शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८८०९ - ठगी

भाग: ५४ साल: २०६९ महिना: श्रावण अंक:

ने.का.प. २०६९,            अङ्क ४

निर्णय नं.८८०९

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी

माननीय न्यायाधीश श्री भरतराज उप्रेती

२०६७CR००९१

फैसला मितिः २०६९।१।१०।१

मुद्दा : ठगी 

पुनरावेदक वादीः ध्रुब तिमल्सिना समेतको जाहेरीले नेपाल सरकार

विरुद्ध

प्रत्यर्थी प्रतिवादीः हु वई सुङ्ग छुङ्ग सिचान चीन घर भई काठमाडौं जिल्ला, का.म.न.पा.            बानेश्वरस्थित मिलन चोकमा डेरा गरी व्यापार गर्दै आएका चिनिया नागरिक व्रसुवु भन्ने             We Yu Jiang

 

शुरु फैसला गर्ने :

मा.न्या.श्री सत्यराज गुरुङ्ग

पुनरावेदन फैसला गर्नेः

मा.न्या.श्री देवेन्द्र गोपाल श्रेष्ठ

मा.न्या.श्री ईश्वरप्रसाद खतिवडा

 

§  करारको शर्त पालन गरे, नगरेको सम्बन्धमा र त्यसबाट हुन गएको क्षति वा नोक्सानीको सम्बन्धमा करारसम्बन्धी ऐनले देवानी दायित्वको सिर्जना हुने अवस्था हुन्छ । शुद्ध रुपले करारीय दायित्व सम्बन्धमा परेको बिवादको निरोपण पनि करार ऐनअनुरूप हुनुपर्ने हुन्छ । देवानी प्रकृतिको बिवादलाई बलजफ्ती फौजदारी प्रकृतिको विवादको सिर्जना गर्ने गराउने तर्फ लाग्नु उचित नहुने 

(प्रकरण नं.५)

§  दुबै पक्ष मिली राजीखुशीले गरेको करारको सम्बन्धमा, कपटपूर्वक (Fraudulently) करार भएको वा कुनै कानूनको उल्लंघन हुने गरी करार गरेको वा एकले अर्को पक्षलाई झुक्याई वा जालसाजीपूर्वक करार गरेको अवस्थामा एकले अर्को पक्षलाई हानि पुर्‍याउने नियतले वा प्रारम्भदेखि नै ठग्ने अभिप्रायले कुनै करार गरेकोमा बाहेक फौजदारी दायित्वको सिर्जना हुन नसक्ने 

(प्रकरण नं.६)

§  करारीय सम्झौताको परिपालनासँग सम्बन्धित देवानी दायित्वसम्बन्धी विवादलाई फौजदारी दायित्वको रुपमा प्रस्तुत गरी ठगीको कसूर कायम गर्नु कानून र न्यायको रोहमा नमिल्ने 

(प्रकरण नं.७)

 

पुनरावेदक वादी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता रेवतीराज त्रिपाठी

प्रत्यर्थी प्रतिवादी तर्फबाटः

अवलम्बित नजीरः

सम्बद्ध कानूनः

§  सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को दफा २७

 

फैसला

न्या.ताहिर अली अन्सारीः पुनरावेदन अदालत, पाटनको मिति २०६६।८।९ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा पुनरावेदन परी इजलाससमक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छ :

म समेतका जाहेरीमा उल्लिखित १० जना जाहेरवालाहरू पश्मिना व्यापारी हौं । चाइनामा व्यापार गर्ने सिलसिलामा ब्रसवुसँग चिनजान भएको हो । निजले चीनबाट पश्मिना ल्याई दिने सम्बन्धमा निज व्रसबु र मसमेतका जाहेरवालासँग बिभिन्न मितिमा सम्झौता भई हामीहरूबाट तपसीलबमोजिम रु.४२,२४,६२५।लगी पश्मिना समेत नमगाई हामीबाट लिएको पैसा समेत फिर्ता नगरी आलटाल गर्दै ठगी गरेको हुँदा कानूनबमोजिम कारवाही गरिपाऊँ भन्ने जाहेरी दरखास्त 

 

तपसील

 

सुरज भट्टराई

सन् २८।०२।२००५ मा साँवा व्याज समेत

                                    जम्मा रु.१,४५,०००।

ध्रुव तिमिल्सीना    

सन् ७।०६।२००४, ३१।१०।२००५ र २८।०२।२००५ मा साँवा ब्याज समेतको जम्मा रु.४,६१,०००।

धनपति भट्टराई    

०३।१०।२००४ मा साँवा व्याज समेत

                                     जम्मा      रु.२,०५,०००।

अजित न्यौपाने     

१५।०३।२००५ मा                रु.४,८०,०००।

रमेश विष्ट   

०३।१०।२००४ र ०९।१०।२००४ मा गरी

                                    जम्मा       रु.५,८५,०००।

गौरी शर्मा   

सन् २८।०१।२००५ मा             रु. ८२,५००।

राजेन्द्र आचार्य

सन् २५।१०।२००४, २८।१०।२००४ मा गरी

                                    जम्मा       रु. ३,५०,५००।

अर्जुन सापकोटा    

सन् २५।०९।२००४, ०३।१०।२००४ र २२।१२।२००४ मा समेत जम्मा रु.७,४८,१२५।

विष्णु सापकोटा     

३१।१०।२००५ मा लिएको          रु. २,९०,०००।

केशव पौडेल 

१७।१२।२००४ मा लिएको          रु. ८,७७,५००।

                                    जम्मा       रु.४२,२४,६२५।

 

जाहेरी साथ पेश भएका सम्झौता पत्रहरू र प्रतिवादीबाट जिल्ला प्रहरी कार्यालयबाट लिएको नमूना हस्ताक्षर परीक्षणको लागि पठाइएको छ । सम्झौता पत्रमा प्रतिवादी व्रसवुले गरेको हस्ताक्षर र नमूना हस्ताक्षर मिल्छ, मिल्दैन ? खुलाई पठाई दिन केन्द्रीय प्रहरी वैज्ञानिक प्रयोगशालालाई लेखेको पत्र र सो बमोजिम केन्द्रीय प्रहरी विज्ञान प्रयोगशालाको परीक्षण प्रतिवेदन मिसिल सामेल रहेको 

जाहेरवालाहरूका नाममा भएका सम्झौता पत्रहरू मैले नै गरिदिएको हुँ । उक्त सम्झौता पत्रहरू चीनबाट पश्मिना धागो मगाई दिन निजहरूबाट जम्मा रु.४२,२४,६२५।बराबरको रकम लगी सम्झौता पत्र गरी दिएको हुँ । मैले उक्त रकम जाहेरवालाहरूलाई दिनुपर्ने नै हो । म नेपालमा ०४।०७।२००३ मा आएको छु, मेरो भिषा १२।०७।२००४ सम्मको छ । म एक बर्ष देखि बिना इजाजत नेपालमा बस्दै आएको छु भन्ने समेत व्यहोराको ब्रसबु भन्ने We Yu Jiang ले अनुसन्धान अधिकारीसमक्ष गरेको साविती बयान 

प्रतिवादीले जाहेरवालाहरूबाट रु. ४२,२४६२५।रकम लिई सम्झौता गरी पश्मिना समेत नमगाई पैसा समेत फिर्ता नगरि ठगी गरेको हो भन्ने सुनी थाहा पाएको हुँ भन्ने व्यहोराको भानुभक्त सिग्देलको कागज 

            अर्जुन सापकोटा समेत १० जनाको किटानी जाहेरी दरखास्त र प्रतिवादी We Yu Jiang को साविती बयान समेतबाट प्रतिवादी We Yu Jiang ले जाहेरवालालाई चिनबाट पश्मिनाको धागो मगाई दिन्छु भनी बिभिन्न मितिमा रकम पैसा बुझी लिई पश्मिना समेत नमगाई जम्मा रु.४२,२४,६२५।ठगी गरेको देखिन आएकोले मुलुकी ऐन, ठगीको महलको ४ नं. अनुसार सजाय गरी सोही ४ नं. अनुसार प्रतिवादीबाट जाहेरवालाहरूको रकम समेत भराई पाऊँ भन्ने समेत व्यहोराको अभियोग दावी 

            माथि उल्लिखित सबै सम्झौताबमोजिमको रकम मैले जाहेरवालाहरूलाई फिर्ता दिइसकेको छु । मैले पैसा फिर्ता दिएको प्रमाण पछि पेश गर्नेछु । अनुसन्धानको क्रममा लिइएको मेरो हस्ताक्षर नमूना देखाउंदा देखें, सो मेरो नै हो । व्यापारमा घाटा भएकोले मैले तिर्न सकिन भनी भनेको होइन मैले रकम तिरिसकेको छु । मैले नेपालमा बिहे गरेको छैन केटी साथी मात्र बनाएको छु भन्ने समेत व्यहोराको प्रतिवादी We Yu Jiang ले अदालतसमक्ष गरेको बयान 

            प्रतिवादीले जाहेरवालाको रकम लिई पश्मिना धागो ल्याई दिने भनी रकम लिएकोमा धागो नल्याई दिइ रकम समेत फिर्ता नगरेकोले पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललाई निज प्रतिवादीलाई पुर्पक्षको लागि थुनामा राख्नु भन्ने आदेश 

प्रतिवादी We Yu Jiang ले जाहेरवालाहरू अर्जुन सापकोटाको साँवा व्याजसहित रु.७,४८,१२५।सुरज भट्टराईको रु.१,४५,०००।धनपति भट्टराईको रु.२०,५००।रमेश विष्टको रु.५,४८,१२५।केशव पौडेलको रु.८,७७,५००।ध्रुव तिमल्सिनाको रु.४,६१,०००।ठगी गरेको देखिएकोले निजलाई मुलुकी ऐन, ठगीको महलको ४ नं. बमोजिम बिगोबमोजिम जरीवाना र एक बर्ष कैद गरी जाहेरवालाहरूको बिगो भराई दिने ठहर्छ । जाहेरवालाहरू बिष्णुप्रसाद सापकोटा, राजेन्द्र आचार्य, गौरी शर्मा र अजित न्यौपानेको बिगोको हकमा वादी दावी पुग्न नसक्ने ठहर्छ भन्ने काठमाडौं जिल्ला अदालतको मिति २०६५।३।१६ को फैसला 

            जाहेरी दरखास्त र अभियोगको व्यहोरा ठगीको परिभाषाभित्र पर्दैन । सम्झौताबमोजिमको दायित्व पूरा नगरेको अवस्थामा सम्झौता पत्र अर्थात करारबमोजिमको दायित्व पूरा गराई पाऊँ भनी करार ऐन, २०५६ अनुसार फिराद दायर गर्नुपर्नेमा ठगीमा मुद्दा दायर गर्न मिल्दैन । जाहेरवालाले दावी गरेबमोजिमको सम्पूर्ण रकम मैले लिएको होइन । सम्झौताबमोजिमको सबै रकम मैले तिरिसकेको छु भनी मैले बयान पनि गरिसकेको अवस्थामा अर्जुन सापकोटा, सुरज भट्टराई, धनपति भट्टराई, रमेश विष्ट, केशव पौडेल र ध्रुव तिमिल्सिना समेतको विगो ठगी गरेको ठहर गरी मलाई कैद र जरीवाना हुने गरी भएको २०६५।३।१६ को शुरु फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी सफाई पाऊँ भन्ने व्यहोराको प्रतिवादी We Yu Jiang को पुनरावेदन अदालत, पाटनमा परेको पुनरावेदन पत्र 

            अभियोग दावीबमोजिमको बिगो कायम गरी सम्पूर्ण विगो ठगी गरेको ठहर गर्नु पर्नेमा धनपति भट्टराई र रमेश विष्टको दावीभन्दा कम विगो कायम गरी र जाहेरवालाहरू गौरी शर्मा, राजेन्द्र आचार्य, विष्णु सापकोटा तथा अजित न्यौपानेको विगोको दावी नपुग्ने ठहर गरेको हदसम्म शुरु फैसलामा चित्त नबुझेकोले अभियोग दावीबमोजिम विगो कायम गरिपाऊँ भन्ने नेपाल सरकारको तर्फबाट पुनरावेदन अदालत, पाटनमा परेको पुनरावेदनपत्र 

            यसमा वादी नेपाल सरकारका तर्फबाट परेको पुनरावेदन पत्र र प्रतिवादी वि.यू.जिङ्गको पुनरावेदन पत्र एक अर्कालाई परस्परमा सुनाई नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालत पाटनको मिति २०६६।७।२४ को आदेश 

            यसमा जाहेरवालाहरू र प्रतिवादीबीच भएको व्यवहारलाई ठगीको कसूर कायम गर्न मिलेन । ठगीको कसूर ठहर गरी प्रतिवादी We Yu Jiang लाई सजाय गर्ने ठहर गरेको शुरु काठमाडौं जिल्ला अदालतको मिति २०६५।३।१६ को फैसला मिलेको नदेखिँदा उल्टी भै प्रतिवादीले ठगीको अभियोग दावीबाट सफाई पाउने ठहर्छ । जाहेरवालाहरू र प्रतिवादीबीच भएको कारोवार वा व्यहोरालाई दृष्टिगत गर्दा प्रस्तुत मुद्दा दुनियावादी भई चल्न सक्ने प्रकृतिको देखिएकोले सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को दफा २७ बमोजिम सरोकारवाला व्यक्तिहरूलाई झिकाई निजहरूले सकार गरेमा वादी पक्ष कायम गरी यही मुद्दाको मिसिलबाट प्रचलित कानूनबमोजिम कारवाही र किनारा गरी दिने समेत ठहर्छ भन्ने पुनरावेदन अदालत, पाटनको २०६६।८।९ को फैसला 

            प्रतिवादी र जाहेरवालाहरू बीच भएको सम्झौताअनुसार प्रतिवादीले जाहेरवालाहरूलाई आफू चिनिया नागरिक भएको कारण आवश्यक पर्ने पश्मिनाको धागो उपलब्ध गराई दिनेछु भनी विश्वासमा पारी सामान नै नल्याई जाहेरीमा उल्लिखित जाहेरवालाहरूको जम्मा रु.४२,२४,६२५।रकम लिई कागज समेत गरेको छ । प्रतिवादीले मौकामा बयान गर्दा आफूले जाहेरवालाहरूलाई चीनबाट पश्मिनाको धागो मगाई दिन्छु भनी बिभिन्न मितिमा जाहेरवालाहरूबाट रकम लिएको छ । सो रकम लिएपछि सामान पनि ल्याई दिएको छैन र रकम पनि फिर्ता गरेको छैन भनी कसूरमा साविती भई बयान गरेको अवस्था छ । यसरी कुनै काम गरिदिन्छु भनी कसैलाई विश्वासमा पारी रकम लिनु खानु गरिन्छ र त्यस्तो विश्वास दिलाएको काम गरिँदैन भने त्यस्तो कार्यलाई मुलुकी ऐन, ठगीको १ नं. को परिभाषाभित्र पर्ने हुँदा प्रतिवादीलाई सफाई दिने गरी पुनरावेदन अदालत, पाटनबाट भएको फैसला त्रुटिपूर्ण भएकोले बदर गरी प्रतिवादीलाई अभियोग माग दावीबमोजिम सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदन पत्र 

नियमबमोजिम पेशी सूचीमा चढी इजलाससमक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित उपन्यायाधिवक्ता श्री रेवतीराज त्रिपाठीले प्रतिवादी व्रसवु भन्ने We Yu Jiang ले जाहेरवालाहरूलाई विश्वासमा पारी आफूसँग नभएको पश्मिना धागो छ भनी गफलतमा पारी रकम लिई सामान नल्याएको भनी अनुसन्धानको क्रममा आरोपित कसूरमा सावित भएको छ । दुई पक्षीबीच भएको सम्झौता उल्लंघन भएमा करारीय दायित्व सिर्जना हुने हुँदा प्रतिवादीले अभियोग दावीबाट सफाई पाउने गरी ठगीको महलको १ नं. मा उल्लिखित कानूनको गलत व्याख्या गरी पुनरावेदन अदालत, पाटनबाट भएको फैसला त्रुटिपूर्ण रहेको छ । अतः पुनरावेदन अदालतको फैसला बदर गरी प्रतिवादीलाई अभियोग माग दावीबमोजिम ठगीको सजाय कसूरमा सजाय गरियोस् भन्ने समेत व्यहोराको बहस प्रस्तुत गर्नुभयो 

विद्वान उपन्यायाधिवक्ताले गर्नुभएको बहस सुनी पुनरावेदनसहितको सम्पूर्ण मिसिल समेत अध्ययन गरी हेर्दा, पुनरावेदन अदालत, पाटनको फैसला मिलेको छ, छैन ? वादी नेपाल सरकारको पुनरावेदन जिकीर पुग्न सक्छ, सक्दैन ? सो सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो 

२. निर्णयतर्फ विचार गर्दा प्रतिवादी चिनिया नागरिक ब्रुसबु भन्ने We Yu Jiang ले चीनबाट पस्मिना मगाई दिन्छु भनी जाहेरवालाहरूबाट जम्मा रु.४२,२४६२५।लिई खाई कवोल गरेअनुसारको सामान नमगाई ठगी गरेकोले मुलुकी ऐन, ठगीको महलको १ नं. बमोजिमको कसूरमा सोही महलको ४ नं. अनुसार सजाय गरी ठगी गरेको उक्त रकम प्रतिवादीबाट जाहेरवालाहरूलाई दिलाई भराई पाऊँ भन्ने अभियोग माग दावी रहेको पाइन्छ 

३. प्रतिवादी व्रुसवु भन्ने We Yu Jiang र जाहेरवालाहरूबीच भएको मिसिल संलग्न सम्झौता पत्र हेर्दा यी प्रतिवादी We Yu Jiang ले सन् ३।१०।२००४ मा धनपति भट्टराईसँग रु.८५,०००।–, ३ अक्टोवर २००४ मा रमेश विष्टसँग रु.२,००,०००।र ९ अक्टोवर २००४ मा रु.१,००,०००।–, केशव पौडेलसँग १७ डिसेम्बर २००४ मा रु.६,५०,०००।अर्जुन सापकोटासँग २५ सेप्टेम्बर २००४ मा रु.१,००,०००।, ध्रुव तिमिल्सिनासँग २७।६।२००४ मा रु.५०,०००।–, ३१।१०।२००४ मा रु.१,००,०००।–, २८।२।२००५ मा रु.१,००,०००।अर्जुन सापकोटासँग २२।१२।२००४ मा रु.१,१५,०००।–, ८।१२।२००४ मा रु.१,००,०००।र ३ अक्टोबर २००४ मा रु.१,२५,०००।सुरज भट्टराईसँग २८।२।२००५ मा रु.१,००,०००।रकम बुझी लिई सहीछाप गरेको देखिन्छ । प्रतिवादी We Yu Jiang ले अनुसन्धान अधिकारीसमक्ष गरेको बयानमा जाहेरवालासँग आफूले पश्मिनाको धागो झिकाई दिने सम्झौता गरेको कुरा स्वीकार गरेको पाइन्छ । प्रतिवादी र जाहेरवालाहरू बीच भएको उक्त सम्झौतापत्रमा लागेको प्रतिवादीको सहिछाप जाँच गर्न पठाएकोमा सम्झौता पत्रमा लागेको प्रतिवादीको सहिछाप सद्दे भएको व्यहोरा केन्द्रीय प्रहरी विधि विज्ञान, प्रयोगशालाको मिति २०६२।५।२२ को प्रतिवेदनबाट देखिँदा प्रतिवादी र जाहेरवालाहरू बीच भएको सम्झौतापत्रमा बिवाद गर्नुपर्ने अवस्था रहेन 

४. यसरी प्रतिवादी We Yu Jiang र जाहेरवालाहरूका बीच पश्मिना आपूर्ति गर्ने सम्बन्धमा बिभिन्न मितिमा सम्झौता (Agreement) भई प्रतिवादीले जाहेरवालाहरूबाट केही रकम लिएकोमा शर्तबमोजिम पश्मिना उपलब्ध गराएको पाइँदैन । सामान खरीद गर्ने, आपूर्ति गर्ने, पैठारी गर्ने र सोबापत रकम लिने दिने शर्त राखी दुई पक्षहरूबीच भएको उक्त सम्झौता वस्तु बिक्रीसम्बन्धी विशेष करारअन्तर्गत पर्दछ । यस प्रकारको व्यापारिक करार वा सम्झौताका शर्तहरू करार वा सम्झौताका पक्षहरूले पालना गर्नु पर्दछ । आफूले कबूल गरेका शर्तहरू पालना नगरेको अवस्थामा शर्त परिपालना गराउनको लागि मर्का पर्ने पक्षले करार ऐन, २०५६ बमोजिम करार परिपालना गर्नको लागि र अर्कोपक्षले सम्झौताको शर्त पालन नगरेबाट अर्थात् आफूलाई पर्न गएको नोक्सानीको सम्बन्धमा समेत कानूनबमोजिम क्षतिपूर्तिलगायतको न्यायिक उपचारको अवलम्बन गर्न सक्नु पर्ने हुन्छ 

५. यसरी करारको शर्त पालन गरे, नगरेको सम्बन्धमा र त्यसबाट हुन गएको क्षति वा नोक्सानीको सम्बन्धमा करार सम्बन्धी ऐनले देवानी दायित्वको सिर्जना हुने अवस्था हुन्छ । शुद्ध रुपले करारीय दायित्व सम्बन्धमा परेको बिवादको निरोपण पनि करार ऐन अनुरूप हुनुपर्ने हुन्छ । देवानी प्रकृतिको बिवादमा बलजफ्ती फौजदारी प्रकृतिको बिवादको सिर्जना गर्ने गराउने तर्फ लाग्नु उचित हुँदैन । ठगीसम्बन्धी कानूनको उद्देश्य पनि त्यो होइन 

६. दुबै पक्ष मिली राजीखुशीले गरेको करारको सम्बन्धमा, कपटपूर्वक (Fraudulently) करार भएको वा कुनै कानूनको उल्लंघन हुने गरी करार गरेको वा एकले अर्को पक्षलाई झुक्याई वा जालसाजीपूर्वक करार गरेको अवस्थामा एकले अर्को पक्षलाई हानि पुर्‍याउने नियतले वा प्रारम्भदेखिनै ठग्ने अभिप्रायले कुनै करार गरेकोमा बाहेक फौजदारी दायित्वको सिर्जना हुन सक्दैन । प्रस्तुत मुद्दामा त्यस्ता तत्वहरूको विद्यमानता देखिँदैन 

७. करारका पक्षहरूको निजी दायित्वको सम्बन्धमा वादी नेपाल सरकारको तर्फबाट प्रस्तुत ठगी मुद्दा दायर हुन आएको पाइन्छ । यसरी प्रतिवादी र जाहेरवालाहरूका बीच भएको करारीय सम्झौताको परिपालनासँग सम्बन्धित देवानी दायित्वसम्बन्धी बिवादलाई फौजदारी दायित्वको रुपमा प्रस्तुत गरी प्रतिवादीउपर ठगीको कसूर कायम गर्नु कानून र न्यायको रोहमा समेत मिल्ने देखिँदैन 

८. अतः प्रतिवादी व्रुसवु भन्ने We Yu Jiang ले ठगीको कसूर ठहराई गरेको शुरु काठमाडौं जिल्ला अदालतको फैसला उल्टी भै प्रतिवादीले ठगी तर्फको अभियोग दावीबाट सफाइ पाउने ठहर्‍याई प्रतिवादी र जाहेरवालाहरूबीच भएको करारीय दायित्वसम्बन्धी विवाद दुनियावादी देवानी विवादको रुपमा जाहेरवालाहरू वादी भई चल्नसक्ने प्रकृतिको देखिएकोले सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को दफा २७ बमोजिम जाहेरवालाहरूलाई झिकाई निजहरूले सकार गरेमा वादी पक्ष कायम गरी प्रस्तुत मुद्दाको मिसिलबाट प्रचलित कानूनबमोजिम कारवाही र किनारा गरी दिने ठहर्‍याई पुनरावेदन अदालत, पाटनबाट भएको मिति २०६६।८।९ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । वादी नेपाल सरकारको पुनरावेदन जिकीर पुग्न सक्दैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनू 

 उक्त रायमा सहमत छु 

न्या.भरतराज उप्रेती

इति संवत् २०६९ साल बैशाख १० गते रोज १ शुभम

 

इजलास अधिकृत : हरि कोइराला

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु