निर्णय नं. ६४४४ - उत्प्रेषण वा अन्य जो चाहिने आज्ञा आदेश वा पूर्जि जारी गरी पाउँ

निर्णय नं. ६४४४ ०५४, ने.का.प अङ्क ९
संयुक्त इजलास
माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य
माननीय न्यायाधीश श्री भैरव प्रसाद लम्साल
सम्वत् २०४८ सालको रिट नं. ... १५७६
फैसला मिति : २०५४।९।९।४
मुद्दाः उत्प्रेषण वा अन्य जो चाहिने आज्ञा आदेश वा पूर्जि जारी गरी पाउँ ।
निवेदकः का.जि. का.म.न.पा. वडा नं. १० वानेश्वर वस्ने वुद्धि नारायण महर्जन समेत जम्मा ३ ।
बिरुद्ध
विपक्षीः भूमि सुधार कार्यालय काठमाण्डौ समेत जना ३
§ मोहीको नाम जग्गा धनी दर्ता पूर्जामा तरी भाई तथा मोठमा ददीभाई उल्लेख भै नाममा फरक परेकै अवस्थामा पनि र जग्गा भोगी जोती आइरहेको भन्ने निवेदन जिकिर हुँदा मोही भागी वेपत्ता भएको भन्ने लिखित जवाफको व्यहोरा युक्तिसँगत नदेखिंने ।
(प्र.नं. ९)
§ भूमि सम्वन्धी नियम, २०२१ को नियम ९ अनुसार अस्थायी निस्सा प्राप्त सम्वन्धित मोहीलाई प्राकृतिक न्यायको सिद्धान्त अनुसार सूचना दिइ अ.वं. ११० नं. को रीत पुर्याई तामेल गरी प्रतिवाद गर्ने मौका दिनु पर्नेमा सो नभई प्रतिवाद गर्ने मौकै नदिई भू.सु.का. काठमाण्डौले मिति २०४७।१२।११ मा गरेको निर्णय उत्प्रेषणको आदेशद्वारा वदर गरिएको छ । अव विवादीत जग्गाको आफ्नो कार्यालयको मोहीको लगत श्रेस्ता समेत हेरी भिडाई मोहीलाई प्रतिवादको मौका दिई निर्णय गर्नु भनी जिल्ला भूमि सुधार कार्यालय काठमाण्डौको नाउँमा परमादेशको आदेश समेत जारी हुने ।
(प्र.नं. ११)
निवेदक तर्फबाटः विद्वान अधिवक्ता श्री तुलसी भट्ट
विपक्षी तर्फबाटः विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री नरेन्द्र कुमार श्रेष्ठ
अवलम्वित नजीर :
फैसला
न्या. अरविन्दनाथ आचार्यः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(२) अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा ठहर यस प्रकार छ ।
२. हामी निवेदकका पिता पति तरिभाई महर्जनले का.न.पा. वडा नं. ३२ मैतिदेवी वस्ने रत्नदेवी वज्राचार्यको नाममा दर्ता भएको का.जि. साविक महादेवस्थान गा.वि.स. वडा नं. ३ हाल का.न.पा. वडा नं. १० स्थित कि.नं. ९ को क्षेत्रफल २(४(० जग्गा २०२१ सालभन्दा अगाडि देखि जोती भोगी कमाई आएको नापी हुँदा जग्गाधनीमा रत्नदेवी र जोताहामा तरीभाई मर्हजन कायम भएको भूमि सम्वन्धी ऐन, २०२१ तथा नियम वमोजिम सवै प्रकृया पूरा गरी मिति ०२२।९।९ मा जोताहाको अस्थायी निस्सा समेत प्राप्त भएको विधिवत रुपमा मोही भई जग्गाधनीलाई वाली बुझाई आएको अवस्था पति तथा पिताको मिति ०४१।४।५ मा परलोक भयो । पति पिताको परलोक पछि म श्रीमती गंगामाया महर्जनले उक्त जग्गा जोत भोग गरी साविक जग्गाधनीलाई वाली बुझाई अद्यावधि भोगी आएको छु । उपर्युक्त मोहीमा कमाई आएको जग्गा रत्न देवी वज्राचार्यले विपक्षी मध्येका निर्माण कुमार भट्टराईलाई मिति २०४६।३।२७ र.नं. ७७९८ (क) राजिनामा मार्फत हक हस्तान्तरण गर्नु भएछ । विपक्षी निर्माण कुमार शर्मा भठ्ठराईले राजिनामा मोही तरीभाई मर्हजन हुनुपर्नेमा दलिलाल महर्जन उल्लेख गराइ पारित गरी लिई २०४६।८।११ मा मोही दलिलाल मर्हजन धेरै पहिला देखि वेपत्ता भएको मेरो दाता रत्नदेवीले आफै जोत कमोद गरी आएको मोही खोज तलास गर्दा फेला नपरेको भन्ने व्यहोरा जनाई मोही महलबाट निश्कासन गरी पाउँ भनि जि.भू.सु.का. मा निवेदन दिएछन र क्षेत्रीय किताव र जग्गाको मोठमा ददी भाई महर्जन लेखिन गएको रहेछ र सोहीलाई आधारमा भू.सु.का ले स्थानीय वाहेक अन्यत्रका मानिस राखि सर्जमीन राखी मोही पहिला देखि वेपता भएको भन्ने व्यहोरा जनाई मिति ०४७।५।३१ गते फिल्डवुक उतारमा ददीभाई पूर्जामा ददीलाल महर्जन भएको मोहीको कोही हकवाला भए हक दावी गर्न आउनु भन्ने गोरखा पत्रमा सूचना प्रकाशित गरी सोही सूचनामा कसैको हक दावी नपरेको भनि भू.सु.का. काठमाण्डौले मिति २०४७।१२।११ मा मोही निष्काशन हुने गरी निर्णय पर्चा गरिएको रहेछ । उक्त कुरा हामीहरुले मिति २०४८।३।१२ र मिति २०४८।५।३० मा नक्कल लिएबाट जानकारी पाएकोले पिता तथा पतिको नाउँमा मोहीयानी कायम भएको जग्गा नामसारी गर्न पाउने हाम्रो हक सुरक्षित हुँदाहुँदै भूमि सुधार कार्यालयमा भएको श्रेस्तामा तरिभाई महर्जन भएकोमा नभिडाई भूलले लेखिएको कुरालाई आधारमानी हामे प्राकृतिक न्यायबाट बन्चित गराई मोही निष्काशनको आदेश गरेकाले उक्त जि. भू.सु.का. काठमाण्डौको मिति ०४७।१२।११ को निर्णय पर्चा उत्प्रेषणको आदेशद्वारा वदर गरी साविक मोही यथावत कायम राख्नु भन्ने अन्य आज्ञा आदेश वा पूर्जी जारी गरी पाउँ भन्ने रिट निवेदन रहेछ ।
३. यस्मा के कसो भएको हो ? निवेदकको माग वमोजिम आदेश किन जारी हुन नपर्ने हो ? आदेश प्राप्त भएका मितिले वाटाको म्याद वाहेक १५ दिनभित्र सम्वन्धित मिसिल साथ राखी महान्यायाधीवक्ताको कार्यालय मार्फत लिखित जवाफ पठाई दिनु भनी भूमि सुधार कार्यालय काठमाण्डौ समेतलाई र निवेदनको माग बमोजिम आदेश किन जारी हुन नपर्ने हो ? आदेश प्राप्त भएका मितिले वाटाको म्याद वाहेक १५ दिनभित्र लिखित जवाफ लिई उपस्थित हुनु भनी विपक्षी सुर्वण कुमार भट्टराईलाई सूचना पठाई लिखित जवाफ आएपछि वा अवधि नाघेपछि नियम वमोजिम पेश गर्नु भन्ने यस अदालत एक न्यायाधीशको इजलाशबाट भएको मिति ०४८।७।२८ को आदेश ।
४. रिट निवेदनमा उल्लेखित जग्गा जोताहा दलिलाल भनि साविक जग्गाधनी रत्नदेवी व्रजाचार्यले मिति २०४६।३।२६ मा निर्वाण कुमार शर्मालाई राजिनामा पारित गरी दिएपछि मोही पहिले देखि बेपता भएको उक्त जग्गा मेरो दाता रत्नदेवीले नै जोती आएको र हाल मैले जोती आएको हुँदा मोही लगत कट्टा गरी पाउँ भनि जग्गाधनी निर्वाण कुमारले निवेदन गरी कार्वाहीको क्रममा फिल्डवुक मोठ झिकाई हकदारको लागि सार्वजनिक सूचना गर्ने गरी गोरखा पत्रमा प्रकाशित गरी कसैबाट दावी उजुर नपरेकाले का.म.न.पा.वडा नं. १० का वडा इन्चार्जको रोहवरमा सर्जमीन गर्दा साविक मोहीको कानूनी हकदार कोही नभएको भन्ने किटानी सर्जमिन मुचुल्कामा उल्लेख भएकाले भूमि सम्वन्धी ऐन, २०२१ को दफा २६(१) (ग) मा भएको व्यवस्था अनुसार मिति २०४७।१२।११ मा यस कार्यालयबाट निर्णय भएको हुँदा रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत भूमि सुधार कार्यालय काठमाण्डौ र जिल्ला भूमि सुधार अधिकारीको लिखित जवाफ रहेछ।
५. रिट निवेदनको प्रकरण २ र ३ मा जग्गा खरिद गर्ने निर्वाण कुमार भट्टराई भन्ने उल्लेख भएको पाइन्छ तर विपक्षीको कालममा सुर्वण कुमार भट्टराई भन्ने उल्लेख भएकोले विपक्षी निर्वाण कुमार भट्टराई हो वा सुवर्ण कुमार भट्टराई हो कस्को नाउँमा म्याद जानुपर्ने हो अ.वं. १३३ नं. वमोजिम निवेदकसँग कागज गराई कानून वमोजिम गर्नु भन्ने यस अदालत संयुक्त इजलाशको मिति २०५१।९।११ को आदेश ।
६. निवेदकको कागज अनुसार निर्वाण कुमार भट्टराईको नाउँमा १५ दिने म्याद पुनः जारी गर्दा पनि वेपते तामेल भै लिखित जवाफ पर्न सकेको रहेनछ ।
७. यसमा विवादित जग्गाको भूमि सम्वन्धी ऐन, २०२१ तथा भूमि सम्वन्धी नियमहरु २०२१ वमोजिम मोहीको लगत प्रकाशन २ नं. अनुसूची तथा जोताहा अस्थायी निस्साको सक्कलै महान्यायाधीवक्ताको कार्यालय मार्फत भूमि सुधार कार्यालय काठमाण्डौबाट झिकाई नियम वमोजिम पेश गर्नु भन्ने यस अदालत संयुक्त इजलाशबाट भएको मिति ०५३।२।९ को आदेश ।
८. यस्मा मिति २०५४।२।१४ को आदेशानुसार सक्कलै २ नं. अनुसूची सम्वन्धित भूमि सुधार कार्यालयबाट र विवादित वानेश्वर महादेवस्थान साविक वडा नं. ३ मा नापी भएको कि.नं. ९ को सक्कलै फिल्डवुक इजलाश समक्ष देखाइृ फिर्ता लाने गरी सम्वन्धित नापी शाखाबाट झिकाई नियम वमोजिम पेश गर्नु भन्ने यस अदालत संयुक्त इजलाशबाट भएको मिति २०५४।३।११ को आदेश ।
नियम वमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत रिट निवेदनमा निवेदक पक्षबाट उपस्थित हुनु भएका विद्वान अधिवक्ता श्री तुलसी भट्टले मेरो पक्षको पिता तथा पतिले भूमि सम्वन्धी ऐन, नियम अनुसार मोही कायम भै जोताहामा नाम दर्ता गरी २०२१ सालभन्दा अगाडि देखि जोती भोगी आएको र सालिन्दा जग्गाधनीलाई कुत बुझाउदै आएको र पति पिता तरीभाई महर्जनको मृत्यु पश्चात पनि मोहीमा अद्यावधि जोती भोगी आएको र जग्गाधनी रत्नदेवीलाई कुत बुझाउँदै आएको र पति पिताको मृत्युपछि हाम्रो मोही नामसारी गर्ने हक सुरक्षित रहे भएकै अवस्थामा जग्गाधनी रत्नदेवीले विपक्षी निर्वाण कुमारलाई जग्गा विक्रि गरी निज निर्वाण कुमारले हामीले जोती आएको जग्गालाई मोही वेपते भएको भनि झूठा व्यहोराको भूमि सुधार कार्यालयमा निवेदन दिई मोही निष्काशन गर्ने गरेका भू.सु.का. को निर्णय वदर गरी मोही यथावत कायम रहोस् भन्ने र विपक्षी भू.सु.का. तर्फबाट उपस्थित हुनु भएका विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री नरेन्द्र कुमार श्रेष्ठले जग्गाधनीले मोही वेपता भएको र गोरखापत्रमा ३५ दिने हक दावी गर्न आउने सूचना जारी गर्दा पनी कोही हकदावी गर्न नआएको हुँदा मोही लगत कट्टा भएको हो भन्ने समेतको वहस जिकिर प्रस्तुत गर्नुभयो ।
९. दुवै पक्षका विद्वान अधिवक्ताहरुको वहस सुनि निर्णय तर्फ विचार गर्दा का.जि. साविक महादेवस्थान गा.वि.स. वडा नं. ३ कि.नं. ९ को २(४(० जग्गामा मोही रहे भएको भन्ने कुर। निर्विवाद रुपमा देखिन्छ । साविक जग्गाधनी रत्नदेवीले विक्रि गरेपछि हालमा जग्गाधनी निर्वाण कुमारले मोही साविक जग्गा धनीकै पालदेखि वेपते भई आफै कमाएको भनी जि.भू.सु.का. मा निवेदन दिई मोही लगत कट्टा गराउने तर्फ कारवाही गरेको पाईन्छ । हालमा जग्गाधनीलाई लिखित जवाफ पेश गर्न दिइएको म्यादमा उपस्थित नभै गुजारेको देखिन्छ । जग्गा रजिष्ट्रेशन गर्दा मोही ददीलाल भनि उल्लेख गरेको पनि पाईन्छ । मोहीको नाम जग्गा धनी दर्तापूर्जामा तरीभाई तथा मोठमा ददीभाई उल्लेख भै नाममा फरक परेकै अवस्थामा पनि र जग्गा भोगी जोती आइरहेको भन्ने निवेदन जिकिर हुँदा मोही भागी वेपत्ता भएको भन्ने लिखित जवाफको व्यहोरा युक्ति सँगत देखिन आएन ।
१०. मोहीको लगत कट्टा गर्ने तर्फ कारवाही गर्दा भू.सु.का. ले मोहीको लगत श्रेस्ता अनुसारको वतनमा अ.वं. ११० नं. को रीत पुर्याई निवेदन व्यहोराको समेत जानकारी दिई म्याद दिनुपर्ने र निज मोहीको समेत भनाई के कसो हो । सो समेत बुझि निर्णयमा पुग्नु पर्नेमा सो गरे भएको देखिएन । निवेदकको निवेदन व्यहोरा र गोरखापत्रमा हक दावी गर्न आउने सम्वन्धी सूचना प्रकाशित गरी कोही हक दावी गर्न नआएको भन्ने व्यहोराबाट मोहीको लगत कट्टा गरेको जि.भू.सु.का.को निर्णय न्यायोचित भन्न मिलेन ।
११. अतः भूमि सम्वन्धी नियम २०२१ को नियम ९ अनुसार अस्थायी निस्सा प्राप्त सम्वन्धित मोहीलाई प्राकृतिक न्यायको सिद्धान्त अनुसार सूचना दिई अ.वं. ११० नं. का रीत पुर्याई तामेल गरी प्रतिवाद गर्ने मौका दिनु पर्नेमा सो नभई प्रतिवाद गर्ने मौकौ नदिई भू.सु.का. काठमाण्डौले मिति २०४७।१२।११ मा गरेको निर्णय उत्प्रेषणको आदेशद्वारा वदर गरीएको छ । अव विवादित जग्गाको आफ्नो कार्यालयका मोहीको लगत श्रेस्ता समेत हेरी भिडाई मोहीलाई प्रतिवादको मौका दिई निर्णय गर्नु भनि जिल्ला भूमि सुधार कार्यालय काठमाण्डौंको नाउँमा परमादेशको आदेश समेत जारी हुने ठर्हछ । यसको जनाउ म.न्या.का. मार्फत दिनु । फाईल नियम वमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. भैरव प्रसाद लम्साल
इति सम्वत् २०५४ साल पौष ९ गते रोज ४ शुभम्