निर्णय नं. ७८९३ - डाँका

निर्णय नं. ७८९३ ने.का.प. २०६४ अङ्क १०
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री शारदाप्रसाद पण्डित
माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोईराला
सम्वत् २०६१ सालको फौ.पु.न..३२१९,३२३६
फैसला मितिः २०६४।७।१८।१
मुद्दाः डाँका ।
पुनरावेदक प्रतिवादीः जिल्ला रुपन्देही वोदवार गा.वि.स. वडा नं.९ घर भई हाल कारागार कार्यालय रुपन्देहीमा थुनामा रहेका नियामुल बन्जारा मुसलमान
विरुद्ध
प्रत्यर्थी वादीः रामभजन बानियाँ समेतको जाहेरीले नेपाल सरकार
पुनरावेदक वादीः रामभजन बानियाँ समेतको जाहेरीले नेपाल सरकार
विरुद्ध
प्रत्यर्थी प्रतिवादीः जिल्ला रुपन्देही वोधवार गा.वि स वडा.नं.९ बस्ने जाहिद बन्जारा मुसलमान समेत
शुरु फैसला गर्नेः
मा.न्या.श्री इन्द्रमान कर्माचार्य
पुनरावेदन फैसला गर्नेः
मा.न्या.श्री प्रेम शर्मा
मा.न्या.श्री चन्द्रबहादुर कार्की
§ सह प्रतिवादीको पोल आफैले स्वतन्त्र प्रमाणको स्वरुप ग्रहण गर्न सक्दैन । त्यस्तो पोल अन्य स्वतन्त्र ठोस प्रमाणबाट समर्थित हुनुपर्ने ।
§ प्रमाण ऐन, २०३१ को दफा २५ मा फौजदारी मुद्दामा अभियुक्तको कसूर प्रमाणित गर्ने भार वादीको हुनेछ भनी स्पष्ट रुपमा कानूनी प्रावधान भएको अवस्थामा यी प्रतिवादीहरूको डाँका वारदातमा संलग्नता छ भन्ने कुरालाई शंकारहित तवरले पुष्टि गर्ने किसिमका तथ्ययुक्त ठोस एवं सवुद प्रमाण वादी पक्षले प्रस्तुत गर्न नसकेको अवस्थामा केवल सह–अभियुक्तकै पोलको भरमा मात्र कसूरदार कायम गर्न न्यायोचित नहुने ।
§ फौजदारी मुद्दामा समग्रतामा मूल्यांकन गरेर कसूरदार कायम गर्ने भन्दा पनि तथ्ययुक्त ठोस सवुद प्रमाणले प्रधानता पाउने ।
(प्रकरण नं.६)
§ मुलुकी ऐन, चोरीको महलको ६ नं. ले डाँका वारदात कायम हुनको लागि ४ जना भन्दा बढीको जमात भई जबरजस्ती वा रहजनीको रितसँग वा हात हतियार लिई उठाई छाडी वा हुलहुज्जत गरी चोरी गरेको हुनुपर्ने भनी डाँका वारदात कायम हुनका लागि आवश्यक पर्ने तत्वहरू तोकेको देखिँदा वारदातको प्रकृति, त्यसमा अभियुक्तको संख्यात्मक उपस्थिति, डाँका वारदातको पुष्टिको लागि डाँका वारदात स्थापित भइसकेको अवस्थामा ४ जना भन्दा कम व्यक्तिलाई पनि डाँका कसूरमा सजाय गर्ने मिल्ने ।
(प्रकरण नं.७)
पुनरावेदक प्रतिवादीः विद्वान सह न्यायाधिवक्ता श्री युवराज सुवेदी
प्रत्यर्थी वादीः विद्वान अधिवक्ता श्री लिलामणी पौडेल एवं वैतनिक अधिवक्ता श्री हेमराज अधिकारी
अवलम्वित नजीरः ने.का.प.२०४५, अंक १२, नि.नं.३६६३, पृ.१२३०, ने.का.प.२०४७, अंक १, नि.नं. ४०५९, पृ.९३, ने.का.प.२०४०, अंक १, नि.नं. १६१४, पृ.७
फैसला
न्या.शारदाप्रसाद पण्डितः पुनरावेदन अदालत बुटवलको मिति २०६१।३।१६को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम वादी प्रतिवादी दुवै पक्षको पुनरावेदन परी दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एंव ठहर निम्न बमोजिम रहेका छ ।
जिल्ला रूपन्देही मैनहिया गा.वि.स वडा.नं.४ अमारी पुर्व इजरत जोलहाको खेत, पश्चिम मैथावल देखि लक्ष्मीपुर तर्फ जाने सडक, उतर राधेकिशन यादवको खेत, दक्षिण हजरत जोल्हाको खेत यति ४ किल्ला भित्र दक्षिण मोहडा गरी इँटा माटोको जोडाई गरी वनेको २ कोठे पक्की घरभजन हरिजनको घरको पूर्व तर्फको एक कोठामा रहेको मालसामान बदमासहरूले लगेको कोठामा मालसामान पुराना लुगाहरू यत्रतत्र छरिएको भन्ने घटनास्थल प्रकृति मचुल्का विवरण ।
जिल्ला रुपन्देही मैनहिया गा.वि.स.वडा नं.४ अमारी पूर्व बेथरी तर्फ जाने ग्रेवल सडक, उत्तर रामगोपाल त्रिपाठीको घर, पश्चिम रामगोपाल त्रिपाठीको खेत, दक्षिण रामभजन वनियाको खेत यति ४ किल्ला भित्र रामभजन बानियाँको पूर्व मोहडा भएको ढोका नभएको इँटाको जोडाई भएको २ कोठा मध्ये उत्तर पट्टिको कोठाको ढोका खुल्ला रहेको कोठामा लत्ता कपडाहरू कागजातहरू यत्रतत्र छरिएको देखिएको भन्ने रामभजन बानियाँको घरको घटनास्थल प्रकृति विवरण ।
जिल्ला रूपन्देही मैनहिया गा.वि.स. वडा नं.४ अमारी पुर्व बेथरी तर्फ जाने सडक, उत्तर दक्षिण ग्रेवलिङ्ग सडक, पश्चिम रामगोपाल त्रिपाठीको खेत, उत्तर घरभजन हरिजनको घर, दक्षिण रामभजन बानियाँको घर यति चार किल्ला भित्र रामगोपाल त्रिपाठीको घर उक्त घर को २ कोठा रहेको, दक्षिण तर्फको कोठामा रहेको टिनको वाक्साको सामानहरू यत्रतत्र छरिएको अवस्थामा देखिएको भन्ने घटनास्थल प्रकृति विवरण ।
जिल्ला रुपन्देही मैनहिया गा.वि.स. वडा.नं. १ सेमरा कुटवा पूर्व काशी मुराउको १ तले घर, पश्चिम चुलाई मुराउको घर, उत्तर काशी मुराउको आलुबारी, दक्षिण रामप्रसाद यादवको घर यति ४ किल्ला भित्र श्रीपत यादवको घर उक्त घरको अगाडि वरण्डामा रगतको थोपाहरू देखिएको भन्ने समेत घटनास्थल प्रकृति मुचुल्का ।
मिति २०५६।८।१८ गते जिल्ला रुपन्देही सि.न.पा.वडा नं. १२ र १३ को बीचमा पर्ने नयाँ चौराहा पूर्व पश्चिम भैरहवा परासी बाटो, उत्तर विक्रम यादवको घर दक्षिण यति ४ किल्ला भित्र रहेको पूर्वतर्फ गैरहेको पछि नाम, थर, वतन खुलेको वर्ष २४ को नियामुल बन्जारा मुसलमानले ल्याएको झोला भित्र जाँच गर्दा बरामदी मुचुल्कामा उल्लेखित सामान तथा कटृा बन्दुक र सोही कटृा बन्दुकमा फिट हुने ३०३ राइफलको गोली थान ३ समेत अन्य लत्ता कपडा डकैत गरी ल्याएको अवस्थामा फेला पारेको ठिक साँचो हो भन्ने समेत व्यहोराको बरामदी मुचुल्का ।
प्रतिवादी नियामुल बन्जारा मुसलमानको साथबाट फेला पारी वरामद हुन आएको सामानमध्ये पुरानो खालको इण्डियन एभरेडी टर्च, एभेरेडी ब्याट्री फिट भएको थान एक मेरै हो भनी रामगोपाल त्रिपाठीले गरिदिएको सनाखत कागज ।
प्रतिवादी नियामुल बन्जाराको साथबाट वरामद हुनु आएको सामानमध्ये हरिया भुँइमा रातो कालो बुट्टा भएको साडी थान १ मेरो हो भनी गरि दिएको सुदि बनियाँको सनाखत कागज ।
प्रतिवादी नियामुल बन्जारा मुसलमान समेतका व्यक्तिहरूले मिति २०५६।८।१७ को राती मेरो घरबाट बिगो रु.२९८७०।– रामभजन बानियाँ र रामगोपाल त्रिपाठीको बिगो रु.७४०५।– घरभजण हरिजनको घरबाट बिगो रु.५६५०।– श्रीपत यादवको घरबाट बिगो रु.१०,१२०।– बराबरको धनमाल जम्मा गरी हामी जाहेरवालाहरूलाई कुटपीट गरी घाइते समेत तुल्याई कट्टा बन्दुक फायर गरेकोमा मिस हुन गई धनमाल समेत डकैत गरी लिई गएका हुन् । निज प्रतिवादीहरू मध्ये नियामुल बन्जारा मुसलमानबाट अन्य प्रतिवादीहरूलाई खुलाई कारवाही गरी धनमाल समेत दिलाई भराई पाउँ भन्ने समेत व्यहोराको रामभजन बानियाँ समेत जना ४ को संयुक्त जाहेरी दरखास्त ।
श्रीपत यादव, रामगोपाल त्रिपाठी, रामभजन बानियाँ समेतको शरीरमा धार नभएको हतियार र लाठी डण्डाले लागेको घाउ चोट भएको भन्ने व्यहोराको घाउ जाँच केश फाराम ।
मिति २०५६।८।१७ गते राती कोइल तेली (गुप्ता), बिनोद कुमार यादव, जाहिद बन्जारा मुसलमान, इस्माइल बन्जारा र म तथा भारतीय ढाडी भन्ने व्यक्ति वासिठ अली मुसलमान समेतका जना ७ भै पूर्व सरसल्लाह अनुसार साथमा कट्टा बन्दुक गोली डण्डा समेत लिइ राती अं.११:३० बजेको समयमा मैनहीया गा.वि.स.वडा नं.४ बस्ने रामभजन वनियाको रु.२९८७०।– ऐ. बस्ने रामगोपाल त्रिपाठीको रु.७४०५।– ऐ बस्ने घरभजन हरिजनको रु.५६५०।– र ऐ. बस्ने श्रीपत यादवको रु.१०,१२०।– बराबर को धनमाल डाँका गरी सो वारदातमा जाहेरवाला मध्येको श्रीपत यादव, रामगोपाल त्रिपाठी, राभजन बनियाँ समेतलाई कुटपीट गरी घाइते बनाई गएको हो । म मिति २०५६।८।१८ गते जि रु मैनहियागा. वि.स.वडा नं.४ मा डकैत गरेको धनमालमध्ये मेरो भागमा परेको धनमाल समेत लिइ जाँदै गरेको अवस्थामा जिल्ला रुपन्देही सि.न.पा वडा.नं १२/१३ स्थित नया चौराहामा कटृा बन्दुक तथा गोली थान ३ समेत साथमा फेला पारी मलाई दाखिल गरेका हुन भन्ने समेत व्यहोराको प्रतिवादी नियामुल बन्जारा मुसलमानले अधिकारप्राप्त अधिकारी समक्ष गरेको बयान ।
जिल्ला रूपन्देही वोदवार गा.वि.स. वडा.नं. ९ बस्ने लैतुन निस्सा मुसलमानको घर जि. रूपन्देही छौटकी रामनगर गा.वि.स.वडा न.२ बस्ने त्रिवेणी तेलीको घर, जिल्ला रूपन्देही धक्धई गा.वि.स.वडा.नं. ४ बस्ने पल्टु यादवको घर समेत खानतलासी गर्दा अपराधसँग प्रमाण लाग्ने कुनै पनि चिजवस्तु फेला नपरेको भन्ने छुटृा–छुटै खानतलासी मुचुल्का ।
प्रतिवादी नियामुल बन्जारा मुसलमानको साथबाट फेला परि बरामद भएको सामान मध्ये यो हरियो भुइमा रातो बुट्टा भएको साडी थान १ मेरो हो, रातो भुईमा पहेंलो रिेसावाला बुट्टा भएको साडी थान १ र कानमा लगाउने गिल्टी जस्तो देखिने चाँदीको झुम्कावाला टप थान १ पनि मेरो हो भनी बिमला देवी बानियाँले गरेको सनाखत कागज ।
मिति २०५६।८।१७ गते मसँगै डाँका गर्ने व्यक्तिहरू मध्ये बिनोद कुमार यादव र कोइल तेली भन्ने व्यक्ति यिनै हुन् भन्ने प्रतिवादी नियामुल बन्जारा मुसलमानले गरि दिएको सनाखत कागज ।
हाम्रो साथी नियामुल बन्जारा मुसलमान, जाहिद बन्जारा मुसलमान, इस्माइल बन्जारा, भारतीय ढाडी भन्ने व्यक्ति वासिद अली मुसलमान र म कोइल तेली तथा म बिनोद कुमार यादव समेतका जना ७ भई पूर्व सरसल्लाह अनुसार मिति ०५६।८।१७ का दिन रामभजन बानियाँको रु.२९८७०।– रामगोपाल त्रिपाठीको रु.७४०५।–घरभरण हरिजनको रु.५६५०।– र श्रीपत यादवको रु.१०,१२०।–समेतको जम्मा बिगो रु.५३०४५।– चोरी गरेको हो । वारदातको समयमा जाहेरवालाहरूलाई लाठी डण्डा समेतले कुटपीट गरि घाइते बनाएका हौ । डाँका गरि ल्याएको धनमाल मध्ये म बिनोद कुमार यादवको भागमा नगद रु.४००।– पाएको थिए । हाल मासी सके र म कोइल तेलीको भागमा नगद रु.३००।– पाएको थिए । सो रकम खाई मासी सके । वारदातको समयमा नियामुल बन्जाराको साथमा कटृा बन्दुक थियो । हामीहरूको साथमा लाठी डण्डा थियो भन्ने समेत व्यहोराको प्रतिवादी कोइल तेली(गुप्ता) र बिनोद कुमार यादव समेतले गरेको एकै मिलानको छुट्टा–छुट्टै बयान कागज ।
मिति २०५६।८।१७ गते राती अ. ११.३० बजेको समयमा प्रविादी नियामुल बन्जारा मुसलमान, बिनोद कुमार यादव, कोइल तेली र हाल सम्म फरार रहेका जाहिद बन्जारा मुसलामान, इस्माइल बन्जारा, वासीठ अली मुसलमान, ढाडी भन्ने व्यक्ति समेतका जना छ ले जाहेरवालाहरूको जाहेरीमा उल्लेख भए अनुसारको बिगो रु.५३०४०।– वरावरको धनमाल डाँका गरी लिइ जाँदाका अवस्थामा साथमा ल्याएको कटृा बन्दुक फायर गरी लाठि डण्डा समेतले कुटपीट गरि घाइते बनाई सामान लिई भागी गएका हुन् । निजहरूले उक्त डाँका वारदात गरेकोमा पूर्ण विश्वास लाग्छ भन्ने समेत व्यहोराको सन्तराम जयसवाल समेतले लेखाई दिएको वस्तुस्थिति मुचुल्का ।
जाहेरीमा उल्लेखित धनमाल डाँका गरि लगेको सप्रमाण पुष्टी भएबाट प्रतिवादी नियामुल बन्जारा मुसलमान, इस्माइल बन्जारा मुसलमान, बिनोद यादव, जाहिद बन्जारा र कोइल तेली मुलुकी ऐन चोरीको महलको १ नं. र ६ नं.को कसूर अपराध गरेको देखिँदा निजहरूलाई मुलुकी ऐन, चोरीको महलको १४(४) नं. बमोजिम सजाय गरी पाउँ र बिगो रु.५२३२५।–सम्पूर्ण प्रतिवादीहरूबाट जाहेरवालाहरूलाई मुलुकी ऐन, चोरीको १०(३) नं. र २१ नं. बमोजिम दिलाई भराई पाउँ भन्ने समेत व्यहोराको अभियोग पत्र ।
म धक्धईमा निर्माणाधीन रहेको नालिनी इलेक्ट्राड प्रा.लि.मा काम गर्ने हुँदा उक्त मिति २०५६।८।१७ र २०५६।८।१८ गते समेत ढलानको काम भईरहेको थियो र उक्त दिन र रात म छिपागढ गा.वि.स.मौजा भैरहवा बस्ने सलिम देवान र आनन्दवन गा.वि.स मणिग्राम बस्ने कृष्ण सापकोटाको साथमा सो कम्पनीमा रहेको बसेको थिए । मैले कुनै डाँका गरेको होइन । जाहेरवालाहरूलाई के कसरी चोटपटक लाग्न गएको हो मलाई थाहा छैन । प्रहरी कर्मचारीले आफू खुशी बयान व्यहोरा लेखी, पढी बाँची नसुनाई कुटपीट गरी सहीछाप गराएका हुन् । उक्त बयान व्यहोरा मेरो राजीखुशीको होइन । मैले कुनै अपराध नगरेको हुँदा अभियोग दावीबाट सफाइ पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी बिनोद कुमार अहिले शुरु अदालतमा गरेको बयान ।
मेरो खास नाम जय प्रकाश तेली हो । २०५६।८।१७ गतेको राती र दिनमा म आफनै घरमा बसेको थिए । जाहेरवाला रामभजन समेतका व्यक्तीलाई मैले चिन्दिन । मैले जाहेरी बमोजिमको कुनै कार्य डाँका समेत गरेको छैन् । किन मेरो नाम समेत जाहेरीमा किटानी पर्यो सो समेत मलाई थाहा छैन् । जाहेरवालाको घरमा कसले डाँका गरे मलाई थाहा छैन् । मैले डाँका गरेको छैन् । मैले कुनै गल्ती नगरकोले अभियोग दावी बमोजि सजाय हुनु पर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादी कोइल तेली (गुप्ता) ले शुरू अदालतमा गरेको बयान ।
जाहेरवालाहरूलाई मैले चिनेको पनि छैन र जाहेरी बमोजिमको जाहेरवालाहरूको बिगो रु.५३०४५।– बराबरको धनमाल मैले लुटपीट गरेको होइन । मेरो उपरमा जाहेरवालाहरूले किन किटानी जाहेरी दिए म केही भन्न सक्दिन । जाहेरवालाहरूको घरमा कस्ले डाँका गरे म भन्न सक्दिन । वारदातको समयमा म भारतमा छु । मैले अभियोग दावी बमोजिमको कुनै कार्य नगरेको हुँदा अभियोग दावी बमोजिम सजाय हुनु पर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादी नियामुल बन्जारा मुसलमानले शुरु अदालतमा गरेको बयान ।
म ०५५।५।१० गते बम्बई गएको र ०५७ साल चैत्र महिनामा मात्र घरमा आएको हुँ । गते याद भएन । श्रीपत यादव, रामभजन बनिया, रामगोपाल समेतलाई चिन्दिन । म समेत भई उक्त मितिमा डाँका गर्न गएको होईन । जाहेरवालाको घरमा कसले डाँका गरे मैले भन्न सक्दिन । म घरमा नै नभएको हुँदा जानकारी छैन । निज नियामुलसँग मेरो झै–झगडा भएको हुँदा सोही रिसइवीको कारणले मलाई फसाउन पोल गरेका हुन् । जाहेरवालाको जाहेरीमा उल्लेख भएको समयमा मैले डाँका गरेको होइन । कसले डाँका गरे मलाई थाहा छैन । उक्त अभियोग माग दावी झुठ्ठा हो । मैले कुनै अपराध कसूर गरेको छैन । अभियोग मागदावीबाट फुर्सद पाउँ भन्ने प्रतिवादी जाहिदखान बन्जारा मुसलमानले शुरू अदालतमा गरेको बयान ।
आदेशानुसार जाहेरवाला रामगोपाल त्रिपाठी, श्रीपत यादव, रामभजन बनियाँ र प्रतिवादीका साक्षी मुन्सीराजा मिया, समुला पठान, सलिम देवान समेतको वकपत्र भै मिसिल सामेल रहेछ ।
फरार रहेका प्रतिवादी इसमाइल बन्जाराको हकमा अ.वं.१९० नं.बमोजिम मुल्तवी रहने, प्रतिवादी नियामुल बन्जाराबाट डाँका गरि लगेको सामान बरामद भएको र सो सामानलाई जाहेरवालाहरूले सनाखत गरिदिएको तथा अन्य प्रतिवादीहरू अधिकार प्राप्त अधिकारी समक्ष डाँका गरेकोमा साविती भै बयान गरेको र प्रतिवादी नियामुल बन्जाराले अन्य प्रतिवादीहरूलाई पोल समेत गरेको साथै निजहरूले सो वारदातमा आफू नभएको कुनै ठोस प्रमाण पेश गर्न सकेको नदेखिँदा वादी दावी बमोजिम प्रतिवादीहरूले कसूर गरेको ठहर्छ । प्रतिवादी नियामुल बन्जारा मुसलमान, कोइल तेली, विनोद कुमार यादव र जाहिद बन्जारालाई मुलुकी ऐन, चोरीको महलको १४ (४) नं. बमोजिम ६।६ वर्ष कैद र बिगो रु.५२,३२५।– को डेढी जरीवाना हुने ठहर्छ भन्ने समेत व्यहोराको रूपन्देही जिल्ला अदालतको मिति २०६०।३।१८को फैसला ।
जाहेरवालाहरूले डाँका वारदातमा मेरो उपस्थिती नभएको व्यहोरा व्यक्त गरेका, मैले अदालतमा बयान गर्दा डाँका वारदातमा संलग्न नभएको सत्य साँचो व्यहोरा बयान गरेको र उक्त बयान मेरो साक्षीको वकपत्र समेतबाट समर्थित भएको, साथै नियामुल बन्जाराबाट बरामद भएको भनिएको सामान र निजको अधिकारप्राप्त अधिकारी समक्ष भएको बयान मेरो विरुद्ध प्रमाणमा लिन नमिल्ने हुँदा मलाई सजाय गर्ने गरेको शुरु रुपन्देही जिल्ला अदालतको मिति ०६०।३।१८को फैसला त्रुटीपूर्ण हुँदा उल्टी गरी अभियोग दावीबाट सफाई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी जाहिद बन्जाराको पुनरावेदन पत्र ।
आफूखुशी बयान लेखी, पढी बाची नसुनाई, सहिछाप गराएको अधिकार प्राप्त अधिकारी समक्ष भएको बयानलाई साविती बयान भन्न नमिल्ने र अन्य कुनै कागज प्रमाणबाट पुष्टी हुन नसकेको अवस्थामा उक्त सावितीलाई प्रमाणको रुपमा लिन मिल्दैन । नियामुल बन्जारा समेतका व्यक्तिहरूले अदालतमा बयान गर्दा मैले डाँका वारदात गरेको हो भन्ने कुरा उल्लेख गर्न नसकेबाट नियामुल बन्जाराबाट वरामद भएको भनिएको सामान र निजको अधिकारप्राप्त अधिकारी समक्ष भएको बयान मेरो विरुद्धमा प्रमाणमा लिन नमिल्ने हुँदा रूपन्देही जिल्ला अदालतबाट मलाई सजाय गर्ने गरी भएको फैसला त्रुटीपूर्ण हुँदा उल्टी गरी अभियोग दावीबाट सफाइ पाउँ भन्ने समेत व्यहोराको बिनोद कुमार यादव(अहिर) को पुनरावेदन पत्र ।
अधिकारप्राप्त अधिकारी समक्ष आफूखुशी बयान व्यहोरा लेखी कुटपीट गरी सहीछाप गराएको र उक्त अधिकार प्राप्त अधिकारी समक्ष भएको बयानलाई अन्य कुनै कागज प्रमाणबाट पुष्टी हुन नसकेको अवस्थामा प्रमाणको रूपमा लिन मिल्दैन । नियामुल बन्जारा समेतका व्यक्तिले अदालतमा बयान गर्दा मैले डाँका वारदात गरेको हो भन्ने कुनै कुरा उल्लेख गर्न नसकेबाट नियामुल बन्जाराबाट बरामद भएको भनिएको सामान र निजको अधिकारप्राप्त अधिकारी समक्ष भएको बयान मेरो विरुद्ध प्रमाणमा लिन नमिल्ने हुँदा मलाई सजाय गर्ने गरी भएको शुरु रुपन्देही जिल्ला अदालतको त्रुटीपूर्ण फैसला उल्टी गरि अभियोग दावीबाट सफाइ पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी जय प्रकाश गुप्ताको पुनरावेदन पत्र ।
जाहेरवालाहरूले मेरो यो यति सामान बरामद भएको हो भन्ने कुरा वकपत्रमा उल्लेख नगरेको हुँदा प्रहरी कार्यालयको सनाखत कागजलाई प्रमाणमा लिन मिल्दैन । अदालतमा आई वकपत्र गर्ने रामभजन बनियाँले कसैलाई चिन्दैन भनी वकपत्र गरेका छन । अरु जाहेरवालाहरूको जाहेरी दरखास्त र अदालतमा गरेको वकपत्रमा भिन्नता भएको अवस्थामा प्रमाणमा लिन नमिल्ने भन्ने नजिर समेत प्रतिपादन भएको अवस्थामा मलाई डाँका गरेको ठहर्याई भएको शुरु रुपन्देही जिल्ला अदालतको फैसला त्रुटीपूर्ण हुदा उल्टी गरी अभियोग दावीबाट सफाइ पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी नियामुल बन्जाराको पुनरावेदन पत्र ।
प्रतिवादीहरूले जम्मा रु.५३,०४५।– बराबरको धनमाल डाँका गरि लगेको भन्ने जाहेरी दरखास्त परेको र प्रतिवादीहरू उपर मुलुकी ऐन चोरीको महलको १ नं र ६ नं.को कसूरमा ऐ. को १४(४) नं. बमोजिम सजाय गरी जाहेरवालाहरूको चोरी भएको मध्येको बरामद बिगो रु.७२०।– र सो कटाई नपुग बिगो रु.५२,३२५।– चोरीको महलको १०(३) नं. र २१ नं. बमोजिम प्रतिवादीहरूबाट दिलाई भराई पाउँ भन्ने अभियोग माग दावी भएकोमा शुरुको फैसलामा प्रतिवादीहरूलाई माग दावी बमोजिम ६।६ वर्ष कैद र बिगो रु ५२,३२५। को डेढी जरीवाना हुने ठहरी फैसला भएको छ । बरामद बिगोलाई जोडी सजाय गर्नु पर्नेमा सो नगरेको हदसम्मको शुरु फेसला नमिलेकोले सो हदसम्म उल्टी गरी अभियोग माग दावी बमोजिम प्रतिवादीहरूलाई बिगोको डेडी सजाय समेत गरी पाउँ भन्ने समेत व्यहोराको वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन अदालत बुटवलमा परेको पुनरावेदन पत्र ।
सबै प्रतिवादीहरूले अदालतमा इन्कारी बयान गरेको तथा प्रतिवादी नियामुल बन्जाराको झोलाबाट मात्र केही हतियारहरू बरामद भएकोलाई निज नियामुलले इन्कार गरेकोमा वरामदी मुचुल्काका मानिसहरूको अदालतमा वकपत्र नभएको अवस्थामा आफु वेकसूर भएको ठोस प्रमाण प्रतिवादीहरूले प्रस्तुत गर्न नसकेको भनी न्यायिक सिद्धान्तको विपरीत तर्क लगाई प्रतिवादीहरूलाई कसूरदार ठहर्याई रुपन्देही जिल्ला अदालतले गरेको फैसला फरक पर्न सक्ने देखिएकोले प्रतिवादीहरूबाट परेको पुनरावेदनको जानकारी अ.वं.२०२ नं. अनुसार पुनरावेदन सरकारी वकील कार्यालय बुटवल र वादी तर्फबाट परेको पुनरावेदनको जानकारी सोही अनुसार प्रतिवादीहरू रहेको कारागार मार्फत पठाई नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालत बुटवलको मिति ०६०।१२।८ को आदेश ।
प्रतिवादी नियामुल बन्जाराको डाँका वारदातमा संलग्नता रहेको विवाद रहित रुपमा पुष्टी हुँदा निजलाई शुरु रुपन्देही जिल्ला अदालतबाट ठहर गरेको निर्णय सदर हुने ठर्हछ र अन्य पुनरावेदक प्रतिवादीहरू जयप्रकाश गुप्ता तेली, विनोद कुमार यादव (अहिर) र जाहिद बन्जारा मुसलमानको हकमा पोल बाहेक अन्य तथ्ययुक्त प्रमाणको अभाव भै दावी प्रमाणित गर्न वादी पक्षले आफनो दायित्व निर्वाह गर्न नसकेको हुँदा अभियोग दावीबाट सफाइ पाउने र प्रतिवादी नियामुलका हकमा वादी नेपाल सरकारको पुनरावेदन जिकिर अनुरुप रु.५३,०४५।–को डेढी जरीवाना सजाय हुने हुँदा शुरू रूपन्देही जिल्ला अदालतको मिति २०६०।३।१८को फैसला केही उल्टी हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत बुटवलको मिति ०६१।३।१६ को फैसला ।
बरामदी मुचुल्का पछि जाहेरी दरखास्त परेको छ । जाहेरवालाले आफ्नो के कति सामान बरामद भएको हो भन्ने बकपत्रमा खुलाउन सकेका छैनन् । प्रहरीको सनाखत कागज र विवादास्पद बरामदी मुचुल्काका आधारमात्र सजाय गर्ने गरेको फैसला त्रुटीपूर्ण छ । मलाई पक्राउ गरेपछि जाहेरी दरखास्तमा मेरो नाम समावेश भएको, बरामद भएका भनिएका सामान मबाट बरामद नभएको र बरामदी मुचुल्काका मानिसहरूको अदालतमा बकपत्र नभएको समेतका आधारमा जिल्ला अदालतबाट भएको फैसला सदर हुने ठहर्याएको पुनरावेदन अदालत बुटवलको फैसला त्रुटीपूर्ण हुँदा उल्टी गरी अभियोग मागदावी सफाइ पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी नियामुल बन्जाराको पुनरावेदन पत्र ।
प्रतिवादीहरू मध्येका जाहिद बन्जारा मुसलमान, कोइल तेली भन्ने जयप्रकाश गुप्ता र बिनोद कुमार यादवलाई सफाइ दिने ठहर्याएको हदसम्मको पुनरावेदन अदालत वुटवलको फैसलामा चित्त बुझेन । प्रतिवादी नियामुल बन्जाराले डाँका गरेको कसूर ठहरी अभियोग दावी बमोजिम सजाय समेत हुने ठहर्याएको अवस्थामा यी प्रतिवादीहरू उपरको निजको पोललाई प्रमाणमा लिनु पर्ने हुन्छ । निजको पोल बयानबाट खुलेका अन्य प्रतिवादीको सलंग्नताबारे पुरापुर मुल्यांकन गरिएको छैन । प्रतिवादीहरू मध्येका बिनोद यादव र जय प्रकाशले सावित भई गरेको बयानलाई समेत प्रमाणमा नलिई निजहरूलाई सफाइ दिने गरेको फैसला त्रुटीपूर्ण छ । विरुद्ध खण्डका प्रतिवादीहरूलाई सफाइ दिने हदसम्मको फैसला बदर गरी अभियोग दावी बमोजिम सजाय गर्ने गरेको शुरू जिल्ला अदालतको फैसला सदर कायम गरी जाहेरवालाको बिगो समेत दिलाई भराई पाउँ भन्ने समेत व्यहोराको वादी नेपाल सरकारको पुनरावेदन पत्र ।
यसमा रामभजन बानियाँ, रामगोपाल त्रिपाठी, श्रीपत यादव र घरभजन हरिजन समेतको संयुक्त जोहरी परेको र निजहरूले अदालतमा बकपत्र गर्दा डाँकाहरूले आफ्नो घर डकैती गरे भनी बकपत्र गरेको देखिन्छ । प्रतिवादी मध्येका नियामुल बन्जारा मुसलमानका साथबाट दशीका सामान बरामद भएको मात्र होइन मौकाको बयानमा आफूसाथ सफाइ पाएका प्रतिवादीहरू समेत भई वारदात गरे गराएको भनी बयान गरेको देखिन्छ । यसरी प्रतिवादी नियामुलले पोल गर्न पर्ने कारण समेत नदेखिएको अवस्थामा पुनरावेदन अदालतको फैसला फरक पर्न सक्ने देखिँदा छलफलको लागिअ.वं.२०२ नं. बमोजिम प्रत्यर्थी झिकाई नियमानुसार पेश गर्नु भन्ने व्यहोराको यस अदालतको मिति २०६३।३।१८को आदेश ।
२. नियम बमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढी निर्णायार्थ इजलास समक्ष पेश हुन आएको प्रस्तुत डाँका मुद्दामा पुनरावेदक वादी नेपाल सरकारका तर्फबाट उपस्थित विद्धान सह–न्यायाधिवक्ता श्री यूवराज सुवेदीले प्रतिवादीहरू जाहिद बन्जारा मुसलमान, कोइल तेली भन्ने जय प्रकाश गुप्ता र बिनोद कुमार यादव उपर सह–प्रतिवादी नियामुल बन्जाराको पोल रहेको र निज प्रतिवादीहरू अनुसन्धान अधिकारी समक्ष बयान गर्दा कसूर अपराधमा सावित भई बयान गरेको अवस्थामा निजहरूलाई सफाइ दिने गरी भएको पुनरावेदन अदालतको फैसला त्रुटीपूर्ण हुँदा सो फैसला उल्टी गरी अभियोग माग दावी बमोजिम सजाय हुनु पर्दछ भनी बहस गर्नुभयो । पुनरावेदक प्रतिवादी नियामुल बन्जाराको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री लिलामणी पौडेल एवं वैतनिक अधिवक्ता श्री हेमराज अधिकारीले वरामदी मुचुल्का विवादास्पद छ । बरामदी मुचुल्का पछि जाहेरी दरखास्त परेको छ । त्यस्तो विवादास्पद बरामदी मुचुल्का एवं जाहेरी दरखास्तको आधारमा कसूरदार कायम गर्न मिल्दैन । पाँच जना उपर डाँकामा मुद्दा परेकोमा एक जनालाई मात्र डाँकामा सजाय गर्न नमिल्ने हुँदा पुनरावेदक प्रतिवादी नियामुल बन्जारा मुरलमानले अभियोग माग दावीबाट सफाइ पाउनु पर्दछ भनी बहस गर्नुभयो ।
३. उपर्युक्त विद्वान सह–न्यायाधिवक्ता र विद्वान अधिवक्ताहरूको बहस जिकिरलाई समेत मध्यनजर गरी प्रस्तुत मुद्दामा प्रतिवादीहरू बिनोद कुमार(अहिर), कोइल तेली भन्ने जयप्रकाश गुप्ता एवं जाहिद बन्जारालाई अभियोग दावीबाट सफाइ दिने र प्रतिवादी नियामुल बन्जारालाई अभियोग दावी बमोजिम सजाय गर्ने गरी भएको पुनरावेदन अदालत बुटवलको फैसला मिले वा नमिलेको के हो ? र पुनरावेदक वादी प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने वा नसक्ने के हो ? त्यस सम्बन्धमा निर्णय दिनु पर्ने भएको छ ।
४. निर्णय तर्फ विचार गर्दा, प्रतिवादीहरू नियामुल बन्जारा मुसलमान, इस्माइल बन्जारा मुसलमान, विनोद यादव, जाहिद बन्जारा र कोइल तेलीले मिति २०५६।८।१७ गते राती जाहेरवाला रामभजन बानियाँ, रामगोपाल त्रिपाठी, घरभरन हरिजन र श्रीपत यादव समेतको घरबाट बिगो रु.५३,०४५।– बराबरको धनमाल डाँका गरी लगि मुलुकी ऐन, चोरीको महलको १ र ६ नं.को कसूर अपराध गरेको हुँदा निजहरूलाई चोरीको महलको १४(४) नं. बमोजिम सजाय समेत गरी बिगो रु.५२,३२५।–प्रतिवादीहरूबाट जाहेरवालालाई भराई पाउँ भन्ने अभियोग माग दावी भएको देखिन्छ । प्रतिवादीहरू नियामुल बन्जारा मुसलमान, कोइल तेली भन्ने जय प्रकाश तेली र बिनोद कुमार यादवले अधिकारप्राप्त अधिकारी समक्ष कसूरमा साविती भई बयान गरेकोमा अदालतमा कसूरमा इन्कार रही जाहिद बन्जारा समेतले बयान गरेको देखिन्छ । प्रतिवादीहरू नियामुल बन्जारा मुसलमान, कोइल भन्ने जय प्रकाश तेली, बिनोद कुमार यादव र जाहिद बन्जारालाई अभियोग माग दावी बमोजिम सजाय समते हुने र फरार रहेका प्रतिवादी इस्माइल बन्जाराको हकमा अ.वं.१९० नं. बमोजिम मुलतवी रहने ठहरी भएको शुरु फैसला उपर वादी प्रतिवादी दुवै पक्षको पुनरावेदन परी प्रतिवादी नियामुल बन्जाराको हकमा शुरु जिल्ला अदालतको फैसला सदर हुने र अन्य प्रतिवादीहरू जयप्रकाश तेली, बिनोदकुमार यादव र जाहिद बन्जाराले अभियोग माग दावीबाट सफाइ पाउने समेत ठहरी फैसला भएको छ । यसमा पुनरावेदन अदालत बुटवलको फैसला उपर वादी नेपाल सरकार तथा प्रतिवादी नियामुल बन्जारा मुसलमानको पुनरावेदन पर्न आएको अवस्था छ ।
५. यसमा बरामदी मुचुल्का तयार भएपछि जाहेरी परेको र जाहेरवालाले अदालतमा उपस्थित भई आफ्नो जाहेरी व्यहोरालाई समर्थित हुने गरी बकपत्र गर्न नसकेको अवस्थामा मेरा साक्षी प्रमाणको मूल्यांकन नै नगरी मलाई कसूरदार ठहर्याएको पुनरावेदन अदालत बुटवलको फैसला उल्टी गरी अभियोग माग दावीबाट सफाइ पाउँ भन्ने पुनरावेदक प्रतिवादी नियामुल बन्जाराको पुनरावेदन जिकिर तर्फ विचार गर्दा भैरहवाबाट परासी जाने बाटोमा निज प्रतिवादी नियामुल बन्जाराको साथबाट मिति २०५६।८।१८मा हातहतियार सहित अन्य सामानहरू वरामद भएको र उक्त वरामदी सामानहरू जाहेरवालालाई देखाई सनाखत गराउदा जाहेरवालाहरूले आफनो घरबाट डाँका गरी लगेका सामान हुन् भनी सनाखत गरि दिएको देखिन्छ । जाहेरवाला मध्येका रामभजन बानियाँले अदालतमा वकपत्र गर्दा थानामा आएर प्रतिवादी नियामुल बन्जारालाई चिने भनी लेखाई दिएको पाइन्छ भने अर्का जाहेरवाला रामगोपाल त्रिपाठीले अदालतमा बकपत्र गर्दा “मिति २०५६।८।१७गते राती ७/८ जना डाँकाहरू आई डकैती गर्दा डाँकाहरू मध्ये एक जना नियामुल बन्जारालाई नजिकैबाट चिने भनि” वकपत्र गरेको देखिन्छ । वारदातको अर्को दिन मिति २०५६।८।१८मा भएको घटनास्थल मुचुल्काबाट समेत जाहेरवालाहरूको घरमा डाँका वारदात भएको पुष्टि हुन आएको छ । यी प्रतिवादी नियामुल बन्जाराले मौकामा पक्राउ परी अनुसन्धान अधिकारी समक्ष बयान गर्दा कसूर अपराधमा सावित रही बयान गरेको पाइन्छ । तर, सो सावितीलाई अन्यथा प्रमाणीत गर्न सकेको देखिदैन । यी प्रतिवादीबाट वरामद वस्तुहरू निजबाटै बरामद भएका हुन् र उक्त सामानहरू जाहेरवालाहरूका हुन भनी जाहेरवालाहरूले सनाखत समेत गरी दिएको अवस्थामा ती सामानहरू आफूबाट बरामद भएका होइनन् भनी अन्यथा प्रमाणीत गर्ने भार यी प्रतिवादीमा भएकोमा सो गर्न सकेको देखिँदैन । यस स्थितिमा यी प्रतिवादीको मौकाको साविती बयान, बरामदी मुचुल्का र जाहेरवालाहरूको अदालतमा भएको वकपत्र समेतका प्रमाणबाट यी प्रतिवादी नियामुल बन्जाराको वारदातमा निजको संलग्नता पुष्टी भएको हुँदा निजलाई अभियोग माग दावी बमोजिम कसूरदार कायम गरी सजाय समेत गर्ने गरेको पुनरावेदन अदालत बुटवलको फैसला अन्यथा देखिन आएन ।
६. सहप्रतिवादीको पोल समेतलाई प्रमाणमा नलिई प्रतिवादीहरू जय प्रकाश तेली, बिनोद कुमार यादव(अहिर) जाहिद बन्जारालाई सफाइ दिने ठहर्याएको पुनरावेदन अदालत बुटवलको फैसला उपर परेको वादी नेपाल सरकारको पुनरावेदन जिकिर तर्फ विचार गर्दा, मौकामा पक्राउ परेका कोइल तेली भन्ने जय प्रकाश तेली गुप्ता र बिनोद कुमार यादव (अहिर) तथा अदालतमा उपस्थित भई बयान गर्ने जाहिद बन्जारा मुसलमानको साथबाट प्रस्तुत वारदातसँग सम्बन्धित कुनैपनि दशीको सामान वरामद हुन सकेको देखिँदैन । अदालतमा बयान गर्दा यी प्रतिवादीहरू कसूर अपराधमा पूर्ण इन्कार रही आफ्नो इन्कारी साक्षी प्रमाणबाट पुष्टि गराएको देखिन्छ । जय प्रकाश तेली गुप्ता र बिनोद कुमार यादवले अधिकारप्राप्त अधिकारी समक्ष एक अर्कालाई पोल गरी बयान गरेको देखिए पनि अदालतमा उपस्थित भई बयान गर्दा अधिकार प्राप्त अधिकारी समक्षको बयानमा प्रहरीले कुटपीट गरेकोले सही छाप गरेको हो सो बयानमा भएको व्यहोरा आफ्नो होइन भनी इन्कार गरेको देखिन्छ । अधिकारप्राप्त अधिकारी समक्षको निजहरूको साविती बयान अन्य कुनै विश्वासनीय एवं ठोस सवुद प्रमाणद्दारा समर्थित हुन सकेको पाइँदैन । जाहेरवालाहरू मध्येका रामगोपाल त्रिपाठीले प्रतिवादी नियामुल बन्जारा बाहेकका अरुलाई चिन्न सकिन भनी वकपत्र गरेका छन । त्यस्तै, अर्का जाहेरवाला रामभजन बनियाँले पनि यी प्रतिवादीहरूलाई चिने भनी भन्न सकेको देखिँदैन । जहासम्म सह–प्रतिवादीको पोललाई प्रमाणमा नलिएको भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर छ त्यस तर्फ विचार गर्दा सह प्रतिवादीको पोल आफैले स्वतन्त्र प्रमाणको स्वरुप ग्रहण गर्न सक्दैन । त्यस्तो पोल अन्य स्वतन्त्र ठोस प्रमाणबाट समर्थित हुनु पर्दछ । प्रतिवादी नियामुल बन्जारा मुसलमानले अधिकारप्राप्त अधिकारी समक्ष बयान गर्दा यी प्रतिवादीहरूलाई समेत पोल गरेको भएतापनि यी प्रतिवादीहरूको उक्त डाँका वारदातमा संलग्नता रहेको भन्ने अन्य कुनै स्वतन्त्र ठोस प्रमाणबाट वादी पक्षले दावी प्रमाणित गर्नु पर्नेमा सो अनुरुप प्रमाण्द्दारा पुष्टि गर्न सकेको पाईदैन । प्रमाण ऐन, २०३१ को दफा २५मा फौजदारी मुद्दामा अभियुक्तको कसूर प्रमाणीत गर्ने भार वादीको हुने छ भनी स्पष्ट रुपमा कानूनी प्रावधान भएको अवस्थामा यी प्रतिवादीहरूको डाँका वारदातमा संलग्नता छ भन्ने कुरालाई शंकारहित तवरले पुष्टि गर्ने किसिमका तथ्ययुक्त ठोस एवं सवुद प्रमाण वादी पक्षले प्रस्तुत गर्न नसकेको अवस्थामा केवल सह–अभियुक्तकै पोलको भरमा मात्र कसूरदार कायम गर्न न्यायोचित हुन आउँदैन । फौजदारी मुद्दामा समग्रतामा मुल्यांकन गरेर कसूरदार कायम गर्ने भन्दा पनि तथ्युक्त ठोस सवुद प्रमाणले प्रधानता पाउँदछ । तसर्थ प्रतिवादीहरू मध्येका कोइल तेली भन्ने जयप्रकाश तेली गुप्ता, बिनोद कुमार यादव (अहिर) र जाहिद बन्जारा मुसलमान प्रस्तुत डाँका वारदातमा संलग्न नरहेको ठहराई सफाइ दिने ठहर्याएको पुनरावेदन अदालत बुटवलको फैसला कानून र न्यायसम्मत नै पाईएको छ ।
७. पुनरावेदक प्रतिवादी तर्फका विद्वान कानून व्यवसायीहरूले ५/६ जना उपर अभियोग दावी भएकोमा एक जनालाई मात्र डाँका कसूर कायम गरी सजाय गर्न मिल्दैन भनी बहसको क्रममा लिएको जिकिर तर्फ विचार गर्दा, मुलुकी ऐन, चोरीको महलको ६ नं.ले डाँका वारदात कायम हुनको लागि ४ जना भन्दा बढीको जमात भई जबरजस्ती वा रहजनीको रितसँग वा हात हतियार लिई उठाई छाडी वा हुलहुज्जत गरी चोरी गरेको हुनुपर्ने भनी डाँका वारदात कायम हुनका लागि आवश्यक पर्ने तत्वहरू तोकेको देखिन्छ । वारदातको प्रकृति, त्यसमा अभियुक्तको संख्यात्मक उपस्थिति डाँका वारदातको पुष्टिको लागि आवश्यक तत्व हुन् । डाँका वारदात स्थापित भईसकेको अवस्थामा ४ जना भन्दा कम व्यक्तिलाई पनि डाँका कसूरमा सजाय गर्ने मिल्ने भन्ने सन्दर्भमा यस अदालतबाट प्रतिवादी रामेश्वर दुवे बाहुन समेत विरुद्ध नेपाल सरकार भएको (ने.का.प.२०४५, अंक १२, नि.नं.३६६३, पृष्ठ १२३०), प्रतिवादी जाकिर खाँ विरुद्ध नेपाल सरकार (ने.का.प.२०४७, अंक १, नि.नं.४०५९, पृष्ठ ९३) प्रतिवादी जवाहिर सातुराहा विरुद्ध नेपाल सरकार (ने.का.प.२०४०, अंक १, पृष्ठ ७ नि.नं.१६१४) को डाँका मुद्दामा नजिर सिद्धान्त प्रतिपादित भई सकेको छ । यस प्रकार ५।६ जना भन्दा बढी अभियुक्तहरू उपर अभियोग दावी भएको र एक जनालाई मात्र डाँका कसूर कायम गर्न मिल्दैन भन्ने बहस जिकिरसँग सहमत हुन सकिएन ।
७. तसर्थ, प्रतिवादी नियामुल बन्जाराको डाँका वारदातमा संलग्नता रहेको विवाद रहित रूपमा पुष्टि हुन आएकोले निजलाई अभियोग माग दावी बमोजिम सजाय हुने ठहर्याएको शुरू रुपन्देही जिल्ला अदालतको फैसला सदर हुने ठहर्याएको र अन्य प्रतिवादी कोइल तेली भन्ने जयप्रकाश तेली गुप्ता, विनोद कुमार यादव (अहिर) र जाहिद बन्जारा मुसलमानको हकमा सह–प्रतिवादीको पोल बाहेक अन्य तथ्ययुक्त ठोस प्रमाणको अभावमा अभियोग माग दावीबाट सफाइ पाउने र प्रतिवादी नियामुल बन्जारालाई अभियोग मागदावी बमोजिम बिगोको डेडी सजाय हुने ठहर्याएको पुनरावेदन अदालत बुटवलको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । वादी नेपाल सरकार तथा प्रतिवादी नियामुल बन्जाराको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत फैसलाको जानकारी महान्यायाधिवक्ताको कार्यालय तथा थुनामा रहेको पुनरावेदक प्रतिवादी नियामुल बन्जारा मुसलमानलाई दिई प्रस्तुत मुद्दाको दायरीको लगत काटी मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु
न्या. राजेन्द्रप्रसाद कोइराला
फैसला तयार गर्नेः शा.अ. भद्रकाली पोखरेल
इति सम्वत २०६४साल कार्तिक १८ गते रोज १ शुभम––