निर्णय नं. ७९०८ - कर्तव्य ज्यान

निर्णय नं.७९०८ ने.का.प. २०६४ अङ्क १२
सर्वोच्च अदालत, संयुक्त इजलास
सम्माननीय प्रधान न्यायाधीश श्री केदारप्रसाद गिरी
माननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाह
सम्वत् ०६३ सालको फौ.सा.नं. ०६३–CR–००३६
फैसला मितिः २०६४।९।६।६
मुद्दाः कर्तव्य ज्यान ।
वादीः शिवनारायण साह कलवारको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रतिवादीः बारा जिल्ला भवानीपुर गा.वि.स. वडा नं. ३ बस्ने मालतीदेवी कलवार
अघि फैसला गर्नेः
मा.जि.न्या. श्री प्रेमबहादुर के.सी.
पुनरावेदन अदालत हेटौंडाः
मा.न्या. श्री पुरुषोत्तमप्रसाद पराजुली
मा.न्या. श्री विनोदप्रसाद ढुंगेल
§ Viscera को रिपोर्ट समेत लिई सम्बन्धित चिकित्सकद्धारा मृत्युको कारण पहिचान गरिएको विषयलाई शव परीक्षण प्रतिवेदनमा उल्लेख भएको प्रारम्भिक विवरणात्मक प्रस्तुतीले अन्यथा गर्न सक्ने अवस्था नहुने ।
§ शव परीक्षण प्रतिवेदन (Autopsy Report) स्वयं पूर्ण नरहेको र निष्कर्षमा पुग्नका लागि Viscera परीक्षण अनिवार्य रहेको कुरा मिसिल संलग्न Autopsy Report को अध्ययनबाट देखिन्छ । त्यस्तो अपूर्ण Autopsy Report मा रहेका केही विवरणहरुलाई नै मृत्युको कारणका रुपमा लिन मिल्ने अवस्था हुँदैन र यस्ता नितान्त प्राविधिक विषयमा मनोगत रुपमा भन्दा विशेषज्ञको रायका आधारमा निष्कर्षमा पुग्नुपर्ने।
(प्रकरण नं.२०)
§ साक्षीका शंकास्पद कथन र अपुष्ट परिस्थितिजन्य प्रमाणलाई आधार मानेर कसैलाई दोषी ठहर गर्न मिल्दैन, त्यसो गर्नु कानून र न्यायका मान्य सिद्धान्त विपरीत हुन जाने ।
(प्रकरण नं.२१)
§ मौखिक प्रमाण प्रत्यक्ष हुनुपर्छ, अर्थात् देख्न, सुन्न वा कुनै इन्द्रियको सहायताले थाहा पाउन सकिने कुनै कुरालाई प्रमाणमा दिन खोजिएको भए, सो कुरा प्रत्यक्ष देख्ने, सुन्ने वा थाहा पाउने व्यक्तिले त्यस सम्बन्धमा मौखिक प्रमाण दिएको हुनुपर्छ भन्ने प्रमाण ऐन, २०३१ को दफा ३७(२) को प्राबधानका आधारमा पनि त्यस्ता अस्पष्ट र अनिश्चयात्मक कथनलाई कसूरदार ठहर्याउने आधार बनाउन नमिल्ने ।
§ परिस्थितिजन्य प्रमाण जहिले पनि प्रत्यक्ष हुनपर्छ, अनुमानबाट समर्थित हुने विषय होइन। के कस्तो परिस्थितिजन्य प्रमाण हो भन्ने कुरा स्पष्ट रुपमा खुलाउनु पर्छ, घटनासँग सम्बन्धित विभिन्न कडीहरु मालाकार रुपमा एक अर्कोसँग जोडिएको र त्यसबाट परिणामको स्वाभाविक निष्कर्ष आउनु पर्ने ।
§ शवपरीक्षण गर्ने विशेषज्ञले मृत्युको कारणमा Asphyxia due to hanging भन्ने राय दिएको अवस्थामा मृतक झुण्डी मरेको भन्ने परिस्थिति बाहेक अन्य स्थितिको कल्पना गरी कुनै प्रत्यक्ष र अकाट्य प्रमाणको अभावमा दोषी ठहर गर्न प्रमाण सम्बन्धी कानून र न्यायका मान्य सिद्धान्त प्रतिकूल हुन जाने ।
(प्रकरण नं.२२)
वादी तर्फबाट :
प्रतिवादी तर्फबाट :
अवलम्वित नजीरः
फैसला
न्या. रामकुमारप्रसाद शाहः न्याय प्रशासन ऐन, २०४८ को दफा १०(२) अनुसार साधक जाहेर भै यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः
२. मिति २०५९।७।७ गते जिल्ला बारा, गा.वि.स. भवानीपुर जितपुर वार्ड नं. ३ स्थित ओगिन्दर साह कलवारको घर आँगनमा निजकै बुहारी मृतक निलमदेवी कलवारको लाश रहेको, उक्त लाश हेर्दा गालामा १।१ इन्चको ३ वटा डाम रहेको, घाँटीमा डोरीको डाम देखिएको, तिघ्रामा घाउ रहेको भन्ने समेत व्यहोराको घटनास्थल लाश प्रकृति मुचुल्का ।
३. आज भन्दा डेढवर्ष पहिला आफ्नो कान्छी छोरी निलमकुमारीको विवाह जातीय परम्परा अनुसार ओगिन्दर साह कलवारको कान्छो छोरा रामेश्वर साह कलवारसँग गरी निजहरु दाम्पत्य जीवन बिताउँदै आएकोमा मिति २०५९।७।७ गते छोरीको घरबाट तपाईको छोरीको मृत्यु भएको छ आउनुस् भनी भनेकाले आई हेर्दा छोरीको अनुहारमा अलग अलग ३ ठाउँमा डाम रहेको, कपालमा धुलो लागेको, घाँटीमा डोरीको डाम रहेको, तिघ्रा समेतमा घाउ देखिँदा निज छोरीलाई निजको पति रामेश्वर साह कलवार, सासु मालतीदेवी, जेठाजु अंगद साह तथा भरत साह समेत मिली कर्तव्य गरी मारेको बुझिन आएकोले निजहरुलाई पक्राउ गरी कानून बमोजिम कारवाही गरिपाऊँ भन्ने समेत व्यहोराको शिवनारायण साह कलवारको जाहेरी दरखास्त ।
४. मिति २०५९।७।७ गते बिहान झुण्डिएर बुहारी निलमदेवी कलवारको मृत्यु भएको हो । हामीहरुले कर्तव्य गरी मारेको होइन । निजको शरीरमा निलडाम कसरी भयो मलाई थाहा छैन भन्ने समेत व्यहोराको प्रतिवादी मालतीदेवी कलवारले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान ।
५. मिति २०५९।७।७ गते मृतक निलमदेवी कलवारको मृतक लाश हेर्दा निजको शरीरमा विभिन्न ठाउँमा निलडाम, घाउ तथा घाँटीमा डोरीको डाम देखिएको थियो, निजलाई जाहेरीमा उल्लेखित मालतीदेवी कलवार समेतका प्रतिवादीहरुले मिली कर्तव्य गरी मारेकोमा हामीलाई पुर्णविश्वास छ भन्ने समेत व्यहोराको एकै मिलानको सुखाडी मियाँ समेतले गरिदिएको वस्तुस्थिति मुचुल्का ।
६. मेरो छोरीलाई थप दाइजो मागेकोमा ज्वाईं रामेश्वर साहलाई मैले नदिएको कारण सबै घर परिवारहरु मिली कर्तव्य गरी मारेको हुनु पर्दछ भन्ने समेत व्यहोराको शिवनारायण साह कलवारले अधिकार प्राप्त अधिकारी समक्ष गरेको कागज ।
७. प्रतिवादी मालतीदेवीले आफ्नो बयानमा आफै झुण्डिई मरेकी भनी जिकिर लिएको भएतापनि निजको उक्त जिकिर कसूरबाट बच्न गरेकी हुन् भन्ने व्यहोराको देख्ने बुझ्ने व्यक्तिहरुको कागज मृतकको शरीरमा रहेको चोटपटकका डामबाट पुष्टि हुन आएको देखिन्छ । तसर्थ सबै प्रतिवादीहरु मिली मृतकलाई कुटपीट गरी डोरीले घाँटी कसी श्वासप्रश्वास क्रियामा अवरोध उत्पन्न गराई कर्तव्य गरी मारेको देखिँदा प्रतिवादीहरुको उक्त कार्य मुलुकी ऐन ज्यान सम्बन्धी महलको १ नं. बमोजिमको कसूर अपराध देखिन आएकाले फरार रहेका प्रतिवादीहरु अंगद साह, रामेश्वर साह र भरत साह कलवारको नाउँमा वारेण्ट सहितको म्यादी पूर्जी जारी गरी झिकाई प्रतिवादीहरु मालतीदेवी कलवार, रामेश्वर साह कलवार, अंगद साह कलवार तथा भरत साह कलवारलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३ को (३) नं. बमोजिम सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको अभियोग पत्र ।
८. मिति २०५९।७।७ गतेका दिन रामेश्वर साह कलवार घरमा थिएनन्, अंगद साह कलवार घरमै थिए, म र बुहारी निलम मात्र घरमा थियौं । निलमदेवी खपडाको घरको कडीमा रस्सी लगाई घाँटीमा वाँधी आफ्नै घरको भित्र आफैं मरेकी हुन्, हामीले कर्तव्य गरी मारेको होइन छैन, जाहेरी व्यहोरा समेत झुठ्ठा हो, अभियोग दावी बमोजिम मैले कसूर गरेको छैन, कसूर गरेको नहुँदा सफाई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी मालतीदेवी कलवारले शुरु अदालतमा गरेको बयान ।
९. २०५९।८।३ गतेको कागज र सहीछाप देखाउँदा देखें सुनें, सो कागजमा लेखिएको व्यहोरा मैले भने बमोजिम लेखिएको हो, सहीछाप मेरो हो । मैले थाहा पाए अनुसार मृतक झुण्डिएर मरेकी हुन् भन्ने समेत व्यहोराको सरकारी साक्षी सुखाडी मियाले शुरु अदालतमा गरेको बकपत्र ।
१०. मिति २०५९।७।७ गते मालतीदेवीकी बुहारी निलमदेवी झुण्डिएर मरेको भनी भनेको सुन्यौं देख्यौं । मृतकको पिताले निलमलाई निजको सासु, लोग्ने, जेठाजु समेत भई घाँटी थिची मारे भन्ने व्यहोराको जाहेरी दरखास्त व्यहोरा झुठ्ठा हो भन्ने समेत व्यहोराको प्रतिवादी मालतीदेवीका साक्षी राजकुमार साह कलवारले शुरु अदालतमा गरेको बकपत्र ।
११. जाहेरी दरखास्त व्यहोरा र सो मा परेको ल्याप्चे छाप मेरो हो । मृतक निलमदेवी मेरी छोरी हुन् । निजको विवाह आजभन्दा २ ½ वर्ष पहिले भारत घर भई हाल गा.वि.स. भवानीपुर जितपुर वार्ड नं. ३ बस्ने रामेश्वर साह कलवारसँग गरी दिएको थिएँ, बालबच्चा भएको थिएन । छोरीको घरमा दहेज सम्बन्धी झै झगडा विवाद थियो । दहेजमा साइकल, घडी र सुनको सिक्री मागेका थिए । छोरी निलम माइती घरमा आई दहेजको विषय लिएर कुटपीट भएको कुरा पटक पटक माइती आउँदा भनेकी थिइन् र म समेत निजको घरमा जाँदा समेत उक्त विषयमा विवाद भएको थियो । मैले निजको शरीर हेर्दा निजको टाउकोमा माटोको धुलो थियो । अनुहारमा २ वटा घाउ थियो र तिघ्रामा पनि काटेको चोट थियो । मलाई निजको लाश हेर्दा घाँटी दाबेर मारेको जस्तो लाग्दछ । घाँटीको अघिल्लो भागमा मात्र डोरीको डाम थियो भन्ने समेत व्यहोराको जाहेरवाला शिवनारायण साह कलवारले शुरु अदालतमा गरेको बकपत्र ।
१२. प्रतिवादी मध्येका अंगद साह कलवार –१, रामेश्वर साह कलवार –१, भरत साह कलवार –१ समेत ३ जना अदालतबाट जारी भएको म्यादमा हाजिर नभै फरार भएका र मिति २०६०।५।२० मा अंश रोक्का मुचुल्का समेत भै आएको देखिँदा निजहरु हाजिर हुन आए कानून बमोजिम हुने गरी हाल अ.वं. १९० नं. बमोजिम मुल्तवीमा राख्नु । प्रतिवादी मालतीदेवी कलवारनीले अभियोग दावी बमोजिमको कसूर अपराधमा संलग्न रहेको भन्ने तथ्ययुक्त सबुद प्रमाणको अभाव रहेको देखिँदा निज प्रतिवादी मालतीदेवीले प्रस्तुत अभियोग दावीबाट सफाई पाउने ठहर्छ भन्ने शुरु बारा जिल्ला अदालतबाट भएको फैसला ।
१३. प्रतिवादी मालतीदेवी कलवारलाई सफाई दिने गरी भएको हदसम्मको शुरु फैसलामा चित्त बुझेन । मृतक निलमकुमारीलाई कर्तव्य गरी प्रतिवादी मालतीदेवी समेतले मारेको भनी किटानी जाहेरी परेको, जाहेरवालाले आफ्नो जाहेरी पुष्टि हुने गरी अदालतमा आई बकपत्र गरेको, पोष्टमार्टम रिपोर्ट समेतमा निसास्सीएर मृतकको मृत्यु भएको तथा मृतकको शरीरमा घा खत निलडाम भएको भनी लाश जाँच प्रकृति मुचुल्काबाट देखिएको स्थितिमा पनि निज प्रतिवादीलाई सफाई दिने गरी भएको शुरु फैसला नमिलेको हुँदा बदर गरी अभियोग दावी बमोजिम हुने गरी इन्साफ पाउँ भन्ने वादी नेपाल सरकारको तर्फबाट परेको पुनरावेदन जिकिर ।
१४. यसमा लास जाँच प्रकृति मुचुल्काबाट मृतकको गाला, औंला तथा तिघ्रामा घाउ चोट देखिन आई प्रतिवादी उपर जाहेरवाला तथा प्रहरीमा कागज गर्ने मानिसहरुले पोल गरी दिएको समेतबाट शुरु फैसला फरक पर्न सक्ने हुँदा अ.वं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाई आएपछि पेश गर्नु भन्ने समेत व्यहोराको पुनरावेदन अदालत हेटौंडाको मिति २०६१।६।२१ को आदेश ।
१५. भिसेरा रिपोर्टको आधार समेतबाट मलाई सफाई दिनेगरी भएको शुरु फैसला मिलेकोले सदर गरिपाऊँ भन्ने प्रतिवादी मालतीदेवी कलवारको लिखित प्रतिवाद ।
१६. मृतकलाई कर्तव्य गरी ज्यान मार्नुपर्ने कारण र उद्देश्य दाइजोको विवाद रहेको जाहेरवालाको कथन, मृतकको मौकाको लाश जाँच मुचुल्का र पोष्टमार्टम प्रतिवेदनबाट चोट पटक, घाँटीको हड्डी फुटेको, मेरुदण्डको चौथो हड्डी खुस्केको समेत कारण र मालतीदेवीले के कुन स्थानबाट मृतकको लाशको पासो डोरी काटी ओराले अस्पष्ट कथन र सो पश्चात् साक्षी आलम गिरको गाडीमा राखी लाश विदेश भारत रक्सौल लगी उतै सदगत गर्ने प्रयास एवं वारदातस्थल र अवस्थामा अन्य वाह्य व्यक्तिको अनुपस्थिति रही निज प्रतिवादी मालतीदेवी समेत रहेको परिस्थितिजन्य प्रमाणको मौजुदा अवस्थामा कर्तव्य देख्ने चश्मदिद साक्षी नरहेको अवस्थामा दोषी करार गर्न नमिल्ने भन्ने समेतको प्रतिवादीतर्फका कानून व्यवसायीको बहस मनासिव देखिदैन । मृतकको लोग्ने, सासु, जेठाजु समेत मौजुद रहेको अवस्थामा मौजुदा परिस्थितिजन्य प्रमाणको अवस्थाले कर्तव्य र सो तर्फ संलग्न प्रतिवादी मालतीदेवीको शुरु अभियोग दावीलाई पुष्ट्याई गरेको अवस्थामा निज प्रतिवादी मालतीदेवी कलवारले शुरु अभियोग दावी बमोजिम कर्तव्यमा संलग्न रही कर्तव्य गरी मृतक निलमदेवी कलवारको ज्यान मारेको ठहर गरी मुलुकी ऐन, ज्यान सम्बन्धी महलको १३(३) नं. बमोजिम जन्मकैद हुने ठहर गर्नुपर्नेमा अभियोग दावीबाट सफाई दिने ठहर गरेको वारा जिल्ला अदालतको फैसला मिलेको नदेखिँदा उल्टी हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत हेटौंडाको मिति २०६२।५।२१ को फैसला ।
१७. प्रतिवादी मालतीदेवीलाई यस अदालतबाट जन्मकैद हुने ठहरी भएको फैसला उपर प्रतिवादीको यस अदालत उपर पुनरावेदन पर्न नआएकोले साधक जाँचको लागि पठाईको व्यहोरा अनुरोध छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत हेटौंडाको च.नं. १७६५, मिति २०६३।५।२९ को पत्र ।
१८. प्रतिवादी मालतीदेवी कलवारले मौकामा कागज गर्दा र अदालतमा वयान गर्दा समेत आरोपित कसूरमा पूर्णतः इन्कार रहेकी र मृतक निलमदेवीको मृत्युको कारण “In my opinion the death is due to asphyxia caused by hanging” भन्ने शव परीक्षण प्रतिवेदनमा उल्लेख भै रहेको स्थितिमा पनि यी प्रतिवादीलाई अभियोग दावी बमोजिम कसूरदार ठहर गरेको पुनरावेदन अदालत हेटौंडाको मिति २०६२।५।२१ को फैसलामा प्रमाणको मूल्यांकनमा त्रुटि भै फरक पर्न सक्ने हुँदा छलफलको लागि अ.वं. २०२ नं बमोजिम महान्यायाधिवक्ताको कार्यालयलाई पेशीको सूचना दिई पेश गर्नु भन्ने समेत व्यहोराका यस अदालतबाट भएको मिति २०६४।४।११ को आदेश ।
१९. नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा प्रतिवादीहरु मालतीदेवी कलवार, अंगद साह कलवार, रामेश्वर साह कलवार र भरत साह कलवार समेत भै मृतक निलमदेवीलाई कुटपीट गरी डोरीले घाँटीमा कसी श्वास प्रश्वास कृयामा अबरोध उत्पन्न गराई कर्तव्य गरी मारेकोले प्रतिवादीहरुले मुलुकी ऐन, ज्यान सम्बन्धीको १ नं बमोजिमको अपराध गरेको देखिन आएकोले निजहरुलाई ऐ. १३(३) नं. बमोजिम सजाय गरिपाऊँ भन्ने मुख्य अभियोग दावी रहेको छ । शुरु अदालतबाट फरार रहेका प्रतिवादीहरुका हकमा अ.वं. १९० नं. बमोजिम मुलतवीमा राखी प्रतिवादी मालतीदेवीको हकमा कसूर अपराधमा निजको संलग्नता रहेको भन्ने तथ्ययुक्त प्रमाणको अभाव रहेको भनी निजलाई अभियोग दावीबाट सफाई दिएकोमा सो फैसला त्रुटिपूर्ण रहेकोले उल्टी गरी अभियोग दावी बमोजिम सजाय गरिपाऊँ भनी वादी नेपाल सरकारको पुनरावेदन परेकोमा परिस्थितिजन्य प्रमाण समेतबाट प्रतिवादी मालतीदेवीले कर्तव्य गरी मृतक निलमदेवीको ज्यान मारेको पुष्टि भएको भन्ने समेतका आधारमा पुनरावेदन अदालत हेटौंडाबाट शुरु फैसला उल्टी गरी मुलुकी ऐन, ज्यान सम्बन्धी महलको १३(३) नं बमोजिम जन्मकैद हुने ठहर्याई फैसला भएको र साधक जाहेरीका रुपमा यस अदालत समक्ष पेश हुन आएकोले प्रतिवादी मालतीदेवी कलवारको हकमा जन्मकैदको सजाय हुने ठहर्याएको पुनरावेदन अदालत हेटौंडाको फैसला मिले नमिलेको के रहेछ भन्ने सम्बन्धमा निर्णय दिनु पर्ने देखियो ।
२०. निर्णय तर्फ विचार गर्दा प्रतिवादी मालतीदेवीले आफूले मृतकलाई मारेको वा मार्ने कार्यमा सहयोग गरेको भन्ने समेतको कसूरजन्य कुरामा अनुसन्धान अधिकारी समक्ष बयान गर्दा तथा अदालतमा समेत बयान गर्दा पूर्ण रुपमा इन्कार रहेको र मृतक आफैंले आत्महत्या गरेको भनी व्यक्त गरेको छ । निजले मृतकलाई कुनै प्रकारको यातना दिई कुटपिट गरेको देख्ने प्रत्यक्षदर्शी व्यक्तिको मिसीलमा अभाव रहेको छ । जाहेरवाला मृतकको बाबु घटनास्थल वरिपरि मौजुद रहेको नभई अन्यत्रबाट आई पछि मात्र जाहेरी दिएको छ र सो जाहेरी दरखास्तमा यी प्रतिवादी मालतीदेवी समेतले मृतकलाई मारी झुण्ड्याई दिएको भन्ने उल्लेख गरेको छ । सो बमोजिम मृतक आफैं झुण्डी आत्महत्या गरेको हो वा निजलाई मारेपछि झुण्ड्याइएको हो भन्ने प्रश्न नै केन्द्रीय प्रश्न रहेको छ । सो सम्बन्धमा हेर्दा प्रथमतः लाश जाँच प्रकृति मुचुल्कामा उल्लिखित लाशको प्रकृति र शव परीक्षण प्रतिवेदनलाई गंभीरतापूर्वक अध्ययन गर्नुपर्ने हुन्छ । लाश जाँच प्रकृति मुचुल्कामा उल्लिखित व्यहोराको अध्ययन गर्दा मृतकको घाँटीमा डोरीको डाम (चिन्ह) देखिए बाहेक शरीरमा खासै चोटपटक रहे भएको पाईंदैन । उता शव परीक्षण प्रतिवेदनमा 4th cervical vertebra भाँचिएको र thyorid bone फुटेको उल्लेख गरिएको पाइन्छ । शव परीक्षण प्रतिवेदनमा मृतकको मृत्युको कारण "In my opinion the death seems to be due to asphyxia" भन्ने उल्लेख गरी Viscera should also be examined भन्ने व्यहोरा समेत उल्लेख गरिएको र Viscera को रिपोर्ट मगाई मृत्युको कारण खुलाउन अस्पताललाई पत्राचार समेत भएको र त्यसका आधारमा नारायणी उप–क्षेत्रीय अस्पतालको च.नं. रे/२२३ मिति २०५९।१०।२३ को पत्रबाट मृतकको शव परीक्षण गर्ने सम्बन्धित चिकित्सकले Central Police Science Laboratory (Toxicology unit) को Lab Case No. 2059/060/CPSL- 597(A) Tox- 416 मिति २०५९।८।१९ गतेको निजको नामको रिपोर्ट र शव परीक्षण प्रतिवेदन फाराम अध्ययन गरी “In my opinion the death is due to asphyxia caused by hanging” भनी राय दिएको देखिन्छ । यसरी Viscera को रिपोर्ट समेत लिई सम्बन्धित चिकित्सकद्धारा मृत्युको कारण पहिचान गरिएको विषयलाई शव परीक्षण प्रतिवेदनमा उल्लेख भएको प्रारम्भिक विवरणात्मक प्रस्तुतीले अन्यथा गर्न सक्ने अवस्था हुँदैन । प्रस्तुत मुद्दामा शव परीक्षण प्रतिवेदन (Autopsy Report) स्वयं पूर्ण नरहेको र निष्कर्षमा पुग्नका लागि Viscera परीक्षण अनिवार्य रहेको कुरा मिसिल संलग्न Autopsy Report को अध्ययनबाट देखिन्छ । त्यस्तो अपूर्ण Autopsy Report मा रहेका केही विवरणहरुलाई नै मृत्युको कारणका रुपमा लिन मिल्ने अवस्था हुँदैन र यस्ता नितान्त प्राविधिक विषयमा मनोगत रुपमा भन्दा विशेषज्ञको रायका आधारमा निष्कर्षमा पुग्न सकिने हुन्छ । मृतकको शव परीक्षणले Viscera परीक्षण पछि मात्र पूर्णता प्राप्त गरेको र Viscera परीक्षण पछि प्राप्त हुन आएको नारायणी उप–क्षेत्रीय अस्पतालको निष्कर्षमा “the death is due to asphyxia caused by hanging” भन्ने उल्लेख गरिएको देखिन्छ । लाश जाँच प्रकृति मुचुल्कामा समेत घाँटीमा डोरीको डाम बाहेक शरीरका अन्य भागमा चोट पटक नदेखिएको र शव परीक्षणपछि अन्तिम निष्कर्षका रुपमा “asphyxia caused by hanging” लाई नै मृत्युको कारणका रुपमा प्रस्तुत गरिएको स्थितिमा कुनै वस्तुगत आधार, कारण र प्रमाण विना मृतकको मृत्युमा प्रतिवादीको संलग्नता रहेको भनी संझन मान्न मिल्ने अवस्था देखिँदैन ।
२१. फौजदारी मुद्दामा दोषी प्रमाणित गर्ने भार वादी पक्षमा निहित हुने र शंकारहित तवरले अभियोग प्रमाणित गर्नुपर्ने हुन्छ । शंकाको सुविधा अभियुक्तले पाउँछ भन्ने फौजदारी न्यायको अर्को मान्य सिद्धान्तलाई पनि हामीले स्वीकार गर्दै आएका छौं । यस स्थितिमा साक्षीका शंकास्पद कथन र अपुष्ट परिस्थितिजन्य प्रमाणलाई आधार मानेर कसैलाई दोषी ठहर गर्न मिल्दैन, त्यसो गर्नु कानून र न्यायका मान्य सिद्धान्त विपरीत हुन जान्छ । प्रतिवादी मालतीदेवी वयानका क्रममा कसूरमा इन्कार रहेको देखिएको छ भने मृतक निलमदेवीलाई कर्तव्य गरी मारेको र त्यसमा यी मालतीदेवीको संलग्नता रहेको भन्ने कुनै व्यक्तिको कथन रहेको पनि पाइदैन । कुनैपनि सरकारी पक्षका साक्षीले कसूरमा प्रतिवादी मालतीदेवीको संलग्नता रहे भएको भनी खुलाउन देखाउन सकेको अवस्था छैन । जाहेरी दरखास्त घटना घटेको ८ दिनपछि मात्र परेको छ भने सो दरखास्तमा जाहेरवाला आफैंले देखे जानेको कुराको सटृा अरुले भनेको वा सुनेको जस्ता कुरालाई आधार बनाइएको छ, त्यसरी घटनाको लामो समयपछि द्वितीय स्रोतलाई उद्धृत गरी परेको जोहरी दरखास्तले पनि मृतकको मृत्युमा प्रतिवादीको संलग्नता रहेको कुरालाई पुष्टि गर्दैन । सरकारी साक्षीका रुपमा अदालतमा उपस्थित भै वकपत्र गर्ने सुखाडी मियाले घटनाका वारेमा पूरै अनभिज्ञता प्रकट गरी आफ्नो भनाई व्यक्त गरेको छन् भने अर्का सरकारी साक्षी आलम गिर अन्सारीले पनि मृतकको मृत्युका सम्बन्धमा केही बताउन सकेका छैनन् । मौखिक प्रमाण प्रत्यक्ष हुनुपर्छ, अर्थात् देख्न, सुन्न वा कुनै इन्द्रियको सहायताले थाहा पाउन सकिने कुनै कुरालाई प्रमाणमा दिन खोजिएको भए, सो कुरा प्रत्यक्ष देख्ने, सुन्ने वा थाहा पाउने व्यक्तिले त्यस सम्बन्धमा मौखिक प्रमाण दिएको हुनुपर्छ भन्ने प्रमाण ऐन, २०३१ को दफा ३७(२) को प्राबधानका आधारमा पनि त्यस्ता अस्पष्ट र अनिश्चयात्मक कथनलाई कसूरदार ठहर्याउने आधार बनाउन मिल्ने देखिँदैन ।
२२. पुनरावेदन अदालत हेटौंडाको फैसलामा परिस्थितिजन्य प्रमाणलाई आधार बनाइएको सन्दर्भमा विचार गर्दा परिस्थितिजन्य प्रमाण जहिले पनि प्रत्यक्ष हुनपर्छ, जुन अनुमानबाट समर्थित हुने विषय होइन । के कस्तो परिस्थितिजन्य प्रमाण हो भन्ने कुरा स्पष्ट रुपमा खुलाउनु पर्छ, घटनासँग सम्बन्धित विभिन्न कडीहरु मालाकार रुपमा एक अर्कोसँग जोडिएको र त्यसबाट परिणामको स्वाभाविक निष्कर्ष आउनु पर्ने हुन्छ । प्रतिवादीको कार्य कुन परिस्थिति र परिणामसँग आबद्ध छन् सो कुरा फैसलामा खुलेको छैन । अर्कोतर्फ मृतक निलमदेवी झुण्डी मरेको कथन छ । झुण्डिएर आत्महत्या गर्ने व्यक्तिको Cervical Vertebra आफ्नो शरीरको भारले भाँचिन जाने र सोही कारणले मृत्यु हुन जाने हुन्छ । शवपरीक्षण गर्ने विशेषज्ञले मृत्युको कारणमा Asphyxia due to hanging भन्ने राय दिएको अवस्थामा मृतक झुण्डी मरेको भन्ने परिस्थिति बाहेक अन्य स्थितिको कल्पना गरी प्रतिवादी मालतीदेवीलाई कुनै प्रत्यक्ष र अकाट्य प्रमाणको अभावमा दोषी ठहर गर्न प्रमाण सम्बन्धी कानून र न्यायका मान्य सिद्धान्त प्रतिकूल हुन जाने हुन्छ । फैसलामा परिस्थितिजन्य प्रमाणको उल्लेखन मात्र पर्याप्त हुँदैन, त्यस्तो प्रमाणको आधारहरु समेत प्रस्तुत गर्नु पर्छ । परिस्थितिजन्य प्रमाणलाई कसूरदार ठहर्याउने आधारका रुपमा उल्लेखसम्म गरिएको, तर के कुन विषय, कथन वा परिस्थितिलाई त्यस्तो प्रमाणको स्रोत मानिएको हो भन्ने कुरा कहिँ कतैबाट खुल्न नसकेको हुँदा पुनरावेदन अदालत हेटौंडाको फैसला अनुमानमा आधारित देखिएको छ ।
२३. तसर्थ माथि गरिएको विश्लेषण समेतका आधारमा मृतक निलमदेवी कलवारको मृत्यु प्रतिवादी मालतीदेवी कलवार समेतको कर्तव्यबाट भएको भन्ने वस्तुनिष्ठ आधार र प्रमाणको अभाव रहेको स्थितिमा अनुमान र विश्वासको आधारमा प्रतिवादी मालतीदेवी कलवारलाई कसूरदार ठहर्याएको पुनरावेदन अदालत हेटौंडको मिति २०६२।५।२१ को फैसला मिलेको नदेखिँदा उल्टी हुने र प्रतिवादी मालतीदेवी कलवारले अभियोग दावीबाट सफाई पाउने ठहर्याएको शुरु वारा जिल्ला अदालतको फैसला सदर हुने ठहर्छ । अरुमा तपसील बमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिए बमोजिम पुनरावेदन अदालत हेटौंडाको फैसला उल्टी भै प्रतिवादी मालतीदेवी कलवारले सफाई पाउने ठहरेकाले पुनरावेदन अदालत हेटौंडाको मिति २०६२।५।२१ को फैसलाको तपसील खण्ड १ बमोजिम रहेको जन्मकैदको लगत कायम नरहने हुँदा उक्त लगत कटृा गर्नु भनी शुरु वारा जिल्ला अदालतमा लेखी पठाईदिनु ......१
प्रस्तुत मुद्दाको दायरीको लगत कटृा गरी मिसिल नियमानुसार गरी बुझाईदिनु .....२
उक्त रायमा म सहमत छु ।
प्र.न्या.केदारप्रसाद गिरी
इजलास अधिकृतः उमेश कोइराला
इति सम्बत् २०६४ साल पौष ६ गते रोज ६ शुमभ् .......................