिरहेको बेलामा झगडा भैसकेको रहेछ । झगडाको कारण मलाई थाहा छैन । म त्यहाँ पुग्दा ५।६ जना मानिसले लखेट्दै आएको मैले देखेकोले मसमेत भागेको हुँ । धुन्चेपाखाबाट बोडेसम्म आउँदासम्म थाहा छ । त्यसपछि मलाई केही थाहा भएन । मलाई कुटपीट गरेको पनि थाहा छैन । म बेहोस् भए पनि मलाई के भयो थाहा भएन । मेरो कान च्यातिएको थियो । ३ जनाको मृत्यु भएको भन्ने सुनेको हुँ । यी प्रतिवादीहरूले मलाई कुटपीट गरेको होइन भन्नेसमेत व्यहोराको घाइते सरोज राईले गरेको बकपत्र ।
मिति २०६६।३।२६ गते मैले दिएको जाहेरी दरखास्तको व्यहोरा मेरो हो । सोमा गरेको ल्याप्चे सहीछाप मेरो हो । मेरो छोराको खुकुरी र ढलको बिर्कोले हिर्काएर मृत्यु भएको भन्ने व्यहोरा चपाचोका टोलबासीले भनेपछिमात्र थाहा पाएको हुँ । म छोरो सविन महत क्षेत्री मर्दाखेरी पोखरामा थिएँ । पोखराबाट भोलिपल्ट काठमाडौं आएँ । फोन गरेर मलाई भने । त्यसपछि म काठमाडौंतिर आएको हुँ भन्नेसमेत व्यहोराको दुर्गाबहादुर महत क्षेत्रीले गरेको बकपत्र ।
अनुसन्धान अधिकारीसमक्ष गरेको कागज व्यहोरा र सहीछापसमेत मेरो हो । उक्त घटना भइरहेको अवस्थामा ठूलो भीडले अपहरणकारी भन्दै पीटपाट गरी ३ जनाको मृत्यु भएको हो । चपाचोको स्थानीय मानिस कसैको पनि संलग्नता थिएन भन्नेसमेत व्यहोराको अ.बं. ११५ नं. बमोजिम बुझिएका व्यक्ति शंकरप्रसाद श्रेष्ठले गरेको बकपत्र ।
अनुसन्धान अधिकारीसमक्ष गरेको कागज व्यहोरा र सहीछापसमेत मेरो हो । उक्त घटना भएको ठाउँमा पुग्दा चार जना केटाहरू लम्पसार परिसकेका थिए । हजारौंको भीडले ती केटाहरूलाई पिट्न छोडेका थिएनन् । पिट्नेहरू को को थिए मैले चिनिन भन्नेसमेत व्यहोराको अ.बं.११५ नं. बमोजिम बुझिएका व्यक्ति सुनिल नकर्मीले गरेको बकपत्र ।
उक्त तीनैजनाको शरीरमा बहु बोधो फोर्स मार्फत भएका चोटहरू छन्, यी तीनैजनाको मृत्यु अघिल्लो उत्तरमा उल्लेख भए झैँ टाउकोमा भएका बहु चोटहरूद्वारा हो । तीनैजनाको शरीरमा अन्य भागमा भएका (टाउको बाहेकका) चोटहरूले मात्र तीनैजनाको मृत्यु हुन सक्तैनथ्यो । यी तीनैजानको शरीरमा भएका बहुचोटहरू उसै समयमा भएका छन् भने Common Sence को आधारमा एकभन्दा बहु व्यक्ति हुने बढी सम्भावना देखिन्छ । तीनैजनाको शरीरमा भएका बहु चोटहरू एकै समयतिर भएका भए स्वतः यी चोटहरू एक व्यक्तिद्वारा हुन सक्ने सम्भावना बढी छ । टाउकोको Injuries नभएमा शरीरका टाउका बाहेकका भागहरूमा भएका चोटहरूले मात्र तीनैजनाको मृत्यु हुन सक्तैनथ्यो । त्यसैले टाउको बाहेकका घाउहरूको Cumulative effect भएर मृत्यु भएको भन्न प्रस्तुत मुद्दामा मिल्दैन भन्नेसमेत व्यहोराको त्रिभुवन विश्व विद्यालय, शिक्षण अस्पताल फोरेन्सिक मेडिसन विभागका चिकित्सक डा. तुलसी कँडेलले गरेको बकपत्र ।
डा. तुलसी कँडेलले गरेको बकपत्रमा हाम्रो पूर्ण समर्थन छ । अरू भन्नु केही छैन भन्नेसमेत व्यहोरा लेखाई डा. हरिहर वस्ती, डा. जेनस श्रेष्ठ र डा. रिजन श्रेष्ठले गरेको बकपत्र ।
मिसिल संलग्न घटनास्थल प्रकृति मुचुल्कामा उल्लिखित विवरण, लास प्रकृति मुचुल्कामा उल्लिखित विवरण, सबै मृतकहरूको मृत्युको कारण Blunt force injuries to the head भन्ने शव परीक्षण प्रतिवेदन, मृतकहरूको मृत्यु स्वभाविक नभई कर्तव्यबाट मृत्यु भएकोमा विवाद भएन । सुवास अधिकारी र प्रदिप पौडेललाई ज्यानसम्बन्धी महलको १ नं. को कस"रमा ऐ. १३(३) नं. बमोजिम जन्मकैद हुने ठहर्छ । निजहरूलाई जनही ५ (पाँच) वर्ष कैद गर्नुपर्ने देखिँदा अ.बं. १८८ नं. बमोजिम यो छुट्टै राय पेश गरेको छु । राजिन बाडे र आशा लामाले अभियोग दावीबाट सफाइ पाउने ठहर्छ । प्रतिवादीहरू उपरको ज्यानसम्बन्धी महलको १५ नं. बमोजिमसमेत सजाय गरिपाऊँ भन्ने वादी दावी पुग्न सक्दैन भन्ने मिति २०६७।१०।६।५ को भक्तपुर जिल्ला अदालतको फैसला ।
म पुनरावेदकलाई जन्मकैदको सजाय हुने ठहर गरी भएको सुरू फैसला त्रुटिपूर्ण छ । फौजदारी मुद्दामा जाहेरी दर्खास्त आफैमा प्रमाण होइन केवल अनुसन्धानको आधारमात्र हुन सक्छ । प्रहरीमा भएको साविती बयानलाई अन्य प्रमणहरूबाट पुष्ट्याँई भएको हुनुपर्दछ । उक्त प्रमाणहरूलाई नहेरी भएको सुरू फैसला बदर गरी मउपर लगाइएको झूट्ठा अभियोगबाट सफाइ पाऊँ भन्ने सुवास अधिकारीको पुनरावेदन अदालत, पाटनमा परेको पुनरावेदनपत्र ।
म पुनरावेदक प्रतिवादी विल्कूल निर्दोष रहेको, मिसिल संलग्न प्रमाणलाई गलतरूपमा मूल्याङ्कन गरी अभियोजन पक्षले अभियोगपत्र दायर गरेकै भरमा कसूर गरेको अनुमान गरी सजाय ठहर गरिएको सुरू जिल्ला अदालतको फैसला प्रमाण ऐन, २०३१, ज्यानसम्बन्धी महलको १, १३(३) नं. को गम्भीर कानूनी त्रुटि हुनुका साथै प्रतिपादित नजीर सिद्धान्तसमेतको विपरीत हुँदा सुरू जिल्ला अदालतको फैसला उल्टी गरी न्याय इन्साफ दिलाई पाऊँ भन्ने प्रदिप पौडेलको पुनरावेदन अदालत, पाटनमा परेको पुनरावेदनपत्र ।
प्रतिवादीहरूको कुटपीटबाट जना ३ को मृत्यु नै भएको अर्का एक जना सरोज राईलाई पनि मार्ने नै उद्देश्यले कुटपीट गरेको र सोही कुटपीटको कारणबाट घाइते भै कर्तव्य ज्यानको वारदात घटाउने सुवास अधिकारी, प्रदिप पौडेल, राजिन वाडे र आशा लामासमेतको नेतृत्वमा संगठित समूहबाटै सरोज राईलाई मार्ने नै उद्देश्यले कुटपीट गरी छाडेको तर मौकामा भएको उद्धार र उपचारबाट बाँच्न सफल भएको देखिन आएको हुँदा प्रतिवादी सुवास अधिकारी र प्रदिप पौडेललाई ज्यानसम्बन्धी महलको १५ नं. बमोजिम सजाय नगर्ने एवम् प्रतिवादी राजिन वाडे, आशा लामालाई सफाइ दिने गरी भएको फैसला सो हदसम्म त्रुटिपूर्ण देखिँदा बदर गरी सुरू अभियोग माग दावीबमोजिम प्रतिवादीहरूलाई सजाय गरिपाऊँ भन्ने नेपाल सरकारको पुनरावेदन अदालत, पाटनमा परेको पुनरावेदनपत्र ।
यसमा वारदातमा उपस्थित भई पीडित भएका सरोज राईले अदालतसमक्ष बकपत्र गर्दा प्रतिवादीहरू प्रदिप पौडेल र सुवास अधिकारीलाई चिनेको छैन र वारदातमा उपस्थित भएको देखेको छैन भनी बकपत्र गरेको परिप्रेक्ष्यमा र अन्य प्रतिवादीहरूलाई सफाइ दिएउपर वादी नेपाल सरकारको समेत छुट्टै पुनरावेदन परेको देखिँदा मुलुकी ऐन, अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत, नियमावली, २०४८ को नियम ४७ को प्रयोजनार्थ प्रतिवादीहरूको पुनरावेदनको जानकारी पुनरावेदन सरकारी वकील कार्यालय, पाटनलाई दिई लगाउका मुद्दा साथै राखी नियमानुसार पेश गर्नु भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, पाटनको आदेश ।
विवेचित प्रमाणहरूबाट मृतकहरूको मृत्यु यी प्रतिवादीहरूसमेतकै कुटपीटको कारणबाट भएको पुष्टि हुन आएकोले निजहरूलाई अभियोग दावीबमोजिम ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम जनही जन्मकैदको सजाय गर्ने गरेको सुरूको इन्साफ मिलेकै देखियो । मृतकहरूको र प्रतिवादीहरूको बीचमा गिरोहगत रिसइबी बढ्दै गएर मृतकहरूको समूह हातहतियारसहित बदला लिनको लागि वारदात स्थलमा गएको अवस्थामा दोहोरो कुटपीट भएर हत्याको घटना भएको प्रस्तुत वारदातको प्रकृतिबाट प्रतिवादीहरूलाई अ.बं.१८८ नं. बमोजिम ५ वर्ष कैद गर्दा कसूरको मात्राको आधारमा पर्याप्त हुने र कानूनको मक्सद पनि पुग्ने देखिँदा सुरूले व्यक्त गरेको राय प्रस्तावसमेत मनासिब देखिन आयो । प्रतिवादीद्वय आशा लामा र राजिन वाडेउपरको अभियोग दावी स्वतन्त्र एवम् तथ्ययुक्त आधार प्रमाणबाट पुष्टि नभएको अवस्था रहेको देखिँदा निजहरूलाई सफाक्ष दिएको र सरोज राईलाई ज्यान मार्ने उद्देश्यले कुटपीट गरेको भन्नेसमेत प्रमाणित हुन नसकेकोमा त्यसतर्फको दावी नपुग्ने गरेकोसमेत सुरूको इन्साफ मिलेको देखिन आयो । अभियोग दावीबमोजिम सबै प्रतिवादीहरूलाई सजाय गरिपाऊँ भन्ने वादीको र सफाइपाऊँ भन्ने प्रतिवादीहरूको पुनरावेदन जिकीरसँग सहमत हुन सकिएन । सुरू भक्तपुर जिल्ला अदालतले मिति २०६७।१०।६।५ मा गरेको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदकहरूको पुनरावेदन जिकीर पुग्न सक्तैन भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, पाटनको मिति २०६८।८।२७ को फैसला ।
जाहेरी दर्खास्तमा नामसम्म उल्लेख भई अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयानमा लखटेको सम्म हो भनी उल्लेख भएको अवस्था रहेको, सो तथ्य निर्विवाद एवम् स्वतन्त्र प्रमाणबाट पुष्टि नभएको अवस्थामा सम्मानीत सर्वोच्च अदालतबाट प्रतिपादित नेकाप २०६२, अंक ६, पृष्ठ ७४२, नि.नं. ७५५५ को कानूनी सिद्धान्तसमेतको विपरीत हुने गरी सुरू फैसला सदर गर्ने गरी पुनरावेदन अदालत, पाटनबाट मिति २०६८।८।२७ मा भएको फैसला बदर गरी मउपर लगाइएको झूट्ठा अभियोगबाट सफाइ पाऊँ भन्नेसमेत व्यहोराको प्रतिवादी सुवास अधिकारीको यस अदालतमा परेको पुनरावेदनपत्र ।
मउपर लगाइएको अभियोग अपराधमा कसूरदार ठहर हुन आपराधिक कार्य र आपराधिक मनसाय रहे भएको हुनुपर्दछ । वारदातमा म प्रतिवादीको सहभागिता संलग्नताको साथै मेरै चोट र कुटाईबाट मृतकहरूको मृत्यु भएको तथा घाइते भएको भन्ने कुनै पनि स्वतन्त्र र वस्तुनिष्ठ प्रमाणबाट पुष्टि हुन नसकेको अवस्थामा सम्मानीत सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तसमेतको विपरीत हुने गरी भक्तपुर जिल्ला अदालतबाट मुलुकी ऐन, ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम सजाय गरी पुनरावेदन अदालत, पाटनबाट सो फैसला सदर गर्ने गरी भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी इन्साफ पाऊँ भन्नेसमेत व्यहोराको प्रतिवादी प्रदिप पौडेलको यस अदालतमा परेको पुनरावेदनपत्र ।
प्रतिवादी सुवास अधिकारी र प्रदिप पौडेललाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सजाय ठहर गरी ऐ. को १५ नं. अन्तर्गतको अभियोग दावीबाट उन्मुक्ति दिने तथा प्रतिवादी राजिन वाडे र आशा तामाङ्लाई आरोपित कसूरबाट सफाइ दिने गरी भएको फैसला सो हदसम्म त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग दावीबमोजिम प्रतिवादीहरूलाई सजाय गरिपाऊँ भन्नेसमेत व्यहोराको वादी नेपाल सरकार तर्फबाट यस अदालतमा परेको पुनरावेदनपत्र ।
यसमा पुनरावेदक वादी नेपाल सरकार एवम् पुनरावेदक प्रतिवादीसमेत तर्फबाट पुनरावेदन परेको देखिँदा दुबै पक्षका पुनरावेदनहरू एक अर्कालाई अ.बं. २०२ नं. को प्रयोजनको निमित्त जानकारी गराई नियमानुसार पेश गर्नु भन्ने मिति २०७०।६।१६।४ को यस अदालतको आदेश ।
नियमबमोजिम दैनिक पेशीसूचीमा चढी इजलाससमक्ष पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक/वादी नेपाल सरकारतर्फबाट उपस्थित विद्वान उपन्यायाधिवक्ता श्री वालकृष्ण वाग्लेले प्रतिवादीहरू सुवास अधिकारी र प्रदिप पौडेलले अदालतमा इन्कारी बयान गरे तापनि मौकामा अधिकार प्राप्त अधिकारीसमक्ष गरेको बयानमा आफूहरूले भक्तपुर धुन्चेपाखाबाट चपाचो चोकसम्म मृतकहरूलाई हान्दै लखेटेका हौँ भनी बयान गरेका र निजहरूसमेतको संलग्नतामा भीड जम्मा भई मृतकहरूलाई कुटपीट गरी सोही चोट पीडाबाट मृतकहरूको मृत्यु भएकाले सुरू भक्तपुर जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालत, पाटनको फैसला सदर हुनुपर्छ भनी बहस गर्नुभयो ।
पुनरावेदक/प्रतिवादी प्रदिप पौडेलका तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ताद्वय प्रा.डा.श्री रजितभक्त प्रधानाङ्ग र श्री शेखरकुमार जोशी, विद्वान अधिवक्ताद्वय श्री कुमुदकुमार भट्टराई र निर्मला शाक्यले यी प्रतिवादी प्रदिप पौडेलसमेत संलग्न भई मृतकहरूलाई कुटपीट गरेको भन्ने पुष्टि हुन सकेको अवस्था छैन । भक्तपुर, मध्यपुर ठिमी धुन्चेपाखाबाट चपाचो चोकसम्म ठूलो भीडले लखेट्दै लगी सो भीडका मानिसहरूको चोटबाट मृतकहरू घाइते भै सोही कारणबाट मृत्यु भएको, मेरो पक्षले कुटपीट गरेको भन्ने मिसिल संलग्न तथ्यगत प्रमाणबाट पुष्टि हुन नसकेको अवस्थामा शंकाको भरमा फौजदारी अपराधमा सजाय गर्नु सम्मानीत सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तसमेतको विपरीत हुँदा सुरू भक्तपुर जिल्ला अदालतबाट प्रतिवादी प्रदिप पौडेललाई मुलुकी ऐन, ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम सजाय गर्ने गरी भएको फैसला सदर गरेको पुनरावेदन अदालत, पाटनको फैसला उल्टी गरी पूर्णतM सफाइ दिलाई पाऊँ भनी बहस गर्नुभयो ।
पुनरावेदक/प्रतिवादी सुवास अधिकारीका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री कृष्णप्रसाद पाण्डेले मेरो पक्ष सुवास अधिकारी घटना भएको स्थलमा सहभागी नभएको भनी अदालतमा इन्कारी बयान गरेको अवस्थामा शंकाको भरमा फौजदारी अपराध जस्तो कसूरमा सहभागी भएको भनी सुरूको फैसला सदर गरेको पुनरावेदन अदालत, पाटनको फैसला त्रुटिपूर्ण हुँदा सो फैसला बदर गरी पूर्णतM सफाइ दिलाई पाऊँ भनी बहस गर्नुभयो ।
उपरोक्त उल्लिखित व्यहोराको पुनरावेदक/वादी र पुनरावेदक/प्रतिवादीहरूको तर्फबाट उपस्थित विद्वान उपन्यायाधिवक्ता एवम् विद्वान कानून व्यवसायीहरूको बहससमेत सुनी पुनरावेदन अदालत, पाटनबाट मिति २०६८।८।२७।३ मा भएको फैसला मिलेको छ छैन, सोही विषयमा निर्णय दिनुपर्ने देखियो ।
प्रतिवादीहरू सुवास अधिकारी, प्रदिप पौडेलसमेतले मृतकहरू एवम् घाइतेसमेतलाई कुटपीट गरी सोही कारणबाट मृतकहरूको मृत्यु र सरोज राई घाइते भएकाले प्रतिवादीहरूलाई मुलुकी ऐन, ज्यान सम्बन्धीको १, १३(३) र १५ नं. को कसूरमा ऐ. १३(३) नं. एवम् १५ नं. बमोजिम सजाय हुन अभियोग माग दावी भएकोमा सुरू भक्तपुर जिल्ला अदालतबाट प्रतिवादीहरू प्रदिप पौडेल र सुवास अधिकारीलाई ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम जन्मकैद हुने ठहराई फैसला भएको देखिन्छ । सो फैसलाउपर वादी नेपाल सरकार र प्रतिवादीहरूको पुनरावेदन अदालत, पाटनमा पुनरावेदन परेकोमा पुनरावेदन अदालत,बाट सो फैसला सदर हुने ठहराई फैसला भएकोमा वादी नेपाल सरकार र प्रतिवादीहरू प्रदिप पौडेल र सुवास अधिकारीको छुट्टाछुट्टै पुनरावेदन परी निर्णयार्थ पेश हुन आएको देखियो ।
2. यसमा निर्णयार्थ विचार गर्दा, प्रतिवादीहरू सुवास अधिकारी, प्रदिप पौडेलसमेतको हुल हुज्जतले लखेट्दै बच्चा अपहरणकारीलाई मारौँ भन्दै हातहतियार ढुङ्गा मूढासमेतले प्रहार, कुटपीट गरी सोही कारणबाट जीवन गाहा मगर, सविन महत क्षेत्री र वसन्त लामाको मृत्यु भएकोले प्रतिवादीहरूलाई हदैसम्म सजाय गरिपाऊँ भन्नेसमेतको जाहेरी भई उठान भएको प्रस्तुत मुद्दामा प्रतिवादी सुवास अधिकारीले मौकामा गरेको बयानमा मिति २०६६।३।२२ मा भक्तपुर, मध्यपुर ठिमी नगरपालिका, वडा नं. १ वोडेमा बसिरहेकोमा वसन्त लामा र निजको १ जना साथी आई मलाई जिस्काएपछि हामीबीच झगडा भएको थियो । अर्को दिन २०६६।३।२३ गते अं. १३.२० बजेतिर ९-१० जना केटाहरूको समूह मिल रोड चोकतर्फबाट आई अनिल नगरकोटीले मलाई लात्तीले हानेपछि झगडा सुरू भई म, प्रदिप पौडेलसमेतका मानिसहरूले निजहरूलाई हान्दै लखेटी चपाचो चोकसम्म पुर्याएको हौँ भनी मृतकहरूलाई कुटपीट गरेकोमा स्वीकार गरेका र अर्का प्रतिवादी प्रदिप पौडेलले मौकामा बयान गर्दा आफूसमेतले मृतकहरूलाई लखेटेको व्यहोरालाई स्वीकार गरेको देखिन्छ । प्रतिवादीहरूले अदालतसमक्ष बयान गर्दा कसूर गरेमा इन्कार रहेतापनि यी प्रतिवादीहरूसमेतको हुल हुज्जतले वसन्त लामासमेतको समूहलाई लखेट्दै चपाचोमा भेट्टाई अपहरणकारी संझी कुटपीट गरेको घटनाबाट घाइते भएका वसन्त लामा, जीवन गाहामगर, सविन महत क्षेत्रीको उपचारको क्रममा मृत्यु भएको र सरोज राई घाइते भएको व्यहोरा मिसिल संलग्न रहेको जाहेरी दर्खास्त, प्रतिवादीहरू सुवास अधिकारी र प्रदिप पौडेलको मौकामा भएको बयान, घाइते सरोज राई र जाहेरवाला नविन लामाले अदालतमा गरेको बकपत्र, घटनास्थल मुचुल्का, प्रतिवादी आशा लामाको मौकामा एवम् अदालतमा भएको बयानसमेतका तथ्यगत आधारहरूबाट उक्त वारदात घटना भएको देखिन आउँछ ।
3. प्रतिवादीहरूको विवादको कारणबाटै भीड जम्मा भई भीडको नियन्त्रणमा पुगेको र प्रतिवादीको नियन्त्रण गुमेकोसम्म देखिन्छ । तथापि त्यस बिन्दूसम्म प्रतिवादीहरूले लखेटिरहेको र बाटोमा हान्दै गरेकोसमेत सुवास अधिकारीले स्वीकार गरेकोले निजहरू नितान्त असंलग्न भै कसूरको दायित्वबाट पूर्णरूपेण मुक्त हुने अवस्था रहेको भन्न मिलेन । धुन्चेपाखादेखिको विवाद भै त्यसको निरन्तरताको रूपमा चपाचो पुगेको भन्ने देखिँदा र चपाचो चोकसम्म पनि प्रतिवादीहरू पुगेको स्वीकारोक्तिले निजहरू कसूर गर्ने सिलसिलामा संलग्न भएको भन्नुपर्ने हुन्छ । मृतकको मृत्यु अमुक कसैको चोटबाट भएको भन्न सकिने अवस्था नभए पनि कुनै खास व्यक्ति वा चोटकै कारणले नै मरेको देखाउन पर्छ भन्न पनि मौजुदा अवस्थामा सम्भव नहुने हुन्छ । एकभन्दा बढी व्यक्तिको र एकभन्दा धेरै कारणले मारिने अवस्था रहन्छ । वारदातको अवस्थासम्म पुर्याउने कुरामा प्रतिवादीहरूको सहभागिता देखिएको र सोलगायतका कारणले वारदात घट्न गएको हुँदा निजहरूलाई दायित्वविहीन मान्न सकिने भएन । अन्यथा कसूरको कार्य गर्नलाई भीडको संलग्नता निम्त्याउने र त्यसैको आडमा अपराधिक दायित्वविहीन हुने कुराको तर्जुमा गर्ने अवस्था आउँछ । त्यसो गर्नु भनेको प्रकारान्तरमा दण्डहीनता सिर्जना गर्ने हुन्छ ।
4. प्रस्तुत मुद्दामा वारदातपूर्वको विवादको पृष्ठभूमि छ, त्यसको कारणले मृतक र प्रतिवादी बीच झगडाले निरन्तरता पाएको छ । आ–आफ्नो संरक्षण र बचाउका लागि शक्ति प्रदर्शन भएको छ, एक अवस्थाका झगडापछि त्यसलाई निरन्तरता दिई धुन्चेपाखादेखि चपाचोसम्म लखेट्ने र बाटोमा हान्दै गरेकोसमेत देखिएको छ, सोही सिलसिलाको अन्तमा भीड जम्मा भई भीडको नियन्त्रणमा पुगेपछिको घट्नाक्रमले मृतकहरू मारिनेसम्मको अवस्था पुगेको छ । सुरूदेखिको सबै श्रृङ्खलामा प्रतिवादीहरूको सरोकार र संलग्नता भएपछि अन्तिम अवस्थाको भीडकोसमेत संलग्नताले प्रतिवादीहरूले आफ्नो असंलग्नता र निर्दोषिताको जिकीर लिन सक्ने अवस्था रहेन । तसर्थ कर्तव्यबाट मृतकहरूको मृत्यु भएको कुरामा प्रतिवादीहरूको सारभूतरूपले संलग्न भै सोसमेतका कारणबाट वारदात भएको देखिएकोले सुरू भक्तपुर जिल्ला अदालतबाट प्रतिवादीहरू सुवास अधिकारी र प्रदिप पौडेललाई मुलुकी ऐन, ज्यानसम्बन्धीको १, १३(३) नं. को कसूरमा ऐ. १३(३) नं. बमोजिम जन्मकैद हुने ठहराएको इन्साफलाई पुनरावेदन अदालत, पाटनबाट मिति २०६८।८।२७ मा सदर गरेको इन्साफ मनासिब हुने ठहर्छ ।
5. प्रतिवादीहरूको कार्यको अतिरिक्त आफ्नो नियन्त्रण नभएको भीडसमेतको संलग्नतामा वारदातले पूर्णता पाएको हुनाले कसूरको प्रकृति र प्रतिवादीहरूको उमेर अवस्थासमेत हेरी पुनरावेदन अदालत, पाटनले प्रतिवादी सुवास अधिकारी र प्रदिप पौडेलका हकमा मुलुकी ऐन, अदालती बन्दोबस्तको १८८ नं. बमोजिम राय व्यक्त गरेको उक्त रायबमोजिम पाँच वर्ष कैदसम्म सजाय तोके पनि कानूनको उद्देश्यसमेत पूरा हुने देखिएकोले पुनरावेदन अदालत, पाटनको उक्त रायसमेत सदर हुने ठहर्छ । वादी/प्रतिवादीहरूको पुनरावेदन जिकीर पुग्न सक्दैन । अरूमा तपसिलबमोजिम गर्नू ।
तपसिल
माथि इन्साफ खण्डमा लेखिएबमोजिम प्रतिवादीहरू सुवास अधिकारी र प्रदिप पौडेललाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३) नं. बमोजिम जनही जन्मकैद हुने ठहराई निजहरूलाई मुलुकी ऐन, अदालती बन्दोवस्तको १८८ नं. बमोजिम जनही ५(पाँच) वर्ष कैद गर्न राय पेश गरेको भक्तपुर जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत, पाटनको मिति २०६८।८।२७।३ को फैसला एवम् रायसमेत यस अदालतबाट सदर हुने ठहरी फैसला भएकाले निज प्रतिवादीहरू सुवास अधिकारी र प्रदिप पौडेलको हकमा सोहीबमोजिम कैद सजाय असूल गर्नु भनी सुरू भक्तपुर जिल्ला अदालतमा लेखी पठाउनु-१
दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू-१
उक्त रायमा सहमत छु ।
न्या.गोविन्दकुमार उपाध्याय
इजलास अधिकृत M– कमलप्रसाद ज्ञवाली
इति संवत् २०७१ साल जेठ २६ गते रोज २ शुभम् .......................