निर्णय नं. ६४४३ - अंश

निर्णय नं. ६४४३ ०५४, ने.का.प अङ्क ९
संयुक्त इजलास
माननीय न्यायाधीश श्री गोविन्द वहादुर श्रेष्ठ
माननीय न्यायाधीश श्री भैरव प्रसाद लम्साल
सम्वत् २०५२ सालको दे.पु.नं. ... २९९५
फैसला मिति : २०५४।७।४।२
मुद्दा : अंश ।
पुनरावेदक/प्रतिवादीः जिल्ला धनुषा खजुरी चम्हा गा.वि.स वडा नं. २ वस्ने रमजान मियां धुनिया मरी मु.स. गर्ने ऐ.ऐ. वस्ने अव्दुल धुनिया ।
बिरुद्ध
प्रत्यर्थी/वादी : ऐ.ऐ. वस्ने सलीम धुनिया समेत जना ३
§ भू.सु. ७ नं. अनुसूची अलग अलग पेश भएको मात्र आधारमा अंश छुट्टी भिन्न भएको भन्न नमिल्ने र वादीहरुको वावु र प्रतिवादीहरुको वावु र दाजुहरुसँग भिन्न भै सकेको भन्ने प्रतिवादी जिकिर अनुरुप प्रमाण ऐन, २०३१ को दफा २७ वमोजिम अंश छुट्टि भिन्न भइ सकेको कानून वमोजिमको प्रमाण दिन गुजार्न सकेको समेत नदेखिएको हुँदा वादी दावी पुग्न नसक्ने ठहराएको शुरु धनुषा जिल्ला अदालतको इन्साफ उल्टी गरी वादी दावी वमोजिम प्रतिवादीबाट पेश गरेको तायदातीमा उल्लेखित सम्पत्तिबाट ४ खण्डको १ खण्ड पाउने ठहराएको पुनरावेदन अदालत जनकपुरको फैसला मुनासिव देखिंदा सो फैसला सदर हुने ।
(प्र.नं. ९)
पुनरावेदक तर्फबाट :
विपक्षी तर्फबाट :
अवलम्वित नजीर :
फैसला
न्या. गोविन्द वहादुर श्रेष्ठ : पुनरावेदन अदालत जनकपुरको मिति २०५१।३।८ को फैसला उपर पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिपत तथ्य र निर्णय यसप्रकार छ ।
२. मुल पुरुष स्व. वाजे फतुरीको ४ छोरामा जेठा स्व. भिमा भुनिया, माहिला प्रतिवादी राममान, साहिंला स्व. सटहार कान्छा मनिर भै. स्व. भिमाको एक छोरा प्र. अव्दुल कासीम र स्व. सटहरको तीन छोरा म जेठा फिरादी दिलजान धुनिया, माईला म सलिम धुनिया र कान्छा म फिरादी सदीक धुनिया हुँ तथा कान्छा मनिरको श्रीमती प्रतिवादी सितछिया धुनिया भै हामीहरु एकाघर सगोल परिवारमा रही वसी आएका सगोल परिवार र सगोल परिवारको आर्जनबाट खरीद भएको जग्गा जमीन प्रतिवादी रमजान र मरजानका छोरा अव्दुल रहिम र प्रतिवादी अव्दुल काशीम भन्ने र निजको श्रीमती भुलुर खातुन समेतका नाउँमा रही सगोल परिवारका जग्गा जमीनको हामीले भोग चलन गरी रहेमा विपक्षी प्र.हरु केही दिन देखि सगोल सम्पत्तिलाई दवन छपन गर्न लाग्दा हामीले मनाही गर्दा हाम्रो नमानी जग्गा जमीनहरु हामीहरुका नाउँमा दर्ता रहेको जग्गा जमीनमा तिमीहरुको कुनै हक अंश लाग्ने छैन भनि निर्धक जवाफ दिएमा सामाजिक पंचायत वसाल्दा पनी प्रतिवादीहरुले नमानी वाध्य भै कानून वमोजिम हुने अंश छुटर्याई लिन अदालत गुर्हान आएका छौं । जो जे बुझ्नू पर्ने प्रमाण वुझि नालेश परेको अघिल्लो दिनलाई मानो छुटेको मिति कायम गरी विपक्षीहरु जिम्मा चल अचल श्री सम्पत्तिको तायदाती फाँटवारी लि ४ खण्डको १ खण्ड अंश छुटयाई दिलाई भराई अंश वापत पाउने जग्गा जमीनहरु समेत हामीहरुका नाउँमा दर्ता गरी पाउँ भन्ने वादीहरुको मिति २०४६।८।८।५ को फिराद पत्र ।
३. वादी नातेदार भएको कुरामा विवाद छैन । तर वादी हाम्रो सगोलको अंशियार होइनन् र निजहरुलाई अंश दिनुपर्ने होइन । वादीले वदनियत गरी झूठा नालेश दिएका हुन । वादी मात्र हैन फतुरी मियांका चार ४ जना छोराहरु २००५ सालमै भिन्न भै आफ्नो द्वार अलग अलग वसेका छन । त्यस वखत ऐलानी घडेरी र भांडाकुडा वाहेक अरु सम्पति नरहेकोले लिखित वण्डा गर्नुपर्ने अवस्था नै थिएन । ज्याला मजदुरी गरी आफ्नो आफ्नो परिवारको गुजरा गर्दे केहि जग्गा जमीन पनि आर्जन गर्न नसक्नेले आर्जन गरेको पनि विक्रि गरे । यी सारा कुरा साविक जिम्दार पटवारीको श्रेस्ता झिकाई हेरीएमा पनी एकिन हुन आउने छ । हामी प्रतिवादीहरु पनि छुट्टाछुट्टै वसेका छौं । जसको प्रमाण यिनै वादी मध्येका सदिक धूनियांले प्र. मध्येका म रजमान मियांबाट रु.९०५।- लिई ०३२।९।२९ गतेका दिन गरी दिनु भएको विक्रिनामा कागज मसँग विद्यमान छ । वादी प्रतिवादीहरु सगोल भै रहे वसेको भए अर्कोसँग लेखत गरी रुपैया लिने दिने अवस्था नै पर्ने थिएन । यसैवाट हामी भिन्न भै वसेको कुरा अकाट्य रुपमा प्रमाणित भै सकेको छ । अतः जे जो वुझनु पर्ने वुझी वादी दावीबाट उन्मुक्ति प्रदान गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीहरुको प्रतिउत्तर पत्र ।
४. वादीहरुले प्रतिवादीहरुबाट अंश दिलाई पाउँ भन्ने वादी दावी पुग्न सक्ने ठहर्दैन भन्ने मिति ०४८।१२।२० गतेको धनुषा जिल्ला अदालतको फैसला ।
५. शुरु धनुषा जिल्ला अदालतले हामीलाई मुद्दा हराएको कानूनी त्रुटिपूर्ण रहेकोले फैसला वदर वातील गरी फिराद माग दावी वमोजिम अंश दिलाई पाउँ भन्ने वा. रविन्द्र कुमार कर्णको पुनरावेदन पत्र ।
६. अंश दर्ता मिति ०३२।९।२९ गते रमजान धुनिया साविक ऋणी भएको रु.९०५। को लिखतबाट जग्गा लिनु दिनु गर्ने सम्वन्धमा कानून मान्यता प्राप्त विहिन लिखतलाई मुख्य छुट्टी भिन्न भएको आधार वनाएको र उक्त लिखतमा उल्लेखित वार्ड नं. ७ कित्ता नं. ४८ क को ०-१-५ जग्गा अध्यपी रामजानको नाउँमा नै रहेको भन्ने मिति ०४७।८९।१८ च.नं. १८६८ मालपोतको कार्यालय धूनषाको पत्रबाट देखिन आएको यस स्थितिमा सदिकले सो जग्गा विक्रि गरेको भन्ने समेत नदेखिएको हुँदा छुट्टी भिन्द भएको अन्य तथ्ययुक्त प्रमाणको अभावमा शुरु धनुषा जिल्ला अदालतको निर्णय त्रुटीपूर्ण देखिएकोले अ.वं. २०२ नं. वमोजिम विपक्षी झिकाइ आएपछि नियम वमोजिम पेश गर्नु भनी मिति ०४९।११।२० गतेको पुनरावेदन अदालको आदेश पत्र ।
७. वादीहरुको वावु आफ्नो वावु र दाजुहरु सँग भिन्न भै सकेको भन्ने प्रतिउतर जिकिर अन्य प्रमाणको अभावमा सद्दे र सांचो भन्ने निष्र्कषमा पुग्न सकिने देखिन आएन । वादीले देखाएको पुस्तावारी स्वीकारै गरेको अंशियार हो भन्ने तथ्यलाई समेत अस्वीकार गरेको नदेखिएको समेत कारण वादी दावी वमोजिम प्रतिवादीबाट पेश गरेको तायदातीमा उल्लेखित सम्पतिवाट ४ खण्डको १ खण्ड अंश पाउने ठहर्छ । शुरु धनुषा जिल्ला अदालतले वादी दावी पुग्न नसक्ने ठहराएको इन्साफ उल्टी हुन्छ भन्ने समेत पुनरावेदन अदालत जनकपुरको मिति २०५१।३।८।४ को फैसला ।
८. २००५ सालमा कुनै अचल सम्पति नभएको अवस्थामा छुट्टि भिन्न भएको र वादी मध्येको सदीक धुनियाले प्र. मध्येको रमजानलाई कि.नं. ४८ को जग्गा मिति ०३२।९।२९ मा विक्रिनामा गरेवाट विक्रि भएको भन्ने देखिएको र सोलाई अन्यथा भन्न सकेको छैन । विपक्षीको अंश हकको जग्गा पनि रमजानकै नाममा दर्ता भएको कारणले सो जग्गा पुनः दर्ता गराउने प्रयोजन नै थिएन । अंशवण्डाको १८ र ३० नं. को उपेक्षा भएको हुँदा समेत पुनरावेदन अदालत जनकपुरको उक्त फैसला वदर गरी इन्साफ पाउँ भन्ने समेत प्र. रमजान मियां धुनिया मरी मु.स. गर्ने अव्दुल धुनियाको यस अदालतमा परेको पुनरवेदन पत्र ।
९. नियम वमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन सहितको मिसिल अध्ययन गरी तारेखमा रहेका पुनरावेदक वारेस महादेव पण्डितलाई इजलासबाट पटक पटक पुकार्न लगाउँदा उपस्थित नभए पनि मुद्दा हेर्न नरोकिने भै वादी दावी पुग्न नसक्ने ठहराको शुरु धनुषा जिल्ला अदालतको इन्साफ उल्टी गरी वादी दावी वमोजिम प्रतिवादीबाट पेश गरेको तायदातीमा उल्लेखित सम्पत्तिबाट ४ खण्डको १ खण्ड पाउने ठहराएको पुनरावेदन अदालत जनकपुरको फैसला उपर प्रतिवादी रमजानको मु.स. गर्ने अव्दुल धुनियाको यस अदालतमा पुनरावेदन पर्न आएकोले पुनरावेदन अदालत जनकपुरको उक्त फैसला मनासिव छ छैन भनि निर्णय तर्फ विचार गर्दा वादी प्रतिवादी वीच पुस्तावरीमा कुनै विवाद पनि नदेखिएको वादी अंशियार हो भन्ने कुरामा प्रतिवादीहरुले स्वीकारै गरेको देखिन्छ । जहाँसम्म वादीको वावु समेत वाजे फतुरीको ४ छोरा लिखत गरी पाउनु पर्ने सम्पत्ति नहुँदा अघि नै छुट्टि भिन्न भै वसेका र हामी प्रतिवादीहरु पनि छुट्टाछुट्टै वसेका छौं भन्ने समेत प्रतिवादी जिकिर भएकोमा सो को प्रमाण स्वरुप वादी मध्येको सदीक धुनियाले प्र. मध्येको रमजानलाई कि.नं. ४८ को जग्गा ०३२।९।२९ मा विक्रि गरेको भनेकोमा सो जग्गा सर्वे नापी भई प्र. रमजानकै नाममा दर्ता रहेको भन्ने मालपोत कार्यालय धनुषाको ०४७।८।१८ को पत्रबाट देखिन आएकोबाट सो लिखत कै आधारमा प्रतिवादीबाट वादीले अंश पाएको भन्ने अर्थ गर्न मिल्ने देखिएन । भू.सु. ७ नं. अनुसुचि अलग अलग पेश भएको मात्र आधारमा अंश छुट्टी भिन्न भएको भन्न नमिल्ने र वादीहरुको वावु र प्रतिवादीहरुको वावु र दाजुहरुसँग भिन्न भै सकेको भन्ने प्रतिवादी जिकीर अनुरुप प्रमाण ऐन, २०३१ को दफा २७ वमोजिम अंश छुट्टि भिन्न भई सकेको कानून वमोजिमको प्रमाण दिन गुर्जान सकेको समेत नदेखिएको हुँदा वादी दावी पुग्न नसक्ने ठहराएको शुरु धनुषा जिल्ला अदालतको इन्साफ उल्टी गरी वादी दावी वमोजिम प्रतिवादीबाट पेश गरेको तायदातीमा उल्लेखित सम्पतिबाट ४ खण्डको १ खण्ड पाउने ठहराएको पुनरावेदन अदालत जनकपुरको फैसला मुनासिव देखिंदा सो फैसला सदर हुने ठर्हछ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । अरु तपसिल वमोजिम गर्नु ।
तपसिल
माथि ठहर खण्डमा लेखिए वमोजिम पुनरावेदन अदालत जनकपुरको फैसला मनासिव ठहरेकोले सो फैसलाले प्रतिवादीबाट वादीलाई भराई दिने गरेको कोर्टफि रु.१५५।५० (अक्षेरुपी एक सय पचपन्न रुपैया पैसा पचास मात्र) प्रतिवादीले मिति २०५२।३।१९ मा पुनरावेदन अदालत जनकपुरको मार्फत पुनरावेदन गर्दा धरौट राखेको देखिंदा सो रकम फिर्ता पाउँ भनि कानूनका म्यादभित्र वादीको दरखास्त परे कानून वमोजिम फिर्ता दिनु भनि धनुषा जिल्ला अदालतको लेखी पठाउनु .............. १
प्रस्तुत मुद्दा किनारा भएको जनाउ अ.वं. २१० नं. वमोजिम वादीलाई दिई मिसिल नियमानुसार गरी बुझाई दिनु ..... १
उक्त रायमा म सहमत छु ।
न्या. भैरव प्रसाद लम्साल
इति सम्वत् २०५४ साल कार्तिक ४ गते रोज र शुभम्